काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले काठमाडौं उपत्यकाको पर्यटन क्षेत्रको विकासलाई आधारित बनाएर देशको पर्यटन क्षेत्र विकासको कार्ययोजना बनाउनुपर्ने बताएका छन् ।
बिहीवार ज्यापु संस्कृति विकास कोषले १९ औँ राष्ट्रिय ज्यापु दिवसको अवसरमा काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले देशको पर्यटन क्षेत्रको विकासको कार्ययोजना काठमाडौं उपत्यकाको पर्यटन विकासलाई आधारित बनाएर गर्नुपर्ने जानकारी दिए । उनले आफूले पर्यटन विकासको कार्ययोजनामा उपत्यकाको संस्कृति र सम्पदालाई आधारीत बनाएर गर्नुपर्छ भन्ने मान्यतालाई अगाडी सारेको बताए । उनले नेपाललाई कुनै ऋतु विशेष मात्र नभई बाह्रै महिना पर्यटकको गन्तव्य स्थल बनाउने गरी योजना अगाडी बढाएको उल्लेख गरे । मन्त्री श्रेष्ठले काठमाडौं उपत्यका प्रकृति र मौसमका कारणले पनि सधैँभरी घुमफिर गर्ने वातावरण रहेको उल्लेख गर्दै यहाँको संस्कृति र सम्पदाहरुलाई जगेर्ना गर्न विशेष ध्यान दिनुपर्ने बताए ।
उनले भने, ‘हामीले हाम्रो देशको पर्यटन क्षेत्रको विकासको कार्ययोजना अगाडी सार्दा उपत्यकाको पर्यटन क्षेत्रको विकास, यहाँको संस्कृति र सम्पदालाई आधारीत बनाएर गर्नुपर्छ भन्ने मान्यतालाई अघि सारेका छौँ । उपत्यका जहाँको प्रकृति, हावापानी र मौसमहरुका हिसाबले मान्छेहरु घुमफिर गर्न सक्ने वातावरण छ । संस्कृति र सम्पदालाई चिनाउन सकिएमा पर्यटकलाई आकर्षक गर्न सक्ने अवस्था छ ।’
उनले सम्पदा तथा संस्कृतिहरुको संरक्षणका लागि जनस्तरबाट पनि काम हुनुपर्ने बताए । सरकारी प्रयास सँगसँगै जनस्तरबाट पनि काम गर्न सके सम्पदाहरुको संरक्षण गर्न सकिने र मौलिकतालाई कायम राख्न सकिने उनको भनाई छ । मन्त्री श्रेष्ठले सभ्यता र संस्कृतिहरुको संरक्षण गर्न सकेमा मात्र देशको पहिचानलाई कामय राख्न सकिने बताए ।
उनले भने, ‘ज्यापु दिवस मनाउँदै गर्दाखेरी हामीले यो उपत्यकाको संस्कृतिको जगेर्ना गर्ने कुराहरु, यहाँका सम्पदाको संरक्षण गर्ने कुराहरु र हाम्रो इतिहासलाई उजागर गर्ने कुराहरु र हाम्रो सभ्यतालाई चिनाउने कुराहरु यो सँगसँगै भइरहेको छ । सरकारले संस्कृतिको विकासको लागि, सम्पदाहरुको संरक्षणको लागि जुन कामहरु अगाडी बढाइरहेको छ, यसलाई जनस्तरबाट पनि हामीले सँगसँगै लैजानसक्यौँ भने हाम्रो देशको संस्कृतिलाई अझ संरक्षण गर्नसक्छौँ ।’
कार्यक्रममा बोल्दै काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले नयाँ पुस्तालाई कला, संस्कृति र जात्राहरुमा आकर्षण गर्नुपर्ने बताइन् । उनले हरेक चाडपर्वको वैज्ञानिक महत्व रहेको उल्लेख गर्दै सो महत्वलाई युवा पुस्तामाझ हस्तान्तरण गर्न सके उनीहरुले चाडपर्व तथा कला, संस्कृतिहरुको संरक्षण गर्दै जानेमा जोड दिइन् ।
उनले भनिन्, ‘नयाँ पुस्तालाई कला, संस्कृति, जात्रा पर्वमा आकर्षण गर्ने हो भने हिजो, अस्ति हाम्रा बाजे आमाबुबाले भनेको भरमा मात्र नयाँ पुस्ताले कुनैपनि रहनसहनलाई अंगालिरहेको हुँदैन । त्यो करकापले मात्र अगाडी बढाइरहेको हुन्छ । यद्यपी हामीले मनाउने हरेक चाडपर्वमा वैज्ञानिक महत्व छन् । जुन कुरालाई महानगरपालिकाले विशेष महत्वको साथमा हेरेको छ ।’
उनले काठमाडौं महानगरपालिकाले काठमाडौं भित्रका विभिन्न पर्वहरु, मुर्त तथा अमूर्त सम्पदाहरुको संरक्षण र संवद्र्धनका लागि महत्व दिइरहेको स्पष्ट पारिन् ।