विकासन्युज

विदेशबाट फर्किनेलाई २ वटा मोबाइल ल्याउन दिन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विदेशबाट नेपाल फर्किदा व्यक्तिगत प्रयोजनका लागि ल्याएको मोबाइलका सम्बन्धमा नागरिकस्तरबाट गुनासो आएपछि त्यसलाई तत्काल सम्बोधन गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्रीले यसअघि पनि त्यस्तै निर्देशन दिएका थिए । प्रधानमन्त्रीले निर्देशन दिनुभए पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका कर्मचारीले सोमबार अमेरिकाबाट नेपाल आएका नेपालीलाई मोबाइल ल्याउन रोक लगाएको समाचार सार्वजनिक भएको थियो । प्रधानमन्त्री दाहालले आज पुनःउपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेललाई त्यससम्बन्धमा आवश्यक व्यवस्था मिलाउन निर्देशन दिएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए । ‘आफूसँग अतिरिक्त मोबाइल ल्याउने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समस्या सिर्जना भएको घटनामा जनस्तरबाट राखिएको चासो र गुनासोका बारेमा प्रधानमन्त्री कार्यालयले अर्थमन्त्रालयलाई तत्काल नै यो विषयमा आवश्यक कारवाही अघि बढाउन निर्देशन दिएको छ’, प्रेस संयोजक शर्माले भने । रोजगारीका सिलसिलामा विदेश गएका नेपालीले आफूसँग फर्किंदा दुईवटा मोबाइल ल्याउने कुरालाई सरल र सहज बनाउन आवश्यक नीतिगत तथा कानुनी जटिलता भए त्यसलाई समेत फुकाउन प्रधानमन्त्रीले निर्देशन दिएका छन् ।

पर्यटक तान्दै कालीगण्डकी जल यातायात

पोखरा । पोखरा महानगरपालिका ३२ तल्लो गगनगौँडास्थित नविन टोल विकास संस्थामा आवद्ध ६० सदस्यीय टोली पुसको अघिल्लो साता स्याङ्जाको कालीगण्डकी गाउँपालिका ७ स्थित कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनास्थलको जलाशयमा पुगे । जलविद्युत् आयोजनाका निर्माणका क्रममा बनेको जलाशयमा जल यायातायात (स्टिमर) चढेर शिला शालिग्रामसम्म पुग्ने लक्ष्य राखेपनि उनीहरू त्यहाँ पानीको सतह घटाइएका कारण जल यातायातबाट लक्षित गन्तव्यमा भने पुग्न सकेनन् । उक्त टोलीसहित सो दिन अन्य ठाउँ ठाउँबाट आएका पर्यटक जल यायातायात चढेर शिला शालिग्राम पुग्न नसकेपनि केही समय छोटै दुरिमै भए पनि जल यातायातको राम्रैसँग अनुभव लिए । समय समयमा मर्मतका साथै वर्षातमा पानीको बहाब बढ्दा जल यायातायात नचल्ने भए पनि थाहा नहुँदा टाढाबाट आएका पर्यटक निराश बनेर फर्कने शालिग्राम कालीगण्डकी जल यातायात प्रालिका सुपरभाइजर कृष्ण क्षेत्रीले बताए । स्याङ्जाको कालीगण्डकी गाउँपालिका–७ मिर्मी आँधीमुहानदेखि पर्वतको विहादी गाउँपालिका–६ शालिग्राम सेतीवेणीसम्म रमणीय दृश्य अवलोकन गर्दै सात किलोमिटरको दूरीमा विगत १९ वर्षदेखि जल यातायात सेवा सञ्चालनमा आएको उनले जानकारी दिए । जल यायातायात सेवाले दक्षिण पर्वतको विहादी र पैँयू गाउँपालिकाका साथै स्याङ्जा, गुल्मी र बागलुङका बासिन्दा लाभान्वित हुनुका साथै यसले यहाँको पर्यटन प्रवद्र्धनमा विशिष्ट योगदान गरेको छ । ‘हाल तीनवटा स्टिमरबाट पर्यटकलाई सेवा दिइरहेका छौँ’, उनले भने, ‘एउटामा ८० जनाको दरले एक पटकमा दुई सय ४० जनालाई जलविहार गर्ने व्यवस्था मिलाएका छौँ ।’ जल यातायात सेवा सञ्चालनले चार घण्टाको यात्रा आधा घण्टामा सीमितभएको स्थानीय रमेश सुवेदीले बताए । ‘स्टिमर सेवा सञ्चालनले कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजना प्रभावित क्षेत्र स्याङ्जाको गल्याङ नगरपालिका, कालीगण्डकी गाउँपालिका, पर्वतको विहादी गाउँपालिका र गुल्मीको कालीगण्डकी गाउँपालिकाका स्थानीयवासी धेरै लाभान्वित बनेका छन्’, उनले भने, ‘यसबाट यस क्षेत्रको पर्यटकीय विकासमा विशिष्ट योगदान पुगेको छ ।’ सुवेदीका अनुसार जल यायातायातकै कारण आउने पर्यटकका कारण यहाँको आर्थिक गतिविधि चलायमान भएको छ । पछिल्ला समयमा बाँध आसपासका क्षेत्रमा होटेल तथा अन्य पूर्वाधार पनि विकास भएको बताउँदै उनले प्रत्येक दिन करिब पाँच सय जनासम्म बस्ने क्षमताका होटेल सञ्चालनमा आइसकेको जानकारी दिए । जल यातायातबाट पर्वतको सेतीवेणीस्थित विश्वकै ठूलो शालिग्राम शिलाको दर्शन गर्न जान सकिने भएकाले यो धार्मिक पर्यटनको गन्तव्य पनि बनेको छ । काठका ठूला तथा मझौला डुङ्गामा मालवाहक गाडीको इञ्जिन जडान गरेर बनाइएका स्टिमरमा चढ्दा पानी जहाजकै झल्को आउने तनहुँको बन्दीपुरबाट घुम्न पुगेका निकेश श्रेष्ठले अनुभव सुनाए । ‘स्टिमर चढ्दा सानो पानी जहाजको भल्को आउँदो रहेछ’, उनले भने, ‘जलयातायातको अनुभवका लागि यो महत्वपूर्ण बनेपनि टाढाबाट आउनेका लागि सञ्चालनमा आए नआएको थाहा नहुँदा समस्या पर्ने रहेछ ।’ जिल्ला प्रशासन कार्यालय स्याङ्जाबाट विसं २०६२ मा स्वीकृति लिएर सञ्चालनमा ल्याइएको स्टिमर सेवा २०७० सालमा कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई सञ्चालनमा आएको हो । विगतमा १२ वटासम्म साना तथा ठूला स्टिमर निरन्तर सञ्चालन आएपनि अहिले भने तीनवटा मात्र सञ्चालनमा छन् । सुपरभाइजर क्षेत्रीका अनुसार शिला शालिग्रामसम्मको दुईतर्फी यात्राका लागि ४०० रुपैयाँ निर्धारण गरिएको छ । मिर्मीदेखि सेतीबेनीसम्म एकतर्फी पुग्न ३० देखि ४५ मिनेट जलयात्राको समय लाग्ने उनले बताए । कालीगण्डकी जलयातायात समग्र गण्डकी प्रदेशका लागि महत्वपूर्ण पर्यटकीय गतिविधि बन्ने भएकाले यसलाई थप व्यवस्थित गर्नुपर्ने देखिएको भ्रमणका क्रममा पुग्नुभएका नविन टोल विकास संस्था पोखरा–३२ का अध्यक्ष पुष्पराज शर्मा पौडेलले बताए । ‘जल यातायातको राम्रो प्रवद्र्धन गर्न सकेमा यो महत्वपूर्ण पर्यटकीय गन्तव्य बन्न सक्छ’, उनले भने, ‘जलाशयसम्म पुग्नका लागि बाटो लगायतका पूर्वाधारलाई व्यवस्थित गर्नुपर्ने देखिन्छ ।’ सिद्धार्थ राजमार्गको गल्याङस्थित जिरो किलोमिटरबाट १७ किलोमिटर दूरीमा यातायातका साधनमार्फत् जलाशय पुग्न सकिन्छ । रासस

