सात वर्षपछि उच्च अदालत भवनको पुनःनिर्माण सुरु
बागलुङ । विसं २०७२ को विनासकारी भूकम्पले क्षति पुर्याएको उच्च अदालत पोखरा बागलुङ इजलासको भवन सात वर्षपछि पुनःनिर्माण थालिएको हो । तीस महिनाभित्र सो अदालतको मुख्य भवन तथा आवास निर्माण सक्नेगरी ५७ करोड ४२ लाख रुपैयाँमा श्यामसुन्दर पशुपति जेभी काठमाडौँले ठेक्कामार्फत काम सुरु गरिएको छ । अहिले उच्च अदालतको पुरानो भवन भत्काउने कार्यले तीव्रता पाएको छ । चिरा परेको भवन प्राविधिक दृष्टिले निकै खतरापूर्ण भए पनि सात वर्षदेखि जोखिम मोलेरै न्याय सम्पादन भइरहेको थियो । अहिले उच्च अदालत पोखरा बागलुङ इजालसले एक हप्तादेखि जिल्ला अदालत बागलुङबाट न्यायसम्पादन गरिरहेको छ । अहिले धमाधम भवन भत्काउने काम भइरहेको छ भने उच्च अदालतको सेवा जिल्ला अदालतको भवनबाट दिइएको उच्च अदालत पोखरा बागलुङ इजलासका रजिस्टार नेत्रप्रसाद भुसालले जानकारी दिए । ‘अदालतको भवन निर्माणका लागि भूकम्पपछि नै पहल भइरहेको थियो, ठूलो लागत भएकाले भवन निर्माणमा बजेट आएको थिएन, अहिले ठेक्कामार्फत भवन निर्माणका लागि पुरानो भवन भत्काउने काम भइरहेको छ’, उनले भने, ‘न्यायसम्पादनलाई एक दिन नोरोकी जिल्ला अदालतको भवनको छतमा ट्रष्ट राखेर अस्थायीरुपमा सेवा दिन थालेका छौँ, तीन वर्षमा उच्च अदालत पोखरा बागलुङ इजलासले नयाँ भवन पाउनेमा आशावादी छौँ ।’ उच्च अदालत पोखरा बागलुङ इजलास भएको सात रोपनी जग्गामा ५७ करोड लागतमा सुविधा सम्पन्न भवन उच्च अदालतको भवन र सामूहिक आवास, अथिति गृहलगायतका संरचना एकैसाथ निर्माण गर्नका लागि ठेक्कामार्फत काम थालिएको रजिस्टार भुसालले बताए । प्राविधिकरुपमा बस्नै नमिल्ने अदालतको भवनलाई मर्मतपश्चात् अहिलेसम्म सेवा दिँदै आइएको थियो । जिल्ला अदालतको दुई तलाबाट अहिले उच्च अदालतको सेवा दिन थालिएको उनको भनाइ छ । नयाँ निर्माण हुने अदालतको भवन प्रविधिमैत्री, अपाङ्गता मैत्री, भूकम्प प्रतिरोधी बागलुङ बजारमा निर्माण भइरहेका अन्य भवनभन्दा ठूलो र आधुनिक भएको भवन निर्माणको प्राविधिक सहयोगी सघन सहरी तथा भवन निर्माण कार्यालय बागलुङका प्रमुख सुनिता श्रेष्ठले जानकारी दिए । उनका अनुसार ‘अन्डरग्राउण्ड’सहित साढे छ तलाको उक्त अदालतको भवनमा विद्युतीय लिफ्टकोसमेत व्यवस्था रहेको छ । अदालतको भवन श्यामसुन्दर पशुपति जेभी काठमाडौँले निर्माण थालेको हो । ५७ करोड रुपैयाँ लागतमा निर्माण हुन थालेको उच्च अदालतमा छ वटा इजलास कक्ष हुनेछन् । ३० महिनाभित्र भवन निर्माण सक्नेगरी पुनःनिर्माण थालिएको छ । रासस
समयमै पारिश्रमिक दिन बीमा सर्भेयरको माग, भन्छन् : हामीलाई सकारात्मक दृष्टिकोणले हेरियोस्
