स्मिरनफ ब्रान्ड भोड्का नेपालमै उत्पादन
काठमाडौं । स्मिरनफ ब्रान्डको भोड्का नेपालमै उत्पादन सुरु भएको छ । विश्वको नम्बर १ ब्रान्ड मानिएको स्मिरनफ भोड्का नेपालको मदिरा उत्पादक नेपाल लिकर प्रालिले बजारमा ल्याएको हो । यो भोड्का विराटनगरमा रहेको कारखानाबाट उत्पादन भइरहेको कम्पनीले जनाएको छ । कम्पनीका कार्यकारी अध्यक्ष राजेशवीरसिंह तुलाधरका अनुसार तीनपटक डिस्टिल गरी १० पटक फिल्टर गरिएको भोड्का बजारमा ल्याइएको कम्पनीले जनाएको छ । स्मिरनफ भोड्का ७५०, ३७५ र १८० एमएल गरी तीनवटा भेरियन्टमा उपलब्ध रहेको र मूल्य क्रमशः २२००, ११०० र ५५० रुपैयाँ रहेको कम्पनीले जनाएको छ । कम्पनीले नेपाली बजारमा एन्टिक्विटी ब्लु ह्विस्की, सिग्नेचर प्रिमियर–रेयर ह्विस्की, मिस्टर डोबेलको नम्बर १ लक्जरी ह्विस्की, ब्लु–रिब्यान्ड जिनलगायतका विभिन्न ब्रान्डका मदिराहरू उपलब्ध गराउँदै आएको जनाएको छ ।
सत्ता गुमे पनि कांग्रेसको शक्ति गुमेको छैन : नेता कोइराला
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सत्ता गुमे पनि कांग्रेसको शक्ति नगुमेको बताएका छन् । नेता कोइरालाले सत्ता गुमे पनि कांग्रेसको शक्ति नगुमेको भन्दै पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकलाई निराश नहुन आग्रह गरेका छन् । ‘सत्ता गुम्दैमा कांग्रेसको शक्ति गुमेको छैन, हामी थप सशक्त भएर कांग्रेस सशक्तिकरणको अभियानमा जुट्न दृढ सङ्कल्प गछौँ,’ उनले भने । नेता डा. कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सत्तारोहण अपेक्षित नभए पनि बहुमत जुटाएर प्रधानमन्त्री बनेको भन्दै उनलाई बधाई ज्ञापन गरेका छन् । उनले संसद्को तेस्रो शक्ति भए पनि माओवादीले सरकारको नेतृत्व गर्ने अवस्था आउनुलाई अराजनीतिकको संज्ञा दिएका छन् । ‘संसद्बाट नयाँ सरकारको नेतृत्वमा प्रचण्डको सत्तारोहण अपेक्षित थिएन’, नेता कोइरालाले भनेका छन् । संविधानको रक्षा र समृद्धिको यात्रा गर्ने भनेर पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको गठबन्धनको निरन्तरता किन र कसरी असम्भव भयो भनेर गम्भीर प्रश्न उठेको उनको भनाइ छ । ‘हामीले यसको चित्तबुझ्दो जवाफ कांग्रेस कार्यकर्ता, समर्थक, शुभेच्छुकलगायत सबै आम नेपालीमाझ दिनुपर्छ भन्ने मान्यता म राख्छु,’ उनले भनेका छन् । उनले कांग्रेस अब राष्ट्रिय राजनीतिमा नयाँ भूमिकामा प्रवेश गरेको भन्दै निराश नहुन सबैलाई आग्रह गरेका छन्।
नेरुडे र मिर्मिरे लघुवित्त मर्ज हुँदै, चुक्तापूँजी एक अर्ब ३८ करोड पुग्ने
काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था र मिर्मिरे लघुवित्त वित्तीय संस्थाबीच मर्जर सम्झौता भएको छ । दुवै लघुवित्त संस्था एक आपसमा गाम्भे/गाभिने गरी पुस ११ गते सोमबार प्रारम्भिक सम्झौता भएको हो । नेरुडे लघुवित्तको केन्द्रीय कार्यालय मोरङको विराटनगर महानगरपालिका ३ मा रहेका छ भने मिर्मिरे लघुवित्त वित्तीय संस्थाको केन्द्रिय कार्यालय काभ्रेपलाञ्चोकको बनेपा ८ मा रहेको छ । मर्जर सम्झौतामा नेरुडे लघुवित्तका अध्यक्ष डा.भेष प्रसाद धमला र मिर्मिरे लघुवित्तका अध्यक्ष टेक बहादुर बोहराले हस्ताक्षर गरेका हुन् । दुवै लघुवित्तले मर्जर सम्झौता गरेसँगै नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सेयर कारोबार रोक्का गरेको छ । दुबै संस्थाहरु मर्ज भई एकिकृत कारोबार पश्चात वित्तीय संस्थाको कुल चुक्तापूँजी १ अर्ब ३८ करोड, शाखा सञ्जाल संख्या २५०, सदस्य संख्या ३ लाख बढी, ऋणी संख्या १ लाख ७५ हजार, निक्षेप ६ अर्ब २५ करोड, कर्जा लगानी रकम २० अर्ब हुनेछ भने कर्मचारी संख्या १३ सय पुग्नेछ ।
मधेस प्रदेशका महिला पत्रकारको स्वास्थ्य तथा दुर्घटना बीमा
जनकपुरधाम । मधेस प्रदेशका एक सय ५० महिला पत्रकारको स्वास्थ्य तथा दुर्घटना बीमा गरिएको छ । आमसञ्चार प्राधिकरण मधेस प्रदेश जनकपुरधामले नेपाल पत्रकार महासङ्घको सदस्यता लिएका र रेडियो, टिभी, अनलाइन र छापामाध्यमलगायतका सञ्चारमाध्यममा कार्यरत सक्रिय महिला पत्रकारको स्वास्थ्य तथा दुर्घटना बीमा गराएको हो । गत २०७९ असारमा बीमा भएका सबै महिला पत्रकारले २०७९ साउन १ गतेदेखि बिमा सुविधा लिन पाउने आमसञ्चार प्राधिकरण मधेस प्रदेशका अध्यक्ष श्यामसुन्दर यादवले जानकारी दिए । हालसम्म एक सय ५० महिला पत्रकारको स्वास्थ्य तथा दुर्घटना बीमा गराइसकिएको र चालु आर्थिक वर्ष २०७९/८० मा प्रदेशभरिका सबै सक्रिय पत्रकारको स्वास्थ्य तथा दुर्घटना बिमा गराउने योजना रहेको उनले बताए । जिटुजी फोलिसीअन्तर्गत पत्रकारको स्वास्थ्य तथा दुर्घटना बिमा गराउन राष्ट्रिय बिमा कम्पनी लिमेटडसँग सम्झौता भएको र बिमावापत लाग्ने प्रिमियम आमसञ्चार प्राधिकरणले जम्मा गरिदिने अध्यक्ष यादवको भनाइ छ । बिमावापत पत्रकारले वर्षमा एक लाखसम्मको औषधोउपचार खर्च र सात लाखसम्मको दुर्घटना बिमा सुविधा पाउने छन् । यस्तै आमसञ्चार प्राधिकरण मधेस प्रदेशले यही पुस महिनाको तेस्रो सातादेखि पर्साको वीरगञ्जबाट प्रेस प्रतिनिधि परिचयपत्र वितरण सुरु गरिने जनाएको छ । प्रेस प्रतिनिधि परिचयपत्र प्राप्त गर्ने पत्रकारको स्वतः स्वास्थ्य तथा दुर्घटना बिमा हुने अध्यक्ष यादवले बताए । प्रेस प्रतिनिधि परिचयपत्र प्राप्त गर्न मधेस प्रदेशअन्तर्गतको जिल्लामा कम्तीमा दुई वर्षदेखि सक्रिय पत्रकारिता गर्दै आएको हुनुपर्ने प्रावधान राखिएको छ । यसका साथै प्रेस प्रतिनिधि परिचयपत्रका लागि पत्रकारले कार्यरत सञ्चारमाध्यमको नियुक्तिपत्र, सम्बन्धित सञ्चारमाध्यमको अद्यावधिक गराएको कागजात, नागरिकता प्रमाणपत्रलगायतको कागजात बुझाउनुपर्ने व्यवस्था गरिएको आमसञ्चार प्राधिकरणले जनाएको छ । रासस
आठ करोडमा बनेको फाप्लु विमानस्थलको प्रवेशद्वार उपयोगविहीन
