सरकारले निलगिरी जलविद्युत आयोजनाको लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने
काठमाडौं । सरकारले निलगिरी खोला १ र २ जलविद्युत आयोजनाको २२० के.भि प्रशारणलाइन निर्माणका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने भएको छ । सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै सूचना सञ्चार तथा प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आईतबार बसेको मन्त्रिपरिषदको बैंठकले गरेका निर्णयहरु सार्वजनिक गर्दै निलगिरी खोला १ र २ जलविद्युत आयोजनाको २२० के.भि. प्रशारणलाइन निर्माणका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेको बताए । ‘सरकारले माथिल्लो फावाखोला जलविद्युत आयोजनाका निर्माणका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेकाे छ, संरक्षण क्षेत्र भित्रका जलविद्युत आयोजनाका लागि थप शर्त समावेश गर्ने निर्णय भएको छ,’ उनले भने ।
सिरहामा बजार नहुँदा बिक्री भएनन् नर्सरीका विरुवा
सिरहा। सिरहाको लहान नगरपालिका कटहाका सत्यनारायण महतो विगत १७ वर्षदेखि नर्सरी फार्ममा विरुवा उत्पादन गरिरहेका छन् । एक विघा क्षेत्रफलमा नर्सरी सञ्चालन गर्दै आएका उनि अब यसलाई बढाएर १५ कठ्ठा पुर्याउने योजनामा छन् । तर नर्सरीमा भएका विरुवा समयमै बिक्री नहुँदा भने उनि चिन्तामा छन् । बिना कुनै तालिम लामो समयदेखि नर्सरीमै व्यस्त रहेको उनको परिवारले यतिबेला नयाँ प्रविधि भित्र्याएर उन्नतजातका विरुवा उत्पादन गरिरहेको छ तर बजारमा विरुवाको माग बढ्न नसक्दा आम्दानी संकुचित हुँदै गएको उनको भनाइ छ । ‘आम्दानी नराम्रो होइन, अहिले पनि वार्षिक २० लाखको कारोबार गर्छौ’, उनले भने, ‘यद्यपि समयमै विरुवा बिक्री हुन सक्यो भने थप पाँच लाखको कारोबार गर्न सक्ने ठाउँ छ ।’ नर्सरीमा उत्पादन भएका विरुवा समयमै बिक्री नहुँदा नर्सरीमै विरुवा सुक्ने गरेको सत्यनारायणका छोरा नरेशको भनाइ छ । ‘नर्सरीमा तयार भएका विरुवा बजार अभावका कारण समयमै बिक्री हुननसक्दा विरुवा बिक्री हुन सकेका छैनन’, उनले भने, ‘विरुवाले समयमै बजार नपाउँदा लगानी घाटामा जाने गरेको छ ।’ महतोले नर्सरी बिस्तारका लागि सरकारसँग अनुदानका लागि आग्रह गरे पनि हालसम्म कुनै सरकारी अनुदान प्राप्त नभएको गुनासो गरे । ‘अहिलेसम्म पाँच पटकसम्म अनुदानका लागि आग्रह गरिसकेको छु’, उनले भने, ‘प्रत्येक पटक खाली हात लाग्छ, अहिले त अनुदान नमाग्ने निर्णयमा पुगेको छु ।’ महतोको नर्सरीमा विभिन्न २२ प्रजातिका ८० हजारभन्दा बढी आँपको विरुवा छन् । जसमा मुख्य प्रजातिमा मालदह, बम्बै, कलकत्तिया, दसहरी, अमरपालिलगायत आँपका विरुवा छन् । साथै लिचीमा साही, मझफपुर, सरलेश, चानीजका विरुवा छन् । महतोका अनुसार नर्सरीमा कटहर, जामुन, अनार, धुपी, नरिवल, अम्बा, बैर, तेजपात, निम्बु, बेल, अमला, निम, सुपारी, अशोक, सफेद, महगनी, टिक, गमहार, बाँस, रक्तचन्दन, सल्ला, पपिता, केला, मरिच, अङ्गुर तथा घर, अफिस, बगैँचाका लागि उपयुक्त फुल पनि उत्पादन हुँदै आएका छन् । रासस
जाडो बढेसँगै इन्फ्लुएन्जाको जोखिम
काठमाडौं । जाडोयामसँगै इन्फ्लुएन्जा (फ्लु)सङ्क्रमण जोखिम बढेको छ । जाडोमा सक्रिय हुने इन्फलुएन्जा भाइरस बच्चादेखि युवा र वृद्धवृद्धामा इन्फ्लुएन्जाको सङ्क्रमण हुँने गर्दछ । दीर्घरोगी, गर्भवती, ज्येष्ठ नागरिक तथा रोग प्रतिरोधात्मक क्षमता कम भएकालाई इन्फ्लुएन्जाको सङ्क्रमण बढी हुने गर्दछ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका इन्फ्लुएन्जाका फोकलपर्सन डा मिलन ब्रजाचार्यले रोगप्रतिरोधात्मक क्षमता कम भएकालाई सङ्क्रमणको जोखिम बढी हुने गरेको बताउछन् । ‘दिर्घरोगी बिरामीलाई इन्फ्लुएन्जाले फोक्सोमा असर गरेर निमोनिया जस्ता समस्या आउन सक्छन,’ उनले भने,’यस्ता बिरामीलाई सघन उपचार कक्ष (आइसियु)मा राखेर उपचार गर्नुपर्दछ ।’ नेपालमा इन्फ्लुएन्जा ‘ए’ पुष्टि भइसकेको छ । कात्तिकदेखि फागुनसम्म इन्फ्लुएन्जा भाइरसको सङ्क्रमण हुने भएकोले सतर्कता अपनाउनुपर्ने उनि बताउछन् । डा बज्राचार्यले हप्तामा सात–आठ स्वाब सङ्कलन गरेर नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउने गरेको बताए । इन्फ्लुएन्जा सङ्क्रमणका बिरामीमा ज्वरो आउनु, खोकी लाग्नु र घाँटी दुख्नु, टाउको दुख्नु, नाक बन्द हुनु वा सिगान बग्नु, जिउ र मांसपेशी दुख्नु, थकान महसुस जस्ता लक्षण देखा पर्दछन् । इन्फ्लुएन्जा भएका सबैलाई ज्वरो नआउन पनि सक्छ । यसबाट बच्न बिरामी भएकमा व्यक्तिसंँग भौतिक दूरी राख्ने, खोक्दा वा हाच्छिउ गर्दा आफ्नो मुख र नाक छोप्ने, सम्भव भएसम्म बिरामी हुँदा घरमै बस्ने, शारीरिक रुप्मा सक्रिय हुने र प्रशस्त्र तरल पदार्थ र पौष्टिक खाना खाने, बेलाबेलामा सावुनपानीले हात हुने र आफ्नो आँखा, नाक वा मुख नछुने गर्नुपर्दछ । रासस
२६ वर्षमा पनि बनेन बागलुङ–कुश्मीशेरा सडक
