वर्ष दिन वित्दा पनि टीकापुरका घरधनीले मुआब्जा पाएनन्
कैलाली । कैलालीमा लम्की टीकापुर खक्रौला सडकखण्डअन्तर्गत टीकापुर–१ का करिब एक दर्जन घरधनीले छ वर्ष बित्दा पनि मुआब्जा पाएका छैनन् । सडक छेउछाउका जग्गाको मुआब्जा दिइए पनि घरको मुआब्जा नपाउँदा उनीहरू छ वर्षदेखि धनगढीस्थित हुलाकी राजमार्ग आयोजना कार्यालय धाउन बाध्य भएका छन् । विसं २०७२ मा जिल्ला प्रशासन कार्यालयले टीकापुरका खुसीराम थारू, बुधराम थारूलगायत करिब एक दर्जन नागरिकको जग्गा र घरको मुआब्जा उपलब्ध गराइदिन हुलाकी राजमार्ग आयोजना कार्यालयलाई पत्राचार गरेको थियो । स्थानीयवासीले मुआब्जाका लागि धेरै दौडधुप गरेपछि जग्गाको मुआब्जा पाए पनि घरको मुआब्जा हालसम्म पाएका छैनन् । घरको मुआब्जाका लागि घरधनीले हुलाकी राजमार्ग आयोजनासँग पटक–पटक आग्रह गरे पनि सुनुवाइ नभएको भन्दै उनीहरूले टीकापुर नगरपालिकासँग हारगुहार गर्न २०७९ साल असार १७ गते निवेदन लेखेका थिए । खुशीराम थारू, बुधराम थारू, दुखराम थारू, नवराज पाण्डे, पहले साउद, सावित्रादेवी साउद र पहलबहादुर रावलले घरको मुआब्जा दिलाउन पहल गरिदिन नगपालिकासँग अनुरोध गरेका हुन् । सडक आयोजनाका कर्मचारीले प्रष्ट कुरा नगर्ने र दिन्छु–दिन्छु मात्र भन्ने गरेको नवराज पाण्डेले बताए । ‘मैले घरको मुआब्जासहित रकम लिने भनेर जग्गाको मुआब्जासमेत लिएको छैन’, पाण्डेले भने, ‘घरको मूल्याङ्कन गर्न आउनुभएको छैन, कतिपयको बरण्डा अहिले नै जान्छ ।’ उनले पटक–पटक धाउदा पनि सम्बन्धित निकायले नागरिकको समस्या नबुझ्नु दुःखद् हो भने । आवाज कमजोर भएकै कारण सरकारी निकायले आफ्ना समस्याका बारेमा ध्यान नदिएको घरधनी खुशीराम थारूले भने । ‘पहिला जग्गाको मुआब्जा लैजाउ र घरको मूल्याङ्कन गरेपछि पाउँछौ भन्थे’, थारूले भने, ‘सरकारी कार्यालयले भनेपछि मान्यौँ तर अहिले दुःख पायौँ ।” “मेरो घरको बरण्डा जान्छ र भित्रको कोठालाई समेत छुन्छ’, थारूले भने, ‘घरको नक्सा, चार किल्ला प्रमाणित गरी बुझाएको छु । छ–सात वर्षदेखि मुआब्जाका लागि धनगढी धाइरहेका छौँ ‘ उता हुलाकी सडक कार्यालय धनगढीका योजना प्रमुख सविन जोशीले यो धेरै वर्ष पहिलेको कुरा भएकाले आफूलाई जानकारी नभएको बताए । ‘म आएको एक वर्ष भयो । मलाई थाहा नभएकाले रेकर्ड नहेरी भन्न सक्दिनँ, पाउन बाँकी रहेको भए म बुझ्छु, पहल गर्छु’, उनले भने, ‘म आएको एक वर्षको बीचमा मुआब्जाबारे कुरै आएको छैन । म फिल्डमा खटेका कर्मचारीलाई पनि बुझ्छु । पाउन बाँकी रहे पहल गर्छु ।’ मुआब्जा पाउने कुरा विगतमा भारत सरकारको सहयोगमा सडक कालोपत्र बन्दा आर्थिक वर्ष २०६७/६८ तिरको कुरा भएको योजना प्रमुख जोशीले बताए । ‘१२ मिटरसम्म घरजग्गा परेकालाई क्षतिपूर्ति दिइएको छ । केही दिन अगाडि एक जनाले बार्दली सडकमा प¥यो भनेर गुनासो गर्नुभएको छ’, योजना प्रमुख जोशीले भने, ‘त्यसबाहेक अन्य गुनासो आएको छैन । पाउने मानिसले नपाएको गुनासो आएमा क्षतिपूर्तिका लागि पहल गरौँला ।’ सहरी विकास तथा भवन निर्माण विभाग सङ्घीय आयोजना कार्यान्वयन एकाइ धनगढीका प्रमुख रमेश थिङले मूल्याङ्कन गरिदिने काम आफूहरूको भए पनि मुआब्जा दिने काम सम्बन्धित कार्यालयकै भएको बताए । ‘यो हाम्रो योजना होइन, हामीले त्यसमा काम गरेकै छैन, मूल्याङ्कन गरिदिने काम हाम्रो भए पनि म आएको दुई महिनामात्र भयो, मलाई जानकारी छैन’, उनले भने । रासस
साताभरि नै आंशिकदेखि सामान्य बदली
काठमाडौं । आगामी साताभरि नै देशको अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली हुने भएको छ । जल तथा मौसम विज्ञान विभागले साप्ताहिक मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको धेरै स्थानमा साताभरि नै बदली हुने छ । हिमाली भू–भागमा साताको सुरूमा सामान्यदेखि पूर्ण बदली तथा पहाडी भू–भागमा साताको सुरू र मध्यमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको बताइएको छ । त्यस्तै हिमाली भू–भागमा साताको सुरू र मध्यमा केही स्थानमा हल्का वर्षा÷हिमपातको समेत सम्भावना रहेको छ । प्रदेश नं १ को पहाडी भू–भागमा साताको सुरुआतमा छिटपुट वर्षाको सम्भावना छ । देशभर अधिकतम तथा न्यूनतम तापक्रम हल्का घट्ने तथा तराई भू–भागमा साताका अधिकांश दिनमा बिहान र राति हुस्सु–कुहिरो लाग्ने सम्भावना छ । हाल देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही तराईका केही भू–भागमा हुस्सु–कुहिरो लागेको छ भने बाँकी भू–भागमा मौसम सामान्यतया सफा छ । महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम चार दशमलव शून्य डिग्री र अधिकमत तापक्रम १६ दशमलव दुई डिग्री सेल्सियस छ । आज सबैभन्दा कम जिरीको न्यूनतम तापक्रम माइनस दुई दशमलव एक डिग्री सेल्सियस र सबैभन्दा बढी विराटनगरको अधिकतम तापक्रम १९ दशमलव चार डिग्री सेल्सियस छ ।
सुदूरपश्चिममा आज ‘पुसे पन्ध्र’ मनाइँदै, यस्तो छ ठूलीरातको महत्व
