विकासन्युज

नेक्सन ईभी ३४७ किमीसम्म रेन्ज निकाल्न सफल

काठमाडौं । टाटा मोटर्सको विद्युतीय गाडी नेक्सन ईभी ३४७ किमीसम्म रेन्ज निकाल्न सफल भएको छ । शनिबार काठमाडौंमा भएको ‘नेक्सन् इभी रेन्ज टेस्ट २०२२’ काठमाडौं निवासी सलिम श्रेष्ठ ३४७ किमीसम्म रेन्ज निकाल्न सफल भएका हुन् । यस्तै, भरत पुडासैनी र अनिश कावराले ३३२ रेन्ज निकालेका थिए भने तृप्ति सिंह र उदिप न्यौपानेले ३२१ रेन्ज निकाल्न सफल भएका थिए । टेस्टमा सहभागी मध्ये १४ जना ले ३०० किमि रेन्ज भन्दा बढी निकालेका थिए । टेस्टमा प्रथम स्थान प्राप्त गर्न सफल सलिम श्रेष्ठले ४३ ईञ्चको सामसुङ स्मार्ट एलईडि टिभी, दोश्रो स्थानमा रहेका भरत पुडासैनि र अनिश कावराले २८ लिटरको सामसुङ ओभेन र तेश्रो स्थानमा रहने तृप्ति सिंह तथा उदिप न्यौपानेले सामसुङ भ्याकुम क्लिनर पाएका थिए ।  विद्युतिय गाडीहरूको उपयोगिता, प्रभावकारिता एवम् आर्थिक पक्षमा पार्ने सकारात्मक प्रभावहरुका बारेमा जनचेतना फैलाउने र विद्युतिय गाडीहरू प्रति ग्राहकवर्गको दुविधालाई हटाइ यसबाट मिल्ने सुविधाको बारेमा विश्वस्त बनाउने उद्देश्यले यस किसिमको कार्यक्रमको आयोजना गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठले बताए । नेपालको लागि टाटा मोटर्स् को एकमात्र अधिकृत विक्रेता सिप्रदी ट्रेडिङ र टाटा मोटर्स् को सह–आयोजनामा ‘नेक्सन् इभी रेन्ज टेस्ट २०२२’ सम्पन्न भएकाे हाे । सिप्रदी ट्रेडिङको कार्यालय नैकापबाट समुद्घाटन गरिएको कार्यक्रम कलंकी, बल्खु, एकान्तकुना, जावलाखेल, पुल्चोक, पुतलीसडक, जमल, दर्बारमार्ग, लैनचौर, लाजिम्पाट, महाराजगन्ज, सुकेधारा, चाबहिल हुँदै हायात रेजेन्सी होटलमा पुगेर समापन गरिएको थियो । उक्त कार्यक्रममा ३४ भन्दा बढी नेक्सन ईभी प्रयोगकर्ताको सहभागी थिए  । हाल नेपालमा पनि विद्युतिय गाडीहरूको माग र खपत दिनानुदिन बढ्दै गएको छ । 