काठमाडौं । बीमा सर्भेयरहरुले बीमा कम्पनीहरुले समयमै पारिश्रमिक नदिएको गुनासो गरेका छन् । नेपाल बीमा प्राधिकरणको बीरगञ्जस्थित प्रदेश कार्यालयको आयोजनामा बीरगञ्जमा बीमा सर्भेयरहरूसँग अन्तरक्रिया कार्यक्रम बोल्दै सर्भेयरहरुले उक्त गुनासो व्यक्त गरेका हुन् । कार्यक्रममा सहभागी बीमा सर्भेयरहरुले बीमा कम्पनीहरुले बीमा गराउँदा बीमितलाई बीमालेखका बारेमा राम्रोसँग जानकारी दिनुपर्ने, सर्भेयरलाई क्षेत्र छुट्याएर काम दिने व्यवस्था गर्नुपर्ने, बीमितलाई समयमै बीमा दाबी भुक्तानी गर्नुपर्ने, क्षति भएको जानकारी पाउनासाथ सर्भेयरलाई खटाउनुपर्ने, सर्भेयरले दिएको अनलाइन रिपोर्टलाई मान्यता दिनुपर्ने, सर्भेयरका लागि तालिमको व्यवस्था गर्नुपर्ने र सर्भेयरलाई समयमा नै पारिश्रमिक दिनुपर्ने लगायतका धारणा राखेका थिए । बीमा सर्भेयर सुनिल जोशीले सर्भेयर पेशालाई मर्यादित र व्यवस्थित तुल्याउनका लागि बीमकले सर्भेयरप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्ने तथा समयमानै सर्भेयरलाई पारश्रमिक दिनुपर्ने बताए । बीमा प्राधिकरणका सहायक निर्देशक टेकराज पाण्डेले बीमक, बीमा सर्भेयर र बीमितबीचको सुमधुर सम्बन्धबाट नै बीमाप्रतिको विश्वास बढ्दै जाने विचार राखे । नेपाल बीमा प्राधिकरणको बीरगञ्ज प्रदेश कार्यालयकी प्रमुख कुसुम शर्माले बीमा सर्भेयरले आफ्नो पेशालाई मर्यादित र व्यवस्थित बनाउँदै लैजानुपर्ने र क्षति मूल्याङ्कन प्रतिवेदन समयमा नै उपलब्ध गराउनुपर्ने बताइन् । सो कार्यक्रम बीमा सर्भेयरको कामलाई छिटोछरितो बनाउने तथा सर्भेयरका समस्याहरुका बारेमा छलफल गरी समाधानका उपाय पहिचान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका सहायक निर्देशक कालीकान्त झा र बीमा सर्भेयरहरुको सहभागिता रहेको थियो ।
एचआइडिसिएलले गर्यो लाभांश प्रस्ताव, पुस २६ गते बोलायो साधारणसभा
काठमाडाैं । एचआइडिसिएल गत वर्षकाे लाभांशबाट सेयरधनीलाई दिन लाभांश प्रस्ताव गरेकाे छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.२६ प्रतिशत नगद लाभांस वितरण गर्ने प्रस्ताव गरेको हाे । सो लाभांश पारित गर्न कम्पनीले पुस २६ गते एघारौं वार्षिक साधारण सभा बोलाएको छ । प्रस्तावित लाभांश साधारण सभाले पारित गरेपश्चात वितरण गरिनेछ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस १४ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ । यस अनुसार पुस १३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।
निर्वाचन आयोगद्वारा जलपान आयोजना गरिँदै
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न भएका अवसरमा आगामी पुस ४ गते जलपान कार्यक्रमको आयोजना गर्ने भएको छ । आयोगको प्राङ्गणमा अपराह्न १ः३० बजेका लागि जलपान कार्यक्रम आयोजना गरिएको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । जलपान कार्यक्रममा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीसहित अतिविशिष्ट पदाधिकारी, मन्त्री, पूर्वप्रधानमन्त्री, राजनीतिक दलका नेता, सुरक्षा अङ्गका प्रमुख, कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि लगायतलाई आमन्त्रण गरिएको उहाँको भनाइ छ । यस वर्ष तीन तहका निर्वाचन सम्पन्न भएका छन् । गत वैशाखमा स्थानीय तह तथा यही मङ्सिरमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सम्पन्न भएको छ ।
