पावर ट्रान्समिसनको १८ प्रतिशत लाभांश घोषणा
काठमाडौं । पावर ट्रान्समिसन कम्पनी नेपाल लिमिटेडले सेयरधनीहरुलाई १८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनी संचालक समितिको सिफारिसमा सेयरधनीहरुलाई आर्थिक वर्ष २०७८/७९ को नाफाबाट चुक्ता पुँजीको १८ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो । कम्पनीले लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न १४ औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको मंसिर १५ गते बसेको सञ्चालक समितिको बैठकले १४ औं वार्षिक साधारण सभा दरवारमार्ग काठमाण्डौं स्थित नेपाल विद्युत प्राधिकरणको सभा हलमा पुस २२ गते अपरान्ह ४ बजे बोलाएको हो । , सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षको आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०७९ साल आषाढ मसान्तको वासलात र आर्थिक वर्ष २०७८/७९ को नाफा र नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र आर्थिक वर्ष २०७९/८० को लागि लेखापरिक्षक नियुक्ति र निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।
राष्ट्र बैंकले खारेज गर्याे नेशनल मनी ट्रान्सफरको लाइसेन्स
काठमाडौं । नेपाल राष्ट्र बैंकले नेशनल मनी ट्रान्सफर प्रालिको इजाजतपत्र रद्द गर्ने भएको छ । राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले एक सूचना प्रकाशन गरी नेशनल मनी ट्रान्सफरको इजाजतपत्र रद्द गर्ने जनाएको हो । काठमाडौं महानगरपालिका १३ कालीमाटीमा रहेको नेशनल मनी ट्रान्सफरले राष्ट्र बैंकबाट विप्रेषण सम्बन्धी कारोबार गर्न प्राप्त गरेको इजाजतपत्र रद्द गर्न निवेदन दिएको थियो । कम्पनीले दिएको निवेदन अनुसार नै राष्ट्र बैंकले इजाजतपत्र रद्द गर्न लागेको राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभाग प्रमुख तथा कार्यकारी निर्देशक रामु पौडेलले बताए । विदेशी मुद्रा कारोवार बन्द गर्ने हुँदा कम्पनीले गरेको विदेशी मुद्रा कारोवारबाट कुनै व्यक्ति वा संघ संस्थासँग लेनदेन रकम बाँकी रहेको भए ३५ दिनभित्र राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागमा लिखित जानकारी दिन राष्ट्र बैंकले आग्रह गरेको छ । तोकिएको अवधिभित्र लिखित जानकारी नआएमा नेशनल मनी ट्रान्सफरको विप्रेषण सम्बन्धी कारोबार गर्ने इजाजतपत्र रद्द भई बैंक ग्यारेण्टी समेत फुकुवा भई जाने कार्यकारी निर्देशक पौडेलले बताए ।
लाभांश प्रस्ताव पारित गर्न एनआरएन इन्फ्रास्टक्चरले डाक्यो साधारणसभा, बैठक भत्ता वृद्धि गर्ने
काठमाडौं । एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टले १० औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनी सञ्चालक समितिको मंसिर १६ गते शुक्रबार बसेको बैठकले दशौं वार्षिक साधारण सभा पौष २० गते बुधबार बिहान ११ बजे, आम्रपाली ब्यान्क्वेट काठमाण्डौंमा बोलाएको हो । कम्पनीको सभाले लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट हाल कायम चुक्ता पूँजी १ अर्ब २२ करोड ३२ लाख ११ हजार रुपैयाँको ५.