विकासन्युज

हिमालयन बैंकको १९.११ प्रतिशत लाभांश घोषणा, बोनस भन्दा नगद बढी

काठमाडौं । हिमालयन बैंकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकको पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई १९.११ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत बोनस सेयर र ११.११ प्रतिशत नगद गरी कूल १९.११ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भइ आगामी साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरुलाई वितरण गरिनेछ ।

सिभिल बैंकको लाभांश घोषणा

काठमाडौं । सिभिल बैंकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकको पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई ५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र ०.२६ प्रतिशत नगद गरी कूल ५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकको हाल चुक्ता पूँजी ९ अर्ब ७ करोड ५८ लाख ४३ हजार रुपैयाँ रहेको छ । बैंकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भइ आगामी साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरुलाई वितरण गरिनेछ ।

अहिले साना ऋणीको डिफल्ट बढी छ, भविष्यमा ठूलाको बढ्न सक्छ : सुमन शर्मा

सुमन शर्मा, प्रमुख कार्यकारी अधिकृत-सनराईज बैंक लिमिटेड पटक पटक अर्थतन्त्र संकटमा पर्दा पनि बैंकहरुको अवस्था विगत २ दशकमा राम्रो देखिन्थ्यो । तसर्थ लगानीकर्तादेखि जागिर खानेहरु सबैको पहिलो छनौटको क्षेत्रमा बैंकिङ क्षेत्र रह्यो । तर पछिल्लो समय बैंकिङ क्षेत्र तनावमा छ । कर्मचारी पनि तनावमा देखिन्छन् भने सेयरधनीको हात पनि खाली हुन थालेको छ । यसपालिको आर्थिक संकटले बैंकहरुलाई पनि नराम्ररी सताएको छ । त्यतिमात्र होइन, ऋणीहरु सडकमा ओर्लेर बैंकर्सको आलोचना गरिरहेका छन् । किन यस्तो अवस्था आयो र अबको विकास कसरी होला ? प्रस्तुत छ यहि विषयमा केन्द्रित भएर सनराईज बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मासँग विकासन्युजका लागि प्रधान सम्पादक रामकृष्ण पौडेलले गरेको विकास वहस यस पटक । सनराईज बैंकले गत वर्षको नाफाबाट लाभांश नदिने निणर्य गर्यो, किन त्यस्तो भयो ? पहिला बैंकमा पुँजी धेरै, बिजनेश थोरै थियो । अहिले पुँजी र बिजनेशको सन्तुलन मिलेको छ । माघ २०७७ देखि पुस २०७८ सम्मको अवधिमा हामीले करिब ४० प्रतिशतले बिजनेश ग्रोथ गर्यौ । त्यसको परिणाम चालु आर्थिक वर्षको पहिलो त्रैमासमा गत वर्षको पहिलो त्रैमासमा तुलनामा ५४ प्रतिशतले व्याज आम्दानी बढेको छ । गत वर्ष हामीले २२ प्रतिशतले निक्षेप बढायौं, जबकी बैंकहरुको निक्षेप औसत ग्रोथ ८ प्रतिशतभन्दा कम छ । सो कारणले गत वर्ष बैंकको कुल व्याज आम्दानी उच्चदरले बढेको छ । यस आर्थिक वर्षको पहिलो त्रैमासमा कर्जा डिफल्ट बढेकोले, इन्ट्रेस्ट सस्पेन्स तथा एनबीए (नन बैंकिङ एसेट) बढेको छ । त्यसको नकारात्मक असर वितरणयोग्य नाफामा परेको छ । सनराईज बैंकको मात्र डिफल्ट बढेको होइन । सबै बैंकको बढेको छ । किनकी अर्थतन्त्र संकटमा छ । कर्जा असुलीमा ठूलो समस्या छ । व्यापारीहरुले बिजनेस ३०/४० प्रतिशत घटेको बेलामा बैंकको कर्जा डिफिल्ट हुनु स्वाभाविक हो । गत वर्षकै कुरा गर्ने हो भने इन्ट्रेस्ट सस्पेन्ड पनि बढ्यो । कर्जा डिफल्ट