दिव्यश्वरी हाइड्रोपावरले बोलायो साधारण सभा

काठमाडाैं । दिव्यश्वरी हाइड्राेपावरले साधारण सभा बाेलाएकाे छ । कम्पनीले लाभांश घाेषणा नगरी पुस २७ गते साधारण सभा बाेलाएकाे हाे । सभाले आर्थिक वर्ष २०७५/७६, २०७६/७७, २०७७/७८ र २०७८/७९ संयुक्त वार्षिक प्रतविदेन उपर छलफल गरी पारित गर्नेछ । यस्तै. सभाले विगतमा वार्षिक साधारण सभा नहुँदाकाे अवस्थामा संचालककाे पदावधी सम्बन्धमा संचालक समितिले गरेकाे निर्णय अनुमाेदन गर्नेछ । यसका साथै, सभाले समुह क र ख बाट प्रतिनिधित्व गर्ने संचालकहरुकाे मनाेनयन वा निर्वाचन प्रकिृयाबाट पदपुर्ती गर्नेछ ।

आफ्ना लागि आफैँ तरकारी उत्पादन गर्दै

डुम्रे । देशका अधिकांश वृद्धाश्रमको सञ्चालन दाता वा सहयोगी निकायहरुको सहयोगबाट हुने गरेकामा तनहुँको ज्येष्ठ नागरिक चौतारी बृद्धाश्रम तरकारी तथा दूधमा आत्मनिर्भर रहेको छ । व्यास नगरपालिका–५ बेनीपाटनस्थित राष्ट्रिय परोपकार महासङ्घ नेपालद्वारा सञ्चालित यस वृद्धाश्रममा आश्रित ज्येष्ठ नागरिकले आफैँ तरकारी र दूध उत्पादन गर्दै आएका छन् । विगतमा घरमा रहँदाको सिकाइ र भोगाइलाई यहाँ पनि उपयोग गरी तरकारी र दूध उत्पादन गर्दै आएको महासङ्घ जिल्ला कार्यसमितिका अध्यक्ष तारानाथ घिमिरेले बताए । ‘यहाँ आश्रित ज्येष्ठ नागरिक आफैँले बारीमा खनेर तरकारी लगाउने गरेका छौँ । हामीले रासायनिक मल प्रयोग गर्दैनौँ । प्राङ्गारिक मलको प्रयोग गरेर तरकारी उत्पादन गर्छौं’, घिमिरेले भने । आश्रममा बस्दै आएका काम गर्न सक्ने सबैले सकेको काम गरेर प्राङ्गारिक उत्पादन खाने गरेका उनी बताउँछन् । यहाँका ज्येष्ठ नागरिकले बाहिरबाट सहयोगका लागि आएको खाद्यान्न, तेल, नुन, चिनीलगायत अत्यावश्यक सामग्री प्राप्त हुने गर्दछ । आफैँले बारीमा उत्पादन गरेको खानेकुरा धेरै मीठो हुने गरेको यहाँ आश्रित ज्येष्ठ नागरिक बताउँछन् । ‘हामी तरकारी र दूधमा आत्मनिर्भर छौँ । रासयनिक मलको सट्टा गाईको मल प्रयोग गरेर आफैँ खटिएर तरकारी लगाउँछौँ । तरकारी किन्नुपर्ने बाध्यता छैन’, संस्थाका उपाध्यक्ष सुवेदार बलबहादुर रानाभाट भन्छन् । अहिले बारीमा हिउँदे तरकारी प्रशस्त रहेको छ । आश्रमको स्वामित्वमा नै रहेको एक रोपनी जग्गामा खेतीपाती गर्दै आएको रानाभाट बताउँछन् । ‘यहाँ उत्पादित तरकारीले आश्रममा आश्रित ज्येष्ठ नागरिकलाई पुग्छ । बाहिरबाट ल्याउनुपर्ने अवस्था छैन । चैत, वैशाखका लागि नयाँ तरकारीको बिरुवा रोपिएको छ । अब लहरे तरकारीको याममा रोप्नका लागि टनेल तयारी अवस्थामा रहेको छ’, उनी बताउँछन् । यहाँ पालिएको गाईको गोबर, गहुँतको प्रयोग गरी तरकारी उत्पादन गरिएको अध्यक्ष घिमिरे बताउँछन् । आश्रमको करेसाबारीमा काउली, बन्दा, भन्टा, कागती, धनियाँ, मूला, साग, ब्रोकाउलीलगायतका तरकारी प्रशस्त मात्रा फलेका छन् । तरकारीकै घाँस र कुडोले यहाँका गाई पालिएका छन् । आश्रममा कहिले पनि दुहुनो गाई टुट्दैन । यहाँका गाई पालनले आश्रममा आउने सहयोगदाता, भेटघाटका लागि आउने पाहुनालाई जुनसुकै समय दूध खुवाउन सकिने उनी बताउँछन् । आश्रममा हाल पाँचवटा गाई छन् ।

