विकासन्युज

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको नाम परिवर्तन

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयको नाम परिवर्तन गरिएको छ । समितिको गत मङ्सिर २९ गतेको बैठकको निर्णयानुसार नाम परिवर्तन गरिएको अध्यक्ष काशीराज दाहालले जानकारी दिए । सहकारी ऐन, २०७४ को दफा १०४ बमोजिम नेपाल सरकारबाट समस्याग्रस्त घोषित संस्थाहरूको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानी गर्नु समितिको मुख्य कर्तव्य हो । समिति गठनका बेला मन्त्रालयले समस्याग्रस्त नाम नराखे पनि पछि नामको अघि नै राखिएको शब्दका कारण नकारात्मक सन्देश गएकाले नाम परिवर्तन गरिएको जनाइएको छ । नाम परिवर्तन भएपछि समितिले कार्यालयको वेबसाइट, बोर्ड र लेटरहेडमा समेत सहकारी व्यवस्थापन समितिको कार्यालय भनी नाम राखेको पनि उनले बताए ।

तराईमा एक्कासि बढ्यो चिसो, जनजीवन कष्टकर बन्दै

कपिलवस्तु । कपिलवस्तुसहित तराईका अधिकांश जिल्लामा मौसम परिवर्तन भएसँगै एक्कासि चिसो बढेको छ । दुई दिनदेखि शीतलहर तथा बाक्लो हुस्सुका कारण कपिलवस्तुको जनजीवन कष्टकर बनेको छ । शीतलहरले चिसो बढेपछि कपिलवस्तुका अधिकांश चोक चौराहमा चहलपहल घटेको छ । कुहिरोसँगै चल्ने चिसो हावाले घरबाहिर निस्कनसमेत समस्या हुने गरेको तौलिहवाका गुलाम अलीले बताए । जाडो बढे पनि स्थानीय सरकार र स्थानीय प्रशासनले सार्वजनिक स्थल, चोक, मठमन्दिरमा दाउराको जोहो गर्न सकेका छैनन् । खास गरेर जाडोका कारण दलित, विपन्न, वृद्धवृद्धा, बालबालिका सबैभन्दा बढी प्रभावित भएको चिकित्सकहरू बताउँछन् । उनीहरूमा चिसोका कारण हुने बिरामी देखिएको छ । कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्राले लगातार जाडो बढ्दै गएकाले अब छिट्टै जिल्लाको सबै स्थानीय तहको चोक–चोकमा दाउरा बाल्ने व्यवस्था गर्न लागेको बताए । जिल्लामा रहेका साझेदारी वन तथा समुदायिक वनसँग समन्वय गरी गाउँ–गाउँ चोक चौराहामा दाउरा वितरण गर्नका लागि पहल गर्ने प्रमुख जिल्ला अधिकारी मिश्राले जानकारी दिए । अत्यधिक चिसोका कारण प्रभावित बिरामी बढेका छन । चिसोका कारण स्थानीय अस्पतालमा बालबालिका, वृद्धवद्धामा लाग्ने निमोनिया, खोकी, घाँटी दुख्ने जस्ता रोगका बिरामी अस्पतालमा बढेको पाइन्छ । चिसोबाट बच्नका लागि कपिलवस्तुको विभिन्न चौक चौराहा बजारमा दाउरा बाली आगो ताप्ने क्रम बढेको छ । चिसोकै कारण सवारीसाधनमा यात्रुको चाप घटेको छ । चिसोले बिहानपख यात्रु नपाई कतिपय यात्रुवाहक बस ग्यारेजमा थन्क्याइएको छ । एक्कासि अत्यधिक चिसो बढेपछि जिल्लामा रहेका विभिन्न सरकारी कार्यालयमा सेवाग्राहीको उपस्थितिसमेत न्यून देखिएको जिल्ला प्रशासन कार्यालय तौलिहवाले जनाएको छ ।

एभरेष्ट बैंकले धादिङको मच्छिन्द्र माध्यामिक विद्यालयलाई गर्यो दुई लाख २६ हजार सहयोग

