काठमाडौं । दाइजोको निहुँमा श्रीमतीलाई कुटपिट गरी घर निकाला गरेको आरोप लागेका डा. पंकज चौधरी पक्राउ परेका छन् ।
मंगलबार साँझ महोत्तरीको रामगोपालपुर नगरपालिका ५ का ३५ वर्षीय पंकजलाई पक्राउ गरेको हो ।
दाइजोको निहुँमा श्रीमती नेहा चौधरीलाई कुटपिट गरी घरबाट निकालेको जाहेरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरिएको महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी सन्तोष पोखरेलले जानकारी दिए । उनलाई हाल जिल्ला प्रहरी कार्यालय महोत्तरीको हिरासतमा राखिएको छ ।
श्रीमान् चौधरीविरुद्ध नेहाले एक साताअघि घरेलु हिंसा र दाइजोविरुद्धका दुई मुद्दा दायर गरेकी थिइन् । तीन वर्षको प्रेम पश्चात गत फागुनमा महोत्तरीकै औरही नगरपालिका १ की नेहा र डा पंकजबीच सामाजिक परम्परा अनुसार विवाह भएको थियो ।
दाइजोको निहुँमा श्रीमतीलाई घरेलु हिंसा गरेको आरोप लागेपछि डा चौधरीलाई टोखास्थित ग्राण्डी अस्पतालले सेवाबाट बर्खास्त गरिसकेको छ । डा।चौधरीले नर्भिक अस्पतालमा नयाँ नियुक्ति लिने तयारी थिए तर उनको विरुद्ध समाचारआएसँगै नियुक्ति समेत रोकिएको छ ।