अफ्रिकन स्वाइन फिभरले २ हजार बढी बङ्गुर मरे, ५ करोडको क्षति
चितवन । जिल्लामा पशुपालक किसानका दुई हजार सात सय ४२ बङ्गुर अफ्रिकन स्वाइन फिभरका कारण मरेका छन् । यसबाट पाँच करोड ८९ लाख ८५ हजारको क्षति भएको छ । यहाँका नौ वटा कृषि फर्ममा रहेका बङ्गुर मरेका हुन । रोगले एक सय ८७ वटा बङ्गुर अझै बिरामी छन् । भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्र भरतपुरका सूचना अधिकारी डा प्रभात न्यौपानेका अनुसार एक हजार आठ सय ११ वयस्क र नौ सय ३१ पाठापाठी बङ्गुर छन् । यस्तै बिरामी परेकामध्ये एक सय २८ वयस्क र ५९ पाठापाठी रहेको कार्यालयले जनाएको छ । अफ्रिकन स्वाइन फिवर घरपालुवा सुङ्गुर, बँदेल, बङ्गुर प्रजातिमा भाइरसबाट लाग्ने उच्च मृत्यु दर भएको अति खतरनाक सरुवा रोग हो । यो रोग नेपालमा पहिलो पटक विसं २०७९ साल जेठ २ गते पुष्टि भएको हो । रोग सङ्क्रमित सुङ्गुर बङ्गुरबीच प्रत्यक्ष सम्पर्कबाट, रोगी बङ्गुरको र्याल, मलमूत्र, रगत, मासु र लसपस भएको दानापानीबाट, बिरामी बङ्गुरको ओसारपसार वा किनबेच गर्दा, सङ्क्रमण खोरमा काम गर्ने कामदार र सङ्क्रमित खोरमा गएको मानिसले प्रयोग गरेको लुगाकपडा, जुत्ता चप्पल आदि प्रयोग गर्दा सर्न सक्ने न्यौपानेले जानकारी दिए । यो रोग लागेका बङ्गुर एकै ठाउँमा थुप्रिएर बस्ने, शरीरमा निला डाम देखा पर्ने, कानका टुप्पामा रगत जमेका धब्बा देखिने, नाकबाट फिँज निकाल्ने, रोग सङ्क्रमित सुङ्गुर बङ्गुरलाई उच्च ज्वरो (१०४ देखि १०७ डिग्री फरेनहाइट) आउने, कान, पुच्छर, पेटको तल्लो भागको बाहिरी छाला रातो हुने, झोक्राउने र दानापानी खान छोड्ने, बान्ता गर्ने, छटपटाउने, चाल धरमराउने, बच्चा तुहिने जस्ता लक्षण देखा पर्ने केन्द्रले जनाएको छ । यो रोगबाट बच्न बङ्गुरपालन गर्दा खोरमा थुनेर पाल्ने, बङ्गुरको खोरमा अनावश्यक मानिसको आवतजावत रोक्ने, बङ्गुर फार्ममा जैविक सुरक्षाविधि अवलम्बन गर्ने जस्ता उपाय अपनाउनुपर्ने कार्यालयले जनाएको छ । बाहिरको बथानबाट नयाँ बङ्गुर ल्याएमा सिधैँ फार्ममा रहेका बङ्गुरसँग नमिसाई २१ दिन क्वारेन्टाइनमा राख्ने र रोग नदेखिएपछि मात्र बथानमा मिसाउने, बङ्गुरको खोर फार्म र फार्म वरिपरी नियमित सरसफाइ गरी चुना, फिनेल, फर्मालिन, ब्लिचिङ पाउडर आदिले निःसङ्क्रमण गर्ने, रोग लागेका बङ्गुरलाई बथानबाट छुट्याएर अलग राख्ने जस्ता कार्य गर्दा क्षति कम हुने न्यौपानेको भनाइ छ । रासस
कोरोनाको जोखिम बढेपछि झुलाघाट नाकामा कडाइ
