विकासन्युज

लाभांश प्रस्ताव पारित गर्न यूनाइटेड इन्स्योरेन्सले डाक्यो साधारणसभा

काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनीले २९ औं वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको सञ्चालक समितिले पुस २७ गते काठमाडौंको शंखमुल स्थित अनमोल ब्याङ्गकेटमा ११ बजे वार्षिक साधारणसभा बोलाएको हो । संचालक समितिको आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन सहित आर्थिक वर्ष २०७८/७९ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण, आर्थिक वर्ष २०७/८० को लेखापरीक्षण गर्नका लागि बाह्य लेखापरीक्षक नियुक्ति गर्ने तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत अर्थात् ५ करोड १४ लाख ८ हजार रुपैयाँ बोनस सेयर र ०.२६३२ प्रतिशत अर्थात् २७ लाख ५ हजार ६८४ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव र प्रबन्धपत्र नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पारित गर्नेछ । यस्तै, कम्पनीको संस्थापक सेयर तथा सर्वसाधारण सेयरको अनुपात बमोजिम संचालक समितिको गठन गर्ने र सोही बमोजिम कम्पनीको प्रबन्धपत्र, नियमावलीमा आवश्यक संशोधन गर्नेछ । कम्पनीले साधारण सभा तथा लाभांस वितरण प्रयोजनार्थ पुस १७ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले पुस १६ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भइ कायम सेयरधनीले लाभांस र सभमा भाग लिन पाउने छन् ।

सुपर मादीको आईपीओमा आवेदन दिने समय थपियो

काठमाडौं । सुपर मादी हाइड्रोपावरको आईपीओमा आवेदन दिने लम्बिएको छ । गत मंसिर २० गतेदेखि निष्काशन गरेको आईपीओमा अब पुस २० गतेसम्म आवेदन दिन पाइने भएको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेको हो । कम्पनीले जारी पूँजी २ अर्ब १० करोड रुपैयाँ बराबरको १५ प्रतिशत अथार्त ३१ करोड ५० लाख रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ३१ लाख ५० हजार कित्ता सेयर निष्काशन गरेको हो। जसमध्ये आयोजना अति प्रभावित क्षेत्र कास्की जिल्लाको मादी गाउँपालिकाको वडा नं. १ र २ का स्थानीय बासिन्दाहरुको लागि ३ लाख १५ हजार कित्ता, आयोजना प्रभावित क्षेत्र कास्की जिल्लाको मादी गाउँपालिकाका अन्य वडा नं. ३, ४, ५, ६, ७, ८, ९, १०, ११ र १२ तथा पोखरा महानगरपालिका वडा नं. २६, २७ र २८ का स्थानीय बासिन्दाहरुको लागि ७ लाख ३५ हजार कित्ता निष्काशन गरेको हो । कम्पनीले सर्वसाधारणलाई निष्काशन हुने कम्पनीको जारी पूँजीको १० प्रतिशत अर्थात् २१ करोड रुपैयाँ बराबरको २१ लख कित्ता मध्ये १० प्रतिशत अर्थात् २ लाख १० हजार कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि निष्काशन गरिएकोकम्पनीले जनाएको छ । कम्पनीको आईपीओमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुको प्रयाप्त आवेदन नपरेको हुँदा अब २० गतेसम्म आवेदन दिन सकिने भएको हो । साथै वैदेशिक रोजगारमा रहेका नेपालीहरुले आज पुस ५ गतेसम्म मात्रै आईपीओमा आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ । कम्पनीको आईपीओमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले एनसीसी बैंक, कुमारी बैंक, माछापुच्छ्रे बैंक, सानिमा बैंकका तोकिएका शाखा कार्यालय र आयोजना स्थलबाट आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारमा रहेका नेपालीहरुले भने नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरी सम्पूर्ण आस्बा सेवा दिइरहेका बैंक तथा वित्तीय संस्था र तिनका तोकिएको शाखा कार्यालयबाट सि आस्बा प्रणालीबाट आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओलाई इक्राएनपी आईआर डबल बी रेटिङ्ग प्रदान गरको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

