एक हप्तादेखि रोकिएको धरहरा पुनः निर्माण अझै सुरु भएन
काठमाडौं । विगत एक हप्तादेखि रोकिएको ऐतिहासिक धरहरा पुनः निर्माणको काम अझै सुरु हुन सकेको छैन । धरहरा पुनःनिर्माणका क्रममा सुन्धारामा पानी पठाउने मूलधारा नष्ट हुनेगरी डोजर चलाइएको भन्दै काठमाडौँ महानगर र स्थानीयले गत मङ्सिर २६ गतेदेखि धरहरा पुनःनिर्माणको काम रोकेका छन् । कामपा वडा नं २२ का अध्यक्ष चिनीकाजी महर्जनले रोकिएको काम कसरी अघि बढाउने भनेर स्थानीयसँग छलफल भइरहेको तर निष्कर्षमा नपुगेकाले काम सुरु हुन नसकेको बताउँछन् । ‘दैनिकरुपमा अवलोकन गर्नेगरी समिति बनाउनेबारे छलफल भइरहेको र समितिलाई एक–दुई दिनमा पूर्णता दिएर निमार्णको काम अघि बढ्छ’ , अध्यक्ष महर्जनले भने । मौलिक कला, संस्कृतिको नमुनाका रुपमा रहेको ऐतिहासिक सुन्धाराको संरचना पुनःनिर्माणका नाममा भत्काउन नहुने उनले बताए । उनले ऐतिहासिक सुन्धाराको संरचना जोगाउनकै लागि पहलकदमी अघि बढाएको बताए । ऐतिहासिक महत्व बोकेको सुन्धारामा पानी पठाउने काठको लामो पाइप नष्ट गरी उक्त स्थानमा निर्माण कम्पनीले डोजर लगाएर एक लाख लिटर पानी अट्ने विशाल ट्याङ्की निर्माण गर्ने तयारी गरेपछि धरहरा पुनःनिर्माणको बाँकी काम रोकिएको हो । भूकम्पले ढलेको धरहरा पुनःनिर्माणको तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले विधिवत्रुपमा २०७५ पुस १२ गते उद्घाटन गरेका थिए । बयालिस रोपनी क्षेत्रफलमा निर्माण गरिएको धरहरा भित्र २२ तलाको र उचाइ ७२ मिटर र ४८ फिटको बेस रहनेछ । धरहरा टावरको पुनः निर्माण सम्पन्न भएको भन्दै विसं २०७८ वैशाख ११ गते नै उद्घाटन गरिएको थियो । उद्घाटन भएको डेढ वर्ष बितिसक्दासम्म अन्य निर्माणको काम सम्पन्न हुन सकेको छैन ।
चिसोका कारण बढे दम र निमोनियाका बिरामी
दोधारा चाँदनी । दो पछिल्लो एक सातायता बढ्दो चिसोका कारण कञ्चनपुरमा मौसमी बिरामीको सङ्ख्या बढेको छ । चिसोले गर्दा दम, निमोनिया, रुघाखोकीजस्ता मौसमी बिरामीको सङ्ख्या बढेको महाकाली प्रादेशिक अस्पतालले जनाएको छ उक्त अस्पतालका सूचना अधिकारी उषा भट्टका अनुसार अहिले अस्पतालमा दैनिक तीनदेखि चार सय बिरामी उपचारका लागि आउने गरेका छन् । ‘चिसो सुरु भएदेखि दम, निमोनियाजस्ता मौसमी बिरामीको चाप बढेको छ’, उनले भने, ‘गत मङ्सिरमा मात्रै चार हजारभन्दा बढी बिरामी उपचारका लागि आएका थिए । गत महिना उक्त अस्पतालमा दुई हजार बिरामी आकस्मिक कक्षमा भर्ना भएका थिए भने चार हजारभन्दा बढीले ओपिडी सेवा लिएका थिए । अस्पताल आउनेमा बढीजसो दम, निमोनिया र रुघाखोकीजस्ता मौसमी बिरामी भएको उनले बताए । अस्पतालका निमित्त मेडिकल सुपरिडेन्टेन डा अर्जुन भट्टले चिसो बढेपछि बिरामीको सङ्ख्या पनि बढेकाले चिसोबाट बच्न आग्रह गरे । ‘चिसोमा बढीजस्तो दम, निमोनिया, प्रेसर र मृगौलाका बिरामीलाई समस्या हुन्छ’, उनले भने, ‘चिसोबाट बच्न मनतातो पानीका साथ झोलयुक्त पदार्थ खाने र न्यायो ठाउँमा बस्ने गर्नुपर्दछ ।’ ‘चिसोमा भाइरस सक्रिय हुन्छ यसले गर्दा बूढापाकामा बढी समस्या बल्झिने हुन्छ’, डा भटृले जोड दिए, ‘चिसोमा मष्तिस्काघात हुने सम्भावना हुने भएकाले बिरामीले नियमित औषधि सेवन गरिराख्नुपर्छ ।’ चिसो बढेपछि कञ्चनपुरका निजी स्वास्थ्य संस्थामा समेत मौसमी बिरामीको सङ्ख्या बढ्न थालेका छन् । रासस
सिमुलेसन विज्ञान प्रदर्शनी सुरु
काठमाडौं । सिमुलेसन साइन्स सेन्टरको आयोजनमा ‘सिमुलेसन विज्ञान प्रदर्शनी २०२२’ सुरु भएको छ । होप्पील्याण्ड एमुजमेन्ट पार्कमा पुस १ गतेदेखि सुरु भएको प्रदर्शनी पुस ३० गतेसम्म सञ्चालन हुने छ । होप्पील्याण्ड एमुजमेन्ट एण्ड वाटरपार्कमा आयोजना गरिएको प्रदर्शनीमा बालबालिकाहरुलाई वैज्ञानिक नियम र सिद्धान्तहरुको बारेमा जानकारी गराइने उद्देश्य लिइएको छ ।अन्तरक्रियात्मक कार्यक्रममा पनि बालबालिकाहरु सहभागी हुने व्यवस्था मिलाइएको छ । प्रदर्शनीमा ग्याजेट र रोवोटिक कुराहरु प्रयोग गरिएको छ । जसलाई मेकानिकल र भौतिक विषयका विज्ञहरुको प्रशिक्षणले आगामी दिनमा बालबालिकहरुलाई विषय बुझ्नका लागि थप सहयो गर्ने अपेक्षा गरिएको छ । त्यहाँ डाइनोसरको बारेमा जानकारी गराउँदै बालिबालिकालाई त्यसैबाट बोटिङ गर्दा थप अध्ययन गर्न पाउने सिमुलेसन साइन्स सेन्टरकी प्रमुख कार्यकारी अधिकृत प्रतिक्षा थापाले जानकारी दिइन् । यो प्रदर्शनीमा स्कुले बालबालिका र उनका अभिभावकहरुले फाइदा लिन सक्ने थापाले बताइन् । प्रदर्शनीमा सहभागी हुने विद्यार्थीहरुले विद्यालयमा सिकेका कुराहरु अभ्यास गर्न पाउने व्यवस्था पनि मिलाइएको छ ।
सन्तोषी श्रेष्ठलाई ‘संस्कृति स्पोर्टस सम्मान’, पाइन् १ लाख
काठमाडौं । संस्कृति इन्टरनेसनल स्कुलले ‘संस्कृति स्पोर्टस सम्मान’ नामक वार्षिक स्पोर्टस अवार्ड स्थापना गरेको छ । खेलकुद विधामा उत्कृष्ट प्रदर्शन गर्ने प्रतिभाशाली खेलाडीहरुलाई प्रोत्साहन प्रदान गर्ने उद्देश्यले स्थापना गरिएको यो अवार्ड हरेक वर्ष अंग्रेजी क्यालेन्डर अनुसार प्रदान गरिने स्कुलले जनाएको छ । स्कुलको वार्षिक स्पोर्टस डेको अवसरमा सशस्त्र प्रहरी बलको हल्चोक मैदानमा आयोजित एक कार्यक्रममा स्कुलका अध्यक्ष रञ्जित आचार्यले अन्य बोर्ड डिरेक्टर्स, नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष देवेन्द्र सुवेदी, नेपाली राष्ट्रिय क्रिकेट टाेलीका पूर्व कप्तान पारस खड्का उपस्थिति रहेकाे थियाे । यस वर्षको ‘संस्कृति स्पोर्टस सम्मान’ सन्तोषी श्रेष्ठलाई प्रदान गरिएको छ । उनले २०२२ मा खेल