बैतडी । कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएकाले भारतसँग सीमा जोडिएको झुलाघाट नाकामा कडाइ गरिएको छ । छिमेकी देश चीन र भारतमा कोरोना सङ्क्रमण फेरि देखिन थालेपछि नाकामा कडाइ गरिएको हो । झुलाघाटमा ‘हेल्थ डेस्क’ स्थापना गरेर भारतबाट फर्किरहेका नागरिकमा कोरोना परीक्षणको काम भइरहेको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए । उनले भने, ‘झुलाघाट नाकाबाट स्वदेश फर्कने नागरिकको सीमामै कोरोना परीक्षण गर्ने गरेका छौँ, स्वदेश फर्किने नागरिकले उनीहरुले खोप पाए/नपाएका बारे यकिन गर्ने काम पनि भइरहेको छ ।’ भारतबाट स्वदेश फर्कने नागरिकले खोप नलगाएको भएमा सीमा नाकामै कोरोनाविरुद्धको खोप लगाउने व्यवस्था गर्ने तयारी गरिएको जनाइएको छ । उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले पनि आग्रह गरेको छ । कोरोनाको जोखिम कम गर्न भौतिक दूरी व्यवस्थापन गर्नुपर्ने, भीडभाड भएका ठाउँमा नजान र जानै परे स्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरिएको छ । यसका साथै यसअघि लगाउन छुटेका सबैलाई खोप लगाउन प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले आग्रह गरेका छन् ।
बिजुलीको पोलको भाडाकै कारण प्राधिकरणले इन्टरनेटको तार काटेको हो : आईस्पान
काठमाडौं । इन्टरनेट सेवाप्रदायक संघ नेपाल (आईस्पान) ले अति आवश्यक इन्टरनेट सेवा अवरोध हुँदा उत्पन्न हुने स्थितिको सम्पूर्ण जिम्मा नेपाल विद्युत प्राधिकरणले लिनुपर्ने बताएको छ । सोमबार संघले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै देशका विभिन्न भागमा विद्युत प्राधिकरणले सेवा प्रदायकको तार काट्न थालेकाले तार काट्दा उत्पन्न हुने स्थितिको सम्पूर्ण जिम्मा नेपाल विद्युत प्राधिकरणले लिनुपर्ने बताएको हो । संघले विद्युत प्राधिकरणका कारण देशमा इन्टरनेट सेवा प्रवाह गर्ने वातावरण नभएको दाबी गर्दै इन्टरनेट सेवा प्रवाह गर्ने वातावरण बनाउन सरोकारवाला निकायहरुसँग माग गरेको छ । पत्रकार सम्मेलनमा बोल्दै आईस्पानका प्रमुख कार्यकारी अधिकृत सुवास खड्काले विद्युत प्राधिकरणको गैरकानूनी क्रियाकलाप नरोकिएसम्म इन्टरनेट सेवा प्रदान गर्न अफ्ठ्याराे भएको बताए । उनले प्राधिकरणले भाडाकै निहुँमा इन्टरनेट सेवा प्रदायकहरूको डेटा सेन्टर, अपरेसनल प्वाइन्टका साथै मेन लाइन, ट्रङ्क लाइन, क्रसिङ, फाइबर तारलगायत इन्टरनेट सेवा प्रवाहमा प्रयोग हुने तार छानिछानि काटेको आरोप लगाए । उनले इन्टरनेट सेवा प्रदायकलाई प्राधिकरणले पुरानै भाडादरमा भाडा भुक्तानी गर्न दबाब समेत दिएको बताए । त्यस्तै, आईस्पानका अध्यक्ष सुधिर पराजुलीले सेवाप्रदायकले नियमित विद्युत महसुल भुक्तानी गर्दागर्दै पनि देशका विभिन्न ठाउँमा इन्टरनेटका तार काट्नु राम्रो नभएको बताए । ‘इन्टरनेट सेवा राज्यको अति आवश्यक सेवा र मानव अधिकारको रुपमा स्थापित भएको छ, इन्टरनेट