सूर्यज्योति लाइफको एकीकृत कारोबार पुस ७ गतेदेखि हुने

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्सको एकीकृत कारोबारको मिति तय भएको छ । पुस ७ गतेदेखि सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नामबाट एकीकृत कारोबार गर्ने भएका हुन् । सूर्या लाइफले ज्योति लाइफलाई गाभ्ने भएको हो । दुवै कम्पनीको गत कात्तिक २८ गते सम्पन्न वार्षिक साधारण सभाले गाभ्नेगाभिने प्रस्ताव पारित गरिसकेका छन् । साथै नेपाल बीमा प्राधिकरणले मंसिर २ गते र नेपाल धितोपत्र बोर्डले मंसिर २५ मा दुबै कम्पनी–गाभिन अन्तिम स्विकृति प्रदान गरिसकेका छन् । कम्पनी रजिष्ट्रारको कार्यालयले गाभिने कम्पनीको सम्पूर्ण सम्पत्ति र दायित्व हालको कम्पनीले व्यहोर्ने वा सकार्ने गरी ज्योति लाइफ इन्स्योरेन्सलाई सूर्या लाइफ इन्स्योरेन्समा गाभ्न मंसिर २७ गते स्विकृति प्राप्त गरिसकेको छ । बीमा प्राधिकरणको मंसिर २९ गतेको प्राप्त स्वीकृति बमोजिम पुस ७ गते बिहिबारदेखि जीवन बीमा सेवाको एकीकृत कारोवार संचालन गरिने जनाएको हो । साथै डाटा माइग्रेशन तथा सिस्टम इन्टिग्रेसन गर्नुपर्ने भएकोले पुस ६ गते एक दिनका लागि बिहान ८ बजेदेखि सम्पूर्ण सेवा अवरुद्ध हुने हुँदा सोबाट ग्राहकवर्ग, अभिकर्ता तथा सरोकारवालाहरुमा पर्न जाने असुविधाको लागि कम्पनीले क्षमा मागेको छ । सूर्या लाइफ र ज्योति लाइफबीच गत ४ कार्तिकमा एक आपसमा मर्ज गर्ने सम्बन्धी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । गत असार १२ गते दुवै कम्पनीबीच प्रारम्भिक सम्झौता भएको थियो । सम्झौता अनुसार रजिष्टर्ड कार्यालय विराटनगर, मोरङ्गमा र केन्द्रिय कार्यालय ज्ञानेश्वर काठमाडौंमा रहनेछ । नयाँ बन्ने संचालक समितिको अध्यक्षमा सूर्या लाइफका केशब प्रसाद भट्टराई र प्रमुख कार्यकारी अधिकृतमा ज्योति लाइफका प्रकाश विक्रम खत्री रहनेछन् भने सूर्या लाइफका पवन कुमार खड्का वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत पदको जिम्मेवारीमा रहनेछन् । सूर्या लाइफको मोरङको विराटनगर महानगरपालिका ७ मा रजिष्टर्ड कार्यालय र काठमाण्डौं महानगरपालिका ३० सानो गौचरनमा कर्पोरेट कार्यालय छ भने ज्योति लाइफको पोखरा महानगरपालिका ९ मा रजिष्टर्ड कार्यालय र काठमाडौं महानगरपालिका ३०, ज्ञानेश्वरमा कर्पोरेट कार्यालय छ । दुवै कम्पनी १ः०.८२४५ स्वाप रेसियो अनुपातमा मर्ज हुन लागेका हुन् । अर्थात् सूर्या लाईफका सेयरधनीले १ सेयर बराबर ज्योति लाईफका सेयरधनीले ०.८२४५ सेयर पाउनेछन् । मर्जरपश्चात् कम्पनीको चुक्ता पूँजी ४ अर्ब ५५ करोड रुपैयाँ पुग्नेछ ।

द ब्रिटिस कलेजमा नयाँ आइटी प्रोग्राम, भर्ना गर्ने पहिलो ३० जना विद्यार्थीलाई छात्रवृत्ति

