विकासन्युज

काभ्रेमा वर्सेनि सुन्तला उत्पादनमा गिरावट

काभ्रे । जिल्लामा वर्सेनि सुन्तला उत्पादनमा गिरावट हुँँदै आएको छ । पछिल्ला केही वर्षदेखि काभ्रेपलाञ्चोकमा दुई प्रतिशतका दरले सुन्तला उत्पादनमा गिरावट हुँदै आएको कृषि ज्ञान केन्द्र धुलिखेलले जनाएको छ । यसवर्ष पनि दुई प्रतिशतले गिरावट हुने प्रक्षेपण गरिएको केन्द्रका बाली संरक्षण अधिकृत सरिता सापकोटाले बताइन् । उनका अनुसार रोग एवं कीराका कारण सात वर्षयता लगातार सुन्तला उत्पादनमा दुई प्रतिशतका हाराहारीमा गिरावट हुँदै आएको छ । त्यसअघि काभ्रेपलाञ्चोकमा वर्सेनि सात सय मेट्रिकटन सुन्तला उत्पादन हुँदै आएको थियो । जिल्लाको ८० हेक्टर क्षेत्रफलमा सुन्तलाको व्यावसायिक रुपमा खेती हुँदै आएको आएको छ । गतवर्ष छ सय ३० मेट्रिकटन सुन्तला उत्पादन भएको थियो । ‘यसवर्ष पनि सुन्तला उत्पादनमा दुई प्रतिशतसम्म कमी आउने प्रारम्भिक अनुमान गरेका छौँ’, सापकोटाले भनिन् । विसं २०७२ को गोर्खा भूकम्पपछि निरन्तर सुन्तला उत्पादनमा ह्रास हुँदै आएको केन्द्रको तथ्याङ्कले देखाएको छ । सुन्तलामा लाग्ने विविधरोग निराकरणमा किसान र कार्यालयबीच समन्वय नहुँदा समस्या उत्पन्न हुँदै आएको जनाइएको छ । सापकोटाले भनिन्, ‘बिरुवा रोपेपछि किसानले खासै ध्यान दिएको पाइँदैन, यसकारण विविध रोगले अक्रमण गरेपछि निराकरणमा समस्या उत्पन्न हुन्छ, जसका कारण उत्पादनमा कमी हुँदै जाने हो ।’ यसैबीच विविध रोगका कारण सुन्तला उत्पादनमा आएको गिरावटका कारण जिल्लाका किसान चिन्तित देखिन्छन् । काभ्रेपलाञ्चोकको मुख्य उत्पादनको पकेट क्षेत्र पनौती नगरपालिका–१० पस्थलीका किसान प्रेमबहादुर तामाङले उत्पादन कमी हुँदै गए पनि सुन्तला बगैँचा फाँड्नुको विकल्प नभएको बताए । उनले भने, ‘अब सुन्तलाको बगैँचा काटेर तरकारी लाउनुको विकल्प छैन, हामीले यही बगैँचाबाट वार्षिक चार लाखसम्मको सुन्तला बेचेका थियौँ, तर अहिले एक लाख पनि पाउन मुस्किल हुने भयो ।’ विगत केही वर्षदेखि रोगकै कारण सुन्तला उत्पादनमा कमी आएको उनको अनुभव छ । धुलिखल नगरपालिका–१० शङ्खुका किसान शिवप्रसाद आचार्यले सुन्तलाको उत्पादनमा कमी आएपछि आयस्रोतको अरु विकल्प खोज्नुपर्ने बाध्यता हुँदै गएको बताए । उनका अनुसार सुन्तलाको बोट कुहिने, नकुहीने, सुक्ने तथा फलेको सुन्तला पनि रसिलो नहुनेजस्ता समस्या देखिएपछि उत्पादनमा कमी हुँदै गएको हो । रोगकै कारण सुन्तला उत्पादनमा कमी हुने भएपछि केन्द्रले प्राविधिक सल्लाह तथा आवश्यक औषधि र चुन वितरण गर्ने गरिएको अधिकृत सापकोटाले बताए । उनका अनुसार जिल्लाभर करिब २० प्रतिशत सुन्तलामा औँसा कीराको प्रकोप देखिएको छ । यसका कारण बोटमा रहेका सुन्तलामध्ये दश प्रतिशत कुहिएर झर्ने गर्दछ । जिल्लाभर समस्याकै रुपमा सुन्तला खेतीमा फैलिएको औँसाको नियन्त्रण गर्न एकरदुई किसानले मात्रै गरेर सम्भव नहुने भएकाले फल कुहिएर झर्ने समस्या समाधान गर्नै अभियानकै रुपमा लाग्नुपर्ने आवश्यकता देखिएको बताइन्छ । सुन्तलाजन्य जुनार, मौसम, भोगटे, निबुवा, बिमिरो, कागती, ज्यामिरलगायत फलफूलमा यो रोगको सङ्क्रमण फैलिएको हो । रोग सङ्क्रमित भएर बोटबाट झरेका फलमा हुने औँसाका लार्भा माटोभित्र जाने खतरा हुने र यसले गर्दा प्रकोप नियन्त्रण बाहिर जानसक्ने खतरा रहेकाले झरेका फललाई व्यवस्थित रूपले व्यवस्थापन गर्न आवश्यक रहेको सापकोटाको भनाइ छ । ‘सुन्तला उत्पादनमा गिरावट हुनुरोग नै प्रमुख कारण हो’, सापकोटाले भने । काभ्रेपलाञ्चोकको नमोवुद्ध, पनौती, शङ्खु, बल्थली, सारदाबतासे, कुशादेवी, रयाले, पस्थली र खरिबोटलगायतका स्थान सुन्तला उत्पादनका पकेट क्षेत्र हुन् । जिल्लामा वार्षिक ४० करोडभन्दा बढी सुन्तला बिक्रीबाट भित्रने गर्दथ्यो । रासस