जगतमा उत्कृष्ट प्रदर्शन गर्दै लामो दुरीको दौडतर्फ नेपाललाई अन्तर्राष्ट्रिय स्वर्ण पदक दिलाउन सफल भएकी थिइन् । संस्कृति इन्टरनेसनल स्कुलका अध्यक्ष रञ्जित आचार्य र नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष देवेन्द्र सुबेदीको उपस्थितिमा कार्यक्रमका प्रमुख अतिथि एवम् नेपाली राष्ट्रिय क्रिकेट टिमका पुर्व कप्तान पारस खड्काले सन्तोषी श्रेष्ठलाई उक्त अवार्ड हस्तान्तरण गरे । त्यसै गरी संस्कृति इन्टरनेसनल स्कुलका डिरेक्टर पशुपती मुरारकाले श्रेष्ठलाई एक लाख एक हजार बराबरको चेक पनि हस्तान्तरण गरेका थिए । त्यसैगरी सोही कार्यक्रममा व्यावसायिक तालिम लिन नसक्ने देशभर रहेका १९ वर्षमुनिका खेलाडीहरू मध्ये १ जना योग्य क्रिकेटरलाई ५० हजारको ट्रेनिङ स्कलरशिप प्रदान गर्ने घोषणा गरिएको छ । स्कलरशिप विजेतालाई पारस खड्काद्वारा सञ्चालित क्रिकेट एक्सिलेन्स सेन्टरबाट तालिम प्रदान गरिने भएको छ । यस वर्षको स्कलरशीप डडेलधुरा ४ का प्रतिभाशाली क्रिकेट खेलाडी कृष्ण भट्टलाई दिइएकाे छ । सन्तोषी श्रेष्ठ एथलेटिक्समा अन्तर्राष्ट्रिय स्वर्ण पदक जित्ने नेपालकी पहिलो महिला खेलाडी हुन् । पेशाले जनस्वास्थ्य अधिकृत उनी एक राष्ट्रिय खेलाडी हुनुका साथै सार्वजनिक प्रशासन र पब्लिक हेल्थ न्युट्रिसनमा पनि थुप्रै डिग्रीहरु हासिल गरेकी छिन् । उनले २०७९ को नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा १० हजार र ५ हजार मिटर दौडमा, २०७९ को ४४औं राष्ट्रिय एथलेटिक्स च्याम्पियनसिपको १५ सय र ३ हजार मिटर दौडमा स्वर्ण पदक जितेकी छिन् भने २०७९ को आठौं नेपालगञ्ज म्याराथनमा पनि कोर्स रेकर्ड सहित विजेता बन्न सफल भएकी थिइन् । उनी राष्ट्रिय खेलकुद पत्रकार मञ्चद्वारा आयाेजना गरेको एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०७६ मा विशेष पुरस्कार, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघद्वारा एथलेटिक्स २०७६ को उत्कृष्ट खेलाडी र नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयद्वारा राष्ट्रिय खेलकुद प्रतिभा पुरस्कारबाट पनि सम्मानित भएकी थिइन् ।
सांग्रिला विकास बैंकले मोबाईल एप अपग्रेड, सबै माध्यमबाट सहजै प्रयोग गर्न सकिने
काठमाडौं । सांग्रिला विकास बैंकले आफ्नो मोबाईल बैकिङ्ग एप सांग्रिला स्मार्टलाई अपग्रेड गरेको छ । बैंकको नयाँ एप्लीकेशन एफवान सफ्ट इन्टरनेशनलले निर्माण गरेको हो । अपग्रेड भएको एपले ग्राहकलाई मोबाईल र वेब उपकरणबाट सहजै एप्लिकेशन प्रयोग गर्न दिने बैंकले जनाएको छ । बैंकको अनुसार अपग्रेड भएको एपमा बिल भुक्तानी, चेक बुक अनुरोध,सेल्फ पासवर्ड/पिन रिसेट, माध्यमहरुको अन्तरसञ्चालन जस्ता थुप्रै सुविधाहरु रहेका छन् । सांग्रिला