हामीले समयमै सजग नगराएको भए धेरै नेपालीको पैसा बिटक्वाइमा डुब्थ्यो : गभर्नर अधिकारी
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाल राष्ट्र बैंकको कारण धेरै नेपालीको पैसा बचेको धारणा राखेका छन् । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले आइतबार आयोजना गरेको कार्यक्रममा बोल्दै उनले राष्ट्र बैंकको नीतिकै कारण धेरै नेपालीले बिट्क्वाइन लगायतका क्रिप्टोकरेन्सीमा लगानी नगरेर धेरैको पैसा बचेको धारणा राखेका हुन् । ‘एक समय बिट्क्वाइन लगायतका क्रिप्टोकरेन्सीको मूल्य धेरै बढ्यो, धेरैले लगानी गर्ने रुची राखे, नेपालमा पनि कानुन मान्यता दिनु पर्छ भनेर आवाज उठाए तर हामीले गैरकानुनी क्षेत्रमा लगानी गर्नु हुँदैन भनेर पटक-पटक सर्वसाधारणलाई सजग गरायौं, अहिले बिट्क्वाइनको मूल्य धेरै घटेको छ, त्यतिखेर लगानी गरेको भए धेरै नेपालीको लगानी डुब्थ्यो,’ उनले कार्यक्रममा भने । कार्यक्रममा उनले नेपाल राष्ट्र बैंक आफ्नै डिजिटल करेन्सी बनाउने तर्फ तयारी गरिरहेको बताए । उनले छिमेकी देशले आफ्नै डिजिटल करेन्सी अगाडि सारेको र भारतको अभ्यास हेरेर राष्ट्र बैंकले पनि डिजिटल करेन्सीको विषयमा सोचिरहेको जानकारी गराए । ‘अब डिजिटल करेन्सीको विकल्प छैन, हामी सकारात्मक छौं,भारतले राम्रो काम गरिरहेको छ, बंगलादेशले पनि सफलता पाइसकेको छ, अब हामीले पनि यस विषयमा सोच्नु पर्छ,’ उनले भने ।
इन्जिनको नम्बरका आधारमा पत्ता लगाइन्छ चोरीका सवारी साधन
काठमाडौं । नेपालका विभिन्न क्षेत्रबाट चोरिएका अधिकांश मोटरसाइकलको नम्बर र स्वरुप परिवर्तन गरेर चिन्नै नसक्ने गरी सञ्चालन हुने गरेको पाइएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार यसरी स्वरुप नै परिवर्तन गरेर मोटरसाइकल सञ्चालन भएकाले पनि मोटरसाइकल फेला पार्न निक्कै कठिनाइ हुने गरेको छ । यद्यपि प्रहरीले मोटरसाइकलको इन्जिनको नम्बरका आधारमा धेरै मोटरसाइकल फेला पारेर धनीलाई बुझाउने गरेको छ । चालु आर्थिक वर्षको मङ्सिरसम्मको पाँच महिना मसान्तसम्ममा मात्रै ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट हराएका एक सय ९४ वटा मोटरसाइकल तथा स्कुटर फेला पारी सम्बन्धित धनीलाई हस्तान्तरण गरेको कार्यालयका प्रवक्ता एवं प्रहरी वरीष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए । उक्त अवधिमा मोटरसाइकल चोरीमा संलग्न १९ जनालाई आवश्यक कारबाहीका लागि सम्बन्धित प्रहरी परिसर र वृत्तमा बुझाइएको उनले बताए । उनीहरू मोटरसाइकलको नम्बर र स्वरुप परिवर्तन गरेर चलाइरहेको अवस्थामा पक्राउ परेका थिए । यसरी पक्राउ पर्नेमा रामेछापको दोरम्बा ५ घर भई हाल भक्तपुर बस्ने २२ वर्षीय रिदमबहादुर थापा मगर र सोही स्थान घर भई हाल काठमाडौंको सुन्धारा बस्ने २१ वर्षीय प्रेम थापामगर पनि रहेका छन् । उनीहरूलाई चोरीको मोटरसाइकलसहित आवश्यक कारबाहीको लागि आज जिल्ला प्रहरी परिसर ललितपुरमा बुझाएको भट्टले जानकारी दिए । प्रवक्ता भट्टका अनुसार मोटरसाइकल चोरी गरेको अभियोगमा काठमाडौंको जरङ्खु बस्ने बझाङ दुर्गाथलीका २४ वर्षीय