जग्गाको समस्या देखाउँदै एक सय २४ स्थानीय तहले बनाएनन अस्पताल
काठमाडौं । सरकारले आधारभूत स्वास्थ्य सेवालाई स्थानीय तहसम्म पुर्याउनका लागि सुरु गरेको अभियानमा एक सय २४ स्थानीय तह सहभागी भएका छैनन् । ती एक सय २४ स्थानीय तहको आफ्नै जग्गा नभएर र जग्गा विवादका कारणले आधारभूत तहका अस्पताल निर्माणको प्रक्रिया नै अगाडि बढाउन नसकिएको हो । सरकारले प्रत्येक स्थानीय तहमा आधारभूत स्वास्थ्य सेवासहित एक अस्पताल निर्माण गरिरहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आधारभूत अस्पताल एकाइका जनस्वास्थ्य निरीक्षक सुरत खड्काले पहिलो चरणका ४९ र दोस्रो चरणका ७५ स्थानीय तहमा अस्पताल बनाउने प्रक्रिया अगाडि बढ्न नसकेको बताए। सरकारले बहुवर्षीय योजनाअन्तर्गत पहिलो चरणमा २०७७/७८ मा तीन सय ९६ स्थानीय तह र दोस्रो चरण २०७८/०७९ मा दुई सय ५९ स्थानीय तह गरी कूल छ सय ५५ स्थानीय तहमा पाँच, दश र १५ शैय्याका अस्पताल निर्माण सुरु गरेको हो । पहिलो चरणका सय स्थानीय तहमा भने यसै आर्थिक वर्षमा अस्पताल बनाइने सक्ने मन्त्रालयले जनाएको छ । पहिलो चरणमा निर्माण सुरु गर्ने निर्णय गरेकामध्ये अझै ९६ अस्पतालले मन्त्रालयसँग ठेक्का सम्झौता नगरेको आधारभूत अस्पताल एकाइका जनस्वास्थ्य निरीक्षक खड्काले जानकारी दिए । उनका अनुसार तीन सय ९६ मध्ये ७४ स्थानीय तहले विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० नै बुझाएका छैनन् । जग्गा नभएर र कतै जग्गा विवादले स्थानीय तहले निर्माणको कामै सुरु गरेका छैनन् । सरकारले यस वर्ष आधारभूत अस्पताल निर्माणका लागि १० अर्ब बजेट विनियोजन गरेको छ । मन्त्रालयले बजेट स्थानीय तहमा पठाउने र स्थानीय तहले आफैँ ती अस्पताल निर्माण गरिरहेका छन् । यस्तै तीन सय २२ स्थानीय तहमा अस्पताल निर्माणका लागि बोलपत्र आब्हान भइसकेको छ भने तीन सय स्थानीय तहले मन्त्रालयसँग सम्झौता गरी अस्पताल निर्माणका लागि बजेट निकासा विभिन्न चरणमा भइरहेको छ । यस्तै आव २०७८/७९ मा सुरु गर्ने भनिएका दुई सय ५९ स्थानीय तहमध्ये ८९ स्थानीय तहमा मात्र सम्झौता भई बजेट निकासा गरिएको एकाइका जनस्वास्थ्य निरीक्षक खड्काले जानकारी दिए । दोस्रो चरणको दुई सय ५९ स्थानीय तहमध्ये एक सय ८४ स्थानीय तह अस्पताल निर्माणको प्रक्रियामा आएर डिपिआर बनाइसकेका छन् । सरकारले यस आर्थिक वर्षका ती अस्पताल निर्माणका लागि १० अर्ब बजेट विनियोजन गरेको छ । सरकारले स्थानीय तहमा रहेका प्राथमिक स्वास्थ्य चौकीलाई नै स्तरोन्नति गरेर पाँच, १० र १५ शैय्याका आधारभूत अस्पताल बनाउने निर्णय गरेको थियो । सरकारले पहिलो चरणका तीन सय ९६ स्थानीय तहमा बन्ने अस्पतालमा डिपिआरका लागि सुरुमा पाँच, १० र १५ शैय्याका लागि क्रमशः ७० लाख, ८५ लाख र एक करोड पठाएको थियो । केहीले स्थानीय तहले डिपिआरका लागि खर्च गर्न नसकेपछि दोस्रो