विकासन्युज

अब टिमुर र मेन्था खेतीको पनि बीमा हुने, बीमाशुल्क ५ प्रतिशत मात्रै, दुई लाखको दुर्घटना बीमा सुविधा

काठमाडौं । अबदेखि टिमुर र मेन्था खेतीको पनि बीमा हुने भएको छ । नेपाल बीमा प्राधिकरणले ‘टिमुर खेती बीमालेख’ र ‘मेन्था खेती बीमालेख’ जारी गर्दै उक्त खेतीको पनि बीमा हुने व्यवस्था गरेको हो । प्राधिकरणका अनुसार यो दुबै बीमालेख बीमाशुल्क भुक्तानी गरेपछि मात्रै शुरु हुने छ । बीमालेखको अवधि टिमुर तथा मेन्था खेती बीमालेख जारी गर्दा घण्टा र मिनेटसम्म खुल्ने गरी समय उल्लेख गर्नुपर्नेछ । बीमालेख जारी भएको मिति र जोखिम शुरु भएको मिति फरक हुने गरी बीमालेख जारी गर्न पाइने छैन । टिमुर बीमालेखको अवधि एक वर्ष मेन्था बीमालेखको अवधि ४ महिनाको हुने छ । टिमुरको खेतीको बीमा २० वर्ष उमेरसम्मको बोटको गर्न सकिन्छ । आंशिक बीमा गर्न नपाइने एउटै क्षेत्रफलमा लगाइएको टिमुर खेतीको आंशिक रुपमा बीमा गर्न पाइने छैन । टिमुर खेतीको बीमा लागत र उत्पादनको आधारमा गर्न सकिनेछ । त्यस्तै, बीमालेख बमोजिम गरिने टिमुर खेतीको बीमाशुल्क गणना गर्दा लागतको आधारमा ३ प्रतिशत र उत्पादनको आधारमा ५ प्रतिशत बीमाशुल्क लाग्ने छ । मेन्था खेतीको बीमाशुल्क गणना गर्दा कच्चा पदार्थ उत्पादनको आधारमा ४ प्रतिशत र सुगन्धित तेल उत्पादनको आधारमा ५ प्रतिशत बीमाशुल्क लाग्नेछ । त्यस्तै, बीमालेख जारी भइसके पश्चात बीमांक रकम परिवर्तन गर्न पाइने छैन । बीमा अवधिभित्र टिमुर खेती थप गर्नु परेमा थप खेतीको लागि छुट्टै बीमालेख जारी गर्नुपर्ने छ । तीन महिनापछि मात्र बीमा टिमुर खेतीको बीमा बेर्ना रोपेको तीन महिनापछि बीमा गर्नुपर्ने छ । उक्त खेती समुन्द्र सतहबाट एक हजारदेखि दुई हजार पाँच सय मिटरसम्मको उचाईमा खुकुलो बलौटे माटोमा गर्नुपर्ने व्यवस्था छ । यो बीमालेखले रक्षावरण गरेको जोखिमहरुका कारणबाट टिमुर खेतीको क्षति भएमा क्षति भएको तीन दिनभित्र बीमितले बीमकलाई जानकारी गराउनु पर्ने छ । बीमा अवधिभित्र बीमा गरिएको टिमुर खेतीमा ८० प्रतिशतभन्दा बढी क्षति भएमा पूर्ण क्षति (टोटल लस) अनुसार दावी भुक्तानी गरिने छ । २ लाखको दुर्घटना बीमा यो बीमालेख अन्तर्गत किसानको २ लाख रुपैयाँ बराबरको दुर्घटना बीमाको सुविधा समेत रहेको छ । आत्महत्या बाहेक अन्य कुनै पनि दुर्घटनाको कारणले मृत्यु भएमा, स्पाइनल इन्जुरीको कारण पुनः ठीक नहुने गरी रिढंको हड्डी काम नलाग्ने भएमा, एक हातको नाडीदेखि माथि पुरै हात काम नलाग्ने भएमा, कुनै एउटा खुट्टाको गोलीगाँठोदेखि माथि पुरै खुट्टा काम नलाग्ने भएमा र दुबै आँखाको दृष्टि गुमेमा कम्पनीले बीमितलाई सो मात्राको भुक्तानी गर्नेछ ।

