विकासन्युज

विदेशबाट फर्केर गाइपालन गर्दा वार्षिक १२ लाख आम्दानी गर्दै शशि बुढाथोकी

दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नं ८ दुधेनाका ४६ वर्षीय शशि बुढाथोकी व्यावसायिकरुपमा उन्नत जातका गाई पाल्दै आएका छन् । विगत १२ वर्षदेखि पशुपालन व्यवसाय गर्दै आएका उनले अहिले आफ्नो परिवारका तीनसदस्यसहित अन्य दुई जनालाई रोजगारी पनि दिएका छन् । यो पेसाबाट सन्तुष्ट भएका बुढाथोकी भन्छन्, ‘वार्षिक करिब दस लाखदेखि १२ लाखसम्म बचत गर्न सफल भएको छु, यसलाई सन्तोष नै मान्नुपर्छ ।’ बिहानको मिमिरे उज्यालोदेखि साँझसम्म प्राय गाईका बाच्छाबाच्छीको स्याहार सुसारमा व्यस्त रहने उनी धन कमाउनकै लागि १२ वर्ष पहिले साउदी अरब गएका थिए । त्यहाँ गएका नेपालीले पाएको दुःख देखेपछि अप्ठेरो पर्दा सहयोग गर्न नेपालीहरुसँग आर्थिक सहयोग सङ्कलन गरिएकामा गैरकानूनी भएको भन्दै साउदीका एक व्यापारीले प्रहरीलाई खबर गरेकाले आफू साउदी जेलमा परेको बुढाथोकी बताउँछन् । पछि नेपाली दूतावासको सयोगमा २०५६ सालमा नेपालमा फर्किएर गाईपालनमा लागेका उनले सुरुका वर्षमा आफ्नै घर जग्गामा एक लाख ५० हजार रुपैयाँको लगानीमा तीनवटा जर्सी गाई किनेका थिए । अहिले जर्सी क्रसजातका १४ वटा गाई र छ वटा बाच्छाबाच्छी उनीसँग छन् । एउटा जर्सी गाईको मूल्य एक लाखदेखि एकलाख ५० हजार रुपैयाँसम्म पर्छ । अहिले दैनिक ८० देखि ९० लिटर दूध तुलसीपुरका डेरी उद्योगमा बिक्री गर्दै आएको र केही दूध आफ्नै फार्मबाट स्थानीवासीले खरिद गरी लिने गरेका बुढाथोकी बताउँछन् । उक्त फार्ममा दूध खरिद गर्न आएकी तुलसीपुर उमहानगरपालिका वडा नं ८ निवासी सन्तोषी शर्माले आफ्नै घर आगनमा शुद्ध दुध खान पाइएको बताउँछन् । उनी भन्छन्, ‘यसअघि एक लिटर दूध किन्न गाउँभर घुम्दा पनि नपाएपछि तुलसीपुर बजारमा जानुपर्ने वाध्यता थियो तर अहिले घर छेउमा ताजा दूध पाउँदा खुसीलागेको छ ।’ सोही ठाउँकी गोमा शर्मा पनि आफूले घरमा तरकारीखेती गरेको र त्यसका लागि गाईको मल खरिद गर्ने गरेको बताए । बुढाथोकीको फार्ममा अहिलेसम्म ५० लाखको हाराहारीमा लगानी भइसकेको छ भने दुग्धजन्य पदार्थ र गाईबाच्छा बिक्रीबाट वार्षिक १८ देखि २२ लाख रुपैयाँसम्म आम्दानी हुने गरेको छ । आन्तरिक सबैजसो खर्च कटाएर वर्षमा कम्तीमा पनि १२ लाख रुपैयाँ बचत गर्दै आएका उनले यसअघि गाईपालनका लागि दुई बिघा जमिन भाडामा लिएपनि सिँचाइ अभावका कारण घाँस खेती गर्न नसक्दा समस्या परेको बताउँछन् । पर्याप्त घाँस उत्पादन नहुँदा दाना तथा पराल, चरनलगायत अन्य समाग्री खरीद गर्दा लागत खर्च बढ्न थालेको र उत्पादित दूधले बजार नपाएर घाटा व्यहोर्नु परेको बुढाथोकीको गुनासो छ । कम लगानीमा छोटो समयमा मनग्ये आम्दानी गर्न सकिने भएकाले अहिले उनको फार्ममा विभिन्न ठाउँबाट गाई हेर्न, जानकारी लिन तथा गाई खरिदका लागि मानिस आउने गरेका छन् । पढेलेखेकाहरु पैसा कमाउनकै लागि जागिर खानैपर्छ या विदेश नै जान नपर्ने र पढेको कुरा व्यवहारमा लागू गर्ने हो भने कृषि व्यवसाय गर्नुपर्ने बुढाथोकीको सुझाव छ । त्यसका लागि स्वयं युवा बर्र्गले एक सञ्जाल निर्माण गरेर गाईपालनका पूर्वाधार पहिचान गरी सहकार्यमार्फत् व्यवसायलाई अगाडि बढाउनुपर्ने र राज्यले पनि नारामा मात्र सीमित नभई व्यवहारिक रुपमै कृषि क्षेत्रलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याउनुपर्ने उनको धारणा छ । स्थानीय सरकारले कम्तीमा पनि गाईभैँसीको कृत्रिम गर्भधानलाई निःशुल्क गराएमा राहत मिल्ने बुढाथोकीको भनाइ छ । गाईपालनका लागि घाँस, दाना र स्थायी बजारको समस्या रहेको बताउने उनी दूध प्रशोधनका लागि चिस्यान केन्द्रसमेत नहुँदा दूधको सुद्धतामा उपभोगताहरुले आसङ्का गर्ने गरेको गुनासो गर्छन् । विभिन्न क्षेत्रबाट दिइने अनुदानको कार्यक्रमका बारेमा प्रश्न उठाउँदै अनुदान खाली प्रक्रियामुखी र आवश्यताभन्दा पनि कार्यक्रममुखी भएकोले त्यसको प्रभावकारिता नभएको बुढाथोकीको ठम्याइ छ । अनुदान लोकसेवा आयोगले माग्ने निवेदन जस्तो नभइ व्यवसाय सुरुवात गर्दा कृषकले थाहा नपाउनेगरी गोठमा आइपुग्ने किसमको हुनुपर्ने र पशु बीमाजस्तै पचहत्तर प्रतिशत सरकार र २५ प्रतिशत हामी कृषकले बुझाए पुग्ने हुनुपर्नेमा उनी जोड दिन्छन् । उत्पादित समाग्रीलाई बजार प्रबन्ध गर्न सकेमा किसानमा अझै ठूलो हौसला मिल्ने बुढाथोकीको सुझाव छ ।