पनि बढ्यो । लोन लस प्रोभिजन पनि बढ्यो । र, हामी जस्तो सानो बैंकको डिबेन्चर रिटेन्सन रिर्जभ ठूलो भयो । गत वर्ष ७५ करोड रुपैयाँ डिबेञ्चर रिडेम्सन रिर्जभमा राखेका छौं । यो रकम अन्तिममा सेयरधनीकै हो । डिबेञ्चरको अवधि सकिएपछि त्यो सेयरधनीले बोनस सेयरमा पाउनेछन् । गत वर्षको नाफाबाट सेयरधनीले जम्मा २ प्रतिशत मात्र लाभांश पाउने अवस्था रह्यो । त्यो कारणले हामीले लाभांश नबाँड्ने निणर्य गरेका हौं । वाह्य वातावरण राम्रो हुने वित्तिकै बैंकको अवस्थामा धेरै सुधार आउनेछ । बैंकिङ क्षेत्रमा यति ठूलो समस्या कसरी आयो ? कोरोना महामारी, विभिन्न देशमा कोरोनाका कारणले भएका लकडाउन, इन्धनको मूल्यवृद्धि लगायतको समस्याले विश्वभर मूल्य वृद्धि भयो । त्यसमाथि रसिया युक्रेन युद्धले विश्वभर नै बस्तु तथा सेवाको मूल्य ह्वात्तै बढ्यो । त्यसको असर नेपालको अर्थतन्त्रमा पनि पर्यो । बैदेशिक व्यापार घाटा बढ्यो । विदेशी मुद्रा संचिति घट्यो । डलर विदेशमा धेरै गएपछि नेपालको बैकिङ क्षेत्रमा तरलता कमी भयो । बैंकहरुले निक्षेपको व्याज बढाए । निक्षेपको व्याज बढेको कारण बेसरेट बढ्यो । त्यसपछि कर्जाको व्याज पनि बढ्न थाल्यो । ८ प्रतिशतमा गएको होमलोनको व्याज १२ प्रतिशत पुग्यो । ९ प्रतिशतमा गएको बिजनेश लोनको व्याज १३/१४ प्रतिशत पुग्यो । कर्जाको व्याज ५० प्रतिशतसम्म बढ्दा ऋणीको आम्दानी सोही अनुसार बढेन । बरु कोरोना महामारीकै कारण कति ऋणि बेरोजगार भए होलान् । कतिको बिजनेश ठप्प भयो होला । यहि बेला नेपाल राष्ट्र बैंकले कोरोना महामारीको समयमा दिएको कर्जा सुविधाहरु हटायो । सबै किसिमले ऋणीहरुलाई नराम्ररी असर गर्यो र ऋण तिर्ने क्षमतामा ह्रास हुन गयो । मूल्यवृद्धिसँगै उपभोगमा गिरावट आएको छ । बजारमा मन्दी छाएको छ । बस्तु तथा सेवा बिक्री ज्यादै कम भएको छ । त्यसैले बैंकको कर्जा असुली पनि हुन सकिरहेको छैन । बैंकहरुको खराब कर्जा बढेको छ । कर्जा असुलीको सूचना, सम्पत्ति लिलामीको सूचना धेरै नै बढेको छ । सबै बैंकमा यो समस्या हुनुपर्छ । चालु आर्थिक वर्षको अन्त्य कस्तो होला ? सीडी रेसियो टाइट नै भैराख्यो, ऋणीहरुको नगद प्रवाह रोकियो र बैंकहरुले व्याज असुल गर्न थप कर्जा दिन्छन् भने बैंकहरुको डिफल्ट पक्कै पनि बढ्छ । पहिलो त्रैमासमा जे अवस्था देखियो चालु आर्थिक वर्षको अन्त्यसम्ममा पनि खास सुधार हुने सम्भावना धेरै कम छ । पहिलो त्रैमासमा कर्जा डिफल्ट भएको छ र यो समस्या क्षणिक होइन भने दोस्रो वा तेस्रो त्रैमासमा उसले भुक्तानी गर्छ भनेर विश्वास गर्न गाह्रो छ । किनकी बैंकको कर्जा किस्ता नियमित गर्न व्यवसायीले अधिकतम प्रयास गरेका हुन्छन् । जसको कर्जा डिफल्ट हुन्छ, उ संकटमा परिसकेको हुन्छ । पहिलो त्रैमासमा संकटमा परेको ऋणिले दोस्रो वा तेस्रो त्रैमासमा किस्ता तिर्छन भन्ने सम्भावना कम हुन्छ । यदि बैंकले कर्जा मिलाउन ऋणीलाई थप कर्जा दिन्छ भने त्यसको असर पछि वृहत भएर आउँछ र सो कार्य गर्नु हुँदैन । अहिले घर जग्गाको किनबेच पनि ज्यादै कम भएकोले ऋणीले धितो बेचेर पनि बैंकको कर्जा तिर्न कठिन छ । अहिले पनि केही बैंकहरुले राम्रो गरेका छन् । देशको अर्थतन्त्र संकटमा छ । गत एक आर्थिक वर्षमा २८० अर्ब रुपैयाँ बराबरको विदेशी मुद्रा संचिति घट्यो । त्यसले अर्थतन्त्रमा बहुआयामिक असर गर्यो । बाध्य भएर सरकारले विभिन्न वस्तु आयातमा रोक लगायो । राष्ट्र बैंकले विभिन्न वस्तुको आयातलाई निरुत्साहित गर्यो । सरकारको राजश्व समेत घट्दो ट्रेण्डमा गयो । उद्योग वाणिज्य महासंघ लगायत व्यवसायिक संघ संस्थाहरु सडकमा ओर्लेर आन्दोलन गर्ने अवस्था आयो । यस्तो अवस्थामा पनि बैंकहरुले राम्रो नतिजा ल्याउँछन् भने त्यस बैंकको धेरै नै तारिफ गर्नुपर्छ । थोरै बैंकले राम्रो नतिजा ल्याए पनि धेरै बैंकहरुको नतिजा पहिला भन्दा बिग्रिएको नै छ । कर्जा डिफल्ट व्यवसायिकबाट बढी छ कि व्यक्तिगतबाट बढी ? दुबैतिरबाट छ । व्यवसायिक क्षेत्रमध्ये पनि कुन क्षेत्रबाट बढी डिफल्ट आएको छ ? समग्रमा साना ऋणी समस्यामा छन् । एसएमई र रिटेलको क्षेत्रबाट कर्जा उठ्न सकेको छैन । कर्पोरेट लोनभन्दा एसएमई लोन सुरक्षित भन्दै बैंकहरुले गएको दशकमा साना व्यवसायीहरुलाई प्राथमिकताका साथ कर्जा प्रवाह गरेका थिए । के अहिले त्यहि साना कर्जा बढी जोखिमपूर्ण भएका हुन् ? स्वाभाविक रुपमा साना व्यवसायी कमजोर हुन्छन् । किनकी उनीहरुसँग एउटा मात्र व्यवसाय हुन्छ । त्यो संकटमा पर्दा उनीहरुसँग विकल्प हुँदैन । कर्पोरेट हाउसका ४/५ वटा यूनिट हुन्छन् । १/२ वटा यूनिट घाटामा जाँदै गर्दा अर्को १/२ वटा यूनिटले राम्रो नाफा गरिरहेको हुन्छ । यसका साथै पहिला कमाएको संचित नाफा पनि ऋणि कम्पनीसँग हुन्छ । त्यसकारण कर्जा तिर्ने क्षमताको हिसावले साना व्यवसायीसँग भन्दा ठूला व्यवसायीसँग नै बढी क्षमता हुन्छ । तर आर्थिक संकट लम्बिदै गयो भने ठूलो व्यवसायी पनि संकटमा पर्छन् । त्यतिबेला बैंकहरुले लागि साना ऋणीभन्दा ठूला ऋणी जोखिमपूणर् हुन्छन् । किनकी साना ऋणीसँग बैंकले जग्गा धितो पनि लिएको हुन्छ । कर्जा उठेन भने जग्गा धितो बेचेर पनि आफ्ना लगानी केही हदसम्म उठाउँछ । तर ठूला ऋणीले पर्याप्त धितो राखेका हुँदैन् । उनीहरुको कर्जा डिफल्ट भयो भने जग्गा धितो बेचेर धेरै कर्जा असुल नहुने सम्भावना बढी हुन्छ । व्यक्तिगत कर्जाको कुरा गर्नु हुन्छ भने कर्मचारीको तलब १० प्रतिशत बढेको होला । तर घर कर्जा वा गाडी कर्जाको व्याज ५० प्रतिशतसम्म बढेको छ भने उसले कहाँबाट पैसा ल्याएर कर्जा तिर्ने भन्ने समस्या हुन्छ । अहिले डिफल्ट भएका कर्जा भविष्यमा असुली हुने सम्भावना कति हुन्छ ? उनीहरुको धितोले धान्छ कि धान्दैन ? मैले बैंकमा काम गर्न थालेको २५ वर्ष भयो । यस अवधिमा सन् २०११ ताका केही जग्गाको मूल्य केही घट्यो । अघिपछि कहिल्यै जग्गाको मूल्य घटेन, बढ्यो मात्र । कुनै वर्ष दोब्बर मूल्य वृद्धि पनि भएको छ । जग्गाको मूल्य कहिल्यै घट्दैन भन्ने मनोविज्ञान समाजमा स्थापित भएको छ । बैंकहरुले पनि जग्गा धितो राखेर नै कर्जा लगानी गरेका छन् । ठूला ऋणी डिफल्ट भए भने बैंकलाई बढी जोखिम हुन्छ । साना ऋणीको कर्जा अहिले डिफल्ट भए पनि केही जाग्गा धितो हुन्छ । तर अहिले जोखिम के छ भने ऋणको व्याज उच्च छ । यो अवस्था लामो समय रह्यो भने घर जग्गाको मूल्य पनि घट्न सक्छ । अहिले बैंकहरुले धेरै जग्गा लिलामीमा राखेका छन् तर जग्गा बिक्री भएका छैनन् । दुई वर्षअघि ५० लाखको जग्गा अहिले एक करोड मूल्य पर्ने भएको हो फेरी ५० लाखमा झरि हाल्छ नि भन्ने मनोविज्ञान पनि पाइन्छ । त्यस्तै भयो उच्च मूल्य भएको बेला जग्गाधितोको आधारमा कर्जा प्रवाह भएको छ भने ती कर्जा बढी जोखिममा पर्छ । पेट्रोलियम पदार्थको मूल्य घट्न थालेको छ । विदेशी मुद्रा संचितिमा सुधार छ । विप्रेषण आयमा सुधार छ । पर्यटन क्षेत्रमा उत्साह बढ्दै गएको छ । सरकारले आयातमा गरिएको प्रतिवन्ध पनि खुलाएको छ । बैंकहरुमा तरलता पनि केही सहज भएको देखिन्छ । यी तथ्यहरुले आगामी दिनमा सुधारको संकेत गर्दैनन् ? चिसो बढेको कारण भाइरल भयो, ज्वरो आएको हो भने छिटो निको हुन्छ । तर अल्सर भएको कारण ज्वरो आएको छ भने निको हुन कठिन पनि हुन्छ, बढी समय पनि लाग्छ । व्यवसायिक समूदायको कुरा सुन्दा अहिले अर्थतन्त्रमा सामान्य ज्वरो मात्र आएको छैन । यसको उपचार लामो विधिबाट हुनुपर्छ । सरकारको आर्थिक नीति र मौद्रिक नीतिको तहबाट समस्याको समाधान खोजिनुपर्छ । मौद्रिक नीतिले समस्या सम्बोधन गर्न प्रयास गरेको छ तर आर्थिक नीतिले समस्याको समाधान खोजेको छैन । अहिले निक्षेपको व्याज बढेको छ । मानिसहरु उपभोगमा भन्दा बचतमा आकर्षित भएका छन् । व्याज बढेकोले कर्जाको माग छैन । पहिलो ७/८ प्रतिशत व्याजमा कर्जा पाइन्थ्यो भने अहिले १४/१५ प्रतिशत पर्छ, त्यो पनि पाइँदैन । कर्जा प्रवाह नहुँदा लगानी बढ्दैन, नयाँ रोजगारी सिर्जना हुँदैन । लगानी बढाउने, रोजगारी सिर्जना र माग वृद्धि गर्ने गरी नीतिगत रुपमा काम गर्न जरुरी छ । चालु पुँजी कर्जा सम्बन्धि कर्जाविधिको ऋणीहरुले खुबै विरोध गरेका छन् । बैंकहरुको नजरमा यो कार्यविधि राम्रो हो कि खराब ? बैंकहरुबीचको प्रतिस्पर्धा र केही उद्योगी व्यवसायीहरुको उच्च महत्वकांक्षाको कारणले चालु पुँजी कर्जा प्रवाह र उपयोग दुबैमा बेथितिहरु भेटिन्छन् । सबैले गलत काम गरेका थिएनन्, तर केहीले कर्जाको गलत प्रयोग गरको पाइएको छ । त्यसलाई रोक्न जरुरी थियो । राष्ट्र बैंकले पनि कर्जाको दुरुपयोग नहोस् भनेर नयाँ कार्यविधि जारी गरेको छ । वर्किङ क्यापिटल गाइडलाइन्सप्रति बैंकहरुको धेरै गुनासो छैन । किनकी बैंकमा काम गर्ने कर्मचारीहरु पारदर्शिता चाहान्छन् र सुरक्षित कारोबार चाहान्छन् । त्यसकारण समग्रमा बैंकर्सहरुले वर्किङ क्यापिटल गाइडलाइन्सलाई ठिकै मानेका छन् । केही केही सुधार जरुरी छ । जुन विषयमा बैंकर्सहरुले राष्ट्र बैंकलाई सुझाव दिएका पनि छन् । व्यवसायीहरुले त चालु पुँजी कर्जा कार्यविधि २ वर्षको लागि स्थगित गर्न माग गरेका छन् नि ? समस्या पालेर राख्नु हुँदैन । कसैले यो नियम २ वर्षअघि आउनु पर्दथ्यो पनि भन्न सक्छन् । कसैले २ वर्षपछि लागू गरेको भए हुन्थ्यो पनि भन्नसक्छन, जतिबेला देशमा धेरै लिक्विडिटी थियो । समयबारे विवाद जायज होइन । समस्या छ, सुधार पनि आवश्यक छ भन्ने सबैको बुझाई हो भने समस्या घटाउँदै जाने बाटो नै उपयुक्त हो । केही बुँदामा परिमार्जन आवश्यक छ, राष्ट्र बैंकले पनि संशोधनको संकेत गरेको छ । बैंकर्सहरु प्रति बिजनेशम्यानहरु निकै आक्रोशित देखिन्छन् । बैंकर्स र बिजनेशम्यानबीच यो तहको तिक्तता किन आयो ? बैंकहरु हेभिली रेगुलेटेड छन् । हामीहरु राष्ट्र बैंकले तोकेको सीमाभित्र रहेर काम गरिरहेका छौं । हामी पब्लिक फोरममा जे पायो त्यो बोल्दैनौं । तरलता छैन, बैंकले कर्जा दिएनन् भनेर गाली गरिन्छ । व्याजदर वृद्धि