पोखरा । तालैतालको शहर पोखराको उच्च भूभाग कास्कीकोटस्थित कस्यप तालबारे कतिपयलाई थाहा नहुन पनि सक्छ ।
स्वदेश तथा विदेशका विभिन्न स्थानबाट आएका अधिकांश पर्यटक पोखराको फेवाताल सहित लेखनाथका ताल हेरेर फर्कने गरेको वास्तविकतामा पोखरा महानगरपालिका–२४ मा पर्ने यस ताललाई पर्यटन बजारमा पुर्याउने चासो र चर्चा पछिल्ला समयमा बढ्दै गएको छ ।
झण्डै ६ हजार वर्षअघि कस्यप ऋषिले यहीँको पानीले स्नान गरी तपस्या गर्ने गरेको किंवदन्तीका कारण पनि यहाँको गरिमा र महत्त्व अझै बढाएको जनाइएको छ । ४ वेद मध्येको एक यजुर्वेद लेखेको विश्वास गरिने कश्यप ऋषिले स्नान गर्ने गरेको यस ताललाई धार्मिक एवं संस्कृतिक रूपमा पनि उत्तिकै महत्त्वका साथ लिने गरिएको छ ।
कास्कीकोट गाउँको मध्यभागमा अवस्थित यहाँको धार्मिक एवं ऐतिहासिक महत्त्व रहेर पनि उजागर हुन नसकेको वास्तविकतामा पछिल्ला समयमा स्थानीय जनसमुदाय एवं स्थानीय सरकारले चासो दिन थालेको गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) गण्डकी प्रदेशका अध्यक्ष एवं पोखरा महानगरपालिकाको होमस्टे सञ्चालन तथा दर्ता नविकरण समितिका अध्यक्ष उदय सुवेदीले बताए ।
करीब ५ वर्षअघिसम्म हिउँदको समयमा पनि पानी अडिने गरेको यस तालमा पछिल्ला वर्ष पानी सुक्न थालेपछि बढ्दै गएको चासो र चिन्ताका बीच वडा कार्यालयका तर्फबाट यसको संरक्षणमा पहल बढाइएको छ । वडाका तर्फबाट विभिन्न समयमा गरिएको प्राविधिक अध्ययनले यसको पूर्ण रुपमा संरक्षणका लागि साढे ३ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको वडा सचिव इन्द्र जिसीले जानकारी दिए ।
विगतमा १ हजार ६०० भन्दा बढी जनसंख्या बसोबास गर्ने गरेको यस क्षेत्रमा यहाँको पानी गाईवस्तुलाई खुवाउनुका साथै घरायसी प्रयोजन र यहाँको झण्डै ७०० रोपनी क्षेत्रफलमा सिँचाइ पनि उपलब्ध हुँदै आएको थियो । ताल करीब ५५ रोपनी क्षेत्रफलमा फैलिएको छ ।
नेपालका शाहवंशीय राजाको पालामा यस तालको थप संरक्षण भई त्यस समयमा पनि यहाँको पानीको भरपुर उपयोग गर्ने गरेको बताइन्छ । ताल माथि रहेको नेपालका शाहवंशीय राजाको उद्गमस्थल कास्कीकोट दरबार र यहाँबाट देखिने अन्नपूर्ण, धवलागिरी लगायतको दृश्यले यसलाई एउटा आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने प्रचूर सम्भावना रहेको पोखरा महानगरपालिका–२४ का वडाध्यक्ष भरतबहादुर अधिकारी बताउँछन् । रासस