मेलम्ची नगरपालिकाले कृषि उत्पादन तथा नियन्त्रण प्रणाली कार्यान्वयनमा ल्यायो
सिन्धुपाल्चोक । मेलम्ची नगरपालिकाले कृषि उत्पादन तथा नियन्त्रण प्रणाली सोमबारबाट कार्यान्वयनमा ल्याएको छ । किसान अनुदान कार्यक्रमलाई व्यवस्थित , कृषकको वर्गीकरण एवं कृषक परिचयपत्र वितरण र कृषिसँग सम्बन्धित तथ्यांकलाई अद्यावधिक गर्ने ध्येयले सो प्रणाली सञ्चालनमा ल्याइएको कृषि शाखा प्रमुख अमरनाथ आचार्यले जानकारी दिए । अब सो शाखाअन्तर्गत हुने विभिन्न कार्यक्रम तथा विवरणको अनलाइन माध्यमबाट हेर्न सकिने कृषि प्राविधिक हरिगोपाल श्रेष्ठले जानकारी दिए । प्रणालीमा संस्थागत विवरण, कृषक विवरण, जग्गाको वर्गीकरण, सूचना र प्रकाशन गरेर विभिन्न शीर्षकमा विभाजन गरी सहज बनाइएको छ । सो प्रणाली निर्माणमा ड्रिमवर्क सोलुशनका कार्यक्रम व्यवस्थापक किरण बमनुले सहजीकरण गरेका थिए । उनले नगरपालिकालाई सो प्रणाली हस्तान्तरण समेत गरे । आगामी दिनमा नगरपालिकाले कृषकको वर्गीकरण गरी कृषक परिचयपत्र वितरण गरिनुका साथै कृषि ऋणका लागि व्यावसायिक योजना निर्माण तथा विश्लेषणको कार्य सफ्टवेयरबाट सञ्चालन गरिने कृषि प्राविधिक श्रेष्ठले बताए । नेपाल शिक्षक महासङ्घ जिल्ला कार्यसमिति सिन्धुपाल्चोकले विभिन्न ३६ बुँदे माग राखी जिल्लाका १२ स्थानीय तहमा ध्यानाकर्षणपत्र बुझाएको छ । महासङ्घले अहिलेसम्म देशमा संघीय शिक्षा ऐन बन्न नसक्नुलाई दुर्भाग्यपूर्ण भनेको छ । शिक्षा ऐन नबनेका कारण कार्यसम्पादनमा समस्या भएको उल्लेख गर्दै महासङ्घले सोमबार जिल्लाका सबै स्थानीय तहलाई ध्यानाकर्षणपत्र बुझाउने क्रममा मेलम्ची नगरपालिकामा पनि बुझाएको हो । मेलम्ची नगर प्रमुख आइतमान तामाङले महासङ्घको मागप्रति नगरपालिका सकारात्मक रहेको बताए । उनले शिक्षक र स्थानीय तहले मात्रै शिक्षामा परिवर्तन गर्न नसक्ने भन्दै महासङ्घ, पेसागत सङ्गठन, अभिभावकलगायत सरोकारवालाको भूमिका उत्तिकै महत्वपूर्ण हुने बताए । ध्यानाकर्षणपत्रमा शिक्षक सरुवा गर्दा साविकका ऐन, नियमानुसार सहमतिका आधारमा गरिनुपर्ने, विद्यालय व्यवस्थापन समिति गठन गर्दा अध्यक्षलगायत बहुमत सदस्य अभिभावकमध्येबाटै छनोट गर्नुपर्ने, करार शिक्षक नियुक्ति गर्दा जिल्लाकै सूचीकृत विज्ञबाट गराउनुपर्ने, अनुमति र अभिलेखीकरण शिक्षा विकास तथा समन्वय एकाइले गर्नुपर्ने लगायतको माग उल्लेख गरिएको महासङ्घका जिल्ला अध्यक्ष कुमारप्रसाद खतिवडाले जानकारी दिए । सो अवसरमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धितालले आगामी शैक्षिकसत्रबाट स्थानीय पाठ्यक्रम लागू गर्ने जानकारी दिए । मेलम्ची नगरपालिकाका प्रमुख तामाङ र उपप्रमुख उमा प्रधानले संयुक्तरूपमा नगरपालिकासँगै रहेको गोदामघरको शुभारम्भ गरेका छन् । भवन सञ्चालनमा आएसँगै अब लामो समयदेखि रहँदै आएको भण्डारणको समस्या अन्त्य हुने भएको छ । सो भवनबाट भण्डारणसहित स्वास्थ्य, कृषि र विपद् शाखाको सेवा पाइने नगरपालिकाले जनाएको छ । आर्थिक वर्ष २०७७/७८ मा बागमती प्रदेश सरकारबाट विनियोजित १९ लाख तीन हजार ३७ र आव २०७८/७९ मा आन्तरिक स्रोतबाट विनियोजित ३८ लाख ७० हजार आठ सय लागतमा नगरपालिकाको कार्यालय नजिकै उक्त गोदामघरकाे भवन निर्माण गरिएको हो । रासस
शिलान्यास भएको दुई दशकपछि धनकुटाको सहिदभूमिको खाल्सामा कालोपत्र हुने
धनकुटा । शिलान्यास भएको २१ वर्षपछि धनकुटाको सहिदभूमिको खाल्सा क्षेत्रमा सडक कालोपत्र हुने भएको छ । उक्त स्थानमा विसं २०५८ मा कच्ची सडक पुगेको थियो । खाल्सा क्षेत्रका तात्कालीन गाविस हाल सहिदभूमि गाउँपालिकाको आँखीसल्ला, खोकु र छिन्ताङसम्मको सडक तात्कालीन धनकुटाका प्रमुख जिल्ला अधिकारी शम्भु कोइरालाले शुभारम्भ गर्नुभएको थियो । प्रदेश नं १ सरकारको प्रादेशिक विशेष सडक आयोजनाअन्तर्गत २९ करोड ७२ लाख ९८ हजारको लागतमा उक्त सडक कालोपत्र हुन लागेको हो । मध्यपहाडी लोकमार्गमा अवस्थित धनकुटा नगरपालिका–१ को व्यापारिक केन्द्र हिले बजारबाट सहिदभूमि गाउँपालिकाको थलथले बजारसम्म १० किमी सडक बन्न लागेको हो । सन् २०२१ सेप्टेम्बर २२ बाट सुरु भई सन् २०२३ मार्च २२ मा सम्पन्न हुने गरी ठेक्का पाएको रायमाझी आजद जेभी प्रालि काठमाडौंका प्रमुख प्रेम मगरले ७० प्रतिशत सडकको काम पूरा भएको जानकारी दिए । यस सडकले सहिदभूमि गाउँपालिकालाई अरुण, तमोर र दूधकोसी नदीको सङ्गममा रहेको त्रिवेणीमा अवस्थित भोजपुर, खोटाङ, उदयपुर र सुनसरी जिल्लासँग जोड्ने छ । यस सडकको निर्माण पूरा भएपछि गाउँपालिकाको आर्थिक विकासमा महत्वपूर्ण टेवा पुग्ने गाउँपालिकाका अध्यक्ष मनोज राईले जानकारी दिए । सुनसरी र भोजपुर जिल्लासँग प्रत्यक्ष पहुँच राख्न सहयोग राख्ने यस सडकले गाउँपालिका क्षेत्रमा उत्पादित कृषि उपज बजारसम्म लान विशेष सहयोग पुग्ने उनले बताए ।
फिफा विश्वकप फुटबल : सेमिफाइनल खेलमा अर्जेन्टिना र क्रोएसियाबीच प्रतिस्पर्धा हुँदै
काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत पहिलो सेमिफाइनल खेलमा अर्जेन्टिना र साविक उपविजेता क्रोएसियाबीच प्रतिस्पर्धा हुँदैछ । कतारको दोहास्थित लुसेल रङ्गशालामा हुने उक्त खेल नेपाली समयानुसार मङगलबार राती १२ः४५ बजे हुनेछ । अर्जेन्टिना र क्रोएसिया दुवै टोलीले क्वार्टरफाइनलमा पेनाल्टी सुटआउटमा पराजित गर्दै सेमिफाइनलमा पुगेका हुन । अर्जेन्टिनाले नेदरल्याण्ड्सलाई तथा क्रोएसियाले ब्राजिललाई पराजित गर्दै सेमिफाइनलमा पुगेका हुन् । यी दुई टोली यसअघि फिफा विश्वकपमा दुईपटक आमनेसामने भएका छन् । सन् १९९८ मा अर्जेन्टिनाले १–० को जित हासिल गरेको थियो । त्यस्तै सन् २०१८ मा भएको विश्वकपको समूह चरणको खेलमा क्रोएसियाले अर्जेन्टिनालाई ३–० गोलअन्तरले हराएको थियो । क्रोएसियाले हालसम्म दुईपटक विश्वकपको सेमिफाइनल यात्रामा प्रतिस्पर्धा गरेको थियो । सन् १९९८ मा फ्रान्ससँग पराजित भएको क्रोएसियाले सन् २०१८ मा भने इङ्ग्ल्याण्ड्सलाई पराजित गर्दै फाइनलमा पुगेको थियो । यता अर्जेन्टिनाले भने हालसम्म सेमिफाइनलमा हार व्यहोरेको छैन । सन् १९३० मा अमेरिका, १९८६ मा बेल्जियम, १९९० मा इटाली र २०१४ मा नेदरल्याण्ड्सलाई हराउँदै अर्जेन्टिना फाइनलमा पुगेको इतिहास छ ।
म्याग्दीमा स्वास्थ्य एकाइ स्थापना गर्न ३५ लाख संकलन
म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–१ पूर्णगाउँमा सामुदायिक स्वास्थ्य एकाइ स्थापना गर्न ३५ लाख रुपैयाँभन्दा बढी आर्थिक सहयोग जुटेको छ । यसका लागि यही मङ्सिर १५ देखि २२ गतेसम्म श्रीमद् भागवत धनधान्याञ्चल महायज्ञ आयोजना गरिएको थियो । महायज्ञ आयोजक समितिका प्रचार–प्रसार संयोजक खगेन्द्र खत्रीले सोमबार आम्दानी विवरण सार्वजनिक गरेका हुन् । ‘३५ लाख ५९ हजार छ सय रुपैयाँ सहयोग घोषणा भएको छ’, उनले भने, ‘घोषणा भएको मध्ये ३१ लाख नगद प्राप्त भइसक्यो ।’ ४४ मुरी धान र छ मुरी जौँ सङ्कलन भएको छ । सामान्य बिरामी हुँदा आधारभूत स्वास्थ्य सेवा लिनसमेत घण्टौँ पैदलयात्रा गर्नुपर्ने बाध्यता भएपछि समुदायले आफैँ लगानी जुटाउन पूर्णगाउँको शिवालय र लक्ष्मीनारायण मन्दिर परिसरमा महायज्ञ सञ्चालन गरिएको थियो । महायज्ञमा देवराज सुवेदीले कथावाचन गरेका थिए । महायज्ञका कार्यालय सचिव नीलकण्ठ सुवेदीले यज्ञबाट सङ्कलन भएको ३० प्रतिशत रकम शिवालय मन्दिर सञ्चालनका लागि कोष खडा गर्ने र ७० प्रतिशत रकमलाई सामुदायिक स्वास्थ्य एकाइ स्थापनार्थ परिचालन गरिने जानकारी दिए । पूर्णगाउँमा दुई सयभन्दा बढी घरधुरीको बसोबास छ । यो वडाको स्वास्थ्यचौकी कुहुँमा छ । पूर्णगाउँबाट कुहुँ पुग्न एक घण्टा पैदलयात्रा गर्नुपर्छ । स्वास्थ्य संस्था टाढा हुँदा औषधोपचारमा समस्या भएकाले सामुदायिक स्वास्थ्य एकाइ सञ्चालन गर्न लागिएको महायज्ञ आयोजक समितिका अध्यक्ष दुर्गादत्त आचार्यले बताए । रासस
‘चेपाङ समुदायका महिला समयमै गर्भ जाँच गराउँदैनन्’
