निर्वाचन आयोगले अन्तिम नतिजा घोषणा गर्दै
काठमाडौं । निर्वाचन आयोगले आज अन्तिम नतिजा घोषणा गर्ने भएको छ । गत मंसिर ४ गते भएको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको बुधबार अन्तिम नतिजा घोषणा गर्ने निर्वाचन आयोगले जनाएको हो । निर्वाचन आयोगका अनुसार बुधबार दिउसो साढे १ बजे पत्रकार सम्मेलन गरेर अन्तिम नतिजा घोषणा गर्न लागिएको हो । निर्वाचनको सबै प्रक्रिया सकिएसँगै आयोगले अन्तिम नतिजा घोषणा गर्न लागेको जनाएको छ । यसअघि नै प्रत्यक्षतर्फको अन्तिम नतिजा आइसकेकामा दलहरूले समानुपातिकको सूची पनि आयोगमा बुझाइसकेका छन् । आयोगले बिहीबार राष्ट्रपतिसमक्ष सम्पूर्ण निर्वाचन परिणाम प्रस्तुत गर्ने बताएको छ । राष्ट्रपतिलाई अन्तिम परिणाम बुझाएसँगै सरकार गठन र संसदीय प्रक्रिया अघि बढ्नेछ ।
हस्तकला मेला सम्पन्न, १० करोडको कारोबार
काठमाडौं । नेपाल हस्तकला महासङ्घद्वारा आयोजित १९ औँ हस्तकला व्यापारमेला तथा १७ औँ हस्तकला प्रतियोगिता आज सम्पन्न भएको छ । पाँच दिनसम्म सञ्चालन भएको मेलामा करिब ५० हजारले अवलोकन गरेका छन् । मेलामा बिक्री तथा बुकिङसमेत गरी कूल १० करोड बराबरको हस्तकलाजन्य सामग्रीको कारोबार भएको मेला आयोजक समितिका संयोजक तथा महासङ्घ उपाध्यक्ष दिल्लीरत्न तुलाधरले जानकारी दिए । गत शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले मेला समुद्घाटन गरेका थिए । आज उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले मेला अवलोकन गर्दै हस्तकला क्षेत्रमा योगदान पु¥याउने विभिन्न विशिष्ट व्यक्तित्वसहित हस्तकला प्रतियोगितामा पुरस्कृत कलाकारलाई सम्मान र पुरस्कार प्रदान गरे। मन्त्री बडूले सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत उत्पादनमा वृद्धि, मुलुक विकास र समृद्धि विशेष अभियान सञ्चालन गरिरहेको उल्लेख गर्दै हस्तकला क्षेत्र यसको लक्ष्य प्राप्तिको माध्यम भएको धारणा राखे। उनले हस्तकला क्षेत्रका समस्या सम्बोधन गर्न सरकार तयार रहेको उल्लेख गर्दै व्यवसायीसँग सरकारी लक्ष्य प्राप्तीमा हातेमालो गर्न आग्रह पनि गरे। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ, वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे, वागमती प्रदेशका पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठलगायत नेपाल सरकार र प्रदेश सरकारका विशिष्ठ व्यक्तिहरूले मेलाको अवलोकन गर्दै कलाकारको हौसला बढाएको महासङ्घले जनाएको छ । मेलामा १० ज्येष्ठ कलाकारलाई औषद्योउपचार खर्चसहित सम्मान गरिएको थियो भने महासङ्घको स्थापनाकालदेखि हालसम्म