काठमाडौं । सुदूरपश्चिममा आज ‘ठूलीरात’ अथवा ‘पुसे प्रन्ध’ हर्षोल्लासका साथ मनाइँदै छ । हरेक वर्ष पुस महिनाको १५ गतेलाई सुदूरपश्चिममा विषेश महत्वका साथ हेरिन्छ । यो पर्वमा गाउँका सबै एक ठाउँमा भेला भएर रातभर आगो तापेर जाग्राम बस्ने तरुल, पिँडालु, सखरखण्डलगायतका कन्दमुल र डोटेली खानाका मीठा परिकार पकाएर खाने प्रचलन रहिआएको छ । साहित्यकार जगदीश ओझाका अनुसार यस दिनमा गाउँका सबै एकआपसमा भेटघाट गर्ने र कहानी स्थानीय भाषामा (आइना, बातै) सुन्ने र सुनाउने गरिन्छ । कन्दमुलजस्ता खानेकुरा खाँदा चिसो समयमा शरीर फूर्तिलो हुने र तागत बढ्ने किंवदन्ती छ । अन्य पात्रोअनुसार भिन्न भए पनि सुदूरपश्चिममा पुस पन्ध्रको रातलाई सबैभन्दा ठूलो रात हुने लोक मान्यता रहेको उनले बताए । ‘यो रात सबैभन्दा ठूलो हुने भएकाले गाउँका एक ठाउँमा भेला भएर कथा, कहानी, बातैजस्ता लोकसाहित्यका गाथा सुनाउने र सुन्ने गरिन्छ,’ उनले भने, ‘यो पर्वमा आफन्तसँग विशेष घेटघाट हुने कन्दमुल खाने र लोकगाथा सुनेर रात बिताउने प्रचलन छ ।’ सुदूरपश्चिमका अछाम, बझाङ र बाजुरामा यस पर्वलाई भुवापर्वका रूपमा समेत मनाउने गरेको उनले बताए । डोटी राज्य भएका बेला सुदूरपश्चिममा कृषि र पशुपालनमा आधारित अर्थतन्त्र रहेका थियो । गरिबीका कारण खान लगाउन समस्या हुने भएकाले कठ्याङग्रिदो चिसो छल्न रातभरि आगो बालेर पौष्टिक आहार खाने प्रचलन रहेको साहित्यकार रमेश पन्त मीतबन्धु बताउँछन् । ‘तत्कालीन सभ्यताअनुसार लुगा, कपडा नभएको हुँदा आगो तापेरसमेत चिसो छल्न सक्छौँ भन्नेसमेत सन्देश यो पर्वले दिएको छ, विशेषगरी यो रात लोकसाहित्य प्रस्तुत गर्ने गरिन्छ,’ उनले भने । सुदूरपश्चिमको लोक मान्यताअनुसार पुस १५ सबैभन्दा ठूलो रात हुने भएकाले पनि यसलाई ठूलीरात भनेर मनाइने उनले बताए । सुदूरपश्चिम प्रदेश र भारतको उत्तराखण्डमा पुस १५ देखि उत्तरायण सुरु हुने तथा दिन बढ्ने र रात घट्दै जाने लोक मान्यता रहेको छ । साहित्यकार डम्बर शर्मा बडूले पुस पन्ध्रको सांस्कृतिक एवं सामाजिक महत्व रहेको बताए । ‘यो रात बूढापाकाबाट अर्ती उपदेश सुन्ने, मनोरञ्जन गर्ने र कन्दमुल खाने गरिन्छ, एकापसमा भेटघाट हुने र सामाजिक सद्भाव र एकतासमेत कायम राख्छ,’ उनले भने । यो पर्वले नैतिकताको पाठसमेत सिकाउने उनले बताए । सुदूरपश्चिममा रातभर विभिन्न पौराणिक र लोककथा, गाउँखाने कथा सुन्ने–सुनाउने साथै गीत सङ्गीतको समेत भरपुर आनन्द लिने पर्वका रूपमा लिइन्छ । पछिल्लो सयम आइना, बातै भन्ने चलन हराउँदै जान थालेको छ भने आइना, बातै जान्ने व्यक्तिको अभाव र युवापुस्तामा लोक–संस्कृति पुस्तान्तरण हुन नसक्दा यसको मौलिकता हराउन थालेको छ ।