बलेवा । जिल्लाको दक्षिण क्षेत्रलाई जोड्नेगरी २६ वर्षअघि निर्माण थालिएको बागलुङ–कुश्मीशेरा सडकमा अहिले पनि सर्वसाधारण जोखिमपूर्ण यात्रा गर्छन् । मालढुङ्गादेखि कुश्मीशेरासम्मको २१ किमी सडकको ठाउँठाउँमा गएका पहिरा तथा मर्मत नभएको कच्ची सडकका खाल्डाखुल्डीले सर्वसाधारण जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका हुन् । बागलुङ नगरपालिका–१ मालढुङ्गादेखि वडा नं १० को गलुवासम्मको एक किमी सडक कच्ची छ । गलुवाकै दव्ल्याङमा दुई वर्षअघि झरेको पहिरो नरोकिँदा यात्रा थप जोखिमपूर्ण बनेको हो । यो पहिरो रोकथाम तथा नियन्त्रणका लागि पूर्वाधार कार्यालय बागलुङले तयार पारेको लागत अनुमान मन्त्रालयमा पुगेर थन्किएको छ । कार्यालयले पहिरो नियन्त्रणका लागि एक करोड ३१ लाख ७७ हजार आठ सय ३७ रुपैयाँको लगत अनुमान गरेको छ । ‘गत वर्ष नै पहिरो नियन्त्रणका लागि लागत अनुमान गरेर पठाएका हौँ, तर बजेट चार लाख मात्रै आयो’, कार्यालयका इञ्जिनियर कृष्ण गौतमले भने, ‘सामान्य पहिरो पन्छाएर सडक खुलाउनसमेत नपुग्ने बजेटले पहिरो रोकथाम गर्न सकिएन ।’ वर्षायाममा बगिरहने पहिरो नियन्त्रणका लागि हिउँदमा सरोकारवालाको चासो नहुने सर्वसाधारणको गुनासो छ । ‘बर्खाभरि हिउँद लागेपछि पहिरो रोक्ने काम होला भनेर आशा गर्छौंं तर हिउँदमा सुनसान हुन्छ’, बागलुङ नगरपालिका–१२ अमलाचौरका कमल हमालले भने, ‘पहिरो खस्न थालेपछि मात्रै कामको चर्चा हुन्छ ।’ पहिरो पन्छाउन मात्रै बागलुङ नगरपालिकाले दुई वर्षमा १० लाख रुपैयाँ खर्च गरेको छ । गत वर्ष नगरपालिकाले विनियोजन गरेको २० रुपैयाँ लाख बजेटबाट तयार भएका संरचना पहिरोले बगाएको छ । विसं २०७२ मा सडक विभागले कालोपत्र गरेको गलुवादेखि पाग्जासम्मको चार किमी खण्डको ठाउँठाउँमा खसेको पहिरोले सडक नै जोखिममा छ । कतै सडक भासिएको छ भने कतै सडकमाथिबाट आएको पहिरोले सडक नै पुरिएको छ । लामो समय बितिसक्दासमेत सडकको पहिरो सवारीसाधन एकतर्फी चल्ने गरी पन्छाउने गरिएको स्थानीय ज्ञानेन्द्र ढकाल बताउँछन् । पूर्वाधार विकास कार्यालय पर्वतले कालोपत्र गरेको पाग्जादेखि सरङ्गेसम्मको १० किमी खण्डमा खसेका पहिरोकोसमेत अवस्था उस्तै छ । ‘पहिरो नियन्त्रणका लागि पहल भइरहेको छ, स्थानीय सरकारको बजेटले मात्रै थेग्ने अवस्था नरहेकाले माथिल्लो निकायमा पहल गरेका छौँ’, बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्का भन्छन्, ‘अर्थमन्त्रीसँग सिधा संवाद गरेका छौँ, आशा छ हिउँदमा काम हुने वातावरण बन्छ ।’ सडकको दुरावस्थाले बागलुङलाई नै गिज्याइरहेको भान हुने गरेको छ । बागलुङका मुख्य सडकमध्ये पर्ने यो सडक विभिन्न समयमा विभिन्न योजनामार्फत खण्डखण्डमा कालोपत्र भएको भए पनि अझै दुई किमी सडक कच्ची नै छ । मालढुङ्गादेखि दब्ल्याङसम्मको खण्ड कालीगण्डकी करिडोरसमेत पर्ने भएकाले कालोपत्र गरिएको छैन । बागलुङ नगरपालिका–१२ अमलाचौरको सरङ्गेदेखि टाकुरीसम्मको एक किमी खण्डमा कसैको आँखा नपरेको स्थानीय प्रेम शर्माले बताए । बागलुङ नगरपालिकामा पर्ने उक्त खण्ड जैमिनी र बरेङ गाउँपालिकाको प्रयोगमा आउने भएकाले चपेटामा परेको हो । उपयोग कम हुने भएकाले बागलुङ नगरपालिकाले कम महत्व दिने गरेको छ भने आफ्नो भूगोल नभएकाले जैमिनी नगरपालिका र बरेङ गाउँपालिकालाई त्यहाँ बजेट खर्चिन कठिन छ । ‘बीचमा परेको बाटो नबन्दा दुःख पायौँँ’, शर्माले भने । यो खण्ड कलोपत्रका लागि जैमिनी नगरपालिकाले ५०/५० प्रतिशत साझेदारीको प्रस्ताव गरेको छ । तर पूर्वाधार कार्यालय बागलुङसँग साझेदारीको बजेट नहुने भएकाले आगामी वर्षको कार्यक्रममा बजेट माग गरिने कार्यालयका निमित्त प्रमुख महेन्द्र शर्माले बताए ।
डोटीका भूकम्पपीडित परिवारलाई काठमाडौं महानगरको १० लाख सहयोग
काठमाडौं । डोटीको पूर्वीचौकी गाउँपालिकाका भूकम्पपीडितलाई काठमाडौँ महानगरपालिकाले आर्थिक सहयोग गरेको छ । काठमाडौँ महानगरपालिकाले डोटीमा भूकम्पबाट घर भत्केर विचल्लीमा परेका परिवारलाई १० लाख आर्थिक सहयोग गरेको हो । गएको कात्तिक २३ गते पूर्वीचौकी गाउँपालिकामा गएको ६ दशमलव ६ रेक्टर स्केलको भूकम्पले छ जनाको ज्यान गएको थियो भने तीन हजार आठ सय घरटहरा भत्किएका थिए । काठमाडौँ महानगरपालिकामा डोटीका भूकम्पपीडितका लागि सहयोगको अनुरोध गरिएपछि महानगरबाट विपद् व्यवस्थापनअन्तर्गतको बजेटबाट गाउँपालिकालाई १० लाख रुपैयाँ सहयोग उपलब्ध गराइएको महानगर प्रमुख बालेन शाहले बताए । उनले भने, ‘भूकम्पपीडितका समस्याका विषयमा हामीले जानकारी पायौँ र केही रकम आर्थिक सहयोग गरेका छौँ, आशा छ हाम्रो सहयोगले पीडितका समस्या केही हदसम्म भए पनि समाधान हुने छन् ।’ उक्त आर्थिक सहयोग पूर्वीचौकी गाउँपालिकाका अध्यक्ष रामप्रसाद उपाध्यायमार्फत हस्तान्तरण गरिएको काठमाडौँ महानगर पालिकाले जनाएको छ ।
ट्वीटरको प्रमुख रहने वा नरहने बारेमा प्रयोगकर्तासँग एलन मस्कद्वारा रायका लागि सर्वेक्षण