भरतपुर । चेपाङ समुदायका महिलाहरू प्रजनन स्वास्थ्य समस्या देखाउनै चाहँदैनन् । महिलामा हुने समस्यालाई निराकरण गर्नका लागि गाउँ–गाउँमा महिला स्वास्थ्य स्वयंसेविका कार्यरत छन् । उनीहरूले सचेतनामूलक कार्यक्रम पनि निरन्तर गरिरहेका छन् । तर चेपाङ महिला गर्भजाँच गराउने विषयमा भने अझै पनि खुल्न सकेका छैनन् । लाज मान्ने हुँदा सुरूआती अवस्थामा गर्भ जँचाउन उनीहरु स्वास्थ्यचौकी नै पुग्दैनन् । पामडाँडा स्वास्थ्यचौकीका अनमी ऋचा हितङ्गाका अनुसार चेपाङ समुदायका महिला समयमै गर्भ जँचाउन आउँदैनन् । समयमै गर्भजाँच नगराउने हुँदा धेरै महिला र बच्चामा विभिन्न समस्या देखिने गरेको उनले बताइन् । ‘पेट नदेखिएसम्म केही भन्दैनन्, अरूले थाहा पाएपछि बल्ल जँचाउन आउँछन्’, उनी भन्छिन्, लाज नै यसको मुख्य कारण हो ।’ सानै उमेरमा विवाह गर्ने चलनले गर्दा कतिपय अवस्थामा उमेर नै नपुगी आमा बन्ने र गर्भ जचाउन लाज मान्ने गरेको उनले सुनाइन् । उनीे विद्यालयस्तरबाट नै उनीहरूलाई सचेत गराउँदै लैजानुपर्ने बताउँछिन् । वडाका अधिकांश चेपाङ महिलामा यो समस्या यथावत नै छ । ‘गर्भ बसेको भन्न लाज मान्ने हुँदा चार–पाँच महिना पुगिसकेपछि मात्रै स्वास्थ्यचौकी पुग्छन्’, जौगैराकी माया चेपाङ भन्छिन्, ‘म आफू पनि कलिलै उमेरमा आमा बनेकीले त्यो अनुभव मैले पनि भोगेँ ।’ उनले अहिले गाउँका अन्य महिलालाई सम्झाउने काम गरिरहेको बताइन् । बेलैमा गर्भ नजचाए आफ्नो ज्यान जोखिममा पर्ने र बच्चामा समस्या देखिन सक्ने उनले बुझेकी छन् । ‘नयाँ छोरी–बुहारीलाई लजाउन हुँदैन भनेर भन्छु’, माया भन्छिन्, ‘समयमै गर्भ जाँच नगराएका कारण मेरा पनि दुईवटा सन्तान जन्मिएर खेर गए । समयमै गर्भ जाँचेको भए समस्या पत्ता लाग्थ्यो कि भन्ने लाग्छ ।’ आमा र बच्चाको ज्यान जोखिममा पर्नबाट बचाउन पनि समयमै जाँच गर्नुपर्ने उनको भनाइ छ । उनको जस्तै जौगैराकै शिला चेपाङको पनि समयमै गर्भजाँच नगर्दा एउटा वच्चा खेर गयो । स्वास्थ्यमा पटक–पटक समस्या देखिएको भन्दै उनले लाजका कारण स्वास्थ्यचौकी नजाँदा अहिले दुःख भोग्नुपरेको बताइन् । उनले गाउँमा चेतनाको स्तर कम हुँदा धेरैले यस्तो समस्या भोग्नुपरेको सुनाइन् । महिलासँगै पुरुषमा पनि प्रजनन स्वास्थ्यबारे जानकारी हुनुपर्ने उनको भनाइ छ । चेपाङ समुदायमा यो समस्या कायम रहेपछि इच्छाकामना गाउँपालिकाले पनि सचेतनाका कार्यक्रम गरिरहेको छ । समयमै गर्भ जाँच्न आउने महिलाका लागि कम्तीमा चार महिनाका लागि आवश्यक पर्ने क्याल्सियम निःशुल्क वितरण गर्ने तयारी भइरहेको गाउँपालिकाका स्वास्थ्य शाखाका संयोजक वासुदेव सापकोटाले जानकारी दिए । ग्रामीण