१७ अंकले बढ्यो नेप्से, झण्डै ३ अर्बको कारोबार
काठमाडाैं । साेमबारकाे सेयर बजार १७.५६ अंकले बढेकाे छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)काे अनुसार साेमबार सेयर बजार बढेर २०६३.८३ विन्दुमा पुगेकाे छ । नेप्सेकाे अनुसार आज ८२ लाख कित्ता सेयर किनबेच हुँदा दुई अर्ब ९६ रुपैयाँकाे काराेबार भएकाे छ । आज सबैभन्दा बढी काराेबार हुने कम्पनीमा नबिल बैंक रहेकाे छ । बैंककाे आज १६ कराेड रुपैयाँ बढीकाे सेयर काराेबार भएकाे छ । यस्तै, साेमबार ४ कम्पनीकाे सेयरमा सकारात्मक सर्किट लागेकाे छ । सर्किट लाग्ने कम्पनीहरु क्रमश: धाैलागिरी लघुवित्त, सृजनशिल लघुवित्त, खप्तड लघुवित्त र अजाेड इन्स्याेरेन्स रहेकाे छ ।
खुलामञ्चमा बहुतले भवन नबनाउन आग्रह
काठमाडौं । काठमाडौं महानगरपालिकाले खुलामञ्चमा पार्किङसहितको बहुतले भवन निर्माणको प्रक्रियाअघि बढाएपछि मुक्त टुँडिखेल अभियानले रोक्न माग गर्दै ज्ञापनपत्र बुझाएको छ । राजधानीमा पानी रिचार्ज स्रोतका रुपमा रहेको खुलामञ्चमा संरचना बनाए आन्दोलनमा उत्रन बाध्य हुने अभियानले जनाएको छ । ज्ञापनपत्र बुझ्दै महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले खुलामञ्चमा भवन निर्माणका लागि सम्भाव्यता अध्ययन मात्र हुन लागेको बताइन् । सम्भाव्यता अध्ययनपछि आवश्यकताका आधारमा मात्र बहुतले भवन निर्माण गरिने उल्लेख गर्दै उनले सार्वजनिक एवं खुला स्थानको संरक्षण गरिनुपर्नेमा महानगर दृढ रहेको बताइन् । पार्किङका लागि अन्य विकल्प पनि भएको विषयमा पनि छलफल भइरहेको उपप्रख डङ्गोलको भनाइ थियो । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता भीमसेनदास प्रधानले खुलामञ्चमा पार्किङसहितको बहुतले भवन निर्माण गरिए वीर अस्पतालका बिरामीका लागि पनि असर गर्ने भएकाले यस्तो निर्णय फिर्ता लिन आग्रह गरे । खुलामञ्च र टुँडिखेलको थोरै भागमात्र बाँकी रहेकाले यसको संरक्षण गरेर राखिनुपर्ने बताउँदै उनले राजधानीका धेरै पोखरी, धारा मासिए जसरी खुलामञ्चलाई मास्न नदिने प्रतिबद्धता जनाए । अभियानले विसं २०७६ कात्तिक २३ गतेदेखि मुक्त टुँडिखेल अभियान सञ्चालन गर्दै आएको छ । ज्ञापनपत्र बुझाउँदै अभियानका संयोजक विजय श्रेष्ठले यसलाई हल्का रुपमा लिए चरणबद्ध आन्दोलनमा जान बाध्य हुने बताए । दशरथ रङ्गशालाबाट रानीपोखरीसम्मको भागलाई बचाउन अभियानले काम गरिरहेको उनले सुनाए । प्राकृतिक रिचार्ज क्षेत्रलाई कब्जा गर्नेगरी पार्किङसहितको बहुतले भवन निर्माण गर्न विस्तृत परियोजना प्रस्ताव बनाउने तयारी गरिएकामा पनि अभियानले आपत्ति जनाएको छ ।