भाडावृद्धि तत्काल फिर्ता नभए सरकारले गम्भीर मूल्य चुकाउनुपर्ने महासंघको चेतावनी

काठमाडौ । नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघले औद्योगिक क्षेत्रभित्र भएको भाडा वृद्धि तत्काल कार्यान्वयन नगर्न आग्रह गरेको छ । आईतबार नेपाल उद्योग वाणिज्य महासंघमा पत्रकार सम्मेलन गर्दै महासंघले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले गरेको भाडा वृद्धि तत्काल खारेज गर्न माग गरेको हो । महासंघले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले भाडा वृद्धि फिर्ता नलिए सरकारले गम्भीर मूल्य चुकाउनु पर्ने बताएको छ । महासंघका अध्यक्ष रामहिरा पाठकले उद्योगीसँग समन्वय नगरी २०७५ सालमा ८०० प्रतिशत बढेको भाडा कार्यान्वयन गर्न नपाउने बताए । उनले भाडावृद्धि गर्नु औद्योगिक क्षेत्र सञ्चालन तथा व्यवस्थापन नियमावली २०७१ विपरीत भएको दाबी गरे । अध्यक्ष पाठकले भाडावृद्धि फिर्ता नभए उद्योगहरुले औद्यौगिक क्षेत्र व्यवस्थापन लिमिटेडलाई तिर्ने कुनै शुल्क नतिर्ने जिकिर गरे । उनले औद्योगिक क्षेत्र व्यवस्थापनले भुक्तानी रोक्का गरिएको आधार बनाई कुनै उद्योगलाई दबाब दिने वा कारबाही गर्ने कार्य भएमा लिमिटेडले त्यसको गम्भीर मूल्य चुकाउनु पर्ने चेतवानी दिए । उनले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड न्यायिक, अर्धन्यायिक र प्रशासनिक निकाय नभएकोले लिमिटेडको निर्देशनात्मक निर्णय मान्न उद्योगहरु तयार नरहेको बताए । उनले औद्योगिक व्यवस्थापनमा सरकारको १०० प्रतिशत शेयर भएकोले यस अवस्थामा तालुक मन्त्रालयले हस्तक्षेप गरी सञ्चालक समितिलाई समस्या समाधानको लागि निर्देशन दिन समेत आग्रह गरे । महासंघले औद्योगिक व्यवस्थापनले लिएका निर्णय कार्यान्वयन भए चरणवद्ध रुपमा आन्दोलनमा जाने समेत बताएको छ । औद्योगिक व्यवस्थापनले उद्योगीहरुसँग समन्वय र छलफल बिना गरेको निर्णय व्यवसायीहरु मान्न तयार नभएको स्पष्ट पारेको छ ।

प्रधानमन्त्री शेरबहादुरजी बन्नुहुन्छ : आरजु राणा देउवा

काठमाडाैं । नेपाली काँग्रेसकी केन्द्रिय सदस्य तथा नवनिर्वाचित प्रतिनिधि सभा सदस्य आरजु राणा देउवाले शेरबहादुर देउवा नै आगामी प्रधानमन्त्री बन्ने दाबी गरेकी छिन् । आईतवार निर्वाचन आयोगबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएको प्रमाणपत्र लिएसँगै सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले आगामी प्रधानमन्त्री शेरबहादुर देउवा नै बन्ने दाबी गरेकी हुन् । ‘जितेर आउनुभएको छ, उहाँहरुले दाबी गर्नु स्वभाविक नै हो, तर प्रजातन्त्र र संसदीय अभ्यासमा एउटा नम्बरको खेल हुन्छ, त्यसमा आधारित हुन्छ कि को पदमा आउँछ भनेर । मलाई ज्योतिषी ज्ञान आउँदैन, प्रधानमन्त्री अहिले हेर्दा त शेरबहादुरजी नै हुनुहुन्छ जस्तो लाग्छ, ठूलो दल पनि हाम्रै छ, धेरै संख्या पनि हामीसँगै छ,’ उनले भनिन् । उनले विगतमा देउवा नेतृत्वको सरकारले धेरै परिवर्तन गरेको पनि बताइन् ।