बहालवाला ज्येष्ठ ५० जना सदस्यलार्ई पनि सम्मान गरिएको थियो । कोभिड महामारीपछि हस्तकला व्यवसाय सङ्कटमा परे पनि मेलाले कलाकार र व्यवसायीलाई पुनर्जागरण गरेको महासङ्घले जनाएको छ । महासङ्घका अनुसार हस्तकलाको निकासी विस्तारै लयमा फर्कन थालेको छ भने पर्यटक आगमनको वृद्धिसँगै आन्तरिक बजारमा पनि बिक्री हुन थालेको छ । सरकारले निकासी अनुदान तथा स्वदेशी वस्तु अनिवार्य खरिदसम्बन्धी व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्न सकेमा यो क्षेत्र आर्थिक विकासको मूलप्रवाह आउन सक्ने विश्वास गरिएको छ ।
धादिङको त्रिपुरासुन्दरीमा वृद्ध दम्पतीको हत्याले गाउँ नै शोकमा
फाइल फाेटाे काठमाडौं । दुई ठूला पहाडको मुनि छ आहाले गाउँ । परबाट हेर्दा जम्माजम्मी छरसात घर देखिन्छ । एउटा घरबाट उभिएर हेर्दा अर्कोघर मुस्किलले देखिन्छ । यो गाउँ सोमबार बिहानदेखि शोकमय बनेको छ । वृद्ध दम्पतीको हत्यापछि धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३ को आहाले गाउँ नै शोकमय बनेको हो । ७४ वर्षीय विष्णुबहादुर आलेमगर र ६७ वर्षीया निरमाया आलेमगर सोमबार बिहान हत्या गरिएको अवस्थामा भेटिएका थिए । विष्णुबहादुरलाई घर बाहिर खाटमा सुतिरहेकै अवस्थामा निधारमा तिखो हतियार प्रहार गरेर एकै झड्कामा प्राण लिएको देखिन्छ भने निरमायालाई घरभित्रै लछारपछार पार्दै पिटीपिटी हत्या गरेको घटनास्थलको दृष्यले देखाउँछ । घटनास्थल पुगेर फर्किएका जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्री भन्छन्, ‘हत्या नै भएको हो भन्ने आधार छन्, बोझिलो हतियार प्रयोग गरेर हत्या गरेको देखिन्छ । के कारण हत्या भयो भन्ने कुरा हामी अनुसन्धानमै छौँ ।’ यी दम्पतीको एक छोरा एक छोरी छन् । छोरा बुहारी नै काठमाडौँमा डेण्टल क्लिनिक चलाएर बस्छन् । छोरी ज्वाईँको पनि आफ्नै व्यवसाय छ । शुक्रबार साँझ छोरा कुमारले फोन गरेर स्वास्थ्य चेकजाँचका लागि आमाबुबालाई काठमाडौँ बोलाएका पनि रहेछ । आमाले अहिले केही समस्या छैन, केही दिनमा काठमाडौँ आउँछु भन्नुभएको रहेछ तर, त्यही शुक्रबार साँझको फोन वार्तालाप नै अन्तिम बन्यो । ‘शुक्रबार साँझ ७ः३० बजेतिर कुरा गरेको थिए । शनिबार विश्वकप हेर्न लागेकाले गर्दा कुरा गर्ने मेसो मिलेन । आइतबार साँझ फोन गर्दा फोन उठेन, केही बेरमा आमाको मोबाइल अफ भयो’, विष्णुबहादुर र निरमायाका छोरा कुमारले भने, ‘हत्यारा पत्ता लगाएर कानूनअनुसार कारबाही गरियोस् ।’ छोरा कुमारसँगको कुराकानीअनुसार सधैँजसो आमाबुबाको छोरासँग फोनमा कुराकानी हुन्थ्यो । सन्चो विसन्चोको कुरा हुन्थ्यो । पटकपटक काठमाडौँ आएर बस्नुस् भनेर छोरा कुमारले भनेका पनि रहेछन् । ‘तर, बूढाबूढी हामी गाउँमै बस्छौँ भन्थे र त्यही झुप्रो घर छोड्न मान्नुभएन’, कुमारले भने, ‘आज यस्तो भोग्नुपर्यो ।’ शुक्रबारको कुराकानी पछि शनिबार छोरा कुमारले फोन नै गरेनन् । आइतबार साँझ फोन गर्दा पहिलोपटक फोन उठेन । केहीबेरपछि फोनको स्विच अफ भन्यो । कुनै कारण फोन अफ भयो होला भन्ने सोचे र छोरा कुमारले त्यति खोजी गर्नुभएन । एक्कासि सोमबार बिहान टेलिफोनमार्फत घटना सुनेको कुमारले सुनाए। उनले भने, ‘हतारिएर घर आइपुग्दा प्रहरी र स्थानीयले घर छेकेर बसिरहेको रहेछ ।’ आइतबार यी दम्पतीलाई छिमेकीले पनि कसैले ख्याल राखेनन् । घरबाहिर पनि देखिएन । सधैँजसो गोठालो जाने, घाँस काट्न जानेसँग पनि आइतबार यी दम्पतीको भेट भएन । आइतबार पनि नभेटेका छिमेकीले सोमबार बिहान घाँस काट्न जाने बेला बोलाउन घर पुग्दा मात्रै दम्पतीलाई मृतावस्थामा फेला पारेको पहिलोपटक घटनास्थल पुग्ने बताउँछन् । प्रहरीको प्रारम्भिक अनुसन्धान, छोरासँग फोनमा भएको कुराकानी र छिमेकीसँगको कुराकानीअनुसार शव सोमबार बिहान भेटिए पनि घटना शनिबार राति नै भएको हुनसक्ने अनुमान लगाउन सकिन्छ । विष्णुबहादुर हुलाक कार्यालयको जागिरबाट पेन्सनवाला थिए । भूकम्पपछि जस्ता र काठको फल्याकले बारेको छाप्रो घरमा नै विष्णुबहादुरको दम्पतीको दैनिकी चलेको थियो । छिमेकीका अनुसार विष्णुबहादुर सधैँजसो घर बाहिर पिँढीमा रहेको खाटमा नै सुत्नु हुनेरहेछ । घटना भएको रात पनि त्यही खाटमा मृत भेटिएको हो । गाउँकै सोझा र भलाद्मी मानिने विष्णुबहादुर दम्पतीको हत्याले अहिले गाउँ नै शोकमा परेको छ । मङ्गलबार परिवारले जिल्ला प्रहरी कार्यालयमा घटनाबारे जाहेरी दिएका छन् । घटनास्थलमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धानको टोलीले तालिमप्राप्त कुकुरको प्रयोग गरेर अनुसन्धान गरेको छ । घटना भएलगत्तै गाउँ पुगेको जिल्ला प्रहरी कार्यालय धादिङबाट खटिएको प्रहरी निरीक्षक रमेश थापासहितको प्रहरी टोली अहिले पनि घटनास्थलमै बसेर घटनाको सूक्ष्म अध्ययन गरिरहेको छ । सोमबार राति सदरमुकाम धादिङबेँसी ल्याइएको दम्पतीको शव मङ्गलबार दिउँसो परीक्षणको लागि काठमाडौँ लगिएको छ । वृद्ध दम्पती मात्रै बस्दै आएको घर यतिबेला सुनसान छ । उनीहरूले पालेको बाख्रा, खसीबोका र भैँसी गोठमै अलजिल्लामा छ । सधैँजसो घरमा काम गरिरहने, घर वरपर देखिइरहने दम्पती नदेख्दा छिमेकीको पनि हातमा काम आएको छैन । रासस ।
रोकियो धरहरा पुनः निर्माण