मन्जुश्री फाईनान्समा अब अनलाइनबाट खाता खोल्न सकिने

काठमाडौं । मन्जुश्री फाईनान्सले ग्राहकहरुको लागि अनलाइन अकाउन्ट ओपनिङ्गको सुविधा ल्याएको छ । यस सेवाकाे सुरुवातसँगै फाइनान्सका ग्राहकले आफु बसेकाे जुनसुकै ठाउँबाटै खाता खाेल्न सक्नेछन् । मन्जुश्री फाईनान्सले उच्चतम ब्याज दरमा निक्षेप तथा सुलभ दरमा कर्जा प्रवाह लगायत आफ्ना ग्राहकहरुलाई रेमिटान्स लगायतका अन्य बैंकिङ्क सुविधा उपलब्ध गराउदै आएको छ । साथै, ‘मञ्जुश्री प्रिमियम बचत खाता’ र १ वर्ष वा सो भन्दा बढि अवधिको ब्याक्तिगत मुद्दती निक्षेपमा दुर्घटना तथा स्वास्थ्य बीमा समेत समावेश गरिएको छ । यस फाइनान्सले स्मार्ट टेलरद्वारा भुक्तानीको सेवा, क्युआरकोड भुक्तानीको सेवा, मोबाइल बैंकिङ्ग, एटिम कार्ड, अन्य आधुनिक बैंकिङ्क सुविधा उपलब्ध गराउँदै आएको छ । संस्थाले २०७९ मङसिरसम्म १२ अर्ब ४५ करोड निक्षेप संकलन तथा ११ अर्ब ७४ करोड कर्जा लगानी गरेकाे छ ।  

हामीले उठाएका मुद्दा सम्बोधन गर्नेलाई सरकार गठनमा सघाउँछौँ : डा. सिके राउत

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले आफूहरुले उठाएको किसानका मुद्दाहरुलाई सम्बोधन गर्ने प्रतिवद्धता गर्नेलाई सरकार गठनका लागि सघाउने बताएका छन् । सोमबार निर्वाचन आयोगले आयोजना गरेको जलपान कार्यक्रममा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष डा. राउतले आफूहरुले किसानको मुद्दा उठाएर आएकाले सो मुद्दाहरु सम्बोधन हुनुपर्ने बताएका हुन् । ‘पार्टीले उठाएको किसानको मुद्दाका साथसाथै शिक्षा, स्वास्थ्य र रोजगारीको मुद्दामा सुधार गर्ने प्रतिवद्धता जनाउनेलाई सरकार गठनका लागि सघाउँछाैं, सरकार गठनका लागि कसैको पनि स्पष्ट बहुमत नआएको अवस्थामा निकास दिनु हाम्राे जिम्मेवारी हाे,’ उनले भने । अध्यक्ष राउतले वर्तमान सत्तारुढ गठबन्धन प्रति आफूहरु सकारात्मक रहेको बताए ।

बचतकर्ताको ११ करोड फिर्ता गर्ने भन्दै खुल्यो मञ्जुश्री सहकारी, पुस ९ गते बोलायो साधारण सभा