पुस २६ गते प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पुस २६ गते संसदमा विश्वासको मत लिने भएका छन्। पुस ११ गते प्रधानमन्त्रीको सपथ लिएका प्रचण्डले २६ गते विश्वासको मत लिने विषय संसदको कार्यसूचीमा राख्न पत्र पठाएका छन् । संविधानको धारा ७६ को उपधारा २ बमोजिम सात दलको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।
लाइफ इन्स्योरेन्स कर्पोरेशनको बुक क्लोज पुस २५ गते
काठमाडाैं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले बुक क्लाेज मिति ताेकेकाे छ । कम्पनीले विशेष साधारण सभा प्रयाेजनकाे लागि पुस २५ गते एक दिन बुक क्लाेज गर्ने भएकाे हाे । कम्पनीले माघ ३ गते मंगलबार विशेष साधारण सभा बाेलाएकाे छ । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले ८८.४५१६८ प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गर्न साधारण सभा बाेलाएकाे हाे । हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँ छ । प्रस्तावित हकप्रद पश्चात कम्पनीको चुक्ता पुँजी ५ अर्ब रुपैयाँ पुग्ने छ । जुन प्राधिकरणले तोकेको न्यूनतम चुक्ता पुँजी हो ।
विकास भित्रिँदै, बस्ती रित्तिँदै
गलकोट । बागलुङ नगरपालिका–८ सिगानामा ट्र्याक खोलेको १५ वर्ष पछि सडक कालोपत्र हुँदैछ । अहिले टोलटोलमै यातायातका साधन पुग्छन् भने एक घण्टामै जिल्ला सदरमुकाम बागलुङ बजार पुग्न सकिन्छ । स्वास्थ्य चौकीको पहुँच नपुगेको सिगानाकै माथिल्लो क्षेत्र बौडैचौरमा शहरी स्वास्थ्य केन्द्रसमेत स्थापना भएको छ भने ‘एक घर, एक धारा’ निर्माणलेसमेत तीव्रता पाएको छ । सिगानाको उपल्लो भाग बौडैचौरलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नेगरी बजेट व्यवस्थापन भइरहेको छ भने अबको दुई वर्षमा उक्त स्थानमै सडक कालोपत्र पुग्नेछ । तर सिगानामा विकास निर्माणले तीव्रता पाए पनि बसाइँसराइका कारण बस्ती भने क्रमशः खाली हुँदै गइरहेका छन् । बागलुङ नगरपालिका–८ सिगानाको उपल्लो लामाचौरमा ३० घरमध्ये १२ घर रित्तै छन् । लामस्चौरको कार्की थर, बाहुन थर र थापाथरका ३० घरमध्ये अधिकांशको सहर बजारमा घरसमेत छ । अधिकांश घर चाडपर्वमा मात्रै खुला हुने गरेका छन् । सिगानामा सबैभन्दा कम बसाइँसराइ लामीचौरको दलित बस्तीमा र बढी बसाइँसराइ उपल्लो लामीचौरमा रहेको स्थानीय शिक्षक कर्णबहादुर कार्कीले जानकारी दिए । ‘उपल्लो लामीचौरको कार्की, बाहुन र थापा थरमा ३०र३५ घर छन्, जसमध्ये १०र१२ घर त पूर्णरुपमा नै रित्ता छन्, केही घर चाडपर्वमा मात्रै खुल्छन् भने केही घरमा मात्रै मानिसको बसोबास छ’, कार्कीले भने, ‘सडक र माध्यामिक विद्यालय दैलोमै छ, खानेपानीका लागि काम थालिएको छ, वडा कार्यालयसम्म कालोपत्र सडक आउने भएको छ तर यहाँको बस्ती भने क्रमशः रित्तिँदै छ ।’ सिगानाको दूर्गम क्षेत्र मानिएको बौडेचौरले विकासमा मुहार फेरे पनि बसाइँसराइ भने नरोकिएको सिगानाका निर्वतमान वडाध्यक्ष जीतबहादुर जिसीले बताए । पाँच वर्षमा बौडैचोरका जम्मा ११ घरमध्ये तीन घर बन्द छन् । तर पछिल्लो समय बौडैचौरमा सहरी स्वास्थ्य केन्द्र स्थापना भएको छ । सडक कालोपत्रका लागि धमाधम काम भइरहेको छ । खानेपानीको व्यवस्थापन भएको छ भने दलौमै नर्सिङ सेवासहितको विद्यालयसमेत रहेको छ । विकास थपिँदै जाँदा बस्ती बिस्तार हुनुपर्नेमा बिस्तारै बस्ती खाली हुने अवस्थामा पुगेको उनको भनाइ छ । ‘हामीले विकास त भित्र्याएका छौँ तर विकासले बसाइँसराइ नरोकिएको देखियो, यो समग्र बागलुङको चिनारी हो’, जिसीले भने, ‘हुनेखानेहरु बसाइँसराइ गर्ने नै भए हुँदा खाने अवसर र रोजीरोटीका लागि घर छोड्न बाध्य छन्, अब विकाससँगै गाउँमा उद्यमी बनाउन र गाउँ फर्काउन सकिने योजना ल्याउन आवश्यक देखिन्छ ।’ बागलुङ नगरपालिका मात्रै हैन जिल्लाको गलकोट नगरपालिका–७ टोकरीगाउँ बसाइँसराइको नमुना नै बनेको छ । पाँच वर्ष अगाडिसम्म गाउँमा झण्डै ४० घरपरिवार बस्ने टोकरीगाउँमा बसाइँसराइका कारण अहिले १५ परिवार मात्रै बस्ने गरेका छन् । बसाइँसराइका कारण रित्तिएको बस्तीबाट अहिले सडक कालोपत्र पुग्नेगरी धमाधम निर्माण भइरहे भए पनि विकासले बसाइँसराइ रोक्न नसक्नु विषय दुःखद् रहेको गलकोट नगरपालिका–७ मल्मका वडाध्यक्ष राजबहादुर थापाले बताए । यहाँका अधिकांश युवा जापान पुगेपछि बसाइँसराइले तीव्रता पाएको छ । यहाँका अधिकांश परिवार गलकोट नगरपालिकाको केन्द्र हटिया, बागलुङ बजार, पोखरालगायतका क्षेत्रमा बसाइँसराइ गर्ने चलन रहेको थापाले बताए । गलकोट नगरपालिकाले बसाइँसराइ रोक्न ग्रामीण क्षेत्रमा सहजरूपमा आधारभूत आवश्यकता परिपूर्ति गर्ने गरी काम गर्न थालेको भए पनि सडकको विकासले मात्रै बसाइँसराइ रोक्न समस्या देखिएको छ । सडकको पहुँच पुगेपनि उच्च शिक्षा, रोजगारी र स्वास्थ्य सेवाका लागि पछिल्लो समय बसाइँ गर्ने कार्यले तीव्रता पाएको छ । बसाइँसराइका कारण गाउँ उराठिँदा बाँदरको बिगबिगीलेसमेत सताउने गरेको छ । पछिल्लो समय बसाइँसराइका कारण गाउँका घर खाली हुँदै र जमिन बाँझो हुँदै गएपछि अन्य खेती भइरहेको जग्गामा समेत बाँदरको प्रकोपका कारण गाउँ छोड्नुपर्ने अवस्था रहेको छ । निर्वाचनका समयमा बागलुङको दक्षिण भेग बलेवा, जैमिनी नगरपालिका र बरेङ गाउँपालिकालगायतका क्षेत्रका जनताले बाँदर नियन्त्रणको योजना ल्याउन आग्रह गरेको बताउँदै नवनिर्वाचित गण्डकी प्रदेशसभा सदस्य डिल्लीराम सुवेदीले बाँदरको समस्यासँग बसाइँसराइ जोडिएको बताए । ‘बसाइँसराइका कारण केही घर खाली छन्, त्यहाँ बाँदरको बास हुन्छ, अन्य किसानको खेतबारीमा