कैदीबन्दीलाई साँघुरो भयो ‘केन्द्रीय कारागार’
काठमाडौं । कारागारको क्षमताभन्दा बढी कैदीबन्दी हुँदा काठमाडौँको जगन्नाथदेवलमा रहेको देशकै सबैभन्दा पुरानो ‘केन्द्रीय कारागार’ व्यवस्थापनमा चुनौती बन्दै गएको छ । विसं १९७१ मा ४३ रोपनी क्षेत्रफलमा स्थापना भएको केन्द्रीय कारागारमा अहिले क्षमताभन्दा दुई गुणा बढी कैदीबन्दी रहेका छन् । केन्द्रीय कारागार परिसरभित्र हाल केन्द्र, भद्र र महिला गरी तीन वटा जेल रहेका छन् । केन्द्रीय कारागार सुन्धाराका कारागार प्रशासक ईश्वरीप्रसाद पाण्डे एक हजार पाँच सय क्षमता रहेको केन्द्रीय कारागार सुन्धारामा हाल तीन हजार चार सय ४८ कैदीबन्दी रहेको बताउछन्। ‘कारागारको क्षमताभन्दा दुई गुणा बढी कैदीबन्दी अहिले केन्द्रीय कारागारमा छन्,’ उनी भन्छन्। हाल केन्द्रीय कारागार परिसरभित्र रहेको केन्द्र जेलमा एक हजार नौ सय दुई, भद्र जेलमा एक हजार एक सय २२ र महिला जेलमा चार सय २४ कैदीबन्दी रहेका छन् । जसमध्ये केन्द्रीय कारागारमा एक हजार सात सय २० कैदी, एक हजार सात सय ३८ थुनुवा र १४ नाबालक रहेका छन् । जसमा दुई सय ५८ विदेशी कैदीबन्दी छन् । अदालतबाट मुद्दा फैसला भई कारागार सजाय भोगिरहेकालाई ‘कैदी’ र अदालतमा मुद्दा चलिरहेका तर फैसला नभई कारागार सजाय भोगिरहेकालाई ‘बन्दी’ भनिन्छ । देशको राजधानी काठमाडौँमा धेरै आपराधिक क्रियाकलाप हुने भएका कारण पनि अपराध गरेर कारागारभित्र आउनेको सङ्ख्या बढी भएको कारागार प्रशासक पाण्डे बताउछन्। विसं १९७१ मा निर्माण गरिएका संरचनाबाहेक अहिले केही संरचना निर्माण भए पनि कैदीबन्दीलाई भने अझै अपुग भएको छ । केन्द्रीय कारागारको जिम्मा नेपाल प्रहरीले दिँदै आएको छ । काठमाडौँको केन्द्रीय कारागार, डिल्लीबजार कारागार र नख्खु कारागारको सुरक्षाका लागि नेपाल प्रहरीले प्रहरी नायब उपरीक्षक (डिएसपी)को कमाण्डमा तीन सय ७६ प्रहरी परिचालन गरेको छ । केन्द्रीय कारागारसहित तीनवटै कारागारको सुरक्षामा खटिएका प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापा कारागारभित्र सिसी क्यामरा जडान गरिएका कारण कैदीबन्दीको सुरक्षामा सहजता भएको बताउछन् । हाल केन्द्रीय कारागारमा दुई सय ५० र बाँकी दुई कारागारमा एक सय २६ प्रहरी कारागारको सुरक्षामा खटाइएको उनको भनाइ छ । केन्द्रीय कारागारबाहेक हाल डिल्लीबजार कारागारमा छ सय ३४ र नख्खु कारागारमा एक हजार तीन सय ९७ कैदीबन्दी रहेका छन् । यस्तै केन्द्रीय कारागारभित्र कारागार अस्पतालसमेत सञ्चालनमा रहेको छ । छ जना विशेषज्ञ डाक्टरसहित रहेको उक्त अस्पताल ३० श्ययाको रहेको छ । सो अस्पतालबाट कैदीबन्दीको छाला, मधुमेह, जन्डिस, श्वासप्रश्वास, फोक्सोको समस्या, हातगोडा पाक्ने र सुनिनेलगायतका