काठमाडौं । ट्वीटरका प्रमुख कार्यकारी अधिकृत एलन मस्कले भविष्यमा आफू ट्वीटरको जिम्मेवारीमा रहने वा नरहने राय लिन एक सर्वेक्षण पोस्ट गर्दै नतिजाको पालना गर्ने प्रतिबद्धता जनाएका छन् । उनले पोस्टमा सोधेका छन्, ‘के म ट्वीटरको प्रमुख पदबाट हट्नु पर्छ’ उनले निर्णय दिन ट्वीटरका प्रयोगकर्ताहरूलाई हो वा होइन मा क्लिक गर्न आग्रह गरेका छन् । सोमबार मतदान सकिन चार घण्टा बाँकी रहँदा करिब एक करोड ४० लाख उत्तरदातामध्ये ५६।७ प्रतिशतले ‘हो’ मा मतदान गरेका थिए । फलोअर्ससँगको ट्वीटर एक्सचेन्जमा मस्कले आफूसँग प्रयोगकर्ताको रायभन्दा फरक सोच नभएको बताए । उनले भने, ‘ट्वीटरलाई जीवन्त राख्न सक्ने काम कसैलाई पनि चाहिएको छैन । उत्तराधिकारी कोही छैन ।’ मस्कलाई ‘रमाइलो सुझाव’ दिँदै एमआईटीका अनुसन्धान वैज्ञानिक लेक्स फ्रिडम्यानले कुनै तलब बिना केही समयका लागि प्लेटफर्म चलाउन प्रस्ताव गरेका छन् । मस्कले ट्वीटर ‘दिवालियापनको द्रुत मार्गमा’ रहेको बताएका छन् । मस्कले सोधे, ‘तपाइहरूलाई पीडा असाध्यै मन पर्छ । तपाईंले ट्विटरमा आफ्नो जीवनका लागि गरेको बचत लगानी गर्नु पर्दछ र यो मे देखि दिवालियापनको द्रुत लेनमा भएको छ । अझै पनि जागिर चाहिएको छ ।’ अप्रत्याशितरूपमा अरबपति सञ्चालकले ट्वीटर प्रयोगकर्ताहरूलाई प्रतिद्वन्द्वी सामाजिक सञ्जालमा मिडिया प्लेटफर्महरूमा उनीहरूको खाताहरू प्रचार गर्न प्रतिबन्ध लगाउने गल्ती गरेको स्वीकारेको केही समयपछि सर्वेक्षण पोस्ट गरे। उनले भने, ’आगामी दिनमा ठूला नीतिगत परिवर्तनका लागि मतदान हुनेछ । म माफी माग्छु । फेरि त्यस्तो हुनेछैन,’ उनले ट्वीटरमा लेखेका छन्। नियमहरूमा अचानक परिवर्तन मस्कले अक्टोबरमा कम्पनीको कार्यभार सम्हालेपछि विवादास्पद परिवर्तनहरूको श्रृंखलामा नवीनतम थियो – उथलपुथल जसले प्रयोगकर्ताहरूको बढ्दो संख्यालाई अनुयायीहरूलाई अन्य साइटहरूमा उनीहरूको पोस्टहरू हेर्न प्रोत्साहित गर्न प्रेरित गरेको छ। ट्वीटर कम्पनीले घोषणा गरेको छ, ‘अब विशिष्ट सामाजिक मिडिया प्लेटफर्महरूको निः शुल्क प्रचारको अनुमति दिइनेछैन ।’ ट्वीटरले भनेको छ, ‘उदाहरणका लागि, प्रयोगकर्ताहरूलाई इन्स्टाग्राममा ‘फलो मी’ पोस्ट गर्न प्रतिबन्ध लगाइनेछ ।’ ट्वीटरका सह–संस्थापक ज्याक डोर्सीले नयाँ नीतिमाथि प्रश्न उठाएका छन् । टेक इन्भेस्टर पल ग्राहमसहित नयाँ नीतिअन्तर्गत केही उल्लेखनीय अकाउन्टहरू निलम्बन गरिएपछि मस्कले ट्वीट गर्दै व्यक्तिगत ट्वीटलाई विचार गर्नुको साटो यो नीति ‘एकाउन्टहरू निलम्बन गर्नमा मात्र सीमित हुनेछ । त्यस्ता एकाउन्टको प्रमुख उद्देश्य प्रतिस्पर्धीहरूको पदोन्नति गर्नु हो ।
मन्त्री पदको लागि कसैको घर धाउँदैनौं : अध्यक्ष लिङ्देन