बैंकका प्रमुख अपरेटिङ अफिसर अपूर्व प्रसाद जोशीले प्रयोगकर्ताले अपग्रेड भएको एपबाटै सिधै विभिन्न प्रकारका बैंकिङ्ग सेवाहरू प्राप्त गर्न बताए । ‘नयाँ एपको अनुप्रयोगमा धेरै नयाँ सुविधाहरू छन्, जुन धेरै यन्त्र तथा माध्यमबाट प्रयोग गर्न सकिन्छ । जसले हाम्राग्राहकलाई उपलब्ध उत्कृष्ट डिजिटल बैकिङ्ग अनुभव प्राप्त गर्न सजिलो बनाउँछ,’ उनले भने । सांग्रिला विकास बैंक नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त ख वर्गको बैंकका रुपमा सञ्चालनमा छ ।
स्थानीय तहका अधिकारीले बिदा बस्दा मन्त्रालयको स्वीकृति लिनुपर्ने
काठमाडौं । स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत अब बिदामा बस्दा अनिवार्य स्वीकृति लिनुपर्ने भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाए अनुसार जिल्ला समन्वय समितिका अधिकारी र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतले बिदामा बस्दा अनिवार्य मन्त्रालयबाट स्वीकृति गराउनुपर्ने उक्त मन्त्रालयको सङ्घीय तथा प्रादेशिक कर्मचारी प्रशासन शाखाका प्रमुख रवीन्द्रजङ्ग थापाले जानकारी दिए । उनले जानकारीविना कार्यक्षेत्र छाडेर जाँदा सेवा प्रवाहमा समस्या देखिएकाले अबदेखि मन्त्रालयको स्वीकृित बेगर बिदा पनि बस्न नपाइने बताए । ती अधिकारीले आफूखुशी कार्यलय छाडेर बाहिर जाने गरेको गुनासो आएकाले जानकारीविना कार्यालय छाडेर नजान उनीहरुलाई निर्देशन दिइएको छ । मन्त्रालयले ७७ जिल्ला समन्वय समिति र सात सय ५३ वटै स्थानीय तहलाई पत्र पठाइ अब उप्रान्त मन्त्रालयको पूर्वस्वीकृति विना जिल्ला र कार्यक्षेत्र नछाड्न पनि निर्देशनमा उल्लेख गरेको छ ।
डा. ध्रुवचन्द्र गौतम ‘आविष्कारी आख्यानकार’को उपाधिबाट सम्मानित
काठमाडौं । चर्चित आख्यानकार डा. ध्रुवचन्द्र गौतमलाई उनको ८० औं जन्मोत्सवको अवसरमा ‘आविष्कारी आख्यानकार’को उपाधिबाट सम्मान गरिएको छ । आइतबार काठमाण्डौकोे कमलादीमा एक समारोह आयोजना गरी ‘लुनकरणदास–गंगादेवी चौधरी साहित्यकला मन्दिर’ तथा ‘बसन्त चौधरी फाउण्डेसन’ले उनलाई ‘आविष्कारी आख्यानकार’को उपाधिले सम्मान गरेको हो । समारोहमा डा. गौतमलाई साहित्यकला मन्दिरका संस्थापक अध्यक्ष बसन्त चौधरीले उपहार अर्पण गरेका थिए । यस्तै, साहित्य कला मन्दिरकी अध्यक्ष मेघा चौधरीले अभिनन्दन गरेकी थिइन् । सो अवसरमा ‘डा. ध्रुवचन्द्र गौतमः ‘आविष्कारी आख्यानका दशकहरु’को नामको पुस्तक समेत लोकार्पण गरिएको थियो यो पुस्तकको सम्पादन डा. खुमनारायण पौडेलले गरेका हुन् । कार्यक्रममा वरिष्ठ रंगकर्मी हरिहर शर्माले सामूहिक हस्ताक्षरित बधाई डा. गौतमलाई अर्पण गरेका थिए । सो अवसरमा डा.