काठमाडौं । ऐतिहासिक धरहरा पुनः निर्माणको काम रोकिएको छ । धरहरा पुनःनिर्माणको क्रममा सुन्धारामा पानी पठाउने मूलधारा नष्ट हुने गरी डोजर चलाइएको भन्दै काठमाडौँ महानगरपालिका र स्थानीयले धरहरा पुनः निर्माणको काम तत्कालका लागि रोकेका हुन् । कामपा वडा नं २२ का अध्यक्ष चिनीकाजी महर्जनका अनुसार ऐतिहासिक महत्व बोकेको सुनधारामा पानी पठाउने (काठको लामो पाइप) नष्ट गरी उक्त स्थानमा निर्माण कम्पनीले डोजर लगाएर एक लाख लिटर पानी अट्ने ट्याङ्की निर्माण गर्ने तयारी गरेको थियो । उक्त पाइपलाई नष्ट गरेपछि धरहरा पुनः निर्माणको बाँकी काम रोकिएको हो । अध्यक्ष महर्जनले भने, ‘धरहरा बनाउनेले सुनधारा बनाउँछन् भन्ने कुरामा विश्वास रहेन, अब विज्ञको रोहवरमा मात्र सुनधारा पुनःनिर्माणको काम अघि बढाउनुपर्छ ।’ त्यसका लागि हरेक दिन अनुगमन गर्ने गरी अनुगमन समिति बनाउने तयारी वडाको रहेको महर्जनले बताए। मौलिक कला, संस्कृतिको नमूनाका रुपमा रहेको ऐतिहासिक सुनधाराको संरचना पुनःनिर्माणका नाममा भत्काउन नहुने अध्यक्ष महर्जनले जोड दिए । विसं २०७२ वैशाखमा गएको भूकम्पबाट क्षति पुगेको यस सम्पदाको भूकम्प गएको तीन वर्षपछि मात्रै पुनःनिर्माणको कामले गति लिएको हो । बयालीस रोपनी क्षेत्रफलमा निर्माण सुरु गरिएको धरहरा बाहिरबाट हेर्दा ११ तलाको हुने भए पनि भित्र भने २२ तलाको, उचाइ ७२ मिटर र ४८ फिटको बेश रहने छ । नयाँ धरहरामा बगैँचा, सङ्ग्रहालय, रङ्गीन जलफोहरा, प्रदर्शनी हल, पार्किङस्थल, पसललगायत संरचना रहनेछन् । धरहरा टावरको पुनः निर्माण सम्पन्न भएको भन्दै २०७८ वैशाख ११ गतेनै उद्घाटन गरिएको थियो । उद्घाटन भएको डेड वर्ष बितिसक्दासम्म उक्त टावर आसपासको अन्य निर्माणको काम सम्पन्न भएको छैन ।
सन् २०४१ सम्म स्मार्ट बङ्गालादेश बनाउने योजना सार्वजनिक
एजेन्सी । बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले सन् २०४१ सम्ममा स्मार्ट बङ्गलादेश निर्माण गर्ने योजना सार्वजनिक गरेकी छन्। प्रधानमन्त्री हसिनाले बङ्गलादेशले आगामी सन् २०४१ सम्ममा बङ्गालादेशलाई एक विकसित बङ्गलादेश बनाउने बताइन्। सोमबार यससम्बन्धी कार्ययोजना सार्वजनिक गर्दै प्रधानमन्त्री हसिनाले भनिन्– हामीले सन् २०४१ सम्ममा हाम्रो बङ्गलादेशलाई विकसित बनाउने छौँ र बंगलादेश स्मार्ट बंगलादेश हुनेछ, बङ्गलादेशको एक समाचार समिति, युएनबीलाई उद्धृत गर्दै चिनियाँ समाचार समितिले जनाएको छ । बङ्गालेशको राजधानी ढाकामा सोमबार आयोजना गरिएको ‘डिजीटल बंगलादेश दिवस २०२२’ समारोहलाई सम्बोधन गर्ने क्रममा उनले सो कुरा बताएकी हुन् । त्यस अवसरमा उनले स्मार्ट बङ्गलादेश निर्माणका लागि स्मार्ट नागरिक, स्मार्ट