फुटबलको फाइनल गेममा नाइक र एडिडास कम्पनीको जर्सी लगाएर प्रतिस्पर्धा हुँदै

काठमाडौं । कतारको लुसेल रंगशालामा आइतबार फिफा विश्वकपको फाइनलमा अर्जेन्टिना र फ्रान्सबीच प्रतिस्पर्धा हुँदैछ। खेलमा विश्वका दुई ठूला स्पोर्ट्सवेयर कम्पनीहरुको ठूलो प्रचारात्मक पदर्शनी पनि हुनेछ। एडिडास लामो समयदेखि अर्जेन्टिना राष्ट्रिय टोलीको प्रायोजक रहेको छ भने फ्रान्सलाई नाइक कम्पनीले प्रायोजन गरेको छ । यसवर्षको विश्वकप फुटवल प्रतियोगितामा १३ टोलीलाई नाइक र ७ टोलीलाई एडिडासले जर्सी उपलब्ध गराएका थिए । जर्सीको स्पोन्सरमा नाइकले एडिडासलाई उछिनेको यो तेस्रो पटक हो । दशकौंदेखि एडिडास विश्वकप प्रतियोगितामा पहिलो स्पोन्सरको रुपमा रहँदै आएको थियो । एडिडासले जर्मनीमा भएको १९७४ फिफा विश्वकपमा १६ मध्ये ९ टोलीलाई प्रायोजित गरेको थियो । अहिलेसम्म विश्वकपमा धेरै जर्सीको प्रायोजन गर्नेमा एडिडास कम्पनी अगाडि रहेको छ भने नाइक दोस्रो स्थानमा रहेको छ ।