अल्ट्रासाउण्ड सुरू गरिसकेको जनाउँदै उनले गर्भ जाँच्न आउने महिलालाई कम्तीमा चार महिनाका लागि निःशुल्क क्याल्सियम उपलब्ध गराउने कार्यक्रम छिट्टै लागू हुने बताए । गाउँपालिकाबाट टोलटोलमा पुगेर पनि स्वास्थ्य सेवा सञ्चालन गरिरहेको उनले बताए । संघीय सरकारकै योजनाअनुसार चितवनको इच्छाकामना र राप्तीको चेपाङ बस्तीमा ‘चेपाङका लागि पोषण’ कार्यक्रमसमेत सञ्चालन गर्ने तयारी भइरहेको उनले जानकारी दिए । जनचेतनामूलक कार्यक्रमले केही सुधार भए पनि पूर्णरूपमा परिवर्तन ल्याउन नसकिएको सापकोटाले बताउँछन्। सबै निकायको सहकार्य र स्थानीयस्तरमा नियमित सचेतनामूलक गतिविधिले मात्र परिवर्तन ल्याउन सकिने उनको भनाइ छ । रासस
दुर्घटना न्यूनीकरण गर्न सवारी साधन यान्त्रिक परीक्षण सुरू
रसुवा । दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरीले सबैखाले सवारीसाधनको यान्त्रिक परीक्षण सुरूआत गरेको छ । बिग्रिएपछि मात्र मर्मत गराउने बानीको अन्त्य गराई सवारीसाधन गुडाउनुपूर्व परीक्षण गराउने जागरण ल्याउन ट्राफिक प्रहरीले पहिलोपटक यान्त्रिक परीक्षण थालेको हो । साताव्यापीरूपमा गरिने परीक्षणलाई धुञ्चेस्थित छ्योलिङ फ्रेण्डसीप ग्रुप वर्कशप धुञ्चेले निःशुल्क सहयोग गरिरहेको ट्राफिक प्रहरी कार्यालय रसुवाले जनाएको छ । रसुवा ट्राफिक प्रमुख उज्जवलकुमार घलेका अनुसार बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडा र नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर चितवनको निर्देशनमा पासाडल्हामु मार्गमा गुड्ने सबैखाले सवारीसाधनको यान्त्रिक परीक्षण थालिएको हो । यही मङ्सिर २५ गतेबाट सुरू गरिएको यान्त्रिक परीक्षणअन्तर्गत दुई दिनमा आधा दर्जन मोटरसाइकलमा भने खराबी भेट्टिएको र पूर्णरूपको मर्मत गरेर मात्र सञ्चालन गराउन सुझाव दिइएको छ । सवारी नियम उल्लंघन गर्ने सयौं सवारीधनी कारबाहीमा परिसकेको ट्राफिक प्रमुख घलेले जानकारी दिए । चीनसँगको कारोबार गर्ने नेपालको उत्तरी रसुवागढी अन्तर्राष्ट्रिय नाकासमेत भएका कारण यहाँ मालसामग्री लिन आउने अधिकांश सवारीसाधनले यातायात कार्यालयबाट प्रदान गर्ने सडक अनुमतिपत्र नल्याउने, बिलबुक तथा सवारी चलाउने अनुमतिपत्रलगायतका आवश्यक कागजात नबोक्ने, ट्राफिक नियम पालना नगर्ने समेत समस्या रहेको बताइएको छ । यस्तै रसुवा जिल्ला पर्यटकीय क्षेत्रसमेत भएको र तोकिएको सवारी प्लेटभन्दा अन्य सवारीसाधनले समेत नियमविपरीत पर्यटक बोक्ने गरेका कारण त्यस्ता सवारीसाधनसमेत कारबाहीमा पर्ने गरेको जनाइएको छ । रासस
एसियाली विकास बैंकको सहयोगमा विराटनगरलाई डुबानमुक्त बनाउन सम्भाव्यता अध्ययन सुरु