अर्थतन्त्र, स्मार्ट सरकार र स्मार्ट समाज पनि आवश्यक रहेकोमा जोड दिदै यी कार्यहरु सुरु गर्ने बताइन्। उनले हरेक नागरिकले कुनै न कुनै सिप सिक्नुपर्ने र दक्ष बन्नुपर्ने भन्दै त्यहाँका हरेक नागरिकले प्रविधिको प्रयोग गर्नुपर्नेमा जोड दिइन् । उनले सूचनामा आधारित समाजको निर्माणमा जोड दिँदै त्यहाँका अर्थतन्त्र पनि सूचना प्रविधिमा आधारित रहेर विकास गरिने बताइन्।
एलपीजी ग्यासको आयात कम गर्न स्वच्छ ऊर्जा प्रयोगमा जोड
काठमाडौं । ऊर्जा विज्ञहरुले नागरिकको जीवनस्तर सुधार्न स्वच्छ (विद्युतीय) ऊर्जाको प्रयोगलाई बढाउन प्रोत्साहन गर्नुपर्नेमा जोड दिएका छन् । एलपीजी ग्यासको बढ्दो आयातलाई घटाउन र स्वदेशमै उत्पादित विद्युत्को खपत बढाउन विद्युतीय चुलो तथा भान्सामा प्रयोग हुने अन्य विद्युतीय उपकरणको प्रयोगलाई प्रोत्साहन गर्नुपर्ने उनीहरुको सुझाव छ । नेपाल वातावरण पत्रकार समूह ९नेवापस०, प्रकृति रिसोर्सेस सेन्टर र विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपालले आज यहाँ आयोजना गरेको कार्यक्रमका सहभागीले स्वच्छ खाना पकाउने उर्जा प्रयोग बढाउन आवश्यक रहेको बताए । नेपालले हाल वार्षिक दुई खर्ब रुपैयाँभन्दा बढीको इन्धन आयात गर्दै आएको छ । कार्यक्रममा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका नायब कार्यकारी निर्देशक नवराज ढकालले विद्युतीय चुलोको प्रयोग सबैका लागि सहज र सर्वसुलभ हुने उल्लेख गर्दै सन् २०३० भित्र खाना पकाउने आधारभूत स्रोतका रुपमा विद्युतीय चुलोमा जोड दिने सरकारको लक्ष्य रहेको बताए । सरकारी तथ्याङ्कअनुसार सन् २००९ मा परम्परागत शैलीमा खाना पकाउने नेपाली नागरिकको सङ्ख्या ८७ दशमलव एक प्रतिशत रहेकामा यस वर्षको हालसम्ममा सो दर २२ प्रतिशतले घटेको छ । दाउरा, गुइठालगायत परम्परागत इन्धनमा परनिर्भर हुने नेपाली नागरिक ६५ प्रतिशत हाराहारी छन् । सन् २००९ मा वैकल्पिक ऊर्जाको प्रयोग शून्य दशमलव सात प्रतिशत रहेकामा सो दर बढेर हाल तीन प्रतिशत पुगेको केन्द्रका नायब कार्यकारी निर्देशक ढकालले जानकारी दिए । ग्यासभन्दा विद्युतीय चुलोको प्रयोग निकै सस्तो हुने विज्ञको तर्क छ । कार्यक्रममा जनताका लागि ऊर्जा तथा वातावरण विकास संस्था (पीडा)का प्रमुख कार्यकारी अधिकृत विराज गौतमले परम्परागत ऊर्जालाई विस्थापित गर्न आमसञ्चार माध्यमको भूमिका महत्वपूर्ण हुने बताए । विद्युत् आपूर्ति सुनिश्चित भए धेरै उपभोक्ताले आधुनिक भान्सातर्फ चासो राख्ने उनको धारणा थियो । आधुनिक चुलोको प्रयोगले समयको बचत र मानव स्वास्थ्य सुधार हुने ऊर्जा अभ्यासकर्ता मञ्जरी