नागरिकलाई सुलभ सेवा दिन कार्यालय पुनःस्थापना माग
खजुरा । बाँके नरैनापुर गाउँपालिकामा इलाका प्रशासन कार्यालय, मालपोत र नापी कार्यालय स्थापनाका लागि गाउँपालिकाले पहल सुरु गरेको छ । नरैनापुर गाउँपालिकाको कार्यपालिका बैठकले इलाका प्रशासन कार्यालय, मालपोत र नापी कार्यालय स्थापनाका लागि आवश्यक व्यवस्था गर्न जिल्ला प्रशासन कार्यालय बाँके समक्ष अनुरोध गर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले बताए । हाल सेवा प्रवाहमा सहज पहुँच नभएकाले संघीयताको मर्म र भावनाअनुसार एकीकृत तथा विकेन्द्रीकृत सेवा प्रवाह गर्ने राज्यको नीतिअनुसार गाउँपालिका क्षेत्रभित्र रहने गरी इलाका प्रशासन, मालपोत र नापी कार्यालय स्थापनाका लागि कार्यपालिकाबाटै निर्णय गरिएको गाउँपालिका अध्यक्ष इश्तियाक अहमद साहले बताए । उनले भने, ‘नरैनापुर गाउँपालिकाबाट जिल्ला प्रशासन कार्यालय पुगेर सेवा लिन असहज छ’, ‘नागरिकलाई गाउँ–गाउँबाट सेवा दिने संघीयताको मर्म र भावनाअनुसार स्थानीयस्तरमै सेवाको आवश्यकता छ’, उनले भने, ‘इलाका प्रशासन, मालपोत र नापी कार्यालयका लागि चाहिने अन्य पूर्वाधार भवनको व्यवस्था गाउँपालिकाले गर्नेछ ।’ ‘नागरिकता, राहदानी र अन्य सिफारिस बनाउन सदरमुकाम जानुपर्ने बाध्यताको अझै अन्त्य भएन, गाउँ–गाउँमा सिंहदरबार नाममा मात्र सीमित बन्यो’, उनले भने । प्रशासनिक सेवाको सहजताका लागि इलाका प्रशासन, मालपोत र नापी कार्यालय जरुरी रहेको नरैनापुर-५ का अध्यक्ष कृष्णचन्द्र मार्यले बताए । वडानं १ का अध्यक्ष इसाक जोलहाले कार्यालय स्थापना भए सदरमुकामबाट ५५ किमीको दूरीमा रहेको सुइया र आसपासका सर्वसाधारण लाभान्वित हुनेछन् । सशस्त्र द्वन्द्वका बेला विस्थापित इलाका प्रशासन कार्यालय बीचमा केही समयका लागि स्थापना भए पनि पछि पुनः सदरमुकाममै विस्थापित भएको थियो । नागरिकताका लागि अझै पनि त्यहाँका नागरिकले दुई दिनसम्म नेपालगञ्ज बस्नुपर्ने बाध्यता रहेको छ । स्थानीय तहको स्थापनासँगै अहिले सडक, बिजुलीलगायतको व्यवस्था भइसक्दा समेत यी कार्यालय स्थापना नहुनुमा स्थानीयवासीले दुःख व्यक्त गरेका छन् । रासस
करोडौं खर्च गरेर बनेका १९ विमानस्थल बिजनेसविहिन, राजनीतिक पहुँचका आधारमा निर्माण गर्दा समस्या
काठमाडौं । निर्माण सम्पन्न गरेर तयार अवस्थामा रहेका १९ विमानस्थल अहिले बन्द छन् । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का अनुसार विभिन्न जिल्लामा निर्माण गरिएका १९ वटा विमानस्थल अहिले बन्द रहेका छन् । यी मध्ये केहीमा उडान भएर बन्द भएका छन् भने केही निर्माण सम्पन्न भए पनि परीक्षण उडानसमेत हुन सकेका छैनन् । विभिन्न कारणले लामो समयदेखि बन्द भएका विमानस्थल सञ्चालनमा सरकारले चासो नदेखाउँदा उडानविहीन भएका हुन् । अहिले ति