विकासन्युज

अब कुमारी नम्बर वान बैंक बन्छ, सेयरधनीलाई खुसी बनाउँछौं : अध्यक्ष राणासँगको कुराकानी

कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक मर्जर भएर कुमारी बैंक बनिसकेको छ । दुवैं बैंकबीच एकिकृत कारोबार पनि भइसकेको छ । एनसीसी बैंकको प्रधान कार्यालय र विभिन्न शाखाहरुमा कुमारी बैंकको होर्डिङ्ग बोर्ड झुण्डिन थालिसकेको छ । मर्जर सम्झौता भएको ३ महिनामा नै एकीकृत कारोबार गरेर देखाउने बैंकको रुपमा पनि कुमारी बैंक चिनिएको छ । बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) रमेश अर्याल बनेका छन् भने अध्यक्ष अमिरप्रताप ज.ब. राणा बनेका छन् । मर्जर सम्झौता गरेको छोटै समयमा एकीकृत कारोबार गर्न सफल कुमारी बैंकका अध्यक्ष राणासँग विकासन्युजका लागि रामकृष्ण पौडेल र सन्तोष रोकायाले कुमारी बैंकको बिजेनस, आगामी योजना र समसामयिक विषयवस्तुमा कुराकानी गरेका छन् । बैंकहरुले लगानीकर्तालाई दिने प्रतिफल पातलिँदै गएको छ, कम प्रतिफलकै कारण बैंकहरुबाट सेयरधनीहरु बाहिरिएको भन्ने पनि सुनिन्छ, तपाईं पनि कुमारी बैंकको लगानीकर्ता हो, तपाईंले चाहिँ के सोचिरहनु भएको छ, बैंकलाई कसरी अगाडि बढाउने योजना बनाउनु भएको छ ? पुराना र ठूला लगानीकर्ताले बैंक छोड्छन् जस्तो मलाई लाग्दैन । सबै जना कर्मठ रुपमा काम गरिरहनु भएको छ । बिके श्रेष्ठ, पृृथ्वीबहादुर पाँडे, प्रचण्ड श्रेष्ठ र राजेन्द्र खेतान लगायत ठूला र पुराना बैंकका सेयरधनीहरु मिहिनेत गरेर काम गरिरहनु भएको छ । अहिले बैंकहरुको प्रतिफलमा केही संकुचन आएको छ । पहिले बैंकहरुमा खासै ठूलो प्रतिस्पर्धा थिएन । अहिले प्रतिस्पर्धा बढेको छ । राष्ट्र बैंकबाट पनि धेरै नीति परिवर्तन भएका छन् । यसले पनि बैंकहरुको बिजनेस भोलुम घटेको छ । यसले पनि प्रतिफल घटेको हुन सक्छ । बैंकिङ स्थायी रुपमा हेर्नु पर्ने व्यवसाय हो । बैंक व्यवसाय भनेको आज खोलर भोलि बन्द हुने व्यवसाय होइन । एक पटक खोलेपछि जुनीजुनीलाई हुनु पर्ने व्यवसाय हो । तर्क संगत रुपमा भोलुमको सस्टेन हेर्नु पर्छ, प्रतिफलको दरलाई एउटा ठाउँमा राखेर कामको भोलुम हेर्ने हो । भारतमा पनि बैंकले दिने प्रतफिल एकदमै कम छ । भारतमा सबैभन्दा बढी प्रतिफल दिने बैंकले १० प्रतिशत प्रतिफल दिन्छ । नेपाली बैंकमा एउटा अभ्यास बिग्रिएको छ । पहिले बैंकहरुले २५/३०/४० प्रतिशतसम्म प्रतिफल दिए । तर, अहिले अवस्था त्यस्तो रहेन । त्यसैले पनि अहिले पातलिएको हो । अहिले मुद्दति निक्षेपमा राख्दा १३ प्रतिशत पाउँछु र बैंकमा लगानी गर्दा औसतमा १२ प्रतिशत पाउँछु भन्ने मानिसिकता पनि