पर्यटकको रोजाइमा कालीकोटको तिलागुफा
कालीकोट । कालीकोट जिल्लाको तिलागुफा नगरपालिका–५ मा रहेको तिलागुफा पर्यटकको रोजाइमा पर्न थालेको छ । गुफाकै नाममा नगरपालिका नामकरण हुनु र नगरपालिकामार्फत पूर्वाधार निर्माणसमेत हुनुले तिलागुफा पर्यटक राजाइमा पर्न थालेको हो । कर्णाली राजमार्गदेखि एक सय मिटर तिला नदीको छालमै ४७ मिटर लम्बाइमा रहेको तिलागुफामा दिनहुँ आन्तरिक र कहिलेकाहीँ बाह्य पर्यटक घुमफिर गर्न थालेको वडाध्यक्ष उपेन्द्रप्रसाद न्यौपानेले जानकारी दिए । ‘वनभोजस्थल, प्रतीक्षालय र तालवरिपरि पैदलमार्ग निर्माण गरिएको छ । गुफाको पर्यटन प्रवद्र्धनका लागि तिला नदीमा डुङ्गा निर्माण गर्नुपर्नेछ’, उनले भने, ‘पर्यटकीयस्थलको विस्तृत वृत्तचित्र र त्यसका विषयमा पोस्टर बनाएर प्रचारप्रसारको काम थालनी गर्ने योजना रहेको छ ।’ नेपालको प्रमुख पर्यटकीय गतव्य रारा जाने बाटो पनि पर्ने भएकाले आन्तरिक तथा बाह्य पर्यटकले गुफाको अवलोकन गर्ने गरेको वडाध्यक्ष न्यौपानेले बताए । ‘प्राकृतिक धार्मिक महत्व बोकेको गुफाको लम्बाइ ४० मिटर तथा चौडाइ करिब तीन मिटर रहेको छ’, उनले भने, ‘गुफाको बनावट प्राकृतिक रहेको हुनाले यसलाई जस्ताको तस्तै राख्ने र गुफासम्म पुग्नका लागि सडक व्यवस्थापन गर्नुपर्ने आवश्यकता छ ।’ अहिले गुफासम्म पुग्नका लागि नगरपालिकाले सडकदेखि गुफासम्म रेलिङसहितको व्यवस्थित बाटो निर्माण गरेको र मन्दिरसहित अन्य पूर्वाधार निर्माण भइसकेको स्थानीय धर्म न्यौपानेले बताए । यहाँ अवलोकन गर्न आउने पर्यटकले तिलाका असला माछा स्याउ, सिमीलगायत अर्गानिक उत्पादन स्वाद लिन पाउनेगरी थप होमस्टेलगायत होटल व्यवस्थापन गर्न बाँकी रहेको स्थानीय चङ्खबहादुर रोकायले जानकारी दिए ।
एनएमबि बैंकको लाभांश पाउन पुस १० गतेसम्म सेयरधनी बन्नुपर्ने
काठमाडौं । एनएमबि बैंकले बुक क्लोज मिति तोकेको छ । बैंकको बुधबार बसेको संचालक समितिले २७ औं वार्षिक साधारणसभाको लागि पुस ११ गते एकदिन बुक क्लोज मिति तोकेको हो । यसर्थ पुस १० गतेसम्म नेपाल स्टक एक्सचेन्जमा कायम भएका बैंकका सेयरधनीले मात्र लाभांश पाउनेछन् । बैंकले गत वर्षको नाफाबाट यस वर्ष सेयरधनीलाई ८.२५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । बैंकले पुस २५ गतेको लागि साधारणसभा बोलाएको छ ।
इतिहास झल्काउने पोखराको कस्यप ताल