व्यावसायिक तरकारी खेतीबाट आत्मनिर्भर बन्दै मुक्तकमैया

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–८ नौखरी मुक्तकमैया बस्तीकी सनमती चौधरीको दिनचर्या फेरिएको छ । परिवारको खर्च जुटाउनका लागि उनी पहिला बिहानीको झिसमिसेमै मजदुरीमा जान्थिन् । साँझ अबेर थाकेर घरफर्कन्छिन् । मजदुरीबाट आएको पैसाले परिवारको खर्च चल्थ्यो । हाल उनी तरकारी खेतीमा संलग्न भएकी छिन् । व्यावसायिक तरकारी खेती गरेर सनमतीका सात जनाको परिवार खर्च सहज रुपमा चल्न थालेको छ । पुनः स्थापन हुँदा पाएको पाँच कठ्ठा जग्गामध्ये एक कठ्ठा जग्गामा उनले घर निर्माण गरेकी छिन् । बाँकी रहेको चार कठ्ठा जग्गामा तरकारी खेती गरेकी छिन् । आफ्नो स्वामित्वको चार कठ्ठा जग्गा र अरुको पाँच कठ्ठा जग्गा भाडामा लिएर उनले तरकारी खेती गर्दै आएकी छिन् । तरकारी खेतीबाट चौधरीले वर्षमा तीन लाख रुपैयाँ आम्दानी गर्दै आएकी छिन् । ‘पहिला बिहानै मजदुरीमा जान्थ्यौँं’, उनले भनिन्, ‘हाल बिहानैदेखि तरकारी बाली स्याहार्ने कार्यसँगै टिपेर बजारमा बेच्नका लागि जाने गरेका छौँ ।’ मौसमी र बेमौसमी तरकारी खेती गर्दै आएको उनले बताइन् । हाल उनको बारीमा काउली, गोलभेँडा, बन्दागोभी, खुर्सानी र हरियो सागपात बेच्नका लागि तयारी अवस्थामा रहेको छ । केही उत्पादित तरकारी उनले बजारमा लगेर बिक्री गरिसकेकी छिन् । ‘२० हजार रुपैयाँ जतिको काउली र गोलभेँडा बिक्री गरेका छौँ’, उनले भनिन्, ‘अरु तरकारी बिक्री गर्ने अवस्थामा पुगेको छ ।’ घरमा रहेका महिलाले मात्रै तरकारी खेतीमा संलग्न छन् । पुरुष बाह्य क्षेत्रमा रोजगारी गर्दै आएका छन् । घर खर्चसँगै बालबालिकको पढाइ खर्च तरकारी खेतीको कमाइले धानिँदै आएको छ । घरका पुरुषले कमाएको पैसाले चौधरी परिवारले पक्की घर निर्माण गरेको छ । सनमती जस्तै बस्तीका रामस्वरुप चौधरीले पनि चार कठ्ठा जग्गामा तरकारी खेती गर्दै आएका छन् । तरकारी खेतीबाट चौधरीले एक लाख रुपैयाँदेखि एक लाख २० हजार रुपैयाँ जति वर्षमा कमाइ गर्छन् । ‘तरकारी उत्पादन गरी बजारमा लगेपछि बिक्री हुन निकै समस्या छ’, उनले भने, ‘बाह्य क्षेत्रबाट आउने तरकारीसँग प्रतिस्पर्धा गर्नुपर्ने भएकाले लागत मूल्यभन्दा थोरै बढीमा बिक्री हुन्छ, बेमौसमी तरकारीबाट भने चाहे अनुसारको मूल्य मिल्ने गरेको छ ।’ ‘गाउँमै तरकारी सङ्कलन केन्द्र भए थोकमा व्यापारीलाई तरकारी उपलब्ध गराउँदा मूल्य मिल्न सक्थ्यो’, आरती चौधरीले भनिन्, ‘त्यसका लागि स्थानीय तहले व्यवस्था मिलाई दिनुपर्यो, वडाध्यक्षलाई यसबारे अवगत गराएका छौँ, बनाउने आश्वासन दिएका छन् ।’ महिलाले बिहानीको झिसमिसेमै टाउकोमा टोकरी बोकेर बजार क्षेत्रका पसल घर चहार्दै तरकारी बेच्नका लागि पुग्नुपर्ने बाध्यता भने रहेको छ । केही गैरसरकारी संस्थाले तरकारी खेती गर्ने तौरतरिका सिकाउने कार्यसँगै बीउबिजनमा सहयोग गरेका छन् । स्थानीय तहका तर्फबाट तरकारी खेतीमा संलग्न मुक्तकमैया परिवारका लागि कुनै पनि कार्यक्रम हालसम्म नल्याएको सुक्नी चौधरीले बताइन् । मुक्तकमैया बस्तीका छ परिवारले बाह्रै महिना तरकारी खेती गर्दै आएका छन् । ‘पहिला तरकारी खेती गर्ने धेरै थिए’, मुक्तकमैया अगुवा भागिराम चौधरीले भने, ‘कोरोनाको सङ्क्रमण फैलिएपछिको बन्दाबन्दीका कारण बजारमा तरकारी बिक्री हुनै छाडेपछि तरकारी खेती गर्नेको सङ्ख्यामा कमी आएको छ, तरकारी बिक्री नभएपछि धेरैले जीविका चलाउनका लागि अरु विकल्प रोजे, त्यसैले तरकारी खेती गर्ने घटे ।’ नगरपालिकाको कृषि शाखका प्रमुख करन सिंह बुढाऐरले आर्थिक रुपमा विपन्न मुक्तकमैयाका लागि व्यावसायिक तरकारी खेतीका लागि अनुदानका कार्यक्रमसँगै तालिमका योजना रहेको बताए । ‘व्यावसायिक तरकारी खेती गर्नेलाई प्रोत्साहित गर्ने नगरपालिकाको योजना छ’, उनले भने, ‘मागका आधारमा कार्यक्रम सञ्चालन हुने भएकाले माग आए अनुसारका अनुदानका कार्यक्रम सञ्चालन गर्न प्रतिवद्ध छौँ ।’ हाल कृषि शाखाबाट अनुदानमा बीउ, कृषि औजार, उपकरण उपलब्ध गराउने कार्य हुँदै आएको उनले जानकारी दिए ।

