विकासन्युज

उदयपुरको कृषि प्राविधिकका विद्यार्थीले च्याउखेतीबाट मनग्य आम्दानी लिँदै

कटारी । उदयपुरको कटारी नगरपालिका–४ स्थित त्रिवेणी माविका कृषि प्राविधिकतर्फका कक्षा ११ का विद्यार्थीले च्याउखेतीबाट आम्दानी लिन थालेका छन् । उनीहरुले आम्दानी लिँदा यस क्षेत्रको च्याउ पारखीहरूलाई ताजा च्याउको स्वाद पनि मिलेको छ । कक्षा ११ को सैद्धान्तिक अध्ययनसँगै विद्यार्थीले अभ्यासमार्फत च्याउखेती गरेका हुन् । ‘किताब पढ्नेमात्रै होइन यसलाई व्यवहारमा उतार्नका लागि खेती गरेका हौं’, छात्र विवश लामिछाने भन्छन्, ‘भविष्यमा यही खेतीबाट आम्दानी गरेर जीविकोपार्जन पनि गर्न सकिन्छ नि ।’ २२ विद्यार्थीले ८० हजारको लागतमा सुरु गरेको च्याउखेतीबाट पहिलोपटकमै ४० हजार आम्दानी लिइसकेका छन् । दुई टनेलमा गरिएको खेतीबाट चार पटकसम्म च्याउ उत्पादन निकाल्ने तयारी विद्यार्थीको छ । पढाइसँगै सीप र आम्दानीबाट पढाइका लागि च्याउखेती गर्दै आएका विद्यार्थी बताउँछन् । ‘यसको आम्दानीले विद्यालयमा लाग्ने खर्चमा खर्च गर्छौं’, छात्र सन्देश भण्डारीले भने, ‘पढाइसँगै सीप पनि सिक्छौँ र पढ्न खर्च पनि बनाउँछौँ ।’ भविष्यमा च्याउखेतीबाट पनि आम्दानी लिन सकिने उद्देश्यले कक्षाबाट बचेको समयमा च्याउखेती गरिरहेको छात्रा कल्पना भण्डारीले बताए । कटारीमा च्याउको मागअनुसार उत्पादन नभएको पाइएपछि च्याउखेती गरिएको विद्यार्थीको भनाइ छ । विद्यार्थीलाई सुरुमा लगानी विद्यालयले नै गर्ने गरेको छ । विद्यालयको लगानीबाट नाफा निस्किएको रकम विद्यार्थीले नै बाँडेर पढाइलगायत अन्य खर्च गर्न सक्नेछन् । विद्यार्थीलाई अध्ययनसँगसँगै अभ्यास पनि हुने भएकाले प्रभावकारी हुने विद्यालयका प्रधानाध्यापक वालकृष्ण कार्की बताएँछन् । ‘पढेको सीपलाई व्यावसायिक रूप दिनलाई यो कार्य विद्यार्थीले नै सञ्चालन गर्ने गरेका छन् ।’ दिवा समयमा विद्यालयको कक्षा कार्यसँगै विद्यार्थीले च्याउको अवस्था र यसलाई कसरी राम्रो बनाउन सकिन्छ भनेर खट्ने गरेका छन् । उनीहरूले उत्पादन गरेको च्याउ विद्यालयमै बिक्री हुने गरेको छ । च्याउको माग बढ्दै गएको उनीहरू बताउँछन् । जाडो मौसममा राम्रो उत्पादन हुने कन्या च्याउ लगाइएको जनाउँदै विद्यार्थीले सामूहिकरूपमा समेत यसको आम्दानीलाई खर्च गर्ने बताउँछन् । यस विद्यालयका विद्यार्थीले यसअघि गएको तिहारमा सयपत्री फूलखेती गरेर पनि राम्रो आम्दानी गरेका थिए ।

