मूल्यवृद्धिसँगै १२.३९ प्रतिशतले बढ्यो तलब
काठमाडौं । २०७९ कात्तिक महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति (मूल्यवृद्धि) ८.०८ प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकको चार महिने तथ्यांक अनुसार अघिल्लो वर्षको सोही महिनामा ६.०४ प्रतिशत रहेको यस्तो मुद्रास्फीति बढेर ८.०८ प्रतिशतमा पुगेको हो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.३८ प्रतिशत र गैर-खाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.६३ प्रतिशत रहेको छ । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत रेष्टुरेण्ट तथा होटल उप-समूहको मूल्य सूचकाङ्क १५.९७ प्रतिशत, सुर्तीजन्य पदार्थको ११.८१ प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको ९.३३ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ९.१९ प्रतिशत र मदिराजन्य पेय पदाथको ८.८४ प्रतिशतले बढेको छ । गैर-खाद्य तथा सेवा समूह अन्तर्गत यातायात उप-समूहको मूल्य सूचकाङ्क १७.७१ प्रतिशत, स्वास्थ्यको ११.२२ प्रतिशत, मनोरञ्जन तथा संस्कृतिको ८.७६ प्रतिशत, घरायसी उपयोगका वस्तुहरुको ८.४९ प्रतिशत र फर्निसिङ्ग तथा घरायसी उपकरणहरुको ८.३३ प्रतिशतले बढेको छ । समीक्षा महिनामा काठमाडौं उपत्यकामा ७.५६ प्रतिशत, तराईमा ८.५२ प्रतिशत, पहाडमा ८.०३ प्रतिशत र हिमालमा ६.६८ प्रतिशत मुद्रास्फीति रहेको छ । २०७८ कात्तिक महिनामा यी क्षेत्रहरुमा क्रमशः ६.१४ प्रतिशत, ५.४२ प्रतिशत, ७.१४ प्रतिशत र ५.०० प्रतिशत मुद्रास्फीति रहेको थियो । थोक मुद्रास्फीति २०७९ कात्तिक महिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति १०.०२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.६८ प्रतिशत रहेको थियो । समीक्षा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः ५.६२ प्रतिशत, १३.४९ प्रतिशत र ४.६९ प्रतिशत रहेको छ । समीक्षा महिनामा निर्माण सामग्रीको थोक मूल्यवृद्धि ११.८९ प्रतिशत रहेको छ । १२.३९ प्रतिशतले बढ्यो तलब २०७९ कात्तिक महिनामा वार्षिक बिन्दुगत तलब तथा ज्यालादर सूचकाङ्क ११.४७ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही महिनामा उक्त सूचकाङ्क ५.०३ प्रतिशतले बढेको थियो । समीक्षा महिनामा तलब सूचकाङ्क र ज्यालादर सूचकाङ्क क्रमशः १२.३९ प्रतिशत र ११.१९ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । नेपाल र भारतको उपभोक्ता मुद्रास्फीति २०७९ कात्तिक महिनामा नेपालको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ८.०८ प्रतिशत रहेको छ । सन् २०२२ नोभेम्बर महिनामा भारतको यस्तो मुद्रास्फीति ५.८८ प्रतिशत रहेको छ ।
चार महिनामा ४ खर्ब ७७ अर्ब बढीको व्यापार घाटा, चीनतर्फको निर्यात घट्यो