श्रेष्ठको अनुभव छ । घर, भान्सा र भाडा वर्तन फोहोर न्यून हुने भएकाले विद्युतीय चुलोको प्रयोगलाई प्रोत्साहन गर्न सरोकारवालाबीच समन्वय आवश्यक रहेको श्रेष्ठले बताए । खाना पकाउने र भान्साको काम महिलाको मात्रै हो भन्ने बुझाइलाई परिवर्तन गर्नसके विद्युतीय चुलोका प्रयोगकर्ता बढाउन सकिने उनको ठहर छ । कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै ऊर्जा पत्रकार भीम गौतमले विद्युतीय पूर्वाधार विस्तारमा जोड दिए । उनले ऊर्जा मन्त्रालयले सन् २०२८ भित्र सतप्रतिशत घरधुरीमा विद्युतीय चुलो उपयोग गर्न लक्ष्य लिएकाले त्यसका लागि विद्युतीय पूर्वाधारमा जोड दिनुपर्ने बताए । प्रकृति सिसोर्सेस सेन्टरका कार्यक्रम निर्देशक प्रवीनमान सिंहले दिगो विकास लक्ष्य र नेपालले लिएको शून्य कार्बन उत्सर्जन लक्ष्यमा पुग्न विद्युतीय चुलोजस्ता साधनको प्रयोग बढाउन सरकारले प्रोत्साहन कार्यक्रमलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए । नेवापसका अध्यक्ष रोशनी अधिकारीले स्वच्छ खाना पकाउने ऊर्जा प्रवद्र्धनका लागि बिजुलीको गुणस्तरीयता र पूर्वाधार विस्तारमा ध्यान दिनुपर्ने बताए । सरकारले सन् २०४५ भित्र कार्बन उत्सर्जन शून्यमा पुर्याउने, सन् २०२५ भित्र पाँच लाख र सन् २०३० सम्ममा २५ प्रतिशत घरधुरीले विद्युतीय खाना पकाउन अपनाउनेलगायत लक्ष्य लिएको छ । रासस
विषाक्त खानाले एकैपटक ६५ बिरामी
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालायले चितवनको भरतपुरमा विषाक्त खाना सेवनले ६५ मानिस एकैपटक बिरामी परेको जनाएको छ । मन्त्रालयले आज चितवनको भरतपुरका घटनाका सम्बन्धमा जानकारी गराउँदै प्रारम्भिक अनुसन्धानअनुसार विषाक्त खानाका कारणले एकै पटक ६५ मानिस बिरामी परेको बताएको हो । मन्त्रालयले घटनाबारे थप अनुसन्धान गर्न जाँचका लागि नमूना प्रयोगशालामा पठाएको छ । यही मङ्सिर २३ गते ६५ जनामा २४ घण्टा नबित्दै पखाला लाग्ने, वाकवाकी हुने, वान्ता आउने साथै ज्वरो आउने जस्ता लक्षण देखिएका थिए । बिरामी भएपछि उनीहरूले औषधि पसल गएर औषधि किनेर खाएका थिए । स्वास्थ्य अवस्था गम्भीर भएपछि मङ्सिर २६ गते भरतपुरस्थित नेशनल सिटी अस्पतालको आकस्मिक कक्ष तथा बहिरङ्ग विभागमा उपचारका लागि ३५ भर्ना भएको मन्त्रालयले जनाएको छ । अहिले उनीहरू सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ । कार्यक्रममा भोज खाएका थप १५ जना आजै उपचारका लागि अस्पतालमा भर्ना भएका छन् । उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ । रासस
व्यवसायीले गभर्नरसँग भने : ब्याजदर घटाउनु, सीआरआर एक बिन्दुले कम गर्नु
