विकासन्युज

पर्यटक भित्र्याउन भेडेटारमा फुड फेस्टिवल

धनकुटा । कोरोनापछि सुस्ताएको होटल व्यवसायलाई उकास्ने उद्देश्यकासाथ आज (शनिवार) बाट धनकुटाको भेडेटारमा तीन दिने फुड फेस्टिवल शुरु भएको छ । अंग्रेजी नयाँ वर्षलाई लक्षित गरी आयोजना गरिएको फुड फेस्टिबलमा ३० हजार आन्तरिक तथा वाह्य पर्यटक भित्र्याउने लक्ष्य लिइएको आयोजकले जनाएको हो । सांगुरीगढी गाउँपालिकाको सहयोगमा होटल एशोसिएशन अफ भेडेटारले आयोजना गरेको फेस्टिवलमा १ करोड बढीको कारोवार हुने अपेक्षा गरिएको छ । औपचारिक कार्यक्रमकाबीच आज उद्घाटन गरिएको फुड फेस्टिवललाई कोरोनाले थलिएको व्यापार व्यवसायको विकास र प्रवद्र्धनका रुपमा समेत लिइएको छ । होटल एशोसिएशन अफ भेडेटारकी अध्यक्ष शान्तिमादेन श्रेष्ठले आगामी दिनमा सबैको साथ र सहयोग गरेको खण्डमा यही वर्षमा पर्यटन व्यवसाय फस्टाउने बताइन् । पूर्वको पर्यटकीय गन्तव्यका रुपमा रहेको भेडेटारमा आयोजित फुड फेस्टिवल विशेष गरी भारतीय पर्यटक लक्षित गरी आयोजना गरिएको छ । फेस्टिबलले भेडेटारलाई आन्तरिक तथा बाह्य पर्यटक माझ घुम्नैपर्ने गनतव्यका रुपमा चित्रित गर्न थप मद्यत पु¥याउने विश्वास लिइएको छ । फेस्टिबलमा सांस्कृतिक कार्यक्रमसँगै स्थानीय तथा जाति विशेष खानेकुराका परिकार प्रदर्शनीसँगै भेडेटार हेलि टुर, जिपलाइन तथा प्याराग्लाइडिङ सेवा उपलब्ध रहने सांगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र रुम्दालीले बताए । उनले अंग्रेजी नयाँ वर्षमा बाहिरबाट आउने पर्यटकको स्वागतका लागि कार्यक्रम राखिएको बताए । फेस्टिवलमा गाउँपालिका अग्र्यानिक खानेकुरा र स्थानीय कृषि प्रदर्शनी सहितको स्टल राखिएका छन् । फेस्टिवल अवधिभर भेडेटारको रमणीय क्षेत्रको भ्रमण गराइने तथा हेलि टुर, जिपलाइन तथा प्याराग्लाइडिङ सेवा उपलब्ध रहने आयोजकले जनाएको छ ।

इटहरीमा प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट हुने

काठमाडौं । सुनसरीको इटहरीमा प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । नेपाल क्रिकेट संघको आयोजना र सुनसरी क्रिकेट संघको सहआयोजनामा लिगकप नकआउटमा प्रतियोगिता हुने भएको हो । प्रतियोगिता पुस २९ देखि माघ ८ गतेसम्म सञ्चालन हुनेछ । इटहरी–९ स्थित जनता क्रिकेट पार्कमा राष्ट्रिय खेलकुद परिषद्को सहयोगमा सञ्चालन हुने प्रतियोगितामा ७ वटा प्रदेश र विभागीय टोली नेपाल एपीएफ क्लव गरी ८ टिम सहभागी रहने आयोजकले बताएको छ । ८ टिमलाई दुई समूहमा विभाजन गरी प्रतिष्पर्धा गराइनेछ । विजेता टोलीले नगद ५ लाख रुपैयाँ र उपविजेताले ३ लाख रुपैयाँ प्राप्त आयोजकले बताएको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले ३० हजार, उत्कृष्ट ब्याट्स वुम्यानलाई २० हजार र उत्कृष्ट बलरलाई २० हजार रुपैयाँ प्रदान गरिन आयोजकको भनाइ छ । साथै, प्रत्येक खेलको उत्कृष्ट खेलाडीलाई नगद ३ हजार प्रदान गरिनेछ । प्रतियोगितामा कुल १ करोड १३ लाख रुपैयाँ बजेट लाग्ने अनुमान आायेजकको छ । राष्ट्रिय खेलकुद परिषद्ले ४० लाख र बाँकी रकम नेपाल क्रिकेट संघले व्यवस्थापन गर्ने सहमति भएको छ । ‘खेलकुद पर्यटन नै विकास समृद्धिको आधार’ भन्ने नारासहित प्रतियोगिता सञ्चालन गर्न लागिएको हो ।

हरेक दिन सुशासन र विकासको पक्षमा काम गर्छु : प्रधानमन्त्री प्रचण्ड

चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले हरेक दिन सुशासन र विकासको पक्षमा काम गर्दै जाने बताएका छन्। नारायणी नमुना मावि भरतपुरको हीरक महोत्सवलाई आज यहाँ सम्बोधन गर्दै उनले नेपाल र नेपाली जनताको आवश्यकतालाई सम्बोधन गर्दै जाने प्रतिबद्धता लिएको बताएका हुन् । प्रधानमन्त्री दाहालले भने, ‘मैले बाँकी जीवन विकास र सुशानका निम्ति समर्पित गर्ने भनेर भनेको छु ।’ आफू अहिले धेरै भाषण गर्ने मनस्थितिमा नरहेको उल्लेख गर्दै उनले भने, ‘यो कार्यकालमा मैले भाषण कम, काम धेरै र जनताको सेवा धेरै गरेर प्रस्तुत हुने प्रतिज्ञा गरेको छु ।’ अर्थतन्त्रमा देखिएको समस्यालाई पार लगाउनुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले सुशासन, भ्रष्टाचार नियन्त्रण र व्यथिति नियन्त्रण गर्नुपर्ने अवश्यकता रहेको बताए । उनले भने, ‘जनताले विभिन्न क्षेत्रमा पाइराखेका सास्तीलाई नियन्त्रण गर्ने, त्यो सास्तीबाट मुक्त हुने आवश्यकतालाई इङ्गित गरेर मैले निर्णय गरेको छु ।’ जनताका पिर मर्कालाई सम्बोधन गर्न कुनै पनि निर्णयमाथि कठोर कदम चलाएर राष्ट्रको पक्षमा नै जाने सङ्कल्प लिएको प्रधानमन्त्री दाहालको भनाइ थियो । राजधानीबाहिर पहिलो कार्यक्रम शिक्षा क्षेत्रको भएको जिकिर गर्दै उनले भने, ‘यस मञ्चबाट देशभरिका आम नेपाली जनतालाई सुशासन र समृद्धिको नयाँ युगको सूत्रपात गर्न हामी एक जुट होऔँ भनेर अपिल पनि गर्न चाहन्छु ।’ शिक्षाको गुणस्तरले नै राष्ट्र र समाजमा आम नागरिकको जीवन पद्धति निर्धारण गर्ने प्रधानमन्त्री दाहालको भनाइ थियो । कुनै पनि राष्ट्रको सभ्यता र संस्कृतिको, अनुशासन र विकासको आधारशिला भनेको शिक्षा नै भएको भन्दै उनले थपे, ‘शिक्षाको गुणस्तरद्वारा नै एउटा अनुशासित र सत्य समाजको निर्माण गर्न सकिन्छ र विकासलाई पनि दिगो रुपमा अघि बढाउन सकिन्छ ।’ युगको आवश्यकताअनुसार हामीले रुपान्तरित गर्दै लानुपर्ने उहाँको भनाइ थियो । स्वर्ण वर्षको कार्यक्रममा आफू उपस्थित भएको स्मरण गर्दै प्रधानमन्त्री दाहालले विद्यालयका लागि आवश्यक पर्ने भौतिक पूर्वाधार लगायतका कुरामा आफ्नो ठाउँबाट सहयोग पुर्याउने बताए । कार्यक्रममा उहाँले विद्यालयमा विशिष्ट योगदान पु¥याउने विभिन्न व्यक्तिलाई सम्मान गरेका थिए। सोही अवसरमा हीरकद्वार, हीरक स्तम्भको अनावरण, निर्माण गर्न लागिएको भवनको शिलान्यास, हीरक स्मारिकाको विमोचनसमेत उनले गरे। कार्यक्रममा प्रधानाध्यापक पूर्णप्रसाद दवाडीले विद्यालयको प्रतिवेदन प्रस्तुत गरेका थिए। विसं २०२० जेठ ६ गते चार विद्यार्थी लिएर रात्रिकालीन रुपमा पठनपाठन सुरु गरिएको यस विद्यालयमा हाल तीन हजार पाँच सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । हाल यहाँ कक्षा १ देखि १२ सम्म पढाइ हुँदै आएको छ ।

