विकासन्युज

सुनको मूल्य बढ्यो, चाँदीको स्थिर

काठमाडौं । नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला दुई सय रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला एक लाख पाँच सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला एक लाख सात सय रुपैयाँ तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख दुई सय रुपैयाँ छ । यसको मूल्य अघिल्लो दिन एक लाख रुपैयाँ थियो । त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला एक हजार तीन सय ९० रुपैयाँ कायम रहेकोे महासङ्घले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ । हाल अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस एक हजार आठ सय तीन दशमलव ६९ डलर आसपासमा कारोबार भइरहेको छ ।

सवारी साधन कारबाहीबाट ९० लाख राजस्व सङ्कलन

सर्लाही । जिल्ला ट्राफिक कार्यालय सर्लाहीले चालु आर्थिक वर्षको पाँच महिनामा सवारी साधन कारबाहीबाट ९० लाख २७ हजार पाँच सय रुपैयाँ राजस्व सङ्कलन गरेको छ । कार्यालयका अनुसार यसअवधिमा १२ हजार ५० वटा सवारी साधन कारबाहीमा परेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी निरीक्षक ईश्वर कार्कीले पाँच महिनामा जिल्लाका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा २९ जनाको ज्यान गएको जानकारी दिए । उनका अनुसार जिल्लामा दैनिक चार वटासम्म दुर्घटना हुने गरेको छ । यस अवधिमा जिल्लाका विभिन्न स्थानमा तीन सय ९७ वटा दुर्घटना भएका छन् भने दुर्घटनामा परेकामध्ये एक सय २५ जना गम्भीर घाइते भएका छन् । पछिल्ला तीन आर्थिक वर्षमा जिल्लामा दुर्घटना र त्यसमा परेर ज्यान गुमाउनेको सङ्ख्या लगातार बढ्दै गएको ट्राफिक प्रहरीको तथ्याङ्कमा उल्लेख गरिएको छ । आव २०७६र७७ मा एक सय ८४ वटा सवारी दुर्घटना भएकोमा ५० जनाको ज्यान गएको थियो । त्यस्तै आव २०७७र७८ मा ६ सय वटा सवारी दुर्घटना भएकामा ६२ जनाले ज्यान गुमाएको र आव २०७८र७९ मा आठ सय ४६ वटा सवारी दुर्घटना हुँदा ७९ जनाको ज्यान गएको ट्राफिक प्रहरीको तथ्याङ्कमा उल्लेख छ । जिल्लामा सडक र सवारी दिन प्रतिदिन असुरक्षित बन्दै गएको रौतहट सर्लाही यातायात प्रालिका अध्यक्ष राजकुमार मैनालीले बताए । सवारी दुर्घटना न्यूनीकरण गर्न सरोकारवाला निकाय बढी जिम्मेवार बन्नुपर्ने नागरिक अगुवा शिवचन्द्र चौधरीको भनाइ छ । साँघुरा सडक, सडकको दुरावस्था, लापर्बाहीपूर्ण यातायात सञ्चालन र सवारी साधनको चापका कारण सवारी दुर्घटना हुने गरेको पाइएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक प्रहरी व्यवस्थापन कार्यालय मधेस प्रदेशका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले बताइन् । उनका अनुसार सडकमा हुनुपर्ने सचेतना र सूचना पाटी, सडक लाइनिङसमेत नदेखिने अवस्थामा रहँदा दुर्घटनाको जोखिम बढेको हो । दुर्घटना न्यूनीकरणका सम्पूर्ण उपाय अवलम्बन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी निरीक्षक कार्कीको भनाइ छ । उनका अनुसार दुर्घटना न्यूनीकरण गर्न सडकमै सचेतना कार्यक्रम चलाउनेदेखि विद्यालयमा ट्राफिक नियमसम्बन्धी कक्षा लिने गरिएको छ । दुर्घटना नियन्त्रण गर्न नियमित र आकस्मिक सवारी चेकजाँचसँगै ट्राफिक नियम विपरीत सञ्चालित सवारी साधनहरु र तिनका चालकहरुलाई नियमानुसार दण्ड तथा जरिवानासमेत गर्ने गरिएको उनले बताए ।