काठमाडौं । तीन महिनादेखि बचतकर्ताको पैसा फिर्ता नगरी बन्द गरिएको सहकारी खुल्न थालेको छ । गोकर्णेश्वर नगरपालिका–५ मा रहेको मञ्जुश्री बचत तथा ऋण सहकारी संस्था लिमिटेड साउन २५ गतेदेखि बन्द रहेको थियो । बन्द भएदेखि बचतकर्तालाई पैसा फिर्ता गर्ने म्यादसम्बन्धी सूचना प्रकाशन गर्ने भने पनि कार्यान्वयन भएको थिएन । सहकारीका अध्यक्ष इन्द्र लामाले सहकारीको कार्यालय अब नियमति खोलेर कारोबार गरिने प्रतिबद्धता जनाएका छन् । सहकारीको काम गर्न जिम्मेवारी दिएका कर्मचारी जिम्मेवारी नलिई हिँडेपछि समस्या आएको बताउँदै उनले नयाँ कर्मचारी नियुक्त गरेर काम थालिएको सुनाए । बचतकर्ता सबैको साँवा, ब्याजसहित फिर्ता गरिने सहकारीको प्रतिबद्धता छ । सहकारीले बचत फिर्ता गर्न छोडेको सात महिना पूरा भए पनि कार्यालय खोलेर कारोबारसहित बचत फिर्ता गर्ने प्रतिबद्धता जनाएपछि खुसी लागेको बचतकर्ता उमेश खतिवडाले जानकारी दिए । सकारात्मक सोच लिएर कार्यालय खोलेपछि हामीले पनि सहयोग गर्न थालेको बचतकर्ताको भनाइ छ । पटक–पटक दिएको समयसीमामा पनि सहकारीले बचत फिर्ता गरेको छैन । दसैँपछिदेखि त कार्यालय नै खुल्न छोडेकामा गत हप्तादेखि कार्यालय खुल्न थालेपछि बचत फिर्ता हुने आशा पलाएको खतिवडाले सुनाए । सहकारीमा लाखौँ रुपैयाँ जम्मा गरे पनि आवश्यक पर्दा पाउन नसकेको भन्दै बचतकर्ताले गुनासो गर्दै आएका छन् । सहकारीले करिब ११ करोड रुपैयाँ बचत फिर्ता गर्नुपर्ने छ । बजारमा सात करोड ऋण लगानी रहेको अध्यक्ष लामाले बताए । पाँच करोडको घर सहकारीका नाममा छ । सेयर सदस्यको शुल्क एक करोड गरी १३ करोड रुपैयाँँको पुँजी रहेको पनि उनको भनाइ छ । आगामी पुस ९ गते सहकारीले आफ्नै भवनमा साधारणसभा बोलाएको छ । सहकारीमा लामा २०७५ सालदेखि अध्यक्ष छन् । त्यसअघि साम्देन लामाले सहकारीको अध्यक्ष भएर काम गर्नुभएको थियो । साम्देन लामाले विसं २०६३ मा सहकारी स्थापना भएदेखि २०७५ सालसम्म सहकारीको अध्यक्ष चलाएका हुन् । सहकारीको अहिले रहेको करिब सात करोड रुपैयाँ ऋणमध्ये करिब ९० प्रतिशतभन्दा बढी साम्देन लामा अध्यक्ष भएका बेलामा लगेको अभिलेख सहकारीमा रहेको उपाध्यक्ष विजय तामाङले जानकारी दिए । ‘धेरै ऋणीका घरमा ऋण उठाउन जाँदा साम्देन लामासँग ऋण लिएको हो, उनीसँग कुरा मिलाइसकेको छु भन्छन्, पूर्व अध्यक्ष साम्देन लामा कार्यालयमा आउँछु, सबै मिलाउँछु भन्छन्, तर आउँदैनन्, अब साधारणसभामा यो विषय पनि लैजान्छौँ’ उनले भने । सहकारीको ऋण उठ्न छोडेपछि सञ्चालक एकले अर्कोलाई दोष देखाउन थालेका थिए । केही पदाधिकारी एवं सदस्यले भने राजीनामा दिइसकेको बताउँदै अब आफ्नो कुनै जिम्मेवारी नरहेको भन्दै पन्छने गर्न थालेको बचतकर्ताको गुनासो छ । सहकारीबाट राजीनामा दिइसकेको बताए पूर्व सचिव अमरनाथ घिमिरे स्थापना कालदेखि नै अध्यक्षमुखी भएर सञ्चालन गरेका कारण यस्तो अवस्था आएको बताउँछन् । ‘सहकारी सबै सञ्चालक एवं सेयर सदस्यको सहकार्यमा चल्नुपर्ने हो, अरु सदस्यले पनि अध्यक्षको मात्र संस्थाजस्तो गर्ने र अध्यक्षले पनि व्यक्तिगत कम्पनीजस्तो गरी चलाउने गर्दा धेरै सहकारीमा समस्या आउने गरेको देखिन्छ, यसरी सञ्चालन गर्ने सहकारीको सिद्धान्त नै होइन’, उनले भने । सहकारीमा १४ वर्षदेखि खाता खोलेर बचत गर्दै आएका जोरपाटी माकालबारीमा फर्निचर सञ्चालन गर्ने पन्नालाल ठाकुर आठ महिनादेखि सहकारीबाट बचत फिर्ता पाउन नसकिएको गुनासो गर्छन् । करिब पाँच लाख रुपैयाँ सहकारीमा बचत गरेकाे ठाकुर दिनमा एक पटक सहकारी धाउने गरेपनि पछिल्लो समय खुल्न छोडेको कार्यालय खुलेसँगै डुबे को पैसा पाइने आशा जागेको बताउँछन् । रासस