लगाएको खेतीपाती बाँदरले नाश पार्दा उनीहरुसमेत बाध्यताले बसाइँसराइ गर्नुपर्ने अवस्था छ’, सुवेदीले भने, ‘सडक चिल्लो बन्दै जाने नागरिकहरु बसाई सराईले घट्ने, विद्यालय भवन ठडिने विद्यार्थी घट्दै जाने अवस्थाको अन्त्यका लागि हामीले सोच्ने समय आएको छ, अब बसाइँसराइ रोक्नका लागि पूर्वाधारसँगै रोजगारी, शिक्षाको गुणस्तरमा सुधार, गाउँमै स्वास्थ्योपचार र घरेलु उद्यमलाई आधुनीकरण गराउँदै लैजानुपर्दछ ।’ बागलुङमा दुई राष्ट्रिय गौरवको आयोजनाका कारण यहाँको विकासमा मुहारै फेरे पनि बसाइँसराइ रोकिन नसक्नु दुःखद् विषय बनेको स्थानीय जनप्रतिनिधिको भनाइ छ । बागलुङमा मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोरका कारण विकासले मुहारै फेरेको भए पनि बसाइँसराइ भने रोकिएको छैन । पछिल्लो समय विद्यालय भवन सुविधा सम्पन्न निर्माण हुने तर विद्यार्थीको सङ्ख्या घट्दै जाने, सडक, विद्युत्, सञ्चारलगायतको सुविधा बढ्दै गए पनि बसाइँसराइ रोकिन नसक्नु चिन्ताको विषय बनेको उनीहरुको गुनासो छ । स्थानीय तहले बसाइँसराइ रोक्नका लागि भौतिक विकासलाई तीव्रता दिए पनि औद्योगीकरण र स्वास्थ्यमा सुधार गर्न आवश्यक रहेको तमानखोला गाउँपालिकाका स्थानीय चूडामणि छन्त्यालले बताए । रासस
जीवन बीमा कम्पनीले उठाए ११ अर्ब २७ करोड प्रथम बीमाशुल्क, ९ कम्पनीबीच तीव्र प्रतिस्पर्धा
काठमाडौं । जीवन बीमा कम्पनीहरुले मंसिरसम्ममा ११ अर्ब २७ करोड ८ लाख रुपैयाँ बराबरको प्रथम बीमाशुल्क संकलन गरेका छन् । कम्पनीहरुले चालु आर्थिक वर्षको ५ महिनाको अवधिमै सो मात्राको प्रथम बीमाशुल्क संकलन गरेका हुन् । नेपाल बीमा प्राधिकरणका अनुसार १९ वटा कम्पनीहरुले बीमालेख बिक्रीबाट सो मात्राको प्रथम प्रिमियम उठाउन सफल भएका छन् । कम्पनीहरुले मंसिरमा मात्रै २ अर्ब १५ करोड ३६ लाख रुपैयाँ उठाएका प्राधिकरणले जनाएको छ । मंसिरसम्ममा उठेको प्रथम बीमाशुल्कमध्ये दुई कम्पनीले अर्ब बढी उठाएका छन् । जसमा नेपाल लाइफ इन्स्योरेन्स र नेशनल लाइफ इन्स्योरेन्स रहेका छन् । सर्वाधिक प्रथम बीमाशुल्क संकलन गर्नेमा नेपाल लाइफ इन्स्योरेन्सको नै अग्रता रहेको छ । बीमा प्राधिकरणका अनुसार इन्स्योरेन्सले चालु आवको ५ महिनामा २ अर्ब १४ करोड रुपैयाँ बराबरको उक्त बीमाशुल्क संकलन गरेको छ । त्यस्तै, दोश्रो स्थानमा नेशनल लाइफ रहेको छ । कम्पनीले मंसिरसम्ममा प्रथम बीमालेखबाट १ अर्ब ३३ करोड रुपैयाँ बराबरको प्रिमियम उठाएको छ । समीक्षा अवधिमा सन नेपाललाई पछि पार्दै लाइफ इन्स्योरेन्स कर्पोरेशन अघि बढेको छ । प्रथम बीमाशुल्कको आधारमा कार्त्तिकमा तेश्रो स्थानमा रहेको सन नेपाल हाल चौथो स्थानमा झरेको छ । हाल तेश्रो स्थानमा रहेको