सशस्त्र प्रहरीद्वारा २९ लाख भन्दा बढि मुल्यको सामान बरामद
सिरहा । सिरहाको विभिन्न स्थानबाट पुष १३ गते सशस्त्र प्रहरीले करीव २९ लाख २२ हजार ४ सय रुपैयाँ बराबरको विभिन्न किसिका लत्ताकपडा तथा अगरबत्तीको धुलो बरामद गरेको छ । विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ गण सिरहाले लुकाई छिपाई राखेको अवस्थामा उल्लेखित मुल्य बराबरको लत्ताकपडा तथा अगरबत्तीको धुलो बरामद गरेको हो । सिरहाको नवराजपुर गाउँपालिका ५ मेनहा बस्ने संजय महतोको जस्तापाताले छाएको टहरामा लुकाई राखेको अवस्थामा १६ लाख २२ हजार ४ सय रुपैयाँ बराबरको लत्ताकपडा र अगरबत्तीको धुलो बरामद गरी सिरहा भन्सार कार्यालय मार्डरमा बुझाईएको छ । सोही गाउँपालिका ५ झाँझपट्टी बस्ने विनोद यादवको घर नजिकै लुकाई छिपाई राखेको ५ लाख रुपैयाँ बराबरको १ सय २० बोरा अगरबत्तीको धुलो समेत बरामद भएको छ । सशस्त्र प्रहरीले सोही ठाउँकै मेनहा बस्ने ब्रहमदेव महतोको जस्ताले बनाएको टहरोमा ५ लाख ५० हजार रुपैयाँ बराबरको १ सय ६० बोरा अगरबत्तीको धुलो र सोही गाउँपालिका ३ जगतपुर बस्ने शिवनारायण यादवको आगनमा लुकाई राखेको अवस्थामा २ लाख ५० हजार रुपैयाँ बराबरको ७२ बोरा अगरबत्तीको धुलो समेत बरामद गरेको हो । बरामद सामान भन्सार कार्यालय लैजाने क्रममा स्थानीयले ढुङ्गा हान्दा सशस्त्र प्रहरीको बा १ ग २०५५ नम्बरको ट्रकमा समेत क्षती पुगेको छ ।
५ दिनमा न्युनतम साझा कार्यक्रम तय गर्ने सत्ता गठबन्धनको निर्णय, संयोजक ओली
काठमाडौं । सत्ता साझेदार दलहरुहरुले आगामी ५ दिनमा न्युनतम साझा कार्यक्रम तय गर्ने निर्णय गरेको छ । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले यस्तो निर्णय गरेको हो । न्युनतम साझा कार्यक्रम बनाउन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई संयोजक बनाउने निर्णय भएको उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले बताए । ‘बैठकमा मन्त्रीमण्डल विस्तारका बारेमा पनि छलफल भएको छ, आजको बैठकमा केन्द्र सरकारदेखि प्रदेश सरकारको बारेमा पनि छलफल भएको छ,’ उनले भने । गृहमन्त्री लामिछानेले सरकार के का लागि हो भन्नेकुराको तय गर्न न्युनतम साझा कार्यक्रम बनाइन लागेको बताए ।
दर्ता भएको प्रमाणपत्र ल्याए बैंकहरु ऋण दिन तयार
विराटनगर । विराटनगर महानगरपालिकामा दर्ता भएको प्रमाणपत्र लिएर मात्रै व्यवसाय र फर्मलाई ऋण प्रवाह गर्न वाणिज्य बैंकहरु तयार भएका छन् । आन्तरिक आम्दानीलाई बलियो बनाउने अभियान अन्तर्गत महानगरले वाणिज्य बैंकका प्रादेशिक कार्यालयका प्रमुखलाई बोलाएर आज छलफल गरेको छ । छलफलमा महानगरको आग्रहलाई स्वीकार्दै बैंकका प्रादेशिक प्रमुखले अबदेखि ऋण प्रवाह गर्दा महानगरमा व्यवसाय दर्ता र नवीकरण भए/नभएको हेर्ने प्रतिबद्धता जनाएका छन् । उनीहरुले विराटनगरको विकास र समृद्धिमा सहयोग गर्न आफूहरु तत्पर रहेको बताए । छलफलमा