वागमती प्रदेशमा पोल्ट्री व्यवसायको ६९ प्रतिशत मासु उत्पादनमा योगदान

काठमाडौं । वागमती प्रदेशको मासु उत्पादनमा पोल्ट्री व्यवसायको योगदान ६९ प्रतिशत रहेको वाग्मती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । साथै राष्ट्रिय अण्डा उत्पादनमा वाग्मती प्रदेशको योगदान ६० प्रतिशत रहेको समेत छ । ‘पोल्ट्री क्षेत्रको विकासमा सर्वपक्षीय सहभागिता खाद्य र पोषण सुधार’ भन्ने नाराका साथ भएको दशौं पोल्ट्री दिवस सप्ताहव्यापी कार्यक्रमका अवसरमा आज हेटौंडामा आयोजित कार्यक्रममा सो जानकारी दिइएको हो । मन्त्रालयको प्रतिवेदनअनुसार वागमती प्रदेशमा एक लाख ६३ हजार तीन सय नौ मेट्रिक टन मासु उत्पादन हुने गरेको तथ्याङ्क सार्वजनिक गरेको छ । जसमा वाग्मती प्रदेशमा एक लाख १३ हजार चार सय ३२ मेट्रिक टन कुखुरा तथा हाँसको मासु उत्पादन हुने गरेको छ । साथै प्रदेशमा कूल अण्डा उत्पादन आठ लाख ९९ हजार तीन सय ३५ गोटा रहेको छ । प्रतिवेदनमा उल्लेख गरिएको अनुसार वाग्मती प्रदेशभित्र सञ्चालित पोल्ट्री व्यवसायले देशको कूल मासु उत्पादन तथा अण्डा उत्पादनमा क्रमशः २२ र २६ प्रतिशत रहेको छ । मकवानपुर जिल्लामा मात्र वार्षिक रुपमा ६ हजार सात सय ७१ मेट्रिकटन कुखुरा तथा हाँसको मासु उत्पादन हुने गरेको छ । जिल्लामा वार्षिकरुपमा २१ लख ३० हजार कुखुरा तथा चार हजार तीन सय हाँस गरी जम्मा २१ लाख ३४ हजार सात सय ३८ वटा कुखुरा र हाँसपालन भइरहको सो मन्त्रालयले जनाएको छ । जिल्लामा ३६ हजार पाँच सय गोटा अण्डा उत्पादन हुने गरेको छ । मन्त्रालयका डा. निशान्त शर्मा गेलालले प्रतिवेदन प्रस्तुत गर्दै प्रदेश सरकारले प्रदेश पोल्ट्री विकास बोर्डको स्थापना गरेर सञ्चालनको प्रक्रिया अगाडि बढाइएको जानकारी दिए । प्रदेश सरकारले प्रदेश कृषि विकास अध्यादेश,२०७९ बनाएको र प्रमाणीकरणको चरणमा रहेको वाग्मती प्रदेश सरकारले किसानलाई लक्षित गरेर रु पाँच करोडको बजेट छुट्याएर स्थायी क्षतिपूर्ति कोषसमेत स्थापना गरी सञ्चालन गरिएको उनले भने। साथै किसानहरुको वर्गीकरण गरेर परिचयपत्र गरिने र उत्पादित वस्तुको बजार उपलब्ध गराउनुपर्ने समेत डा. गेलालको भनाइ रहेको छ । भेटेरिनरी अस्पताल मकवानपुर हेटौंडाका प्रमुख डा. व्रजकिशोर ठाकुरले प्रदेशभित्र दानाको परीक्षण र गुणस्तरसम्बन्धी मापदण्ड तयार गरी लागू गर्नुपर्ने बताए। मकवानपुर उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष तथा पोल्ट्री व्यवसायी राजु अधिकारीले मकवानपुरमा पोल्ट्री व्यवसायीको सङ्ख्या घट्दै गएकामा चिन्ता व्यक्त गर्दै विगतमा तीन हजार मकवानपुरमा पोल्ट्री व्यवसायी रहेकामा अहिले घटेर एक हजार मात्र रहेको जानकारी दिए। किसानले उत्पादन र लगानी गरेको आधारमा बजार मूल्य नपाएको बताउँदै पोल्ट्री व्यवसायसँग सम्बन्धी स्पष्ट कानुनी व्यवस्था आउनुपर्ने धारणा व्यक्त गरे । दशौं राष्ट्रिय पोल्ट्री दिवस सप्ताहव्यापी कार्यक्रमको अवसरमा सो मन्त्रालय र पोल्ट्री व्यवसायीहरुले विभिन्न कार्यक्रमको आयोजना गरी विभिन्न स्थानमा चेतनामूलक कार्यक्रम गरिरहेको छ ।