हाम्रो पार्टी सरकारमा जाने पक्षमा छैन : ओली

काठमाडाैं । नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टी सरकारमा जाने पक्षमा नरहेको बताएका छन् । मंगलबार एमालेले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले यस्ताे बताएका हुन् । उनले सत्तारुढ गठबन्धनले सरकार गठनका लागि अनुचित, अपवित्र र फोहोरी उद्देश्य र अभ्यास गरिरहेको भन्दै आफ्नो पार्टी त्यसको विरुद्धमा रहेको बताए । ‘हाम्राे पार्टी सत्तामा रहेपनि, प्रतिपक्षमा रहेपनि राष्ट्र र जनताको हितमा सक्रिय र जिम्मेवार भूमिका निर्वाह गर्ने छ,’ उनले भने । यस्तै, उनले एमाले बाहेक अन्य दलसँग सरकार बनाएर के गर्ने भन्ने कुनै गन्तव्य नै नभएको बताएका छन् ।  

सहकारीमार्फत् व्यावसायिक कृषिमा जमेको जोडीले मासिक एक लाख आम्दानी गर्दै

सहजपुर । कैलालीको गोदावरी नगरपालिका वडा नं ८ मजगाउँकी सुस्मा चौधरी २६ ले व्यावसायिक कृषिबाट मासिक करिब एक लाख आम्दानी गर्छिन् । उनलाई श्रीमान् वीरेन्द्र चौधरीले साथ दिएका छन् । करिब पाँच वर्षअघि वैवाहिक बन्धनमा बाँधिएको यो जोडीले बिहेलगत्तै व्यावसायिकरुपमा कृषि सुरु गरेको थियो । ‘परिवार विगतदेखि कृषिमा भए पनि व्यावसायिक रुपमा भने काम भएको थिएन’, सुस्माले भनिन्, ‘बिहे भएपछि भने काम सुरु गरेका हौँ ।’ उनीहरुले व्यावसायिक खेती सुरु गर्नका लागि स्थानीय स्तरमा सञ्चालित सिजर्नशील महिला विकास बहुउद्देश्यीय सहकारी संस्थाबाट ऋण लिएका थिए । सहकारीबाट लिएको ऋणबाटै अहिले उनीहरु तरकारी खेती र कुखुरापालन गरिरहेका छन् । सुस्मा तरकारीखेतीमा बढी ध्यान दिन्छिन् भने बीरेन्द्र कुखुरापालनमा बढी समय खर्चन्छन् । ‘सुरुमा मौसमी तरकारीखेती मात्रै गर्ने गर्दथ्यौँ, बेमौसमी तरकारीखेती गर्न आउदैनथ्यो’, सुस्माले भनिन्, ‘तर अहिले मौसमी र बेमौसमी तरकारी उत्पादन गरिरहेका छौँ, बेमौसमी तरकारी उत्पादनका लागि सिर्जनशील सहकारीबाट सञ्चालित किसान परियोजना र युएसएआइडी नामक संस्थाले तालिम दिएको थियो ।’ तालिमका कारण तरकारीखेतीमै आत्मनिर्भर बन्न थप प्रेरणा मिलेको उनीहरुको भनाइ छ । तरकारीखेती सुरु गर्दा करिब ५० हजार मात्रै लगानी सुस्माले सुनाइन् । ‘सुरुमा त लगानी नै लागेन तर बेमौसमी तरकारीखेती सुरु गरेपछि ५० हजार जति लगानी लाग्यो’, उनले भनिन्, ‘अहिले बारीमा टमाटर, खुर्सानी, काउली, बन्दा र प्याज छन् । काँक्रा र बोडी भने भर्खर उम्रिरहेका छन् ।’ उनले काँक्रा र बोडीका लागि आफैँले तीन वटा टनेल बनाएका छन् । तरकारी बिक्री वितरणको जिम्मा भने श्रीमान बीरेन्द्रले लिएका छन् । ‘खुद्रा खरिद गर्ने मानिस त घरमै आउने गर्छन्’, सुस्माले भनिन्, ‘थोक बिक्रीका लागि भने अत्तरिया लैजानुपर्छ, जुन काम श्रीमान्ले गर्छन् ।’ उनले दैनिक एकदेखि डेढ क्विन्टलसम्म तरकारी बिक्रीका लागि बजार पठाउने गरेको बताइन् । बीरेन्द्रले कुखुरापालनबाट अण्डा पनि बिक्री गर्ने काम गर्छन् । विसं २०७७ वैशाखमा हालेका बोभेन ब्राउन जातको कुखुराबाट मासिक ४० हजार रुपैयाँभन्दा बढी कमाउने गरेको बीरेन्द्रले सुनाए । ‘यो जातका कुखुराको उमेर दुई वर्षको हुन्छ, मैले हालेको दुई वर्षभन्दा बढी भइसक्यो’, उनले भने, ‘यसबाट अहिले दैनिक आठ सयदेखि आठ सय ५० जति अण्डा उत्पादन भइरहेका छन्, सो अण्डाबाटै मैले आम्दानी गर्ने गर्दछु ।’ उनले अण्डाको बिक्रीवितरण दैनिकरुपमै गर्ने गरेको बताए । उनले अण्डा बिक्रीका लागि भने अत्तरिया नभई राजपुर र मनेहरा जाने गरेको सुनाए । बीरेन्द्रले अण्डा मात्रै नभई तरकारी पनि आफैँले बजार पु¥याउनुहुन्छ । सुस्माले उत्पादन गरेको तरकारी अत्तरिया बजार पु¥याएर आफू अण्डा बिक्रीका लागि अर्को बजार जाने गरेको उनले बताए । ‘छ जनाको परिवार छ, सबैको पालनपोषण यहीँबाट भएको छ’, उनले भने, ‘व्यावसायिकरुपमा कृषि काम गर्दा नोक्सान बेहोर्नु पर्दैन भन्ने कुराको ज्ञात भएको छ ।’ सहकारीबाट सुरुवाती चरणमा पाँच लाख रुपैयाँ ऋण लिएर व्यवसाय सुरु गरेका सुस्मा र बीरेन्द्रको जोडीले अहिले मासिक एक लाख रुपैयाँको हाराहारीमा आम्दानी गर्दै आइरहेका छन् । उनीहरुले आफ्नै आठ कट्ठा जमिनमा कृषि काम गरिराखेका छन् । सुरुदेखि नै तरकारीखेती गरेकी सुस्माले फार्म खोलेकी छैनन् । उनले फार्मबिना नै कृषि काम गरिराखेका छन् । तर बीरेन्द्रले भने आशीष पोल्ट्री फार्ममार्फत् कुखुरापालन गरिराखेका छन् । कुखुराको बीमाका लागि भए पनि कृषि फार्म खोल्नुपरेको उनले बताए । करिब ११ लाख लगानी भएको कुखुरापालन व्यवसायलाई निरन्तरता दिइ फेरि कुखुरा थप्ने योजना बीरेन्द्रले सुनाए । ‘दानाको मुख्य अकासियो, चल्ला पनि मर्छन्’, उनले भने, ‘तर अण्डाको भाउ बढ्न सकेको छैन । अहिले पनि क्रेटको तीन सय ५० देखि तीन सय ८० रुपैयाँसम्ममा बिक्री गर्ने गर्दछु ।’ यता सिर्जनशील महिला विकास बहुउद्देश्यीय सहकारी संस्थाकी व्यवस्थापक गौरी चौधरीले महिलाको आर्थिक विकास र उत्थानका लागि नै संस्थाले काम गरिरहेको बताउँछिन् । ‘महिला सहकारी हो, महिलाको आर्थिकस्तरमा वृद्धि गरी उनीहरुको आम्दानी कसरी गर्ने र उनीहरुको आथिकस्तर कसरी सुधार्ने भन्ने लक्ष्य रहेका साथ स्थापना भएको हो’, उनले भनिन्, ‘सोहीअनुसार महिलालाई स्थापनादेखि नै महिलालाई विभिन्न व्यावसायिक काममार्फत् अग्रसर बनाउँदै गएका छौँ ।’ उनले अप्ठ्यारोमा महिलाका घरमै गएर त्यस्ता महिलाको जीवनस्तर उकास्न सफल भएको बताइन् । उनले संस्थाले महिलालाई विभिन्न व्यावसायिक कामका लागि विनाधितो तीन लाख रुपैयाँसम्म र धितोमा १० लाख रुपैयाँसम्म ऋण दिने गरेको बताइन् । उनका अनुसार सहकारीबाट ऋण लिएका करिब दुई सय जना महिलाले अहिले पनि विभिन्न किसिमका व्यावसायिक काम गर्दै आएका छन् । उनले महिलाका लागि संस्थाबाट मात्रै नभई अन्य विभिन्न निकायबाट पनि सहयोगका लागि पहल गर्ने गरेको बताइन् । उनले संस्थाको सुरुवाती चरणमा तरकारी नै नदेखिने ठाउँमा पनि अहिले व्यावसायिकरुपमा तरकारीखेती भएको देख्दा खुसी लाग्ने गरेको बताइन् । सुस्मा र बीरेन्द्र दुवैले कक्षा १२ सम्मको अध्ययन गरेका छन् । विवाहपछि घरपरिवारको जिम्मेवारी थपिँदा दुवैले पढाइ छोडेर कृषिलाई अँगालेका हुन् । हाल कृषिमै लगाएको मेहनतले नै उनीहरुलाई व्यावसायिकरुपमा उत्कृष्ट किसान बनाएको छ । रासस