काठमाडौँ । बेलायतको किल् विश्वविद्यालयसँगको साझेदारीमा द ब्रिटिस कलेजले ‘एमएस्सी एड्भान्स कम्प्युटर साइन्स’ प्राेग्राम लञ्च गर्न लागेको हो । यो प्रोग्राम द ब्रिटिस कलेजको सहायक संस्था द ब्रिटिस इन्टरनेशनल कलेजद्वारा सञ्चालन गराइनेछ । यो कोर्सका लागि आवेदन दिने पहिलो ३० आवेदकहरुलाई छात्रवृत्ति पनि उपलब्ध गराइने कलेजले जनाएको छ । कलेजको अनुसार यो अफर जनवरी महिनासम्म मात्र हुनेछ । किल् विश्वविद्यालयको यो कोर्स निकै एडभान्स तरिकाले डिजाइन गरिएकाले विद्यार्थीहरुका लागि निकै फलदायी हुने कलेजले जनाएको छ । यो कोर्सले विद्यार्थीहरुलाई कम्प्युटर साइन्सको विभिन्न क्षेत्र (प्रोग्रामिङ ल्याङग्वेयज, अल्गोरिदम्स, डेटा साइन्स, कम्प्युटर आर्किटेक्चर, र सफ्टोयर इन्जिनियरिङ) लाई समेट्ने कलेजले जनाएको छ । किल् विश्वविद्यालय युकेमा अध्ययनरत विद्यार्थीहरुलाई अन्तर्राष्ट्रिय स्तरको शिक्षा प्रदान गर्दै आइरहेको छ । ७० वर्षदेखि विश्वभर यस विश्वविद्यालयको धेरै संस्थाहरुसँग पार्टनरसिप रहेको छ । स्टुडेन्ट क्राउड अवार्डस् २०२२ मा विद्यार्थीहरुबाट यो विश्वविद्यालयलाई प्रथम स्थानमा राखिएको थियो । यस विश्वविद्यालयले अनुसन्धानको क्षेत्रमा योगदान पुर्याउँदै आइरहेको छ । कलेजकाे अनुसार यस संस्थामा अध्ययनरत गर्ने विद्यार्थीहरुले इन्टर्नसिप र व्यवहारिक अनुभव प्राप्त गर्न सक्नेछन् । ब्रिटिस कलेजका सिइओ राजन कँडेलले किल् विश्वविद्यालयसँग पार्टनरसिप गर्न पाउँदा उत्साहित भएकाे बताए । ‘नयाँ शैक्षिक कार्यक्रमहरुले विद्यार्थीहरुको ज्ञान र सिपको विकास गर्ने कुरामा हामी प्रष्ट छौँ, यसले समाजलाई ‘डिजिल ट्रान्सफमेसन’ गर्न सहयोग गर्नेछ,’ उनले भने ।  

