
काठमाडौं । नगर विकास कोषले उपत्यकामा अगाडि सारेका बहुतले मेकानिकल पार्किङ्ग आयोजनाको काम स्थगित गरेको छ । कुनै पनि संघ संस्थाले पार्किङ निर्माणमा चासो नदेखाएपछि कोषले सो आयोजनालाई स्थगित गरेका हो ।
गत वर्ष नगर विकास कोषले बहुतले मेकानिकल पार्किङ्ग आयोजना लगानीका लागि स्थानीय तह, निजी क्षेत्र र संस्थाहरूलाई प्रस्ताव आह्वान गरेको थियो । कोषले काठमाडौं उपत्यकामा बहुतले पार्किङ बनाउने भनेर लगानीका लागि प्रस्ताव आह्वान गरे पनि हालसम्म कुनै संस्थाले प्रस्ताव पेस गरेनन् ।
पार्किङ्ग बनाउन इच्छुक संघ संस्थाले प्रस्ताव पेस गर्न सक्ने भनेर नगर विकास कोषले २०७८ माघ ७ गते १५ दिने सूचना प्रकाशन गरेको थियो । साे विषयमा कसैले प्रस्ताव पेस नगरेपछि नगर विकास कोष उपत्यका पार्किङ्ग बनाउने योजनाबाट पछि हटेको छ ।
साथै उपत्यका भित्र बहुतले पार्किङ बनाउनका लागि उपयुक्त जग्गा नभेटेपछि उक्त आयोजनालाई स्थगित गरेको कोषका सूचना अधिकारी सूर्य बहादुर कार्कीले बताए । पार्किङ बनाउन कुनै पनि संस्थाले चासो नदेखाएपछि कोषको प्रयास विफल बन्न पुगेकाे हाे ।
याेजना कार्यान्वयनमा अगाडि बढाउन सकेकाे भए कोषले काठमाडौं उपत्यकामा बहुतले पार्किङ निर्माणमा ९० प्रतिशत लगानी गर्ने भएको थियो । जसमध्ये १० प्रतिशत लगानी सम्बन्धित स्थानीय तह, निजी क्षेत्र र संस्थाहरूले गराउने काेषकाे याेजना रहेकाे थियाे । पार्किङ बनाउनको लागि कोषसँग पर्याप्त पैसा भए पनि उपत्यकामा जग्गा अभावका कारण पार्किङ बनाउन नसकेको कोषले जानकारी दिएको छ ।
‘उपत्यकाभित्र सवारीको चाप बढ्दो छ, पार्किङ गर्ने कुनै पनि स्थान छैन, खुला ठाउँमा पार्किङ गरेर धेरै मानिसहरू हिँड्छन्, पार्किङ नहुँदा सवारीको चापले जाम हुने गरेको छ, यस्तो अवस्था भएकाले पार्किङ निर्माणको अवधारण कोषले ल्याएको थियो, पार्किङ बनाउन योजना भए पछि काम भने सुरु भएन,’ कार्कीले विकासन्युजसँग भने ।
कोषले थापाथली, त्रिपुरेश्वर, कालिमाटी, टेकु, सोल्टीमोड, कंसकी, कुलेश्वर, बल्खु, नयाँ सडक, ठमेल, नयाँबजार, पुतलीसडक, दरबारमार्ग, अनामनगर, बबरमहल, नयाँ बानेश्वर, पुरानो बानेश्वर, गौशाला, चाबहिल, मित्रपार्क, लैनचौर, लाजिम्पाट, महाराजगंज, बालुवाटार लगायतका ठाउँहरूमा पार्किङ बन्नेछ । यस्तै, विशालनगर, भाटभाटेनी, ज्ञानेश्वर, नक्साल, गैरीधारा, हाडिगाँउ, मीनभवन, कोटेश्वर, पुल्चोक, जावलाखेल, सातदोबाटो, कुपन्डोल लगायतका मुख्य व्यवसायिक सडक छेउ वा दोहोरो प्रवेशमार्ग भएको भित्री जग्गाहरुमा यो पार्किङ निर्माण गर्न मिल्ने गरी प्रस्ताव पेसको गर्न सक्ने भन्दै सूचना निकालेको थियो । कोषले तोकेको ठाउँमा जग्गा पर्याप्त नहुँदा पनि पार्किङ निर्माण गर्न समस्या भएको कार्कीले बताए ।
सूचना अधिकारी कार्कीका अनुसार काेषले साे आयोजनालाई वैधानिक रूपमा भने खारेज गरेकाे छैन् । उपत्यका भित्र सवारी साधनको चाप र अव्यवस्थित सवारीसाधनको पार्किङलाई व्यवस्थित गर्नको लागि उक्त पार्किङ बनाउने योजना कोषले अगाडि सारेको थियो ।
कोषले सम्बन्धित निकाय मार्फत् आगामी दिनमा पनि इच्छुक संस्था आए भने लगानी गर्न तयार रहेको पनि कार्कीले बताए । ‘लगानी गर्नको लागि कोषलाई कुनै पनि समस्या छैन, योजना आयो भने ठाउँ र जग्गा हेरेर काम अगाडि बढ्ने छ, पार्किङ बनाउनको लागि सबै भन्दा बढी इच्छुक हुने नगरपालिका हुन्, नगरपालिकासँग पर्याप्त जग्गा छैन, उपत्यका भित्र जग्गाको समस्याका छ, यसको कारणले पनि समस्या भयो,’ उनले भने ।
उपत्यकामा पार्किङ बनाउन नसके पनि कोषले अहिले बुटवल उपमहानगर र बनेमा नगरपालिकामा बहुतले पार्किङ बनाउने योजना अगाडि सारेको छ ।