नर्भिकमा मृगौला प्रत्यारोपण सेवा सुरु

काठमाडाैं । नर्भिक इन्टरनेशनल हस्पिटलले मृगौला प्रत्यारोपण सेवा सुरु गरेको छ । विगत ३० वर्षदेखि स्वास्थ्य सेवा प्रवाह गर्दै आएको नर्भिकले मृगौला प्रत्यारोपण सेवाको समेत सुरुवात गरेको पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो । नर्भिकले हालसम्म २ जना व्यक्तिको मृगौलाको सफलतापूर्वक प्रत्यारोपण सम्पन्न गरिसकेको जानकारी दिएको छ । मृगौला फेल भई उपचार गराइरहेका ६६ वर्षीय पुरुषमा उनकी ५५ वर्षीया पत्नीले दान दिएको मृगौला र ५४ वर्षीय अर्का पुरुषमा उनकी ३० वर्षीया छोरीले दिएको मृगौलाको सफल प्रत्यारोपण गरिएको हस्पिटलले जनाएको छ । विज्ञ चिकित्सक डा. राकेश बर्मा र डा. आर.के. अग्रवाल नेतृत्वको विज्ञ तथा सल्लाहकारहरुको टिमले मृगौला प्रत्यारोपणको काम गर्ने अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय कुमार मिश्रले बताएका छन् । मिश्रका अनुसार मृगौला प्रत्यारोपण गर्दा १२ देखि २० लाख रूपैयाँसम्म खर्च हुन्छ । ‘खर्च बिमारीको अवस्थाअनुसार हुन्छ, हामीले १२ देखि २० लाख सम्म खर्च हुने अनुमान गरेका छौं ’, उनले भने । उनले नेपालको मृगौला प्रत्यारोपण विश्वमै सस्तो भएको र नर्भिक अस्पतालमा लाग्ने खर्च पनि मध्यम आर्थिक अवस्था भएकाहरुका लागि सहज भएको बताए ।   नर्भिकले ३ महिना अगाडि मृगौला प्रत्यारोपण सेवा सञ्चालन गर्ने लाइसेन्स पाएको थियो । कार्यकारी अधिकृत मिश्रका अनुसार आजभन्दा १७ दिन अगाडि पहिलो मृगौला प्रत्यारोपण सेवा शुरु गरेको हो । दुई वटा मृगौला प्रत्यारोपणमा सफलता पाएपछि अस्पताल सेवामा उत्साहित भएको उनले बताए । अस्तालमा भएको जनशक्ति र प्राविधिक पक्षलाई हेर्दा मृगौला प्रत्यारोपणको क्षेत्रमा धेरै काम गर्न सक्ने उनको भनाइ छ । नर्भिकले कोभिड महामारीपछिको २ वर्षमा उपचारको क्षेत्रमा धेरै नयाँ सेवा विस्तार गरेको प्रमुख कार्यकारी अधिकृत मिश्रको भनाइ छ । उनका अनुसार आइभिएफ सेवामा राम्रो पहिचान बनाएको नर्भिकले डर्माटोलोजी र कस्मेटिक सेवा पनि विस्तार गरेर सञ्चालन गरिरहेको छ । अस्पतालले कलेजो प्रत्यारोपणको लागि लाइसेन्स प्रकृया अगाडि बढाएको भन्दै अधिकृत मिश्रले प्रकृया पुरा भएमा आगामी ६ महिनाभित्रमा सेवा सञ्चालन हुन सक्ने बताए ।

भक्तपुर नगरपालिकाद्वारा विदेशी पर्यटन शुल्क समायोजन

भक्तपुर । अमेरिकी डलरको भाउ बढेको भन्दै भक्तपुर नगरपालिकाले नगर क्षेत्रभित्र प्रवेश गर्ने विदेशी पर्यटकसँग लिँदै आएको पर्यटन शुल्क वृद्धि गरेको छ । नगरपालिकाले विश्व सम्पदा सूचीमा सूचीकृत भक्तपुर दरबारस्कवायरलगायत नगरपालिकाभित्रका सम्पदा अवलोकनका लागि प्रवेश गर्ने विदेशी पर्यटकबाट असुल गर्दै आएको पर्यटन शुल्कमा २०२३ जनवरी १ देखि लागू हुने गरी वृद्धि गरेको हो । नगरपालिकाका पर्यटन सूचना केन्द प्रमुख गौतम लासिवाले अमेरिकी डलरको मूल्य उच्च रुपमा वृद्धि हुँदै गएपछि नगरपालिकाले पर्यटन शुल्कमा सोही अनुरुप शुल्क समायोजन गरेको बताए । नगरपालिका प्रवेश गर्ने सार्क राष्ट्रका पर्यटकसँग लिँदै आएको रु पाँच सय शुल्क भने यथावतै राखिएको र सार्क राष्ट्र बाहेक अन्य राष्ट्रका पर्यटकसँग एक हजार पाँचसय लिँदै आएकामा जनही एक हजार ८०० लिने निर्णय भएकोे उनले बताए । प्रमुख लासिवाले भने, ‘नगरपालिकाले नगर परिषद्बाटै शुल्क समायोजन गर्ने निर्णय गरेको थियो, त्यसलाई फष्ट जनवरीदेखि लागू गरेका हाैँ, डरलको मूल्य एक सय ३० को हाराहारीमा पुगेकाले मूल्य समायोजन गरेका हौँ, डलरमा शुल्क भुक्तानी गर्नेसँग १५ अमेरिकी डलर नै लिने र नेपाली रुपैयाँ भुक्तानी गर्नेको हकमा एक हजार आठसय लिने निर्णय भएको छ ।” रासस