रुकुममा महालक्ष्मी लाईफको महिला सशक्तिकरण कार्यक्रम सम्पन्न

काठमाडौं । रुकुम पश्चिमको मुसिकोटमा महालक्ष्मी लाईफ इन्स्योरेन्सले ‘महिला सशक्तिकरणमा महालक्ष्मी लाईफ’ कार्यक्रमको शुभारम्भ गरेको छ । महिलालाई रोजगारी र समृद्धिको मुल नारा दिई संचालन भएको कार्यक्रमको उद्घाटन महालक्ष्मी लाईफका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले गरेका थिए । उक्त कार्यक्रम पुस ११ गते लक्ष्मी केसिको अध्यक्षतामा सम्पन्न शुभारम्भ र तालिम कार्यक्रममा विभिन्न पालिकाका जनप्रतिनिधि , महिला तथा अगुवा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको उद्घाटन गर्दै कार्यकारी प्रमुख भट्टराईले समाजमा पिछडिएका र अवसर नपाएका महिलाहरुलाई रोजगारी दिई आय आर्जनको लागि यो कार्यक्रम अवसरको रुपमा रहेको बताए। कार्यक्रममा कम्पनीका प्रमुख बजार अधिकृत प्रशान्तराज धमला र बजार प्रबन्धक यमलाल न्यौपानेले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै मुलुकको आर्थिक रुपान्तरणको लागि यो कार्यक्रम कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गरे । रुकुम पश्चिम जिल्ला समन्वय समितिका संयोजक लुम्बिनी गौतमले रुकुम जस्तो दुर्गम क्षेत्र राजनैतिक चेतना र सुविधाको हिसावले विकसित भैसकेको भएता पनि महिलाको आर्थिक उन्नतीको लागि महालक्ष्मी लाईफको कार्यक्रम निकै नै प्रभावकारी हुने जानकारी दिए । कार्यक्रममा सानी भेरी गाउँपालिका वडा नं ९ का वडा अध्यक्ष शेर बहादुर खड्काले महिला सशक्तिकरणको लागि सरकार र गाउँपालिकाले पनि बजेट छुट्याएकोले महिलाहरुको रोजगारी र आय बृद्धिको लागि संचालित यस्ता कार्यक्रममा महालक्ष्मी लाईफ सँग सहकार्य गरेर जान तैयार रहेको जानकारी दिए । महालक्ष्मी लाईफको रुकुम पश्चिम मुसिकोटका प्रमुख व्यूँझना पुन देवकोटाले संचालन गरेको कार्यक्रममा सानीभेरी गाउँपालिका पूर्व उपाध्यक्ष इन्दिरा ओलि, वडा नं ३ का वडा अध्यक्ष जगदीश नकाल, पत्रकारहरु, स्थानीय जनप्रतिनिधिहरु समेत ६० जनाको उपस्थिति रहेको थियो ।

काठमाडौंमा डेरा खोज्नै गाह्रो, आज पनि जाँदैछु : सिके राउत

काठमाडौं । सत्तारूढ दल जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले काठमाडौंमा डेरा खोज्न निकै गार्‍हो भएको बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत काठमाडौंमा कोठा पाउनै गाह्रो भएको भन्दै आज पनि डेरा खोज्न जान लागेको बताएका छन् । ‘काठमाडौं बस्न डेरा–घर खोज्नै गाह्रो, आज पनि जाँदैछु, बरू काठमाडौं भएको बेला एकान्तमा यस्तै डाँडाकाँडातिर बसौंबसौं लाग्ने कस्ता रमणीय र ध्यान लाग्ने ठाउँहरू,’ उनले लेखेका छन् । प्रतिनिधिसभातर्फ ६ सिट प्राप्त गरेको जनमतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा एक मन्त्री पठाएको छ ।