काठमाडौं । चालु आर्थिक वर्षको चार महिना (गत साउनदेखि कात्तिक मसान्तसम्म) स्वदेशी वस्तुको निर्यातमा ३३.३ प्रतिशतले कमी आएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको चार महिनाको तथ्यांक अनुसार नेपालले ५४ अर्ब ७७ करोड रुपैयाँ बराबरको स्वदेशी वस्तुको निर्यात गरेको हो । बैंकको तथ्यांक अनुसार गत आर्थिक वर्षको सोही अबधिमा १०४.३ प्रतिशतले निर्यातमा वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत र चीनतर्फ भएको निर्यात क्रमशः ४२.३ प्रतिशत र ३४.२ प्रतिशतले कमी आएको छ भने अन्य मुलुकतर्फको निर्यात ७.४ प्रतिशतले वद्धि उल्लेख गरिएको छ । ४ महिनाको अबधिमा जिंक शिट, पार्टिकल बोर्ड, ऊनी गलैंचा, चिया, तयारी पोशाक लगायतका वस्तुको निर्यात बढेको छ भने सोयाविन तेल, पाम तेल, पिना, जुटका सामान, लत्ताकपडा लगायतका वस्तुको निर्यात घटेको छ । आर्थिक वर्ष २०७९/८० को चार महिनामा कुल वस्तु आयात १८.१ प्रतिशतले कमी आई ५३२ अर्ब ६९ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ६१.६ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १६.५ प्रतिशत, २०.९ प्रतिशत र २०.१ प्रतिशतले कमी आएको जनाईएको छ । उक्त अबधिमा पेट्रोलियम पदार्थ, रासायनिक मल, स्पंज आइरन, सुन, हवाइजहाजका स्पेयर पार्टपुर्जा लगायतका वस्तुको आयात बढेको छ भने सवारी साधन तथा स्पेयर पार्टपुर्जा, चाँदी, दूरसञ्चारका उपकरण तथा पार्ट्स, एम.एस.विलेट, कच्चा सोयाविन तेल लगायतका वस्तुको आयात घटेको छ । निर्याततर्फ सुख्खा बन्दरगाह, जलेश्वर, कैलाली, कृष्णनगर, मेची, त्रिभुवन विमानस्थल भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ । आयाततर्फ जलेश्वर बाहेकका सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा कमी आएको छ । आर्थिक वर्ष २०७९/८० को चार महिनामा कुल वस्तु व्यापार घाटा १५.९ प्रतिशतले कमी आई ४७७ अर्ब ९२ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा व्यापार घाटा ५६.८ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात १०.३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १२.६ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी ४२ अर्ब ६९ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ७१ अर्ब ४० करोड रुपैयाँ बराबरको भएको थियो ।
बारामा चार लाख बढी मूल्य पर्ने डिपट्युवेलका ट्रान्सफर्मर चोरी
बारा । बारा र पर्सा जिल्लामा भूमिगत सिँचाइका लागि विभिन्न स्थानमा जडान भएका डिपट्युवेलबाट ट्रान्सफर्मर चोरी भएको पाइएको छ । ट्रान्सफर्मर चोरीका कारण दुवै जिल्लामा भूमिगत सिँचाइको काम प्रभावित भएको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजनको कार्यालय वीरगञ्ज पर्साले जनाएको छ । मधेश प्रदेश सरकारको मातहतमा रहेको कार्यालयका अनुसार पर्सा जिल्लामा तीन वटा र बारा जिल्लामा तीन वटा ट्रान्सफर्मर चोरी भएका छन् । चोरी भएका ट्रान्सफर्मरबारे पर्सा र बाराका प्रहरी प्रशासनलाई जानकारी दिएको कार्यालय प्रमुख अरविन्दकुमार मिश्राले जानकारी दिए । चोरी भएका छ वटा ट्रान्सफर्मरको मूल्य ३० लाख रुपैयाँ रहेको उनको भनाइ छ । कार्यालयका अनुसार पर्साको वीरगञ्ज महानगरपालिका वडा नं २८ र ३१, कोन्दियाको वडा नं ३२ को सोलखपुर र बारा जिल्लाको पर्सोनी गाउँपालिका वडा नं ७ प्रस्टोका, महागढी माई नगरपालिकाको तेलकूवा र हर्नेया नजिक इनर्वामालमा जडान भएका डिपट्यूवेलबाट ट्रान्सफर्मर चोरी भएको प्रमुख मिश्राले जानकारी दिए । उनका अनुसार विगत दुई महिनाको अवधिमा ६ वटै ट्रान्सफर्मर चोरी भएको हो । ट्रान्सफर्मर चोरी भएपछि किसान समस्यामा परेको मिश्राको भनाइ छ । पर्साका प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकीले चोरी भएको ट्रान्सफर्मर विषयमा छानबिन तथा पत्ता लगाउनका लागि सम्बन्धित प्रहरी चौकीमा निर्देशन दिइएको बताए । ट्रान्सफर्मरभित्र ५० हजार रुपैयाँ पर्ने तेल र चार लाख रुपैयाँभन्दा बढी मूल्य पर्ने तामाको तार जडान गरिएको हुन्छ ।
