विकासन्युज

सुपरमाई हाइड्रोको आईपीओमा आवेदन दिने समय थप, अब कहिलेसम्म पाइन्छ ?

काठमाडौं । सुपरमाई हाइड्रोपावर कम्पनीको आईपीओमा आवेदन दिने समय थप गरिएको छ । मंसिर २१ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको कम्पनीको आईपीओमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लागि समय थप गरिएको हो । विदेशमा रहेका नेपालीहरुले कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो । कम्पनीले जारी पूँजी ५० करोड रुपैयाँको २० प्रतिशत अर्थात् १० करोड रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंंकित मूल्य दरका १० लाख कित्ता साधारण सेयर निष्काशन गरेको छ । जसमध्ये १० प्रतिशत अर्थात् ५ करोड रुपैयाँको ५ लाख कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरु (आयोजना अति प्रभावित क्षेत्र इलामको इलाम नगरपालिका (बरबोटे) ५, इलाम नगरपालिका (सुम्बेक) २ र माईजोगमाई गाउँपालिका ५ सोयाङका स्थानीय बासिन्दाहरुको लागि ४० प्रतिशत अर्थात् २ लाख कित्ता र आयोजना अति प्रभावित क्षेत्र बाहेक इलाम जिल्लाको अन्य क्षेत्रमा बसोबास गर्ने स्थानीय बासिन्दाहरुको लागि ६० प्रतिशत अर्थात् ३ लाख) निष्काशन गरिएको हो । यस्तै, सर्वसाधारणलाई छुट्याइएको सेयरमध्ये १० प्रतिशत अर्थात् ५० हजार कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि निष्काशन तथा बिक्री खुल्ला गरिएको हो । बैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने आज पुस ६ गतेसम्म आवेदन दिन सक्नेछन् । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले भने पुस २१ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले गुडविल फाइनान्स, माछापुच्छ्रे बैंक, सानिमा बैंकका तोकिएका शाखा कार्यालय र सुपरमाई हाइड्रोपावरको कार्यालयबाट आवेदन दिन सकिनेछ । यस्तै, वैदेशिक रोजगारमा रहेको नेपालीहरुले भने नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग ट्रिपल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।