विमानस्थल गौचरणमा परिणत भएका छन् । केन्द्र, प्रदेश र स्थानीय गरी तीन तहमा सरकारी पहुँच हुँदासमेत सरकारको करोडौंको लगानी खेर गएको छ । ठूला नेताको दबाब र निर्वाचन एजेन्डाका रूपमा विमानस्थल निर्माण भएका कारण पनि यस्तो अवस्था आएको जानकारहरु बताउँछन् । सरकार परिवर्तनसँगै कतिपय विमानस्थलमा परीक्षण उडान हुने गरे पनि नियमित उडान नहँुदा सरकारको करोडौँ लगानी डुबेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार एउटा विमानस्थल निर्माण गर्दा हिमाली क्षेत्रमा न्यूनतम ४५ करोड, पहाडमा ३५ करोड र तराईमा ५० करोड रुपैयाँ खर्च हुन्छ । विमानस्थलमा कतिखर्च हुन्छ भन्ने यकिन छैन । क्षेत्रफल र घनत्वका आधारमा खर्च निर्धारण हुन्छ । प्राधिकरणले २०६९ मा नौ करोड रुपैयाँ खर्च गरेर हिमाली जिल्ला मनाङको हुम्डे विमानस्थलको रन–वे कालोपत्रे गरेको थियो । तर, विमानस्थल हाल प्रयोगविहीन भएको छ । कालोपत्रे गरेको केही दिनमै परीक्षण उडान भएपनि हालसम्म नियमित उडान नभएको प्राधिरकणले जनाएको छ । ६ सय मिटरको धावनमार्ग रहेको हुम्डे विमानस्थल कालोपत्रे गरिएसँगै बढाएर नौ सय मिटर बनाएको छ । बरु कालोपत्रे हुनु अघि पोखराबाट सातामा दुई दिन नेपाल वायुसेवा निगमले उडान भर्दै आएको थियो । गण्डकी प्रदेश सरकारले पुनः उडान सुरु गर्ने भन्दै परीक्षण उडान गरेतापनि नियमित उडान सुरु हुन सकेको छैन । तीन हजार तीन सय ३० मिटर उचाइमा रहेको हुम्डे विमानस्थलमा २०३९ असोजबाट उडान सुरू गरिएको थियो । २०१६ बाट सञ्चालनमा आएको गोर्खाको पालुङटार विमानस्थल गौचरनमा परिणत भएको छ । विमानस्थल निर्माण भएको १९ वर्षपछि २०३५ बाट उडान बन्द भएको विमानस्थल पुनःसंचालन हुन सकेको छैन । त्यस्तै, २०१७ बाट सञ्चालनमा आएको मेघौली विमानस्थल २०६७ मंसिरदेखि २०६९ मंसिरसम्म दुई वर्ष उडान बन्द भएको थियो । बन्द भएको विमानस्थलमा २०६९ को मंसिरबाट पुनः सञ्चालनमा ल्याइए पनि त्यसले पूर्णता पाउन सकेन । सातामा तीन वटा उडान भर्ने योजनाअनुसार पुनः सञ्चालनमा आएको विमानस्थल अहिले बन्द छ । कुन–कुन विमानस्थल बन्द ? उडानविहीन भएका १९ विमानस्थलमध्ये सन् १९८६ मा सञ्चालनमा आएको दार्चुला विमानस्थल, सन् १९७३ सालमा सञ्चालनमा ल्याइएको बाग्लुङ विमानस्थल, सन् १९७३ सालमा सञ्चालनमा ल्याइएको रुकुम चौरजहाजी विमानस्थ हाल बन्द छन् । सन् १९७३ बाट सञ्चालनमा आएको ढोरपाटन विमानस्थल, २०७६ पुस ७ गते परीक्षण उडान गरिएको खिजी चण्डेश्वरी विमानस्थल र विस २०७५ जेठ २५ गते परीक्षण उडान गरिएको गुल्मी रेसुङगा विमानस्थल सञ्चालन हुन सकेको छैन । सन् १९७६ बाट सञ्चालनमा आएको जिरी विमानस्थल, सन् २००३ बाट सञ्चालनमा आएको काङगेलडाँडा विमानस्थल, सन् १९७३ बाट सञ्चालनमा आएको महेन्द्रनगर विमानस्थलमा पनि अहिले बन्द छन् । सन् १९८१ बाट सञ्चालनमा आएको मनाङको हुम्डे विमानस्थल, सन् २०१४ बाट सञ्चालनमा आएको मसिनेचौर (डोल्पा) विमानस्थल, सन् १९६० बाट सञ्चालनमा आएको गोर्खाको पालुङटार विमानस्थल, सन् १९६६ बाट सञ्चालनमा आएको मेघौली विमानस्थल, सन् १९८४ बाट सञ्चालनमा आएको टीकापुर विमानस्थलमा पनि अहिले उडान हुन सकेको छैन । स्याङबोचे विमानस्थल, लाङटाङ विमानस्थल, डोल्पा, रुम्जाटार र रोल्पा विमानस्थलमा पनि प्रयोगविहीन भएका छन् । प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीका अनुसार नेपालभर ठूला साना गरी ५७ वटा विमानस्थल छन् । जसमा ३४ वटा विमानस्थलको धावनमार्ग कालोपत्रे गरिएको छ भने पाँच विमानस्थल निर्माणको चरणमा रहेका छन् । मुलुकको हवाई सेवाको पहुँच देशव्यापी भए पनि यसका चुनौती थुप्रै छन् । अधिकांश जिल्लामा हवाई सञ्जाल विस्तार भएको छ तर पनि प्रभावकारी रुपमा सञ्चालनमा आउन सकेको छैन । भौगोलिक कठिनाइ, मौसमी अवस्था र पूर्वाधार विस्तार प्रभावकारी नहुँदा विमानस्थल प्रभावकारी बन्न नसकेको अधिकारीको भनाइ छ । व्यवसायिक आवश्यकता भन्दा राजनीतिक दबावमा विमानस्थल निर्माण हुँदा परीक्षण उडान समेत नभएर विमानस्थल ग्राउण्डेडको अवस्था आएको नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) का अधिकारीहरु नै बताउँछन् । गुल्मीमा २०६३ सालमा तत्कालिन पर्यटन मन्त्री प्रदीपकुमार ज्ञवालीले विमानस्थल आयोजनाको शिलान्यास गरेका थिए । पर्यटन मन्त्रालय आफ्नो जिम्मेवारीमा रहेको मौकामा ज्ञवालीले आफ्नो जिल्लामा विमानस्थल निर्माण गरेका हुन् । जुन राजनीतिक पुहुँचकै आधारमा तय भएको विमानस्थल हो । राजनतिज्ञहरुले हवाइ उडान पनि पहुँचकै आधारमा गर्ने र पछि यात्रु नपाएर उडान नै बन्द गर्नु परेका थुप्रै उदाहरणहरु छन् । हवाई नीतिमै खोट क्यानका महानिर्देशक अधिकारी बिना अध्ययन नै हवाई नीतिको ड्राफ्ट तयार बनाइएको बताउँछन् । ‘पहाडमा सामान्यतया ३० नोटिकल मायल, तराईमा ४० नोेटिकल माइलमा विमानस्थल बनाउन पाइने छैन भनेर उल्लेख गरिएको छ, त्यसलाई सामान्यता भनिएको भन्दै एउटै जिल्लामा ५ वटासम्म विमानस्थल बनाईएको छ’, उनले भने । क्यानको तथ्यांक अनुसार खोटाङ जिल्लामा मात्रै ५ वटा विमानस्थल निर्माण भएका छन् । थामखर्क, लामिडाँडा, खानिडाँडा, नजिकै ओखलढुगांको रुम्जाटार, खिजिचण्डेश्वरी, काडेलडाँडा, फाप्लु र लुक्ला विमानस्थल खोटाङको वरपर पर्छन् । उनले यी विमानस्थल ४० नोटिकल माइल भित्र नपर्ने भन्दै नीतिमा उल्लेख भएको कुरालाई आधार बनाएर राजनीतिक पहुँचका भरमा विमानस्थल निर्माण गरेर राज्यको ठूलो लगानी खेर फालिएको बताए । ‘पहुँचका भरमा बनाइएका कुनै विमानस्थलमा जहाज जानै सक्दैनन्, जान सक्ने विमानस्थलमा वायुसेवा कम्पनीले चासो दिदैनन्’, उनले भने,