पोखरा । तालैतालको शहर पोखराको उच्च भूभाग कास्कीकोटस्थित कस्यप तालबारे कतिपयलाई थाहा नहुन पनि सक्छ । स्वदेश तथा विदेशका विभिन्न स्थानबाट आएका अधिकांश पर्यटक पोखराको फेवाताल सहित लेखनाथका ताल हेरेर फर्कने गरेको वास्तविकतामा पोखरा महानगरपालिका–२४ मा पर्ने यस ताललाई पर्यटन बजारमा पुर्याउने चासो र चर्चा पछिल्ला समयमा बढ्दै गएको छ । झण्डै ६ हजार वर्षअघि कस्यप ऋषिले यहीँको पानीले स्नान गरी तपस्या गर्ने गरेको किंवदन्तीका कारण पनि यहाँको गरिमा र महत्त्व अझै बढाएको जनाइएको छ । ४ वेद मध्येको एक यजुर्वेद लेखेको विश्वास गरिने कश्यप ऋषिले स्नान गर्ने गरेको यस ताललाई धार्मिक एवं संस्कृतिक रूपमा पनि उत्तिकै महत्त्वका साथ लिने गरिएको छ । कास्कीकोट गाउँको मध्यभागमा अवस्थित यहाँको धार्मिक एवं ऐतिहासिक महत्त्व रहेर पनि उजागर हुन नसकेको वास्तविकतामा पछिल्ला समयमा स्थानीय जनसमुदाय एवं स्थानीय सरकारले चासो दिन थालेको गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) गण्डकी प्रदेशका अध्यक्ष एवं पोखरा महानगरपालिकाको होमस्टे सञ्चालन तथा दर्ता नविकरण समितिका अध्यक्ष उदय सुवेदीले बताए । करीब ५ वर्षअघिसम्म हिउँदको समयमा पनि पानी अडिने गरेको यस तालमा पछिल्ला वर्ष पानी सुक्न थालेपछि बढ्दै गएको चासो र चिन्ताका बीच वडा कार्यालयका तर्फबाट यसको संरक्षणमा पहल बढाइएको छ । वडाका तर्फबाट विभिन्न समयमा गरिएको प्राविधिक अध्ययनले यसको पूर्ण रुपमा संरक्षणका लागि साढे ३ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको वडा सचिव इन्द्र जिसीले जानकारी दिए । विगतमा १ हजार ६०० भन्दा बढी जनसंख्या बसोबास गर्ने गरेको यस क्षेत्रमा यहाँको पानी गाईवस्तुलाई खुवाउनुका साथै घरायसी प्रयोजन र यहाँको झण्डै ७०० रोपनी क्षेत्रफलमा सिँचाइ पनि उपलब्ध हुँदै आएको थियो । ताल करीब ५५ रोपनी क्षेत्रफलमा फैलिएको छ । नेपालका शाहवंशीय राजाको पालामा यस तालको थप संरक्षण भई त्यस समयमा पनि यहाँको पानीको भरपुर उपयोग गर्ने गरेको बताइन्छ । ताल माथि रहेको नेपालका शाहवंशीय राजाको उद्गमस्थल कास्कीकोट दरबार र यहाँबाट देखिने अन्नपूर्ण, धवलागिरी लगायतको दृश्यले यसलाई एउटा आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने प्रचूर सम्भावना रहेको पोखरा महानगरपालिका–२४ का वडाध्यक्ष भरतबहादुर अधिकारी बताउँछन् । रासस
शिवम् सिमेन्टले पायो ‘बेस्ट म्यानेजड कम्पनी अफ द इयर अवार्ड’
काठमाडौं । शिवम् सिमेन्टले बेस्ट म्यानेजड कम्पनी अफ द इयर २०२२ अवार्ड प्राप्त गरेको छ । सोमबार काठमाडौंमा न्यू बिजनेश एजले आयोजना गरेको सातौं न्यू बिज बिजनेस कन्क्लेभ एण्ड अवार्ड अन्तर्गत कम्पनीले उक्त अवार्ड प्राप्त गरेको हो । नेपालको केन्द्र भाग हेटौँडामा स्थापित यस सिमेन्ट उद्योगले जर्मन प्रविधी युक्त प्लान्टबाट आफ्नै चुनढुङ्गाकोे प्रयोग गरी क्लिंकर र ४३ तथा ५३ ग्रेडको सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ । शिवम् सिमेन्ट सिमेन्ट उद्याेगमा पहिलो पटक एन.एस क्वालिटी अवार्ड–२०१९ प्रथमबाट सम्मानित भएकाे थियाे ।