खोटाङको बाक्सिला बजारमा आगलागी हुँदा पाँच घर जलेर नष्ट हुँदा ५ करोड क्षति

टाङ । केपिलासगढी गाउँपालिका–४ बाक्सिला बजारमा सोमबार साँझ भएको भीषण आगलागीमा करिब रु पाँच करोड बराबरको क्षति भएको छ । स्थानीय दीपक गुरुङको घरबाट सुरु भएको आगोले पाँच घर तथा दर्जन बढी पसल जलेर नष्ट हुँदा रु चार करोड ९९ लाख ३३ हजार बराबरको क्षति भएको हो । आगलागीबाट दीपक गुरुङ, रमेश परियार, शुभराज राई र डिल्लीकुमार श्रेष्ठको घर पूर्णरुपमा जलेर नष्ट भएको थियो । उक्त आगो नियन्त्रणमा लिन स्थानीय अकबर राईको घर भत्काइएको थियो । परम्परागत रुपमा एकआपसमा जोडेर ढुङ्गामाटो तथा काठ प्रयोग गरेर बनाइएको जस्तापाताको छाना भएको घरमा लागेको आगो स्थानीय बासिन्दा र प्रहरीले करिब चार घण्टा लगाएर नियन्त्रणमा लिएको थियो । आगलागीमा दीपकको तीनतले घर तथा घरमा भएका नगद रु एक लाख, पसललगायत सम्पूर्ण सामग्री जलेर नष्ट हुँदा रु ५४ लाख ८५ हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ । सोही घर भाडामा लिएर पसल गर्ने रत्ना गुरुङको नगद रु ७५ हजारसहित पसललगायत बन्दोबस्तीका सामग्री जलेर नष्ट हुँदा रु १३ लाख ७२ हजार क्षति भएको प्रहरीको प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ । रमेशको तीनतले घर, घरमा भएको नगद रु एक लाख, टेलर्स पसललगायत सम्पूर्ण सामग्री जलेर नष्ट हुँदा रु ७१ लाख नौ हजार बराबरको क्षति भएको छ । शुभराजको तीनतले घर भाडामा लिएर गाउँपालिका प्रमुख समिर राईले सञ्चालन गर्नुभएको कपडा, किराना तथा पुस्तक पसल, नगद रु दुई लाख लगायतका सामग्री जलेर नष्ट हुँदा एक करोड २५ लाख क्षति भएको छ । सोही घरमा सञ्चालित इन्द्रा राईको होटल जलेर नष्ट हुँदा रु सात लाख ५० हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक मञ्जिल मुकारुङले जानकारी दिए । शुभराज भने घर भाडामा दिएर काठमाडौंमा बस्दै आएको स्थानीय बासिन्दाले बताएका छन् । अकबरको तीनतले घर तथा घरमा भएका सम्पूर्ण सामग्री जल्दा रु त्रीसाठी लाख क्षति भएका जनाइएको छ । सोही घरमा सञ्चालित नेपाली कांग्रेस गाउँपालिका समितिको कार्यालय जलेर नष्ट हुँदा दुई लाख बराबरको क्षति भएको कांग्रेसले जनाएको छ । डिल्लीकुमारको तीनतले घर, नगद ५० हजार, भाँडा तथा कपडा पसल जल्दा एक करोड ४१ लाख ७७ हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ । सोही घरमा डिल्लीकुमारको छोरा पवन श्रेष्ठले सञ्चालन गर्दै आएको भाँडा पसल र नगद ४० हजार जल्दा २० लाख ४० हजार बराबरको क्षति भएको छ । बाक्सिला बजारमा आगलागी हुनुको कारण अहिलेसम्म पुष्टि हुन नसकेको प्रहरीले जनाएको छ । आगलागीमा ठूलो मात्रामा धनमाल जलेर नष्ट भए पनि मानवीय क्षति हुनबाट जोगाइएको प्रहरी प्रमुख प्रनाउ मुकारुङले जानकारी दिए । बाक्सिला बजारका आगलागी पीडितलाई तत्काल पुनः स्थापना गर्दै राहत प्रदान गर्ने गाउँपालिका कार्यपालिकाले निर्णय गरेको छ । घटना लगत्तै गाउँपालिकाका उपप्रमुख गुरुराज राईको अध्यक्षमा बसेको बैठकले आगलागी पीडित परिवारलाई लागि क्षतिपूर्ति उपलब्ध गराउन सङ्घीय सरकार, प्रदेश सरकार लगायतका सम्पूर्ण सरकारी तथा गैरसरकारी निकायलाई अनुरोध गर्ने निर्णय गरेको हो । बाक्सिला बजारका आगलागी पीडित परिवार अहिले आफन्तका आश्रय लिएर बसिरहेका छन् । आगलागी पीडित परिवाराई तत्काल राहत उपलब्ध गराउन तथा पुनःस्थापनाका लागि विभिन्न निकायसँग पहल भइरहेको जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाईले जानकारी दिए । रासस

अनौपचारिक, स्वरोजगार र विदेशिएका श्रमिकका लागि सासु कोषमा सुविधा के के छन् ?