राष्ट्र बैंकले २.७५ लाख केजी बैंकनोटको ब्रिकेट र स्रेडेड टुक्रा बिक्री गर्दै
काठमाडौं । नेपाल राष्ट्र बैंकले २.७५ लाख केजी बैंकनोटको ब्रिकेट र स्रेडेड टुक्रा बिक्री गर्ने भएको छ । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग तथा उपत्यका बाहिरका विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीस्थित प्रादेशिक कार्यालयहरूमा चलनचल्ती अयोग्य बैंकनोटहरू धुल्याउने क्रममा प्राप्त हुने ब्रिकेट तथा स्रेडेड टुक्राहरू बिक्री गर्ने भएको हो । राष्ट्र बैंकका अनुसार ब्रिकेट तथा स्रेडेड टुक्राहरू वार्षिक करिब २.७५ लाख केजी परिमाणमा रहेका छन् । बैंकनोटको ब्रिकेट र स्रेडेड टुक्रा बिक्री गर्ने भएकाले सिलबन्दी प्रस्ताव पेश गर्न राष्ट्र बैंकले आह्वान गरेको छ । ब्रिकेट तथा स्रेडेड टुक्राहरू सबै खरिदकर्ताहरूबाट दरभाउ प्रस्ताव प्राप्त गरी मूल्य प्रतिस्पर्धाका आधारमा बिक्री गर्ने भएको हो । खरिद गर्न इच्छुक व्यक्ति, फर्म तथा कम्पनीहरूबाट ४५ दिन अर्थात् फागुन १ गतेभित्र शिलबन्दी दरभाउ प्रस्ताव पेश गर्न राष्ट्र बैंकले आह्वान गरेको हो । सिलबन्दी दरभाउ प्रस्ताव पेश गर्ने फारम २ हजार रुपैयाँ भुक्तानी गरी राष्ट्र बैंकका कार्यालयबाट खरिद गर्न सकिनेछ । इच्छुक खरिदकर्ताले विभाग वा कार्यालयपिच्छे खरिद गर्न मञ्जुर गरेको परिमाण तोकी फरक–फरक वा एकमुष्ट मूल्य प्रस्ताव पेश गर्न सक्नेछ । खरिद गर्न इच्छुकले वार्षिक खरिद गर्न चाहेको रकमको न्यूनतम १० प्रतिशत रकम बैंक ग्यारेन्टी समावेश गर्नु पर्नेछ ।
जीवन बीमाको आवश्यकता बुझाउन रविन्द्र भट्टराईले ल्याए किताब, मूल्य ३६५ रुपैयाँ
काठमाडौं । सेयर बजार विश्लेषक रविन्द्र भट्टराईले जीवन बीमा किताब बजारमा ल्याएका छन् । लामो समयसम्म वित्तीय साक्षरतामा कलम चलाइ रहँदा त्यस भित्रको अभिन्न अंगका रुपमा लिइने जीवन बीमालाई पनि समेट्न आवश्यक ठानेका कारण जीवन बीमा पुस्तक तयार गरेको भट्टराई बताँउछन् । पाठकहरुको बढ्दो रुचि, बदलिँदो वित्तीय आवश्यकता र बीमाको फैलँदै गएको बजारले यसको आवश्यकता अझ बढी देखिएको छ । बीमा बजारको गुणस्तरीयतामा वद्धि, जीवन बीमा अभिकर्ताको क्षमता अभिवृद्धि गर्न बीमा ऐन र नियमावलीमा भएका पछिल्ला व्यवस्थाको उद्देश्य पुरा गर्न यसले सहयोग पुर्याउने छ । बीमा गर्न चाहने, बीमाको आवश्यकता बुझ्न चाहने अनि बीमा