लाइफ इन्स्योरेन्स कर्पोरेशनले ८३ करोड ५९ लाख र चौथो स्थानमा रहेको सन नेपाल लाइफले ८२ करोड १९ लाख रुपैयाँ प्रिमियम उठाएका छन् । त्यसपछि सिटिजन लाइफ, सूर्या लाइफ, रिलायबल नेपाल लाइफ र एशियन लाइफ इन्स्योरेन्स क्रमशः पाँचौ, छैटौं, सातौं र आठौं स्थानमा नै छन् । त्यस्तै, यूनियन, मेट र ज्योति लाइफबीच तीव्र प्रतिस्पर्धा देखिएको छ । मंसिरसम्ममा प्रथम बीमाशुल्क संकलन गर्नेका आधारमा युनियन, मेटलाइफ र ज्योति लाइफ इन्स्योरेन्स क्रमशः ९औं, १०औं र ११औं स्थानमा छन् । कार्त्तिमा भने ज्योति लाइफ ९औं स्थानमा थियो । कार्त्तिकमा १२ र १३ औं स्थानमा रहेका आइएमई लाइफ र सानीमा लाइफ मंसिरमा पनि सोही स्थानमा रहेका छन् । जसमध्ये आइएमई लाइफले ४२ करोड ७२ लाख र सानीमा लाइफले ३२ करोड ७९ लाख रुपैयाँ प्रथम बीमाशुल्क मंसिरसम्ममा संकलन गरेका छन् । प्राइमलाई उछिन्दै रिलायन्स लाइफ इन्स्योरेन्स र राष्ट्रिय बीमा संस्थान अघि बढेका छन् । प्रथम बीमाशुल्कको आधारमा कार्त्तिकमा १४औं स्थानमा रहेको प्राइम मंसिरमा १६औं स्थानमा झरेको छ । मंसिरसम्ममा रिलायन्सले ३१ करोड ७९ लाख र राष्ट्रिय बीमा संस्थानले ३१ करोड ५६ लाख रुपैयाँ बराबरको प्रथम बीमाशुल्क संकलन गरेका छन् । त्यस्तै, प्राइमले ३१ करोड १० लाख, प्रभुले २२ करोड ७६ लाख र महालक्ष्मीले १८ करोड ७५ लाख रुपैयाँ संकलन गरेका छन् । यता गुराँस लाइफले ८ करोड ७४ लाख रुपैयाँ बराबरको प्रथम बीमाशुल्क आर्जन गरेको छ । जुन अन्य कम्पनीको तुलनामा सबैभन्दा कम हो । कम्पनीले मंसिरमा मात्रै १ करोड ५० लाख रुपैयाँ बराबरको प्रिमियम प्रथम बीमाशुल्कबाट संकलन गरेको छ । हाल साविकको ज्योति लाइफ र सूर्या लाइफ इन्स्योरेन्स एकआपसमा गाभिएर सूर्यज्योति लाइफ इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार शुरु गरिसकेका छन् । यससँगै जीवन बीमा कम्पनीहरुको संख्या घटेर १८ वटामा सीमित भएको छ ।
शीतलहरले जनजीवन कष्टकर बन्दै
राँझा । दुई दिनदेखि जारी शीतलहर र हुस्सुका कारण बाँकेको जनजीवन कष्टकर हुन पुगेको छ । बिहान र साँझ शीतलहरसँगै बाक्लो हुस्सु लाग्ने गरेका कारण नेपालगञ्जको तापक्रम घट्दै गएको छ । चिसोले गर्दा दैनिक ज्यालादारी गरेर खानेलाई समस्या भएको छ । बिहान विद्यालय तथा कलेज जाने विद्यार्थी पनि मर्कामा परेका छन् । नेपालगञ्जमा आज बिहानको न्यूनतम तापक्रम नौ देखि १० डिग्री सेल्सियस रहेको राँझास्थित जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालयका इञ्चार्ज पलबहादुर विकले जानकारी दिए । शीतलहर र हुस्सुका कारण चिसो धेरै बढेपछि नेपालगञ्जका प्रमुख चोक बजारक्षेत्रमा चहलपहल घटेको छ । शीतलहर र चिसोबाट सबैभन्दा बढी