सशस्त्र प्रहरीद्वारा गाँजा बोकेको ट्रक नियन्त्रणमा
पर्सा । पर्सा जिल्लाको ठोरी गाउँपालिका ३ स्थित ठुटेखोला ईलाकाबाट मंसीर २६ गते सशस्त्र प्रहरीले करीब ३ सय ६३ केजी गाँजा र सो गाँजा बोकेको ट्रक नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीको विशेष सूचनाको आधारमा बिओपी ठोरीले मकवानपुरको हेटौडाबाट पर्साको विजय बस्तीतर्फ जाँदै गरेको ना ४ ख ६५५५ नम्बरको ट्रकमा फल्स वटन प्रयोग बनाई २२ वटा कार्टुनमा प्याक गरी लैजाँदै गरेको अवस्थामा गाँजा र ट्रक नियन्त्रणमा लिएको हो । उक्त ट्रकका चालक सशस्त्र प्रहरीलाई देख्नासाथ ट्रक सोही ठाउँमा छाडि फरार भएका थिए । बरामद गाँजा तथा ट्रक आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय ठोरीमा बुझाईएको छ ।
सशस्त्र प्रहरीले मदिरा बोकेको गाडीसहित दुई जना नियन्त्रणमा लियो
महोत्तरी । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका ७ स्थित परिक्रमा गाछी ईलाकाबाट हिजाे सशस्त्र प्रहरीले करीव ९ लाख ६४ हजार रुपैयाँ बराबरको ४० कार्टुन सोफी र २ कार्टुन मेडुवा मदिरा बोकेको गाडीसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल नेपाल बिओपी मटिहानीले भारतमा घर बताउने ३६ वर्षिय राजा साह र २२ वर्षिय अजित कुमारलाई नियन्त्रणमा लिएको हो । बी।आर।०६ पी।बी।९७११ नम्बरको बोलेरामा राखेर नेपालबाट भारततर्फ चोरीनिकासी गर्न लागिएको उक्त मदिरा तथा गाडीसहित उनीहरुलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेकाहरुलाई बरामद मदिरा तथा गाडीसहित आवश्यक कारवाहीको लागि भन्सार कार्यालय जलेश्वरमा बुझाईएको छ ।
सकियो यस वर्षको किम्फ
काठमाडौं । यही मङ्सिर २२ गतेदेखि काठमाडौंमा सञ्चालन भइरहेको काठमाडौं अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (किम्फ) सोमबार सम्पन्न भएको छ । हिमाल एशोसिएशनको आयोजना र काठमाडौँ महानगरपालिकाको सहआयोजनामा भएको महोत्सवको बीसौँ संस्करणमा यसपटक ३० मुलुकका ६० फिल्म ‘स्क्रिनिङ’ भए ।पर्वत, पर्वतीय संस्कृति, वातावरण र मानवअधिकारको कथावस्तुमा बनेका फिल्म प्रदर्शन गरिएको किम्फको यसपटकको नारा ‘दिगो आरोहण’ थियो । महोत्सवमा क्यानडा र अमेरिकाका दुई फिल्म सर्वोत्कृष्ट भए । अन्तर्राष्ट्रिय खण्डतर्फ क्यानडाको ‘फार बियोन्ड द पास्चरल्यान्ड्स’ र अमेरिकाको ‘कुमारी: अ फादर्स ड्रिम’ले स्पेसल मेन्सन अवार्ड प्राप्त गरे । मौले प्लान्टी हुसारुक र म्याक्सिम लाकोस्टे लेबियस निर्देशित ‘बियोन्ड र पास्चरल्यान्ड’ले ललिता नामक पात्रको माध्यमबाट मालिकोट गाउँका बासिन्दा यार्सागुम्बा टिप्न अग्ला पहाडमा उक्लने कथालाई पूर्वाग्रहरहित ढङ्गले पेश गर्छ । अमेरिकी निर्देशक सीन ओ कनर निर्देशित ‘कुमारी अ फादर्स ड्रिम’ले पथप्रदर्शक जगत लामा र अन्यले भूकम्पले भत्काएको बस्तीलाई