भयो, बैंकर्सको आलोचना भयो । आयात बढ्यो, बैंकर्सलाई गाली गरेका छन् । तरलता अभाव हुनुमा पनि बैंकर्स दोषी छैनन्, व्याजदर बढ्नुमा पनि बैंकर्स दोषी छैनन्, आयात बढ्नुमा पनि बैंकर्स दोषी छैनन् । यो सब माग र आपूर्तिको परिणाम हो । माटोको मोल र हिराको मोल किन फरक छ ? जुन वस्तु सजिलै पाइन्छ, माग थोरै छ, त्यो सस्तो हुन्छ । जुन वस्तु बिरलै पाइन्छ, माग धेरै छ, त्यो महँगो हुन्छ । यो त बजारको नियम हो । बैंकहरुले निक्षेपको व्याज योभन्दा बढ्नु राम्रो होइन भनेर अडान नलिएको भए अहिले के हालत हुन्थ्यो ? निक्षेपको व्याज १५ प्रतिशत नाघ्थ्यो होला, कर्जाको व्याज १८ प्रतिशत नाघ्थ्यो होला । त्यो अवस्था आउन नदिन बैंकर्सले खेलेको भूमिकाबारे न व्यवसायीहरु बोले, न पत्रकारहरुले नै लेखे । बैंकर्सहरु बोल्दैन भनेर उनीहरुमाथि चौतर्फी आक्रमण भएको छ । र वाणिज्य बैंकहरुलाई सफ्ट टार्गेटको रुपमा व्यवहार गरिएको छ । हिजो बेसरेट ७ प्रतिशत हुँदा बैंकहरुले ९ प्रतिशतमा कर्जा लगानी गरे । अहिले १० प्रतिशत बेसरेट हुँदा कर्जाको व्याज १४ प्रतिशत बनाए भन्ने व्यवसायीको गुनासो छ । यो प्रुडेन्ट बैकिङ भएन नि ? हिजो ७ प्रतिशत बेसरेट हुँदा ९ प्रतिशतमा कर्जा दिन्थ्यौं । अर्को बैंकले ८ प्रतिशत मै कर्जा दिने भयो, कि ८ प्रतिशत बनाउनु पर्यो कि अर्को बैंकमा जान्छौं भनेर वार्गेनिङ गर्थे । बेसरेटभन्दा कम व्याजदरका कर्जा लगे भनेर राष्ट्र बैंकले कतिलाई सचेत पनि गरायो । के त्यतिबेला व्यवसायीले म ९ प्रतिशत व्याजमा कर्जा लिन्छु भनेका थिए ? ? यो सबै डिमाण्ड एण्ड सप्लाईले निर्धारण गर्ने कुरा हुन् । केही बैंकहरुले पुराना ऋणीलाई एक/डेढ प्रतिशत मात्र व्याज बढाएका छन् । कुनै बैंकले पुराना ऋणीलाई ४/५ प्रतिशत नै व्याज बढाईदिएका छन् । यस्तो हुनुमा माग र आपूर्ति असर मात्र नभई व्यवस्थापकीय कौसलता, ऋणीप्रति बैंकर्सको सोचले पनि काम गरेको देखिन्छ नि ? समग्रमा बैंकहरुको स्प्रेडदरको सीमा ४.४ प्रतिशत मात्र हो । कसैलाई बेसरेटमा ५ प्रतिशत प्रिमियम लिएका पनि होलान् र कसैलाई बेसरेट प्लस २ प्रतिशत पनि होला । औषतमा हुने ४.४ प्रतिशतभन्दा माथि कुनै पनि बैंकले लिएका छैनन् । कुनै कर्जामा १७/१८ प्रतिशत व्याज पनि होला । त्यसको जोखिम पनि बढी छ भनेर होला । कसैले अहिले पनि ११/१२ प्रतिशत व्याजमा कर्जा पाएका होलान्, जसको जोखिम कम छ भनेर होला । राष्ट्र बैंकले पर्सनल ओडी, अटो लोन र सेयर लोनमा बढी क्यापिटल चार्ज तोकेकोले पनि यी कर्जाको व्याज महाँगो भएको हो । अन्त्यमा, धेरै बैंकहरु मर्जमा गए । अब त वाणिज्य बैंकमध्ये सबैभन्दा सानो बैंकमा सनराईज बैंक देखिन थाल्यो । मर्जबारे बैंकले के सोचिरहेको छ ? उहाँहरुले लगानीको प्रतिफल रेट र लगानीको सरक्षणलाई प्राथमिकता दिनुहुन्छ जस्तो लाग्छ, बैंकको साइज कत्रो भन्दा पनि । यो सामानय आर्थिक सिद्धान्त हो । यस बैंकले व्यापार निकै बढाएकोले गर्दा देशको आर्थिक अवस्था राम्रो भएमा अर्थात ऋणिको आर्थिक स्थिति सुध्रिएमा यस बैंकको प्रतिफल दिने क्षमता ह्वात्तै बढेको पाउनुहुनेछ । यो बैंक पारदर्शि र सुरक्षित छ । उचित पार्टनर पाएमा हामी मर्जमा जानेछौं । बैंकको साधारणसभा र सञ्चालक समितिले पनि उचित पार्टनर पाए मर्जमा जाने निणर्य गरेको छ ।