वैदेशिक रोजगारबाट फर्केहरूका तथ्याङ्क सङकलन सुरु
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाले वैदेशिक रोजगारबाट फर्केकाहरुको तथ्याङ्क सङकलन सुरु गरेको छ । वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिले आर्जन गरेको पुँजी, प्रविधि, ज्ञान र सीपको उपयोग गरी स्वदेशभित्रै रोजागरी उपलब्ध गराउन नगरपालिकाले तथ्याङ्क सङकलनको कार्य अगाडि बढाएको हो । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको वैदेशिक रोजगार बोर्डको सचिवालयले स्थानीय तहको सहकार्यमा त्यस व्यक्तिलाई पुनः एकीकरणका कार्यक्रम सञ्चालनका लागि नगरपालिकाका १२ वटै वडामा तथ्याङ्क सङ्कलन भइरहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकेन्द्रराज भट्टले जानकारी दिए । वैदेशिक रोजगार बोर्डको सचिवालयबाट स्वीकृत पुनः एकीकरण कार्यक्रम सञ्चालन तथा व्यवस्थापन निर्देशिका २०७९ बमोजिम कार्यक्रम सञ्चालन हुने उनको भनाइ छ । कार्यक्रम स्थानीय तहको माग, आवश्यकता बमोजिम स्थानीय तहमार्फत् सञ्चालन हुने उनको भनाइ छ । स्वदेशभित्रै रोजगारी र स्वरोजगारीका अवसर सिर्जना गरी वैदेशिक रोजगारी माथिको परनिर्भरतालाई क्रमशः कम गर्दै लैजाने उद्देश्य अनुरुप कार्यक्रम सञ्चालन हुन लागेको छ । ‘नगरपालिकाका सबै वडामा यसबारे पत्राचार गरी सकेका छौँ’, उनले भने, ‘वडा कार्यालयमार्फत् सात दिनभित्र तथ्याङ्क सङ्कलनपछि वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिले इच्छाएका कार्यक्रम सञ्चालनका लागि प्रक्रिया अगाडि बढाइनेछ ।’ नगरपालिकाका अधिकांश युवाहरु रोजगारीका लागि भारतलगायत खाडीमुलुकमा जाने गरेका छन् । विदेशमा सिकेको सीपको सदुपयोग गर्दै रोजगारीका अवसर सिर्जना गर्नका लागि कार्यक्रमले सघाउने नगर प्रमुख रणबहादुर महराको भनाइ छ ।
काठमाडौं उपत्यकामा मेट्रो चलाउन सहकार्य गरौं : चिरिबाबु महर्जन
काठमाडाैं । ललितपुर महागरपालिकाका प्रमुख चिरिबाबु महर्जनले काठमाडौं उपत्यकामा मेट्रो चलाउनुपर्ने आवश्यकता रहेको बताएका छन् । बिहीबार काठमाडौं महानगरपालिकाको २८ औँ महानगर दिवसको अवसरमा आयोजित कार्यक्रम उनले उपत्यकामा मेट्रो चलाउन निकै आवश्यक रहेकाे बताउँदै त्यसकाे लागि आफूहरु सहकार्य गर्न तयार रहेको पनि बताए । ‘काठमाडौं महानगरपालिका लगायत काठमाडौं उपत्यकाभित्र ५० लाखको जनसंख्या छ, ३० लाख जनसंख्या भएपछि त्यहाँ मेट्रो चलाउन सकिन्छ भन्ने अन्तर्राष्ट्रिय अध्ययनले जनाउँछ, तसर्थ अब यहाँ एककिसिमको मेट्रो अथवा ¥यापिड बस ट्रान्जिट सिस्टमको व्यवस्थापन गर्नु अति अनिवार्य भइसकेको छ, तसर्थ यसमा म काठमाडौं महानगरपालिकालाई विशेष अनुरोध गर्न चाहन्छु कि यसमा हामी सहकार्य गरेर अगाडी बढौँ,’ उनले भने । यस्तै, उनले ललितपुर महानगरपालिकामा आफूले साइकल लेन बनाएको भन्दै सो लेनलाई काठमाडौं महानगरपालिका हुँदै शिवपुरी डाँडोसम्म जोड्ने प्रस्ताव गरे । उनले ललितपुरमा यस