आइएमई अफरको बम्पर विजेता बनिन् बेलीमाया तामाङ, १४ हजार पठाउँदा १० लाख उपहार

काठमाडौं । आइएमईले दशैँ अफरको बम्पर विजेतालाई आज चेक हस्तान्तरण गरेको छ । आइएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा नामक थीममा आधारित अफरको विजेता मेखलाल तामाङ्गको सिफारिसमा उक्त चेक बेलीमाया तामाङ्गलाई हस्तान्तरण गरिएको हो । मलेसियाबाट आइएमई मार्फत १४ हजार ५० रुपैयाँ पठाएका तामाङ्गले नगद १० लाख रुपैयाँ उपहार स्वरुप प्राप्त गरेका थिए । मंगलबार पानीपोखरीस्थित कार्यक्रमा आइएमईका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले तामाङ्गलाई उक्त चेक हस्तान्तरण गरेका हुन् ।

‘सबै श्रमिकले सामाजिक सुरक्षा कोषको कार्यविधि पढेर ढुक्क भएर योगदान गर्दा हुन्छ’

काठमाडौं । सामाजिक सुरक्षा कोषका अध्यक्ष तथा श्रम सचिव एकनारायण अर्यालले सबै श्रमिकले कार्यविधि पढेर ढुक्क भएर योगदान गर्दा हुने बताएका छन् । मंगलबार कोषले आयोजना गरेको कार्यक्रमम उनले यस्तो बताएका हुन् । उनले योगदानकर्ताको संख्या बढाउन कार्यविधि ल्याएको बताउँदै प्रत्येक श्रमिकले सिरानीमा कार्यविधि राखेर सुत्न पर्ने बताए । उनले स्वास्थ्य सेवा, छात्रवृत्ति सेवा पहिलो चरणमा दिइएको सेवा भएपनि आगामी दिनमा अझै थप सेवा ल्याउने कोषको योजना रहेको बताएका छन् ।  

देउवालाई उम्मेदवारी फिर्ता लिन गगनको आग्रह

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेताका उम्मेदवार गगन थापाले उम्मदेवारी फिर्ता लिन सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन् । सिंहदरबारस्थित दलको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गरेपछि महामन्त्री थापाले आफ्ना प्रस्तावक र समर्थक नेताहरुलाई धन्यवाद दिएका छन् । उनको प्रस्तावकमा डा. शेखर कोइराला छन् भने समर्थनमा उपसभापति धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य प्रदीप पौडेल छन् । उनीभन्दा अगाडि सभापति देउवाले आफ्नो उम्मेदवारी दर्ता गरेका थिए । महामन्त्री थापाले शान्त मनले सोच्न र आफ्नो उम्मेदवारी फिर्ता लिने ऐतिहासिक निर्णय लिन सभापति देउवालाई आग्रह गरेका छन् । उनले अघि भने, ‘वरिष्ठ नेता रामचन्द्र पौडेललाई कांग्रेसको भविष्यप्रति चिन्ता गरेर परिवर्तनको सन्देश मनन गर्न आग्रह गर्दछु ।’ उनले कांग्रेसका सांसदहरुलाई जनमतको सम्मान गर्न र परिर्वतनको पक्षमा उभ्याउन आग्रह गरेका छन् ।  