फरक भूमिका रूचाउने अभिनेता विपीन कार्की

काठमाडौं । अभिनेता विपीन कार्की आफ्ना चरित्रमार्फत चिनिन्छन् । लूट, छड्के, पशुपतिप्रसाद, नाका, हरिलगायतमा उनले निर्वाह गरेको चरित्रले पहिचान स्थापित गर्यो । फिल्म ‘जात्रा’पश्चात मात्र दर्शकले चिन्न थालेता पनि जात्रैजात्रा, प्रसाद, सेल्फी किङमार्फत आफूसँगै चरित्रमा भिन्नता ल्याउन सफल अभिनेता कार्की रङ्गमञ्च हुँदै ठूलो पर्दामा स्थापित भएका हुन् ।   उनले हरेक फिल्ममा आफूलाई पात्रमार्फत चिनाउन प्रयास गर्छन् । ‘जात्रा’ सिरिजमा अभिनेत्री वर्षा राउतका श्रीमान्को भूमिका निर्वाह गरेका अभिनेता कार्कीले ‘के घर के डेरा’ मा पिता बन्ने प्रस्ताव स्वीकार गरे। यद्यपि निर्देशक दीपेन्द्रकुमार खनालले श्रीमान्कै भूमिकमा ल्याए। उक्त भूमिकालाई अभिनेता कार्कीले ‘फूलबारी’ मा प्रयोग गरे । फिल्ममा उनी अवकाशप्राप्त शिक्षकको भूमिकामा छन्।   उनी वास्तविक उमेरभन्दा बढी देखिएका छन्  । प्रायः अभिनेताले उमेरभन्दा बढीको भूमिका नकार्ने गर्छन् । ‘म चरित्र बाँच्ने कोसिस गर्छु । त्यहाँ म पात्र हुँ । मैले सहजै भूमिका स्वीकार्ने गर्छु’, अभिनेता कार्कीले भने, ‘निर्देशकहरू दर्शकको भावना, मेकअप आर्टिस्टको कामले गर्दा पनि फरक गेटअप दिन रुचाएको पाउँदिन । यद्यपि म भने फरकरुपमै आफूलाई प्रस्तुत गर्न चाहन्छु ।’ उनी फिल्ममा दयाहङ राईको समेत अभिभावक बनेका छन् ।  प्राविधिक कठिनाइले गर्दा आफूले चाहेको चरित्र अझै पर्दामा ल्याउन नसकेको उनको गुनासो छ ।   अभिनेता राई अभिनेता कार्कीको चरित्र निर्माण र त्यसमा बिताउने समयदेखि प्रभावित छन् । ‘हामीले केही फिल्ममा सँगै काम गरेका छौँ । उनको चरित्रप्रतिको गम्भीरता र निर्माणमा गरेको मेहेनतले म जस्तो कलाकारलाई ऊर्जा दिन्छ’, अभिनेता राईले भने ।  अभिनेता राई र कार्कीले लूट सिरिज, जात्रैजात्रा र के घर के डेरामा सँगै काम गरेका छन् । उनी दुई अभिनित पछिल्लो फिल्म ‘फूलबारी’ आउँदो फागुन ५ गते प्रदर्शन हुँदैछ ।