कम्बोडियामा निराकारको मृत्यु : बेलैमा उद्धार नभएको परिवारको गुनासो

झापा । कम्बोडियास्थित ग्रान्ड डायमन्ड सिटी होटल एन्ड क्यासिनोमा शुक्रबार भएको भीषण आगलागीमा मृत्यु भएका झापाको विर्तामोड नगरपालिका–१ का ४० वर्षीय निराकार पाण्डेको बेलैमा उद्धार नहुँदा मृत्युवरण गर्नुपरेको परिवारले गुनासो गरेका छन् । तीन महिनाअघि पर्यटक प्रवेशाज्ञामा थाइल्यान्ड जानुभएको उहाँ घुमफिरकै क्रममा कम्बोडियाको सीमावर्ती सहर पोइपेट पुग्नुभएको थियो । शुक्रबार राति उहाँ बसेको होटलमा भीषण आगलागी भएको थियो । मृतकका बुबा एवम् विर्तामोड–१ का वडाध्यक्ष अग्नि पाण्डेले होटलको १२औँ तलाको कोठामा बास बसेको बेला दुःखद घटना भएको बताए । बेलैमा उद्धार नहुँदा छोराले मृत्युवरण गर्नुपरेको उनले गुनासो गरे। बिहीबार राति साढे ११ बजेतिर होटलमा आगलागी सुरु भएको र शुक्रबार बिहान साढे ४ बजेपछि छोरा सँग सम्पर्क विच्छेद भएको उनले जानकारी दिए । थाइल्यान्डको राजधानी बैंककस्थित नेपाली राजदूतावासले मृतकको शवको तस्बिर नेपालस्थित मृतकका आफन्तलाई पठाएर शवको सनाखत गरिसकेको छ । हाल कम्बोडियामै रहेको शवलाई नेपाल ल्याउनका लागि परराष्ट्र मन्त्रालय र बैंककस्थित नेपाली राजदूतावासमार्फत कूटनीतिक पहल भइरहेको मृतकका बुबा अग्निले जानकारी दिए। पारिवारिक स्रोतका अनुसार गत कात्तिक २१ गते निराकार घुमफिरका लागि थाइल्यान्ड जानुभएको थियो । उहाँ केही दिनमै नेपाल फर्किने तयारी थियो । यही पुस १५ गते बिहान आगलागी भइरहेको होटलको १२औँ तलाको आफू बस्ने कोठाको झ्यालबाट ज्यान बचाउन हामफाल्दा मृत्यु भएको थियो । आगलागी सुरु भइसकेपछि करिब चार घण्टाको अवधिमा उनले आफू आगलागीका कारण अप्ठेरोमा फसेको भन्दै काठमाडौँस्थित आमा र झापास्थित बुबालाई समेत भिडियो फोन गरेर बाँच्नका लागि १२औँ तलामाथिको झ्यालबाट हाम फाल्नुपर्ने अवस्थामा पुगेको जानकारी दिएका थिए । परिवारले उनलाई उद्धारको पर्खाइमा धैर्य गर्न बारम्बार सुझाव दिएको उनका भाइ निश्चल पाण्डेले बताए । घटनामा उद्धारको प्रयास नभएपछि बाँच्नका लागि हामफाल्दा निराकारको ज्यान गएको पाण्डेले बताए । घटना भएका बेला मृतकका बुबा अग्नि र साइलो भाइ झापाको विर्तामोडस्थित निवासमा थिए भने आमा र कान्छो भाइ काठमाडौंस्थित निवासमा थिए। ‘बास बसेको होटलमा आगलागी भयो, धुवाँ फैलिँदै गइरहेको छ भन्दै भिडियो कल गरेको थियो’ मृतकका बुबा अग्निले शुक्रबार रातिको अवस्थाबारे जानकारी दिँदै भने, ‘राति करिब चार घण्टासम्म फोन र भिडियोमा सम्पर्क भइरहेको थियो, हामीले उद्धार गरेर बचाउन आउँछन्, धैर्य गर् छोरा भनेर ढाडस दिइरह्यौँ । तर साढे ४ बजेदेखि फोन सम्पर्क टुट्यो ।’ कम्बोडियामा रहेका नेपाली र बैंककस्थित राजदूतावासका अधिकारीहरुले आगलागीबाट बाँच्नका लागि होटलको १२ तलाबाट हामफाल्दा चोटपटक लागेर मृत्यु भएको जानकारी दिएको उनले बताए । शोकाकुल बन्यो विर्तामोड युवा व्यवसायी निराकारको कम्बोडियामा आफु बसेको होटलमा भएको आगलागी बाट ज्यान जोगाउन हामफल्दा मृत्यु भएको खबर फैलिएपछि विर्तामोड शोकाकुल बनेको छ । स्थानीयवासी मृतकको घरमा भेला भएका छन् । झापामा रहेका मृतकका बुबा अग्नि घटना सुनेलगत्तै काठमाडौं गएका छन् । काठमाडौंमा मृतककी आमा र अरू भाइहरु रहेका छन् । झापाको घरमा रहेका मृतकका साइला भाइ निश्चलले कम्बोडियाको पर्यटकीय क्षेत्रमा समेत विपत्का बेला उद्धारको भरपर्दो कुनै प्रबन्ध नभएकामा गहिरो खेद व्यक्त गरे। ‘चार घण्टाभन्दा बढी अवधिसम्म दाजु निराकारले उद्धार पर्खिएर बस्नुभयो, कुनै आश बाँकी नरहेपछि बाँच्नका लागि १२औँ तलाबाट हामफाल्नु पर्यो’, उनले भने, ‘बेलैमा उद्धार हुन सकेको भए दाजु बाँच्नु हुन्थ्यो ।’ सङ्गीतकार शिवशङ्कर थापाले अकल्पनीय घटनाले विर्तामोडबासी स्तब्ध भएको बताए। मृतक सङ्गीतकार थापाका छिमेकी थिए । ‘सानैदेखि असल र मिहेनती स्वभावको हुनुहुन्थ्यो निराकार भाइ’, थापाले भने, ‘भरपर्दो उद्धारको व्यवस्थासमेत देखिएन, मृतकले झ्यालमा बसेर बोलेको भिडियोले संसारभरिका नेपालीलाई स्तब्ध बनाएको छ ।

