बाक्लो हुस्सु र शितलहरले पश्चिम तराईको जनजीवन प्रभावित

<p>कैलाली । कैलाली सहित पश्चिम तराइमा शीतलहर शुरु भएको छ । बिहानैदेखि जिल्लाको लम्की, टीकापुर, सुखडलगायतका ठाउँमा बाक्लो हुस्सु लागेको छ । बाक्लो हुस्सु र शीतलहरका कारण स्थानीय घरबाहिर निस्कन सकेका छैनन् । सडकमा गाडी र व्यक्तिको आवतजावत पातलिएको छ । बिहानी कक्षा सञ्चालन हुने क्याम्पस र विद्यालयमा पठनपाठन प्रभावित बनेको छ । लम्की बहुमुखी [&hellip;]</p>

 

कैलाली । कैलाली सहित पश्चिम तराइमा शीतलहर शुरु भएको छ । बिहानैदेखि जिल्लाको लम्की, टीकापुर, सुखडलगायतका ठाउँमा बाक्लो हुस्सु लागेको छ ।

बाक्लो हुस्सु र शीतलहरका कारण स्थानीय घरबाहिर निस्कन सकेका छैनन् । सडकमा गाडी र व्यक्तिको आवतजावत पातलिएको छ । बिहानी कक्षा सञ्चालन हुने क्याम्पस र विद्यालयमा पठनपाठन प्रभावित बनेको छ ।

लम्की बहुमुखी क्याम्पसमा बीबीएस चौथो वर्षमा अध्ययनरत दुर्गा न्यौपाने जाडोका कारण पढ्न जान नसकेको बताए । यस्तै व्यवस्थित नगरकी निर्मला विनाडी किसान बहुउद्देशीय सहकारीमा काम गर्छिन् । उनी सधैँ बिहान घरबाट लम्की हुँदै बौनियासम्म स्कुटर चलाएर जाने गरे पनि आज काममा जान नसकेको बताइन् ।

बाक्लो हुस्सु र कुहिरोका कारण जनजीवन प्रभावित भएको छ । शीतलहर शुरु भएपछि कैलालीका तरकारी खेती गर्दैआएका किसान चिन्तित भएका छन् । लम्कीका किसान जगनाथ जैशीले करिब दुई कट्ठा जग्गामा आलु तथा तरकारी खेती लगाएका छन् । बाक्लो हुस्सु र शीतलहरका कारण सबै सखाप हुने हो की भन्ने चिन्ताले उनलाई भएको छ ।

जाडोयाम शुरु भएपछि कसरी आफ्नो छोराछोरी र घरपरिवारलाई न्यानो बनाउने भन्ने चिन्ता लम्कीचुहा –३ वादी बस्तीकी रमा वादीलाई छ । बर्सातको समयमा बाढी र डुबान तथा हिउँदको समयमा जाडोका कारण बल्चौरस्थित वादी बस्तीका बालबालिका तथा ज्येष्ठ नागरिक प्रभावित हुँदैआएका छन् । शीतलहरबाट कञ्चनपुरको जनजीवनसमेत प्रभावित बनेको छ । रासस

Share News