काभ्रेको खोपासीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

काठमाडौं । काभ्रेको खोपासीमा २ गते शनिबार निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । लायन्स क्लब अफ काठमाण्डौं युनाइटेड सेन्ट्रल, सहयोगी महिला जागरण मञ्च, कल्पना फाउन्डेसनको सँयुक्त आयोजना तथा लायन्स क्लब अफ काठमाण्डौं युनाइटेड वेष्टको समन्वयमा उक्त शिविर सँचालन गरिएको हो । शिविरमा १ सय ८० जनाल वाथ तथा नशा रोग सम्बन्धि स्वास्थ्य जाँच गराए । काभ्रे खोपासीमा रहेको सहारा जेष्ठ नागरिक समाजको भवनमा नेशनल बाथरोग सेन्टर र बद्री तीर्थ आर्थराइटिस समाजको प्राविधिक सहयोगमा शिविर सँचालन भयो । उक्त शिविरमा नेशनल बाथरोग सेन्टरबाट निःशुल्क रुपमा ल्याब परीक्षणको साथै वरिष्ठ चिकित्सकबाट बाथरोग र नशारोगको उपचारबारे पनौंती १० का स्थानीय महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई परामर्स दिनुका साथै स्थानीय वासिन्दाहरुलाई स्वास्थ्य परीक्षण तथा औषधि वितरण गरिएको थियो । उक्त शिविरमा लायन्स क्लब अफ काठमाण्डौं युनाइटेड सेन्ट्रलका अध्यक्ष युवराज श्रेष्ठले सहयोगी विभिन्न संघ सँस्था तथा व्यक्तित्वहरुलाई मायाको चिनो प्रदान गरेका थिए । यस्तो खालको कार्यक्रमहरु हरेक ६/६ महिनामा गरिने आयोजक लायन्स क्लब अफ काठमाण्डौं युनाइटेड सेन्ट्रलका निवर्तमान अध्यक्ष रोशन श्रेष्ठले बताए । दिनदुखी तथा असक्त ग्रामिण वासिन्दाहरुलाई परेको स्वास्थ्य सम्बन्धी समस्यामा सहयोग गर्न पाउँदा आफुलाई निक्कै गौरव महसुस भएको आयोजक सहयोगी महिला जागरण मञ्चकी अध्यक्ष राधा श्रेष्ठले बताइन् । सहारा जेष्ठ नागरिक समाजका अध्यक्ष भरतराज शर्माले यो शिविरका आयोजकहरुलाई माला पहिराई सम्मान गर्दै, निःशुल्क स्वास्थ्य शिविरमा निक्कै टाढा टाढाको ग्रामिण वृद्धवृद्धाको सहभागिता भएकाले पनि शिविर निकैं सफल भएको बताए ।