हुन सक्छ । तर, अहिलेको परिस्थितको कारणले हो । सधैं यही अवस्था रही रहँदैन । बैंकहरुले नयाँ–नयाँ प्रेडक्ट लिएर आउनु पर्यो । नयाँ–नयाँ सोचका साथ काम गर्नु पर्यो । उत्पादनशीलता बढाउनु पर्यो । धेरै शाखा खोलेर धेरै बिजनेस गर्छु भन्ने दिन गइसक्यो । लागत घटाउने तर्फ जानु पर्छ । धेरै देशहरुको बैंकहरुमा कर्मचारीहरु घटिरहेका छन्, किनकी त्यहाँका बैंकहरु प्रविधिमा गए । मान्छेहरु जागिरविहिन भइरहेका छन् । तर, मान्छेले आर्जेको ज्ञान अन्य ठाउँमा पनि काम लाग्छ । बैंकमा मात्रै काम गर्नु पर्छ भन्ने छैन । सेयरधनीहरु बाहिरिने कुरा धेरै समस्या होइन । कुनै लगानीकर्ताहरु आफ्नो व्यक्तिगत कारणले पनि बाहिरिएका हुन सक्छन् । प्रतिफलकै कारण भन्न मिल्दैन । बैंकहरुको प्रतिफल अब घट्दैन भन्ने तपाईंको बुझाइ हो ? बैंक आफैमा पनि सुदृढ हुनु पर्छ । प्रतिफल बढाउनका लागि सञ्चालक समिति चुस्त हुनु पर्छ । व्यवस्थापन टीमलाई काम गर्न दिनु पर्यो । बोर्डको माइनुट काखी मुनि च्यापेर हुँदैन । म भन्छु भनेर बैंकको निर्णयको माइन्युट काखीमुनी च्याप्ने अनि एक सातापछि साइन गरेर दिने परिपाटीले बैंकको प्रगति हुँदैन । यस्तो पनि कतिपय बैंकमा भएको छ । तर, यसरी बैंक चल्दैन । तपाईं कुमारी बैंकलाई कसरी अगाडि बढाउँदै हुनुहुन्छ, तपाईंको अबको योजना के हो ? मेरो अबको योजना ‘प्लेन एण्ड सिम्पल’ छ । बैंकलाई पारदर्शी बनाउने, प्रडक्टिभिटी बढाउने, त्यसको मेकानिज्म विकास गर्ने र नयाँ–नयाँ प्रडक्टहरु बनाउने हो । हाम्रो बोर्डमा कुनै समस्या छैन । अब हाम्रो बाटो क्लियर छ । अब हाम्रो लक्ष्य भनेको नम्बर वान नै हो । अबको पाँच वर्षभित्र नम्बर वान बैंकका रुपमा चिनाउने हो । हिजोको दिनमा कुमारी बैंक २४/२५ नम्बरमा थियो । गत एक वर्षभित्र ९ नम्बरमा आयो । मर्जरपछि ४ नम्बरमा आइपुगेका छौं । यो प्रगति भनेको ३ वर्षको मात्रै हो । अबको लक्ष्य भनेको प्रतिफलमा नम्बर वान नै हो । यदि मैले त्यो गर्न सकिँन भने म पारदर्शी छैन भन्ने बुझ्नु पर्छ । पुँजीको हिसाबले हामीभन्दा ठूलो बैंक तीन वटा मात्रै छन् । पुँजीले हाम्रो प्रतिफलाई रोक्दैन । कुमारी र एनसीसी बैंकबीच एकीकृत कारोबार पनि भइसेकेको छ, अब बैंक कसरी अगाडि बढ्छ ? अब बैंक एउटै भइसक्यो, यो मेरो यो तेरो भन्ने छैन । एनसीसीको कर्मचारी, कुमारीको कर्मचारी भन्ने छैन । अब हामी सबै एउटै हो । हिजोको दिनमा म एनसीसीको भएपनि अब कुमारीको सीईओ हो । अब हामी एउटै हो । मर्जर भइसकेपछि पनि धेरै संस्थाहरुमा सिनर्जी इफेक्ट देखिएन, प्रतिफल पनि खासै बढेन, यो हेर्दा त पुँजी ठूलो भएर