विराटनगर। विराटनगरलाई डुबानबाट मुक्त गराउन विराटनगर महानगरपालिकाले सम्भाव्यता अध्ययन सुरु गरेको छ। डुबान समस्याको दीर्घकालीन समाधान खोज्न महानगरले एसियाली विकास बैंक (एडीबी)को सहयोगमा वर्षातको पानीले हुने डुबान व्यवस्थापनका लागि सम्भाव्यता अध्ययन सुरु गरेको हो। वर्षाको पानी सहज निकास नहुँदा हरेक वर्षायाममा विराटनगर डुबानमा पर्ने गरेको छ। महानगरलाई वैज्ञानिकरूपमै डुबानबाट मुक्त गर्न एडीबीको सहयोगमा सम्भाव्यता अध्ययन सुरु गरेको विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले बताए। प्रमुख कोइरालाको नेतृत्वमा सोमवार अध्ययन टोलीले महानगरका डुबानग्रस्त विभिन्न वडाको स्थलगत निरीक्षण गरेको छ। आरयुडीपी प्रोजेक्टअन्तर्गतको स्मेक डीएमले वर्षातको पानी व्यवस्थापनका लागि सम्भाव्यता अध्ययन सुरु गरेको प्रमुख कोइरालाले बताए। विराटनगरमा जम्ने पानीलाई कसरी सिंघिया र केसलिया खोलामा लगेर व्यवस्थापन गर्न सकिन्छ भनेर एडीबीका परामर्शदाताबाट अध्ययनको सुरुआत गरिएको उनको भनाइ छ। त्यस्तै, पुराना पैनीहरू घोगा, बस्ता, धुदुवा, च्याङबारी, मर्लीखोलालगायतको पानीलाई पनि मूलखोलामा पुर्याएर वर्षाको पानीलाई व्यवस्थापन गर्ने महानगरको योजना छ। ‘विराटनगरको उत्तरबाट दक्षिण र पूर्वबाट पश्चिमसम्मको भाग हेरिरहेका छौं,’ प्रमुख कोइरालाले भने, ‘एडीबीबाट आएका साथीहरूसँग म आफैँ हिँडिरहेको छु। उनीहरूले अध्ययन गरेपछि एक/दुई हप्ताभित्रैमा प्रतिवेदन तयार पार्नुहुनेछ र त्यसपछिको प्रक्रियामा अगाडि बढ्नेछौं।’ स्मेक डीएमका टोलीनेता डा. शेख जाबेद मोहम्मदसहितको प्राविधिक टोलीले सम्बन्धित वडामा पुगेर पानीको निकासका विषयमा अध्ययन गरेको छ। टोलीले विस्तृत प्रतिवेदन तयार पार्नेछ। प्राविधिकसहितको टोलीले विराटनगर वडा नम्बर ३, १५, १७, १८ र १९ मा पुगेर स्थलगत अध्ययन गरेको छ। रासस
दाङमा उपमहानगरकै जग्गा अतिक्रमणमा
दाङ । दाङ तुलसीपुर उपमहानगरपालिकाको नाममा १० बिघाभन्दा बढी जग्गा छ । तर उपमहानगरपालिकाले भोगचलन भने सीमित जग्गामात्रै गर्दै आएको छ । अन्य जग्गा अतिक्रमणमा परेको छ । उपमहानगरपालिका कार्यालय रहेको १० कठ्ठा जग्गा र बसपार्क क्षेत्रको केही जग्गामात्रै प्रयोग गरेको छ । उपमहानगरपालिकाको कार्यालय रहेको उत्तर–पूर्वतर्फको पनि केही जग्गा अतिक्रमणमा परेको छ । जहाँ तीन ठूला पक्की घर निर्माण गरिएको छ । उपमहानगरपालिका कार्यालयको कित्ता नं ५ (घ) ८१२ मा त्यसरी अतिक्रमणमा परेको हो । उपमहानगरपालिकाका पाँचवटा कित्ता रहेका छन् । तीमध्ये तुलसीपुर बसपार्कको