सेवा प्रवाह गर्न दूरसञ्चार उपकरणहरुलाई बिना अवरोध दिनको २४ घण्टा हप्ताको ७ दिन निरन्तर चलाउनुपर्छ,’ उनले भने । उनले इन्टरनेट सेवा प्रदायकहरुले सेवा प्रदान गर्नका लागि पूर्वाधारहरु (ओपीजीडब्लू, विद्युत पोल) लगायतका प्रयोग गर्नुपर्ने तर यी पूर्वाधारहरूमा नेपाल विद्युत प्राधिकरणको एकाधिकार रहेका कारण पूर्वाधारको भाडादर विद्युत प्राधिकरणले आफूखुसी कायम गर्दै आएको आरोप लगाए । ‘प्राधिकरणले दूरसञ्चार क्षेत्रको नियामक नेपाल दूरसञ्चार प्राधिकरणसँग समन्वय नगरी आफूखुशी पोलको भाडा ७०० प्रतिशत वृद्धि गरेको छ, प्राधिकरणले अचाक्ली भाडादर वृद्धि गरेपछि यसको भार उपभोक्तामा पर्न जान्छ, यो कदम डिजिटल नेपालको मर्म विपरीत हुने भएकाले राज्यको तर्फबाट उच्चस्तरीय समिति गठन भई प्रतिवेदन दिएका थियाैं, जसमा प्राधिकरण आफैँले सही छाप गरेपनि प्रतिवेदन कार्यान्वयन गर्न मानेको छैन,’ उनले भने । संघका अनुसार काठमाडौं, विराटनगर, इनरुवा, काँकडभित्ता, गौरीगञ्ज, पोखरा, धरान, खोटाङ, सुर्खेत, कैलाली, बुटवल, टिकापुर, अत्तरिया, भैरहवा, डोटी, धनकुटा, दुहवी लगायतका ठाउँमा विद्युत प्राधिकरणले सेवा प्रदायकको तार काटेको छ । दुई वटा आयोगको प्रतिवेदनमा प्राधिकरणले आव २०७५–७६, २०७६–७७ को भाडा घटेको दर रेटमा लिनुपर्ने र नयाँ भाडादर सूचना तथा प्रसारण विभाग, नेपाल विद्युत प्राधिकरण, नेपाल दूरसञ्चार कम्पनी लिमिटेड र नेपाल दूरसञ्चार प्राधिकरणका प्रतिनिधिहरु बसी निर्क्रयाैल गर्नुपर्ने भनिएपनि प्राधिकरणले आफूखुशी भाडादर कायम राखेको र सेवाप्रदायकलाई यो भाडादर अनुसार नै रकम तिर्न दबाब दिइरहेको संघले जानकारी दिएको छ ।
प्रधानमन्त्रीले मङ्गलबार निर्देशनात्मक सम्बोधन गर्ने
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको काम कारवाहीलाई प्रभावकारी बनाउने सम्बन्धमा मङ्गलबार निर्देशनात्मक सम्बोधन गर्ने भएको छ । प्रधानमन्त्रीमा नियुक्त भएपछि पहिलोपटक सरकारको काम कारवाही प्रभावकारी बनाउन सरकारका सचिवसँग उनले आज छलफल गरेका हुन् । प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माका अनुसार प्रधानमन्त्री दाहालले सचिवका कार्यविवरण सुनिसकेपछि मङ्गलबार आवश्यक निर्देशन दिनेछन् । पुस १० मा प्रधानमन्त्रीमा नियुक्त भएका दाहालले सुशासन र नागरिकलाई सरल र सहजरुपमा सेवा प्रदान गर्ने यसअघि नै घोषणा गरेका थिए । पुस ११ मा उनले नागरिकलाई सेवा प्रदान गर्ने निकायमा भइरहेको बेथिति अन्त्य गर्ने घोषणा गरेका थिए । विशेष गरी राहदानी वितरण, सवारी चालक अनुमतिपत्रलगायत सेवाग्राहीको बढी भीडभाड हुने कार्यालयको कामलाई सरल र सहज बनाउने प्रधानमन्त्रीको योजनाअनुसार आज