सञ्चालकको भत्ता सुविधा ५० प्रतिशतले बढ्दै, सेयरधनीको हात खाली

काठमाडौं । एनआईसी एशिया बैंकले गत आर्थिक वर्ष २०७८/८९ मा ४ अर्ब २१ करोड ५० लाख रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो आर्थिक वर्षमा बैंकले ३ अर्ब २५ करोड ९० लाख रुपैयाँ खुद नाफा गरेको थियाे। यी तथ्याङ्क बैंक लेखापरिक्षण भई राष्ट्र बैंकबाट स्वीकृत भएको वित्तीय विवरणबाट लिइएको हो । दुई आर्थिक वर्षमा बैंकले ७ अर्ब ४७ करोड ८० लाख रुपैयाँ खुद नाफा गरेको छ । यतिधेरै नाफा हुँदा पनि बैंकले सेयरधनीलाई दुबै आर्थिक वर्षमा लाभांश दिएको छैन । दुबै आर्थिक वर्षमा सेयरधनीको हात खाली भएको छ । लगानीकर्तालाई लाभांश वितरण नगर्नुको कारणबारे बैंकले औपचारिक रुपमा केही बताएको छैन । अनौपचारिक रुपमा बैंकको व्यवसाय र पुँजीकोषबीचको सन्तुलन प्रयाप्त नभएकोले राष्ट्र बैंकले लाभांश वितरणमा रोग लगाएको बुझिएको छ । सेयरधनीले लाभांश नपाए पनि बैंकको सेयर मूल्यमा भने सकारात्मक असर नै परिरहेको छ । सेयर मूल्यको आधारमा एनआईसी एशिया बैंक पहिलो नम्बरमा उक्लिएको छ । सोमबार एनआईसी एशिया बैंकको सेयर मूल्य प्रतिकित्ता ७६५ रुपैयाँसम्मका कारोबार भयो । यो मूल्य वाणिज्य बैंकहरु मध्ये सबैभन्दा बढी हो । दोस्रोमा नविल बैंकको सेयर मूल्य ७३९ रुपैयाँ छ भने तेस्रोमा एभरेष्ट बैंकको ४४९ रुपैयाँ रहेको छ । भत्ता ५० प्रतिशतले वृद्धि गरिँदै बैंकले सञ्चालक समितिका अध्यक्ष तथा सञ्चालकहरुको भत्तामा ५० प्रतिशतसम्म वृद्धिको प्रस्ताव गरेको छ । बैठक भत्ता अध्यक्षको लागि प्रति बैठक ३० हजार रुपैयाँ बनाउन प्रस्ताव गरिएको छ । यसअघि प्रति बैंठक भत्ता २० हजार रुपैयाँ थियो । सञ्चालकहरुको भत्ता १६ हजारबाट वृद्धि गरी २४ हजार बनाउन प्रस्ताव गरिएको छ । अध्यक्षको लागि भ्रमण भत्ता नेपालभित्रको लागि १० हजार रुपैयाँबाट १५ हजार बनाउन लागिएको छ भने भारतको लागि दैनिक भत्ता भारु २२ हजार ५ सय (३६ हजार रुपैयाँ) बनाउन लागिएको छ । अरु देशमा दैनिक ३०० अमेरिकी डलर बनाउन लागिएको छ । त्यसैगरी दुर्घटना बीमा, पत्रपत्रिका खर्च, मोवाइल खर्चमा ५० सम्म सुविधा वृद्धि गरिएको छ । स्वास्थ्य बीमा शुल्कमा २३७ प्रतिशतले वृद्धि गरी वार्षिक २ लाख ५० हजार रुपैयाँ प्रस्ताव गरिएको छ । यसअघि वार्षिक ७४ हजार रुपैयाँ थियो । २ लाख ५० हजार रुपैयाँ बीमा शुल्कले वार्षिक ६० देखि ६५ लाख रुपैयाँसम्मको स्वास्थ्य बीमा पोलिसी लिन सकिने जानकारहरु बताउँछन् । बैंक सञ्चालक समितिका सदस्यहरुले गत एक आर्थिक वर्षमा  करोड २० लाख ४० हजार २८ रुपैयाँ बैठक भत्ता लिएका छन् । ७ जना सञ्चालकले बैंठक भत्ता १ करोड ३ लाख ८८ हजार रुपैयाँ लिएका छन् भने मासिक भत्ता १७ लाख ५२ हजार २८ रुपैयाँ लिएका छन् । उक्त बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन न्यौपानेले गत आर्थिक वर्ष २०७८/७९ मा २ करोड ३४ लाख ३ हजार ५४७ रुपैयाँ तलव भत्ता बुझेका छन् । त्यसमा उनले बोनस मात्र ५२ लाख ५७ हजार २५५ रुपैयाँ आर्जन गरेका छन् । नेपालमा एउटै वाणिज्य बैंकले प्रमुख कार्यकारी अधिकृतलाई तलव, भत्ता, बोनस सहित ४ करोड रुपैयाँसम्म भुक्तानी गरेका छन् । बैंकले उक्त आर्थिक वर्षमा सबै कर्मचारीको लागि ४ अर्ब ५० करोड ७ लाख रुपैयाँ खर्च गरेको छ । बैंकबाट कर्मचारी, उच्च व्यवस्थापन र सञ्चालक समितिका अध्यक्ष तथा सञ्चालकले नियमित प्रतिफल लिए पनि सेयरधनी भने लाभांशबाट विमुख हुँदै आएका छन् ।

बैंक अफ काठमाण्डूबाट भाटभटेनी बाहिरिदैँ, प्रतिकित्ता २ सयमा साढे ९ लाख कित्ता बिक्रीमा

काठमाडौं । भाटभटेनी सुपर मार्केट एण्ड डिपार्टमेण्टल स्टोरले बैंक अफ काठमाण्डूमा रहेको सेयर बिक्री गरेर बाहिरीने भएको छ । भाटभटेनी सुपर मार्केटले आफ्नो स्वामित्वमा रहेको साढे ९ लाख कित्ता सेयर बिक्री गर्ने भएको हो । भाटभटेनी सुपर मार्केट बैंक अफ काठमाण्डूको संस्थापक सेयरधनी हो । भाटभटेनी सुपर मार्केटले आफ्नो नाममा रहेको ९ लाख ५२ हजार ७३० कित्ता संस्थापक सेयर बिक्री गरेर बाहिरीने भएको हो । उक्त सेयरको मूल्य न्यूनतम प्रतिकित्ता २ सय रुपैयाँ तोकिएको छ । उक्त सेयरमा बैंकका संस्थापक सेयरधनीहरुले मात्रै खरिद गर्न पाउनेछन् । संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र उक्त सेयर खरिद गरिसक्नु पर्नेछ । यदि ३५ दिनभित्र उक्त सेयर संस्थापक सेयरधनीहरुले खरिद नगरे सर्वसाधारण जोकोहीलाई बिक्री गर्ने बैंकले जनाएको छ ।