काठमाडौं ।  अनौपचारिक र स्वरोजगार क्षेत्रका श्रमिकका लागि कोषले विभिन्न योजना ल्याएको छ । उनीहरूले औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, दुर्घटना तथा अशक्तता सुरक्षा योजान, आश्रित परिवार सुरक्षा योजना र वृद्धवस्था सुरक्षा योजना गरी विभिन्न योजनाबाट लाभ लिन सक्नेछन् । योगदानकर्ताले एक आवमा एक लाखसम्मको औषधोपचार सुविधा, मातृत्व सुविधाअन्तर्गत ९८ दिनको परिश्रमिक, शिशु स्याहारबापत न्यूनतम परिश्रमिकको आधारभूत तलब, रु सात लाखसम्मको दुर्घटना उपचार खर्च, असक्तता भएमा आधारभूत पारिश्रमिकको ६० प्रतिशत, काजकिरिया खर्चबापत २५ हजार, आधारभूत पारिश्रमिकको ४० प्रतिशत आश्रित श्रीमान/श्रीमतीलाई आजीवन पेन्सन र सन्ततिका लागि २१ वर्षसम्म शैक्षिक वृत्ति पाउनेछन् । कोषमा योगदान गर्ने वैदेशिक क्षेत्रमा रहेका श्रमिकले तीन सुविधा प्राप्त गर्नेछन् । उनीहरूले दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना र अवकाश एवं वृद्धअवस्था सुरक्षा योजनाबाट विभिन्न सुविधा प्राप्त गर्नेछन् । उनीहरूले मासिक रु दुई हजार देखि १८ हजार एक सय ५५ सम्म योगदान गर्न सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका श्रमिकले दुर्घटना उपचार खर्चबापत वार्षिक रु एक लाख, अशक्तता भएमा मासिक ६० प्रतिशत पेन्सन, काजकिरिया खर्च रु २५ हजार, आश्रित श्रीमान÷श्रीमतीले ४० प्रतिशत आजीवन पेन्सन पाउनेछन् । कार्यविधि लागू भएपछि वैदेशिक रोजगारीमा जाने श्रमिकले श्रम स्वीकृत लिँदा कोषबाट सूचीकरण नम्बर अनिवार्य रुपमा लिनुपर्नेछ । वैदेशिक रोजगारीमा रहेका श्रमिक र स्वरोजगारमा आबद्ध व्यक्ति कोषको अनलाइन प्रणालीमार्फत सूचीकरण हुन सक्नेछन् । वैदेशिक रोजगारमा रहेकाकालाई योजनामा आबद्ध गराउन एनआरएनए र वैदेशिक रोजगार व्यवससायी सङ्घसहितको सहभागितामा वृहत अभियान सञ्चालन गरिने कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले बताए । ८२ लाख श्रमिक योजनामा समेटिने आँकलन नयाँ योजना कार्यान्वयनमा आएसँगै अनौपचारिक, स्वरोजगार र वैदेशिक रोजगारमा रहेका करिब ८२ लाख श्रमिक सामाजिक सुरक्षा योजनामा समेटिने आँकलन गरिएको छ । अनौपचारिक क्षेत्रका ४२ लाख, स्वरोजगारीमा रहेका १८ लाख र वैदेशिक रोजगारीमा रहेका २२ लाख श्रमिक योजनामा सहभागी हुने अनुमान गरिएको छ । श्रम मन्त्री शेरबहादुर कुँवर नागरिकलाई सामाजिक संरक्षण प्रदान गर्न सामाजिक सुरक्षा कोषको दायरा विस्तार गरिएको बताउँछन् । औपचारिक र स्वरोजगार क्षेत्रको कार्यविधि आगामी वैशाख १ गतेदेखि र वैदेशिक क्षेत्रको कार्यविधि स्वीकृत भएको मितिले ९० औँ दिनदेखि शुरु हुनेछ । अनौपचारिक क्षेत्रको श्रमिकका लागि स्थानीय तहको वडा कार्यालयको सिफारिश पत्रका आधारमा सूचीकरणको व्यवस्था गरिएको कार्यकारी निर्देशक ज्ञवालीको भनाइ छ । वैदेशिक रोजगारीमा रहेका श्रमिकले भने तीनवटा सुविधा मात्र दाबी गर्न सक्ने कोषले जनाएको छ । उनीहरू दुर्घटना र अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना, अवकाश एवं वृद्धवस्था सुरक्षा योजनामा सहभागी हुन सक्नेछन् । हाल कोषमा नियमित रुपमा योगदान गर्ने योगदानकर्ताले औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना र वृद्धवस्था सुरक्षा योजना गरी विभिन्न योजनाबाट लाभ लिइरहेका छन् । कोषमा हालसम्म औपचारिक क्षेत्रका तीन लाख ८० हजार नौ सय ८२ श्रमिक आबद्ध भइसकेका छन् । कोषमा रु २७ अर्ब योगदान रकम सङ्कलन भएको छ । कोषले योगदानकर्तालाई दुई अर्ब ९० करोड ६६ लाख दाबी भुक्तानी गरेको छ । विसं २०७५ मङ्सिर ११ गतेदेखि योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयनमा आएको थियो ।

एनएमबि बैंकका ग्राहकलाई स्वोनिगा लाउन्जमा २० प्रतिशतसम्म छुट

काठमाडौं । एनएमबि बैंक र आन्तरिक विमानस्थलको भित्री लबीमा अवस्थित स्वोनिगा लाउन्जबीच सम्झौता भएको छ । उक्त सम्झौता अनुसार ग्राहकहरुले लाउन्ज सेवाका साथै भिसा डेबिट वा क्रेडिट कार्ड मार्फत पेमेन्ट गर्दा अधिकतम २० प्रतिशतसम्मको आकर्षक छुट पाउने छन् । सम्झौतापत्रमा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र स्वोनिगा लाउन्जका प्रबन्ध निर्देशक सुबास श्रेष्ठले हस्ताक्षर गरेका छन् । बैंकले आफ्नो सेवाहरु वृद्धि गर्ने क्रममा यस्ता सुविधाहरु ग्राहक माझ प्रस्तुत गर्दै आइरहेको छ । बैंकका ग्राहकहले छुट सम्बन्धि थप जानकारी एनएमबि बैंकको वेवसाईटको एनएमबि भिसा कार्ड डिस्काउन्ट सेक्सनमा गएर प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