वर्ष ३० किलोमिटर साइकल लेन थप्न लागेकाे पनि जानकारी दिए । ‘ललितपुरबाट काठमाडौंमा पनि जोडौँ, काठमाडौंले बुढानिलकण्ठमा जोडेर शिवपुरीको टुप्पोसम्म बाइसाइकल लेन बनाएर त्यो गोदाबरीको गार्डेनसम्म पु¥याउन पायौँ भने एकदमै राम्रो हुन्छ, यसको निमित्त गोदाबरी नगरपालिकाले ललितपुर महानगरपालिकाको बोर्डरबाट बोडानिकल गार्डेनसम्म बनाउनको लागि बजेटको व्यवस्थापन गरिसकेको छ । तसर्थ यता विलम्व नहोस् भनेर मैले सुझाव दिएँ,’ उनले भने ।
एक अर्ब ६६ करोड ९३ लाखमा मुगु-हुम्ला जोड्ने सडक निर्माण
मुगु । बेलाइत सरकारको सहयोगमा मुगु गमगढीदेखि हुम्लाको चङ्खेली गाउँपालिका जोड्ने ६७ किलोमिटर सडक निर्माण सम्पन्न भएको छ । मुगुको गमगढीदेखि हुम्ला चङ्खेली गाउँपालिका देउलीसम्मको उक्त सडक एक अर्ब ६६ करोड ९३ लाख ५२ हजार रुपैयाँमा निर्माण भएको हो । सडक निर्माण सन् २०१८ अक्टोबरदेखि काम सुरु भएको थियो । निर्माण सकिएपछि बेलाइत सरकारले बुधबार कर्णाली प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ । हस्तान्तरण कार्यक्रममा कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले विकासको पहिलो आधार सडक भएको बताए । आफूले सात वर्षको उमेरदेखि पैदलयात्रा गरेको स्मरण गर्दै भने, ‘हुम्लादेखि यही बाटोबाट महिना दिन पैदल हिँडेर नेपालगञ्ज पुग्थ्यौंँ । मान्छे हिँड्न कठिन बाटो आज सडकमा परिणत भएको छ जहाँ अहिले गाडी गुडाएका छौँं ।’ नेपालका लागि बेलाइतका राजदूत निकोला पोलिटले गमगढी–देउली सडक निर्माणले दुवै जिल्लामा यातायातका लागि सहज भएको बताए । ‘बेलाइत सरकारको ग्रामीण पहुँच कार्यक्रम अन्तर्गत चार दशमलव पाँच मिटर चौडा मोटरेवल लिङ्क सडक निर्माणले पैदल हिँड्ने बाटोलाई विस्थापित गरेको छ’, राजदूत पोलिटले भने, ‘नेपालमा बेलाइतले सरकारको सहयोगमा निर्माण भएको यो सबैभन्दा लामो ग्रामीण सडक हो ।’ कुल ६७ किलोमिटरमध्ये मुगुमा ३३ किलोमिटर र हुम्लामा ३४ किलोमिटर पर्छ । यो सडकले चङ्खेली हिमालको तीन हजार तीन सय मिटरको अग्लोडाँडा पार गर्दा सडकअन्तर्गत चारवटा पुल निर्माण गरिएका छन् । बेलाइतको हरित, लचिलो समावेशी विकास उद्देश्य पूरा गर्ने दीर्घकालीन रणनीतिक द्विपक्षीय सहयोगको उदाहरणस्वरुप यो सडक निर्माण भएको राजदूत पोलिटले जनाए । उहाँका अनुसार परियोजना सफलताले स्थानीय नागरिक, सरकारका विभिन्न निकाय एक ठाउँमा हुँदा ठूलो परिवर्तन सम्भव छ भन्ने देखाएको छ । सडक सञ्चालन आएसँगै खाद्यान्नमा करिब ४३ प्रतिशतले मूल्य घट्नुका साथै बजार, स्वास्थ्य सुविधालगायतमा उल्लेख्य परिवर्तन आएको उनको दाबी छ । सडक निर्माणको अवधिमा चार हजार चार सयभन्दा बढी स्थानीय श्रमिकलाई रोजगारी दिइएको भने श्रमशक्तिको ३५ प्रतिशतभन्दा बढी महिला सहभागी गराइएको थियो । परियोजनाले महिला र पुरुषलाई समान ज्याला उपलब्ध गराएको थियो । बेलाइत सरकारका अनुसार सडक निर्माणका क्रममा श्रमिकले आठ लाख रुपैयाँ बराबरको आम्दानी गरेका थिए ।
विदेशी मुद्राको सञ्चिति बढ्यो, चार महिनामै भित्रियो पौने ४ खर्ब बढी रेमिट्यान्स