शैक्षिक पर्यटकीय गन्तव्य बन्दै संस्कृत विद्यालय

महोत्तरी। यह विद्यालय हमारी संस्कृति, सभ्यता और पहिचानका प्रतीक है, हमारी धरोहर है’ (यो विद्यालय हाम्रो संस्कृति, सभ्यता र परिचयको प्रतीक हो, हाम्रो धरोहर हो) महोत्तरीको मटिहानी–७ स्थित तीन सय चार वर्ष पुरानो गुरुकुल (हालको राजकीय संस्कृत माध्यमिक विद्यालय) अवलोकनपश्चात् भारतीय विद्वान पूर्वीय दर्शनका ज्ञाता रमेशचन्द्र टिकमानीले आगन्तुक पुस्तिकामा लेखे । गत वैशाख ६ गते विद्यालय अवलोकनका लागि प्राध्यापक, अन्वेषक र विश्लेषकहरुको भारतीय टोली साथ आउनुभएका टिकमानीले भारत वर्ष (हालको दक्षिण पूर्वी एसिया क्षेत्र, आर्यावर्त) को पुरातन भाषा, साहित्यको विकास र संरक्षणमा राजकीय संस्कृत माध्यमिक विद्यालय मटिहानीको योगदानको स्मरण गरेका छन् । प्राचीन र वैज्ञानिक भाषा संस्कृतको संवद्र्धनमा विद्यालयको योगदानको टिकमानीले सराहना गरेका छन् । गत वर्ष मङ्सिर ६ गते राष्ट्रपति विद्यादेवी भण्डारीले यो विद्यालय अवलोकन गर्नु भएपछि यहाँ पाहुना आउने क्रम ह्वात्तै बढेको छ । राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा ख्याति प्राप्त व्यक्तित्वहरुको आगमनले विद्यालयको ओज बढेको प्रधानाध्यापक ईश्वरी पौडेल बताउँछन् । ‘बितेको एक वर्षभित्रै दुई सयभन्दा बढी विशिष्ट व्यक्तित्वको आगमन भएको छ, हामीले विद्यालयको अवस्थाबारे अवगत गराउन पाएका छौँ’, पौडेल भन्छन् । देश विदेशका विशिष्ट व्यक्तित्व र विभिन्न क्षेत्रका अध्येताहरुको बाक्लो आगमनले यो विद्यालय शैक्षिक पर्यटनको गन्तव्य बन्दै गएकामा मटिहानीवासी खुसी छन् । पछिल्लो एक वर्षभित्र विश्वविख्यात क्याम्ब्रिज विश्वविद्यालयमा विद्यावारिधिको शोध गरिरहेका ग्रेस मुइलर र प्रमोदकुमार मेहताले गत वैशाखमै विद्यालयको अवलोकन भ्रमणसँगै यहाँको पठनपाठन र व्यवस्थापनबारे जानकारी लिएका थिए । त्यसैगरी संयुक्त राष्ट्रसङ्घीय कोषका नेपालस्थित विशिष्ट अधिकारी इरफान अलराई, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदी र प्राडा ऋषिराम पौडेलसहितका व्यक्तित्व गत भदौमा विद्यालय अवलोकनमा आउनुभएको थियो । त्यसैगरी गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, पूर्वमन्त्री हृदयेश त्रिपाठी, नेपाली कांग्रेसका केन्द्रीय सदस्य किरण यादव, लोकतान्त्रिक समाजवादी पार्टीका नेता जितेन्द्र सोनल, मधेस प्रदेशका पूर्वप्रमुख डा राजेश अहिराज र भारतीय जनता पार्टीका नेता दिनेश उपाध्यायले पनि यस विद्यालयको अवलोकन गरेका छन् । यस्तै विभिन्न सरकारी निकायका वरिष्ठ अधिकारी, संवैधानिक अङ्गका पदाधिकारी, देशका विभिन्न विश्वविद्यालयका प्राध्यापकहरु, विभिन्न धार्मिक संस्थाका प्रमुखहरुले विद्यालय अवलोकनपछि आगन्तुक पुस्तिकामा ‘यो विद्यालय मुलुककै शिक्षा क्षेत्रको जिउँदो इतिहास रहेको’ भन्नेदेखि पुरातन भाषा, साहित्यको अध्ययन, खोज र संरक्षणमा विद्यालयले दिएको योगदानबारे उल्लेख गरेका छन् । विशिष्ट व्यक्तित्वसहित देश विदेशका अतिथिको सघन अवलोकनले विद्यालय शैक्षिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलको विश्वास छ । ‘गत वर्ष राष्ट्रपतिबाट भएको मटिहानी भ्रमणका क्रममा विद्यालय अवलोकनले विद्यालय परिवार र मटिहानीवासी हौसिएका छौँ’, नगर प्रमुख मण्डल भन्छन्, ‘स्थानीय तहको सीमाभित्रका काम हामी अघि बढाउँछौँ, प्रादेशिक र सङ्घीय सरकारको साथ पाए यो विद्यालय र यससँगै जोडिएको याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठ (संस्कृत क्याम्पस) लाई संस्कृत भाषा/साहित्य र पूर्वीय दर्शनको अनुसन्धान केन्द्रका रुपमा विकास गर्न सकिन्छ ।’ अवलोकनमा आउनुभएका विशिष्ट व्यक्तित्वहरुबाट यसबारे पाएको प्रोत्साहन र सहयोगको आश्वासनले मटिहानीवासी हौसिएका मण्डलको भनाइ छ । एकताका उच्च कुलीन ब्राह्मणका लागि मात्र शिक्षाको अवसर दिने यस संस्कृत पाठशालाको अब नाउँ मात्र फेरिएको छैन, राजकीय संस्कृत माध्यमिक विद्यालय सबै जातजाति र समुदायको साझा बन्दैछ । यहाँ अहिले विभिन्न जातजाति/धर्म सम्प्रदायका बालबालिका अध्ययन गर्दैछन् । ‘विद्यालयमा अहिले मधेसका मात्र नभएर पहाडी जिल्लाका दलित समुदायका छोरी पनि पढ्दैछन्’, विद्यालयका प्रधानाध्यापक ईश्वरी पौडेल भन्छन्, ‘छोरी शिक्षालाई त विशेष ध्यान नै दिएका छौँ, कक्षा ११ र १२ को शिक्षा पनि छोरीलाई पूर्ण निःशुल्क छ ।’ विद्यालयमा हिन्दू र बौद्ध परम्पराका मात्र नभएर इस्लाम धर्मावलम्बी छात्रछात्राको संस्कृत पढ्ने रहरले आफ्नो गुरुकुल सबैको साझा फूलबारी बनेको प्रधानाध्यापक पौडेल बताउँछन् । भारतसँग सीमा जोडिएको महोत्तरीको मटिहानीस्थित राजकीय संस्कृत माध्यमिक विद्यालय जातीय दृष्टिले मात्र नभई पहाड–मधेस सम्बन्धको आधार बनेको छ । करिब तीन सय पाँच वर्षको इतिहास बनाएको यो गुरुद्वारा (विद्यालय) मा संस्कृत विषयको अध्ययन मोहले आउने पहाडी जिल्लाका वटुक (विद्यार्थी) को ठूलो उपस्थितिले यो पहाड–मधेस सम्बन्धको सेतु रहँदै आएको मटिहानीवासी बताउँछन् । यसबाहेक छिमेकी भारतका पनि उल्लेख्य सङ्ख्याका वटुक यहाँ अध्ययन गर्दछन् । ‘हरिॐ नमस्ते रुद्र मण्याय।।।१’ सखारैको रुद्राभिषेक पाठ । लामो टुपी पालेका पितवस्त्रधारी वटुकहरुको रुद्राभिषेक पाठसँगै सुरु हुने नियमित दैनिकीको चहलपहलले गुरुद्वाराको चहक सधैँ उजेलिएकै हुन्छ । विद्यालयमा पछिल्ला पाँच वर्षयता महर्षि फाउन्डेसनको सहयोगमा अखण्ड रुद्राभिषेक हुँदै आएको छ । ‘गुरुकुलका वटुकको अनुशासन, नित्य रुद्राभिषेक पाठ र योगध्यानसहितका कक्षा हाम्रो चित्तमा सधैँ रहने सम्झना हुन्’, गुरुकूल रहेको महिटानी–७ का वडाध्यक्ष जितनारायण माझी भन्छन् । विद्यालय परिसरमा पुग्ने विशिष्ट पाहुनाको स्वागतमा विद्यार्थी वैदिक मन्त्रोच्चारणले न्यानो स्वागत र स्वस्तिवाचन गर्छन् । विद्यालयको दैनिक तालिकामा बाँधिएको नियमले सबैलाई अनुशासनमा बाँधेको छ । ‘बिहान उठ्ने, नित्यक्रियाबाट निवृत्त हुने, योगाभ्यास गर्ने, दैनिक रुद्री पाठ गर्ने, खाने, कक्षामा जाने, गृहकार्य गर्ने, घुम्ने, खेलकुद गर्ने र रात्रि विश्रामसम्मका सबै कामका निश्चित समय तालिका बाँधिएको छ’, मटिहानीकै बासिन्दा जिल्लाका अग्रज पत्रकार विन्देश्वरीप्रसाद मण्डल भन्छन्, ‘गुरुकुलले शिक्षा र सामाजिक अनुशासनको ज्ञान सँगसँगै दिएको छ ।’ पहाडी विद्यार्थीसँगको हेलमेलले मटिहानीसँगै जोडिएको भारतीयबजार मधवापुरमा पनि नेपाली भाषा बुझ्ने बोल्ने प्रशस्त भेटिन्छन् । पहाडी विद्यार्थी पनि मिथिलाको स्थानीय भाषा मैथिली बोल्न पोख्त भएका छन् । विद्यालयमा आयोजन हुने अतिरिक्त क्रियाकलापमा वक्तृत्वकला, गायन र मनोरञ्जनात्मक कार्यक्रम पनि समाविष्ट छन् । गायन, वक्तृत्वकला र सरसफाइ सचेततामा विद्यार्थी अब्बल देखिँदा छन् । विद्यालयको स्थापित यो परम्परा र विद्यार्थीको अनुशासन आगन्तुक अतिथिका लागि आकर्षण बनेको छ । विसं १७७५ मा स्थापित भनिने यो विद्यालयको प्रमाणिक अभिलेख भने विसं १८८२ देखिको भेटिएको छ । राजकीय संस्कृत माध्यमिक विद्यालयसँगै जोडिएर भगवान् लक्ष्मीनारायण र महामुनि याज्ञवल्क्यका नाउँमा स्थापित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठ ९संस्कृत क्याम्पस० मा स्नातक तहसम्मको उच्च शिक्षा लिन पाएपछि यहाँ पढ्न आउने विद्यार्थीलाई थप सजिलो भएको हो । अन्य विद्यालयमा कक्षा ९ देखि माध्यमिक तह मानिए पनि यहाँ भने कक्षा ८ देखि नै माध्यमिक तह मानिन्छ । अहिले विद्यालयका कूल एक सय पाँच विद्यार्थीमा छात्राको सङ्ख्या ४० प्रतिशतको हाराहारी छ । अन्य माध्यमिक विद्यालयमा जस्तै पठनपाठन हुने अनिवार्य विषयका अतिरिक्त अनिवार्य संस्कृत र ऐच्छिक विषयमा संस्कृतभित्रका साहित्य, ज्योतिष, वेद, व्याकरण, न्याय र कर्मकाण्डमध्ये दुईवटा विषय पढ्नुपर्ने हुन्छ । तीन÷चार दशक पहिलेसम्म भरिभराउ विद्यार्थी हुने यो विद्यालयमा संस्कृततर्फको रुचि घट्दै गएर विद्यार्थी सङ्ख्या पातलिएको प्रधानाध्यापक पौडेलको ठम्याइ छ । विद्यालयमा अध्ययन गर्ने ४४ जना छात्रछात्रालाई गुठी संस्थानले खानाबापत दाल, चामल र सागसब्जी, मसला, तेलभुटुन र इन्धनबापत नगद दिने गरेको छ । टाढाटाढाबाट पढ्न आउने विद्यार्थीका लागि खाट, ओढ्ने ओछ्याउने लुगा र खाना व्यवस्थापनको कुरासम्म माँङ्चाङ्बाट चलेको प्रधानाध्यापक पौडेलको भनाइ छ । धेरैजसो अत्यन्त निर्धन परिवारका नै आफ्नो विद्यालयका छात्रछात्रा रहेका पौडेलले बताउनुभयो । बालगुरु षडाननले समेत शिक्षा लिएका मानिने यो विद्यालय तश्मैया बाबा (तश्मैया नाउँका साधक, मुनि) ले स्थापना गरेर यसको सञ्चालन गुठीबाट हुने व्यवस्था मिलाएका मटिहानीका बूढापाका बताउँछन् । पछिल्लो समय शिक्षा मन्त्रालय, गुठी संस्थान र अन्य सम्बद्ध निकायको उदासीनताले पूर्वीय दर्शन र प्राचीन साहित्य अध्ययनको यो थलो क्रमशः आकर्षणविहीन बन्दै गएको यहाँका बासिन्दाको गुनासो छ । कुनै खास भूगोल क्षेत्र मात्र नभएर पूर्वीय वैदिक संस्कृतिको उज्यालो सबैतिर छर्दै आएको राजकीय संस्कृत माध्यमिक विद्यालय र याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठको संरक्षण र संवद्र्धनमा तीनै तहका सरकारले चासो बढाउनपर्ने माग अहिले बढेको छ । रासस