२ खर्ब भन्दा बढी लागत अनुमान रहेको अप्पर अरुण आयोजनाद्वारा मुआब्जा वितरण सुरु

किमाथाङ्का । सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुन लागेको अपर अरुण आयोजनाको प्रभावित क्षेत्रका स्थानीयलाई मुआब्जा गर्न सुरु गरिएको छ । अप्पर अरुण आयोजनाले भोटखोला गाउँपालिका–२, ४ र ५ साबिक चेपुवा, हटिया तथा पावाखोलाका आयोजना प्रभावित स्थानीयलाई मुआब्जा वितरण गर्न सुरु गरिएको अप्पर अरुण आयोजनाका वरिष्ठ सहायक गृष्म भण्डारीले जानकारी दिए । अप्पर अरुण आयोजनाका लागि भोटखोलामा दुई हजार पाँच सय रोपनी जग्गा अधिग्रहण गरिएको छ । एक हजार ६१ मेगावाट जलविद्युत् उत्पादन क्षमताको अप्पर अरुण आयोजना नेपाल सरकारले नै बनाउने गरी निर्माण अघि बढाइएको छ । आयोजनाले प्रभावित क्षेत्रका तीन सय ३५ घरपरिवारलाई मुआब्जा वितरण गरिने आयोजनाका वरिष्ठ सहायक भण्डारीले बताए । उनका अनुसार हालसम्म भोटखोला–२ हटियाका १५ घरपरिवारलाई करिब साढे चार करोड मुआब्जा वितरण गरिसकिएको छ । उत्तर दक्षिण कोसी राजमार्गले छोएको तथा बस्ती रहेको हटिया–६ को जमिन प्रतिरोपनी १५ लाख मुआब्जा निर्धारण गरिएको छ । कोसी राजमार्गले छोएको तर बस्ती नभएका हटिया–६ को जग्गा प्रतिरोपनी १० लाख निर्धारण गरिएको छ । जग्गा प्राप्ति ऐन २०३४ को दफा १३ बमोजिम मुआब्जा निर्धारण समितिको बैठकले सो मूल्य निर्धारण गरेको हो । त्यस्तै हटिया–८, ९ र चेपुवा–१ को अलैंची बालीसहितको जग्गा प्रतिरोपनी नौ लाख ५० हजार र चेपुवा–१, हटिया–८ तथा ९, पावाखोला–३ का अलैँची बाली नभएको पाखा बारीको प्रतिरोपनी सात लाख कायम गरिएको थियो । आयोजना निर्माणको कार्य दुई वर्षपछिदेखि सुरु हुने भएको छ । आयोजनाको सम्पूर्ण संरचना भोटखोलाको वडा नं २ र ४ मा हुनेछ । सरकारको स्वामित्व रहेको अपर अरुण हाइड्रो इलेक्ट्रिक लिमिटेडले उक्त जलविद्युत् आयोजना बनाउन लागेको हो । जलविद्युत् आयोजनाको अनुमानित लागत दुई खर्बभन्दा बढी छ । सन् २०२४ को मध्यदेखि जलविद्युत् आयोजनाको निर्माण सुरु हुनेछ । हाइड्रोपावर निर्माण सुरु भएको छ वर्षभित्रमा सम्पन्न गर्ने योजना छ ।