स्वदेशी रोजगारप्रति युवायुवतीको चासो

टङ्कीसिनवारी । प्रदेश नं १ सरकारले श्रम बजारमा स्थापित गराउने उद्देश्यका साथ विभिन्न कार्यक्रम सञ्चालन गरेको छ । विराटनगर–१४ स्थित स्नातकोत्तर क्याम्पसको प्राङ्गणमा जारी विराट एक्स्पो २०७९ मा सञ्चालनमा आएको रोजगार मेला स्टलमा युवायुवतीको चासो अत्यधिक देखिएको छ । प्रदेश नंं १ सरकारको उद्योग, श्रम तथा रोजगार मन्त्रालय अन्तर्गत रोजगार सूचना केन्द्रले एक्स्पोमा स्टल राखेर रोजगार मेला २०७९ सञ्चालनमा ल्याएको हो । रोजगार मेलामा खटिएका कर्मचारीलाई स्वदेशमा पाइने रोजगारका बारेमा युवायुवतीको जिज्ञासा सम्बोधन गर्न भ्याइनभ्याइ छ । सामथ्र्य र पहुँच नभएका बेरोजगार युवायुवतीको भिड मेला स्टलमा लाग्ने गरेको छ । योग्यता अनुसारको उपयुक्त उद्योग र व्यापारिक सङ्घ संस्थामा जागिर खानका लागि आवेदन दिनेको सङ्ख्या थेगिनसक्नु छ । रोजगार सूचना केन्द्रका संयोजक ललितकुमार यादवले रोजगारमा लागेर आफ्नै खर्च जुटाएर पढ्न चाहने गरिब, पिछडावर्गका युवायुवतीको भिड मेला स्टलमा लाग्ने गरेको बताए । उनले पैसा नहुने तर काम गर्न चाहने युवायुवतीको लागि रोजगार सूचना केन्दले बायोडाटा बनाउनेदेखि अन्र्तवार्तासम्मको तयारी निःशुल्क गराउने बताए। रोजगार मेला सञ्चालनमा रहेको थाहा पाएर धनपालथान–१ का शिवनन्दन मण्डल रोजगारीका लागि एक्स्पोमा आवेदन दिन आएका थिए । उनले बेरोजगार युवायुवतीका लागि स्वदेशमा नै रोजगारी उपलब्ध गराउने गरी प्रदेश सरकारले सञ्चालन गरेको कदमको प्रशंसा गरे । उद्योग सङ्गठन मोरङका उपाध्यक्ष एवं प्रचारप्रसार संयोजक नन्दकिशोर राठीले प्रदेश सरकारको रोजगार मेलाले बेरोजगार युवायुवतीलाई व्यापक आकर्षित गरेको बताए । क्षमतावान युवायुवती वैदेशिक रोजगारीमा पलायन भइरहेको बेला रोजगार सूचना केन्द्रले स्वदेशमा नै रोजगारका लागि सहजकर्ताको भूमिका खेलेको राठीले बताए ।

‘सासु कोषमा आवद्ध भएपछि नेपालीले बुढेसकालमा आफ्नो जोह आफै गर्न सक्नेछन्’

काठमाडौं । श्रममन्त्री शेरबहादुर कुवँरले सामाजिक सुरक्षा कोषमा जोडिएपछि वैदेशिक रोजगारमा रहेका नेपालीले वृद्ध अवस्थामा पनि आफ्नो सुरक्षा आफै जोहो गर्न सक्ने बताएका छन् । मंगलबार कोषले वैदेशिक रोजगारमा रहेका र अनौपचारिक क्षेत्रका श्रमिकको लागि कार्यविधी सार्वजनिक गर्ने गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले नेपाल र नेपाली जनताको सुरक्षा गर्ने सरकारको योजना अनुसार नै कोषको व्यवस्थापन गरिएको बताउँदै कोषले बुढेसकालमा साहारा निभाउने बताए । ‘मान्छे सधै युवा रहदैन बूढो हुन्छ, बुढेसकालको साहारा सरकार हुनुपर्छ, कोषले पनि बुढेसकालको साहरा निभाउनु पर्छ,’ उनले भने । यस्तै, उनले कोषका सबै सेवालाई डिजिटल गर्नुपर्ने बताए । ‘विदेशी नेपाल आउँदा सबै कुराबाट प्रभावित भएपनी सरकारी कार्यालयको सेवाबाट भने वाक्क भएको गुनासो गर्छन्, त्यसैले कोषको सबै सेवालाई डिजिटलाइज गर्नुपर्छ,’ उनले भने ।