नेपाली बैंकले अष्ट्रेलियाका बैंकबाट के सिक्ने ? डीसीईओ थापाको विचार

काठमाडौं । केही साताअघि बैंक, फाइनान्स एण्ड इन्स्योरेन्स इन्सिच्युट नेपाल (बिफिन)ले विभिन्न बैंक तथा वित्तीय संस्थाका उच्च तहका कर्मचारीलाई अष्ट्रेलिया लग्यो । अष्ट्रेलियाको भिक्टोरिया युनिभर्सिटीको सहकार्यमा बिफिनले नेपाली बैंकरहरुलाई एक साताको तालिममा लगेको थियो । एक साताको उक्त तालिम बैंकरको एक्सपोजरका लागि थियो । अहिले विश्व अर्थतन्त्र कसरी चलिरहेको छ ? विश्व अर्थतन्त्रमा बैंकिङ क्षेत्रमा देखिएका समस्या र ब्याजदर वृद्धिदरका विषयमा तालिम केन्द्रित थियो । अष्ट्रेलियामा कर्जाको ब्याजदर कुनै समय ०.५ प्रतिशत थियो भने अहिले बढेर साढे ५ प्रतिशत पुगेको छ । यस्तै, चीन, अमेरिका, यूरोप लगायतका देशहरुमा समेत ब्याजदर उच्च छ । विश्व महामारीका रूपमा फैलिएको कोरोना भाइरसको असर नेपालमा मात्रै होइन अष्ट्रेलिया जस्तै विकसित देशहरूमा पनि छ । त्यसको प्रत्यक्ष असर बैंकिङ क्षेत्रमा पनि परेको छ । हामीलाई पढाउने अधिकांश प्रोफेसरहरु इङ्ग्ल्याण्डबाट आउनु भएको थियो । उनीहरु इङ्ग्ल्याण्डबाट आएर अष्ट्रेलियामा नै पीएचडी गरेका थिए । यस्तै, श्रीलङ्काको प्रोफेसर जो अष्ट्रेलियामा गएर बस्नु भएको थियो, उहाँले पनि हामीलाई पढाउनु भयो । अष्ट्रेलियामा अधिकांश मान्छेहरु बाहिरबाट बसाइसराई गरे बस्नु भएको छ । अष्ट्रेलियाको मेलबर्न सिटी शिक्षाको लागि हब मानिन्छ । अधिकांश नेपालीहरु पनि त्यहाँ बस्छन् । कोरोना महामारीका बेला पहिलो पटक लकडाउन हुँदा अष्ट्रेलिया सरकारले बाहिरबाट आएका सबैलाई घर पठायो । सबै विद्यार्थीहरु फिर्ता भएपछि अष्ट्रेलिया सरकार झसङ्ग भयो । बाहिरको सबै मान्छे आएर काम गरिरहेको अष्ट्रेलियामा सबै बाहिरिएपछि बर्बाद हुन्छ भन्ने सोचेपछि त्यहाँको सरकारले आफ्नो नीति परिवर्तन गर्यो । विद्यार्थी भिसामा बसेका सबैलाई भत्ता दिएर राख्याे । सबैभन्दा ढिलो लकडाउन खोल्ने राष्ट्रमा अष्ट्रेलिया पर्छ । पहिलो चरणमा अधिकांश अष्ट्रेलिया छोडेर आफ्नो देश फर्किसकेका थिए । सबै जना बाहिरएपछि सरकारले कोरोना महामारी पश्चात् एउटा अवधारणा ल्यायो । जसले पीआर पाएका थिए ती सबै प्रोफेसर, बुद्धिजिवी लगायत सबैलाई हप्तामा ४ दिन काम गर्नुपर्ने र ३ दिन आफ्नो हिसावले रमाइलो, मनोरञ्जन गर्न दिने गरी सरकारले योजना ल्यायो । हप्तामा ४ दिन मात्रै काम गर्नुपर्न व्यवस्था मिलायो । कोरोना महामारीका कारण २ वर्षमा बाहिरबाट कोही पनि मान्छेहरु आउन पाएका थिएनन् । देशभित्र रहेका अधिकांश मान्छेहरु पनि बाहिरिएका थिए । डाक्टरहरु, प्रोफेससर लगायत काम गर्ने मान्छेको अभाव हुन थाल्यो । काम गर्ने मान्छेको अभाव हुन थालेपछि रेष्टुरेन्टहरु पनि आधा दिन मात्रैे चल्न थाले । रेष्टुरेन्टमा पनि सेल्फ सर्भिस गर्नुपर्ने स्थिती आयो । जनशक्ति अभावले अधिकांश व्यापार व्यवसाय र उद्योगहरु बन्द हुन थाले । अधिकांश व्यापार व्यवसाय र कार्यालयहरु पुरा दिन चल्न नसक्ने भए । सबै काम वर्क फ्रम होम र डिजिटल्ली हुन थाले । सोही समयमा हामी गएका थियौं । कोरोना महामारीको असर थियो । प्रतिघण्टा २० डलर (अष्ट्रेलियन) मा काम पाइन्थ्यो भने बढेर ३० डलर भन्दा बढी पुग्यो । प्रतिघण्टा ३० डलरमा पनि काम गर्ने मान्छे पाउन छाडे । यस्तो अभाव विश्वाव्यापी थियो तर अष्ट्रेलियामा बढी थियो । जसले गर्दा अष्ट्रेलिया सरकारले पीआरका लागि चाहिने आवश्यकहरु क्राइटेरिया हटाएर सामान्य क्राइटेरिया भएकाले पनि पीआर पाउने व्यवस्था गर्यो । किनभने त्यहाँ मान्छेको अभाव देखिएको थियो । यो बीचमा ५/७ हजार नेपाली अष्ट्रेलिया गए । ती ५/७ हजार जनाहरुमध्ये एक जनाले न्यूनतम २० लाख रुपैयाँ खर्च गरेका छन् । त्यो सबै अर्बाैं डलर नेपालबाट बाहिर गएको छ । जसले गर्दा नेपाली बैंकिङ्ग क्षेत्रमा तरलता अभावको समस्या देखियो । पछिल्लो समय नक्कली कागजातका आधारमा पनि विदेश जानेको संख्या बढ्दो छ । पछिल्लो समय भारत र नेपालका मान्छे धेरै पढ्न अष्ट्रेलिया गए । नक्कली कागजातको आधारमा नेपालीहरु त्यहाँ गइरहेका छन् की भन्ने शंका लाग्यो । त्यसैले नेपालबाट अष्ट्रेलिया जाँदा भिसामा कडा गरियाे । हामी अष्ट्रेलियामा ७ दिनको तालिम अवधिमा विभिन्न कार्यक्रममा सहभागी भयौं । राजनीतिक, कोरोना महामारीको प्रभाव, बैंकिङ्ग लगायत सबै सिनारियोमा फरक फरक कार्यक्रममा सहभागी भयौं । त्यहि मौकामा माछापुच्छ्रे बैंकको रेमिट्यान्ससम्बन्धी विजनेश बढाउन धेरै वटा कम्पनीहरुसँग बुझ्ने अवसर पनि पाएँ । अष्ट्रेलियाको मेलबर्न, सिड्नी, क्यान्भेरा लगायतका मुख्य शहरमा पनि पुगेको थिएँ । त्यहि मौकामा नेपाली महावाणिज्यदूत चन्द्र योन्जन, नेपालका लागि अष्ट्रलियाका राजदूतसँग पनि भेट भयो । उहाँहरुसँग भेट हुँदा देशमा तरलता अभाव बढ्यो, कसरी नेपालमा रेमिट्यान्स बढी पठाउन सकिन्छ ? भन्ने विषयमा छलफल भयो । उहाँहरु र बैंकका साथीहरुसँगै बसेर छलफल गर्यौं । अष्ट्रेलियामा सबैभन्दा ठूलो समस्या हुण्डीको रहेछ । जसलाई कानुनी मान्यता दिइएको छ । त्यहाँ जुनसुकै कम्पनीले हुण्डी भनेर नाम राखेको हुन्छन् । उनीहरुले कारोबार गरे अनुसार सरकालाई कर पनि तिरेका छन् । कारोबार गरेको आधारमा उनीहरुले कर पनि तिर्छन् । चीन र हङकङ लगायतका देशमा पनि हुण्डीबाट नै कारोबार हुने गरेको छ । बैंकबाट पठाउँदा र हुण्डीबाट रेमिट्यान्स पठाउँदा डलर एक्सचेञ्जमा ५/६ प्रतिशत फरक पर्छ । एक सय डलर पठायो भने ती एक्सचेञ्ज हाउसहरुले ५/६ डलर बढी दिने गरेका छन् । त्यसकारण नेपालमा कसरी बैंकिङ्ग च्यानलमार्फत् लैजाने भन्ने विषयमा छलफल भएको थियो । हामीले पनि सल्लाह सुझाव दियौं । हुण्डिबाट आएको रकम बैंकले नेपालमा दिँदैन । कानुनी रुपमा आएका रेमिट्यान्सलाई हरेक तरिकाबाट मान्यता हुन्छ । रेमिट्यान्स पठाउँदा कर्जा लिँदा पनि सहज हुन्छ । कानुनी रपमा रेमिट्यान्स पठाउँदा हरेकमा सहज व्यवस्था भएपनि हुण्डीबाट आएको रकमलाई मान्यता छैन । बैंकहरुले अनलाइन खाता खोल्न प्रोत्साहन गरिरहेको छ । भर्चुअल्ली खाता खोल्न पनि सकिन्छ । नेपालमा रेमिट्यान्स र इन्भेष्टमेन्ट फण्डिङबाट नेपालमा डलर आउँछ । इन्भेष्टमेन्टको रकमलाई फिर्ता गर्नुपर्ने राष्ट्र बैंकको नियम छ । राष्ट्र बैंकले कुनै पनि देशको एनआरएनएले नेपालमा डलर खाता खोलेको छ भने प्रत्यक्ष रुपमा पैसा राख्न सक्ने व्यवस्था गरेको छ । त्यो रकम र त्यस बराबरको निक्षेप एक वर्षभित्र मुद्दती खातामा राख्न सकिने व्यवस्था छ । अष्ट्रेलियाको हुण्डीबाट आउने रकम र बैंकिङ च्यानलबाट रेमिट्यान्स पठाउँदा रेटको उतारचढावलाई मिलाउन सकियो भने धेरै रकम अष्ट्रेलियाबाट आउने देखिन्छ । जसले गर्दा अष्ट्रेलियाबाट आउने रेमिट्यान्स त्यति धेरै फस्टाएको छैन । रेमिट्यान्स पठाउन मैले एक?दुई कम्पनीसँग सम्झौता पनि गरेको थिएँ । त्यो अन्तिम चरणमा छ । जेजति रकम भएपनि नेपाली दाजुभाइहरुले रेमिट्यान्स पठाउनु भएको छ । समग्र देशलाई संकट परेको बेला मुख्य स्रोत रेमिट्यान्स हो । रेमिट्यान्स भित्र्याउनका लागि सरकार, राष्ट्र बैंक र बैंकहरुले गर्नुपर्ने भूमिकाका बारेमा हामीले विश्वास दिन सकेका थियौं । नेपालका अर्थतन्त्रका बारेमा जानकार भएकाहरुले नेपाली बैंक त डुब्दैनन् नि भनेर प्रश्न गर्थे । त्यो बुझाईलाई हामी सबैले परिवर्तन गर्न सक्नु पर्छ । वाणिज्य बैंक डुब्ने सम्भावना कम हुन्छ, पैसा राख्नुहोस्, पैसा राखेपछि यतैको भन्दा बढी दिन्छौं, अहिले डलर बचत खातामा ९/१० प्रतिशत ब्याज दिइरहेका छौं, अष्ट्रेलियामा पाउने कमिसन भन्दा बढी नेपालमा पाइन्छ भनेर हामीले कन्भिन्स पनि गरेका थियौं । यदि त्यो रकम फिर्ता लिन चाह्याे भने फिर्ता पनि लिन सकिन्छ । नेपालमा आएको बेला खर्च गर्न पनि पाइन्छ । हामीले सबै कुरामा विश्वास दिलाउन सक्यौ भने रेमिट्यान्स आउने देखिन्छ । अहिले सम्भावना अथाह छ । अष्ट्रेलियामा पनि अथाह सम्भावना छ । कामको खोजी छ । मान्छेको अभाव छ । त्यहाँको सरकारले अहिले माइग्रेसन हुनको लागि धेरै सहज बनाइदिएको छ । धेरै मान्छेहरु माइग्रेसनका लागि आवेदन दिन्छन् । भिजाको लागि मात्रै अफ्ठ्यारो छ । माछापुच्छ्रे बैंकले विद्यार्थी कर्जा पनि दिन्छ । यहाँबाट पैसा लिएर विदेश पढ्न गएको छ भने भोलिका दिनमा कर्जाको पैसा त तिर्नुपर्छ । रेमिट्यान्सको रुपमा पठाउँछ । मान्छेको अभाव भएको हुनाले हप्तामा २० घण्टा मात्रै