काठमाडौं । चालु आर्थिक वर्षको चार महिनामा विदेशी मुद्राको सञ्चिति बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चार महिनाको तथ्यांकअनुसार विदेशी मुद्राको सञ्चिति २.५ प्रतिशतले बढेर ०७९ कात्तिक मसान्तमा १२ खर्ब ४६ अर्ब २७ करोड रुपैयाँ पुगेको हो । जुन गत असारसम्ममा १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँ थियो । त्यस्तै, अमेरिकी डलरमा यस्तो सञ्चिति २०७९ असार मसान्तमा ९ अर्ब ५४ करोड रहेकोमा २०७९ कात्तिक मसान्तमा १.० प्रतिशतले वृद्धि भई ९ अर्ब ६३ करोड कायम भएको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति असारमा १० खर्ब ५६ अर्ब ३९ करोड रहेकोमा २०७९ कात्तिक मसान्तमा ३.३ प्रतिशतले वृद्धि भई १० खर्ब ९१ अर्ब २२ करोड पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति असार मसान्तमा १ खर्ब ५९ अर्ब ४१ करोड रहेकोमा कात्तिक मसान्तमा २.७ प्रतिशतले कमी आई १ खर्ब ५५ अर्ब ५ करोड रुपैयाँ कायम भएको छ । २०७९ कात्तिक मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३.५ प्रतिशत रहेको छ । यस्तै, समीक्षा अवधिमा रेमिट्यान्समा पनि सुधार देखिएको छ । समीक्षा अवधिमा विप्रेषण आप्रवाह २०.४ प्रतिशतले वृद्धि भई ३ खर्ब ७८ अर्ब ४ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ७.० प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १०.८ प्रतिशतले वृद्धि भई २ अर्ब ९३ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ७.३ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १०२.५ प्रतिशतले वृद्धि भई १,९५,१९६ पुगेको छ । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ४६.४ प्रतिशतले वृद्धि भई ८७,४२८ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २४९.१ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर २०.२ प्रतिशतले वृद्धि भई ४ खर्ब १७ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ६.९ प्रतिशतले घटेको थियो ।
एयर होस्टेसको आन्दोलनका कारण ५ आन्तरिक उडान प्रभावित
काठमाडौं । सरकारी स्वामित्वमा सञ्चालित नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) मा कार्यरत क्याबिन क्रु (एयर होस्टेस) को आन्दोलनका बिहीबारको आन्तरिक उडान प्रभावित बनेको छ । निगममा १५ वर्षदेखि करारमा सेवा गर्दै आएका दुई जना विमान परिचालिकाको करार नवीकरण रोकिएको भन्दै क्याबिन क्रुले हड्तालका कारण बिहीबार तय भएका ५ उडान प्रभावित बनेको हो । एयर होस्टेसकै आन्दोलनका कारण बुधबार र बिहीबारका अन्तर्राष्ट्रिय उडानहरु समेत प्रभावित बनेका छन् । आन्दोलनकै बारण बिहीबार काठमाडौं–ताप्लेजुङका दुई उडान, काठमाडौं–भोजपुर, काठमाडौं–फाप्लु र काठमाडौं–दाङको एक÷एक उडान प्रभावित बनेका हुन । निगम व्यवस्थापनले दुई जना क्याबिन क्रुको करार नवीकरण नगरेको भन्दै एयर होस्टेसहरु आन्दोलनमा उत्रिएका हुन् । यसले आन्तरिक र अन्तर्राष्ट्रिय दुवै तर्फका यात्रु अलपत्र परेका छन् । आन्दोलनरत एयर होस्टेस र निगम व्यवस्थापनबीच बिहीबार भएको वार्तामा समेत झगडा भएको छ । दुई पक्षबीच भएको वार्तामा बीना जानकारी भित्र पसेर ट्रेड युनियनका नेताले एयर होस्टेसलाई हातपात गरेपछि वार्ता रोकिएको छ । दुई पक्षबीच भएको वार्तामा बिना जानकारी भित्र परेर युनियनका नेताले हातपात गरेपछि प्रहरीले युनियनका नेतालाई नियन्त्रणमा लिएको हो ।