नक्सालमा परम्परागत पैदलमार्ग बन्ने, सवारी साधनलाई ‘नो इन्ट्री’

काठमाडौं । काठमाडौंको नक्सालमा परम्परागत पैदल मार्ग (ट्रेडिसनल वाक वे) बन्ने भएको छ । काठमाडौं उपत्यका विकास प्राधिकरणको जिल्ला आयुक्त कार्यालय काठमाडौंले करिब ५ करोडको लागतमा उक्त मार्ग बनाउन लागेको हो । आयुक्त कार्यालयले काठमाडौं महानगरसँगको सहकार्यमा काठमाडौं महानगरपालिको वडा नम्बर १ नक्साल क्षेत्रमा उक्त पैदल मार्गको निर्माण गर्न लागेको हो । जसको लागि ठेक्का समेत लगाइ सकेको छ । परम्परागत पैदल मार्ग निर्माण ठेक्का लगाइ आयोजनाको अध्ययनको काम समेत भइरहेको जिल्ला आयुक्त कार्यालय काठमाडौंका इन्जिनियर राजिव श्रेष्ठले बताए । पैदल मार्ग निर्माणको लागि महानगरको वडा नम्बर १ ले पनि अध्ययन गरिरहेको बताइएको छ । इन्जिनियर श्रेष्ठका अनुसार परम्परागत पैदल मार्ग निर्माणको प्रक्रिया अहिले द्रुत गतिमा अगाडि बढी रहेको छ । नक्साल क्षेत्रको सांस्कृतिक गुरुयोजना तयार गर्न डीयूडीबीसीले एप्पल इन्जिनियरिङ प्रोफेसनल कन्सल्टेन्सी कम्पनीलाई अध्ययनको जिम्मेवारी दिइएको थियो । नक्साल क्षेत्रमा कमलपोखरीबाट नक्साल पुलिस हेडक्वार्टर हुँदै नागपोखरीदेखि भगवती मन्दिरसम्म पैदल मार्गको निर्माण हुने छ । करिब ६ सय मिटरको क्षेत्रमा यो मार्ग बन्न लागेको हो । यो काम स्थानीय तहको मागअनुसार नै हुन लागेको हो । पैदल मार्ग निर्माण भए पश्चात् सो ठाउँमा हिँड्न मात्र मिल्ने छ । यातायात भने सञ्चालन गर्न पाइँदैन । ‘पैदल माग निर्माण हुने भनिएको ठाउँ एउटा छुटै इतिहास बोकेको ठाउँ रहेछ, त्यहाँ अहिले पिच बाटो नै छ, गाडी कुदी रहेका छन्, त्यसलाई रोकेर, स्थानीयको माग अनुसार हिँड्न मात्र मिल्ने बनाउन लागेका हौं,’ उनले भने । नक्साल क्षेत्र परम्परागत पैदल मार्ग निर्माण गर्नको लागि अनुमानित ५ करोड रुपैयाँ बजेट छ । यो काम गर्नको लागि आयुक्त कार्यालयले केही समय अगाडि ठेक्का लगाएको छ । अहिले उक्त आयोजना मूल्याङ्कनको चरणमा रहेको पनि श्रेष्ठले जानकारी दिए । आयोजनाको काम अगाडि बढाउनको लागि अझै केही समय लाग्ने पनि जिल्ला आयुक्त कार्यालयले बताएको छ । ‘आयोजना काम अगाडि बढाउने ठाउँ प्लस जस्तो एरिया छ, त्यो ठाउँमा ४ ठाउँमा गेट राखी पीच निकालेर त्यहाँभित्र परम्परागत सामग्रीको प्रयोग गरी वाक वे बनाउने हो,’ उनले भने ।