नारायणगढ–मुग्लिङ सडक आजदेखि दैनिक ४ घण्टा बन्द हुने

नारायणगढ । नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि दैनिक चार घण्टा बन्द हुने भएको छ । सडकखण्डमा पर्ने पुल निर्माणका लागि भित्तो काट्नका लागि सवारी आवागमन दैनिक चार घण्टा रोकिने भएको हो । आजदेखि एक महिना दैनिक चार घण्टा सडक बन्द रहने नागढुङ्गा– मुग्लिन सडक आयोजना पश्चिम खण्ड नारायणगढ–मुग्लिनका आयोजना प्रमुख किरण कार्कीले जानकारी दिए । सडक बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म बन्द हुनेछ । भौगोलिकरूपमा कठिन ठाउँमा रहेका सिमलताल, कालीखोला, तुइन खोला र चिसेन्जी खोला पुल निर्माणका लागि पहाड काट्ने लगायतका कामका लागि सवारी आवागमन रोक्न लागिएको कार्कीले बताए । उनका अनुसार सडकखण्डमा १५ पुल निर्माणको काम भइरहेकामा नौ वटाको काम सम्पन्न भइसकेको छ । चारवटा पुल निर्माणका लागि ठाडो कडा पहाड काट्नुपर्ने भएका कारण यातायात सञ्चालन गर्दा जोखिम हुने भएपछि यातायात बन्द गरेर काम गर्नुपरेको आयोजनाले जनाएको छ । उक्त समयमा वैकल्पिक राजमार्ग प्रयोग गर्न जिल्ला प्रशासन कार्यालय चितवनले अनुरोध गरेको छ । नारायणगढतर्फबाट जाने यात्रुबाहक सवारीसाधनलाई पन्ध्रकिलो बजारबाट जुगेडीसम्म बिहान ११ बजे रोकिनेछ भने मालवाहक सवारीसाधनलाई भतेरी जङ्गलबाट रामनगरसम्म बिहान १०ः५० बजेदेखि नै रोकिने छ । काठमाडौँतर्फबाट आउने यात्रुवाहक सवारीलाई मुग्लिन बजारबाट मनकामना केवलकार गेटसम्म र पोखरातर्फबाट आउने यात्रुवाहक सवारीसाधनलाई बेनीटारबाट पावर हाउससम्म बिहान १०ः५५ बजे रोकिने छ । काठमाडौँतर्फबाट आउने मालवाहक सवारीलाई लेबाटारमा र पोखरातर्फबाट आउनेलाई मालवाहक सवारीलाई आँबुखैरहनीमा बिहान १०ः४५ बजे रोकिने छ । बिहान ११ बजेदेखि ३ बजेसम्मको समयमा एम्बुलेन्स, दमकललगायतका अत्यावश्यकीय सवारीलाई अनुकूलता हेरी छोडिनेछ । नारायणगढ–मुग्लिङ सडकखण्डमा रु एक अर्ब २५ करोडको लागतमा विश्व बैंकको सहयोगमा पुल निर्माण भइरहेको छ ।

‘सिटामोल र जीवनजलका लागि पाँच घण्टा धाउनुपर्दैन’

