वीरगञ्ज महानगरले फोहोर व्यवस्थापन गर्न मोबाईल एप्लिकेशन ल्याउँदै

<p>वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले नगरको फोहोर व्यवस्थापनका लागि मोबाईल एप्लिकेशन प्रयोगमा ल्याउने भएको छ । द एसिया फाउण्डेशनको सहयोग र क्लिन अप नेपालको प्राविधिक व्यवस्थापनमा महानगरले मोबाईल एप्लिकेशन प्रयोगमा ल्याउने महानगरपालिकाले जनाएको छ । महानगर र क्लिन अप नेपाल बीच सम्झौता भएसँगै केही दिनमै एप्लिकेशन प्रयोगमा आउने मेयर राजेशमान सिंहले जानकारी दिए । क्लिन अप [&hellip;]</p>

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले नगरको फोहोर व्यवस्थापनका लागि मोबाईल एप्लिकेशन प्रयोगमा ल्याउने भएको छ । द एसिया फाउण्डेशनको सहयोग र क्लिन अप नेपालको प्राविधिक व्यवस्थापनमा महानगरले मोबाईल एप्लिकेशन प्रयोगमा ल्याउने महानगरपालिकाले जनाएको छ ।

महानगर र क्लिन अप नेपाल बीच सम्झौता भएसँगै केही दिनमै एप्लिकेशन प्रयोगमा आउने मेयर राजेशमान सिंहले जानकारी दिए । क्लिन अप नेपालले निर्माण गरेको ‘सफा नेपाल’ नामक एप्लिकेशन एण्ड्रोइड भर्सनमा अहिले उपलब्ध रहेको छ । आउँदा दिनमा आइओएस भर्सनमा पनि निर्माण गरेर प्रयोगमा ल्याइने क्लिन अप नेपालका रविन्द्र लामिछानेले जानकारी दिए ।

यो एप्लिकेशन प्रयोगकर्ताले नगरको कुनै पनि ठाउँमा जथाभावी फोहोर फालेको देखेमा वा फोहोर जम्मा भएको देखेमा फोटो खिचेर एप्लिकेशनमा रिपोर्ट गर्न सक्ने छन् । यसरी रिपोर्ट गरेको फोटोको आधारमा स्थान निर्धारण गरेर फोहोर व्यवस्थापनका लागि तत्कालै महानगरको टोली खटिने छ ।

साथै फोहोर फाल्दै गरेको व्यक्तिसहितको फोटो पठाए फोहोर फाल्नेको पनि पहिचान गरेर दण्डित गरिने मेयर सिंहले बताए । फोटो पठाउनेलाई भने नगर सफाई अभियानमा सहयोग गर्ने अभियन्ताको रुपमा हौसला बढाउन जरिवानाबाटै पुरस्कारको व्यवस्था मिलाउने उनको भनाइ छ । यसरी फोहोर फाल्नेको फोटो खिचेर सूचना दिनेको पहिचान भने गोप्य राखिने महानगरपालिकाले जनाएको छ ।

उपमेयर इम्तियाज आलम, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी पौडेल, सबै वडाका वडाअध्यक्ष र सचिवहरु तथा महानगरका कर्मचारीलाई एप्लिकेशन प्रयोगका बारेमा जानकारी गराईएको छ ।

सर्वसाधारणले फोटो खिचेर पठाएका समस्या कसरी थाहा पाउने र समाधान कसरी गर्ने भन्ने बारेमा कर्मचारीहरुलाई प्रशिक्षित गराइएको छ ।

Share News