उत्तरतर्फ आलुमण्डी आसपासको कित्ता नं ५ (ख) ५४४ मा एक बिघा १० कठ्ठा १४ धुर जग्गा छ । त्यहाँ अहिलेसम्म लगत सङ्कलन गर्दा ९७ घर बनेको पाइएको छ । अझै पनि त्यहाँ लगत सङ्कलन कार्य भइरहेको छ । त्यस्तै कित्ता नं ५ (ख)कै ५४५ मा तीन कठ्ठा जग्गा छ । जहाँ १९ वटा घर बनेका छन् । त्यस्तै कित्ता नं ५९ख० ५४६ मा ११ कठ्ठा जग्गा छ । जहाँ ३६ घर बनेका छन् । तीमध्ये केही उपमहानगरपालिकाको संरचना रहे पनि अधिकांश जग्गा अतिक्रमणमा परेको छ । त्यस्तै कित्ता नं ५९ख० ४९९३ मा ५३ हजार पाँच सय ६५ वर्गमिटर जग्गा रहेको छ । सोही जग्गामा ४७ घर बनेका छन् भने अझै सोही कित्तामा लगत सङ्कलन बाँकी रहेकाले निर्माण भएका घरको सङ्ख्या धेरै हुनसक्ने तुलसीपुर उपमहानगरपालिकाका भूमि व्यवस्थापन शाखा प्रमुख माधव पौडेलले बताए। ‘हामीले बिहानदेखि साँझसम्म अतिक्रमित जग्गामा बनेका घरटहराको लगत सङ्कलन गर्ने कार्य गरिरहेका छौँ, पाँच कित्तामध्ये तीन कित्ताको लगत सङ्कलन गरिसकेका छौँ’, उनले भने, ‘अन्य दुईवटा कित्ताको पनि आधा जति काम भइसकेको छ, केही मात्रै बाँकी छ ।’ मङ्सिर १३ देखि आफूहरूले लगत सङ्कलनको काम सुरु गरेको उनले भने। उनले अबको एक हप्तामा लगत सङ्कलन कार्य सकिनेसमेत बताए। लगत सङ्कलन गरेर आफूहरूले कार्यपालिकामा पठाउने उनको भनाइ छ । कार्यपालिकामा पठाएपछि एकपटक सर्वदलीय, सर्वपक्षीय बैठक बोलाउने तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले बताए । ‘लगत सङ्कलन केही दिनमा सकिन्छ, त्यो सकिएमा हामीले एकपटक सर्वदलीय, सर्वपक्षीय बैठक बोलाउँछौँ’, उनले भने, ‘त्यो बैठकले के निष्कर्ष निकाल्छ, त्यहीअनुसार हामी अघि बढ्छौँ ।’ उपमहानगरपालिकाले कात्तिक ३ गते नै जग्गा खाली गरिदिन भन्दै ३५ दिने सूचना जारी गरेको थियो । तर सूचना प्रकाशित भएको ३५ दिन कटिसक्दा पनि चासो नदिएको भन्दै नागरिकले ध्यानाकर्षण गराइरहेका छन् । तर आफूहरू नियमित यही कार्यमा लागिरहेको नगरप्रमुख खड्काले बताए। आफ्नो सम्पत्ति संरक्षण गर्नुपर्ने दायित्व भएकाले यो कदम अघि बढाएको उनको भनाइ छ । तीमध्ये कोही सुकुम्बासी भएमा उनीहरूलाई निश्चित ठाउँमा व्यवस्थापन गर्नेसमेत उनले बताए । केहीले विसं २०५६ सम्म उपमहानगरपालिकालाई भाडा तिर्ने गरेको भए पनि पछिल्लो समय भाडा पनि नतिरेको पाइएको प्रमुख खड्काले बताए । सूचना प्रकाशनपछि केही व्यक्ति कार्यालयमा आएर छुट गरेर भाडा तिर्नेसमेत प्रतिबद्धता जनाएको तर, त्यो पनि अब लगत सङ्कलनपछि बोलपत्रमार्फत गर्न सकिने बताए । उपमहानगरपालिकाकै जग्गा कतिपयले किनबेचसमेत गरेको पाइएको उनले बताए । रासस