काठमाडौं । एभरेष्ट बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत धादिङमा रहेकाे मच्छिन्द्र माध्यामिक विद्यालयलाई सहयाेग गरेकाे छ । बैंकले विद्यालयको कम्प्युटर ल्याबलाई आवश्यक विद्युत आर्पूति गर्नका लागि पावर ब्याकअप सिस्टम जाडान गर्नको लागि दुई लाख २६ हजार रुपैयाँ आर्थिक सहयोग गरेको हाे । बैंकका सिएसआर कमिटिका सदस्य तथा नायब महाप्रबन्धक केशव राज पौडेलले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेखर कार्कीलाई चेक हस्तान्तरण गरेका थिए । एभरेष्ट बैंकले १२३ शाखा संजाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालय, १५९ एटिएमसहित विश्वव्यापी नेटवर्कबाट मोबाइल, इन्टरनेट र एसएमएस बैंकिङ्ग सुविधा प्रदान गर्दै आइरहेको छ ।

शिक्षाविद् भन्छन् : शिक्षाप्रणालीमा सुधार हुन नसक्दा शिक्षण पेशाप्रतिको आकर्षण घट्यो

काठमाडौं । शिक्षाविद्हरुले नेपालको शिक्षाप्रणालीमा सुधार हुन नसक्दा शिक्षण पेशामा आकर्षण घट्दै गएको बताएका छन् । बिहीबार काठमाडौंमा आयाेजित शिक्षा नीति संवधाद कार्यक्रममा बोल्दै शिक्षाविद्हरुले यस्तो बताएका हुन् । उनीहरुले पछिल्लो समय नेपालमा विषयगत शिक्षकहरुको कमी भइरहेको र शिक्षकहरुमा पनि उपयुक्त योग्यता भएको नपाइएको बताए । विज्ञहरुले आवश्यक शिक्षक मागसमेत पूर्ति हुन नसकेको जानकारी दिए । कार्यक्रममा बोल्दै शिक्षा सेवा आयोगका अध्यक्ष मधुप्रसाद रेग्मीले मधेस प्रदेशका जिल्लामा शिक्षक मागेजति पनि उम्मेदवार नपाएको बताए । उनले खोजेजति योग्य शिक्षकहरु पाउन नसकेको भन्दै सरकारले यसप्रति गम्भीर बन्नुपर्ने बताए । उनले सामान्य परीक्षाबाट उत्तिर्ण भएका शिक्षकहरु पनि विषयगत परीक्षामा फेल भएकाले नेपालको शिक्षा प्रणालीलाई वैज्ञानिक र नयाँ किसिमबाट विकसित गर्न आवश्यक रहेको जानकारी दिए । कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका रेक्टर शिवलाल भुसालले विद्यालय स्तरको शिक्षाले तत्काललाई मात्रै नभइ एउटा युगको भविष्य बोक्ने भएकाले विद्यालय स्तरमा शिक्षा प्रणालीको सुधार अति आवश्यक भइसकेको बताए ।  ‘विद्यालय स्तरको शिक्षालाई आवश्यक सुधार र पमिार्जन गरी योग्यता पुगेका शिक्षकहरुबाट गुणस्तरीय शिक्षा दिन आवश्यक छ । विद्यालय स्तरमा गुणस्तरयुक्त शिक्षा दिन नसके एउटा युग नै नष्ट हुन्छ,’ उनले भने । रेक्टर भुसालले शिक्षण व्यवसायमा आकर्षण घट्दै गइरहेको भन्दै सबैभन्दा पहिला शिक्षाको गुणस्तर बढाउन सक्नुपर्ने र देशका हरेक क्षेत्रमा शिक्षाको गुणस्तरलाई गम्भीर रुपमा लिन आवश्यक रहेकोमा जोड दिए । कार्यक्रममा काठमाडौं विश्वविद्यालयका डिन बालचन्द्र लुइँटेलले नेपालमा शिक्षाको गुणस्तरलाई बढाउन शिक्षकहरुलाई प्रशिक्षण दिन आवश्यक भएको बताए । उनले विकासिल देशहरुमा शिक्षकहरुलाई योग्य बनाउनका लागि सरकारले विभिन्न शैक्षिक तालिमहरु दिने गरेको तर नेपालमा भने आवश्यक तालिमहरु हुन नसकेको गुनासो गरे । उनले तालिम दिँदा पनि विषयगत वा सामान्य तालिमका बारेमा सरकारले चासो राख्न आवश्यक रहेको बताए । उनले वर्तमान अवस्थामा शिक्षकलाई विषयवस्तु, विज्ञानसम्मत कुराहरुको बारेमा अपडेट गराउन आवश्यक भइसकेकोमा जोड दिए । ‘नेपालको शिक्षामा पढाइलेखाइमा पनि समस्या छ । शिक्षाका विषयवस्तु र पाठ्यक्रमसँगै पढाइलेखाइको तौरतरिकाहरुमा पनि सुधार गर्न जरुरी छ,’ उनले भने । कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका डिन चित्रबहादुर बुढाथोकीले शिक्षामा सुधार गर्नका लागि सरकारले तालिम दिने संस्था छुट्टै बनाउन नसकेको गुनासो गरे । उनले सरकारले कस्तो शिक्षक तयार पार्ने भन्ने नीति नहुँदा र मापदण्ड नबनाउँदा शिक्षकहरुमा गुणस्तर हुन नसकेको बताए । उनले अन्य मुलुकमा विश्वविद्यालयलाई कस्तो शिक्षक बनाउने र कस्तो तालिम दिने ? तालिम दिँदा कस्तो शिक्षकलाई दिने भन्ने बारेमा सोच्नुपर्ने बताए । उनले सरकार शिक्षक बनाउने कुरामा स्पष्ट नीतिका साथ अघि बढ्न नसकेको पनि जोड दिए । उनले नेपालमा अगाडि गएर बोर्डमा अक्षर लेख्ने मान्छेलाई शिक्षक भनेर बुझ्नु नै गलत रहेको बताए । कार्यक्रममा शिक्षाविद् मनप्रसाद वाग्लेले विश्वविद्यालयहरुले गर्ने कामहरुमा समेत सरकारलाई दोष दिएर उम्किने प्रवृत्ति त्याग्नुपर्ने बताए । उनले विश्वविद्यालयका पदाधिकारीहरुले नै गर्नसक्ने कामलाई नगरेर अरुको टाउकोमा दोष थुपार्ने काम भएसम्म शिक्षाको विकास हुन नसक्ने बताए । उनले शिक्षा सेवा आयोगले नै लाइसेन्स दिएका शिक्षकहरु विषयगत परीक्षामा अनुत्तिर्ण भएका कारण अहिलेको समस्या आइरहेको भन्दै आयोगले लाइसेन्स दिने बेलामा ध्यान किन नदिएको भन्दै प्रश्न गरे । उनले नीति अनुसन्धान प्रतिष्ठान अपडेट हुन नसकेको गुनासो गरे । उनले विश्वमा शिक्षकको अभाव भइरहेको भन्दै बाहिरी मुुलुकमा शिक्षक आह्वान भइरहेकाले आकर्षण दिएर नेपालले पनि बाहिरी मुलुकका शिक्षकहरु नेपालमा भित्र्याउनुपर्ने बताए । कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालयका रजिष्टार माधव अधिकारीले शिक्षकहरुमा आवश्यक तलवमान नहुनु, शिक्षण पेशालाई गाउँ र समाजले हेर्ने दृष्टिकोणमा सकारात्मक नदेखिनुले शिक्षण पेशामा आकर्षण घटेको बताए । ‘युवा पुस्तामा शिक्षण पेशामा अकार्षण नहुनु, शिक्षामा राजनीति हुनु, नेपालमा शिक्षाको सही पहिचान हनु नसक्दा पनि शिक्षा क्षेत्रमा समस्या बढ्दै गइरहेको छ। संस्कृत गुरुकुलहरुको नतिजा समयमा हुन नसक्नु र पाठ्यपुस्तकहरु नपाइनुले संस्कृत शिक्षामा कमी भइरहेको छ,’ उनले भने । कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले नेपालमा शिक्षक नभएको, भएका शिक्षकहरुमा गुणस्तर नभएको र गुणस्तर शिक्षकहरुलाई आवश्यक पहिचान र संवद्र्धन हुन नसक्ने समस्या प्रचुर रहेको बताए । उनले शिक्षा क्षेत्रलाई गुणस्तरयुक्त बनाएर लैजानका लागि शिक्षा नीतिको सुधार आवश्यक भएपनि शिक्षा नीति सुधारका लागि मन्त्रालय तयार रहेको बताए । सरकारले शिक्षा नीति ल्याएको र अब सरकारको शिक्षा नीतिको कार्यान्वयन गरेर अघि बढ्न आवश्यक भएको जानकारी दिए । कार्यक्रममा विश्वविद्यालय अनुदान आयोगका सदस्यसचिव शंकरप्रसाद भण्डारीले सरकारले बनाएका नीति कार्यान्वयनको चुनौति रहेकाले सबैले कार्यान्वयनको पक्षमा अघि बढ्न आवश्यक रहेको बताए । उनले उच्च शिक्षालाई कसरी गुणस्तर बनाउने भन्ने सन्दर्भमा देशको करिकुलम लगायतका विषयवस्तुमा ध्यान दिनुपर्ने बताए । उनले सम्बन्धित निकायहरु शिक्षा क्षेत्रमा परिमार्जन र विषयवस्तुहरुलाई नयाँ तरिकामा अघि बढाउन नसक्ने कमजोरी रहेको बताए । उनले नेपालमा शिक्षकहरुले शिक्षण पेशालाई ज्ञान दिने कुरा भन्दा पनि जागिर खाने कुरामा जोड दिएकाले शैक्षिक गुणस्तरमा कमी आएकोमा जोड दिए । उनले शिक्षकहरुले पनि आफू शिक्षक भइसकेपछि समाजलाई परिवर्तन गर्नसक्ने भुमिका निर्वाह गर्नुपर्छ भन्नेकुरालाई आफ्नो दायित्व सम्झेर अघि बढ्न सक्नुपर्ने बताए । उनले शिक्षकहरुले समाजप्रतिको उत्तरदायित्व वहन नगरेसम्म शिक्षामा सुधार हुन नसक्ने बताए । कार्यक्रममा सहभागी अन्य शिक्षाविद्हरुले शिक्षक बन्नको लागि न्युनतम शैक्षिक ज्ञान हुन आवश्यक रहेको बताए । उनीहरुले शिक्षकहरु छनोट गर्ने प्रक्रिया प्राकृतिक नभएको गुनासो गरे । उनीहरुले अभिभावक र विद्यालयबीचको सम्बन्ध सत्तापक्ष र प्रतिपक्षको जस्तो देखिएकाले अभिभावक संघले यसमा आफ्नो भुमिकाप्रति उत्तरदायी बन्न आग्रह गरे ।