आन्तरिक राजस्व लक्ष्यभन्दा न्यून, आयकर र भ्याट असुली बढी प्रभावित

काठमाडाैं । चालु आर्थिक वर्ष २०७९/०८० को पहिलो पाँच महिना अवधिमा आन्तरिक राजस्व सङ्कलन लक्ष्यभन्दा न्यून देखिएको छ । आन्तरिक राजस्व विभागका अनुसार मङ्सिर मसान्तसम्मको राजस्व सङ्कलन लक्ष्यभन्दा भन्दा १३ दशमलव ६३ प्रतिशत विन्दुले कम हो । विभागले मङ्सिर मसान्तसम्ममा एक खर्ब ७४ अर्ब ३७ करोड ५४ लाख ७८ हजार बराबर आन्तरिक राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको थियो । तर यो अवधिसम्ममा एक खर्ब ५० अर्ब ६० करोड १८ लाख ८० हजार बराबर मात्रै उठेको छ । अर्थात् लक्ष्यभन्दा करिब रु २४ अर्ब न्यून राजस्व सङ्कलन भएको हो । यो अवधिमा आयकर, मूल्य अभिवृद्धि कर (भ्याट) र अन्तःशुल्क कुनै पनि शीर्षकको राजस्व असुलीमा लक्ष्य भेटिएको छैन । राजस्व विभागका अनुसार मङ्सिर मसान्तसम्मको लक्ष्यमा आयकर ८० दशमलव ६१ प्रतिशत, मूल्य अभिवृद्धि कर ८२ दशमलव ४७ र अन्तःशुल्क ९७ दशमलव ९ प्रतिशत बराबर मात्रै पुगेको छ । यो अवधिसम्ममा विभागले ५७ अर्ब ६६ करोड ७९ लाख ९१ हजार बराबर आयकर उठाउने लक्ष्य राखेको थियो । तर वास्तविक आयकर असुली भने ४६ अर्ब ४८ करोड ४९ लाख २२ हजार बराबर छ । त्यस्तै, भ्याट शीर्षकमा ५० अर्ब ९७ करोड ७० लाख ८८ हजार आन्तरिक राजस्व उठाउने विभागको लक्ष्य थियो । तर यो अवधिको भ्याट असुली ४२ अर्ब तीन करोड ८७ लाख बराबर मात्रै छ । पाँच महिना अवधिमा अन्तःशुल्कतर्फ ४३ अर्ब ६४ करोड १० लाख राजस्व उठाउने सरकारी लक्ष्य रहेकोमा रु ४२ अर्ब ४५ करोड ७७ लाख बराबर मात्रै उठेको छ । घर बहाल कर असुलीमा पनि सरकारको लक्ष्य पुगेको देखिँदैन । मङ्सिर मसान्तसम्म एक अर्ब १५ करोड ५२ लाख ६१ हजार घर बहाल कर उठाउने विभागको लक्ष्य रहेकोमा ७१ दशमलव १४ प्रतिशत अर्थात् रु ८२ करोड १८ लाख ९० हजार बराबर मात्रै उठेको छ । स्वास्थ्य सेवा कर र शिक्षा कर भने लक्ष्यभन्दा बढी उठेको छ । मङ्सिर मसान्तसम्म रु दुई अर्ब २३ करोड २६ लाख १९ हजार स्वास्थ्य सेवा कर उठाउने विभागको लक्ष्य थियो । तर लक्ष्यको एक सय ४० प्रतिशत अर्थात् तीन अर्ब १३ करोड ८८ लाख २८ हजार असुली भएको छ । त्यस्तै, शिक्षा कर ६० करोड ५५ लाख ७६ हजार बराबर असुली गर्ने लक्ष्य राखिएकोमा ८० करोड ८१ लाख ६६ हजार बराबर उठेको छ । आन्तरिक राजस्व विभागका अनुसार विश्व परिदृश्य र अर्थतन्त्रमा आन्तरिक समस्याको असर राजस्व असुलीमा देखिएको हो । विभागले सामान्य अवस्थालाई अनुमान गरेर लक्ष्य निर्धारण गरेको तर परिस्थिति असामान्य बनेका कारण लक्ष्य भेटाउन नसकेको निर्देशक राजुप्रसाद प्याकुरेल बताउँछन् । ‘अन्तर्राष्ट्रियरूपमा र देशभित्रै देखिएका अर्थतन्त्रका उतार चढावको असर आन्तरिक राजस्व असुलीमा देखिएको हो । सामान्य अवस्थालाई हेरेर लक्ष्य निर्धारण गरिएको हुन्छ । तर यसवर्ष विभिन्न कारणले परिस्थिति असामान्य बन्यो’, निर्देशक प्याकुरेलले भने । विभागले हरेक वर्ष अघिल्लो वर्षको भन्दा बढाएर नै राजस्व अनुमान गरेको हुन्छ । यस वर्ष पूँजीबजार र घरजग्गाको कारोबारमा मन्दी देखिएका कारण आयकरमा असर देखिएको उनको भनाइ छ । ‘गत वर्ष घरजग्गा र सेयरको कारोबार राम्रो थियो । जसकारण पूँजीगत लाभकर बढी उठेको थियो । तर यसवर्ष बजार घटेपछि त्यसको असर पनि सरकारी राजस्व असुलीमा देखियो’, प्याकुरेलले भने । गत कात्तिक मसान्तसम्म अन्तःशुल्क असुली लक्ष्यअनुसार नै रहे पनि पछिल्लो समय बियर र मदिराजन्य वस्तुको कारोबार घटेका कारणले त्यसको समेत असर देखिएको विभागको भनाइ छ । त्यस्तै, बैंकको तरलता अभाव, चालु पूँजी कर्जा नपाउनु, वस्तुको आयातमा प्रतिबन्ध, सरकारको पूँजीगत खर्च न्यून हुनु जस्ता कारणले राजस्व कम उठेको विभागको बुझाइ छ । पूँजीगत खर्च कम हुँदा सरकारलाई भुक्तानी गर्नु पर्ने मूल्यअभिवृद्धि कर पनि घटेको विभागले जनाएको छ । रासस

नबिल बचत खातामा घातक रोग बीमाले पायो निरन्तरता, ६ करोड २९ लाख रुपैयाँ दाबी भुक्तानी