महुली लघुवित्तले एफपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा सनराइज क्यापिटल नियुक्त

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाले एफपीओ जारी गर्ने भएको छ । कम्पनीले ४ लाख १६ हजार १८७ कित्ता एफपीओ जारी गर्न  लागेको हो । कम्पनीले एफपिओ जारी गर्नका लागि निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटललाई नियुक्त गरेको छ । उक्त सम्झौतामा महुली लघुवित्त वित्तीय संस्थाको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गंगाधर पाण्डे र सनराइज क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

एमालेको संसदीय दलको नेतामा अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) ले संसदीय दलको नेतामा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई चयन गरेको छ । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आज बसेको संसदीय दलको बैठकले अध्यक्ष ओलीलाई दलको नेता चयन गरेको एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिए । उनका अनुसार पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलको प्रस्ताव र अर्का उपाध्यक्ष सुभास नेम्वाङको समर्थनमा अध्यक्ष ओेली संसदीय दलको नेतामा निर्विरोध चयन भएका हुन । एमाले ७८ सिटसहित प्रतिनिधिसभामा दोस्रो पार्टीको रुपमा रहेको छ ।

जाइकाले डोल्मा इम्प्याक्ट फण्डमा १० मिलियन अमेरिकी डलर लगानी गर्ने 

काठमाडाैं । जापान अन्तराष्ट्रिय सहयोग नियोग (जाइका)ले स्वपूँजी लगानी कोष डोल्मा इम्प्याक्ट फण्डमा १० मिलियन अमेरिकी डलर बराबर लगानी प्रतिवद्धता सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको छ । जाइकाले नेपालको निजी क्षेत्रमा यो पहिलो लगानी हो । जाइकाको लगानी मुख्यतया नेपालमा निजी क्षेत्र द्वारा प्रर्वद्धित स्वास्थ्य सेवा, सूचना / डिजिटल प्रविधि तथा नविकरणीय उर्जामा काम गर्ने कम्पनीहरुमा लगानीको लागि प्रयोग गरिने बताइएकाे छ । डोल्मा इम्प्याक्ट फण्ड डाेल्मा फण्ड म्यानेजमेन्ट फण्डद्वारा प्रवर्द्धित काेष हाे । डोल्मा फण्ड म्यानेजमेन्टले औद्योगिक विकास, रोजगारी सिर्जना र नविकरणीय उर्जाको विकासलाई बढावा दिने किसिमका कोषहरुको व्यवस्थापन गर्दछ । जाइकाले हालसम्म विभिन्न प्राविधिक तथा वित्तिय परियोजनाहरु मार्फत नेपालको औद्योगिक विकास, नविकरणीय उर्जा र लगानी वातावरणको सुधारमा सहयोग गर्दै आएको छ । जाइकाले नेपालमा विद्यमान परियोजनाहरु र डोल्मा फण्डका लगानीहरुबीच तालमेल सिर्जना गरी थप सहयोग उपलब्ध गराउने प्रतिवद्वता व्यक्त गरेको छ ।      

‘अरुको नामको मोबाइल नम्बर प्रयोग गर्दा समस्या आउँछ’