मात्रै नहुँदो रहेछ नी ? पुँजी हेरेर मात्रै हुँदैन । बोर्डले कत्तिको सपोर्ट गरेको छ भन्ने पनि हेर्नु पर्छ । म्यानेज्मेन्टले कसरी काम गरिरहेको छ भन्ने विषय पनि महत्वपूर्ण हो । यस्तो कुनै समस्या कुमारीमा छैनौं । हामी सहकार्य र समन्वय गरेर अगाडि बढ्छौं । संस्था जति ठूलो भयो त्यति नै बढी जोखिम हुन्छ भन्ने चिन्ता तपाईंमा छैन ? त्यो चिन्ता एक थोपा पनि छैन । म बैंकलाई कतातर्फ लैजान्छु भन्नेमा म प्रष्ट छु । तस्वीर र बाटो क्लियर छ । एनसीसी बैंकबाट आएका सञ्चालक, व्यवस्थापन के कस्ता हुन्छन् भन्ने विषयमा पनि दुविधा छैन । बैंकको चिन्ता गर्नु भनेको आफ्नो क्षमतालाई संशय गर्नु हो । तरलताको समस्याले के होला ? नियामकले कस्तो नीति ल्याउला ? अर्थनीति कस्तो आउँछ ? भन्ने विषय फरक हो । यसले सबै बैंकहरुलाई नै प्रभाव पार्छ । बैंकहरुको नाफाको विषयलाई लिएर विभिन्न टिकाटिप्पणी हुने गरेकाे छ, नियामकले पनि विभिन्न नीतिमा कडाइ गरिरहेको छ, यी घटनाक्रम र परिदृश्यहरुले त बैंकलाई र बैंकको प्रतिफलमा पनि असर गर्छ भन्ने लाग्दैन ? देशको स्थिति राम्रो हुँदा बैंकले कति कमाइरहेको छ भन्ने विषय आएन । देशको स्थिति सधैं यस्तै रहँदैन । आज देशको स्थिति खराब छ त्यसैले उद्योगी व्यवसायी साथीहरुलाई समस्या भएको हो । म पनि उद्योगी हो, त्यो समस्या मलाई पनि परेको छ । अलिकति ब्याज कम भए हुने भन्ने मेरो पनि सोच हो । तर, यो सधैं रहँदैन । अहिले उहाँहरुको व्यवसाय कसरी सस्टेन गर्न सकिन्छ भन्नेतर्फ बैंकहरु र नीति निर्माताहरुले पनि सोच्नै पर्छ । नभए अर्थतन्त्र धरासायी हुन्छ । अहिले एकअर्कालाई सहयोग र समन्वय गरेर अगाडि बढ्नु पर्ने समय हो । दुखेको मान्छेले कराउँछ । यो स्वभाविकै हो । हिजो देशको अर्थतन्त्र सकारात्मक भएको अवस्थामा बैंकहरुले यति कमाए उति कमाए भनेर बहस हुँदैनथ्यो । उद्योगी व्यवसायीहरुले पनि कमाएकै थिए । तर, अहिले समस्यामा परे । गुनासो गर्नु स्वभाविक नै हो । तपाईं आफै पनि बैंकको अध्यक्ष र उद्योगी पनि हो । केही समय अगाडि उद्योगी व्यवसायीहरु कालो झण्डा लिएर सडकमा उत्रिँदा तपाईंलाई कस्तो महसुस भयो ? म बैंकर होइन । म बैंकको सेयरधनी हो । त्यही कारणले म आज बैंकको बोर्डमा बसेको छु । बोर्डमा बस्दा मैले बैंकका सेयरधनीलाई जति सक्दो बढी प्रतिफल दिनु पर्छ भन्ने विषयलाई प्राथमिकता दिन्छु । मेरो व्यवसाय पनि अलग्गै छ । मेरो आ–आफ्नै जिम्मेवारी छ । उद्योगी व्यवसायी साथीहरुले गरेको काममा पनि मेरो भन्नु केही छैन । भोलि गएर उद्योग व्यवसाय रहेनन् भने बैंकहरु पनि बाच्न सक्दैनन् । अनि