हस्तकलाका सामग्रीबाट आयआर्जन गर्दै नवलपुरका महिला

  नवलपरासी। वनमा पाइने थाकल, काँस, पटेरलगायतका कच्चापदार्थबाट हस्तकालाका सामग्री निर्माण गरी यहाँका महिलाले आम्दानी गर्ने गरेका छन् । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरका महिला वनमा आधारित कच्चा पदार्थबाट हस्तकालका सामग्री निर्माण गरी आयआर्जन गर्न थालेका हुन् । वनमा पाइने थाकल, काँस, पटेर, सालको पातलगायत वन पैदावरबाट विभिन्न हस्तकला सामग्री निर्माण गरी यहाँका महिलाले आम्दानी गरिरहेका छन् । देवचुली नगरपालिकाको नमूना सामुदायिक वनका महिलाले थाकल उद्यमी समूह निर्माण गरी थाकलबाट झोला तयार पार्ने गरेका छन् । देवचुलीकै अमर ज्योति सामुदायिक वनका महिलाले दुनाटपरी समूह र अदुवा बेसार समूह निर्माण गरी आम्दानी गर्दै आएका छन् । वनमा पाइने झारपातबाट हस्तकला निर्माणको काम गरिएको र बजारमा माग पनि राम्रो रहँदा काम गर्न हौसला मिलेको थाकल उद्यमी समूह देवचुलीका अध्यक्ष कोपिला रायमाझीले बताइन् । थाकलबाट झोला बनाउने तालिम लिएपछि अब समूह नै मिलेर अन्य हस्तकलाका सामग्री निर्माण गर्ने योजना रहेको उनको भनाइ छ । ‘अहिले थाकलबाट झोला बनाएका छौंँ, अब अन्य हस्तकला निर्माणको तालिम लिएर, विभिन्न थरिका हस्तकलाका सामग्री निर्माण गर्ने योजना रहेको छ’, अध्यक्ष रायमाझीले भने, ‘हामीकहाँ आवश्यक कच्चापदार्थको कमी छैन, लघु उद्यमकै रुपमा बढाउने तयारी छ ।’ जिल्लाको कावासोती–१४ मा रहेको थारु हस्तकाला प्रगति समूहले विभिन्न हस्तकलाका सामग्री उत्पादन गर्दै आएको छ । चार वर्ष पहिला स्थापना गरिएको यस समूहले वनबाट थाकल, काँस लगायतका वन पैदावर, घोलमा पाइने पटेर, मकैको खोस्टा लगायतबाट कलमदानी, चकटी, टेबुल म्याट, सुकुल, मुढा, टोपी, किस्ती, झोलालगायतका सामग्री उत्पादन गरिरहेको समूहका अध्यक्ष तुल्सीमाया महतोले बताइन् । आफूहरुले उत्पादन गरेका सामग्री चितवन, पोखरा लगायतका बजारमा खपत हुने गरेको उनले बताइन् । वर्षाको समय र धानखेती भित्र्याउने समयमा हस्तकलाको काम गर्न नसकिने र खेतीको कामपश्चात आफूहरुले घरको काम सँगसँगै हस्तकला सामग्री निर्माण गरी आम्दानी गर्दै आएको समूहका सचिव सीता महतोले बताइन् । मागअनुसार समूहमा भएका महिलाले सामग्री निर्माण गर्ने गरेको उनको भनाइ छ । समूहमा आवद्ध महिलाले उत्पादन गरेका सामग्री बिक्रीपछि केही रकम समूहमा बचत गरी सम्बन्धित सदस्यलाई सामग्री अनुसारको बाँकी रकम दिने गरिएको उनले बताइन् । हस्तकलाका सामग्री निर्माणपछि बिक्रीबाट प्राप्त रकमले महिलाको आर्थिक अवस्था सुधारका लागि सहायोग पुगेको उनले बताइन् । ‘हस्तकलाका सामग्रीको माग रामै्र छ, फुर्सदको समयमा निर्माण गरिएका सामग्रीले समूहमा आवद्ध महिलाको आर्थिक विकासमा टेवा पुगेको छ’, सचिव महतोले भनिन् । गैँडाकोट–३ भुजेल गाउँकी मन्जुकुमारी भुजेलले आफूहरुले बाँसबाट बन्ने हस्तकलाको तालिमबाट राम्रो कमाई गर्ने सीप प्राप्त गरेकोमा खुसी लागेको बताइन् । गैँडाकोट नगरपालिकाको पहाडी भागमा रहेको सो गाउँमा परम्परागत बाँसका सामग्री बनाउने उनीहरु अहिले समूह निर्माण गरी मुढा बनाउन व्यस्त छन् । मागअनुसार मुढा र बाँसको चोयाबाट टोपी निर्माण गर्ने गरेको उनले बताइन् । वनको पातको सही व्यवस्थापन नहुँदा गर्मीको समयमा वनमा डढेलो लाग्ने गरेकोमा अहिले महिलाले पात सङ्कलन गरी दुनाटपरी बनाउन थालेपछि डढेलोको समस्या न्यूनीकरण हुने अमर ज्योति सामुदायिक वनका अध्यक्ष टुकलाल रुचालले बताए । वनको पातबाट कमाइ हुन थालेपछि र बजारमा पातबाट बनेको दुनाटपरीको माग बढी हुँदा महिलामा कमाइ गर्ने प्रतिस्पर्धा नै चलेको उनले बताए । प्रतिदिन आठ हजार चार सय दुनाटपरी उत्पादन गर्न सक्ने क्षमताको मेसिनबाट दुनाटपरी निर्माण गरिएको र सो सबैको व्यवस्थापन महिला समूहले नै गर्ने गरेको उनले बताए। ‘एकल महिला, दलित, अपाङ्गता भएका तथा कम आयआर्जन भएका महिलालाई प्राथमिकता दिई तालिम प्रदान गरेका छौँ’, रुचालले भने, “यसले थप यो वर्गको आयआर्जन वृद्धि हुने विश्वास छ ।’ फरेष्ट एक्सन नेपालले वन उद्यमीबाट महिलाको आर्थिक सशक्तिकरण परियोजना सञ्चालन गरी विभिन्न सीप प्रदान गर्दै आएको छ । यसले वनमा आधारित आयआर्जनका क्रियाकलापमा महिलाको सहभागिता बढ्दो रहेको छ । ‘खासगरी वनमा यस्तै खेर जाने कच्चापदार्थलाई सदुपयोग गरी आयआर्जनका काममा जोड्न हामीले लगानी गरेका छौँ’, कार्यक्रम संयोजक कमल भण्डारीले भने । नवलपुरको देवचुलीमा रहेको नमुना सामुदायिक वन र अमर ज्योति सामुदायिक वन, गैंँडाकोट नगरपालिकामा रहेको सुन्दरी सामुदायिक वन, शङ्खदेवी सामुदायिक वन र देउराली सामुदायिक वनका महिलालाई विभिन्न कार्यक्रम सञ्चालन गरेको उनले बताए । संस्थाबाट महिलाका लागि आवश्यक पर्ने तालिम, कच्चापदार्थ, मेसिन उपलब्ध गराउने र महिलाबाट निर्मित हस्तकला तथा सामग्रीको बजारीकरणका लागि सहयोग गर्ने गरिएको भण्डारीले बताए । विभिन्न सामुदायिक वनमा आवद्ध महिलाले थाकलबाट झोलो, हर्रो–बर्रोबाट त्रिफलो, बाँसबाट विभिन्न सामग्री, अम्रिसोबाट कुचो, बेसार तथा अदुवाको सुठो तयार गर्ने, दुनाटपरी साथै विभिन्न हस्तकलाका सामग्री निर्माण गर्ने गरेको उनले बताए । रासस