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले अर्थतन्त्रमा आन्तरिक र वाह्य कारणले वहुआयामिक प्रभाव परिरहेको हुंदा तरलता व्यवस्थापन, ब्याजदर स्थायित्व एवं मुल्य स्थिरताका लागि नेपाल राष्ट्र बैंकले विशेष पहल गर्नुपर्नेतर्फ ध्यानाकर्षण गराएको छ । महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा गएको महासंघका पदाधिकारी, प्रदेश च्याप्टरका अध्यक्षहरू र कार्यकारिणी समितिका सदस्यहरू सम्मिलित प्रतिनिधिमण्डलले आज राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी सहितका उच्च अधिकारीहरूलाई भेटेर उक्त आग्रह गरेको हो । ‘नेपालको निजी क्षेत्र सम्भवतः हालसम्मकै कठिन अवस्थाबाट गुज्रिरहेको छ, अध्यक्ष गोल्छाले भने, ‘ब्याजदर स्थायित्व चालू पुंजी कर्जा सम्बन्धी नयां व्यवस्थाको स्थगन लगायत उपायका माध्यमबाट केन्द्रिय बैंकले निजी अर्थतन्त्र चलायमान बनाउनु पर्दछ, मौद्रिक नीतिको समीक्षाले पनि समस्या समाधान गर्न सकेन ।’ अर्थतन्त्र जोगाउ अभियानलाई महासंघले अगाडि बढाएको र यसक्रममा देशका प्रमुख राजनीतिक दलका शीर्षस्थ नेता, सरकार प्रमुख र अर्थमन्त्री समेतलाई भेटेर समस्या समाधान गर्न आग्रह गरेको थियो । अर्थतन्त्रका महत्वपूर्ण आधारहरू सिमेन्ट, डण्डी, घर जग्गा व्यवसाय, निर्माण, अटोमोवाइल लगायतको क्षेत्रमा ६० प्रतिशतसम्म गिरावट आएकाले तत्काल यी क्षेत्र लगायत सिंगो निजी क्षेत्रलाई चलायमान बनाउने वातावरण बनाउन अध्यक्ष गोल्छाले गभर्नर अधिकारी समक्ष आग्रह गरे । निक्षेपको ब्याजका कारण अन्य उपलब्धी नभई कर्जाको मात्रै ब्याज बढ्दा उद्यमी व्यवसायी प्रभावित छन् । बजारलाई नियन्त्रण गर्न शुरु भएको करिब एक बर्षको अवधिमा वहुआयामिक जोखिम बढेको हुंदा सरकार एवं केन्द्रिय बैंकले अर्थतन्त्र जोगाउन विभिन्न माग राखेको छ । यस्ता छन् माग – नेपाल राष्ट्र बैंकले २०७९ कार्तिक महिनादेखि लागु गरेको चालु पूंजी मार्गदर्शन २०७९ का व्यवस्थाले मुलुकको उद्यम व्यवसायमा प्रतिकूल असर पर्नेतर्पm नेपाल उद्योग वाणिज्य महासंघले पटक पटक आफ्नो धारणा सार्वजनिक गर्दै केन्द्रिय बैंकको समेत ध्यानाकर्षण गराउदै आएको र चालु पूंजीको अभावमा उद्योग सञ्चालनमै कठिनाई उत्पन्न भएकाले चालु पूजी मार्गदर्शन २०७९ को कार्यान्वयन कम्तीमा दुई बर्ष स्थगन गर्नुपर्ने । दुई बर्षसम्म मार्गदर्शनमा निजी क्षेत्रलाई प्रभाव पार्ने व्यवस्थाको सुधारको पहल पनि जारि राख्नुपर्छ । – निजी क्षेत्रको सुझाव, तरलता व्यवस्थापन एवं ब्याजदर स्थायित्व हो । मौद्रिक नीति समिक्षामार्फत वाणिज्य बैंकहरुको औसत ब्याजदर अन्तर ४.