जैबहादुर बोहरा, काठमाडौं कोटेश्वर बस्ने सर्लाही बरथहवाका २३ वर्षीय मनोज मुखीया र कञ्चनपुर पुनर्वासका ३५ वर्षीय दुर्गा लामा स्याङ्तान पनि पक्राउ परेका छन् । प्रहरीले सुरुमा जैबहादुरलाई बाप्र–०२–०२३ प ९६९६ नम्बरको मोटरसाइकलसहित पक्राउ गरेको थियो । उनीसँगको थप अनुसन्धानका क्रममा मनोज र दुर्गा समेतलाई नयाँ बसपार्कबाट प्र ०२–०३० प ४५८० नम्बरको मोटरसाइकलसहित पक्राउ गरेको हो । उनीहरूले मोटरसाइकलको नम्बर परिवर्तन गरी चलाएको अनुसन्धानबाट खुल्न आएको भट्टले बताए । यसैगरी बाग्मती प्रदेश–०२–०१६ प ६०२९ नम्बरको मोटरसाइकल चोरी गरेको अभियोगमा भक्तपुर बस्ने रामेछाप दोरम्बाका २२ वर्षीय रिदमबहादुर थापा मगर र सोही ठाउँ घर भई काठमाडौं सुन्धारा बस्ने २१ वर्षीय प्रेम थापामगरले ललितपुर महानगरपालिका–९ मङ्गल बजार बस्ने धादिङ थाक्रे गाउँपालिका–७ का कञ्चन खत्रीको मोटरसाइकल चोरी गरेको पाइएको छ । उनीहरूले उक्त मोटरसाइकलको नम्बर परिवर्तन गरी बाप्र ०२–०१९ प ९५६४ नम्बर राखेर प्रयोग गरी हिँडिरहेका बेला ललितपुर ताल्छिखेलबाट पक्राउ गरेको भट्टले बताए । काठमाडौं उपत्यकाको विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरेको भन्ने सूचनाको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको सहयोगमा ट्राफिक प्रहरीले खोजी अभियान तीव्र पारिरहेको छ । रासस
एनएमबि बैंक र फोनपेको सहकार्यमा मनकामना बजार पुरै डिजिटल बनाउने अभियान सुरु
काठमाडौं । विद्युतीय माध्यमद्वारा भुक्तानी प्रोत्साहन गर्ने उदेश्य लिएर एनएमबि बैंक र फोनपेको सहकार्यमा मनकामना बजार पुरै डिजिटल बनाउने अभियान सुरु भएको छ । शुक्रबार क्यूआर मार्फत मन्दिरमा भेटी दान गर्दै नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेल, एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटाले सो अभियानको सुरुवात गरेका हुन् । यस अभियानकाे पहिलाे चरण अन्तर्गत मनकामना मन्दिर परिसरमा पुजा सामाग्री, फलफुल, रेस्टुरेन्ट लगायत अरु व्यवासयको भुक्तानी साथै मन्दिरमा भेटी दान समेत अब विद्युतीय माध्यमबाट नै गर्न सकिने भएको छ । एनएमबि बैंकले हाल देशभरी २०१ शखा, १३८ एटिएम र ११ एक्सटेन्सन काउन्टरहरू मार्फत बैंकिङसेवा प्रदान गर्दै आइरहेको छ ।
आफ्नै नेतृत्वमा नयाँ सरकार गठन गर्छाैं : कांग्रेस
काठमाडौं । नेपाली कांग्रेसले आफ्नो पार्टीको नेतृत्वमा आगामी नयाँ सरकार गठन गर्ने निर्णय गरेको छ । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बसेको बैठकले आगामी सरकार कांग्रेसकै नेतृत्वमा गठन गर्न पहल गर्ने निर्णय गरेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए । बैठकले संसदीय दलको निर्वाचनका लागि समिति पनि गठन गरेको छ । बैठकमा निर्वाचनपछिको समीक्षा, समसामयिक राजनीतिकलगायत विषयमा छलफल भएको थियो । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा कांग्रेसले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ ३२ गरी कूल ८९ सिट जितेर सङ्घीय संसद्को सबैभन्दा ठूलो दल बनेको छ ।