काम गर्नु पर्नेलाई पनि अनलिमिटेड बनाएको छ । विद्यार्थीहरुलाई पनि । जसले गर्दा उनीहरुले कमाएको पैसा उनीहरुले कर्जा तिर्न पठायो भने बैंकमा रेमिट्यान्स पनि आउँछ र लोन पनि तिरिन्छ । सरकारका नीति र रेमिट्यान्सका बारेमा धेरै विषय बुझाउन जरुरी देखिएको छ । त्यहाँको मान्छेहरु अनविज्ञ नै छन् । उनीहरुलाई हुण्डीमा ५ रुपैयाँ दिन्छ । त्यहाँबाट नै पठाउने भन्ने उनीहरुको बुझाइ छ । हुण्डी अष्ट्रेलियामा इमफर्मल कानुनी जस्तो देखिन्छ । अष्ट्रेलियाको बैंकिङ अभ्यास अष्ट्रेलियामा ठूल्ठूला ५ वटा वाणिज्य बैंक छन् । ५ बैंकहरुमा एउटाले कर्पाेरेट सेक्टर र अर्काले रिटेल सेक्टर मात्रै हेण्डल गरेको छ । अन्य २/३ वटा बैंकहरुले मिश्रित व्यवसाय गर्छन् । क्षेत्रिय बैंक भएपनि २/३ वटा बैंकले पुरा अष्ट्रेलियालाई नै क्याप्चर गरेका छन् । अष्ट्रेलियाको ‘कमन वेल्थ बैंकले सबै रिटेल कर्जा हेर्छ भने वेस्ट प्याक बैंकले कर्पाेरेट सेक्टरलाई क्याप्चर गरेको छ । यी दुई वटा बैंकले हाल अष्ट्रेलियालाई क्याप्चर गरेको छ । बैंकिङ्ग प्रणाली व्यवस्थित हिसाबमा चलेका छन् । रिटेलमा ५ प्रतिशत ब्याजदर छ । उनीहरुको लगानी सबै क्रेडिटमा हुन्छ । त्यहाँको माहोल हेर्दा रेट बढेको छ, मुद्रास्फिति पनि बढेको छ । त्यहाँ सबैभन्दा बढी चिज उत्पादन हुन्छ । अष्ट्रेलियाको भूगोल हेर्ने हो भने १० प्रतिशत भूमी मात्रै अकुपाइड छ । अरु सबै खाली छ । खनिजले भरिएको छ । उसले प्रयोग नै गरेको छैन । त्यहाँ भेडाको फाम हाउस, गाइको फाम हाउस, मासुको लागि ल्याम उत्पादन गरेको देखिन्छ । कृषिमा उनीहरु एकदमै मजबुत छन् । उत्पादनमुलक क्षेत्रमा बढीभन्दा बढी कर्जा लगानी हुन्छ । हामीले के सिक्ने ? हामी पनि व्यवस्थित किसिले चल्न आवश्यक छ । अष्ट्रेलियाको केन्द्रिय बैंकले दिने नीति नियम र नेपालको केन्द्रिय बैंकले दिने नीति नियममा धेरै फरक छ । उनीहरु पहिलादेखि नै सिस्टममा हिँडेका बैंक पर्छन् । तलमाथि हुने बित्तीकै ठूलो जरिवाना लिने नीति छ । हाम्रोमा बैंकहरु धेरै भए । केन्द्रिय बैंकको रेगुलेटमा पनि फरक छ । नेपाल विकासन्मुख हो, अष्ट्रेलिया विकासित देश हो । उनीहरु विकसित भएकोले त्यहि हिसावले अघि बढ्दै गए । हामीहरु विकासन्मुख भएका कारण गाह्रो भएको हो । अरु देशको निती नियम नै हामीले पच्छ्याउनु पर्ने भएका कारण र राष्ट्र बैंकले निती नियम बनाउँदा बनाउँदै कन्ट्रोल गर्न नसक्ने स्थिती छ । अष्ट्रेलियामा सबै डिजिटल छ । नेपालमा डिजिटल छैन । डिजिटल भएपछि हरेक कारोबारको ट्र्याक गर्न सकिन्छ । नेपालमा डिजिटिल नभएपछि ट्र्याक हुँदैन । त्यहाँ पूर्ण रुपमा डिजिटल भएका हुनाले सबै कन्ट्रोल गर्न सकिन्छ । नेपालमा डिजिटलमा खासै प्रगति भएको छैन । कोरोना महामारीपछि डिजिटलमा ठूलो फड्को मारेको भएपनि डिजिटाइजेशनमा ट्र्याक राख्न सकिएको छैन । अष्ट्रेलियामा बाटोमा हिँड्दा वा बाटो क्रस गर्दा यदि गलत ठाउँबाट बाटो क्रस गर्याे भने पनि ४० डलर जरिवाना तिर्नुपर्छ । हिड्ने व्यक्तिलाई नै त्यतिधेरै जरिवाना छ । नेपालमा त्यो सिस्टम आउन बाँकी छ । जतिसक्दो डिजिटलमा प्राथमिकमा राख्नुपर्छ । डिजिटल्ली बैंकलाई कन्ट्रोल गर्न र नगदलाई हटाउन सकियो भने मात्रै बैंकिङ्ग सिस्टम कन्ट्रोल हुन्छ । अष्ट्रेलियामा कर्पाेरेट सेक्टरलाई पहिलो प्राथमिकमा राखेको छ । कर्पाेरेट गभर्मेन्समा सानो गल्ति हुने बित्तीकै बैंकलाई फोन जान्छ । सिस्टम बसाल्नका लागि कर्पाेरेट गभर्नेन्स हुनुपर्छ । कर्पाेरेटग भर्नेन्समा चुस्त दूरुस्त भयो भने हरेक विषयहरु सिस्टममा आउँछ । उनीहरुले यसलाई प्राथमिकतामा राखेको छ । शैक्षिक संस्थाहरुमा पनि कर्पाेरेट गभर्नेन्सका बारेमा पाठ्यक्रम राखेर विद्यार्थीहरुलाई पढाइन्छ । बैंकका उच्च तहका कर्मचारीलाई पनि सेमिनार राखेर सिकाइन्छ । ग्राहकहरु बैंकमा जाँदै जादैनन् । किनभने सबै डिजिटल्ली छ । सबै काम फोन र इमेलको भरमा हुन्छ । शाखाहरु सर्भिसका लागि मात्रै हुन्छन् । हामी ट्रान्जिस्नल फेजमा छौं । अष्ट्रेलियाको त्यो फेज कटिसकेको छ । ट्रान्जिस्नल फेजमा सानातिना गल्ति हुन्छन् । (लेखक थापा माछापुच्छ्रे बैंकका नायव प्रमुख कार्यकारी अधिकृत हुन् ।)