काठमाडौं । नेपाल टेलिकमले अरुको नामको मोबाइल नम्बर प्रयोग गर्दा मोबाइल बैंकिङको दुरुपयोग भई अनधिकृत व्यक्तिले रकम लिने गरेकाले सचेत रहन आग्रह गरेको छ । सामाजिक सञ्जालको दुरुपयोग भएर अनेक कानुनी झमेला पर्ने भएकाले पनि सचेत हुन टेलिकमले आग्रह गरेको हो । टेलिकमका प्रवक्ता शोभन अधिकारीले आज विज्ञप्ति जारी गरी राष्ट्रिय परिचयपत्र, नागरिक एप, बैंकिङ सेवा तथा सामाजिक सञ्जाललगायत विभिन्न डिजिटल गतिविधिमा मोबाइल नम्बरको प्रयोग गर्नुपर्ने अवस्था देखिएको विज्ञप्तिमा उल्लेख छ । मोबाइल नम्बर प्रयोगकर्ता ग्राहक स्वयंको नाममा दर्ता भएको खण्डमा मात्र मोबाइल बंैकिङलगायत सुविधा सुरक्षितसाथ प्रयोग गर्न सकिने टेलिकमको भनाइ छ । ‘टेलिकम ग्राहकवर्गमा आफ्नै नाममा दर्ता मोबाइल नम्बर प्रयोग गर्न तथा सिमकार्ड हराएको/बिग्रिएमा आफू स्वयं उपस्थित भई प्राप्त गर्न अनुरोध गर्दछ’, विज्ञप्तिमा भनिएको छ । ग्राहकको सुरक्षामा विशेष ध्यान दिँदै सहजै सेवा उपलब्ध गराउनका लागि नयाँ सिमकार्ड लिँदा वा सिमकार्ड परिवर्तन गर्दा मापदण्ड कार्यान्वयनमा ल्याइएको टेलिकमले जनाएको छ । नयाँ सिमकार्ड लिनका लागि ग्राहकले आवेदन फाराममा आवश्यक विवरण स्पष्टरुपमा भरेको तथा ग्राहकको नाम, ठेगाना, परिचयपत्र जारी भएको जिल्ला र मिति तथा आधिकारिक परिचयपत्र एवं सम्पर्क नम्बर स्पष्ट रुपमा लेख्नुपर्ने जनाइएको छ । स्वयं उपस्थित हुने ग्राहकलाई मात्र सिमकार्ड उपलब्ध गराइने छ र परिचयपत्रको प्रतिलिपिलाई सक्कल परिचयपत्रको नाम, बुबाको नाम, परिचयपत्र नम्बर र जारी भएको मिति र जिल्लाका आधारमा रुजु गरिने भएको छ । सिमकार्ड बिग्रेर, हराएर वा अन्य कारणले सिमकार्ड परिवर्तन गर्नुपर्ने अवस्थामा ग्राहक स्वयं उपस्थित भएमा सिमकार्ड परिवर्तनको फाराम पूर्णरुपमा भरेकोरनभरेको जाँचपश्चात् ग्राहकको परिचयपत्रको सक्कल र नक्कललगायतका विभिन्न कागजात रुजु गरी सिमकार्ड उपलब्ध हुनेछ । ग्राहक स्वयं उपस्थित नभई अर्को व्यक्तिको नाममा दर्ता रहेको सिमकार्ड लिन आएको अवस्थामा ग्राहक स्वयं उपस्थित हुन नसक्ने कारणसहित ग्राहकको मञ्जुरीनामा र सक्कल परिचयपत्रका आधारमा सिम लिन आउने व्यक्तिको सक्कल परिचयपत्र देखाइ सोको प्रतिलिपि रीतपूर्वक भरिएको फारामसाथ संलग्न गर्नुपर्छ । कागजात रुजु सम्पन्न भएपछि सिमकार्ड परिवर्तन हुन्छ । सिम लिने ग्राहकभन्दा फरक ग्राहकको विवरण दर्ता रहेको अवस्थामा प्रयोगकर्ता र दर्ता रहेको ग्राहकको मोबाइल नम्बर अद्यावधिक गरी लिने र दिने व्यक्तिआ–आफ्नो नागरिकताको सक्कल वा अन्य आधिकारिक परिचयपत्रको सक्कल र तिनका प्रतिलिपिसहित स्वयं उपस्थित भई निवेदन दिन सकिने व्यवस्था रहेको छ । ग्राहक अशक्त भएमा निजको मञ्जुरिनामा पत्र र परिचयपत्रको सक्कल तथा प्रतिलिपि, लिन आउने व्यक्तिको सक्कल परिचयपत्रसहित उपस्थित भएमा तथा कुनै ग्राहकको मृत्यु भएमा नाता प्रमाणित गर्ने कागजात र मृत्यु प्रमाणपत्रसहित हकवाला नातेदार सक्कल कागजात तथा परिचयपत्रसहित उपस्थित भएमा सिमकार्ड उपलब्ध हुने व्यवस्था गरिएको छ । वास्तविक प्रयोगकर्ताभन्दा फरक ग्राहकको विवरण भएको अवस्थामा सिम लिने ग्राहकको कबुलियतनामा पत्र र परिचयपत्रका साथमा ग्राहक आवेदन फाराम भरेपछि थप पुष्ट्याई गरी सिमकार्ड परिवर्तन गर्न सकिने टेलिकमले जनाएको छ ।