इन्फोमेटिक्स कलेज पोखराका १६८ जना विद्यार्थी दिक्षित
पोखरा । इन्फोमेटिक्स कलेज पोखराको दिक्षान्त समारोह सम्पन्न भएको छ । समारोहमा स्नातक तह अन्तर्गत विशेषज्ञताहरू बिएससि (अनस) कम्प्युटिङ र बिए (अनर्स) बिजनेस प्रशासन गरेर जम्मा १८१ विद्यार्थी सहभागी भएका थिए । समारोहमा बिए (अनर्स) बिजनेस प्रशासनका विषयमा स्नातक तह गर्ने १३ जना र बिएससि (अनस) कम्प्युटिङ तह पुरा गर्ने १६८ जना विद्यार्थी दिक्षित भएका थिए । बेलायतको लन्डन मेट्रोपोलिटियन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सो कलेज इनोभेट नेपाल ग्रुपद्धारा सञ्चालित छ । दिक्षान्त समारोहमा विश्वविद्यालयका हेड अफ एकेडेमिक पार्टनरसिप डा। वेन्डी ब्लोइसीले विद्यार्थीलाई दिक्षान्तको प्रमाणपत्र प्रदान गरेका थिए । दिक्षान्त समारोहमा आइएनजीका संस्थापक अध्यक्ष शुलभ बुढाथोकीले बेलायती विश्वविद्यालयको डिग्री विश्वकै उत्कृष्ट रहेको बताउँदै इन्फोमेटिक्स कलेज पढ्ने विद्याथीहरु सुचना प्रविधि क्षेत्रमा अग्र स्थानमा रहेको बताए । ‘यहाँ अध्ययनरत विद्यार्थीले नेपालको सरकारी निकाय, उत्कृष्ट व्यापारिक प्रतिष्ठानमाहरुमा रोजगार पाइरहेको छन्, नेपालमा बेलायती शिक्षाले गर्दा विद्यार्थीमा स्वअध्ययन बढेको छ, दिक्षित विद्यार्थीहरुको उज्वल भविष्यको शुभकामना छ,’ उनले भने ।
नेक्सन ईभी ३४७ किमीसम्म रेन्ज निकाल्न सफल
काठमाडौं । टाटा मोटर्सको विद्युतीय गाडी नेक्सन ईभी ३४७ किमीसम्म रेन्ज निकाल्न सफल भएको छ । शनिबार काठमाडौंमा भएको ‘नेक्सन् इभी रेन्ज टेस्ट २०२२’ काठमाडौं निवासी सलिम श्रेष्ठ ३४७ किमीसम्म रेन्ज निकाल्न सफल भएका हुन् । यस्तै, भरत पुडासैनी र अनिश कावराले ३३२ रेन्ज निकालेका थिए भने तृप्ति सिंह र उदिप न्यौपानेले ३२१ रेन्ज निकाल्न सफल भएका थिए । टेस्टमा सहभागी मध्ये १४ जना ले ३०० किमि रेन्ज भन्दा बढी निकालेका थिए । टेस्टमा प्रथम स्थान प्राप्त गर्न सफल सलिम श्रेष्ठले ४३ ईञ्चको सामसुङ स्मार्ट एलईडि टिभी, दोश्रो स्थानमा रहेका भरत पुडासैनि र अनिश कावराले २८ लिटरको सामसुङ ओभेन र तेश्रो स्थानमा रहने तृप्ति सिंह तथा उदिप न्यौपानेले सामसुङ भ्याकुम क्लिनर पाएका थिए । विद्युतिय गाडीहरूको उपयोगिता, प्रभावकारिता एवम् आर्थिक पक्षमा पार्ने सकारात्मक प्रभावहरुका बारेमा जनचेतना फैलाउने र विद्युतिय गाडीहरू प्रति ग्राहकवर्गको दुविधालाई हटाइ यसबाट मिल्ने सुविधाको बारेमा विश्वस्त बनाउने उद्देश्यले यस किसिमको कार्यक्रमको आयोजना गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठले बताए । नेपालको लागि टाटा मोटर्स् को एकमात्र अधिकृत विक्रेता सिप्रदी ट्रेडिङ र टाटा मोटर्स् को सह–आयोजनामा ‘नेक्सन् इभी रेन्ज टेस्ट २०२२’ सम्पन्न भएकाे हाे । सिप्रदी ट्रेडिङको कार्यालय नैकापबाट समुद्घाटन गरिएको कार्यक्रम कलंकी, बल्खु, एकान्तकुना, जावलाखेल, पुल्चोक, पुतलीसडक, जमल, दर्बारमार्ग, लैनचौर, लाजिम्पाट, महाराजगन्ज, सुकेधारा, चाबहिल हुँदै हायात रेजेन्सी होटलमा पुगेर समापन गरिएको थियो । उक्त कार्यक्रममा ३४ भन्दा बढी नेक्सन ईभी प्रयोगकर्ताको सहभागी थिए । हाल नेपालमा पनि विद्युतिय गाडीहरूको माग र खपत दिनानुदिन बढ्दै गएको छ ।