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राप्रपालाई सरकारमा जान हतारो नभएको बताएका छन् । सोमबार पार्टीको केन्द्रिय सचिवालयले आयोजना गरेको पार्टीबाट निर्वाचित सांसदहरुलाई स्वागत तथा बधाई कार्यक्रममा बोल्दै अध्यक्ष लिङदेनले राप्रपालाई सरकारमा जान हतारो नभएको बताएका हुन् । उनले आफूहरुले सरकारमा नजाने भनेर कसम पनि नखाएको भन्दै आगामी दिनमा के गर्दा आफ्नो मान्यताहरु स्थापित हुन्छन् सोही गर्ने बताए । ‘हामीहरु मन्त्री खानको लागि कसैको घर धाउँदैनौं, राप्रपा कुनै दलको पुच्छर बन्नदैन, सरकारमा जानुपरेमा वा कसैलाई समर्थन गर्नुपरेमा कारणसहित गर्छौं,’ उनले भने । यस्तै, अध्यक्ष लिङ्देनले राप्रपाको उकालो यात्रा शुरु भएको बताएका छन् । उनले आगामी दिनमा सतर्कतापूर्वक अगाडी बढ्दै पार्टीलाई पहिलो बनाउने बताए ।
सफ्टवेरिका कलेजका चार सय बढी विद्यार्थी दीक्षित
काठमाडौं । नेपालमा विगत १२ वर्षदेखि सूचना तथा प्रविधिमा उच्च शिक्षा प्रदान गर्दै आएको सफ्टवेरिका कलेजका चार सय ६ जना विद्यार्थी शनिबार दीक्षित भएका छन् । याक एन्ड यति होटलमा भएको समारोहमा सफ्टवेरिका कलेजका कम्प्युटिङ र इथिकल ह्याकिङ विषयमा स्नातक गरेका ब्याच २६ र २७ का विद्यार्थीहरु दीक्षित भएको कलेजका अध्यक्ष विज्ञान श्रेष्ठले जानकारी दिए । दीक्षान्त समारोहमा बोल्दै सूचना तथा प्रविधि विभागका महानिर्देशक प्रेमशरण श्रेष्ठले सूचना तथा प्रविधिको विकास गर्दै कृषि, पर्यटन, शिक्षा, आर्थिक, स्वास्थ्य, उद्योग तथा भौतिक पूर्वाधारको क्षेत्रमा आर्थिक तथा सामाजिक रुपान्तरण गराउन नेपाल सरकार लागि परेको बताए । उनले सार्वजनिक सेवा प्रवाह चुस्त बनाउन, विद्युतीय शासन प्रणाली मजबुत गराउन विद्यार्थीहरुले हासिल गरेको सीप र ज्ञानलाई सरकारले उचित प्रयोग गर्ने वातावरण सिर्जना गर्ने पनि उक्त समारोहमा बताए । दीक्षित विद्यार्थीहरुलाई कामको अवसर उपलब्ध गराउन कलेजले लिपफ्रग, इसेवा, खल्ती, उपायसिटी कार्गो, हिटाची इनर्जी, टेकक्राफ्ट, इन्फो डेभलपर्स, जेनेसस, कोड हिमालय, इजोन इन्टरनेसनल, ब्रज टेक्नोलोजीलगायतका ३० भन्दा बढी कम्पनीसँग सहकार्य गरेको छ । कलेजले स्नातक तथा स्नातकोत्तर दुवै तहमा बेलायतको कोभेन्ट्री विश्वविद्यालयको आइटी पाठ्यक्रम अध्यापन गराइरहेको छ । सूचना तथा प्रविधिका विषयमा नेपालमै गुणस्तरीय उच्च शिक्षा प्रदान गर्ने उद्देश्यले हालै एमएससी डेटा साइन्स एन्ड कम्प्युटेसनल इन्टेलिजेन्स विषयको पठनपाठन पनि सुरु गरेको छ । यसबाहेक सिस्को सर्टिफाइड कोर्स, सर्टिफाइड इथिकल ह्याकिङ र अन्य आइटीसम्बन्धी पाठ्यक्रमका कक्षा सञ्चालन गरेको कलेजले जानकारी दिएको छ ।