हामीले अर्थतन्त्रलाई नै प्राथमिकतामा राखेका छौं : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपाल उद्योग परिसंघले भेटवार्ता गरेको छ । अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको परिसंघ प्रतिनिधिमण्डलले आज विहान प्रधानमन्त्रीको निजी निवास खुमलटारमा भेटवार्ता गरेको हो । सो अवसरमा परिसंघका अध्यक्ष अग्रवालले निजी क्षेत्रको तर्फबाट बधाई एवं शुभकामना दिदै चुनौतीपूर्ण अवस्थामा रहेको मुलुकको अर्थतन्त्रको सुधार नयाँ सरकारको पहिलो प्राथमिकता हुनुपर्ने सुझाव दिए । परिसंघले संकटपूर्ण अवस्थामा रहेको मुलुकको अर्थतन्त्रलाई पुनः गति प्रदान गर्न तत्काल चालिनुपर्ने स्पष्ट कदमसहितको अवधारणा प्रधानमन्त्री समक्ष पेश गरेको हो । परिसंघले नेपाली अर्थतन्त्रलाई पुनः गति प्रदान गर्न वित्तीय क्षेत्र (तरलता संकट तथा उच्च ब्याजदर), औद्योगिक प्रबद्र्धन, पूर्वाधार, पर्यटन, ऊर्जा र सूचना प्रविधि क्षेत्रलाई प्राथमिकतामा राख्दै तत्काल गर्न सकिने उपाय समेत सुझाएको छ । परिसंघको यो सुझावलाई सरकारले उच्च प्राथमिकतामा राख्दै कार्यान्वयनमा लैजाने विश्वास अध्यक्ष अग्रवालले गरे । परिसंघको बधाई एवं अर्थतन्त्र सुधारका सुझाव ग्रहण गर्दै प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रबाट यस्तै खालको सुझाव खोजेको बताए । ‘मैले निजी क्षेत्रबाट यस्तै अपेक्षा गरेको थिए । परिसंघले स्पष्ट रुपमा सुधारका योजना दिएको छ, यसका लागि परिसंघलाई धन्यवाद’ उनले भने । प्रधानमन्त्री प्रचण्डले सरकारको मुख्य ध्यान अर्थतन्त्र सुधार्नमै रहेको र यसका लागि परिसंघसँग सरकारले सहकार्य गर्ने बताए । ‘मन्त्रिपरिषद्को पहिलो बैठकबाटै हामीले अर्थतन्त्रलाई नै प्राथमिकतामा राखेका छौं । निजी क्षेत्रसँग सहकार्य गर्दै अगाडि बढ्नेछौं’ उनले भने । नवनियुक्त प्रधानमन्त्री प्रचण्डलाई परिसंघका पुर्व अध्यक्ष हरिभक्त शर्मा, उपाध्यक्षहरु निर्वाण चौधरी, कृष्णप्रसाद अधिकारी, विरेन्द्रराज पाण्डे, रोहित गुप्ता, परिसंघ उद्योग समिति सभापति गोकुल भण्डारी, परिसंघका महानिर्देशक दिपकराज जोशीले पनि बधाई तथा शुभकामना दिए ।