हुन्डाइ कन्स्ट्रक्सनका डेढ करोड हेभि एक्जाभेटर ९० लाखसम्म पाइने

काठमाडौं । हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्ट नेपालले निर्माण व्यवसायीहरूलाई लक्षित गरेर ‘हुन्डाइ स्मार्ट प्रमिस’ योजना ल्याएको छ । यस योजना अन्तर्गत व्यवसायीहरूले कम लगानीमै राम्रो कन्डिसनको सेकेन्ड ह्यान्ड एक्जाभेटर सुपथ मूल्यमा पाउन सक्नेछन् । कम्पनीकाे अनुसार व्यवसायीहरूले नयाँ उपकरणको भन्दा लगभग ६० गुणा कम लगानीमै सेकेन्ड ह्यान्ड उपकरण खरिद गर्न सक्नेछन् । नयाँ अवस्थामा लिँदा एक करोड ५० लाख नेपाली रुपैयाँसम्म पर्ने उपकरणहरू ग्राहकले ६० देखि ९० लाख रुपैयाँमै लिन सक्ने कम्पनीले बताएकाे छ । कम्पनीकाे अनुसार उक्त सेकेन्ड ह्यान्डका उपकरणहरू ३६१ घण्टादेखि बढिमा २९५० घण्टासम्म प्रयोग गरिएका छन् । यस्तै, कम्पनीले ‘हुन्डाइ स्मार्ट प्रमिस’ का हरेक एक्जाभेटरहरुमा ९ महिना वा १००० घण्टाको प्रयोग अवधिसम्म वारेन्टि दिएकाे छ । साथै, हुन्डाइ मेन्टेनेन्स कन्ट्रयाक्ट (एच एम सि) प्याकेज अन्तर्गत निश्चित युनिटका एक्जाभेटरहरूमा ६ महिना, ८ महिना वा ९ महिनाको नि: शुल्क मर्मत गर्ने व्यवस्था पनि गरेकाे छ । ग्राहकले यस योजनाका मेसिनहरू हुन्डाइको काठमाडौं, हेटौँडा र बुटवल सोरुमबाट खरिद गर्न सक्ने कम्पनीले बताएकाे छ । हुन्डाइ कन्स्ट्रक्सन नेपालको हेभि निर्माण उपकरण बजारमा प्रमुख हिस्सा ओगटेको कम्पनि हो ।

उखु किसानको समस्या दीर्घकालीन रूपमा समाधान गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं । उखु किसानको समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्न सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन् । बिहीबार दिगो विकास तथा सुशासन समितिको बैठकमा उखु किसानको समस्याको सम्बन्धमा छलफल गर्दै राष्ट्रिय सभाका सांसदहरूले समस्याको समाधान दीर्घकालीन रूपमा गर्न सरकारको ध्यानाकर्षण गराएका हुन्। उखु किसानको समस्यालाई बारम्बार बल्झाउन नहुनेमा सांसदहरूले जोड दिए। राष्ट्रिय सभा सदस्य वामदेव गौतमले नगदेबालीको रूपमा रहेका उखुलगायतका बालीलाई व्यक्तिगत रूपमा मात्रै लगाएमा समस्या दोहोरिइरहने बताए। उनले उखुबालीलाई सामूहिक उत्पादन गर्नुपर्नेमा जोड दिए। त्यस्तै, चिनी उद्योगलाई पनि व्यवस्थित गर्नुपर्ने उनको भनाइ छ। त्यसैगरी, राष्ट्रिय सभा सदस्य कमला पन्तले उद्योगीले किसानलाई समयमै रकम भुक्तानी नगर्ने गरेको भए पनि यसप्रति सरकार गम्भीर नभएको बताइन्। उनले उखु उत्पादनलाई सहकारीको माध्यमबाट अगाडि बढाउन सके राम्रो हुने धारणा व्यक्त गरिन्। निजी क्षेत्र, सरकार र सहकारी मिलेर उखु उत्पादन गर्नुपर्नेमा उनको जोड छ। राष्ट्रिय सभा सदस्य शारदादेवी भट्टले सरकारले नीतिगत निरन्तरता नदिनाले उखु किसानको समस्या समाधान हुन नसकेको औँल्याइन्। सरकार बदलिनासाथ नीति पनि बदलिने हुँदा उखु किसानको समस्या दिनप्रतिदिन बल्झिएको उनले बताइन्। समस्या समाधानका निम्ति एउटै नीतिको निरन्तरता हुनुपर्नेमा उनको जोड छ। नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनालीले उखु किसानका धेरै समस्या रहेको भन्दै उनले समस्या समाधानका निम्ति सरकारले चासो नदिएको बताए। उखु किसानलाई उखु किसान भएरै बाँच्न दिन आग्रह गर्दै उनले सरकारले समयमै मल र उद्योगले भुक्तानी नदिने गरेको बताए।

