काठमाडौं । एनआईसी एशिया बैंकले गत आर्थिक वर्ष २०७८/८९ मा ४ अर्ब २१ करोड ५० लाख रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो आर्थिक वर्षमा बैंकले ३ अर्ब २५ करोड ९० लाख रुपैयाँ खुद नाफा गरेको थियाे। यी तथ्याङ्क बैंक लेखापरिक्षण भई राष्ट्र बैंकबाट स्वीकृत भएको वित्तीय विवरणबाट लिइएको हो ।
दुई आर्थिक वर्षमा बैंकले ७ अर्ब ४७ करोड ८० लाख रुपैयाँ खुद नाफा गरेको छ । यतिधेरै नाफा हुँदा पनि बैंकले सेयरधनीलाई दुबै आर्थिक वर्षमा लाभांश दिएको छैन । दुबै आर्थिक वर्षमा सेयरधनीको हात खाली भएको छ ।
लगानीकर्तालाई लाभांश वितरण नगर्नुको कारणबारे बैंकले औपचारिक रुपमा केही बताएको छैन । अनौपचारिक रुपमा बैंकको व्यवसाय र पुँजीकोषबीचको सन्तुलन प्रयाप्त नभएकोले राष्ट्र बैंकले लाभांश वितरणमा रोग लगाएको बुझिएको छ ।
सेयरधनीले लाभांश नपाए पनि बैंकको सेयर मूल्यमा भने सकारात्मक असर नै परिरहेको छ । सेयर मूल्यको आधारमा एनआईसी एशिया बैंक पहिलो नम्बरमा उक्लिएको छ । सोमबार एनआईसी एशिया बैंकको सेयर मूल्य प्रतिकित्ता ७६५ रुपैयाँसम्मका कारोबार भयो । यो मूल्य वाणिज्य बैंकहरु मध्ये सबैभन्दा बढी हो । दोस्रोमा नविल बैंकको सेयर मूल्य ७३९ रुपैयाँ छ भने तेस्रोमा एभरेष्ट बैंकको ४४९ रुपैयाँ रहेको छ ।
भत्ता ५० प्रतिशतले वृद्धि गरिँदै
बैंकले सञ्चालक समितिका अध्यक्ष तथा सञ्चालकहरुको भत्तामा ५० प्रतिशतसम्म वृद्धिको प्रस्ताव गरेको छ । बैठक भत्ता अध्यक्षको लागि प्रति बैठक ३० हजार रुपैयाँ बनाउन प्रस्ताव गरिएको छ । यसअघि प्रति बैंठक भत्ता २० हजार रुपैयाँ थियो । सञ्चालकहरुको भत्ता १६ हजारबाट वृद्धि गरी २४ हजार बनाउन प्रस्ताव गरिएको छ ।
अध्यक्षको लागि भ्रमण भत्ता नेपालभित्रको लागि १० हजार रुपैयाँबाट १५ हजार बनाउन लागिएको छ भने भारतको लागि दैनिक भत्ता भारु २२ हजार ५ सय (३६ हजार रुपैयाँ) बनाउन लागिएको छ । अरु देशमा दैनिक ३०० अमेरिकी डलर बनाउन लागिएको छ । त्यसैगरी दुर्घटना बीमा, पत्रपत्रिका खर्च, मोवाइल खर्चमा ५० सम्म सुविधा वृद्धि गरिएको छ । स्वास्थ्य बीमा शुल्कमा २३७ प्रतिशतले वृद्धि गरी वार्षिक २ लाख ५० हजार रुपैयाँ प्रस्ताव गरिएको छ । यसअघि वार्षिक ७४ हजार रुपैयाँ थियो । २ लाख ५० हजार रुपैयाँ बीमा शुल्कले वार्षिक ६० देखि ६५ लाख रुपैयाँसम्मको स्वास्थ्य बीमा पोलिसी लिन सकिने जानकारहरु बताउँछन् ।
बैंक सञ्चालक समितिका सदस्यहरुले गत एक आर्थिक वर्षमा करोड २० लाख ४० हजार २८ रुपैयाँ बैठक भत्ता लिएका छन् । ७ जना सञ्चालकले बैंठक भत्ता १ करोड ३ लाख ८८ हजार रुपैयाँ लिएका छन् भने मासिक भत्ता १७ लाख ५२ हजार २८ रुपैयाँ लिएका छन् ।
उक्त बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन न्यौपानेले गत आर्थिक वर्ष २०७८/७९ मा २ करोड ३४ लाख ३ हजार ५४७ रुपैयाँ तलव भत्ता बुझेका छन् । त्यसमा उनले बोनस मात्र ५२ लाख ५७ हजार २५५ रुपैयाँ आर्जन गरेका छन् । नेपालमा एउटै वाणिज्य बैंकले प्रमुख कार्यकारी अधिकृतलाई तलव, भत्ता, बोनस सहित ४ करोड रुपैयाँसम्म भुक्तानी गरेका छन् ।
बैंकले उक्त आर्थिक वर्षमा सबै कर्मचारीको लागि ४ अर्ब ५० करोड ७ लाख रुपैयाँ खर्च गरेको छ । बैंकबाट कर्मचारी, उच्च व्यवस्थापन र सञ्चालक समितिका अध्यक्ष तथा सञ्चालकले नियमित प्रतिफल लिए पनि सेयरधनी भने लाभांशबाट विमुख हुँदै आएका छन् ।