अझै सशक्त र बलियो बनाउन गरेको प्रयत्नको कथा भन्छ । अन्तर्राष्ट्रिय खण्डतर्फ बेलायती निर्देशित ह्युगो साउन्डर्स निर्देशित ‘द सेकेण्ड समिट’ फस्ट च्वाइस, स्वीट्जरल्याण्डका निर्देशकद्धय लिजा रोसिल र क्यारेलिन फ्लिङ्क निर्देशित ‘सोफी लाभौड : लेडी ८०००’ सेकेन्ड च्वाइस र फ्रान्सेली निर्देशक म्याथ्यु लेले निर्देशित ‘अ ह्वाइट ड्रिम’ थर्ड च्वाइस घोषित भए । नेपाल पानोरमा खण्डतर्फ सूर्य शाही निर्देशित ‘ह्विल्स अन द बस’ सर्वोत्कृष्ट फिक्सन घोषित भयो । अनिल बुढामगर निर्देशित ‘द आइरन डिगर’ सर्वोत्कृष्ट डकुमेन्ट्री घोषित भयो । नेपाल पानोरमातर्फ इङ्गी होपो कोनिच सुनुवार निर्देशित ‘सेनाको चेली’ र पिङ्की श्रीश रानाको ‘हजुर’ले संयुक्तरूपमा स्पेसल मेन्सन अवार्ड प्राप्त गरे । यसपटकको किम्फमा विद्या चापागाईँ र कमलकुमारको फिल्म ‘हेर्ने कथा’ शृङ्खलाअन्तर्गतको फिल्म ‘बाघको बङ्गारा’ले अडियन्स च्वाइस अवार्ड प्राप्त गर्न सफल रह्यो । महोत्सवमा यस वर्ष माइकल पज, जिन्ना ली र किरणभक्त जोशी निर्णायकको भूमिका निर्वाह गरेका थिए । पाँच दिनसम्म राष्ट्रिय सभागृह र पर्यटन बोर्डमा चलेको महोत्सवको अन्तिम फिल्म अष्ट्रेलियाली निर्देशक जोय कार्टरको ‘फलाइ फ्रम एभरेष्ट’ बन्यो । रासस
प्रतितोला दुई सयले घट्यो सुनको मूल्य
काठमाडौं । नेपाली बजारमा मंगलबार सुन चाँदीको मूल्य घटेको छ । नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको २०० रुपैयाँले घटेको हो । आज घटेको मूल्य अनुसार छापावाल सुन प्रतितोला १ लाख रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजाबी सुन प्रतितोला ९९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको महांसघले जनाएको छ । चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला १ हजार ३९० कायम रहेको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा महासघंले यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।
पहिलो पटक आईटीका विद्यार्थीहरूले चलाए एडब्लुएस सेल्फ ड्राइभिङ कार
काठमाडौं । नेपालमै पहिलो पटक आईटीका विद्यार्थीहरूले एडब्लुएस सेल्फ ड्राइभिङ कार एडब्ल्युएस डीपरेसर चलाएका छन् । नेपालकै पहिलो अमेजन वेब सर्भिसेज् एडब्ल्युएस युजर ग्रुपले आयोजना गरेको एडब्ल्युएस कम्युनिटी डे कार्यक्रममा विद्यार्थीहरूले सेल्फ ड्राइभिङ कार एडब्ल्युएस डीपरेसर चलाएका हुन् । एडब्ल्युएसु जस्तो मल्टीबिलिअन वर्थ संस्थाुका पाँच आधिकारिक कर्मचारीहरूले नेपालमा एडब्ल्युएस डीपरेसर प्रतियोगिता सम्पन्न गरेका हुन् । यसै क्रममा नेपालमै पहिलो पटक डिसेम्बर १० मा एडब्ल्युएस युजर ग्रुप नेपालद्वारा आयोजित यस एडब्ल्युएस कम्युनिटी डे कार्यक्रममा ३०० भन्दा बढीको सहभागीता रहेको थियो। सहभागीहरूमा अधिकतम