रोगको उपचार हुँदै आएको छ । केन्द्रीय कारागार साँघुरो हुँदै गएपछि सरकारले नुवाकोटको विदुर नगरपालिका वडा नं ६ खम्बाली क्याम्पमा केन्द्रीय कारागार निर्माणको कामलाई अगाडि बढाएको छ भने बाँकेको झुम्कामा क्षेत्रीय कारागार निर्माण गर्न लागेको छ । विसं २०७० चैत २० को मन्त्रिपरिषद्को बैठकले काठमाडौँस्थित केन्द्रीय कारागारलाई नुवाकोटमा स्थानान्तरण गर्ने निर्णय गरेअनुसार नुवाकोटमा केन्द्रीय कारागार निर्माणको कामले तीव्रता पाएको हो । उक्त कारागारमा सात हजार कैदीबन्दी अटाउनेछन् भने बाँकेमा तीन हजार कैदीबन्दी अट्नेछन् । कारागार व्यवस्थापन विभागका अनुसार हाल देशभरका ७२ जिल्लामा ७४ कारागार रहेका छन् । काठमाडौँ र दाङमा दुई–दुई वटा कारागार रहेका छन् भने भक्तपुर, बारा, धनुषा, पूर्वी नवलपरासी र पूर्वी रुकुममा कारागार छैनन् । अहिले देशभर २५ हजारको हाराहारीमा कैदीबन्दी रहेका छन् ।
एनआइसी एशियाले नबिल बैंकलाई उछिन्यो
काठमाडौं । एनआइसी एशियाले नबिल बैंकलाई सेयर मूल्यमा जितेकाे छ । नबिल बैंकलाई उछिन्दै एनआइसी सेयर बजारमा सबैभन्दा महँगो सेयर मूल्य हुने वाणिज्य बैंक बनेको छ । सोमबार नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा नबिल बैंकको अन्तिम सेयर काराेबार मूल्य प्रतिकित्ता ७३९ रुपैयाँ रहेको छ भने एनआइसीको ७६५ रुपैयाँ रहेको छ । नेप्सेमा सूचीकृत २५ वटा वाणिज्य बैंक मध्ये यो सेयर मूल्य सबैभन्दा धेरै हो । १८.५ प्रतिशत बोनस सेयरका आधारमा मूल्य समायोजन भएपछि नबिल बैंकको सेयर मूल्य घटेको हो । नबिल बैंकले हरेक वर्ष लाभांश दिँदै आएको छ भने एनआइसी एशियाले विगत दुई वर्षदेखि लाभांश दिनसकेको छैन ।
निर्माण सुरु भएको एक दशकमा पनि सम्पन्न भएन टेकु पुल
काठमाडौं । निर्माण सुरु भएको एक दशक पुग्दासमेत टेकुस्थित विष्णुमति पुल अझै सम्पन्न हुन सकेको छैन । झट्ट हेर्दा पुल निर्माण सकिएको देखिए पनि निर्माणका क्रममा समस्या आएपछि वर्षौँदेखि पुल अलपत्र छ । निर्माणका क्रममा गुणस्तरिय नभएको भन्दै पुलको ठेक्का तोड्ने सडक विभागले निर्णय गरेको थियो । बिभागको निर्णय विरुद्ध निर्माण कम्पनी कानुनी प्रक्रियामा गएको डिभिजन सडक कार्यालय काठमाडौंले जनाएको छ । कार्यालयले ठेक्का तोड्ने निर्णय गरे पनि यस सम्बन्धमा अदालतको निर्णय पछि प्रक्रिया अघि बढाइने कार्यालयका सूचना अधिकारी सुनित केसीले बताए । उनले भने, ‘हामीले प्राविधिक पक्षलाई हेरेर ठेक्का तोडेको हो अदालतको निर्णय के हुन्छ त्यहीअनुसार गर्नुपर्छ ।’ पुल निर्माण हुँदा त्रुटि भएकाले डिभिजन सडकले निर्माण कम्पनीलाई सचेत गराएको सूचना अधिकारी केसीले बताए । त्यतिबेला अध्ययन गर्दा सुपर स्ट्रक्चर डेक्स स्लापमा समस्या पाइएको थियो । डिभिजन सडक कार्यालयले समस्या भएको ठाउँमा सच्याउन भने पनि त्यसविरुद्ध निर्माण कम्पनी अदालती प्रक्रियामा गएको र पछि कार्यालयबाट ठेक्का तोडेको उनले बताए । उनले भने, ‘डिभिजनले ठेक्का तोडेपछि कम्पनीले ठेक्का तोड्न र कालोसूचीमा राखिएको विरुद्ध अर्को मुद्दामा गयो ।’ पुल प्राविधिक रुपमा त्रुटिपूर्ण भएकाले त्यो तोडेर नयाँ बनाउनुपर्ने भनिएपछि कम्पनीसँग ठेक्का तोडेर कालोसूचीमा राखेपछि कम्पनी सर्वोच्चमा गएको थियो । उनले भने, ‘अन्तिम फैसला आएपछि नै कसरी अघि बढ्ने भन्ने निर्णय हुनसक्छ ।’ पुल निर्माणका लागि आर्थिक वर्ष २०६९/७० को ठेक्का सम्झौता भएको थियो । निर्माण कम्पनीले निर्माण सम्पन्न भएको भनेको चारवर्ष वितिसक्दा पनि पुल सञ्चालनमा आउन सकेको छैन । पुल निर्माण कम्पनीले हस्तान्तरण गर्न चाहे पनि डिभिजन सडक कार्यालयले पहिले त्रुटि सच्याउन भनेको थियो । निर्माण कम्पनी पप्पु कन्सट्रक्स प्रालिले तोकिएको डिजाइनभन्दा फरक गरी निर्माण गरेकाले ठेक्का तोडिएको थियो । सङ्घीय राजधानी काठमाडौंमा यो पुलसँगै सोही निर्माण कम्पनीले ठेक्का पाएको तीनकुनेको बागमति पुल पनि लामो समय अवरुद्ध रहेको थियो । त्यो पुलमा पनि निर्माणमा ढिलाइ र भएको काम गुणस्तरिय नहुँदा ठेक्का तोडिएको थियो । अदालती प्रक्रिया टुङ्गिएसँगै अहिले सो पुल नयाँ ठेक्कामार्फत निर्माण अघि बढाइएको छ ।
माघ २५ मा राष्ट्रियसभाको उपनिर्वाचन गर्ने
काठमाडौं । निर्वाचन आयोगले आउँदो माघ २५ गते बुधबार राष्ट्रियसभा सदस्यको रिक्त एक सदस्यका लागि उपनिर्वाचन गर्नेगरी निर्वाचनको मिति तोक्न नेपाल सरकारलाई आयोगले परामर्श दिएको छ । सरकारले तोकेको मितिमा आयोगले सो सभाको उपनिर्वाचन गराउनुपर्ने व्यवस्थअनुसार मिति तोक्न आयोगले सरकारलाई आज लिखित परामर्श दिएको हो । आयोगका प्रमुख निर्वाचन आयुक्तसहितका पदाधिकारीले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरी सो परामर्श दिएका हुन् । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने र सरकारका मुख्यसचिव शङ्करदास वैरागीको उपस्थिति रहेको थियो । सो भेटघाटमा राष्ट्रियसभाको रिक्त सदस्यको निर्वाचन, राष्ट्रपति तथा उपराष्ट्रपति पदको निर्वाचन र एकीकृत निर्वाचन कानुनका विषयलगायत समसामयिक विषयमा छलफल तथा परामर्श भएको थियो । सो अवसरमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राष्ट्रियसभामा लुम्बिनी प्रदेशबाट निर्वाचित सदस्य खिमलाल भट्टराई अन्य समूहको २०७९ असोज २३ मा राजीनामा स्वीकृत भई रिक्त पदको उपनिर्वाचन गर्ने, वर्तमान राष्ट्रपतिको पदावधि २०७९ फागुन २८ गतेसम्म हुने भएकाले सो अगाडि राष्ट्रपति पदको निर्वाचन र राष्ट्रपतिको निर्वाचन भएको १५ दिनभित्र उपराष्ट्रपति पदको निर्वाचन सम्पन्न गराउनुपर्ने अवस्था रहेको अवगत गराए । राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६१ मा कुनै सदस्यको पदावधि छ महिनाभन्दा बढी कायम रहँदै कुनै कारणले पद रिक्त भएमा बाँकी अवधिका लागि रिक्त भएको मितिले ३५ दिनभित्र गर्नुपर्ने हुन्छ । यसैगरी आयोगका तर्फबाट तयार भएको निर्वाचनसँग सम्बन्धित एकीकृत निर्वाचन कानुनको मस्यौदा सरकारमार्फत सङ्घीय संसद्को पहिलो अधिवेशनमा पेस गर्ने तयारीमा आयोग जुटेको व्यहोरासमेत जानकारी गराइएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले जानकारी दिए । सो अवसरमा प्रधानमन्त्री दाहालले २०७९ वैशाख ३० गते स्थानीय तह र मङ्सिर ४ गते प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहितरूपमा सम्पन्न गराएकामा आयोगलाई धन्यवाद दिए । उनले आयोगले प्रस्ताव गरेका राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनको विषयमा आवश्यक सहयोग, समन्वय र सहजीकरण गर्न तथा एकीकृत निर्वाचन कानुनलाई अगाडि बढाउन नेपाल सरकार तयार रहेको स्पष्ट गरे । सोही सिलसिलामा उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले अब हुने निर्वाचनका लागि आवश्यकपर्ने वित्तीय सहयोग जुटाउन मन्त्रालय तयार रहेको बताए । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले आयोगको सम्पर्क मन्त्रालयका रूपमा गृह मन्त्रालयबाट गर्नुपर्ने सम्पूर्ण सहयोग उपलब्ध गराइने विश्वास व्यक्त गरे । भेटवार्तामा निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौड्याल, रामप्रसाद भण्डारी, डा जानकीकुमार तुलाधर र आयोगका सचिव गोकर्णमणि दुवाडीको उपस्थिति थियो ।
१७ अंकले बढ्यो नेप्से, झण्डै ३ अर्बको कारोबार
काठमाडाैं । साेमबारकाे सेयर बजार १७.५६ अंकले बढेकाे छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)काे अनुसार साेमबार सेयर बजार बढेर २०६३.८३ विन्दुमा पुगेकाे छ । नेप्सेकाे अनुसार आज ८२ लाख कित्ता सेयर किनबेच हुँदा दुई अर्ब ९६ रुपैयाँकाे काराेबार भएकाे छ । आज सबैभन्दा बढी काराेबार हुने कम्पनीमा नबिल बैंक रहेकाे छ । बैंककाे आज १६ कराेड रुपैयाँ बढीकाे सेयर काराेबार भएकाे छ । यस्तै, साेमबार ४ कम्पनीकाे सेयरमा सकारात्मक सर्किट लागेकाे छ । सर्किट लाग्ने कम्पनीहरु क्रमश: धाैलागिरी लघुवित्त, सृजनशिल लघुवित्त, खप्तड लघुवित्त र अजाेड इन्स्याेरेन्स रहेकाे छ ।
खुलामञ्चमा बहुतले भवन नबनाउन आग्रह