माघे संक्रान्ति नजिकिएसँगै सर्लाहीका किसानलाई तरुल खन्न चटारो

सर्लाही । सर्लाहीका विभिन्न क्षेत्रका किसानलाई माघे सङ्क्रान्ति नजिकिएसँगै तरुल खन्ने चटारो बढेको छ । जिल्लाको शङ्करपुर, राजघाट, हजरिया, बरहथवा, जिरायत, कर्मैया हजरियालगायतका क्षेत्रमा व्यावसायिकरूपमा तरुल खेती हुने गरेको छ ।  माघे सङ्क्रान्ति नजिकिएसँगै  उनीहरुलाई चटारो बढेको हो । ती क्षेत्रका किसानले तरुल बिक्रीबाट बर्सेनि मनग्य आम्दानी गर्दै आएका छन् । बागमती नगरपालिका–५ राजघाट टेकानीका जगतबहादुर खुलाल मगरले यस वर्ष करिब एक बिघा क्षेत्रफलमा तरुल खेती लगाएका छन् । उनले गत वर्ष करिब रु तीन लाख ५० हजारको तरुल बिक्री गरेका थिए । अन्य खेतीका तुलनामा तरुल खेतीमा मेहेनत र खर्च कम फाइदा बढी हुने भएकाले १५ वर्षदेखि खेती गर्दै आएको उनले  सुनाए । यस वर्ष खेतबाटै व्यापारीले प्रतिकिलो एक सय १० मा तरुल खरिद गरेको बागमती–६ का किसान यमकुमार मगरले बताए । उनका अनुसार तरुल लिन व्यापारी किसानका  खेतमै पुगेका छन् । लामो समयदेखि तरुल खेती गर्दै आएका यामकुमारले यस वर्ष करिब १६ कट्ठा जमिनमा तरुल खेती गरेका छन्। उनले व्यापारीलाई प्रतिकिलो एक सय १० का दरले खेतैमा र काठमाडौँ पु¥याएर प्रतिकिलो दुई सय २० मा तरुल बेचेका छन् । खर्च कटाएर कट्ठाको करिब एक लाख आम्दानी भएको उनले बताए । तरुल खेतीबाट भएको आम्दानीले छोराछोरी पढाउने र घरव्यवहार चलाउन पुगेको उनको भनाइ छ । यहाँको तरुल स्वादिलो हुने भएकाले काठमाडौँलगायत देशका मुख्य ठूला सहरबाट अत्यधिक माग आइरहेको बागमती–८ का व्यापारी नुनुबाबु पण्डितले जानकारी दिए । यस क्षेत्रका किसानले पताले, झुसे, जाँते र रातो तरुल धेरै मात्रामा लगाउने गरेका छन् । तरुल खेती गर्न बलौटे तथा दोमट माटो उपयुक्त हुने किसानको भनाइ छ । बीउ, खनजोत, मलखाद र गोडमेलसमेत गरेर प्रतिकट्ठा करिब छ हजार लगानी हुने अर्का किसान रामबहादुर मगरले बताए । उनका अनुसार राम्रो उत्पादन हुँदा तरुल प्रतिकट्ठा करिब आठ क्विन्टलसम्म उत्पादन हुने गरेको छ । जिल्लामा मात्र यस वर्ष करिब तीन सय हेक्टर क्षेत्रफलमा तरुल खेती भएको कृषि ज्ञान केन्द्र मलङ्गवाका प्रमुख कमलदेवप्रसाद कुशवाहले बताए । उनका अनुसार समय तथा मेहेनत पनि कम लाग्ने र  सिँचाइ नभए पनि तरुल खेती राम्रो हुने भएकाले जिल्लाका किसान तरुल खेतीतर्फ बढी आकर्षित हुने गरेका छन् ।