अर्थमन्त्रालय, राष्ट्र बैंक र निजी क्षेत्रसँगै राखेर अर्थतन्त्र सुधार गर्छु : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले अर्थतन्त्रको पुनरूत्थान आफ्नो पहिलो प्राथमिकता रहेको बताएका छन् । मंगलबार उद्योगी व्यवसायीहरुसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद्को पहिलो बैठकले अर्थतन्त्रको पुनरूत्थान पहिलो प्राथमिकता रहेको विशेष निर्णय गरिसकेको बताएका छन् । प्रधानमन्त्री प्रचण्डले महासंघले दिएका सुुझाव अध्ययन गरेर आवश्यक निर्णय गर्ने बताए । यस विषयमा अर्थमन्त्रालय, राष्ट्र बैंक र निजी क्षेत्रलाई राखेर छिट्टै समस्या समाधानका लागि पहल गर्ने बताए । ‘महासंघ अर्थतन्त्र जोगाऔं भन्ने अभियानमा लागेको छ, यति बिहानै भेटघाटका लागि आउनुु भयो, त्यही विषयमा तपाईहरु चिन्तित हुनुुहुन्छ र समस्या समाधानका लागि भनिरहनुु भएको छ, सरकारले यसलाई गम्भीर रुपमा लिन्छ, अर्थतन्त्रको संवेदनशील अवस्थाका सम्बन्धमा निजी क्षेत्रको चासो र चिन्तालाई मैले सम्मान गरेको छ,’ प्रधानमन्त्री प्रचण्डले भने । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले उद्योग व्यवसाय संचालनमा सबैभन्दा बढी समस्याको रुपमा देखापरेको चालुपू“जी कर्जा मार्ग निर्देशन कम्तीमा दुुई वर्ष स्थगन गर्नुपर्ने बताए । साथै उनले हाल देखिएको तरलता संकुचनको समस्या समाधान गर्न केन्द्रीय बैंकले सबै मौद्रिक उपकरणको प्रयोग गर्नुपर्ने सुुझाव दिए । मुलुकको अर्थतन्त्र अति संवेदनशील अवस्थामा रहेकाले नयाँ सरकारको सिंगो ध्यान अर्थतन्त्रको पुनरुत्थानमा जानुपर्नेमा अध्यक्ष गोल्छाले बताए । ‘अर्थतन्त्रमा वहुुआयामिक असर परेको छ, मौद्रिक नीतिको समीक्षा मार्फत पनि समस्या सम्बोधन हुन सकेन, विशेष गरी समग्र बैकिङ समस्याका कारण उद्योगी व्यवसायी अत्यन्त कठिन अवस्थामा पुुगेका छन्, उद्योगीहरु बाध्य भएर सडकमा आउने परिस्थिति बनेको छ, समाधान गर्नुपर्याे,’ अध्यक्ष गोल्छाले भने । अध्यक्ष गोल्छाले अर्थतन्त्रको संवेदनशीलता बुुझेर सोही अनुसार अर्थपूर्ण पहल हुने अपेक्षा निजी क्षेत्रले गरेको बताए । राजस्वले साधारण खर्च समेत धान्न नसक्ने अवस्था आएको, मुल्यवृद्धि ७ बर्षयताकै उच्च रहेको र अर्थतन्त्रलाई चलायमान बनाउने निजी क्षेत्रनै अहिले संकुचित हुदै गएको उनको भनाइ छ ।