पहिलो चरणमा प्रधानमन्त्रीले सचिवहरुसँग छलफल गरेका हुन् । केही सचिव र विभागका प्रमुखले आ–आफ्नो विभागको कार्यविवरणबारे प्रस्तुति दिन बाँकी छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा सचिवहरुले आ–आफ्नो मन्त्रालयको वस्तुस्थितिबारे प्रधानमन्त्रीलाई ‘रिपोर्टिङ’ गरेका थिए । उनीहरुले मन्त्रालयको नीति तथा कार्यक्रम, वार्षिक बजेट र कार्यसम्पादनमा भएका कमी तथा कमजोरीका बारेमा जानकारी गराएका थिए । छलफलमा गृह, अर्थ, शिक्षा, परराष्ट्र, भौतिक पूर्वाधार, संस्कृति तथा पर्यटनलगायत मन्त्रालयका सचिवहरूले आ–आफ्नो मन्त्रालयको प्रतिवेदन प्रस्तुत गरेका थिए । केही सचिव र विभागको विवरण मङ्गलबार प्रस्तुत भएपछि मात्रै प्रधानमन्त्रीले निर्देशनात्मक सम्बोधन गर्ने कार्यसूची तय भएको प्रेस संयोजक शर्माले जानकारी दिए ।
बाटोमा भेटिएको १ लाख रूपैयाँ फिर्ता
विराटनगर । विराटनगरका एक व्यक्तिले इमान्दारिता प्रदर्शन गरेका कारण चर्चा कमाएका छन् । विराटनगर महानगरपालिका–३ स्थित गोधुली मार्ग बस्ने अनिस्कार भट्टले गत असोजमा बाटोमा भेटाएको एक लाख ३५ हजार रुपैयाँ आइतबार सम्बन्धित व्यक्तिलाई फिर्ता गरेका छन् । सामुदायिक प्रहरी सेवा केन्द्रका पदाधिकारीको रोहबरमा भट्टले रकम हराउने व्यक्ति अमोदकुमार यादवलाई सो रकम फिर्ता गरेका हुन् । विराटनगरको एक ट्रान्सपोर्ट कम्पनीमा कार्यरत यादवको गोजीबाट रकम हराएको थियो । भट्टले सो रकम बैंकबाट कसैले झिकेको र बाटोमा खसेको हुनसक्ने आँकलन गरेर बैंकका कर्मचारीलाई जिम्मा लगाए । भट्ट र बैंकको अथक प्रयासपछि रकम हराउने यादव लामो समयपछि भेटाएका हुन् । आफूले बाटोमा असोज २५ गते उक्त रकम भेटाएको भट्टले बताए । ग्लोबल आइएमई बैंक तीनपैनी शाखाका व्यवस्थापक राजेश विष्टले बैंकबाट निस्किएको व्यक्तिको रकम खसेको हुनसक्ने भन्दै बैंकलाई रकम जिम्मा लगाइएपछि रकम हराउने व्यक्तिको पहिचान गर्न चुनौती भएको बताए । यादवको पहिचानपछि उनले असोज २५ गते जम्मा गरेको रकमको भौचरमा भएको फोन नम्बरमा फोन गर्दा स्वीच अफ हुँदा भेट हुन र रकम फिर्ता दिन समस्या भएको विष्टले बताए । सामुदायिक प्रहरी सेवा केन्द्र तीनपैनी विराटनगरका अध्यक्ष मीना जोशीले रकम भेटाएर पनि घर नलगेर बैंकमा बुझाएर भट्टले उदाहरणीय काम गरेको बताइन् ।
सालको काठ तस्करी बढ्यो