गोरखा । विकट उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–३ स्थित न्याकमा सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरिएको छ । गाउँपालिकाले स्वास्थ्यकर्मी र औषधिको व्यवस्थापन गरेर विकट न्याकमा स्वास्थ्य एकाइ सञ्चालनमा ल्याएको गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिए । स्वास्थ्य एकाइ नहुँदा स्थानीय बासिन्दा सिटामोल र जीवनजलका लागि समेत झण्डै पाँच घण्टाको बाटो धाउनुपर्ने बाध्यता रहँदै आएको थियो । एकाइ स्थापना भएसँगै न्याकवासीको आधारभूत स्वास्थ्य सेवामा सहज पहुँच पुगेको गाउँपालिकाका अध्यक्ष लामाको भनाइ छ । ‘न्याकवासीलाई आधारभूत स्वास्थ्योपचारका कठिनाइ थियो’, उनले भने, ‘गाउँपालिकाले पालिकावासीमा आधारभूत स्वास्थ्योपचारको सहज पहुँच पुर्याउने लक्ष्यअनुसार एकाइ स्थापना गरिएको हो ।’ न्याकमा ४० घरपरिवारको बसोबास रहेको जनाइएको छ । ‘त्यहाँका बासिन्दा सामान्य स्वास्थ्योपचारका लागि समेत गाउँपालिकाको केन्द्र रहेको फिलिमसम्म आउनुपर्ने बाध्यता थियो’, उनले भने, ‘गाउँपालिकाले आवश्यक स्वास्थ्यकर्मीसमेतको व्यवस्था गरी न्याकमै औषधिसहित एकाइ स्थापना गरेपछि अब घरआँगनमा उपचार सेवा पाउने भएका छन् ।’ अध्यक्ष लामाले न्याकमा स्वास्थ्य एकाइ स्थापना हुनु स्थानीय बासिन्दाका लागि मात्र नभएर समग्र गाउँपालिका समेत खुसीको कुरा भएको बताए । गाउँपालिका तथा वडा कार्यालयबाट समेत भौगोलिक हिसाबले टाढा पर्ने स्थानीयवासीले लामो समयदेखि स्वास्थ्यचौकी स्थापना गर्न माग गर्दै आएका थिए ।

प्राचीन कपिलवस्तु राज्यको राजधानी नगर तिलौराकोटको जग्गा अधिग्रहण, प्रतिकठ्ठा १८ लाख

काठमाडौं । प्राचीन कपिलवस्तु राज्यको राजधानी नगर तिलौराकोट वरिपरि रहेको पुरातात्विक महत्वको जग्गा अधिग्रहण गरिने जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जनाएको छ । साथै, अधिग्रहण हुने जग्गाको मुआब्जा समेत निर्धारण गरिएको छ । संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय अन्तर्गत रहेको पुरातत्व विभागले प्राचीन कपिलवस्तु राज्यको राजधानी नगर तिलौराकोटको किल्ला पर्खाल भन्दा बाहिर रहेको महत्वपूर्ण पूरातात्विक संरचनाहरु संरक्षण गरी विश्व सम्पदा सूचीमा सूचिकृत गर्ने भएको हो । पुरातात्विक वस्तु भेटिएका ठाउँहरुको जग्गा स्थायी रुपमा अधिग्रहण गर्न जग्गा प्राप्ति ऐन २०३४ बमोजिम अधिग्रहण गरिने भएको हो । जग्गाहरुको मुआब्जा (मूल्य) निर्धारण गर्न पुस ४ गते मुआब्जा निर्धारण समितिको बैठक बसी विभिन्न ठाउँको मुआब्जा निर्धारण गरिएको र सोही अनुसार मुआब्जा वितरण गर्ने निर्णय गरेको छ । सम्बन्धित जग्गाधनीहरुले मुआब्जा रकम दावी गर्न नागरिकताको प्रमाणपत्र, जग्गाधनी प्रमाणपूर्जा, चालु आर्थिक वर्षमा तिरो तिरेको रसिद लगायतका जग्गाको हकभोग सम्बन्धी सबुत निस्सा र आफूसँग भएको अन्य प्रमाण ३५ दिनभित्र पेश गर्नुपर्नेछ । साथै जग्गाको मुआब्जा लिन १० रुपैयाँको टिकट टाँसी रितपूर्वकको निवेदन सहित कपिलवस्तु संग्रहालय, कपिलवस्तुमा सम्पर्क राख्नुपर्नेछ । तोकिएको म्यादभित्र निवेदन नदिई म्याद गुजारेमा कानून बमोजिम हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । अधिग्रहण गरिने जग्गाहरुमध्ये मुआब्जा वितरणका लागि सहायक पीच सडकमा जोडिएको जग्गाको प्रतिकठ्ठा १८ लाख १६ हजार ५ सय रुपैयाँ र कृषि योग्य जग्गाको प्रतिकठ्ठा ८ लाख ७६ हजार ७५० रुपैयाँ मूल्य तोकिएको छ । साथै, सहायक पिच बाटोमा पर्ने गोबरी ८ क कित्ता नम्बर १२४ को जग्गा अधिग्रहण गरिने भएको छ । यस्तै, कृषि योग्ग जग्गामा पर्ने गोबरी ८ क.का कित्ता नम्बर ५, ६, ७, ९, १०, ११, १३, १४, १७, १८, २५, २६, ३१, ३२, ३३, ३४, ३५, ३६, ३७, ४०, ४१, ४२, ४४, ४५, ४६, ४७, ४८, ६४३, १०१३, १२५८, १२५९, १२६३, १३६६, १३६७, १३६८ र गोबरी ८ ख.का कित्ता नम्बर १०४, २०६, ३५८, ३५९, ३६०, ३६१, ३६३, ३६४, ३६५, ३६६ मा रहेको जग्गा अधिग्रहण गरिने कपिलवस्तु प्रमुख जिल्ला अधिकारीले जानकारी दिए ।