२६ प्रतिशत अर्थात् ६ करोड ४३ लाख ४० हजार ९२५ रुपैयाँ बराबरको नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । यस्तै, १० औं वार्षिक साधारण सभाको लागि सञ्चालक समितिको तर्फबाट प्रस्तुत प्रतिवेदन उपर छलफल गरी पारित गर्नेछ । यस्तै, आर्थिक वर्ष २०७८/७९ लेखापरीक्षकको प्रतिवेदन सहित २०७९ आषाढ मसान्तसम्मको वासलात, आर्थिक वर्ष २०७८/७९ को वार्षिक नाफा नोक्सान हिसाब विवरण तथा नगद प्रवाह विवरण र सोही अवधिको वार्षिक वित्तीय विवरणसँग सम्बद्ध अनुसूचीहरु समेत छलफल गरी पारित गर्नेछ । यस्तै, कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षकको नियुक्ती गर्ने र पारिश्रमिक निर्धारण गर्ने र लेखापरीक्षण समिति लगायत अन्य उपसमितिहरूको बैठक भत्ता निर्धारण गर्नेछ ।
मूल्य अस्वाभाविक देखिएपछि भन्सारले रोक्यो १ अर्बका दूरसञ्चार उपकरण
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले विदेशबाट खरिद गरेका करिब १ अर्ब रूपैयाँका उपकरणको मूल्य अस्वाभाविक देखिएपछि भन्सार विभागले रोकेको छ । भन्सार जाँचपासका क्रममा मूल्यमा शंका लागेर सर्भर, ल्यापटप, सेल फोनलगायत उपकरण थप अनुसन्धानका लागि रोकेको विभागले जनाएको छ । प्राधिकरणले ती सामग्री दूरसञ्चारको ट्राफिक अनुगमन र चोरी नियन्त्रणका लागि खरिद गरेर ल्याएको हो। प्राधिकरणले खरिद गरेर ल्याएका सामानमा १ सय ९ वटा सर्भर छन् । खरिद गरिएका प्रतिसर्भरको मूल्य ७९ हजार ९ सय २० डलर भनिएको छ । एक डलरको सटही दर १ सय २८ रूपैयाँले हिसाब गर्दा एउटै सर्भरको मूल्य १ करोड २ लाख २९ हजार ७ सय ६० रूपैयाँ हुन्छ । १ सय ९ वटा सर्भरको कुल मूल्य १ अर्ब ११ करोड ५० लाख ५३ हजार हुन आउँछ । त्यसैगरी दुईवटा ल्यापटप पनि खरिद गरिएका छन् । एउटा ल्यापटपको मूल्य ५० हजार डलर अर्थात् ६४ लाख रूपैयाँ देखाइएको छ । प्राधिकरणले ती ल्यापटप भई ड्राइभ टेस्ट भएको जनाएको छ । त्यस्तै भन्सार विभागले रोकेका उपकरणमा आठवटा सेल फोन पनि छन् । एउटा सेल फोनको मूल्य २ सय डलर अर्थात् २५ हजार ६ सय रूपैयाँ देखाइएको छ । प्राधिकरणले ती उपकरण ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टमु परियोजनाअन्तर्गत खरिद गरेको हो । ती उपकरण भेनराइज सोलुसन कम्पनीले लेबनानबाट ल्याएको हो। ती उपकरणको भन्सार महसुल करिब पौने १५ करोड रूपैयाँ लाग्ने अनुमान छ । यो समाचारनागरिक दैनिकमा छ ।
निःशुल्क मोबाइल र सिमको दुरुपयोग
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आफूमातहतका जिम्मेवार निकायका पदाधिकारी तथा व्यक्तिलाई यसअघि निःशुल्क दिएको मोबाइल सेट र सिमकार्डको दुरुपयोग भएको छ। दुरुपयोग बढेसँगै विश्वविद्यालयले अबदेखि कुनै पनि पदाधिकारी तथा व्यक्तिलाई यस्तो सुविधा नदिने निर्णय गरेको छ। विश्वविद्यालयको कार्यकारी परिषद्को बैठकले २०७३ फागुन ११ गते विश्वविद्यालयमा नियुक्त बहालवाला पदाधिकारी, निकाय प्रमुख, प्रशासन महाशाखा प्रमुख तथा अन्य सावधिक पदमा नियुक्त व्यक्तिलाई मोबाइल सेट र सिमकार्ड दिने निर्णय गरेको थियो तर एक जनाले कतिवटासम्म मोबाइल सेट र