बुटवलको नयाँ ट्रेकिङ रुट, फूलबारीदेखि नुवाकोटगढी सम्म

बेलहिया । बुटवलको फूलबारीदेखि ठाडै उक्लिएर करिब दुई घन्टामा नुवाकोटगढी पुग्न सकिन्छ । ऐतिहासिक, प्राकृतिक र सांस्कृतिक महत्वको नुवाकोट गढी लुम्बिनी प्रदेशको महत्वपूर्ण हिल स्टेशनका रुपमा रहेको छ । नुवाकोट गढीलाई लक्षित गरेर त्यहाँ अहिले केबलकारसमेत निर्माण भइरहेको छ । बुटवल–नुवाकोटगढी नयाँ पदयात्रा हाइकिङ पर्यटकीय गन्तव्यका रुपमा विकास थालिएको छ । लुम्बिनी घुम्न आउने भारतीय तथा तेस्रो मुलुकका पर्यटकलाई लक्षित गरी बुटवल–नुवाकोटमा एकदिने हाइकिङका रुपमा विकास गर्ने योजनासहित पर्यटन व्यवसायी लागेका छन् । नेपाल एशोसिएशन अफ ट्राभल्स एन्ड टुर एजेन्ट नाट्टा लुम्बिनी प्रदेशको आयोजनामा पर्यटनका लागि हामी, हाम्रो स्वास्थ्य र पदयात्रा भन्ने नारासहित पदयात्रा हाइकिङको सुरुआत गरिएको छ । फूलबारी–नुवाकोट हाइकिङ पर्यटन प्रवद्र्धनमा नेपालकै महत्वपूर्ण गन्तव्यका रुपमा विकास गर्न लाग्नुपर्ने पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताए । उनले भने, ‘यस क्षेत्रका लागि फूलबारी–नुवाकोट पर्यटकीय दृष्टिकोणले मात्रै नभएर स्वास्थ्य, प्रकृति र वातावरणका हिसाबले पनि महत्वपूर्ण ऐतिहासिक गन्तव्य हो ।’ उनले बुटवल–नुवाकोटगढी हाइकिङले पर्यटन प्रवद्र्धनमा ठूलो टेवा पुग्ने विश्वाससमेत व्यक्त गरे । लुम्बिनी प्रदेश सरकारका पूर्वपर्यटनमन्त्री लीला गिरीले बुटवलबाट बिहानी हिँडाइमाथि नुवाकोटगढीमा पुगेर पुनःबुटवल फर्किंदा आम मानिसका लागि स्वास्थ्यका हिसाबले अतिउत्तम हुने बताए । उनले विदेशी पर्यटक लागि पनि यो छोटो दूरीको अन्त्यन्तै महत्वपूर्ण पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सकिने बताए । प्रतिनिधिसभा सदस्य वासुदेव घिमिरेले लुम्बिनी घुम्न आउने विदेशी पर्यटकलाई फूलबारी नुवाकोटको हाइकिङमा सहभागी गराउने गरी पर्यटन व्यवसायीले प्याकेज तयार गर्नुपर्ने बताए । सिद्धार्थनगर भैरहवाका प्रमुख इस्तियाक अहमद खानले भैरहवाको गर्मी छल्न नजिकै रहेको फूलबारी नुवाकोट हाइकिङ फलदायी हुने बताए । उनले भने, ‘भैरहवाको मात्रै नभएर छिमेकी राष्ट्र भारतका पर्यटकका लागि पनि यो हाइकिङ महत्वपूर्ण गन्तव्य र आकर्षकस्थल बन्न सक्छ । हामी सबै मिलेर यसको प्रचारमा जुटौँ ।’ पर्यटन प्रवद्र्धनका लागि नाट्टाले हाइकिङका रुपमा विकास गर्ने योजनाले यस क्षेत्रको पर्यटनमा नयाँ गन्तव्यको विकास भएको नाट्टा प्रदेश अध्यक्ष रचना पन्तले बताए । यात्रामा विभिन्न सङ्घसंस्थाका प्रमुख, निजी क्षेत्रका अगुवा, सुरक्षाकर्मी, कलेजका विद्यार्थी, पत्रकारलगायत गरी साढे तीन सयभन्दा बढीले साढे तीन किलोमिटरको उकालो चढेर माथि नुवाकोट पुगी पुनःतल फूलबारी फर्केका थिए । पर्या–पर्यटनका हिसाबले अत्यन्तै महत्वपूर्ण गन्तव्यका रुपमा रहेको बुटवल–नुवाकोट हाइकिङ यात्रा अत्यन्तै रोमाञ्चक रहेको भैरहवाको सिर्जना जोशीले बताए । नुवाकोट प्रवेशद्वारबाट करिब आठ सय मिटरको सिँढी चढ्दा केहीमाथि समथर भूगोल आउँछ । उक्त समथर भूभागमा हाइकिङमा जाने यसो एकछिन आराम गर्न पनि मिल्छ । हाइकिङमा पहिलो पटक जानेको लागि उक्त ठाउँ पहिलो विश्रामस्थल हो । उत्तर पश्चिम पहाडको सालघारीको यात्रामा हिँडे झैँ लाग्ने र सालका रहर लाग्दा बोटले थप आनन्द दिने हाइकिङका क्रममा पसिनापुछ्दै उकालो उक्लिरहेकी भैरहवाकी ज्ञानुमाया पोखरेलले बताए । जैविक विविधताले भरिपूर्ण फूलबारीदेखि नुवाकोटको यात्रामा लागेको थकानलाई नुवाकोटमा रहेको भैरव मन्दिर, नुवाकोट गढी, भ्यूटावर र नुवाकोट गाउले बिर्साउने पर्यटन व्यवसायी अञ्जन श्रेष्ठले बताए । भ्यूटावरबाट साँझ बुटवल बजारको झिलिमिली अवलोकन गर्न र चिसो मौसममा स्थानीय उत्पादनबाट बनाइएका खानाको परिकारको स्वादमा नाच्दै गाउँदै पर्यटक रमाउँदा साच्चिकै आनन्द अनुभूत हुने नाट्टाका पूर्वध्यक्ष सागर अधिकारीले बताए । त्यस क्षेत्रको विकासका लागि सबैको सहकार्यमा आफूहरुले योजनाबद्ध काम गरिरहेको नुवाकोट विकास समितिका अध्यक्ष माधव नेपालले बताए । उनले नुवाकोट गढीलाई ऐतिहासिक, धार्मिक र पर्यावरणीय हिसाबले पर्यटन प्रवद्र्धन गर्न योजनाबद्धरुपमा काम भइरहेको बताए । नुवाकोटगढी पुग्न अहिले बुटवल उपमहानगरपालिका–१३ बेलवासदेखि करिब एक घण्टामा सडक मार्गहुदै सवारीसाधनमा पनि पुग्न सकिन्छ ।