काँक्रो खेतीबाट वार्षिक छ लाख आम्दानी गर्दै नवलपरासीका किसान

नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिका–१ जुकेपानीका किसान अहिले काँक्रो टिप्न र बिक्री गर्नमा निकै व्यस्त छन् । कृषि पकेट क्षेत्रका रूपमा परिचित जुकेपानी क्षेत्रका किसानलाई काँक्रो टिप्न भ्याइनभ्याइ छ । व्यावसायिक काँक्रोखेती गरेका किसानको घरमा मेला जाँदाजाँदै काँक्रोखेती लगाउन सिकेकी ठिस्मा रानाले अहिले काँक्रोबाट मनग्य आम्दानी गरिरहेकी छन् । १२ हजारको लगानीमा दुई वर्षअघि काँक्रोखेती सुरु गरेकी उनले पहिलो वर्ष खर्च कटाएर ६७ हजार आम्दानी गरेको बताइन्। ‘एक बाली धान लगाएर काँक्रो लगाउने गरेकामा अहिले तीन बालीसम्म काँक्रोमात्रै लगाउने गरेका छौँ’, किसान रानाले भनिन् । सात हजारको लगानीमा अहिले उत्पादन सुरु भएको काँक्रोबाट ३३ हजार आम्दानी आइसकेको भन्दै उनले भनिन्, ‘आफैँले मेहेनत गरेर कमाउने भएपछि निकै खुसी मिल्ने रैछ, ऋण खोज्न परेको छैन, अहिले परिवार पाल्न आम्दानीको स्रोत नै यही भएको छ ।’ कृषि पकेट क्षेत्रका रूपमा परिचित हुप्सेकोट गाउँपालिकाको वडा १ मा किसान काँक्रो नलगाउने कमै मात्र भेटिन्छन् । आम्दानीको स्रोत कृषि भए पनि व्यावसायिकरूपमा आम्दानी लिन नसकेका किसान अहिले काँक्रोखेतीमा आकर्षित हुँदै आएका छन् । वर्षमा तीन बालीसम्म यहाँका किसानले काँक्रोखेती लगाउँदै आएका छन् । धान बालीमात्रै लगाउँदै आएकी दिलमाया परियारले काँक्रोबाट मनग्ने आम्दानी गर्न सकिने थाहा पाएपछि चार वर्षदेखि व्यावसायिकरूपमा काँक्रोखेती लगाउँदै आएकी छन् । ‘दुई कठ्ठामा लगाएको काँक्रोबाट खर्च कटाएर वर्षमा करिब दुई लाख आम्दानी हुने गरेको छ’, उनले भनिन्, ‘यसरी गाउँमै आम्दानी लिन सकिने सोचाइ पहिल्यै आएको भए श्रीमान्लाई विदेश पठाउनुपर्ने थिएन, मेहेनत गर्ने हो भने विदेशमा भन्दा स्वदेशमा राम्रो आम्दानी गर्न सकिने रहेछ ।’ यस क्षेत्रमा १५ कठ्ठामा काँक्रो लगाएका किसानले खर्च कटाएर वर्षमा छ लाखसम्म आम्दानी गर्दै आएका छन् । यहाँ उत्पादित काँक्रो व्यपारीले खरिद गरी काठामाडौँ पठाउने गर्दछन् । किसान र व्यापारीबीच बिचौलिया नभए अझै राम्रो आम्दानी गर्न सकिने किसान बताउँछन् । हुप्सेकोट गाउँपालिकाको वडा नं १, ३ र ४ वडामा काँक्रोखेती हुँदै आएको छ । यहाँको करिब दुई सय बिघा क्षेत्रफलमा समूह र व्यक्तिगत गरी किसानले काँक्रोखेती लगाउँदै आएका छन् । समूह र व्यवसाय दर्ता गरी काँक्रोखेती लगाएका किसानलाई ५० प्रतिशत अनुदानमा बीउ, प्लास्टिक मल्चिङ्क, प्याकेजिक प्लास्टिक, तौल काटा, डोरीलगायतका सामग्री गाउँपालिकाले सहयोग गर्दै आएको हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले बताइन्। गाउँपालिका क्षेत्रबाट उत्पादन हुने तरकारीजन्य वस्तुको बजारीकरणमा गाउँपालिकाले सहयोग गर्दै आएको अध्यक्ष पाण्डेको भनाइ छ ।

