विकास खर्च बढाउन नेपाल उद्योग परिसङ्घको आग्रह
काठमाडौं । नेपाल उद्योग परिसङ्घले नवनियुक्त उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटवार्ता गरी विकास खर्च बढाउन आग्रह गरेको छ । परिसङ्घका अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको टोलीले उपप्रधानमन्त्री श्रेष्ठलाई बधाई तथा शुभकामना दिँदै विकास खर्च बढाएर आर्थिक क्षेत्रको उन्नयनमा लाग्नुपर्नेमा जोड दिएका हुन् । परिसङ्घका अध्यक्ष अग्रवालले पूर्वाधार क्षेत्रमा लगानीको आवश्यकतामा जोड दिदै यस क्षेत्रमा कम लगानी भएको, विकास खर्च कम हुँदा समग्र पूर्वाधार उद्योगमा सुस्तता आएको बताए । पूर्वाधार क्षेत्रमा सुस्तता आउँदा निर्माण व्यवसायीसहित निर्माणसँग सम्बन्धित सबै क्षेत्रमा मन्दी आएको उनको भनाइ थियो । अध्यक्ष अग्रवालले निर्माण व्यवसायीलाई भुक्तान गर्नुपर्ने रकम छिटो भुक्तानी दिन अर्थ मन्त्रालयसँग समन्वय गर्न एवम् बजेट छुट्याएर विकास परियोजना छिटो सम्पन्न गर्नेतर्फ ध्यान दिइनुपर्ने सुझाव दिए । उनले सङ्कटपूर्ण अवस्थामा रहेको मुलुकको अर्थतन्त्रलाई पुनः गति प्रदान गर्न तत्काल चालिनु पर्ने स्पष्ट कदमसहितको अवधारणा उपप्रधानमन्त्री श्रेष्ठलाई पेस गरे । परिसङ्घले अर्थतन्त्रलाई पुनः गति प्रदान गर्न वित्तीय क्षेत्र तरलता सङ्कट तथा उच्च ब्याजदर, औद्योगिक प्रवद्र्धन, पूर्वाधार, पर्यटन, ऊर्जा र सूचना प्रविधि क्षेत्रलाई प्राथमिकतामा राख्दै तत्काल गर्न सकिने उपायसमेत सुझाएको छ । परिसङ्घको बधाई तथा अर्थतन्त्र सुधारका सुझाव ग्रहण गर्दै उपप्रधानमन्त्री श्रेष्ठले अर्थतन्त्र सुधारका लागि परिसङ्घको सुझाव महत्वपूर्ण रहेको बताए । उनले समस्याको समाधान गर्दै अगाडि बढ्ने बताए । ‘जहाँ समस्या छन्, समाधान गर्ने । जहाँ कमजोरी छन् त्यसलाई सच्याउने, जहाँ छुट दिनै नसकिने छ त्यहाँ आवश्यक इन्टरभेन्सन गर्ने प्रक्रिया अगाडि बढ्नेछौँ’, उनले भने ।
पर्यटकीयस्थल बेदकोट तालसम्मको सडक कालोपत्रे
कञ्चनपुर । कञ्चनपुरको पर्यटकीयस्थल बेदकोट ताल पक्की सडक सञ्जालसँग जोडिएको छ । बेदकोट नगरपालिका ३ स्थित चुरे फेदीमा रहेको तालसम्म कालोपत्र सडक बिस्तार भएको छ । पूर्व(पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत पर्ने दैजी बजारदेखि बेदकोट तालसम्म कालोपत्र सडक विस्तार भएको वडा नं ३ का अध्यक्ष मोहन गुर्धामीले बताए । ‘दैजीदेखि बेदकोट ताल भन्दामाथि सिन्यारी भन्ने ठाउँसम्म कालोपत्र सडक पुगेको छ,’ उनले भने, ‘करिब १०/१२ किलोमिटर सडक कालोपत्र भएको छ ।’ विगतमा बेदकोट ताल पुग्नका लागि ग्राभेल सडकको बाटो हिँड्नुपर्ने बाध्यता थियो । पर्यटकीयस्थल बेदकोट ताल कालोपत्र सडक सञ्जालसँग जोडिएपछि आवातजावतमा सहज भएको स्थानीय महेश जोशीले बताए । ‘ग्राभेल सडक हुँदा आवागनमा सास्ती भाग्नु परेको थियो, अहिले कालोपत्र सडक बनेपछि सहजै ओहोरदोहोर गर्न सकिएको छ,’ उनले भने, ‘तालसम्मै गाडी चढेर पुग्न सक्छौँ ।’ कञ्चनपुरको प्रमुख पर्यटकीय गन्तव्यका रुपमा रहेको बेदकोट ताल अवलोकनका लागि आन्तरिक र बाह्य पर्यटक आउने गरेका छन् । निर्माणाधीन अवस्थामा रहेको कञ्चनपुरको दैजीदेखि डडेल्धुराको जोगबुढासम्म जोड्ने सडक योजना अन्तर्गत बेदकोट तालसम्म सडक सञ्जाल पुगेको छ । बेदकोट तालसम्म सडक सञ्जाल पुगे पनि पछिल्लो समय दैजी(जोगबुढा सडक योजनाको काम सुस्तगतिमा छ । विसं २०४२ मा निर्माण सुरु भएको दैजी(जोगबुढा सडकखण्ड अझैसम्म पूरा हुनसकेको छैन । यो सडक तराईदेखि सुदूरका पहाडी जिल्ला जोड्ने सबैैभन्दा छोटो दूरीको सडकका रुपमा हेरिएको छ ।
काभ्रेपलाञ्चोकका नौ हजार घरमा खानेपानी पुर्याइँदै
काभ्रेपलाञ्चोक । आउँदो चैत महिनाभित्र जिल्लाको तेमाल क्षेत्रका ५५ हजार बासिन्दालाई स्वच्छ खानेपानी घरघरमा पुर्याइने भएको छ । गत साल मङ्सिरमै खानेपानी आयोजनाको काम सक्ने लक्ष्य लिइए पनि कोभिड र प्राकृतिक प्रकोपका कारण उपभोक्ताको घरघरमा खानेपानी उपलब्ध गराउन सकिएको थिएन । कोरोनाको पहिलो र दोस्रो लहरका कारण तेमाल बृहत् खानेपानी आयोजनामा असर पुग्नाका साथै गत साउनमा सुनकोसी नदीमा आएको बाढीले मुहान क्षेत्रमा क्षति पुर्याउँदा उक्त आयोजना करिब एक वर्ष पछि धकेलिएको थियो । हाल पाइपलाइन विस्तार तथा धारा जडानका काम भइरहेकाले अबको तीन महिनापछि घरघरमा खानेपानी पुर्याइने उपभोक्ता समतिले जनाएको छ । ‘आउँदो चैत महिनाभित्र खानेपानी उपलब्ध गराउने उद्देश्यका साथ काम भइरहेको छ’, समितिका अध्यक्ष सङ्ग्रामजित लामाले भने । उनले आयोजनाको करिब ९८ प्रतिशत काम सकिएको र हाल मुहानलाई थप सुरक्षित गरी पुरानै अवस्थामा फर्काएर पानी प्रशोधनको काम भइरहेको बताए । अध्यक्ष लामाका अनुसार २३ ट्याङ्कीमा पानी परीक्षण भइसकेको र मेनलाइन तथा शाखा लाइनमा पाइप बिछ्याएर घरघरमा धाराका लागि सामग्री वितरण भइरहेको छ । प्रशोधन केन्द्रदेखि वितरण ट्याङ्कीसम्मको पाइपमा समेत पानी परीक्षण भइसकेको जनाइएको छ । हाल तेमाल गाउँपालिका–१ सस्यूखर्क र आधावाट, वडा नं ७ को चापखोरी, वाडा नं ५ को याङ्वेल तथा नमोबुद्ध नगरपालिका–५ कोटतेमाल र कालीमाटीका करिब नौ सय घरमा खानेपानी पु¥याइएको उनले जानकारी दिए । तेमाल क्षेत्रका नौ हजार तीन सय १० परिवारका करिब ५५ हजार बासिन्दाका लागि उक्त आयोजना सञ्चालन गरिएको हो । पाइपको मेनलाइनअन्तर्गत ५० किलोमिटर पाइप उपभोक्ताले खाल्डो खनेर