‘सडकमै खाऔँ, सडकमै नाचौँ र सडकमै रमाऔँ’ नारामा पोखरामा सडक महोत्सव हुँदै

पोखरा । पवित्र शान्त पोखरा सधैँभरि हरा भरा अनेक ताल छन् जहाँ, जहाँ छ धर्ती उर्वरा । अनेक धर्म संस्कृति, अनेक छन् रीतिस्थिति अनेक यात्रु आँउँदै रमाउने परिस्थिति ।। कवयित्री कुन्तीदेवी भट्टराईको सिर्जनाका फूलहरू कविता सङ्ग्रहको ‘रमाइलो पोखरा’ शीर्षकको कविताको एक पङ्क्ति हो यो । कवितामा भनेजस्तै साँच्चिकै प्रकृतिको बरदान हो पोखरा । प्राकृतिक सौन्दर्यताका कारण स्वदेशी एवम् विदेशी पर्यटकको आकर्षक गन्तव्य पोखरा यतिखेर पर्यटकका कारण खचाखच भरिएको छ । देशका विभिन्न स्थानसँगै विभिन्न विदेशी राष्ट्रबाट पर्यटकहरू आएका कारण होटलहरू क्षमताको झन्डै ७० प्रतिशतभन्दा बढी भरिभराउ छन् । प्रायः सबै याममा पर्यटकहरूको आगमन हुने पोखरामा अङ्ग्रेजी नयाँ वर्ष, नेपाली नयाँ वर्ष, दशैं तथा तिहारको समयमा ठूलो सङ्ख्यामा पर्यटकहरू आउने गर्दछन् । पोखरामा प्रत्येक दिन ४० हजार जनासम्म पर्यटक राख्न सक्ने क्षमता रहेको पश्चिमाञ्चल होटेल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले बताए। अङ्ग्रेजी नयाँ वर्षका कारण अहिले पोखरामा पर्यटकको राम्रै चहलपहल रहेको बताउँदै उहाँले राम्रा होटेलहरूमा क्षमताको झन्डै ८० देखि ८५ प्रतिशतसम्म भरिभराउ रहेको जानकारी दिए । ‘क्रिसमसदेखि नै पोखरामा पर्यटकको चहपहल बढिरहेको छ’, उनले भने, ‘अङ्ग्रेजी नयाँ वर्षलाई लक्षित गरी रेष्टुरेन्ट एन्ड बार एसोसिएसन ‘रेवान’ पोखराले सञ्चालन गरेको सडक महोत्सवका कारण ठाउँठाउँबाट पर्यटकहरू पोखरामा आएका छन् ।’ पोखराका सामान्य होटेलमा पनि क्षमताको ५० प्रतिशतभन्दा बढी पर्यटकहरू भरिएको उनले जानकारी दिए। विगतका वर्षमा कोरोनाबाट प्रभावित भएको पोखराको पर्यटन पछिल्ला समयमा पर्यटकको आगमनले आशा जगाएको पर्यटन यातायात व्यवसायी सङ्घ गण्डकी प्रदेशका पूर्वअध्यक्ष एवम् होटेल इलेगेन्टका सञ्चालक बोबरजङ्ग गुरुङले जानकारी दिए । प्रत्येक अङ्ग्रेजी नयाँ वर्षमा क्रिसमसदेखि नै पोखरामा पर्यटकको चहलपहल बढ्ने र डिसेम्बर ३०, ३१ र जनवरी १ का दिनमा यहाँका होटेलहरू भरिभराउ हुने गरेको यहाँका व्यवसायीको अनुभव छ । पछिल्ला वर्षमा अङ्ग्रेजी नयाँ वर्षमा आन्तरिक पर्यटकका साथै छिमेकी मुलुक भारतबाट पनि पर्यटकहरू पोखरा भित्रने गरेका छन् । अङ्ग्रेजी नयाँ वर्षको अवसर पारी रेष्टुराँ एन्ड बार एसोसिएसन (रेवान) द्वारा गर्दै आएको सडक महोत्सव पोखराको राम्रै आकर्षण बन्ने गरेको छ । ‘सडकमै खाऔँ, सडकमै नाचौँ र सडकमै रमाऔँ’ भन्ने नाराका साथ पोखराको लेकसाइडस्थित शहीदचोकदेखि कोमागाने पार्क हुँदै हल्लनचोक खहरे क्षेत्रसम्म हुने महोत्सव यहाँको विशिष्ट पहिचान बन्ने गरेको छ । महोत्सवका अवसरमा सडकमै खानेदेखि मनोरञ्जनका विभिन्न कार्यक्रम सञ्चालन गरिने र त्यहाँ पर्यटकहरूले राम्रैसँग मनोरञ्जन लिने गरेका छन् । पोखराको पर्यटनमा विभिन्न नयाँ गतिविधि सञ्चालन गरी मौसम या बेमौसमा जहिले पनि चलायमान होस् भन्ने उद्देश्यका साथ २४ वर्षअघि अङ्ग्रेजी नयाँ वर्षमा गरिएको सडक महोत्सवलाई त्यसयता बर्सेनि निरन्तरता दिँदै आइएको छ । सन् २०२३ को जनवरी १ देखि ९भोलिदेखि० पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुँदै गर्दा यसको पूर्वसन्ध्यामा अङ्ग्रेजी नयाँ वर्षको आगमनलाई लक्षित गरी देखिएको पर्यटकको आकर्षणले पोखराको पर्यटनमा उत्साह थपेको पर्यटन व्यवसायीहरू बताउँछन् । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउनु समग्र पोखरेलीका लागि गौरवको विषय भएको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ बताउँछन् । ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउनु यहाँको पर्यटकीय विकासका लागि ठूलो उपलब्धि हो’, उनले भने, ‘विमानस्थलले आगामी दिनमा पोखरालाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने् र यहाँबाट हुने हवाई यातायात सेवा सहज एवम् प्रभावकारी बन्ने देखिन्छ ।’