४ प्रतिशतबाट ४ प्रतिशत तथा विकास बैंक र वित्त कम्पनीको औसत ब्याजदर अन्तर ५ प्रतिशतबाट ४.६ प्रतिशत कायम गर्नुपर्ने व्यवस्था गरिएको छ । यो व्यवस्थाले ब्याजदर बढनबाट रोक्ने सम्भावना बलियो देखिएकाले यसकालागि हामी केन्द्रिय बैंकलाई धन्यवाद दिन चाहन्छौ । यसको निर्देशिका चाडै आएर तत्काल कार्यान्वयन हुनुपर्छ । यसले तत्काल ब्याजदर घटाउने सम्भावना भने देखिदैन् । – यतिले मात्रै मूल समस्या समाधान नगर्ने हुंदा जबसम्म बैंक वित्तिय संस्थाको आधार दर घटदैन, तबसम्म ब्याजदर घटदैन् । ब्याजदर नघटने हो भने अर्थतन्त्र जोगाउन कठिन हुनेछ । त्यसैले तत्काल बजारमा तरलता प्रवाह गर्ने र ब्याजदर घटाउने उपाय सरकार र केन्द्रिय बैंक दुवैले पहिल्याउनुपर्छ । – पुस मसान्तमा पुर्नकर्जा वाफतको करिब ६० अर्ब रुपैया बैंक वित्तिय संस्थाहरुबाट फिर्ता जाने बैंकहरुको भनाइ छ । यसले उद्यमीलाई समस्या त हुने नै छ, बजारमा तरलता अभावलाई थप गहिर्याउनेछ । त्यसैले कम्तीमा एक बर्ष पुर्नकर्जा नविकरणको सुविधा दिइनुपर्छ । – अनिवार्य नगद अनुपातलाई एक प्रतिशत विन्दुले कम गर्नुपर्छ । – सरकारी ढुकुटिमा रहेको रकम प्रवाह गरि तरलता व्यवस्थापनका उपाय अबलम्बन गरिनुपर्छ । – स्थानिय तहमा जाने रकमलाई निश्चित अवधिका लागि सत प्रतिशत गणना गर्नुपर्ने व्यवस्था गर्नुपर्छ । – पूंजीगत खर्च हुन नसक्नु मुलुकको पुरानो समस्या रहेको र खर्च नहुँदा बजारमा तरलता अभाव हुने गरेको सन्दर्भमा खर्च बढाउन विशेष पहल आवश्यक छ । अर्थमन्त्रालयले पूँजीगत खर्च नहुने कारण पहिल्याइसकेको सन्दर्भमा खर्च बढाउने योजना तत्काल कार्यान्वयन गर्नु आवश्यक छ । – वैदेशिक लगानी आकर्षित गर्नका लागि बजेटमा उल्लेखित स्वचालित प्रक्रिया कार्यान्वयन गर्नुपर्नेछ । यसबारे तत्काल कार्यविधि बनाइ विदेशी लगानी बढाउन पहल गर्नुपर्छ । – सरकारको नीति तथा कार्यक्रममा समावेश भैसकेको Country Rating तत्काल गरिनुपर्ने । अन्तराष्टिय रकम भित्र्याउन वोन्ड लगायतका अन्य उपकरणको प्रयोग गर्न सकिन्छ । अन्य लगानीका स्रोतबाट रकम भित्र्याउन नीतिगत सुधार आवश्यक छ । – निजी क्षेत्र तथा बैंकहरुले विदेशबाट ऋण लिन External Commerical Borrowing को लागि सहजीकरण एवं प्रोत्साहन गरिनुपर्नेछ । – सरकारको बजेट वक्तव्यमा उल्लेख भएको उत्पादनमूलक उद्योगलाई अन्य व्यवसाय भन्दा कम व्याजदरमा कर्जा प्रवाह गरिने व्यवस्थालाई कार्यविधि बनाइ तत्काल लागु गरिनुपर्नेछ । भेटका क्रममा गभर्नर अधिकारीले महासंघले दिएका सुुझावहरू अध्ययन गरी निर्णय गर्ने विश्वास दिलाए ।