चरणमा बन्ने दुई सय ५९ अस्पताललाई भने आफ्नै खर्चमा डिपिआर बनाउन भनेको थियो । सरकारले पाँच श्ययाका लागि सात करोड ११ लाख, १० श्ययाका लागि १० करोड ८६ लाख र १५ श्ययाका लागि १८ करोड छ लाख विनियोजन गरेको छ । यस्तै पाँच श्ययामा एक चिकित्सकसहित १८ कर्मचारी, १० श्ययाका लागि दुई चिकित्सकसहित २२ कर्मचारी र १५ श्ययाका लागि ३२ कर्मचारीसहित तीन चिकित्सक राख्ने सरकारको तयारी छ । रासस ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको आइतबार प्रधानमन्त्री प्रचण्डद्वारा उद्घाटन हुने
पोखरा । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको भोलि आइतबार उद्घाटन हुने भएको छ । देशकै प्रमुख पर्यटकीय गन्तव्य पोखरामा निर्माण भएको विमानस्थलको देश बाहिरसमेत सन्देश दिनका लागि अङ्ग्रेजी नयाँवर्षका अवसरमा उद्घाटन गर्न लागिएको हो । विमानस्थलको प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले उद्घाटन गर्नेछन् । पोखरा महानगरपालिकाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा विमानस्थल उद्घाटन समारोहको सम्पूर्ण तयारी सकिएको जनाएको छ । उद्घाटन समारोहमा जनसहभागिता, प्रचारप्रसार र ‘सेलिब्रेशन’को जिम्मा महानगरले लिएको छ । समारोहमा जनसहभागिता गराइने महानगर प्रमुख धनराज आचार्यले जानकारी दिए। प्रचारप्रसारका लागि सहरका विभिन्न स्थानमा स्वागत गेट राखिएका छन् । महानगर प्रमुख आचार्यले भने, ‘विमानस्थल निर्माण सम्पन्न भएर उद्घाटन समारोह पोखराका लागि उत्सव हो । पोखरेलीको साथ र सहयोगबाट लामो प्रतिक्षापछि निर्माण भएको विमानस्थलको उद्घाटन समारोहलाई भव्य बनाउने छौँ, बेलुका घरघरमा दीपावली गर्नका लागि महानगरवासीमा आग्रह गरेका छौँ ।’ पोखरा महानगरपालिकाले विमानस्थल उद्घाटनअघि पोखराको अमरसिंहचौरबाट विभिन्न जातजातिको झाँकी, मौलिक वेषभूषासहितको ¥यालीको आयोजना गरिने जनाएको छ । त्यसैगरी विमानस्थलका परिकल्पनाकार तत्कालीन गण्डकी अञ्चलका अञ्चलाधीश शङ्करराज पाठकलाई रथारोहणसहित नागरिक अभिनन्दन गरिने महानगर प्रमुख आचार्यले बताए। अर्का परिकल्पनाकार इञ्जिनीयर पदमबहादुर खत्री देश बाहिर रहेकाले उपस्थित गराउन नसकेको र उनीहरुलाई महानगरकोतर्फबाट नागरिक अभिनन्दन गरिने महानगर प्रमुख आचार्यले बताए । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका निर्देशक विक्रम गौतमले विमानस्थल उद्घाटन कार्यक्रमलाई भव्य बनाउन महानगरले अपनत्व लिएकोमा पोखरा विमानस्थलले पोखराको मात्र नभई देशकै समुन्नतिको ढोको खोल्ने बताए। निर्देशक गौतमका अनुसार विभिन्न वायुसेवा कम्पनीले अन्तर्राष्ट्रिय उडानका लागि चासो दिएको बताए । अन्तर्राष्ट्रिय उडानका लागि केही समय लाग्ने उनको भनाइ छ । अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १८ घण्टासम्म सञ्चालनको लक्ष्य राखिएको उनले बताए। निर्देशक गौतमले भने, ‘कति ‘विजेनश’ प्राप्त हुन्छ त्यसका आधारमा विमानस्थल सञ्चालन गर्ने हो । हामी सन् २०२३ फेब्रुअरीदेखि दैनिक १८ घण्टासम्म सञ्चालन गर्न सकिन्छ भन्नेमा छौँ ।’ नेपालको निजी विमान सञ्चालक कम्पनी बुद्ध एयरले विमानस्थल उद्घाटनका दिनमा भारतको बनारससम्म उडानका लागि देशभित्र सबै प्रक्रिया पूरा गरे पनि भारतबाट अनुमति प्राप्त नभएकाले पहिलो दिन अन्तर्राष्ट्रिय उडान हुन नसकेको गौतमको भनाइ छ । मित्रराष्ट्र चीनको एक्जिम बैंकको २२ अर्ब सहुलियतपूर्ण ऋण र अनुदान सहयोगमा विमानस्थल निर्माण गरिएको हो । सो रकममध्ये २५ प्रतिशत रकमको ब्याज नलाग्ने र बाँकीको वार्षिक दुई प्रतिशतले ब्याज रकम भुक्तानी गनुपर्ने पोखरा अन्तर्राष्ट्रिय विमानस्थल प्राधिकरणले जनाएको छ । विसं २०३२ मा विमानस्थलका लागि भनेर पहिलोपटक तीन हजार १०० रोपनी जमिन अधिग्रहण गरिएको थियो । जमिन अधिग्रहणको चार दशक पछि निर्माण प्रक्रिया सुरु भएको हो ।
अमेरिका, स्वीजरल्याण्ड र रुवान्डामा सिधा हवाई उडान सेवा संचालन गर्ने तयारी
काठमाडौं । सरकारले अमेरिका, स्वीजरल्याण्ड र रुवान्डामा सिधा हवाई उडान सेवा संचालन गर्ने तयारी गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सचिव सुरेश अधिकारीले सो जानकारी गराएका हुन् । नेपाल नागरिक उडड्यन प्राधिकरणको २४ औं वार्षिकोत्सवको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले त्यसका लागि अमेरिका, स्वीजरल्याण्ड र रुवान्डामा हवाई उडान सेवा सम्झौंताको प्रक्रियालाई अघि बढाएको पनि स्पष्ट पारे । बाह्य पर्यटकहरुको संख्या नेपालमा बढदै गएकाले पनि ती देशहरुमा सिधा हवाई उडानको आवश्यक्ता रहेकाले सरकारले सो कामलाई प्राथमिकताका साथ अघि बढाएको सचिव अधिकारीको भनाई थियो । उनले भने, ‘अमेरिकासँगको एयर सर्भिस एग्रिमेन्ट, स्वीजरल्याण्डसँगको, रुवान्डासँगको एयर सर्भिस एग्रिमेन्टको प्रोसेस अगाडि बढेको छ । हामी अरु देशहरुसँग पनि जहाँ धेरै सम्भावना छ । त्यहाँ एयर सर्भिस एग्रिमेन्ट गर्दै जाऊ । एउटा एयरलाईन्सहरुबीचको एलाईन्स यसले निर्माण गर्छ । हाम्रो यात्रुहरुको संख्या बढछ । किनकी टुरिज्म सेक्टर रिभाईभ हुँदैछ । टुरिष्टहरुको संख्या बढिरहँदाखेरी एभिएशन मार्केट पनि बढदै जान्छ । त्यसका लागि हामीले ग्लोबल्ली र सम्भावित देशहरुसँग एयर सर्भिस एग्रिमेन्ट गर्दै जानुपर्ने आवश्यक्ता रहन्छ ।’ कार्यक्रममा बोल्दै नेपाल नागरिक उडड्यन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले दूर्गम क्षेत्रहरुमा उडान भर्ने वायु सेवा कम्पनीहरुलाई आर्थिक राहत पु¥याउनका लागि अतिरिक्त समय संचालन शुल्क खारेज गर्ने निर्णय गरिएको बताए । उनले दूर्गम क्षेत्र हवाई कोष संचालन कार्यविधिको मस्यौदा तर्जुमा गरी त्यहाँ उडान भर्ने वायु सेवा कम्पनीहरुको उडान घाटा परिपूर्ति गर्ने कामलाई अघि