सोलुखुम्बु । सोलुखुम्बुको फाप्लु विमानस्थलमा करोडौँ रकम खर्चेर बनाइएको मुख्य प्रवेशद्वार उपयोगविहीन बनेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको आठ करोड ७८ लाख लागत निर्माण गरिएको विमानस्थल प्रवेश गर्ने मुख्य गेट तथा मार्ग वर्षौँदेखि प्रयोगमा आउन सकेको छैन । उक्त प्रवेशद्वार विसं २०७७ मा निर्माण गरिएको हो । प्रवेशमार्ग प्रयोगमा आउन नसक्दा यात्रु समस्या मोलेर साँघुरो मार्ग प्रयोग गर्न बाध्य छन् । विमानस्थल भित्रिने र बाहिरिने गरी बनाइएको फरक–फरक मार्ग सञ्चालन नहुँदा टावरका कर्मचारी तथा सुरक्षाकर्मी कार्यालय प्रवेश गर्ने साँघुरो मार्ग प्रयोग गर्न यात्रु बाध्य बनेका हुन् । वैकल्पिकमार्ग अत्यन्त साँघुरो हुँदा अत्यावश्यक बिरामी धावनमार्गसम्म लैजानुपर्ने भएमा स्टेचर प्रवेश गराउनसमेत कठिन रहेको जनाइएको छ । साथै विमानस्थलमा ठूला सामग्रीहरू प्रवेश गराउनुपर्ने वा निकाल्नुपर्ने भएमा समेत कठिन हुने गरेको छ । नेपाल नागरिक उड्डययन प्राधिकरण फाप्लुका प्रमुख भानुभक्त आचार्यले उक्त गेटको प्रवेशद्वार भन्दाभित्र भागको वालको करिब पाँच मिटर भागमा ग्याभिङ जाली नभएकाले सञ्चालन नगरिएको बताए । धावनमार्ग माथिल्लो भागको स्टेपमा समेत प्राविधिक समस्या रहेकाले मर्मतपश्चात मात्रै सञ्चालन गर्न सकिने उनको भनाइ छ । यसका लागि आफूले प्राधिकरणको केन्द्रीय कार्यालयमा पत्राचार गरिसकेको उनले बताए । प्राधिकरणका आयोजना प्रमुख इञ्जीनियर रत्नबहादुर श्रेष्ठले भने उक्त गेट सञ्चालन गर्नमा समस्या नरहेको दाबी गरे । नयाँ गेट वर्षौँदेखि उपयोगविहीन हुँदा यात्रुलाई समस्या हुनुका साथै सुरक्षामा समेत चुनौती आउन सक्ने जनाउँदै उनले सञ्चालनका लागि पहल गर्ने प्रतिक्रिया दिए । रासस
चालु पुँजी कर्जा स्थगन गर्न उद्योगीहरुको प्रधानमन्त्रीसमक्ष माग
काठमाडौं । उद्योगी व्यवसायीहरुले चालु पुँजी कर्जा मार्गनिर्देशन स्थगत गर्न प्रधानमन्त्री समक्ष माग गरेका छन् । मंगलबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा उद्योगी व्यवसायीहरुको टोलीले सामूहिक भेटघाट गर्दै सो माग राखेको हो । चालु पुँजी कर्जा मार्गनिर्देशनले उद्योग व्यवसाय सञ्चालनमा समस्या देखिएको भन्दै उद्योगीहरुले त्यसलाई कम्तिमा २ वर्ष स्थगन गर्न माग गरेका थिए । साथै उद्योगीहरुले बैंकिङ क्षेत्रमा देखिएको तरलता समस्या समाधानको लागि नेपाल राष्ट्र बैंकले मौद्रिक उपकरण प्रयोग गर्नुपर्ने सुझाव प्रधानमन्त्री प्रचण्डलाई दिएका थिएका छन् । प्रधानमन्त्रीले सरकारको पहिलो प्राथमिकता अर्थतन्त्र पुनरुत्थान भएको र मन्त्रिपरिषदको पहिलो बैठकले समेत अर्थतन्त्रको पुनरुत्थानको सम्बन्धमा निर्णय गरेको उद्योगीहरुलाई बताएका थिए । पछिल्लो समयमा अर्थतन्त्रमा देखिएको समस्यका विषयमा निजी क्षेत्रले राखेको चिन्तालाई आफूले सम्मान गर्ने उनको भनाइ थियो । महासंघले विगतमा दिएका सुझावलाई पनि आफूले अध्ययन गरेको र समस्या समाधानको लागि अर्थमन्त्रालय, नेपाल राष्ट्र बैंक र निजी क्षेत्रलाई राखेर छलफल गर्ने प्रतिक्रिया प्रधानमन्त्रीले उद्योगीहरुलाई दिएका थिए ।