सिमकार्ड किन्न पाउने भन्ने विषय भने बैठकले किटानी गरेको थिएन। यही सुविधाको मौका उठाउँदै एकै व्यक्तिले वर्षमा तीनवटासम्म मोबाइल सेट किन्ने गरेको त्रिविको आन्तरिक अध्ययनबाट पत्ता लागेको थियो। मनपरी मोबाइल किन्ने प्रवृत्ति बढेपछि विश्वविद्यालयलाई आर्थिक भार पर्नुका साथै बेरुजुसमेत बढाएको त्रिविका सूचना अधिकारी योगेन्द्रप्रसाद दाहालले बताए। मोबाइल सेट र सिमकार्ड दिने कार्यकारी परिषद्को निर्णयपछि विश्वविद्यालयअन्तर्गका आङ्गिक क्याम्पस तथा कार्यालयले पनि विषयगत कार्यक्रम संयोजक तथा शाखा प्रमुखलगायतलाई पनि यस्तो सुविधा दिइएको थियो। केही ठाउँमा सहायक क्याम्पस प्रमुखले समेत यस्तो सुविधा लिएका थिए। क्याम्पस तथा कार्यालयले सम्बन्धित कार्यसमिति तथा व्यवस्थापन समितिबाट निर्णय गराई यस्तो सुविधा उपभोग गरिरहेको त्रिविले जनाएको छ। यस्ता विभाग तथा क्याम्पसमा नियुक्त भएकामध्ये केही व्यक्ति छोटो समयमै पदबाट बाहिरिने गरेको तथा कहिलेकाहीँ कार्यकाल सकिएर बाहिरिए पनि मोबाइल र सिम आफैँ लैजाने गरेका छन्। मोबाइल सेट किन्ने निर्णय रद्द गरिए पनि केही निकायमा भने निःशुल्क वितरण गरिएको सिमकार्ड भने यथावत् रहने र उक्त निकायमा जो व्यक्ति आउँछ उसैले उक्त सिमकार्ड प्रयोग गर्ने पनि सूचना अधिकारी दाहालले जानकारी दिए। यो खबर आजको गोरखापत्रदैनिकमा प्रकाशित छ ।
नागरिक विकास सहकारीले ५ ठाउँको १२ वटा घरजग्गा बेच्दै
काठमाडौं । नागरिक विकास सेभिङ एण्ड क्रेडिट सहकारी संस्थाले आफ्नो स्वामित्वमा रहेको गैह्र बैंकिङ्ग सम्पत्ति बिक्री गर्ने भएको छ । सहकारी संस्थाले काभ्रेका विभिन्न स्थानमा रहेको गैह्र बैंकिङ्ग सम्पत्ति अथवा जग्गा बिक्री गर्ने भएको हो । नागरिक विकास सेभिङ्ग एण्ड क्रेडिट सहकारी संस्थाको स्वामित्वमा रहेका जग्गाहरू जे जस्तो अवस्था र परिमाण मा छ, सोही अवस्था र परिमाणमा गोप्य शिलबन्दी बोलपत्र मार्फत बिक्री गरिने जनाएको छ । खरिद गर्ने ईच्छुक व्यक्ति तथा संस्थाहरूले कबुल गरेको रकमको १० प्रतिशत रकम धरौटी राखि गोप्य शिलबन्दी पत्र पेश गर्न आग्रह गरेको छ । ७ दिन अर्थात् पुस २ गतेभित्र प्रधान कार्यालय बनेपा, काभ्रेपलाञ्चोकमा गोप्य शिलबन्दी बोलपत्र फारम रित पूर्वक भरि पेश गर्नुपर्नेछ । प्रप्त भएका बोलपत्रहरु पुस ३ गते खोलिने छ । सहकारी संस्थाले मालपोत कार्यालय धुलिखेलमा दर्ता भएका पाँचखाल नगरपालिका, धुलिखेल नगरपालिका र बनेपा नगरपालिकाका विभिन्न स्थानमा रहेका घरजग्गा बिक्री गर्ने भएको हो । सहकारीले पाँचखाल नगरपालिका ५, नक्सा सिट नं. १ खाँवा स्थित कित्ता नं. क्रमश २९४ ६५८, १०२९, १०३१, २९५ र ६५७ को क्षेत्रफल क्रमशः ८-१५-१-०-७५, ८-२-०-०, ३-१२-२१, ८-०-०-०, १-०-२-०,७५ र १८-०-२-१ को जग्गा तथा सो जग्गाले चर्चेको सम्पुर्ण लिगलगापात समेत बिक्री गर्नेछ । यस्तै, पाँचखाल नगरपालिका ८ मा रहेको कित्ता नं. १०२५ को क्षेत्रफल २-११-०-० को जग्गा, वडा नं. ७ हाक्सेबजार स्थित कित्ता नं. १६७६ र १६७७ को क्षेत्रफल क्रमशः ०-१४-०-० र ०-१५-१-३ को घरजग्गा बिक्री गर्नेछ , यस्तै, धुलिखेल नगरपालिका ८ नक्सा सिट नं. १ स्थित कित्ता नं. क्रमशः ७७२ र ९९८ को क्षेत्रफल क्रमशः २-०-०-० र १-९-०-३ को जग्गा र बनेपा नगरपालिका ६ श्रीखण्डपुर स्थित कित्ता नं. ४२६७ को क्षेत्रफल ०-२-२-० को जग्गा बिक्री गर्ने भएको हो ।