लाभांश बिना ईमर्जिङ नेपालले डाक्यो साधारणसभा

काठमाडौं । ईमर्जिङ नेपालले सातौं वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको सञ्चालक समितिको ३ गते बसेको बैठकले पुस २८ गते काठमाडौंको बानेश्वर ब्याङ्गकेटमा ११ बजे वार्षिक साधारणसभा बोलाएको हो । कम्पनीले यस वर्ष सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ । लाभांश बिना नै कम्पनीले साधारण सभा बोलाएको हो । संचालक समितिको आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन सहित आर्थिक वर्ष २०७८/७९ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण, आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षण गर्नका लागि बाह्य लेखापरीक्षक नियुक्ति गर्ने तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गर्नेछ । यस्तै, कम्पनीको सहायक कम्पनी होटल एलिस द बोण्डर इनको आर्थिक वर्ष २०७८/७९ को वित्तीय विवरणसहितको एकीकृत वित्तीय विवरण स्वीकृत गर्ने र सर्वसाधारण सेयरधनीहरुको तर्फबाट कम्पनीको सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने एक जना सञ्चालकको निर्वाचन गर्नेछ । कम्पनीले साधारण सभा प्रयोजनार्थ पुस १३ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले पुस १२ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भइ कायम सेयरधनीले सभमा भाग लिन पाउने छन् ।