काठमाडौं । नबिल बैंकले नबिल बचत खातामा घातक रोग बीमा कार्यक्रमलाई निरन्तरता दिएको छ । पछिल्लो चार वर्षदेखि यो बीमा सुविधा दिएकोमा पाँचौँ वर्षमा पनि निरन्तरता दिने निर्णय लिएको हो । यो बीमा अन्तर्गत ३३८ जना ग्राहकहरूको ६ करोड २९ लाख रुपैंया दाबी भुक्तानी भएको छ ।  हरेक बचत खातामा घातक रोगको बीमा तथा आवधकि जीवन बीमा सुवधिा योजना अन्तर्गत बीमा गरेका मध्ये ३३८ जनाको दाबी भुक्तानी भएको बैंकले जनाएको छ । चार वर्ष अगाडि सुरु गरेको घातक रोगमा ३ लाख र आवधिक जीवन बीमाको लागि ७५ हजार गरी ३ लाख ७५ हजार रुपैयाँको बीमा हरेक खातावालाको लागि गरिँदै आएको छ । बैंकले आफ्ना खातावालाको हित तथा घातक रोग लाग्दा आर्थिक भरथेग गर्ने उद्देश्यले यस्तो सुविधा दिँदै आएको हो । यो योजना सुरुवातबाट नै निकै प्रभावकारी रहेको र यस योजनाले आफ्ना ग्राहकहरुलाई ठूलो राहत मिलेको भन्दै आगामी दिनहरुमा यसलाई निरन्तरता दिने नबिल बैंकले जनाएको छ । मेट लाइफ इन्स्योरेन्ससँगको सहकार्यमा सुरु गरेको यस योजना अन्तर्गत बैंकले पछिल्लो चार वर्षमा १६ करोड ७ लाख रुपैयाँ रकम बराबरको प्रिमियम भुक्तान गरेको छ । नबिल बैंकका अनुसार मुद्दतिबाहेक सबै प्रकारको बचत खातामा घातक रोग तथा अवधिक जीवन बीमा हुने गरेको छ । कसरी पाइन्छ यो सुविधा ? यो सुविधा पाउन बचत खातामा न्यूनतम ३५ हजार रुपैयाँ अनिवार्य हुनुपर्ने र खातावालको उमेर समूह १६ देखि ६० वर्ष हुनु पर्ने बैंकले जनाएको छ । यस्तो रकम घातक रोग लागेको चिकित्सकले प्रमाणित गरेको समयमा हुनुपर्छ । नबिल बैंकले विभिन्न १३ घातक रोगहरू जस्तै किड्नी फेलर, क्यान्सर, हर्ट अट्याक, लिभर फेलर, बोनम्यारो ट्रान्सप्लान्टेसन, हर्ट भल्भ सर्जरी, इन्ड स्टेज लङ डिजिज, कोमा, पल्मोनरी हाइपरटेन्सन, स्ट्रोक, परमानेन्ट हेपाटाइटिस, अप्लास्टिक एनिमिया तथा सिरयस कोनोनरी आर्टरी डिजिजका लागि बीमा सुविधा दिने गरेको छ । बैंकका अनुसार प्रिमियम रकमको भार बैंक आफैँले बहन गरिदेने विशेषता भएको यो योजनाले ग्राहकहरुलाई घातक रोगसँग सामना गर्ने र आर्थिक व्यवस्थापनको मानसिक चापलाई कम गर्न महत्वपूर्ण भूमिका खेलेको छ । नबिल बैंकले यो योजना अन्तर्गतको सुबिधा आफ्नो सम्पूर्ण शाखा कार्यालयबाट प्रदान गर्दै आएको छ । यस योजनाको सफलता र ग्राहकहरूको चाहनाअनुरुप अबको दिनमा पनि यस योजनाका सुबिधा र सेवालाई थप प्रभावकारी बनाउने र समय अनुसार परिवर्तन गर्न बैंक प्रतिबद्ध रहेको छ ।

एनएमबि बैंकले ल्यायो ९.१३३ प्रतिशत ब्याज दिने ‘अपन बचत खाता’

काठमाडाैं । मधेश प्रदेशमा बचत प्रोत्सहान गर्ने उदेश्य लिएर एनएमबि बैंकले ९.१३३ प्रतिशत उच्चतम ब्याजदर प्रदान गर्ने ‘अपन एनएमबि बचत खाता’ सन्चालनमा ल्याएको छ । बैंककाे अनुसार उक्त खाताले उच्चतम ब्याजदर प्रदान गर्नुका साथै बैंकले ग्राहकहरुलाई निःशुल्क डेबिट, क्रेडिट, डलर कार्ड, निःशुल्क डिम्याट, मेरोसेर, आस्बा सेवा लगायत अन्य थुप्रै आकर्शक सुविधाहरु पनि प्रदान गर्नेछ । एनएमबि बैंक विगत २६ वर्ष देखी बैंकिङ्ग सेवा सुविधा प्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजत पत्र प्राप्त एक अग्रणी वित्तीय संस्था हो । एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

आईएमईमार्फत पठाएको रेमिट्यान्स रकम एसबिआई बैंकको शाखाबाट भुक्तानी हुने

काठमाडौं । नेपाल एसबिआई बैंक र आईएमईबीच सम्झौता भएको छ । सम्झौता अनुसार आईएमईका विभिन्न शाखा, प्रतिनिधि अफिस तथा एजेन्टमार्फत पठाएको रेमिट्यान्स रकम नेपाल एसबिआई बैंकका सम्पुर्ण शाखा मार्फत भुक्तानी हुनेछ । उक्त सम्झौतामा बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय अधिकृत मोहम्मद रिजवान आलम तथा आईएमईका प्रमूख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले हस्ताक्षर गरेका छन् ।