अभिकर्ताका रुपमा काम गर्न चाहने र गरिरहेका तथा बीमा बजारको नियमन गर्ने सबै पक्षलाई यो पुस्तकले सहयोग पुर्याउने छ । यसले भर्खरै आएको ‘बीमा ऐन २०७९’ का व्यवस्था, बीमा प्राधिकरणका निर्देशनहरु र जीवन बीमाको क्षेत्रमा भएका अन्तर्राष्ट्रिय अभ्यासलाई समेत समेटेको छ । मानिसको वित्तीय योजना (फाइनान्सियल प्लानिङ) भित्र दैनिक खर्च व्यवस्थापन, लगानी, निवृत्त जीवनको वित्तीय योजना, करसँगै जीवन बीमा पनि पर्छ । जीवन बीमा मानिसको जीवनलाई आधार बनाएर गरिने बीमा हो । जुन धेरैका लागि कम रुचि तर बढी आवश्यकताको विषय पनि हो । यस्तै जीवन बीमालाई आवश्यकता अनुसार जीवनमा कसरी अधिकतम प्रयोग गर्न सकिन्छ भन्ने बारेमा सर्वसाधारणलाई जानकारी दिनु पनि यो पुस्तकको उद्देश्य हो । जसरी हामी लगानीका विविध विकल्पहरुलाई हाम्रो लक्ष्य वा योजनासँग जोड्छौं । जीवन बीमालाई पनि हाम्रा विभिन्न आवश्यकतासँग जोड्दै लग्न सकिन्छ । जस्तो बचत, बच्चाको शिक्षा, विवाह, निवृत्त जीवनका लागि आवश्यक पैसा, परिवारको वित्तीय सुरक्षा, मृत्युपछि सम्पत्ति हस्तान्तरण, सम्पत्ति हस्तान्तरणमा लाग्ने करको व्यवस्थापन, मृत्यु संस्कारमा लाग्ने खर्चको व्यवस्थापन जस्तो धेरै विषयलाई जोडेर जीवन बीमाको प्रयोग गरि वित्तीय योजना बनाउन सकिन्छ । त्यसैले जीवन बीमा मृत्युपछि धनी बन्न गरिने लगानी हो भन्ने धेरै मानिसको बुझाई भन्दा धेरै फरक पनि छ । भट्टराईले यसअघि सेयर मन्त्र, सेयरबाट करोडपति, नेपालको सेयर बजार, सेयरको आधारभूत विश्लेषण, सेयर कमोडिटिज तथा विदेशी मुद्राको प्राविधिक विश्लेषण, हाउ टु इन्भेष्ट इन स्टक मार्केट जस्ता पुस्तक लेखिसकेका छन् । पाठकका रुचि, विचार, सल्लाह र सुझाव नै लेखनको महत्वपूर्ण उर्जा रहेको भट्टराई बताउँछन् भने उनले बीमा प्राधिकरणका ऐन, नियम, निर्देशिकाहरुमा ल्याइएका परिवर्तनसँगै पुस्तकलाई समय सापेक्ष परिमार्जन गर्दै जाने प्रण पनि गरेका छन् । २१६ पेज रहेको यो किताबको मूल्य ३६५ रुपैयाँ राखिएको छ ।
भारतीय प्रधानमन्त्री मोदीलाई मातृशोक
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मातृशोक परेको छ । एक सय वर्षीया आमा हिरावेनको शुक्रबार बिहान निधन भएको हो । स्वास्थ्यमा समस्या आएपछि बुधबार अहमदवादको यूएन मेहता अस्पताल भर्ना गरिएको थियो । प्रधानमन्त्री मोदीले यसै वर्ष १८ जुनमा आमा हिरावेनको शताब्दिऔं जन्मजयन्ती मनाएका थिए ।
बढ्न थाल्यो घरजग्गा कारोबार, कुन ठाउँमा कति कारोबार ?