क्लाउडमा कार्यरत व्यक्तिहरू तथा आईटीका विद्यार्थीहरु रहेका थिए । कम्युनिटी डेमा क्लाउडमा कार्यरत इञ्जिनियरहरूले क्लाउड सम्बन्धी विभिन्न विषयमा आफ्नो ज्ञान, अनुभव, र ह्याण्डस् अन डेमो प्रस्तुत गरेका थिए । च्याटबट, क्लाउडसेक्युरिटी, डाटा इञ्जिनियरिङ युजिङ एडब्ल्युएस आदि विषयका टेक्निकल सेसनमा सहभागीहरूले धेरै नयाँ कुराहरू सिक्ने मौका प्राप्त गरेको आयोजकले जनाएको छ। कम्युनिटी डेको मुख्य आकर्षण एडब्ल्युएस डीपरेसर रहेको थियो । यस प्रतिस्पर्धामा सबै स्तरका डेभलोपरहरुले रिइन्फोर्समेन्ट लर्निङलाई अन्वेशन तथा प्रयोग गरेर आफैं सञ्चालन हुने कारलाई रेसिङ ट्रयाकमा उतार्ने अवसर पाए । जसमा न्युनतम समयमा पूरा ट्रयाक कभर गर्न सफल हुने बिजेता भएका थिए । प्रतियोगितामा प्रथम हुनेलाई ३० हजार रुपैयाँ, दोस्रो हुनेलाई २० हजार रुपैयाँ र तेस्रो हुनेलाई १० हजार रुपैयाँ नगद पुरस्कार दिइएको थियो। पहिलो चरणमा १४० सहभागीहरूले एडब्ल्युएस डीपरेसर टिमबाट नै भर्चुअल ट्रेनिङ प्राप्त गरेर आफ्नो कोड भर्चुअल ट्रयाकमा प्रस्तुत गरेका थिए। टप १५ ले भने नेपालकै पहिलो एडब्ल्युएस फिजिकल डीपरेसर ट्रयाकमा नै रेस गर्ने मौका पाए। कार्यक्रमको मुख्य प्रायोजक जेनिस सोलुसन रहेको थियो । नेपालमा पहिलो पटक एडब्ल्युएसलाई निम्त्याउने यस संस्थाले कम्पनीहरूको दक्षता बढाउन विभिन्न क्लाउड सम्बन्धी सेवा दिँदै आएको छ। त्यसै गरी एडब्ल्युएस कम्युनिटी दे सफल बनाउन मद्दत गर्ने अन्य प्रायोजक सफ्टारिका कलेज अी आईटी एण्ड ईकमर्स, भायानेट, रिनेज्ड इन्स्योरेन्स, जेनिस एकाडेमी, खल्ती र टेकसाथी रहेका थिए। नेपालका एक मात्र एडब्ल्युएस एम्बास्डर तथा एडब्ल्युएस युजर ग्रुपको नेतृत्व गर्दै आएका अन्जनी फुयालले आफ्नो ४ वर्षको एडब्ल्युएस कम्युनिटी डे र डीपरेसर नेपालमा सम्पन्न गर्ने सपना पुरा भएको भन्दै खुशी व्यक्त गरे । उनी भन्छन्,ुयो त एउटा सुरुवात मात्र हो, हामी एडब्ल्युएस युजर ग्रुप नेपालले आउने दिनहरुमा अरु पनि यस्तै उपयोगी र फलदायी योजना र कार्यक्रमहरु ल्याउनेछौँ। त्यसैगरी एडब्ल्युएस युजर ग्रुप नेपालको सहनेतृत्व गर्दै आएकी बर्षा भण्डारीले आफु आईटी क्षेत्रमा विशेषज्ञ नभए पनि कम्युनिटीको नेतृत्व गरेर आफ्नो करियर बनाउन सकेकी बताइन् । आईटी क्षेत्रका व्यक्तिका लागि त झन् धेरै अवसर र सम्भावना रहेको उनको भनाइ छ । एडब्ल्युएस युजर ग्रुप नेपालले सन् २०१८ देखि सक्रिय रुपमा विभिन्न मिटअप तथा वेबीनारहरु संचालन गर्दै आएको छ। यी कार्यक्रमहरूमा क्लाउड जान्न उत्सुक आईटीका विद्यार्थीहरू तथा क्लाउडमा काम गरिरहेका प्रोफेसनल्सहरूले क्लाउड विशेषज्ञहरूसँग ह्याण्डस् अन ट्रेनिङ र वोर्कशपहरु लिन सक्छन् । यति मात्र नभएर विश्व बजारमा आईटी क्षेत्रमा आफ्नो करियर बनाउनका लागि क्लाउड सम्बन्धी ट्रेनिङ तथा सर्टिफिकेसन कसरी लिने, कहाँबाट सुरू गर्ने, प्रशिक्षक कसरी खोज्ने लगायत अन्य जिज्ञासाहरूको पनि उत्तर पाउन सक्छन्।