काठमाडौं । काठमाडौं महानगरपालिकाले खुलामञ्चमा पार्किङसहितको बहुतले भवन निर्माणको प्रक्रियाअघि बढाएपछि मुक्त टुँडिखेल अभियानले रोक्न माग गर्दै ज्ञापनपत्र बुझाएको छ । राजधानीमा पानी रिचार्ज स्रोतका रुपमा रहेको खुलामञ्चमा संरचना बनाए आन्दोलनमा उत्रन बाध्य हुने अभियानले जनाएको छ । ज्ञापनपत्र बुझ्दै महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले खुलामञ्चमा भवन निर्माणका लागि सम्भाव्यता अध्ययन मात्र हुन लागेको बताइन् । सम्भाव्यता अध्ययनपछि आवश्यकताका आधारमा मात्र बहुतले भवन निर्माण गरिने उल्लेख गर्दै उनले सार्वजनिक एवं खुला स्थानको संरक्षण गरिनुपर्नेमा महानगर दृढ रहेको बताइन् । पार्किङका लागि अन्य विकल्प पनि भएको विषयमा पनि छलफल भइरहेको उपप्रख डङ्गोलको भनाइ थियो । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता भीमसेनदास प्रधानले खुलामञ्चमा पार्किङसहितको बहुतले भवन निर्माण गरिए वीर अस्पतालका बिरामीका लागि पनि असर गर्ने भएकाले यस्तो निर्णय फिर्ता लिन आग्रह गरे । खुलामञ्च र टुँडिखेलको थोरै भागमात्र बाँकी रहेकाले यसको संरक्षण गरेर राखिनुपर्ने बताउँदै उनले राजधानीका धेरै पोखरी, धारा मासिए जसरी खुलामञ्चलाई मास्न नदिने प्रतिबद्धता जनाए । अभियानले विसं २०७६ कात्तिक २३ गतेदेखि मुक्त टुँडिखेल अभियान सञ्चालन गर्दै आएको छ । ज्ञापनपत्र बुझाउँदै अभियानका संयोजक विजय श्रेष्ठले यसलाई हल्का रुपमा लिए चरणबद्ध आन्दोलनमा जान बाध्य हुने बताए । दशरथ रङ्गशालाबाट रानीपोखरीसम्मको भागलाई बचाउन अभियानले काम गरिरहेको उनले सुनाए । प्राकृतिक रिचार्ज क्षेत्रलाई कब्जा गर्नेगरी पार्किङसहितको बहुतले भवन निर्माण गर्न विस्तृत परियोजना प्रस्ताव बनाउने तयारी गरिएकामा पनि अभियानले आपत्ति जनाएको छ ।
पुस २६ गते प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पुस २६ गते संसदमा विश्वासको मत लिने भएका छन्। पुस ११ गते प्रधानमन्त्रीको सपथ लिएका प्रचण्डले २६ गते विश्वासको मत लिने विषय संसदको कार्यसूचीमा राख्न पत्र पठाएका छन् । संविधानको धारा ७६ को उपधारा २ बमोजिम सात दलको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।
लाइफ इन्स्योरेन्स कर्पोरेशनको बुक क्लोज पुस २५ गते
काठमाडाैं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले बुक क्लाेज मिति ताेकेकाे छ । कम्पनीले विशेष साधारण सभा प्रयाेजनकाे लागि पुस २५ गते एक दिन बुक क्लाेज गर्ने भएकाे हाे । कम्पनीले माघ ३ गते मंगलबार विशेष साधारण सभा बाेलाएकाे छ । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले ८८.४५१६८ प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गर्न साधारण सभा बाेलाएकाे हाे । हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँ छ । प्रस्तावित हकप्रद पश्चात कम्पनीको चुक्ता पुँजी ५ अर्ब रुपैयाँ पुग्ने छ । जुन प्राधिकरणले तोकेको न्यूनतम चुक्ता पुँजी हो ।