बिछ्याउनुपर्ने सम्झौता गरिएकामा सोही अनुसार ३१ किमी पाइप बिछ्याइएको छ । यसैगरी रोशी गाउँपालिका–७ कटुञ्जेस्थित एक सय १० घरपरिवारका लागि एक महिनाभित्रै उक्त आयोजनाको खानेपानी वितरणका लागि याङ्बेल डाँडामा आयोजनाको चार लाख लिटर क्षमताका दुई मुख्य ट्याङ्की निर्माण गरिएको छ । आयोजनाको छुट भएका केही निर्माणको काम गर्न सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाबाट हालै १० करोड ३४ लाख ४१ हजार उपलब्ध गराइएको छ । उक्त आयोजनाका लागि पाँच करोड बराबरको जनश्रमदान भएको अध्यक्ष लामाले बताए । आयोजना सम्पन्न भएपछि तेमाल क्षेत्रका ५५ हजार बासिन्दालाई खानेपानी उपलब्ध हुनेछ । लिफ्टिङ प्रविधिको तेमाल खानेपानीको मुहान सुनकोसी नदी किनारमा छ । गत वर्षको पहिलो बाढीले उक्त खानेपानीको मुहान रहेको स्थान तेमाल गाउँपालिका–२ र ३ को सिमाना सुनकोसी नदीकिनार चुखाबेंसीमा गत साउन १७ र १९ गते आएको बाढीले क्षति पुर्याएपछि आयोजनाको मुहान क्षेत्रमा निर्माण लिफ्टिङ ट्याङ्कीमा क्षति हुन नदिन सुरक्षित गरिएको छ । बाढीले त्यतिबेला आयोजनाको ६० लाखभन्दा बढी पूर्वाधारमा क्षति पुर्याएको थियो भने करोडौका संरचनामा जोखिम हुने स्थितिमा पुर्याएको थियो । तेमाल क्षेत्रअन्तर्गत उक्त गाउँपालिकाको नौवटा वडा, नमोबुद्ध नगरपालिकाको ३, ४ र ५ तथा रोशी गाउँपालिकाको सात नं वडाका बासिन्दाले सो खानेपानी उपभोग गर्न पाउने भएका हुन् । विसं २०७२ असार महिनामा सम्झौता भएको आयोजनाको काम गत साल मङ्सिरमा सक्ने लक्ष्य राखिए पनि कोरोना महामारीका कारण काममा निरन्तरता नहुँदा तथा बाढीले संरचनामा क्षति पुर्याउँदा केही पछि धकेलिएको थियो । अध्यक्ष लामाका अनुसार हाल खानेपानी वितरणको पाइपलाइन बिछ्याइने कार्यसमेत अन्तिम चरणमा पुगेको छ । खानेपानी विभागले उपलब्ध गराएको एक अर्ब २७ करोड, गाउँपालिकाको एक प्रतिशत र स्थानीय उपभोक्ताको नौ प्रतिशत जनश्रमदानमा सञ्चालन गरिएको आयोजनामध्ये दुई चरणमा सुनकोसी नदीबाट १२ किलोमिटरको उचाइमा लिफ्टिङ गरी खानेपानी उपलब्ध गराउन संरचना बनिसकेका छन् । रासस
नेपालको दोस्रो सुरुङमार्ग सिद्धबाबाको डिजाइन स्वीकृतिको प्रक्रियामा
काठमाडौं । नेपालको दोस्रो सुरुङमार्गको डिजाइन सकिएर स्वीकृतिको तयारी अघि बढाइएको छ । सिद्धार्थ राजमार्ग अन्तर्गतको सबैभन्दा जोखिम खण्ड अन्तर्गतको सिद्धबाबामा सुरुङसँगै ‘रकसेड’को डिजाइन सकाएर प्रतिवेदन बुझाइएको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रले जनाएको छ । केन्द्रका सूचना अधिकारी सिनियर डिभिजनल इञ्जिनियर सौरभ बज्राचार्यले गत साता डिजाइन बुझाइएको र अहिले समीक्षा रिभ्यूको काम भइरहेको बताए । ‘हामीसँग रिभ्यूका लागि ४५ दिनको समय छ, सो अवधिभित्र स्वीकृति दिनुपर्छ ।’ निर्माण कम्पनीले तयार गरेको डिजाइन केन्द्रले भने अनुसार नभए हेरफेर हुने सूचना अधिकारी बज्राचार्यले बताए । केन्द्रले आवश्यक भनेका कुरा समेटिएको भएमा भने स्वीकृत हुने उनको भनाइ छ । ‘सडक विभागले स्वीकृत गरेपछि फिल्डमा काम हुन्छ’, उनले भने । केन्द्रका अनुसार निर्माण व्यवसायी र विदेशी इन्डिपेन्डेन्ट चेकर स्वतन्त्र जाँच गर्ने व्यक्तिसँग यसमा छलफल हुनेछ । आगामी साता कम्पनीसँग परामर्श बैठक हुने र केही परिवर्तन गर्नु नपरे डिजाइनअनुसार निर्माण अघि बढ्ने उनको भनाइ छ । योजना निर्माणको जिम्मेवारी चाइना स्टेट इञ्जिनियरिङ कन्स्ट्रक्सन कपार्नेरेसनले पाएको छ । सोही कम्पनीले अहिले नारायणगढ–बुटवल सडकखण्डमा काम गरिरहेको छ । गतवर्ष भएको ठेक्काको निर्माण अवधि चार वर्षको हुनेछ । जसमा पहिलो वर्ष डिजाइनमा र बाँकी तीन वर्ष निर्माणमा खर्च हुनेछ । निर्धारित समयभन्दा अघि नै डिजाइन सकाइएको छ । ‘अब डिजाइन स्वीकृत भएपछि एकदुई महिना सामान जुटाउन लाग्छ र त्यसपछि निर्माणमा जानेछ’, उनले भने । दुई दिन पहिलेबाट निर्माणस्थलमा तयारीका लागि पर्खाल लगाउने, फाउण्डेसन मिलाउनेलगायतका काम सुरु भएको केन्द्रको भनाइ छ । निर्माणअघि सिद्धबाबाको मन्दिर चढ्ने पहिलो भर्याङ भत्काउनुपर्ने र मन्दिर पछाडिको भवन केही भाग भत्काउनुपर्ने सूचना अधिकारी बज्राचार्यले बताए । स्थानीयले नभत्काए हुन्थ्यो भन्ने सुझाव आए पनि त्यो नभत्काई काम गर्न नसकिने उनले बताए । उनले भने, ‘सकेसम्म बचाउन प्रयास भएको हो तर भत्काउनै पर्ने भएको छ ।’ सुरुङ निर्माणका लागि वन क्षेत्रको प्रारम्भिक वातावरणीय परीक्षण आइइई प्रक्रियामा छ । पहिलेको सडक क्षेत्रमा नै योजना बन्ने हुँदा वन क्षेत्र धेरै नपर्ने उनले बताए । सडक सीमाभित्रै काम गरिने र धेरै रुख काट्नुपर्ने नभएकाले निर्माणको क्रममा धेरै समस्या नआउने अनुमान गरिएको छ । निर्माण कम्पनीले सुरुमा सुरुङको मुखबाट काम सुरु गर्ने गरी कार्ययोजना बनाइनेछ । सुरुङ र रकसेड सँगसँगै निर्माण गर्दा सडकमा व्यवस्थापनमा समस्या पर्ने हुँदा एउटा सकाएर अर्को गरिने उनले बताए । सुरुङ सकिएर त्यहाँबाट गाडी गुड्न थालेपछि रकसेड निर्माण अघि बढाइने उनको भनाइ छ । उनले भने, ‘सुरुङ धेरै लामो छैन भने सुरुङ निर्माण एकैपटक दुबैतिरबाट हुँदा सवारी व्यवस्था गर्न गाह्रो हुने भएकाले एकातर्फबाट गर्दा ठीक हुन्छ ।’ अहिलेसम्म निर्माणको अवधिमा कसरी सवारी व्यवस्थापन गर्ने भनी कार्ययोजना व्यवसायीले केन्द्रलाई दिइसकेको भने छैन । पहिले डिजाइन स्वीकृत भएपछि कार्ययोजना आउने उनको भनाइ छ । निर्माणका हिसाबले नेपालको दोस्रो सुरुङमार्गका रुपमा रहेको सिद्धबाबा सुरुङमार्गको निर्माण लुम्बिनी प्रदेशसँगै देशको पूर्वाधार विकासका हिसाबले महत्वपूर्ण छ । बाह्रै महिना खस्ने पहिराका कारण धेरै जनधनको क्षति हुने सो ठाउँमा सुरुङ निर्माण गर्न लागिएको हो । नेपालमा पहिलो पटक बन्न लागेको ‘रकसेड’ले पहिरोको व्यवस्थापन गरी क्षति कम गराउने अपेक्षा गरिएको छ । सुरुङ दुई लेनको हुनेछ । यहाँ चल्ने गाडीमध्ये पनि मुख्य सवारीसाधनलाई सुरुङबाट पठाइने र साना र कम क्षमताको सवारीसाधनलाई ‘रकसेड’बाट पठाउने गरी योजना बनाइएको छ । ठेला गाडा, साना टेम्पो कम लोडको रकसेडबाट पठाइने र अरु सवारीसाधन सुरुङबाटै जानेछन् । सुरुङको लम्बाइ एक हजार दुई सय मिटर मिटरको हुनेछ । सरकारको आफ्नै लगानीमा निर्माण हुन लागेको सुरुङमार्गले गुल्मी, पाल्पा, अर्घाखाँची, स्याङ्जा, कास्की, पर्वत, बागलुङलगायत दर्जन बढी जिल्लासीलाई सुविधा पुग्नेछ । सुरुङ सञ्चालनमा आएपछि सम्भावित दुर्घटना कम गराउन र यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
नेप्सेमा साढे ३ अर्बको कारोबार, ४ कम्पनीमा लाग्यो सर्किट
काठमाडौं । मंगलबार सामान्य अंकले सेयर बजार घटेको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)को अनुसार सोमबार ३.०३ अंकले सेयर बजार घटेर २०६१.०६ विन्दुमा पुगेको छ । नेप्सेको अनुसार मंगलबार बजार घटे पनि कारोबार रकम सोमबारको भन्दा बढ्नुको साथै ४ कम्पनीहरुमा सकारात्मक सर्किट लागेको छ । आज ८२ लाख कित्ता सेयर किनबेच हुँदा तीन अर्ब ४५ करोड रुपैयाँको कारोबार भएको नेप्सेले जनाएकाे छ । यस्तै, स्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेड, धौलागिरी लघुवित्त वित्तिय संस्था, खपत्तड लघुवित्त वित्तिय संस्था र अजोड इन्स्योरेन्सको सेयर मूल्यमा सर्किट लागेको छ । आज सबैभन्दा बढी कारोबार हिमालयन डिस्टिलरीको भएको छ । भोली (पुस २० गते, बुधबार) बुक क्लोज रहेको यस कम्पनीको ४३ करोड रुपैयाँको सेयर कारोबार भएको हो ।
उपप्रधानमन्त्री श्रेष्ठले गरे यातायात कार्यालयको आकस्मिक अनुगमन
काठमाडौं । सवारी चालक अनुमति लिनका लागि नागरिकले भोग्नुपरको समस्याको समाधानका लागि उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले पहल थालेका छन् । उपप्रधानमन्त्री श्रेष्ठले आज एकान्तकुनास्थित यातायात कार्यालयको अनुगमन तथा निरीक्षण गरेका छन् । उनले त्यस अवसरमा सेवाग्राहीसँग पनि अन्तरक्रिया गरेका उनका स्वकीय सचिव विजय गौतमले जानकारी दिए । उपप्रधानमन्त्री श्रेष्ठले कार्यालयका प्रमुख तथा कर्मचारीलाई नियमानुसार काम गर्न निर्देशन दिँदै कुनै पनि गुनासो आए सरकारले