गलकोट दरबार जान पक्की मोटरेवल पुल बन्यो

बलेवा । गलकोटे राजाको दरबारसहित गलकोट नगरपालिका वडा नंं ५ जाने पक्की मोटरेवल पुलमा सवारी चल्न थालेका छन् । केही समयअघि निर्माण सम्पन्न भएको यस पुलमा अब नियमित सवारी चल्न थालेका हुन् । गलकोटे राजाको पालामा दरमखोलामा बनेको झोलुङ्गे पुललाई राजाको पुल भनिन्थ्यो । सोही पुल जीर्ण भएपछि केही वर्षदेखि पैदलयात्रीले सास्ती पाएका थिए । भत्केको झोलुङ्गे पुल गत वर्ष बनेर चल्न थालेको छ भने सोही पुलको छेवैमा मोटर चल्ने पुल पनि बनेको हो । यो पुलले गलकोट नगरपालिका वडा नंं ५ र ६ जोड्छ । दरमखोलामाथिको ‘राजाको पुल’ बनेपछि वर्षात्मा पनि यात्रीले सहज यात्रा गर्न पाउने भएका छन् । जीर्ण झोलुङ्गे पुलमा यात्रा गरेकाले सवारीसाधन लिएर यात्रा गर्नसक्ने भएको वडा नंं ५ का अध्यक्ष पवन हमालले बताए । यो पुल बन्नुअघि खोला तर्न नसकेपछि सवारीसाधनले भैँसेस्थित दरमखोलाको पुल तरेर हटिया बजार आउनुपर्ने बाध्यता थियो । यो बाटो कम्तीमा पाँच किमी लामो पर्छ । हरिचौरस्थित गलकोट राजाको दरबार अहिले पनि पर्यटकीय गन्तव्यका रुपमा परिचित छ । त्यसैले दैनिक घुम्न जानेका लागि पक्की पुल उपयोगी भएको हो । खोलाको वारिपारि खेत भएकाले किसानले खेती लगाउनेदेखि भित्र्याउने समयमा पनि पुल अभावले समस्या भोगेका थिए । ‘पहिला काम गर्नुपर्दा घुमाउरो बाटो हिँड्नुपथ्र्यो, अहिले सजिलो भयो’, स्थानीय सरिता निउरेले भने, ‘अहिले हटिया बजार जानु परे पनि पैदलै १५ मिनेटमै पुगिन्छ ।’ गाडी चढेर जानुपरेमा भैँसेस्थित मध्यपहाडी लोकमार्गको पुल तरेर घुम्दा भाडा चर्को तिर्नुपरेको उनले बताए । यसअघि बनेको गौदी खोला पुल पनि नियमित भएकाले हरिचौर र हटिया तथा ताराखोलादेखि हटिया बजारसम्म झर्न र दैनिक आउजाउमा सहज भएको हो । गौँदी खोला पुल ‘नयाँबाटो जुम्ली आचार्य’ संयुक्त निर्माण कम्पनीले साढे तीन करोडमा बनाएको थियो भने दरमखोला पुल जय बाबा गोरखा/ओखलढुङ्गा संयुक्त निर्माण कम्पनीले पाँच करोड नौ लाखमा बनाएको हो । यी दुवै पुल बनेपछि मध्यपहाडी लोकमार्गको हटिया बजारबाट हरिचौरस्थित दरबार र पुरानो सदरमुकाम घुम्न चार किलोमिटर यात्राबाट पुग्न सकिने भएको हो । हटियादेखि हरिचौर पुग्न गौँदीखोला, दरमखोला र खहरेखोला तर्नुपर्छ । खहरे खोलामा भने अझै पुल बन्न बाँकी छ ।