बढाइको पनि बताए । महानिर्देशक अधिकारीले भने, ‘दुर्गम क्षेत्रको विमानस्थलमा उडान गर्ने वायु सेवा कम्पनीहरुलाई आर्थिक राहत पु¥याउने उद्देश्यले त्यस्ता प्रकरणका कम्पनीहरुलाई दिइदै आएको अतिरिक्त समय संचालन शुल्क खारेज गरिएको छ । दुर्गम क्षेत्रमा विभिन्न वायु सेवा कम्पनीले नियमित रुपमा सहुलियत भाडादरमा हवाई सेवा प्रदान गर्न हुन आउने संचालन घाटा परिपूर्ति गर्ने उद्देश्यले व्यवस्था गरिएको दुर्गम क्षेत्र हवाई कोषको संचालन सम्बन्धि कार्यविधिको मस्यौदा तर्जुको क्रममा रहेको छ । नेपालगंज विमानस्थलबाट दुर्गम क्षेत्रमा यात्रा गर्दा हवाई यात्रुहरुले सधैं महंगो भाडा तिरी चार्टर उडानमा यात्रा गर्नुपर्ने बाध्यता रहेकोमा हाल वायु सेवा कम्पनीहरुलाई वायु यानको संख्याको आधारमा ९५ प्रतिशत सेड्युल उडान गर्नुपर्ने बाध्यकारी व्यवस्था लागू गरिएको छ भने बाँकि ५ प्रतिशत कार्गो उडानलाई चार्टर उडानको रुपमा यात्रुको नियमित उडान भएपश्चात मात्र गर्ने व्यवस्था लागू गरिएको छ ।’ प्राधिकरणले नेपालगंज विमानस्थलबाट दूर्गम क्षेत्रहरुमा महंगो भाडा तिरी चार्टर उडान गर्न बाध्य हुनुपर्ने अवस्थाको अन्त्य गर्ने प्रतिवद्धता समेत जनाउँदै आएको छ । कार्यक्रममा बोल्दै क्याप्टेन रामेश्वर थापाले हवाई सेवालाई अझै बलियो बनाउने गरी काम गर्न टे«ड युनियनहरुलाई आग्रह गर्नु गरे । उनले हवाई सेवाको कामले गति लिने वित्तिकै त्यसबाट आउने मुनाफा टे«ड युनियनहरुको हितमा हुने समेत स्मरण गराए । क्याप्टेन थापाले नेपाल नागरिक उडड्यन प्राधिकरणले हवाई उडानलाई व्यवस्थित बनाउन पूर्वाधार विकासमा जोड दिनुपर्ने आवश्यक्ता औंल्याए ।
अरब क्षेत्रको एक तिहाइ जनसङ्ख्या गरिबीबाट प्रभावित
एजेन्सी । अरब क्षेत्रको एक तिहाइ अर्थात् १३ करोड जनसङ्ख्या गरिबीको रेखामुनि रहेको अध्ययनले देखाएको छ । संयुक्त राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक आयोग (ईएससीडब्लुए) ले शुक्रबार सार्वजनिक गरेको एक सर्वेक्षणले खाडी सहयोग परिषद् (जीसीसी) सदस्य राष्ट्र र लिबियाबाहेक अरब क्षेत्रको एक तिहाइ जनसङ्ख्या गरिबीबाट प्रभावित गरेको जनाएको छ । ‘अरब क्षेत्रमा आर्थिक र सामाजिक विकासको सर्वेक्षण’ नाम दिइएको उक्त प्रतिवेदनमा भनिएको छ, ‘राष्ट्रिय गरिबीको रेखामा मापन गरिएको गरिबीले अरब मुलुकका १३ करोड मानिसलाई असर गरेको छ । सर्वेक्षणले आगामी दुई वर्षमा गरिबीको स्तर अझ बढ्ने र सन् २०२४ सम्ममा ३६ प्रतिशत जनसङ्ख्यामा पुग्ने अपेक्षा गरेको छ ।’ यसबाहेक, अरब क्षेत्रमा सन् २०२२ मा विश्वको सबैभन्दा उच्च बेरोजगारी दर १२ प्रतिशत रहेको सर्वेक्षणले देखाएको छ । कोभिड–१९ पछिको आर्थिक पुनरूत्थान प्रयासका कारण सन् २०२३ मा ११.७ प्रतिशतमा झरेको छ । सन् २०२३ मा यस क्षेत्रको आर्थिक वृद्धिदर ४।५ प्रतिशत र सन् २०२४ मा ३।