आँधिखोला लघुवित्तको सेयर कारोबार फुकुवा

काठमाडौं । आँधिखोला लघुवित्त वित्तिय संस्थाको सेयर कारोबार फुकुवा भएको छ । नेपाल स्टक एक्सचेन्जले आधारभुत सेयरधनी बाहेकका सेयरधनीको पुस ५ गतेदेखि लागु हुने गरी कम्पनीको सेयर फुकुवा गरेको हो । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाबीच मर्जर सम्बन्धी सम्झौता भएपछि आँधिखोला लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार रोक्का रहेको थियो ।

सेयरधितो कर्जामा नबिल, ग्लोबल र राष्ट्रिय वाणिज्य बैंकबीच प्रतिस्पर्धा, कुनको ऋण कति ?

काठमाडौं ।  चालू आर्थिक वर्ष २०७९/०८० को कात्तिक महिना सम्ममा बैंकहरुले कुल ५९ अर्ब ९१ करोड १० लाख रुपैयाँ सेयरधितो कर्जा प्रवाह गरेका छन् । २६ वटा वाणिज्य बैंकहरुले कात्तिक महिनामा असोजको तुलनामा ४३ करोड ६० लाख अर्थात् ०.७२ प्रतिशत कम ऋण प्रवाह गरेका हुन् । बैंकहरुले असोजमा ६० अर्ब ३४ करोड ८० लाख रुपैयाँ कर्जा लगानी गरेका थिए भने भदौमा ६० अर्ब ३१ करोड ९० लाख र साउन महिनामा ६१ अर्ब ५६ करोड ३० लाख रुपैयाँ सेयरधितो कर्जा लगानी गरेका थिए । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार कात्तिकमा ८ वटा वाणिज्य बैंकले सेयर धितो कर्जा बढाएका छन् । असोजको तुलनामा राष्ट्रिय वाणिज्य बैंक, नबिल, नेपाल इन्भेष्टमेन्ट, कुमारी, लक्ष्मी, सिद्धार्थ, कृषि विकास र एनएमबी बैंकले सेयर धितो कर्जा बढाएका छन् । अन्य बैंकको सेयरधितो कर्जा भने घटेको छ । हालसम्म सबैभन्दा बढी नबिल, दोस्रोमा ग्लोबल आइएमई र तेस्रोमा राष्ट्रिय वाणिज्य बैंकले सेयर धितो कर्जा लगानी गरेका छन् । नबिलले ६ अर्ब ७९ करोड ८० लाख, ग्लोबलले ४ अर्ब ९७ करोड ८० लाख र राष्ट्रिय वाणिज्य बैंकले ४ अर्ब ५३ करोड ३० लाख रुपैयाँ सेयर धितो कर्जा लगानी गरेका छन् । सिटिजन्स, सिद्धार्थ, नेपाल बैंक र प्राइम कमर्सियल बैंकले ३ अर्ब बढी सेयर धितो कर्जा प्रवाह गरेको छन् भने मेगा, कुमारी, सेञ्चुरी, लक्ष्मी, प्रभु र सिभिल बैंकले २ अर्ब रुपैयाँ बढी सेयरधितो कर्जा लगानी गरेका छन् । यस्तै, सनराइज, नेपाल इन्भेष्टमेन्ट, बैंक अफ काठमाण्डू, सानिमा, एनआइसी एशिया, एनएमबि, एनसीसी, हिमालयन र कृषि विकास बैंकले एक अर्ब बढी लगानी गरेका छन् । माछापुच्छ्रे, एभरेष्ट र नेपाल एसबिआई बैंकले भने १ अर्ब रुपैयाँ पनि सेयरधितो कर्जा लगानी गरेका छैनन् । माछापुच्छ्रे बैंकले ८२ करोड ८० लाख, एभरेष्टले ७५ करोड ६० लाख र नेपाल एसबिआईले ३२ ३ करोड २० लाख रुपैयाँ लगानी गरेको देखिएको छ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् मार्जिन प्रकृतिको सेयर धितो कर्जामा केही खुकुलो नीतिको व्यवस्था गरेको थियो । यसअघि सेयर धितो कर्जामा ४/१२ करोडको सीमा रहेकोमा चालु आवको मौद्रिक नीतिमार्फत् ४ करोडको सीमा हटाएर १२ करोडको सीमा मात्रै लागू गरेको थियो । सो पछि पनि बैंकहरुले सेयरधितो कर्जा कम लगानी गरेका हुन् । तरलता अभाव भइरहेको बेला बैंकहरुलाई कर्जा लगानी गर्न समस्या भइरहेको छ । पछिल्लो समय भने केही सुधार हुँदै गइरहेको प्रतिक्रिया बैंकरहरुको छ ।