रिक्सा चालक, ठेला चालक र मजदुरलाई समस्या हुनाका साथै बालबालिका र ज्येष्ठ नागरिकलाई पनि असर पारेको छ । चिसो बढ्दै गएकाले स्थानीय बासिन्दाले उपमहानगरपालिकासँग टोल–टोलमा दाउरा खसाल्न आग्रह गरेका छन् । नेपालगञ्ज उपमहानगरपालिकाले टोल–टोलमा दाउरा वितरण गरेर आगो बाल्ने व्यवस्था गर्ने तयारी गरेको त्यहाँका प्रवक्ता प्रमोद रिजालले जानकारी दिए । केही दिनयता चिसो बढ्दै गएका कारण नेपालगञ्जका अस्पतालमा चिसोका बिरामी पुग्ने क्रम फेरि बढेको जनाइएको छ । मेडिकल कलेजको नेपालगञ्जस्थित शिक्षण अस्पतालमा एक सातायता निमोनिया, ‘कोल्ड डायरिया’ रुघाखोकी लागेको बालबालिका र ज्येष्ठ नागरिक आउने क्रम बढेको उक्त अस्पतालका निर्देशक डा एम किदवाइले बताए । उनले चिसो बढेसँगै बिरामी पनि अस्पतालमा आउने क्रम बढेकाले चिसोबाट जोगिने उपाय अपनाउन सबैसँग आग्रह गरे । भेरी अस्पतालमा पनि चिसोका बिरामी आउने क्रम दिनदिनै बढ्दै गएको त्यहाँका सूचना अधिकारी डा सङ्केतकुमार रिसालले बताए। रासस
नेपाली व्यवसायी पोखरिया र श्रेष्ठको ‘हेरमोसा ब्युटी सेन्टर’ कतारमा
काठमाडौं । कतारको अल सादमा रहेको अल अस्मख मलमा लेडिज सैलुन हेरमोसा ब्युटी सेन्टर संचालनमा आएको छ । नयाँ वर्ष २०२३ को जनवरी १ तारिखको दिन नेपाली व्यवसायी पुर्ण बहादुर पोखरिया र राकेश श्रेष्ठले उक्त ब्युटी सेन्टर संचालनमा ल्याएका हुन् । अल अस्मख मलको बेसमेन्टमा रहेको हेरमोसा ब्युटी सेन्टरमा मेकअप र सुन्दरतासँग जोडिएका सबै कार्य गरिने संचालकहरुले बताएका छन । यसरी ठुलो लगानिमा कतारको मलमा नेपालीहरुबाट खोलिएको यो पहिलो ब्युटी व्यवसाय रहेको पनि उनीहरुको दावी छ । उदघाटनको अवसरमा ब्युटी सेन्टरले ४० प्रतिशतसम्मको छुट व्यवस्था गरिएको जानकारी दिएको छ । कतार,वैदेशिक रोजगारीको लागि आकर्षक गन्तव्य मानिएको देशहरुमध्ये कतार पनि एक हो । भौगोलिक हिसावले सानो देश भएपनि करिब साढे ३ लाख नेपालीहरुले रोजगारी तथा व्यवसाय गरिरहेका छन हाल कतारमा । नेपाली श्रमिकहरूको बाहुल्यता रहेको कतारको प्रत्यक गल्ली गल्ली र चोक चोकमा नेपालीहरु भेट्न सकिन्छ । कतारमा केही नेपालीहरु उच्च पदमा रोजगारीमा रहेका छन भने धेरै नेपाली न्यून कार्यमा रोजगारीमा रहेका छन । कामदार मात्रै नभएर नेपालीको संख्या बढेसंगै ब्यापार ब्यावसाय गर्ने नेपालीहरु थपिने क्रम पनि बढेको छ कतारमा । यसै क्रममा नयाँ बर्षका दिनदेखी थप नेपाली व्यवसाय पनि थपिएको छ । नयाँ बर्ष २०२३ को जनवरि १ तारेखको अवसर पारेर कतारमा रहेका नेपाली ब्यवसायीहरु पुर्ण बहादुर पोखरिया र राकेश श्रेष्ठले कतारको अल सादमा रहेको अल अस्मख मलमा लेडिज सैलुन हेरमोसा ब्युटी सेन्टरको सुरुवात गरेका छन ।