अध्यादेशविरुद्ध अनेरास्ववियु : कानुनी राज्य स्थापना गर्न सडकमा आउने अध्यक्ष बरालको चेतावनी
काठमाडौं । नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियुले राष्ट्रपतिसमक्ष पेश गरेको मुलुकी फौजदारी कार्यविधि संहिता पहिलो संशोधन अध्यादेश, २०७९ फिर्ता लिन माग गरेको छ । अध्यक्ष बरालले नयाँ जनादेश आइसकेको अवस्थामा बदनीयतका साथ अध्यादेश ल्याउनु अनुचित, अनैतिक र आपत्तिजनक रहेको बताएकी छन् । ‘देश प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन सम्पन्न गरी नयाँ जनादेश प्राप्त संसद्को शपथग्रहण तथा प्रथम बैठकको सम्मुखमा उभिएको छ। यस्तो अवस्थामा निर्वाचन सम्पन्न गर्ने एक मात्र जिम्मेवारी प्राप्त कामचलाउ सरकारले २०७९ मङ्सिर २५ गते अपराध संहिता संशोधन गर्ने गरी ल्याएको अध्यादेश प्रति अनेरास्ववियुको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ। उनले केही दिनभित्र नयाँ संसदको पहिलो बैठक बस्ने अवस्थामा काम चलाउ सरकारले अध्यादेश ल्याइनु स्वार्थपूर्ण सत्ता केन्द्रित राजनीतिको फोहोरी खेलको सुरुवात भएको बताएकी छन्। ‘जसले खुलेआम नयाँ जनादेशको मर्म र नयाँ संसद्को अधिकार मिच्ने प्रयास गरेको छ,’ उनले भनेकी छन् । ताजा जनादेश आएर नयाँ सरकार बन्ने अवस्था आइसकेको बेला देउवा सरकारले दीर्घकालीन असर पर्ने निणर्यले संविधानको मर्म, कानुनी राज र लोकतन्त्रको धज्जी उडाएको बताउँदै अध्यक्ष बरालले सरकारको कदम राजनीतिक निर्लज्जताको पराकाष्ठा भएको ठहर गरेकी छन् । तसर्थ राजनीतिमा अपराधीकरण र अपराधको राजनीतिकरण गर्ने गरी मन्त्रिपरिषद्को बैठकबाट गरिएको गैरसंवैधानिक राजनीतिक निणर्यले कानुनसँग अन्तरविरोध राख्ने मुद्दालाई कानुन संशोधन गरी खारेज गर्ने उद्देश्यले ल्याइएको उक्त अध्यादेश सत्तारोहणको लागि बहुमत जुटाउन गरिएको लज्जास्पद निणर्य हो भन्ने अनेरास्ववियुको ठहर छ। विज्ञप्तिमा भनिएको छ, ‘तसर्थ विगतमा जम्बो मन्त्रिमण्डल बनाएर बदनामी कमाएका सत्ताका माहिर खेलाडी देउवाले सांसद् किनबेच गरेर, राजाको बलमा आफ्नै पार्टी फुटाएर, अध्यादेशका आधारमा अर्काको पार्टी फुटाउने, परमादेशबाट सरकार निर्माण गर्ने जस्ता अनेकन हर्कत गरेर सत्तामा पुग्ने सफल देउवा पुनः यस पटक संविधान विरोधी दण्डहीनतालाई प्रश्रय दिँदै संसद्को अधिकार क्षेत्रमा प्रहार गर्ने अध्यादेश ल्याई पुनः एक पटक कलङ्कित बनेका छन् ।’ अनेरास्ववियु जनविरोधी अध्यादेश तत्काल फिर्ता लिन माग गरेको छ । उनले अन्यथा अनेरास्ववियु जनविरोधी कामचलाउ सरकारको विरुद्ध कानुनी राज्य स्थापनाका लागि सडकमा आउने चेतावनी दिएकी छन् ।