काठमाडौं महानगरले सुकुम्बासी बस्ती हटाउन माग्यो गृहको सहयोग

काठमाडाैं । काठमाडाैं महानगरपालिकाले बागमति नदी किनारमा रहेकाे अनाधिकृत संरचना हटाउन गृह मन्त्रालयलाई सहयाेग गर्न आग्रह गरेकाे छ । महानगरपालिकाले बुधबार गृह मन्त्रालयलाई एक पत्र लेख्दै बागमति नदी किनारमा रहेकाे सुकुम्बासी बस्ती हटाउन सहयाग गर्न आग्रह गरेकाे हाे । महानगरले प्रयास गरे पनि सुकुम्बासी बस्तीहरु हटाउन नसकेकाे भन्दै समन्वय र सहयाेग गर्न आग्रह गरेकाे छ । ‘उल्लेखित अतिक्रमित क्षेत्र मध्ये थापाथलीस्थित बाग्मती नदी किनारमा अव्यवस्थित / अनाधिकृत रुपमा रहेको संरचना हटाई सो क्षेत्रको संरक्षण एवं सौन्दर्यकरण गर्ने कार्य तत्काल अगाडी बढाउन बाग्मती सभ्यता एकीकृत विकास परीयोजना समेतबाट अनुरोध भै आएको र सो क्षेत्र खाली गराउन महानगरबाट आवश्यक सबै समन्वय र प्रयास अगाडी बढाइएको भएतापनि सो सफल हुन सकेको अवस्था छैन । यसर्थ विशेष गरी थापाथलीस्थित उल्लेखित क्षेत्रमा रहेका अनाधिकृत संरचना हटाइ तहाँ सौन्दर्यीकरणको कार्य तत्काल शुरु गर्ने कार्यक्रम रहेकोले सो संरचना हटाउन आवश्यक सहयोग एवं समन्वयका लागि अनुरोध छ,’ पत्रमा लेखिएकाे छ ।

कालीकोटमा अप्टिकल फाइबर सञ्चालन हुँदै

  कालीकोट । कालीकोटको रास्कोट नगरपालिकामा अप्टिकल फाइबरबाट इन्टरनेट सञ्चालनमा आउने भएको छ । रास्कोट नगरपालिकामा इन्टरनेट भरपर्दो बनाउनका लागि अप्टिकल फाइबरबाट इन्टरनेट सञ्चालनमा आउने भएको हो । रास्कोट नगरपालिकाको मुकाम आरसिपी बजारमा वर्डलिङ्कले अप्टिकल फाइबर इन्टरनेट सञ्चालनमा ल्याउन लागेको छ । पछिल्लो समय फाइबर इन्टरनेट एकदमै लोकप्रिय हुँदै गएको र अहिले फाइबर इन्टरनेटको माग बढ्दै गइरहेको अवस्थामा रास्कोट नगरपालिकालाई प्रविधिमैत्री बनाउनका लागि फाइबर नेट जडान गर्न लागिएको रास्कोट नगरपालिकाका प्रमुख धर्मराज शाही पोषणले जानकारी दिए । ‘अरु माध्यमभन्दा फाइबर इन्टरनेटको गती राम्रो हुने भएकाले जडान गर्न लागिएको हो ।’ उनले भने, ‘अबका केही दिनमा रास्कोट नगरपालिकामा जडान हुनेछ ।’ नगरपालिकालाई प्रविधिमैत्री बनाउनका लागि फाइबर नेट जडान हुने र यसले विद्यालय, सरकारी कार्यालय र निजी क्षेत्रलाई सेवा लिने प्रमुख शाहीले जानकारी दिए । ‘हामीले शिक्षा, स्वास्थ्य, रोजगार र अन्य क्षेत्रमा काम अगाडि बढाएका छौँ’, उनले भने, ‘अहिलेको सूचना प्रविधिको युगमा इन्टरनेट पनि अपरिहार्यजस्तै भएको छ ।’