राहदानी तथा राष्ट्रिय परिचयपत्र वितरणलाई सहज बनाउन गृहद्वारा पहल सुरु

काठमाडौं । सेवाग्राहीको निरन्तर गुनासो आएपछि गृह मन्त्रालयले राहदानी तथा राष्ट्रिय परिचयपत्र वितरणलाई थप सहज बनाउन पहल अगाडि बढाएको छ । सेवाग्राहीले घण्टौँ लाइन बस्नुपर्ने, अनलाइन फारम भर्न समस्या तथा प्रक्रिया झन्झटिलो हुनेबारेमा आएका गुनासालाई सकेसम्म समाधान गर्ने प्रयास भइरहेको गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले जानकारी दिए। उनका अनुसार सूचना प्रविधिमा ज्ञान भएका व्यक्तिको टोलीबाट सुझाव लिने काम भइरहेको छ । टोलीको सुझावका आधारमा समस्याको समाधानतर्फ लाग्ने प्रवक्ता पोखरेलको भनाइ छ । गृहमन्त्री रवि लामिछानेले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि राहदानी, राष्ट्रिय परिचयपत्रलगायतलाई सहज बनाउने र लाइन बस्नुपर्ने बाध्यता हटाउने प्रतिबद्धता जनाएका थिए । विद्युतीय राहदानी बनाउन धेरैजसो प्रक्रिया अनलाइनबाटै गर्नुपर्छ, तर अनलाइनबाट आवेदन दिएर तोकिएको मितिमा कार्यालयमा उपस्थित हुँदा पनि नागरिकलाई रातीको १२ बजेदेखि लाइन लाग्नुपर्ने बाध्यता रहेको सेवाग्राहीको गुनासो छ ।