४ प्रतिशत रहने अनुमान गरिएको छ । सर्वेक्षणका प्रमुख लेखक अहमद मौम्मीले जीसीसी र अन्य तेल निर्यातक देशहरूले उच्च ऊर्जा मूल्यबाट लाभ उठाउन जारी राख्ने बताएका छन्। तेल आयात गर्ने देशहरूले बढ्दो ऊर्जा लागत, खाद्य आपूर्तिको कमी र पर्यटन तथा अन्तर्राष्ट्रिय सहायता प्रवाह दुवैमा गिरावटसहित धेरै सामाजिक आर्थिक चुनौतीहरूको सामना गर्नेछन् । मौम्मीले तेल निर्यात गर्ने अरब देशहरूले समावेशी वृद्धि र दीगो विकास सिर्जना गर्ने परियोजनाहरूमा लगानी गरेर ऊर्जा क्षेत्रबाट टाढा आफ्नो अर्थव्यवस्थालाई विविधीकरण गर्नुपर्ने उल्लेख गरे ।
काठमाडौंबाट आपराधिक क्रियाकलापमा संलग्न एक सय ५५ पक्राउ
काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौँले छ महिनाको अवधिमा आपराधिक क्रियाकलापमा संलग्न एक सय ५५ जनालाई पक्राउ गरेको छ । काठमाडौँ प्रहरीले चालू आव २०७९/८० को साउनदेखि पुससम्मको अवधिमा आपराधिक क्रियाकलापमा संलग्न एक सय ५५ जनालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले विभिन्न मितिमा अदालतले कैद र जरिवनाको फैसला सुनाएकामा फरार रहेका एक सय ५५ जनालाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि अदालत पेस गरिएको जानकारी दिए। पक्राउ परेकालाई अदालतले २९ वर्ष पाँच महिना छ दिन कैद र रु दुई करोड ९४ लाख ४९ हजार सात सय ५६ जरिवाना असुल गरेको प्रवक्ता मैनालीले बताए।
त्रिभुवन विश्वविद्यालयमा पुस १७ गतेदेखि २२ दिन जाडो बिदा हुने
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले जाडो बढेसँगै हिउँदे बिदा गर्ने भएको छ । त्रिविअन्तर्गतका आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा यही पुस १७ गतेदेखि हिउँदे बिदा गर्न थालेको हो । त्रिवि कार्यकारी परिषद्ले पुस १७ गतेदेखि बढीमा २२ दिन हिउँदे बिदा गर्ने निर्णय गरेको त्रिविको सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख योगेन्द्रप्रसाद दाहालले जानकारी दिए । उनले उक्त समयमा पठनपाठन बन्द हुने र प्रशासनिक कार्य भने सञ्चालन हुने बताए । हिउँदे बिदाको समयमा तोकिएका परीक्षा भने नियमित सञ्चालन हुनेछन् । त्रिविमा ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पस रहेका छन् ।
सुशासन र सुरक्षाको प्रत्याभूति गराउन प्रधानमन्त्रीद्वारा गृहमन्त्रीलाई निर्देशन
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकलाई सुशासन र सुरक्षाको प्रत्याभूत गराउने गरी कार्य अघि बढाउन उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको भेटमा प्रधानमन्त्री दाहालले उक्त निर्देशन दिएका हुन्। प्रधानमन्त्री दाहाल समक्ष गृहमन्त्री लामिछानेले सुरक्षा व्यवस्था र सुशासन कायम राख्नेबारे सङ्क्षिप्त ‘रिपोर्ट’ पेस गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । रासस ।
चितवनमा पर्यटकको चाप बढ्यो : होटल भरिभराउ