कारबाही गर्ने बताए । अनुगमनका क्रममा मन्त्री श्रेष्ठले सेवाग्राही एवम् सर्वसाधारणसँग अन्तरक्रिया गरेका छन् भने गुनासो सुन्दै सेवा सुधारमा आफू लागिपरेको बताए । उनले सेवा प्रभावकारी र सहज बनाउन कार्यालय प्रमुख र कर्मचारीलाई निर्देशन पनि दिएका छन् । मन्त्री श्रेष्ठले सेवा दिने समय बढाउन, छिटोछरितो ढङ्गले काम गर्न र अनियमितता, बिचौलियाको प्रभाव र सेटिङको अन्त्य गर्न निर्देशन दिए । कहीँकतैबाट गलत भएको जानकारी आए तत्काल कारबाही गर्ने उनले चेतावनी दिए । यस्तै उनले सवारी चालक अनुमति कार्यालय ठूलो भ¥याङ र यातायात व्यवस्था कार्यालय मोसा गुर्जुधाराको अनुगमन तथा निरीक्षण गर्नेछन्।
निर्वाचन आयोगविरुद्ध बालेनले दिए सर्वोच्च अदालतमा रिट
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले निर्वाचन आयोग विरुद्ध सर्वोच्च अदालतमा रिट दिएका छन् । आयोगले समयमा निर्वाचन खर्च विवरण नबुझाएउने स्थानीय तहको निर्वाचनका उम्मेदवारलाई जरिवाना तिराउने निर्णय गरेकोविरुद्ध बालेनले सर्वोच्चमा रिट दर्ता गराएका हुन् । उनले कानुनले ताेके अनुसार ३० दिनभित्र निर्वाचन खर्चको विवरण पेश गर्नु पर्नेमा ३० औं दिनमा सार्वजनिक विदा परेकाले त्यसको भोलिपल्ट असार १२ गते विवरण पेश गरेको दावी गरेका छन् । बालेनसहित स्थानिय तहका धेरै उम्मेदवारलाई आयाेगले समयमा निर्वाचन खर्च विवरण नबुझाएकाे भन्दै जरिवाना ताेकेकाे छ ।
विदेशबाट फर्किएर व्यावसायिक पशुपालन, मनग्य आम्दानी
दमौली । मनग्य आम्दानी हुन थालेपछि तनहुँका किसान पशुपालनतर्फ आकर्षित हुन थालेका छन् । विदेशमा गएर पसिना बगाउनुभन्दा स्वदेशमै बसेर काम गर्दा विदेशकै जति नै आम्दानी हुने भएपछि पशुपालनतर्फ आकर्षित भएका हुन् । सोह्रवर्ष वैदेशिक रोजगारीमा रहेका म्याग्दे गाउँपालिका–४ सिस्नेरी निवासी बमबहादुर थापाले स्वदेश फर्किएर बङ्गुरपालन गरिरहेका छन् । कुवेत छँदा आम्दानीको स्रोत राम्रै रहेपनि नेपालमै गएर केही गर्ने सोच राखेर थापा बङ्गुरपालनमा लागेका हुन् । विदेशमा राम्रो कमाइ हुँदाहुँदै पनि नेपालमा आएर परिवारसँगै केही गरौँ भन्ने भावनासहित थापाल लाङघाली कृषि फार्म दर्तागरी बङ्गुरपालनलाई अगाडि बढाएका छन् । थापाले आफ्नै जग्गामा १५ लाख रुपैयाँको लगानीमा बङ्गुरपालन व्यवसाय सुरु गरेका हुन् । उनी भन्छन्, ‘कति अर्काको देशमा श्रम बेच्ने, घरपरिवारसँग टाढिएर बस्ने बाध्यतालाई बिट मार्दै दश रोपनी जग्गामा बङ्गुरफार्म सञ्चालन गरेको हूँ ।’ डेढ वर्षअगाडि स्थापित फार्ममा अहिले ३३ वटा बङ्गुर छन् । बङ्गुरको स्याहारसुसारमा परिवार नै तल्लिन रहेको थापा बताउँँछन् । ‘विदेशमा बगाउने पसिना स्वदेशमै बगाउन आत्मनिर्भर बन्न सकिन्छ, त्यसमाथि परिवारसँगै बसेर व्यवसाय गर्न पाउँदा सन्तुष्ट छु,’ उनले भने । तर बङ्गुर बिक्रीका लागि बजारको समस्या रहेको थापाको गुनासो छ । ‘आफ्नो मासु बेच्ने पसल नहुँदा बङ्गुरले मूल्य पाउन सकिरहेको छैन, यसतर्फ सम्बन्धित निकायसँग अनुरोध गरेको छु,’ थापाले भने । बङ्गुर उत्पादनका लागि कुनै समस्या नभएपछि बजार नहुँदा किसानलाई मार परेको उनको भनाइ छ । ‘व्यवसायमा लाखौँ लगानी भएको छ, तर बजार अभाव छ, बङ्गुर कहाँ बेच्ने भन्ने समस्या बढ्दै गइरहेको छ,’ उनले भने, ‘बङ्गुर बिक्रीका लागि बिचौलिया लगाउनुपर्ने बाध्यता छ ।’ बङ्गुरको पाठापाठी बिक्री गर्ने गरेता पनि अन्य स्थानबाट आयात हुने पाठापाठीसँग प्रतिस्पर्धा गर्न गाह्रो परिरहेको उनको भनाइ छ । विगतमा प्रति पाठापाठी सात हजार पाँच सयमा बिक्री गर्ने गरे पनि अहिले छ हजारमा बेच्नुपर्ने बाध्यता रहेको उनी बताउँँछन् । ‘तीव्र प्रतिस्पर्धा हुने, दानापानीको मूल्य बढ्ने तर बङ्गुरको मूल्य घटाएर बेच्नुपर्ने बाध्यता छ,’ उनले भने, ‘गाउँपालिकाले बजारको खोजी गरिदिए सहज हुन्थ्यो ।’ म्याग्दे गाउँपालिका–६ का अमृत थापा र गुरुप्रसाद पौडेलले ६ करोड रुपैयाँँ लगानी गरेर पोल्टी फार्म सञ्चालनमा ल्याएका छन् । जिल्लालाई अण्डामा आत्मनिर्भर बनाउने उद्देश्यसहित सञ्चालित पोल्टी फार्ममा हालसम्म छ करोड लगानी भएको छ । पोल्टी फार्ममा हाल १९ हजार लेयर्स कुखुरा रहेका छन् । फार्मबाट दैनिक १५ हजार गोटा अण्डा उत्पादन हुँदै आएको छ । फार्मका सञ्चालक थापाका अनुसार त्यहाँ नौ जनाको परिवारले रोजगारी पाएका छन् । व्यवसाय सञ्चालनका क्रममा मासिक ३५ लाख खर्च हुँदै आएको छ । १९ हजार कुखुरालाई दैनिक एक लाख २० हजार दानामा खर्च हुँदै आएको छ । उक्त पोल्टी फार्म ५३ रोपनी जग्गामा फैलिएको छ । बाटो राम्रो नहुँदा ढुवानी खर्च महँगो पर्ने गरेको थापाको भनाइ छ । जिल्लामै दाना उद्योग नहुँदा बाहिर जिल्लाबाट दाना ल्याउनुपर्ने बाध्यता रहेको छ । ‘चितवन र पोखराबाट कुखुराका लागि दाना ल्याउनुपर्छ, फार्मसम्म ल्याउनका लागि ट्याक्टरको प्रयोग गर्नुपर्छ । त्यसले गर्दा पनि खर्च बढ्छ,’ उनले भने । स्थानीय बजारले अण्डाको उत्पादन धान्न नसक्ने भएपछि यहाँ उत्पादित अण्डा छिमेकी जिल्लामा पनि निर्यात हुँदै आएको छ । त्यसका अतिरिक्त चितवन, पोखरा, काठमाडौँसम्म अण्डा निर्यात हुने गरेको सञ्चालक थापाले बताए । अण्डा बिक्रीका लागि बजारको समस्या नरहेको उनी बताउँँछन् । लामो समयदेखि लेयर्स कुखुरा उत्पादनमा लागेको हुँदा अब चल्ला उत्पादन, अण्डा उत्पादनमा सबै ज्ञान प्राप्त भइसकेको उनको भनाइ छ । ‘लामो समयदेखि यही व्यवसायमा संलग्न