भाडावृद्धि तत्काल फिर्ता नभए सरकारले गम्भीर मूल्य चुकाउनुपर्ने महासंघको चेतावनी
काठमाडौ । नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघले औद्योगिक क्षेत्रभित्र भएको भाडा वृद्धि तत्काल कार्यान्वयन नगर्न आग्रह गरेको छ । आईतबार नेपाल उद्योग वाणिज्य महासंघमा पत्रकार सम्मेलन गर्दै महासंघले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले गरेको भाडा वृद्धि तत्काल खारेज गर्न माग गरेको हो । महासंघले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले भाडा वृद्धि फिर्ता नलिए सरकारले गम्भीर मूल्य चुकाउनु पर्ने बताएको छ । महासंघका अध्यक्ष रामहिरा पाठकले उद्योगीसँग समन्वय नगरी २०७५ सालमा ८०० प्रतिशत बढेको भाडा कार्यान्वयन गर्न नपाउने बताए । उनले भाडावृद्धि गर्नु औद्योगिक क्षेत्र सञ्चालन तथा व्यवस्थापन नियमावली २०७१ विपरीत भएको दाबी गरे । अध्यक्ष पाठकले भाडावृद्धि फिर्ता नभए उद्योगहरुले औद्यौगिक क्षेत्र व्यवस्थापन लिमिटेडलाई तिर्ने कुनै शुल्क नतिर्ने जिकिर गरे । उनले औद्योगिक क्षेत्र व्यवस्थापनले भुक्तानी रोक्का गरिएको आधार बनाई कुनै उद्योगलाई दबाब दिने वा कारबाही गर्ने कार्य भएमा लिमिटेडले त्यसको गम्भीर मूल्य चुकाउनु पर्ने चेतवानी दिए । उनले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड न्यायिक, अर्धन्यायिक र प्रशासनिक निकाय नभएकोले लिमिटेडको निर्देशनात्मक निर्णय मान्न उद्योगहरु तयार नरहेको बताए । उनले औद्योगिक व्यवस्थापनमा सरकारको १०० प्रतिशत शेयर भएकोले यस अवस्थामा तालुक मन्त्रालयले हस्तक्षेप गरी सञ्चालक समितिलाई समस्या समाधानको लागि निर्देशन दिन समेत आग्रह गरे । महासंघले औद्योगिक व्यवस्थापनले लिएका निर्णय कार्यान्वयन भए चरणवद्ध रुपमा आन्दोलनमा जाने समेत बताएको छ । औद्योगिक व्यवस्थापनले उद्योगीहरुसँग समन्वय र छलफल बिना गरेको निर्णय व्यवसायीहरु मान्न तयार नभएको स्पष्ट पारेको छ ।
प्रधानमन्त्री शेरबहादुरजी बन्नुहुन्छ : आरजु राणा देउवा
काठमाडाैं । नेपाली काँग्रेसकी केन्द्रिय सदस्य तथा नवनिर्वाचित प्रतिनिधि सभा सदस्य आरजु राणा देउवाले शेरबहादुर देउवा नै आगामी प्रधानमन्त्री बन्ने दाबी गरेकी छिन् । आईतवार निर्वाचन आयोगबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएको प्रमाणपत्र लिएसँगै सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले आगामी प्रधानमन्त्री शेरबहादुर देउवा नै बन्ने दाबी गरेकी हुन् । ‘जितेर आउनुभएको छ, उहाँहरुले दाबी गर्नु स्वभाविक नै हो, तर प्रजातन्त्र र संसदीय अभ्यासमा एउटा नम्बरको खेल हुन्छ, त्यसमा आधारित हुन्छ कि को पदमा आउँछ भनेर । मलाई ज्योतिषी ज्ञान आउँदैन, प्रधानमन्त्री अहिले हेर्दा त शेरबहादुरजी नै हुनुहुन्छ जस्तो लाग्छ, ठूलो दल पनि हाम्रै छ, धेरै संख्या पनि हामीसँगै छ,’ उनले भनिन् । उनले विगतमा देउवा नेतृत्वको सरकारले धेरै परिवर्तन गरेको पनि बताइन् ।