काठमाडौं । सत्तारुढ नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकारलाई आत्मसमीक्षा गर्दै अघि बढन आग्रह गरेका छन् ।
आइतबार काठमाडौंमा आयोजित गाउँपालिका राष्ट्रिय महासंघ नेपालको तेस्रो राष्ट्रिय महाधिवेशनमा बोल्दै अध्यक्ष नेपालले कसैलाई दोष नदिई कमिकमजोरी हटाएर अघि बढ्न सरकारलाई सुझाव दिएका हुन् ।
उनले तीनवटै तहको सरकार मिलेर अघि बढे संघीय लोकतान्त्रिक गणतन्त्रलाई कसैले पनि समाप्त पार्न नसक्ने स्पष्ट पारे। उनले मुलुकमा कायापलट ल्याउन तीनवटै तहका सरकारले आ–आफ्ना दायित्व पूरा गर्नुपर्ने स्मरण समेत गराए ।
‘सरकारले आफूलाई समीक्षा गर्दै अघि बढनु पर्दछ, एकले अर्कालाई दोष दिएर मुलुक अघि बढ्न सक्दैन, गणतन्त्रलाई कसैले पनि समाप्त पार्न सक्दैन, संघीयतालाई कसैले पनि समाप्त पार्न सक्दैन, त्यो स्पष्ट छ, सबै पालिकामा जनताले के के न्यूनतम सुविधा पाउनुपर्ने हो, त्यो सबैले मनन गर्न जरुरी हुन्छ, महिला हिंसामुक्त पालिका होस, छुवाछुतमुक्त मेरो पालिका हुन्, सबै जाति समुदायको माझमा सामाजिक सदभाव कायम राखेको पालिका हाम्रो होस्, त्यस रुपमा प्रत्येक पालिकाले आफूलाई दर्ज गर्न सक्ने हो गरी काम गर्नु पर्दछ ।’
अध्यक्ष नेपालले संविधानले प्रदत्त गरेका अधिकारहरु जनताले उपयोग गर्न पाउने गरी काम गर्न स्थानीय तहका जनप्रतिनिधिले सबल ढंगले काम गर्ने विश्वास व्यक्त गरे।