महानगरभित्र सञ्चालित २१ वटा वाणिज्य बैंकका प्रमुखको सहभागिता थियो । महानगरको करवृद्धि, पार्किङ व्यवस्थापन, सामाजिक उत्तरदायित्व बहन गर्ने उनीहरुले सामूहिक प्रतिबद्धता जनाएका छन् । सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकहरुले गर्ने खर्च महानगरपालिकासित समन्वय र सहकार्य गरेर सञ्चालन गर्न समेत वाणिज्य बैंकका प्रमुखहरु सहमत भएका छन् । छलफलमा विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले महानगरको आन्तरिक आय बढाउन कर सङ्कलन अभियान सञ्चालन भइरहेको जानकारी दिए । उनले विराटनगर सबैको भएकाले महानगरको अभियानमा साथ दिन आग्रह गर्दै भने, ‘बैंकहरुले हाल वाणिज्य कार्यालयमा दर्ता भएको प्रमाणपत्रका आधारमा ऋण दिँदै आएका छन्, अबदेखि ऋण दिँदा महानगरमा दर्ता भएको प्रमाणपत्र पनि खोजिदिनु होला ।’ बैंकहरुले सामाजिक उत्तरदायित्व अन्तर्गत विराटनगरको सौन्दर्यकरण लगायतमा पनि सहयोग गर्न सक्ने भन्दै प्रमुखले भने, ‘विराटनगर तपाईंहरुको पनि हो, तपाईंहरुले यहाँको सौन्दर्यकरणसँगै एम्बुलेन्स, शवबाहन सहयोग गर्न सक्छन् ।’ उपप्रमुख शिल्पा निराला कार्कीले बैंकहरुले पार्किङ व्यवस्थापन नगर्दा समस्या भएको प्रतिक्रिया दिए । प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले महानगरमा स्रोतको अभाव रहेको जानकारी दिँदै आन्तरिक राजस्व कार्यालयसित कुरा गरेर बहाल कर महानगरले नै लिने व्यवस्था मिलाइएको बताए । राजस्व महाशाखा प्रमुख सरोज गौतमले महानगरको पाँच वटा वडामा कर सङ्कलन विशेष अभियान सञ्चालन गरिरहेको जानकारी दिए । आर्थिक वर्ष ४९ करोड ७८ लाख रुपैयाँ आन्तरिक राजस्व सङ्कलन गरेको महानगरले चालु आर्थिक वर्षमा ८७ करोड सङ्कलन गर्ने लक्ष्य राखेको छ ।
घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच?
काठमाडौं । नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला २ सय रुपैयाँले घटेर एक लाख नौ सय रुपैयाँ तोकिएको छ । अघिल्लो दिन सुन प्रतितोला १ लाख १ हजार एक सयमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख चार सय रुपैयाँ छ । यसको मूल्य अघिल्लो दिन १ लाख छ सय रुपैयाँ थियो । त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला २० रुपैयाँले घटेर १ हजार ३८० रुपैयाँमा आएको महासङ्घले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ । हाल अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस एक हजार आठ सय नौ दशमलव ६२ अमेरिकन डलर आसपासमा कारोबार भइरहेको जनाइएको छ ।
५० अर्ब रुपैयाँ बजारमा पठाउदै राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न अर्बाै रुपैयाँ बजारमा पठाउने भएको छ । राष्ट्र बैंकले तरलता व्यवस्थापनको लागि रिपोमार्फत ५० अर्ब रुपैयाँ बजारमा पठाउने भएको हो । केन्द्रिय बैंकले बिहीबार ५० अर्ब रुपैयाँको रिपोको बोलकबोलमा सहभागी हुन बैंक तथा वित्तीय संस्थालाई आग्रह गरेको छ । बोलकबोलमार्फत् जारी हुने भएकाले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले अनलाइन बिडीङ मार्फत् खरिद गर्न सक्नेछन् । उक्त रिपो डेढ महिनाको लागि जारी गर्ने भएको हो । बिहीबार जारी गरेको रिपो माघ २९ गते परिपक्व हुनेछ ।