बिजनेस विस्तारमा आक्रामक बन्यो राष्ट्रिय वाणिज्य बैंक, एक महिनामा कुनको कति ?

काठमाडौं । पछिल्लो एक महिनामा राष्ट्रिय वाणिज्य बैंक आक्रामक बनेको छ । बैंक अन्य कम्पनीको तुलनामा बिजनेस विस्तारमा आक्रामक देखिएको हो । गत कार्त्तिकको तुलनामा मंसिरमा बैंकले १०.०५ प्रतिशतले आफ्नो लगानी विस्तार गरेको छ । कार्त्तिकमा २ खर्ब ६७ लाख रुपैयाँ आर्जन गरेको बैंक मंसिरमा २ खर्ब ७७ करोड रुपैयाँ बराबरको निक्षेप संकलन गर्न सफल भएको छ । त्यस्तै, समीक्षा अवधिमा ६ वाणिज्य बैंकको निक्षेप संकलनमा कमी आएको छ भने बाँकी कम्पनीको बढेको छ । नेपाल बैंकर्स संघ (एनबीए) का अनुसार समीक्षा अवधिमा एनआईसी एशिया, कुमारी, मेगा, नेपाल एसबिआई, एनसीसी र सेञ्चुरी बैंकको निक्षेप संकलन घटेको छ । यता कर्जा लगानीमा स्ट्याण्डर्ड चार्टर्ड बैंक बैंक आक्रामक देखिएको छ । बैंकले समीक्षा अवधिमा १.९४ प्रतिशतले कर्जा लगानी बढाएर ९१ अर्ब २६ करोड रुपैयाँ पुर्याएको छ । वाणिज्य बैंकमध्ये अन्य १० कम्पनीको पनि कर्जा लगानीमा भने गिरावट देखिएको छ । एनआईसी एशिया, ग्लोबल आईएमई, नेपाल बैंक, नेपाल इन्भेष्टमेन्ट, हिमालयन, मेगा, माछापुच्छ्रे, सनराइज, बैंक अफ काठमाण्डू, सिभिल र सेञ्चुरी बैंकले पछिल्लो एक महिनामा कर्जा लगानी घटाएका छन् । समीक्षा अवधिमा विभिन्न वाणिज्य बैंकले ४६ खर्ब २० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गरेका छन् भने ४२ खर्ब २६ लाख रुपैयाँ कर्जा लगानी गरेका छन् । जुन अघिल्लो महिना अर्थात कार्त्तिकको तुलनामा क्रमशः ४५ खर्ब ६३ लाख र ४२ खर्ब २१ अर्ब रुपैयाँ थियो । कुनको कतिले बढ्यो/घट्यो ?

७ दिनभित्र सरकार गठन गर्न राष्ट्रपतिले दलहरुलाई गरिन् आह्वान

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि आह्वान गरेकी छन् । आइतबार उनले संविधानको धारा ७६ (२) अनुसार सरकार गठन गर्न ७ दिनको समय दिएकी हुन् । संविधानको उक्त व्यवस्था अनुसार प्रतिनिधिसभामा दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रतिनिधिसभा सदस्यले प्रधानमन्त्री दावी गर्न सक्ने छ ।