त्रिशुली । नुवाकोटमा पछिल्लो दुई दिनमा तीन स्थानबाट सालको काठसहित दुईजना लाई डिभिजन वन कार्यालयले नियन्त्रणमा लिएको छ । शुक्रबार सूर्यगढी गाँउपालिका–३ को बिसमुरे भन्ने स्थानबाट ठूलो परिमाणको सालको काठसहित कटानमा संलग्न दुई जनालाई डिभिजन वन कार्यालयले पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ । बिसमुरेबाट एकसय ९० गोलिया सालको काठसहित त्यसको कटानमा संलग्न रहेको अभियोगमा स्थानीयवासी चन्द्रबहादुर तामाङ र नन्दबहादुर तामाङलाई पक्राउ गरेर नुवाकोट जिल्ला अदालतबाट थुनामा राखेर अनुसन्धान गर्न अनुमति लिइएको छ । उक्त काठ काट्न लगाउने र ओसारपसारमा संलग्न सवारीसाधन फरार भएकाले खोजी भइरहेको डिभिजनल वन अधिकृत कोइरालाले जानकारी दिए। त्यस लगत्तै यही शनिबार राति ककनी गाउँपालिका–७ चतुराले हुदैँ लैजान लागेको ४२ गोलिया सालको काठ सव डिभिजन कार्यालय ककनीले पक्राउ गरेर कारबाहीको लागि आइतबार डिभिजन वन कार्यालयमा बुझाएको छ । जिल्लाको लिँखु गाउँपालिका–३ को सूर्यमतिमा कटान गरेर ककनीतर्फ लैजान लागेको उक्त काठ बोक्ने गाडी र संलग्न व्यक्ति भने फरार भएकाले खोजी भइरहेको बताइएको छ । यस्तै शुक्रबार सूर्यगढी गाउँपालिका–३ का वडाध्यक्ष पिङ्गलबहादुर थापामगरले सञ्चालन गर्दै आएको विनायक फर्निचरबाट एकसय छ थान चिरान गरेको सालको काठ डिभिजन वन कार्यालयले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । उक्त काठ ‘वैधानिक हो’ भन्ने प्रमाण पेस गर्न काठ मिलका सञ्चालक थापामगरलाई डिभिजन वन कार्यालयले पत्र काटेको डिभिजनल वन अधिकृत दीर्घनारायण कोइरालाले जानकारी दिए। नेपाल सरकारले विसं २०५८ देखि निजी जग्गाको सालको काठ काट्न पूर्णरुपमा प्रतिबन्ध लगाएको छ, भने सामुदायिक वनमा भने कार्ययोजना अनुसार कटान गर्न पाइने भनिएको छ । कटान र ओसारपसारको लागि वन कार्यालयको अनुमति अनिवार्य गरिएको छ । ‘पछिल्लो समयमा विभिन्न स्थानमा एकैपटक ठूलो परिमाणमा भेट्टिएको सालको काठ कटानको लागि अनुमति नलिएकाले देखिन्छ,’ डिभिजनल वन अधिकृत कोइरालाले भने। वनसँग सम्बन्धित द्दा हाल अदालतमार्फत कारबाही अघि बढ्ने भएकाले नियन्त्रणमा लिएका व्यक्ति र बरामद काठको कारबाही अघि बढाउन नुवाकोट जिल्ला अदालतमा पेस गरिएको छ । चोरी तस्करी रोक्न सामुदायिक वनको उपभोक्ता, प्रहरी, वन रक्षकसहित सरोकारवाला उपभोक्ता सहितको भूमिका प्रभावकारी बनाउन विशेष कार्ययोजना निर्माणको तयारीमा रहेको डिभिजन वन कार्यालय नुवाकोटले जनाएको छ ।
सामूहिक आलु खेतीमा आकर्षित किसान
नवलपरासी। नवलपरासी(बर्दघाट सुस्तापूर्व)का किसान सामूहिक आलुखेतीमा आकिर्षत भएका छन् । समूहमा आबद्ध यहाँका किसान कृषिमा आत्मनिर्भर हुन यतिबेला आलु गोडमेलमा व्यस्त देखिन्छन् । एक बिघा जमिन भाडामा लिएर पशुपति किसान समूहमार्फत सामूहिकरुपमा आलुखेती गर्दै आइरहेको समूहका अध्यक्ष बलराम पोख्रेलले बताए । सामूहिकरुपमा कृषिमा केही गर्ने उद्देश्यले आलुखेतीमा लागेका उनीहरु बजारीकरण र जिल्लामा उपयुक्त कोल्डस्टोर नहुँदा आफूहरुले लगाएको आलु बिग्रने चिन्तामा छन् । ‘आलु स्थानीय बजारले खपत नगर्दा घाटामा जान्छ कि भन्ने चिन्ता छ’ अध्यक्ष पोख्रेलले भने ‘सबै मिलेर धेरै मेहनत गरेका छौँ बजारीकरण सोचेअनुरुप भए अर्को वर्ष डेढ बिघामा आलु खेती गर्नेछौँ ।’ सामूहिकरुपमा आलु खेती गरेका अर्का किसान जगनाथ पोख्रेलले यसपाली आलु खेतीबाट राम्रो आम्दानी हुने आशा गरेका छन् । विगत वर्षमा सामूहिकरुपमा प्याज र गोलभेँडा खेती गर्दै आएका पशुपति किसान समूहका किसान अर्को वर्ष सामूहिक मकै खेती गर्ने सोचमा छन् । महिला खेतबारीमा बढी व्यस्त हुने गर्छन् । अहिले सामूहिकरुपमा लागेपछि समयको बचतका साथै धेरै कुराको जानकारी हुने अर्की किसान देउरुपा चापागाईं बताउछिन् । सामूहिकरुपमा खेती गर्दा कृषि व्यवसायमा राम्रो सम्भावना रहेको र भविष्यमा पनि यसलाई निरन्तरता दिने उक्त समूहको लक्ष्य छ । जिल्लामा यो वर्ष तीन हजार एक सय ७५ हेक्टर जमिनमा आलु खेती भएको कृषि ज्ञान केन्द्रका प्रमुख गोपाल लामिछाने बताउछन् । ‘गत वर्ष तीन हजार एक सय १५ हेक्टरमा आलु खेती भएकामा यो वर्ष ६० हेक्टर जमिनमा थप विस्तार गरिएको छ’ उनि भन्छन्,’गत वर्ष जिल्लामा ५५ हजार दुई सय ४५ मेट्रिकटन आलु उत्पादन भएको थियो ।’ जिल्लामा व्यावसायिक आलु खेती गर्ने किसानको सङ्ख्या प्रत्येक वर्ष बढेको छ । रासस
राष्ट्रिय सहकारी बैंकको अध्यक्षमा पुनः उप्रेती, यस्तो बन्यो सञ्चालक समिति
काठमाडौं । राष्ट्रिय सहकारी बैंकले नयाँ सञ्चालक समिति पाएको छ । बैंकले आगामी ४ वर्षका लागि नयाँ सञ्चालक समिति पाएको हो । बैंकको अध्यक्षमा पुनः केबी उप्रेति निर्विरोध निर्वाचित भएका छन् । बैंकको १९औं साधारणसभाले अध्यक्ष उप्रेतीसहित १५ सदस्यीय सञ्चालक समिति र तीन सदस्यीय लेखा सुपरीवेक्षण समिति निर्वाचित गरेको छ । संचालक समिति सदस्यमा प्रदेश नम्बर १ बाट महेन्द्र कुमार गिरी, मधेश प्रदेशबाट विशवनाथ मण्डल, बागमती प्रदेशबाट रामहरि बजगाईं, गण्डकी प्रदेशबाट राममहादुर जीसी, कर्णाली प्रदेशबाट कालिबहादुर महतारा, लुम्बिनी प्रदेशबाट विजया धिताल र सुदूरपश्चिम प्रदेशबाट शिवा थापा निर्वाचित भएका छन् । यस्तै, खुल्ला सञ्चालक सदस्यमा केदार मानन्धर, माधवलाल देवकोटा, ध्रुवराज बिष्ट, मनोजकुमार थापामगर निर्वाचित भएका छन् । बैंकको महिला सञ्चालकहरुमा अमृता सुब्बा, तारा गुरुङ र पार्वती थापा निर्वाचित भएका छन् । लेखा सुपरीवेक्षण समितिको संयोजकमा लक्ष्मीप्रसाद सापकोटा, सदस्यहरुमा केशवप्रसाद सापकोटा र चन्द्रकुमारी पराजुली निर्वाचित भएका हुन् । नवनिर्वाचित् सञ्चालक समिति तथा लेखासुपरीवेक्षण समिति सदस्यहरुले सोमबार पद तथा गोपनीयताको सपथ समेत लिइसकेको छ ।