धनुषामा अवैध काठ चोरी निकासी, चार महिनामा सात मुद्दा

धनुषा । धनुषामा पछिल्लो चार महिनामा अवैधरुपमा काठ चोरी निकासी गर्ने सात जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ । डिभिजन वन कार्यालय जनकपुरधाम धनुषाले दिएको जानकारीअनुसार अवैधरूपमा काठ ओसारपसार र चोरी निकासीको आरोपमा चार महिनामै सात मुद्दामा करिब ५० क्युफिट काठसहित आरोपीलाई पक्राउ गरिएको हो । कार्यालयका प्रमुख वन अधिकृत बेचन चौधरीले भदौयता अवैधरूपमा काठ चोरी निकासी गर्नेलाई पक्राउ गरी चारवटा मुद्दा दर्ता गरिएको र तीनवटा मुद्दा दर्ता प्रक्रियामा रहेको जानकारी दिए । उनले अवैध काठ चोरी निकासीको आरोपमा पक्राउ पर्नेमा धेरैजसो मिल मालिक रहेको बताए । ‘चार महिनामा सात घटनामा संलग्नलाई पक्राउ गरेका छौँ, अरुमाथि निगरानी बढाएका छौँ’, रासससँग चौधरीले भने, ‘विभिन्न कठिनाइका बाबजुद वन संरक्षण र चोरी निकासी नियन्त्रणका लागि हामी नयाँ रणनीतिसहित अगाडि बढेका छौँ’, प्रमुख वन अधिकृत चौधरीले थोरै वन भएको जिल्लामा धेरै अवैध चोरी निकासीका घटना हुनु दुःखद् भएको उल्लेख गर्दै यसलाई नियन्त्रण गर्न सबैको सहयोग जरुरी रहेको बताए । यी मुद्दामा एउटा ट्र्याक्टरसहित करिब ५० क्युफिट काठसमेत बरामद गरिएको चौधरीले जानकारी दिए । सामुदायिक वन उपभोक्ता महासङ्घ धनुषाका अध्यक्ष चन्द्र चौधरी महासङ्घले वन तथा वन पैदावारको संरक्षण गर्न समुदायमा सचेतना अभिवृद्धि र चोरी निकासी नियन्त्रणका लागि सधैँ सहयोगी भूमिका निर्वाह गरिरहेको बताए । ‘संरक्षणका काममा महासङ्घ सधैँ साथसाथ छ’, उनले भने, ‘वन क्षेत्र विस्तार तथा अतिक्रमित क्षेत्र फिर्तालगायतका काममा वन कार्यालयले नेतृत्व गरोस् भन्ने हाम्रो चाहना हो ।’ वन अतिक्रमण र चोरी निकासी मुख्य समस्या धनुषा मधेस प्रदेशअन्तर्गतका आठ जिल्लामध्ये सबैभन्दा कम वन क्षेत्र भएको जिल्ला हो । यस जिल्लामा कुल क्षेत्रफल (एक लाख १८ हजार तीन सय हेक्टर)को २७ हजार पाँच सय ७८.६ हेक्टर वन अर्थात २३ दशमलव ३१ प्रतिशत वन क्षेत्र रहेको छ भने त्यसमध्ये आठ सय ७२ हेक्टर अतिक्रमण गरिएको डिभिजन वन कार्यालय धनुषाको तथ्याङ्क छ । ‘अतिक्रमण र चोरी निकासी यहाँको वन संरक्षणका लागि मुख्य समस्या हो’, प्रमुख वन अधिकृत बेचन चौधरीले भने, ‘४० वर्ष अघिदेखि पटक–पटक गरी आठ सय ७२ हेक्टर वन अतिक्रमण भएको छ । दुई हजार एक सय ६२ परिवारले त्यो भूमिलाई अवैधरूपमा उपभोग गरिरहेका छन् ।’ उनले केही वर्षयता थप अतिक्रमण हुन नदिन उच्च सतर्कतासहित डिभिजन वन कार्यालयले काम गरिरहेको र अब अतिक्रमित भूमि मुक्त गर्न कार्ययोजना बनाएर अगाडि बढ्ने बताए । जिल्लाको अधिकांश वन क्षेत्र उत्तरतर्फको चुरे र भावरमा पर्ने भएकाले त्यहाँको भौगोलिक संरचनाको संवेदनशीलतालाई मध्यनजर राखी संरक्षणमुखी व्यवस्थापन कार्यमा सामुदायिक वनले पनि सहयोग गरिरहेको चौधरीको भनाइ छ । सामुदायिक वन उपभोक्ता महासङ्घका अध्यक्ष चन्द्रा चौधरीले संरक्षणका गतिविधिलाई जनस्तरसम्म पुर्‍याउन जिल्लामा रहेका सामुदायिक वन उपभोक्ता समितिलाई थप परिचालन र यहाँ रहेका वन पैदावारमा आधारित उद्योगलाई समेत जिम्मेवार बनाउने गरी अभियानकै रूपमा कार्यक्रम अगाडि बढाउन सके चोरी निकासी नियन्त्रणमा टेवा पुग्ने धारणा राखे । धनुषामा हाल दुई सयभन्दा बढी वन पैदावारमा आधारित सःमिल तथा फर्निचर उद्योग, ४० वटा सामुदायिक वन, २५ कबुलीयती वन, एक–एक साझेदारी र संरक्षित वन तथा दुई सय १० निजी वन रहेका छन् । रासस