चिनियाँ विदेश मन्त्रालयले भन्यो : बिआरआईलगायत रणनीतिक विषयमा नेपालसँग सहकार्य
काठमाडौं । नेपालको नवगठित सरकारलाई बधाई दिँदै जनवादी गणतन्त्र चीनको विदेश मामिला मन्त्रालयले ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ (बिआरआई) लगायतका रणनीतिक विषयहरूमा समन्वय र सहकार्यको अपेक्षा गरेको जनाएको छ । चिनियाँ विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा सोमबार मन्त्रालयका प्रवक्ता माओ निङले नेपालसँगको लामो मित्रतापूर्ण सहकार्य जारी राख्ने बताइन् । ‘लामो समयको नेपाल–चीन सम्बन्धलाई हामी महत्त्वका साथ हेर्छौं । हामी नयाँ नेतृत्वको सरकारसँग मित्रतापूर्ण सम्बन्ध र सहकार्य गर्छौं’, प्रवक्ता निङले भनेकी छिन् । नेपालमा शान्तिपूर्ण र सफलरूपमा निर्वाचन सम्पन्न भएको चिनियाँ विदेश मन्त्रालयले पनि उल्लेख गरेको छ । चिनियाँ विदेश मन्त्रालयले केही रणनीतिक विषयको सहकार्यमा निरन्तरता रहने उल्लेख गरेको छ । ‘नेपालको नयाँ प्रधानमन्त्रीका रूपमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नियुक्त हुनुभएकोमा बधाइ ज्ञापन गर्दछौँ । बेल्ट एन्ड रोड कोअपरेसनलगायत दुई देशबीच रणनीतिक सहकार्य र समन्वयका लागि हाम्रो अपेक्षा रहन्छ’, प्रवक्ता निङले उल्लेख गरेकी छिन् । चीनले नेपालसँगको सम्बन्धलाई उच्च महत्त्व दिएको र विकास तथा समृद्धिका लागि चिरस्थायी मित्रता कायम रहोस् भन्ने चाहेको पनि त्यहाँको विदेश मन्त्रालयले जनाएको छ । त्यस्तै, विभिन्न राजनीतिक दलसँगको समन्वयबाट नेपालमा दिगो र स्थायी सामाजिक–आर्थिक विकास हुने विश्वास लिएको पनि उसले उल्लेख गरेको छ ।
गुहेश्वरी फाइनान्सको लाभांश संशोधन, बोनस र नगद दुवै घट्यो
काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सको लाभांश संशोधन भएको छ । फाइनान्सको पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत बोनस सेयर र ०.३७ प्रतिशत नगद गरी कूल ७.३७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । नेपाल राष्ट्र बैंकबाट नियमनकारी कोषमा समायोजन गरी वित्तीय प्रतिवेदन पुनः पेश गर्न निर्देशन दिएको छ । सोही बमोजिम नियमनकारी कोष समायोजन पश्चात् फाइनान्सको सञ्चालक समितिको पुस ११ गते बसेको बैठकले सेयरधनीहरुलाई ६.५० प्रतिशत बोनस सेयर र ०.३४ प्रतिशत नगद गरी कूल ६.८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । फाइनान्सले प्रस्ताव गरेको उक्त लाभांश पुन स्वीकृतिका लागि राष्ट्र बैंक पठाउने निर्णय भएको छ । फाइनान्सले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भइ आगामी साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरुलाई वितरण गरिनेछ ।