काठमाडौं । सहकारीमा बचतकर्ताले राखेको बचत लिएर स्वदेश वा विदेश जहाँसुकै पुगेका सहकारी संस्थाका सञ्चालक एवं कर्मचारीलाई कानूनी कारबाहीको दायरामा ल्याइने भएको छ ।
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालय अनामनगरका अध्यक्ष काशीराज दाहालले बचतकर्ताको पैसा लिएर विदेश पुगेका सञ्चालक वा कर्मचारीलाई इन्टरपोलको सहयोगका माध्यमबाट झिकाएरसमेत बचत फिर्ता गर्ने गरी काम थालिएको जानकारी दिए ।
स्वदेशमै लुकेर बसेका समस्याग्रस्त सहकारीका सञ्चालक एवं कर्मचारीलाई भने राहदानी जफत, विदेश भ्रमणमा रोक एवं कालोसूचीमा राखी नाम सार्वजनिक गराउने तयारीमा पनि समिति रहेको जानकारी उनले दिए ।
सहकारी ऐन, कानूनअनुसार नचल्दा करिब एक हजार सहकारी समस्याग्रस्त भएको अनौपचारिक जानकारी पाए पनि हालसम्म १२ वटालाई मात्र सरकारले समस्याग्रस्त घोषणा गरेको छ ।
सरकारले घोषणा गरेका १२ वटा सहकारीमध्ये सोसाइटल बचत तथा ऋण सहकारी संस्थाका सबै बचतकर्तालाई समितिले बचत फिर्ता दिएको जानकारी पनि अध्यक्ष दाहालले गराए । बाँकी ११ सहकारीका बचतकर्तालाई पनि क्रमशः बचत फिर्ता गराउन यिनका सञ्चालक, कर्मचारी र ऋणीमाथि कानूनअनुसार हदैसम्मको कारबाही प्रक्रियामा समिति अघि बढ्न लागेको हो । रासस