सत्तारुढ गठबन्धनमा सामेल हुन सकिँदैन : माधव नेपाल

काठमाडाैं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टी सत्तारुढ गठबन्धनमा सामेल हुन नसक्ने बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारमा सामेल हुन आग्रह गरिरहँदा उनको यस्तो अडान बाहिर आएको हो । सोमबार (आज)बाट काठमाडौंमा सुरु भएको पार्टी पोलिटब्यूरो बैठकमा बोल्दै उहाँले राष्ट्र र जनताको हितलाई केन्द्रविन्दुमा राखेर आफ्नो पार्टी अघि बढ्ने पनि स्पष्ट पारे । अध्यक्ष नेपालले आफ्नो पार्टीले वर्तमान राजनीतिक परिस्थितिमा ठिक गरिरहेको उल्लेख गर्दै कसै सामू लत्र्ने पक्षमा नरहेको समेत बताए । मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबारे वस्तुनिष्ठ समिक्षा गरेर आफूहरु अघि बढ्ने तर आरोपप्रत्यारोपको राजनीति गर्ने पक्षमा आफ्नो पार्टी नरहेको उनको भनाई थियो । अध्यक्ष नेपालले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि पार्टीभित्रै रहेर ती समस्या समाधान गरेर अघि बढने आफूहरुको प्रयास असफल भएपछि नयाँ पार्टी खोलेर अघि बढ्नु परेको तथ्य बुझ्न पनि पार्टीका नेता, कार्यकर्तालाई आग्रह गरे । अध्यक्ष नेपालले आफूहरुबाट केही गल्ती भए सच्चिन तयार रहेको उल्लेख गर्दै कसैलाई पनि पानी माथिको ओभानो बन्ने प्रयास नगर्न पनि बताए । आजबाट सुरु भएको बैठकमा नेताहरुले सरकारमा पार्टी सहभागी हुने वा नहुने भन्ने विषयमा पनि आ–आफ्नो धारणा राख्ने एजेण्डा समेत तय गरिएको पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । त्यसैगरी बैठकमा निर्वाचनको समिक्षा, पार्टीको भावी नीति र कार्यक्रमबारे पनि छलफल हुने नेकपा (एकीकृत समाजवादी)ले जनाएको छ ।

कर्पोरेट क्लबले गर्‍यो सिद्धार्थ बैंकलाई सम्मान

काठमाडौं । सिद्धार्थ बैंक ‘द एचआरएम अवार्ड्स फर कर्पोरेट एक्सिलेन्स २०२२’ बाट सम्मानित भएको छ । कर्पोरेट क्लब नेपालले वार्षिक रुपमा आयोजना गर्दै आएको अवार्ड समारोहमा बैंकलाई ‘एचआरएम कर्पोरेट एक्सिलेन्स इन फाइनान्सियल इन्स्टिच्युशन’ विधामा उक्त अवार्डबाट सम्मान गरिएको हो । बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुयाउने उद्देश्यले बैंकले देशभर १९३ वटा शाखा ९४ एक्स्टेन्सन् काउन्टर सहित २१५ एटिएम् ११८ शाखारहित बैंकिङ्ग सेवा र १,८०० भन्दा बढी पिओएस् मेसिन मार्फत उच्चस्तरीय एवं प्रविधिमैत्री बैंकिङ सेवा प्रदान गर्दै आएको छ । यसबाहेक आफ्नो सेवा सञ्चालनमा डिजिटल माध्यमलाई अधिकतम महत्व दिँदै सुरक्षित तरिकाले अनलाइनबाटै बचत, मुद्दती र डिम्याट खाता खोल्न, डेबिट र क्रेडिट कार्डका लागि आवेदन दिन सकिने जस्ता विभिन्न बैंकिङ्ग सुविधाहरु सरल एवं ग्राहक मैत्रीढङ्गले प्रवाह गर्दै आएको बैंकको भनाइ छ ।