गौतमको ८० औं जन्मोत्सव पनि मनाइएको थियो । उनलाई बसन्त चौधरीले माला तथा मेघा चौधरीले ढाका टोपी लगाई समारोहमा केक काटेर जन्मदिन मनाइएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै श्री लुनकरणदास गंंगादेवी चौधरी साहित्यकला मन्दिरका संस्थापक अध्यक्ष बसन्त चौधरीले डा. गौतम साहित्यका नित नवीन र घतलाग्दा प्रयोगहरु गर्ने सर्जक रहेका बताए । ‘उहाँप्रति आविष्कारी आख्यानकार’को उपाधि अर्पण गर्न पाउनु हाम्रा लागि पनि जीवनकै ऐतिहासिक अवसर हो ।’ चौधरीले भने–‘महान् कवि गोपालप्रसाद रिमालको कवितांश पैँचो लिएर भन्दा डा. गौतम ‘एक युगमा एकदिन एकचोटि जन्मिने’ प्रतिभा हुन् ।’ डा. गौतमका हरेक कृतिले साहित्यमा उज्याला प्रकाशहरु छरेर समग्र नेपाली साहित्यलाई नै प्रज्वलित तुल्याएको चौधरीको भनाई थियो । आफूलाई डा. गौतमको सान्निध्य प्राप्त भएको र आफूहरुबीचको सम्बन्धको लामो कालखण्ड व्यतीत भएको सो अवसरमा चौधरीले बताए । ‘उनीसँगको साक्षात्कारले मलाई एउटा असीम सम्भावनायुक्त लेखकसँग मात्र होइन, एउटा सहृदयी व्यक्तिसँग भेटेको पनि अनुभूति हुन्छ । उनी यस उमेरमा पनि सिर्जनामा उत्तिकै सक्रिय छन् ।’ कवि तथा गीतकार समेत रहेका चौधरीले भने–‘यही प्रेरणाले मलाई पनि लेख्न उर्जा मिल्छ ।’ हालसम्म ३२ वटा त उपन्यास मात्र लेखिसकेका डा. गौतम नेपाली आख्यान जगतका कीर्तिमानी सर्जक समेत रहेका चौधरीको दाबी छ । डा. गौतमले सबै विधामा गरी हालसम्म ५३ वटा कृति जन्माइसकेका छन् । चौधरीले नेपाली साहित्यमा प्रयोगवादी आख्यान र अन्य कृतिहरु डा. गौतमकै तपस्याबाट वरदान पाएर जन्मिएका समेत दाबी गरे । ‘त्यसैले उनी साहित्यका एक महान तपस्वी हुनुहुन्छ ।’ चौधरीले थपे । डा. गौतमले आविष्कारी आख्यानकारको उपाधिबाट सम्मानित हुन पाएकोमा आफूलाई खुशी लागेको बताए । उनले लुनकरणदास–गंगादेवी चौधरी साहित्यकला मन्दिरले नेपाली साहित्य र कला क्षेत्रको उत्थान तथा प्रवद्र्धनमा खेलिरहेको भूमिकाको प्रशंसा समेत गरे ।
निजी निवास अगाडि पार्किङ गर्न पनि नक्शा पास चाहिन्छ : नगरप्रहरी प्रमुख पाण्डे
काठमाडौं । काठमाडौं महानगरपालिकाका नगरप्रहरी प्रमुख राजुनाथ पाण्डेले निजी निवास अगाडि पार्किङ गर्न पनि नक्शा पास चाहिने बताएका छन् । आईतबार अनामनगर क्षेत्रमा निजी जग्गामा राखिएका सवारीसाधन उठाउँदा सर्वसाधारणले विराेध जनाएपछि पाण्डेले यस्ताे बताएका हुन् । काठमाडौंका कुनैपनि निजी निवास अगाडि छोडिएको खालि ठाउँमा पार्किङ गर्न पनि पार्किङको छुट्टै नक्शा पास गरेको देखाउनु पर्ने उनकाे भनाइ छ । त्यस्तै, काठमाडौं महानगरपालिका वडा नम्बर १० का वडा सदस्य सन्तोष ढुंगेलले पनि अनामनगर क्षेत्रका घरधनीले व्यवसायिक नक्शा पास नगरेको भन्दै निजी निवासमा पनि पार्किङको नक्सा पास हुनुपर्ने बताएका छन् ।