काठमाडौं । स्थानीय तहहरूले जग्गा वर्गीकरणलाई मूर्तरूप दिएसँगै घरजग्गा कारोबार बढ्न थालेको छ । गत असोज र कात्तिकको तुलनामा मंसिरमा घरजग्गा कारोबार बढेको देखिएको हो । सरकारले २३ मंसिरसम्ममा जग्गा वर्गीकरण गर्नुपर्ने गरी स्थानीय तहहरूलाई जिम्मेवारी दिएपछि घरजग्गामा मन्दी छाएको थियो । राष्ट्र बैंकले घरजग्गा कारोबारमा कडाइ गरेका कारण र बैंकहरूमा लगानीयोग्य रकम अभावमा मन्दी छाएको थियो । यद्यपि, मंसिरमा कारोबार बढेको देखिएको छ । भूमि व्यवस्थापन तथा अभिलेखन विभागका अनुसार मंसिरमा मात्रै कुल ८९ हजार २ सय ४६ घरजग्गा कारोबार भएको छ । कारोबार र जग्गा कित्ताकाट संख्या पनि बढेको छ । मंसिरमा ३० हजारभन्दा बढी जग्गा कित्ताकाट भएको छ । विभागका अनुसार गत कात्तिकमा ७६ हजार ५ सय ६२ र असोजमा ७४ हजार ८ सय ५० वटा घरजग्गा कारोबार भएको थियो । जग्गा वर्गीकरण सकिन थालेसँगै प्रत्येक महिना कारोबार बढेको हो । गत कात्तिकमा सबैभन्दा बढी जग्गा कारोबार इनरुवामा भएकोमा मंसिरमा भने बाँके नेपालगन्जमा भएको छ । गत असोजमा पनि इनरुवामै बढी जग्गा कारोबार भएको थियो । इनरुवामा गत कात्तिकमा २ हजार ६ सय ८४ र नेपालगन्जमा २ हजार ६ सय ८४ वटा भएको थियो । अहिले इनरुवालाई उछिन्दै नेपालगन्जमा ४ हजार १ सय ७८ वटा कारोबार भएको छ । सो मालपोत कार्यालयबाट १ हजार ३ सय ८२ लिखत पारित भएको थियो । भूमि सुधार तथा मालपोत कार्यालय नेपालगन्ज, बाँकेबाट गत असोजमा १ हजार २८ वटा कारोबार भएका थिए । मंसिरमा कुल ८९ हजार २ सय ४६ कारोबार हुँदा लिखत मात्रै २९ हजार १ सय ८४ वटा भएको छ । गत कात्तिकमा नेपालभरमा कुल २७ हजार ९ सय ३९ लिखत पारित र नामसारी २ हजार २ सय ८१ वटा भएको थियो । अहिले मंसिरमा भने लिखत २९ हजार १ सय ८४ हुँदा नामसारी पनि बढेर २ हजार ५ सय ११ पुगेको छ । गत वर्षको मंसिरमा भने लिखत मात्रै ६९ हजार ४ सय १२ वटा भएको थियो । गत वर्ष मंसिरमा कुल १ लाख ६९ हजार ८ सय कारोबार भएको थियो । गत वर्ष मंसिरमा सबैभन्दा बढी कारोबार बेलारी, इनरुवा, झापा, नेपालगन्ज, भक्तपुर, जनकपुरधाम, लगनखेल, काभ्रे र कलंकीमा भएको थियो । यस वर्ष मंसिरमा भने सबैभन्दा बढी कारोबार नेपालगन्ज, इनरुवा, बेलबारी, भद्रपुर, धनगढी, चितवन, तुलसीपुर, बुटवल र लगनखेलमा भएको छ । यस वर्ष मंसिरमा पनि बझाङ, सिर्दिवास, बलरा, महोत्तरी र जनकपुरधाममा कुनै कारोबार भएन । २३ जेठ २०७९ देखि भू–उपयोग नियमावली लागू भएपछि जग्गा व्यवस्थापनमा कमी आएको थियो । नयाँ ऐन–नियमअनुसार स्थानीय तहले कृषि, आवासीय, व्यावसायिक, औद्योगिक, खानी तथा खनिज, वन गरी विभिन्न विधामा स्थानीय तहले जग्गा वर्गीकरण गर्ने काम गरेकाले जग्गा व्यवसायी तर्सिन छाडेर कारोबार गर्न थालेका हुन् । मंसिरमा वर्गीकरण सकेपछि पुसबाट कारोबार बढ्ने अपेक्षा गरिएको छ । आफूले खरिद गर्ने जग्गा ‘अर्कै विधामा पर्दा बेचबिखन गर्न सकिँदैन कि भन्ने त्रासले गर्दा पनि कारोबारमा मन्दी छाएको बताइएको छ । तरलता अभावका कारण बैंक तथा वित्तीय संस्थाले नयाँ कर्जा प्रवाह ठप्प पारेको र नेपाल राष्ट्र बैंकले घरजग्गा ९रियल इस्टेट० क्षेत्रको कर्जामा कडाइ गरेकाले पनि कारोबारमा शिथिलता देखिएको हो । यद्यपि, राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको तीन महिनाको तथ्यांकले घरजग्गा क्षेत्रमा कर्जा प्रवाह उल्लेख्य बढेको देखाएको छ । चालू आर्थिक वर्ष मंसिरमा देशभर ३० हजार ७ सय २८ कित्ताकाट भएका छन् । यो संख्या अघिल्लो महिना कात्तिकको तुलनामा ८ हजारले बढी हो । आजको राजधानी दैनिकमा समाचार छ ।
नेप्सेमा ३ लघुवित्त सहित ५ कम्पनीको सेयरमूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?
काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा विभिन्न ६ कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेप्सेमा फर्स्ट माइक्रोफाइनान्स लघुवित्त, फरवार्ड माइक्रोफाइनान्स लघुवित्त, आरएसडीसी लघुवित्त, कालिका पावर कम्पनी र यूनाइटेड इन्स्योरेन्सको सेयरमूल्य समायोजन भएको हो । यी ६ कम्पनीले लाभांश वितरण तथा साधारणसभा प्रयोजनार्थ बुक क्लोज गर्ने निर्णय गरेसँगै नेप्सेमा सेयर मूल्य समायोजन भएको हो । आरएसडिसी लघुवित्तले आज अर्थात पुुस १५ गते र फर्स्ट माइक्रोफाइनान्स लघुवित्त, फरवार्ड माइक्रोफाइनान्स लघुवित्त, कालिका पावर कम्पनी र यूनाइटेड इन्स्योरेन्सले पुस १७ गते बुकक्लोज गर्ने निर्णय गरेका छन् । नेप्सले समायोजन गरेको मूल्यका आधारमा कारोबार हुनेछ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको १९ प्रतिशत बोनस सेयर सेयर मूल्यमा समायोजन भएको छ । नेप्सेले प्रतिकित्ता ६४१.०९ रूपैयाँ कायम हुने गरी मूल्य समायोजन गरेको छ । बिहीबार लघुवित्तको सेयर प्रतिकित्ता ७६२.९० रुपैयाँमा अन्तिम कारोबार भएको थियो । फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको २५ प्रतिशत बोनस सेयर सेयर मूल्यमा समायोजन भएको छ । नेप्सेले प्रतिकित्ता १ हजार ९०४ रूपैयाँ कायम हुने गरी मूल्य समायोजन गरेको छ । बिहीबार लघुवित्तको सेयर प्रतिकित्ता २ हजार ३८० रुपैयाँमा अन्तिम कारोबार भएको थियो । आरएसडिसी लघुवित्तको ८ प्रतिशत बोनस सेयर सेयर मूल्यमा समायोजन भएको छ । नेप्सेले प्रतिकित्ता ५२५.८३ रूपैयाँ कायम हुने गरी मूल्य समायोजन गरेको छ । बिहीबार लघुवित्तको सेयर प्रतिकित्ता ५६७.९० रुपैयाँमा अन्तिम कारोबार भएको थियो । कालिका पावर कम्पनीको १५ प्रतिशत बोनस सेयर सेयरमूल्यमा समायोजन भएको छ । नेप्सेले प्रतिकित्ता ३३५.१३ रूपैयाँ कायम हुने गरी मूल्य समायोजन गरेको छ । बिहीबार कम्पनीको सेयर प्रतिकित्ता ३८५.४० रुपैयाँमा अन्तिम कारोबार भएको थियो । यूनाइटेड इन्स्योरेन्स कम्पनीको ५ प्रतिशत बोनस सेयर सेयरमूल्यमा समायोजन भएको छ । नेप्सेले प्रतिकित्ता ३८२.८६ रूपैयाँ कायम हुने गरी मूल्य समायोजन गरेको छ । बिहीबार कम्पनीको सेयर प्रतिकित्ता ४०२ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।