ईसेवाको आन्तरिक रेमिट्यान्स कारोबार पूर्ण रूपमा बन्द

काठमाडौं । ईसेवा मनी ट्रान्सफरले आन्तरिक रेमिट्यान्स कारोबार पूर्ण रूपमा बन्द गरेको छ ।आन्तरिक रेमिट्यान्स कारोबारलाई राष्ट्र बैंकले कडाई गरेसँगै ईसेवाले आन्तरिक रेमिट्यान्स कारोबारलाई पूर्ण रूपमा बन्द गरेको हो । कम्पनीको सम्पूर्ण ध्यान विदेशबाट स्वदेशमा रेमिट्यान्समार्फत विदेशी मुद्रा भित्र्याउन उपयोग गर्न आन्तरिक रेमिट्यान्स कारोबार पूर्ण रूपले बन्द गर्ने बोर्डले निर्णय गरेको ईसेवा मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोईरालाले बताए । ‘राष्ट्र बैंकले रेमिट्यान्स कम्पनीलाई विदेशबाट रेमिट्यान्समा विदेशी मुद्रा प्राप्त गर्ने कार्य मात्र गर्न पाउने व्यवस्थाको पूर्ण रूपमा पालना गर्नु निर्देशन दिएकाले आन्तरिक रेमिट्यान्स कारोबार बन्द गरेका हौं,’ उनले भने । उनले मुलुकको समग्र रेमिट्यान्समा वार्षिक रुपमा १० प्रतिशत मात्रै वृद्धि हुने गरेको बताए । ‘विदेशी रेमिट्यान्स वृद्धि गर्न आन्तरिक रेमिट्यान्सले ठूलो योगदान गर्न सकेको छैन,’ उनले भने । ०७८ फागुनमा आन्तरिक रेमिट्यान्सको कारोबार सीमा ९मुलुकको एक स्थानबाट अर्को स्थानमा रेमिट्यान्स कम्पनी तथा उसका सब–एजेन्टमार्फत गरिने आन्तरिक रेमिट्यान्स स्थानान्तरण० घटाइएको थियो । त्यसयता प्रत्येक व्यक्तिले प्रतिदिन बढीमा २५ हजार रुपैयाँ मात्र स्थानान्तरण गर्न पाउने व्यवस्था छ  ।

आजदेखि अल्का अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं । अल्का अस्पतालले आजदेखि ५ दिनसम्म  निःशुल्क स्वास्थ्य शिविर आयोजना सुरु गरेको छ। जावलाखेलमा रहेको अल्का अस्पतालले १८ गतेदेखि २२ गतेसम्म निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्न लागेको हो।  अस्पतालका अध्यक्ष कुमार थापाले आइभिएफ, मधुमेह र साइकियाट्रिक एक आपसमा सम्बन्ध भएका कारण यस पटकको शिविरमा यी विषयलाई प्राथमिकता दिएको उल्लेख गरे। अस्पताल परिसरमा सुरु निःशुल्क स्वास्थ्य शिविरमा   आइभिएफ, मधुमेह तथा न्युरो साइकियाट्रिक विशेषज्ञबाट स्वास्थ्य जाँच भइरहेको प्रशासन प्रमुख भगवान केसीले जानकारी दिए। शिविरमा स्वास्थ्य जाँच गरिएकाहरुलाई चिकित्सकको सिफारिस अनुसार निःशुल्क ल्याव जाँच र औषधि वितरण पनि गरिने अस्पतालले जनाएको छ। शिविरमा सहभागी इच्छुकलाई आइभिएफमा १ लाख छुटको व्यवस्था मिलाइएको छ। त्यस्तै एमआरआइ र सिटी स्क्यान पनि निःशुल्क गरिने अस्पताल प्रशासनले जनाएको छ। शिबिरमा सहभागीहरुले एक महिनासम्म फलो अप गर्दा पनि कुनै शुल्क लाग्ने छैन। अस्पतालले केही समय अघि अल्का आइभिएफ सेन्टर र डाइबेटिज सेन्टरको स्तरउन्नती गरेको थियो।