भएकाले कुनै पनि रोग लागेमा त्यसको पहिचान र समाधान आफैले गर्न सक्ने भएको छु’ उनले भने । चल्ला हुर्काउन अत्यन्त जोखिम रहेकाले निश्चित तापक्रम दिनुपर्ने हुँदा आफै यसका लागि खट्ने गरेको उनले बताए । फार्ममा भएको कूल कुखुरामध्ये ८० प्रतिशतले अण्डा दिने गरेको छ । दिनमा १५ हजार अण्डा उत्पादन हुने हुँदा अण्डा खरिदका लागि आफै व्यवसायी फार्मसम्म आउने गरेको उनले बताए । ‘अण्डा बिक्रीका लागि अन्यत्र भौतारिनुपर्दैन, व्यवसाय गरेपछि आम्दानी त हुन्छ नै त्यो भन्दा बढी स्वदेशमै बसेर व्यवसाय गर्दा आत्मसन्तुष्टि मिलेको छ,’ उनले भने । म्याग्दे गाउँपालिका–४ का समीक्षा श्रेष्ठले भैँसीपालनबाट मनग्य आम्दानी गर्दै आएकी छिन् । बैंकबाट ऋण काढेर भैँसीपालन सुरु गरेकी श्रेष्ठले भैँसीपालनबाट मनग्य आम्दानी हुन थालेपछि स्वदेशमै सन्तुष्ट रहेको बताइन् । असिम भैँसीफार्मका सञ्चालक श्रेष्ठले मासिक ५० हजार बचत गर्दै आएकी छिन् । श्रेष्ठले आठ रोपनी जग्गा भाडामा लिएर भैँसी पालिरहेकी छिन् । प्रति भैँसी दुई लाख ५० हजारका दरले छ वटा भैँसी खरिद गरेर व्यवसाय सुरु गरेकी उनले भनिन्,’विदेशमा गएर श्रम गर्नुभन्दा घरपरिवारका साथ व्यवसाय सुरु गर्दा आनन्द आएको छ ।’ आखिर जहाँ गएपनि श्रम गर्नुपर्ने भन्दै श्रेष्ठले देशमै केही गरौँ भन्ने मनसायबाट पशुपालनतर्फ लागेको बताइन् । ‘स्वदेशमा बसेर के गर्ने भन्ने सोचिरहेको थिएँ, पशुपालनमा राम्रो सम्भावना छ भन्ने सबैको सल्लाहपछि भैँसीपालनलाई अगाडि बढाएको छु,’ श्रेष्ठले भनिन् । उनको फार्ममा अहिले १३ वटा भैँसी छन् । भैँसीका लागि आवश्यक घाँसका लागि श्रेष्ठले जग्गा भाडामा लिएकी छिन् । उनका अनुसार हालसम्म करिब ३० लाख रुपैयाँँ लगानी भएको छ । भैँसीफार्मबाट दैनिक ४० लिटर दूध उत्पादन हुने गरेको छ । दूध बिक्रीका लागि बजारको समस्या नरहेको श्रेष्ठ बताउँछिन् । ‘दूधले राम्रो बजार पाइरहेको छ, बजार पाइएन भनेर कहिल्यै चिन्तित हुनपरेको छैन,’ श्रेष्ठ भन्छिन्, ‘स्थानीय थर्पु बजार तथा आसपासमा दूध बिक्री भइरहेको छ ।’ बजार सानो भए पनि दूध बिक्रीका लागि समस्या नहुँदा खुसी लागेको उनले बताइन् । मासिक ५० हजार रुपैयाँँ बचतले घरपरिवार राम्रोसँग चलेको श्रेष्ठ बताउँँछन् । ‘सबै खर्च कटाएर मासिक ५० हजार कमाउँछु, यति रकमले घरखर्च चलाउन सहयोग पुगेको छ,’ उनले भनिन्, ‘व्यवसायलाई विस्तार गर्ने सोच बनाएको छु ।’ म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले युवा विदेश नगइ स्वदेशमै व्यवसाय गर्दा आत्मनिर्भर बन्न सहयोग पुग्ने बताए । ‘युवा उत्पादनमा जोडिनुपर्छ, व्यवसाय प्रबद्र्धनका लागि पालिका सहयोग गर्न तयार छ,’ उनले भने ।