काठमाडौँ चन्द्रागिरिको हसना भास्तिपुर सहकारीले गर्यो एक अर्ब ३१ करोड निक्षेप संकलन
काठमाडौं । काठमाडौँको चन्द्रागिरि नगरपालिकालाई केन्द्र बनाएर स्थापना भएको हसना भास्तिपुर बचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्ष २०७८÷७९ मा एक अर्ब ३१ करोड ९७ लाख १४ हजार चार सय निक्षेप सङ्कलन गरेको छ । सोही अवधिमा संस्थाले एक अर्ब ४६ करोड २६ लाख ७५ हजार तीन सय दुई बराबर कर्जा लगानी गरेको छ । संस्थाको कुल सम्पत्ति एक अर्ब ६७ करोड ६६ लाख १० हजार पाँच सय १३ छ । संस्थाले सोही आवमा ७९ लाख ११ हजार सात सय ९५ बराबरको नाफा कमाएको छ । संस्थाले आज आफ्नो १४औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । बजारमा देखिएको चुनौती र अवसरलाई मध्यनजर गर्दै कर्जा लगानी गर्दा ऋण नीतिअनुरुप प्रभावकारी तथा बढी उत्पादनमुखी क्षेत्रमा नै केन्द्रित गर्नुपर्नेमा जोड दिइएको छ । भाका नाघेका ऋणको अनुगमन कार्यलाई प्राथमिकतामा राखी नियमति अनुगमन गर्नुपर्ने, संस्थाको जोखिम व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने सुझाव साधारणसभामा व्यक्त गरिएको छ । संस्थाका अध्यक्ष नारायणकृष्ण महर्जनले विषम अवस्थामा पनि संस्थाले गुणस्तरीयरूपमा काम गरेको बताए। उनले संस्थालाई आगामी दिनमा अझै प्रभावकारी बनाउन सबैको साथ र सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे।
राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फको सांसद टुंगो लगायो (नामसहित)
काठमाडौं । रवी लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि समानुपातिक तर्फका सांसदको टुंगो लगाएको छ । शनिबार काठमाडौंमा बसेको पार्टी केन्द्रिय समिति बैठकले निर्वाचन आयोगले तय गरेको मापदण्ड भित्र रहेर १३ जना समानुपातिकतर्फका सांसदहरुको सूचि टुंगो लगाएको हो । जस अनुसार दलितबाट सन्तोष परियार र शिव नेपाली रहेका छन् । त्यसैगरी आदिवासी जनजातिको तर्फबाट डा. ढाकाकुमार श्रेष्ठ, ईन्दिरा रानामगर र सुमना श्रेष्ठ रहेका छन् भने खस आर्यबाट प्राध्यापक डाक्टर चन्दा कार्की, डोरप्रसाद अर्याल, निशा डांगी र विनिता कठायत सांसद बनेका छन् । लक्ष्मी तिवारी र मनिष झालाई मधेशीतर्फबाट चयन गरिएको छ भने अशोककुमार चौंधरीलाई थारुबाट र मुस्लिमबाट असिम साह गरी १३ जनालाई समानुपातिकतर्फको सांसद छनौट गर्ने निर्णय गरिएको पार्टीका प्रवक्ता डाक्टर मुकुल ढकालले जानकारी दिए । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधिसभामा प्रत्यक्षतर्फ ७ जना सांसदहरु निर्वाचित भएका छन् । बैठकले निर्वाचनमा पार्टीलाई मत दिने सबै मतदातालाई धन्यवाद दिँदै निर्वाचन सम्पन्न गरेकोमा निर्वाचन आयोगलगायतका सम्बन्धित सबै पक्षप्रति आभार समेत व्यक्त गरेको पनि प्रवक्ता ढकालले बताए ।