एनसीसी बैंकका ३० वटा शाखा कार्यालय स्थानान्तरण हुँदै, लिजहोल्ड सम्पत्ति बेच्ने

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी) ले शाखा कार्यालयमा भएका सम्पत्तिहरु बिक्री गर्ने भएको छ । बैंकका देशभरिका विभिन्न शाखा, एक्स्टेन्सन र काउण्टर गरी ३० वटा कार्यालय स्थानान्तरण गर्ने भएकाले उक्त कार्यालयमा जडान भएका फर्निचर, फिक्स्चर, उपकरण र लिजहोल्ड सम्पत्ति बिक्री गर्ने भएको हो । बैंकले उक्त सम्पत्ति जे जस्तो अवस्थामा छ, सोही अवस्थामा बिक्री गर्ने भएको हो । उक्त स्थानमा आफ्नो कार्यालय संचालन गर्न ईच्छुक खरिदकर्ता व्यक्ति, फर्म, कम्पनी, बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, सहकारी संस्थाहरू वा अन्य ईच्छुक आवेदकले १५ दिन भित्र शिलबन्दी प्रस्ताव पेश गर्नुपर्नेछ । उक्त शाखामा भएको सम्पत्ति खरिद गर्न इच्छुकले बैंकको बागबजार स्थित सामान्य प्रशासन विभाग वा बैंकको नजिकको शाखा कार्यालयहरूमा सम्पर्क गर्नुपर्नेछ । साथै प्राप्त भएका प्रस्तावहरू स्वीकार गर्ने र आंशिक स्वीकार गर्ने वा नगर्ने सम्पूर्ण अधिकार बैंकमा नै निहित रहने बैंकले जनाएको छ । बैंकले सुनसरीको इटहरी, झापाको दमक, महत्तोरीको बर्दिबास, सर्लाहीको बरहथवा, हरिवन, काभ्रेको बनेपा, भक्तपुरको थिमि, काठमाडौंको कीर्तिपुर, नयाँबजार, चितवनको खोलेसिमल, टाँडी, चनौली शाखाको सामान बिक्री गर्ने भएको हो । यस्तै, मकवानपुरको हेटौडा, तनहुँको भिमाद, बाग्लुङ, म्याग्दीको बेनी, कास्कीको बिरौटा, अमरसिंह चोक, लेखनाथ, कपिलवस्तुको चन्द्रौटा, नवलपरासीको परासी, दाङ्गको घोराही र तुल्सीपुर, बाँकेको कोहलपुर, सुर्खेतको विरेन्द्रनगर, बाबियाचौर, डडेलधुरा शाखा र कैलालीको बुडर एक्स्टेन्सन काउण्टर, र चितवनको माडी एक्स्टेन्सन काउण्टरमा रहेका सामानहरु बिक्री गर्ने बैंकले जनाएको छ ।

१५ दिनभित्र साइन बोर्ड हटाउन महानगरको निर्देशन, ३० हजारसम्म शुल्क

काठमाडौं । काठमाडौं महानगरपालिकाले साइन बोर्ड हटाउन निर्देशन दिएको छ । काठमाडौं महानगरपालिका क्षेत्रभित्र व्यापार गर्ने संघ संस्था, वित्तीय संस्था, सरकारी तथा गैह्र सरकारी संस्थाहरुले ३० वर्ग फिटभन्दा ठूलो आकारको साइन बोर्ड तत्काल हटाउन निर्देशन दिएको हो । आफ्नो व्यवसाय वा कार्यालय परिसरमा व्यवसाय वा कार्यालयको पहिचान दिन राखिने परिचय पाटी (साइन बोर्ड) ३० वर्ग फिटभन्दा ठूलो नराख्न तथा राखेको भए हटाउन यसअघि महानरपालिकाले आग्रह गरेको थियो । पुनः सूचना प्रकाशन गरी उक्त आकारका परिचय पाटी सम्बन्धित पक्षले नहटाएको हुँदा अबको १५ दिनभित्र ३० वर्ग फुटभन्दा ठूला बोर्ड हटाउन अनुरोध गरेको छ । यदि महानगरपालिकाको सूचनालाई अवज्ञा गरेर सम्बन्धित पक्षले पाटी नहटाएमा महानगरपालिकाको टोलीले इटाउने छ । हटाउन लाग्ने खर्च समेत सम्बन्धित पक्षबाट नै असुल उपर गराइने महानगरपालिकाले बताएको छ । साथै महानगरपालिका क्षेत्रमा व्यवसाय वा कार्यालयले परिचय पाटी (साइन बोर्ड) राख्दा वार्षिक रूपमा बुझाउनुपर्ने शुक्ल पनि तोकेको छ । ६ वर्ग फुटसम्मको परिचय पार्टी राख्दा ५ सय रुपैयाँ र १५ वर्ग फुटसम्मको १ हजार ५ सय रुपैयाँ वार्षिक शुल्क तिर्नुपर्नेछ । यदि ५ वर्ग फुटभन्दा माथि ३० वर्ग फुटसम्मको परिचय पाटी राख्दा प्रति वर्ग फुट १ हजार रुपैयाँ बढी तिर्नुपर्नेछ । १६ वर्ग फुटको १६ हजार रुपैयाँ, १७ वर्ग फुटको १७ हजार रुपैयाँ गरी क्रमिक ३० वर्ग फुटसम्मको ३० हजार रुपैयाँ शुल्क तोकिएको छ ।