फाइल फाेटाे चितवन । इस्वी सम्वत् २०२३ को पूर्व सन्ध्यामा यहाँस्थित पर्यटकीय क्षेत्रका होटल भरिन सुरु गरेका छन् । चितवन राष्ट्रिय निकुञ्जको सौराहा, पटिहानी, मेघौलीलगायतका क्षेत्रका ठूला होटल भरिएका छन् । साना होटल पनि साँझसम्म भरिने व्यवसायी बताउँछन् । अङ्ग्रेजी नयाँ वर्षका अघिल्ला दुई दिन सार्वजनिक बिदा परेकाले घुम्न रुचाउनेका लागि उपयुक्त समय बनेको छ । नारायणगढ मुग्लिन सडकखण्ड दिउँसोमा बन्द हुने हुँदा केही प्रभावित भए पनि बिहान बेलुकाको समयमा आन्तरिक पर्यटक धेरै आएको व्यवसायी बताउँछन् । सौराहाका निजी हात्ती सञ्चालन गर्ने सामूहिक सहकारी युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष ऋषि तिवारीले दुई दिनयता हात्ती र जीप भरिएको जानकारी दिए । साँझसम्ममा सबै होटल भरिने उनको अनुमान रहेको छ । उनले भने, ‘यो नयाँ वर्षमा पर्यटकको राम्रो उपस्थिति रहेको छ ।’ सौराहामा दुई वटा होटल सञ्चालन गर्दै आउनुभएका माधव दुवाडी दुई दिनयता दुवै होटल भरिएको बताउनुहुन्छ । होटल सेभेन स्टारमा आज साङ्गीतिक कार्यक्रम रहेको भन्दै उहाँले अर्को होटेल पनि भरिएको बताए। उनले भने, ‘नयाँ वर्षमा आन्तरिक पर्यटकको राम्रो उपस्थिति रहेको छ ।’ क्षेत्रीय होटल सङ्घका महासचिव गुणराज थपलिया अधिकांश होटल भरिएको बताउँछन् । उनले भने, ‘नयाँ वर्ष मनाउन आउने पर्यटकको सङ्ख्या राम्रो छ ।’ विगत वर्षमा जस्तो सडकमा पर्यटक नभरिए पनि होटलमा राम्रो भएको उनको भनाइ छ । पटिहानी र मेघौलीका होटल पनि पर्यटकले भरिएका छन् । मेघौलीको वाइल्ड लाइफ सेञ्चुरीका सुबोध प्रधानले दुई दिनयता होटल भरिएको सुनाए। उनले भने, ‘अहिलेको नयाँ वर्ष पर्यटकको उपस्थिति राम्रो छ ।’ जङ्गल भिल्ला पटिहानीका सञ्चालक गणेश पौडेलले दुई दिनयता भारतीय र नेपाली पर्यटकले होटल भरिएको जानकारी दिए। क्षेत्रीय होटल सङ्घका अध्यक्ष दीपक भट्टराईले क्रमश पर्यटक बढ्दै गएको साँझसम्ममा होटल भरिने अपेक्षा छ भने। सौराहाका सबै होटललाई समग्रमा हेर्दा शुक्रबार झण्डै आधा भरिएको उनको भनाइ छ । घुम्न आउनेले पाएसम्म राम्रा होटल खोज्छन् । सङ्घको सदस्यमा साना होटल धेरै छन् । क्रमशः ती होटल पनि भरिने क्रममा रहेका छन् । पर्यटक बढेपछि निकुञ्ज आसपासका रेष्टुराँ पनि भरिएका छन् । सौराहामा एक सय २० होटल क्षेत्रीय होटल सङ्घमा आबद्ध छन् । सङ्घमा दर्ता नभएका अरु साना होटल पनि रहेका छन् । भट्टराईका अनुसार सौराहामा आठ हजार पर्यटक अट्न सक्ने क्षमता छ । चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती वनमा हात्ती सफारी, जीप सफारी, डुङ्गा सयर, पैदल यात्रा गरेर दुर्लभ बाघ, गैँडाजस्ता वन्यजन्तु हेर्न यहाँ पर्यटक आउने गर्दछन् । थारु संस्कृति हेर्न पर्यटक रुचाउँछन् । कोभिडका कारण थला परेको पर्यटन व्यवसाय उठ्ने अपेक्षामा व्यवसायी रहेका छन् ।