शुक्लाफाँटा नगरपालिकामा मदिरा कारोबारलाई व्यवस्थित गरिँदै

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका क्षेत्रभित्र मदिराको कारोबारलाई व्यवस्थित गरिने भएको छ। नगरपालिकाको कार्यपालिकाको बैठकले व्यवसाय दर्ता तथा नवीकरणसम्बन्धी कार्यविधि तयार गरी मदिराको कारोबारलाई व्यवस्थित गर्ने भएको छ। मदिरा तथा सुर्तिजन्य पदार्थको कारोबार नगरपालिकाको मुख्य बजार गर्जमनी चोकबाट कलुवापुर चौराहसम्मको पूर्व–पश्चिम राजमार्गको उत्तर–दक्षिण दुई सय मिटर बजार क्षेत्रबाहेक अन्य सार्वजनिकस्थलभन्दा पाँच सय मिटर टाढामात्रै गर्न पाइने भएको छ। मदिरा बिक्री वितरण, व्यवस्थापन तथा नियमन निर्देशिका, २०७६ का शर्त पालना गर्न व्यवसायीले मञ्जुर गरेको व्यहोरा सम्बन्धित वडा कार्यालयबाट तयार पारिने स्थलगत मुचुल्कासँगै सिफारिसपत्रमा स्पष्टरूपमा उल्लेख भएको हुनुपर्ने व्यवसाय दर्ता शाखाका प्रमुख लक्ष्मीदत्त पाण्डेयले बताए। व्यवसाय दर्ताका लागि निवेदन, मुचुल्का र सिफारिस साथ आएका व्यवस्थायीको स्थानको निरीक्षण गरेरमात्रै अनुमति दिइने उनले बताए। ‘नगरपालिकासँग कानुनी प्रावधान नहुँदा विगतमा  विद्यालय, स्वास्थ्य संस्था, मठमन्दिरजस्ता धार्मिक महत्वका स्थान नजिकै मदिराजन्य र सुर्तिजन्य कारोबार गर्ने पसल राखिए थिए’, उनले भने, ‘त्यसलाई व्यवस्थित गर्न कार्यविधि तयार गरी कार्यान्वयनमा ल्याएको छ।’ मदिराको सेवनले गर्दा सार्वजनिकस्थलमा हुने अवाञ्छित क्रियाकलाप, हो–हल्ला, झै–झगडालगायतका कार्य नियन्त्रण गरी कानुनी कारबाही गर्नका लागि कार्यविधिले मार्गप्रशस्त गरेको उनको भनाइ छ। प्रचलित कानुन र कार्यविधिबमोजिम व्यवसाय दर्ता नगरी मदिरा, सुर्तिजन्य र अन्य कारोबार गरेको पाइएमा नगरपालिकाबाट प्रवाह हुने सम्पूर्ण सेवा सुविधा रोक्का गर्न सकिने कार्यविधिमा कानुनी प्रावधान राखिएको छ। ‘नेपाल सरकारको सहयोग लिई सरकारी निकाय तथा अन्य सार्वजनिक  संस्थानबाट प्रवाह हुने सेवा सुविधा रोक्का गर्न सकिने प्रावधान कार्यविधिमा राखेका छौं’, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकेन्द्रराज भट्टले भने, ‘तीन महिनाभित्र व्यवसाय दर्ता, नवीकरण नगरी व्यवसाय सञ्चालन गरेमा कार्यालयले कर तिर्न अटेर गर्ने व्यवसायीको व्यवसाय बन्द गरी लाग्ने कर, जरिवाना र अन्य दस्तुर प्रचलित कानुनबमोजिम असुलउपर गर्ने नियम बनाइएको छ।’ कार्यालयले ऐन तथा कार्यविधिबमोजिम तिर्नुपर्ने, बुझाउनुपर्ने कर रकम दाखिला नगर्ने व्यक्ति वा संस्थाको नाम कार्यपालिकाबाट निर्णय गरी सार्वजनिक गर्ने उनको भनाइ छ। कार्यविधिबमोजिम एकपटक नगरपालिका कार्यालयमा एक प्रकारको व्यवसाय दर्ता भइसकेपछि त्यसमा तोकिएको दस्तुर लिई एकै प्रकृतिको व्यवसायबाहेक अन्य प्रकृतिको व्यवसाय थप गर्न नपाइने भएको छ। नगरपालिकामा रहेका व्यवसायीले प्रचलित श्रम ऐन तथा श्रम सङ्गठनसँग सम्बन्धित कानुनको पूर्णरूपमा पालना गर्नुपर्ने प्रावधान कार्यविधिमा राखिएको छ। व्यवसाय सञ्चालनका क्रममा उत्पादन हुने औद्योगिक, स्वास्थ्य, संस्थाजन्य र हानिकारक फोहरमैलाबाहेक साधारण फोहरमैला नगरपालिकाले तोकेको सेवाशुल्क लिई व्यवस्थापन गर्ने कुरा जारी गरिएको कार्यविधिमा उल्लेख गरिएको छ। कार्यविधि जारी भएपछि व्यवसाय दर्ता, नवीकरणका लागि सहजीकरण हुने छ। अभिलेख व्यवस्थापन गर्न सहज हुने छ। नगरपालिकामा दर्ता भई सञ्चालनमा रहेका विभिन्न प्रकारका व्यापार व्यवसाय गर्ने फार्म, उद्योगको सङ्ख्या एक हजार ४६ रहेको छ। यसमा कृषिजन्य तीन सय १९ र पशुजन्य ८१ रहेका छन्। रासस

पोखरा फाइनान्सको लाभांश घोषणा

काठमाडौं । पोखरा फाइनान्सले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । फाइनान्सको पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई ४.२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । फाइनान्सले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ४ प्रतिशत बोनस सेयर र ०.२१ प्रतिशत नगद गरी कूल ४.२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । फाइनान्सले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भइ आगामी साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरुलाई वितरण गरिनेछ ।

अवैध संरचना हटाउँदै चन्द्रकोट गाउँपालिका

गुल्मी । गुल्मीको चन्द्रकोट गाउँपालिकाले सडक छेउछाउका टहरा तथा संरचना भत्काउने भएको छ । गाउँपालिकाले ३५ दिने सूचना निकाल्दै सडकको छ–छ मिटर दायाँबायाँ रहेका टहरा तथा संरचना हटाउन आग्रह गरेको छ । गत मङ्सिर २२ गते भएको कार्यपालिकाको निर्णयबमोजिम गाउँपालिकाको केन्द्र शान्तिपुर र अर्को मजुवा बजारको सडक छेउछाउका संरचना हटाउन लागिएको गाउँपालिकाका प्रवक्ता घनश्याम खरेलले जानकारी दिए । ‘कार्यपालिकाले सर्वसम्मत गरेको निर्णय हो’, उनले भने, ‘चन्द्रकोट गाउँपालिका निर्णय कार्यान्वयनमा प्रतिबद्ध छ ।’ गाउँपालिकाले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४५ बमोजिम सम्बन्धित ब्यक्ति, संस्था र निकायलाई सडक छेउछाउका टहरा र संरचना हटाउन अनुरोध गरेको हो । गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रकाशचन्द्र शर्माले तोकिएको समयभित्र संरचना नहटाएमा दफा ४५ को उपदफा ४ बमोजिम गाउँपालिकाले आफैँ हटाउने बताए । हटाउन वा भत्काउन लाग्ने खर्च सम्बन्धित व्यक्ति, संस्था र निकायबाट असुरउपर गरिने गाउँपालिकाले जनाएको छ । रासस