जनक मावि : विद्यार्थीलाई पढाउँदै, व्यवसायी बनाउँदै
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–४ मेथिनकोटस्थित कक्षा १२ मा अध्ययनरत विद्यार्थी विवेक पकवालले घरमा ५ महिनादेखि एउटा बाख्रा पालिरहेका छन् । विद्यालयमा पशु विज्ञान धानमा अध्ययनरत उनले विद्यालयमा सञ्चालन भएको पढ्दै कमाउँदै कार्यक्रमअन्तर्गत सो कार्य थालनी गरेका हुन् । पाठ्यक्रममा ५० प्रतिशत सैद्धान्तिक र ५० प्रतिशत प्रयोगात्मक विधिअनुसार घरमा बाख्रापालनले आम्दानीसँगै अध्ययनलाई निन्तर अगाडि बढाउन सहयोग पुगेको उनले बताए । ‘पालेको बाख्राको पहिलो सन्तान विद्यालयलाई दिनुपर्ने र माउ बाख्रा भने विद्यार्थी आफैँले पाउने गरी हामीले पढाइसँगै प्रयोगात्मकको रुपमा पढ्दै कमाउँदै कार्य गर्दै आएका छौँ’, उनले भने, ‘दिउँसो बाख्रासम्बन्धी पढाइ हुन्छ, बेलुका घरमा पुगेर व्यवहारिक ज्ञान लिने गर्दा धेरै सजिलो पनि हुँदोरहेछ ।’ यसरी काम गर्दा परम्परागत र पढेर गरेको काममा भिन्नता देखिनुका साथै कम समय र कम खर्चमा धेरै उत्पादन हुने अवस्था रहेको उनले बताए । अर्का विद्यार्थी कक्षा १० मा अध्ययनरत पशु विज्ञान प्राविधिक धारमा अध्ययनरत अनमोल अधिकारीले पनि पढेर मात्रै नभई व्यवहारमा लागू गरेर देखाउन सक्ने हुनको लागि आवश्यक रहेकाले ‘पढ्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत बाख्रा पालन कार्यमा संलग्न भएर काम आएको बताए । उनीहरुसँगै अन्य २२ जना विद्यार्थीले त्यसरी नै अध्ययनसँगै प्रतिविद्यार्थी एउटा बाख्रापालन गर्दै आइरहेका छन् भने विद्यालयले फार्म सञ्चालन गरी बाख्रापालनको काम गरिरहेको छ । सोही विद्यालयका कक्षा ८ मा अध्ययनरत विद्यार्थी सोदीक्षा मैनालीले भने विद्यालय हाताभित्रमा रहेको मौरीको घार रेखदेख गर्दै आएकी छिन् । विद्यालयले ‘पढ्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत विद्यार्थीलाई ५/५ जनाको समूह बनाएर मौरीको घार वितरण गरी मौरीपालन कार्यमा संगल्न गराएपछि उहाँ अध्ययनसँगै त्यसैमा केन्द्रित भएको छ । ‘हामीले विद्यालय हाताभित्र नै मौरीलाई चाहिने फूलका बोट बिरुवा रोप्ने गर्नुपर्छ ।’ उनले भनिन्, ‘त्यसबाट हुने आम्दानीको ५० प्रतिशत विद्यालयलाई र ५० प्रतिशत समूहमा रहने साथीहरुलाई बाँडेर लिन पाइने शिक्षकले बताएका छन् ।’ बाख्रापालन गर्नलाई घरमा गोठ नभएको र मौरीपालन गर्दा धेरै दुःख नहुने भएकाले यही काम रोजेको उनले बताइन् । कक्षाका ४२ जनामध्ये मौरीपालन कार्यमा संलग्न हुन चाहने २० जनाले करिब २ हप्ताबाट सो कार्य सुरु गरेका छन् । उनीहरु मात्रै नभएर विद्यालयका अन्य ७६ जना विद्यार्थी अदुवाखेतीमा संलग्न भएर काम गरिरहेको विद्यालयले जनाएको छ । विद्यालयका सहायक प्रधानाध्यापक हरिहर अधिकारीका अनुसार ६ रोपनी जग्गा भाडामा लिएर ‘पढ्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत अदुवा खेती सुरु गरेको छ । यसरी विद्यालयका विद्यार्थीमध्ये ११८ विद्यार्थी पूर्णरुपमा सहभागी भइरहेको उनले बताए । त्यति मात्रै होइन, विद्यालय भवनको पछाडि रहेको जग्गामा टनेलभरि पाकिरहेको गोलभेडा, काउली र मुला छन् । त्यसैको छेउमा फूल फुल्दै गरेको तोरी, अनि धेरै थरिका तरकारीको बेर्नादेखि टिप्न मिल्ने थरिथरिका तरकारी । विद्यार्थीको मेहिनतले यहाँका ४ रोपनी जग्गा हराभरा बनाएको छ । ‘एक विद्यालय, एक उद्यम कार्यक्रम’अन्तर्गत विषयसँग सम्बन्धित बाख्रापालन, तरकारीखेती, धानखेती र मौरीपालनको समेत काम भइरहेको छ । कार्यक्रमअन्तर्गत विद्यार्थीलाई थप सक्रिय बनाउनका लागि विद्यालयले ‘कृषि उद्यमी क्लब’ भनेर गठन गरेको छ । जसको नेतृत्व कक्षा १२ का विद्यार्थी विवेक पकवालले गरेका छन् । विद्यालयको नेतृत्वमा आवश्यक जग्गा उपलब्ध गराएर विद्यार्थीलाई सहज बनाएको छ । जहाँ उत्पादन भएको तरकारी र धान विद्यालयमा नै सञ्चालन भएको दिवा खाजाको लागि विद्यालयले नै खरिद गर्दै आएको विद्यालयका सहायक प्रधानाध्यापक हरिहर अधिकारीले बताए । उनका अनुसार अहिले विद्यालयले सञ्चालन गरेको बाख्रा फार्ममा १८ वटा बाख्रा छन् । यसअघि २ हजार वटा कुखुरा बिक्री गरिसकेकोमा अहिले ३० वटा लोकल कुखुरा पालन गरी मासु र अण्डा उत्पादनको काम भइरहेको छ । विशेष गरी अण्डा उत्पादनको कामलाई प्राथमिकता दिने गरी ५ सयसम्म पुर्याउने तयारीमा विद्यालय रहेको उनले बताए । यसको रेखदेख गर्नका लागि मोहन स्याङतान दम्पतीलाई राखिएको छ । सङ्घीय सरकारको १० लाख अनुदानमा पढ्दै कमाउँदै कार्यक्रम सुरु भएको हो । विद्यालयको कक्षा ७ देखि नै सुरु भएको छ भने कक्षा ९ देखि १२ सम्म पशु विज्ञान प्राविधिक धारको पढाइसमेत सञ्चालन भइरहेको छ । रासस
पोखरा विमानस्थल : क्षमता अन्तर्राष्ट्रिय, उडान आन्तरिकमै सीमित
काठमाडौं । पोखरामा निर्माण सम्पन्न भएको क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थल औपचारिक रुपमा सञ्चालनमा आउने भएको छ । नेपाल नागरिक उड्यन प्राधिकरण (क्यान) ले आगामी जनवरी १ अर्थात् पुस १७ गतेदेखि औपचारिक रुपमा विमानस्थल सञ्चालनमा ल्याउने भएको हो । क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा रहेको पोखरा विमानस्थल सञ्चालनकै दिन आन्तरिक उडान मात्रै हुने भएका छन् । बुद्ध एयरले पहिलो उडान पोखरा–बनारसको तयारी गरेको भएपनि भारतले अनुमति नदिँदा उडान अन्यौल बनेको क्यानका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए । ‘बुद्धले भारतसँग पोखरा–बनारस उडानको अनुमति मागेको थियो तर, बुधबार साँझसम्म भारत सरकारले उडानको अनुमति नदिँदा उडान अन्यौल बनेको छ,’ उनले भने, ‘पहिलो उडान बनारसको तयारीमा थियौँ तर, हालसम्म भारत सरकारले अनुमति दिएको छैन, भारतले अनुमति नदिँदा आन्तरिक उडान मात्रै हुने भयो ।’ यससँगै क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा रहेको पोखरा विामानस्थल सुरुवाती चरणमा आन्तरिक उडानमा मात्रै सीमित हुने भएको हो । उनका अनुसार काठमाडौंबाट हुने आन्तरिक उडानका जहाज १ जनावरीदेखि नै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान हुनेछन् । उनले जजिरा, बुद्ध, हिमालय र नेपाल एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानमा चासो देखाएका छन् । तर, अहिलेसम्म कुन एयरलाइन्सले कहाँ उडान गर्ने भन्ने टुंगो नगालेको उनले बताए । पोखरा विमानस्थलबाट बुद्ध एयरले भारतका ३ गन्तव्य पोखरा–बनारस–पोखरा, पोखरा–दिल्ली–पोखरा र पोखरा–देहरादुन–पोखरामा उडान गर्ने योजना बनाएको छ । पोखरा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान ‘सिङ्गल अप्रोच’ बाट हुनेछ । विमानस्थलको पूर्वपट्टिबाट मात्रै अन्तर्राष्ट्रिय उडान र अवतरण हुनेछन् भने आन्तरिकतर्फ रन–वेको दुवैतर्फबाट उडान तथा अवतरण गर्न मिल्ने क्यानको भनाइ छ । विमानस्थलमा साना र ठूला गरी ११ वटा विमान पार्किङ गर्न सकिन्छ । आन्तरिकतर्फ दैनिक ४८ र अन्तर्राष्ट्रियतर्फ ६ वटा उडान तथा अवतरण गर्ने क्यानको तयारी छ । विमानस्थलसँग वार्षिक ८ लाख यात्रुलाई सेवा दिनसक्ने क्षमता छ । प्राधिकरणका अनुसार यसअघि भएको यान्त्रिक परीक्षण (क्यालिब्रेसन) उडानको प्रारम्भिक प्रतिवेदन आइसकेको छ ।
सोलुखुम्बुमा घरेलु कार्यालयलको राजस्व सङ्कलनमा कमी
सोलुखुम्बु । सोलुखुम्बुमा फार्म दर्ता गराउनेको सङ्ख्यामा ५६ प्रतिशतले गिरावट आएपछि घरेलु तथा साना उद्योग कार्यालयको राजश्व सङ्कलनमा कमी आएको छ । गत आर्थिक वर्ष २०७८/७९ को पहिलो पाँच महिनाको तुलनामा चालु आर्थिक वर्ष २०७९/८० को सोही अवधिमा उद्योग तथा वाणिज्यतर्फ फार्म दर्ता गराउनेको सङ्ख्यामा कमी आएको छ । गत आर्थिक वर्षको साउनदेखि मङ्सिरसम्ममा दुई सय एक उद्योग र २४ वाणिज्य फार्र्म दर्ता भएका थिए । तर चालु आर्थिक वर्षको सोही अवधिमा ७४ उद्योग र २४ वाणिज्य फार्म मात्र दर्ता भएका छन् । कार्यालयमा फार्र्म दर्ता गराउनेको सङ्ख्यामा कमी आएसँगै राजस्व सङ्कलनमा पनि ४८ प्रतिशतले कमी आएको घरेलु तथा साना उद्योग कार्यालयका सूचना अधिकारी सुनिता राईले जानकारी दिइन् । गत आर्थिक वर्षको पहिलो पाँच महिनामा चार लाख ७० हजार रुपैयाँ राजस्व सङ्कलन भएकामा चालु आवमा दुई लाख ४० हजार रुपैयाँ मात्र राजस्व सङ्कलन भएको छ । गत वर्ष कोभिड–१९ का कारण गाउँ फर्किएका नागरिकले अनुदानका लागि विभिन्न फार्म दर्ता गर्ने क्रम बढेको थियो । यस वर्ष अनुदान कार्यक्रम नहुँदा फार्म दर्ता गराउनेको सङ्ख्या घटेको उद्योग अधिकृत सङ्गीता थुलुङ राईले बताइन् ।