बैंकहरुले कसलाई ऋण दिने ? त्यसो भए उद्योगी व्यवसायीहरुका मागहरु जायज हुन्, उनीहरुले जे कुरा भनिरहेका छन् ती सबै सही हुन् ? बैंकहरुले पनि सर्भाइभ गर्न सक्नु पर्छ । बैंकमा पनि कसैको लगानी छ । बैंक पनि गैर नाफामुलक संस्था त होइन । बैंक एनजीओ/आईएनजीआले त चलाएको होइन नी । यसले पनि लगानीको प्रतिफल त पाउनु पर्यो । तर, अहिलेको अवस्थामा उद्योगी व्यवसायी र बैंकरले मिलेर जानु पर्छ । व्यवसायीको कुरा बैंकरहरुले बुझ्नै पर्छ । व्यवसायीहरुले पनि बैंकहरुको कुरा बुझ्न सक्नु पर्छ । कमाउनै नहुने भन्ने होइन । हिजोका दिनमा एनसीसी र कुमारी बैंककै सञ्चालकको असन्तुष्टि र दरारका विषय पनि बाहिरिन्थे, अब मर्जर भइसकेपछि सबै सेयरधनी तथा सञ्चालकहरुलाई हामी एकै हौं, कुमारी बैंक हाम्रै हो भन्ने किसिमको अनुभुति दिलाउन के कसरी काम गर्नु हुन्छ ? त्यो इतिहास हो । अब हामीले इतिहासलाई हेरेर त्यसमा सचेत भएर अगाडि बढ्ने हो । हामीले पहिले झगडा गरेर कुमारी बैंक पुछारमा पुग्यो । त्यो बेलाको बैंकको प्रमोटर, सञ्चालक तथा अध्यक्षहरु बैंकको सेयरधनीहरुलाई दिने प्रतिफलको विषयमा चिन्तित नभएर नै त्यो किसिमको विवाद सिर्जना भयो होला । तर, म विवाद चाहन्नँ । मैले धेरै वर्षदेखि विवाद देख्दै आएको छु । त्यसबाट के हुने रहेछ भन्ने कुरा पनि बुझेँ । मेरो लागि राम्रो के हो भन्दा पनि सेयरधनीका लागि राम्रो कुरा के हो भन्ने कुरालाई प्राथमिकता दिनु पर्छ । त्यो हुनासाथ सबै काम राम्रो हुन्छ । यसअघि पनि म कुमारी बैंकको अध्यक्ष हुँदा साथीभाइहरुले भनेर आएको थिएँ । अहिले पनि साथीभाइहरुले बस्नु पर्यो भनेपछि बसेको हुँ । म बन्नु पर्छ भन्ने खेल मैले खेलेको छैन । एनसीसी बैंकमा पनि एक किसिमको इतिहास छ । मेरो आग्रह छ, जति सक्दो बढी प्रतिफल लिने प्रयास गर्ने हो । तर, विवाद गर्नु हुँदैन । कुमारी बैंकको अध्यक्ष भनेको देशको प्रधानमन्त्री पद होइन । मैले काम गर्न सकिनँ भने छोड्नु पर्छ । ४ वर्ष अगाडि कुमारी बैंकको अध्यक्ष हुँदा पनि मैले पफर्मेन्स गर्न सकिन भने बाहिर बस्छु भनेको थिएँ । अध्यक्ष भएर मैले केही पाउने होइन । मैले मेरो लगानीको प्रतिफल मात्रै पाउने हो । उल्टै अध्यक्ष भएर मैले अन्य व्यवसायमा समय दिन सक्दिन । यो ठूलो कुरा होइन । आजको दिनमा पनि म राम्रोसँग चलाउन सक्छु भनेर आउनु भयो भने म खुसीका साथ छोड्न तयार छु । अब कुमारी बैंकमा तपाईंको हिस्सा घट्छ, सेयर बढाउनेतर्फ लाग्नुहुन्छ कि लाग्नु हुन्न ? म केही गर्न सक्दैन । मैले सेयर बढाउन सक्दैन । मैले खरिद गर्न पनि पाउँदैन । मैले सञ्चालक छोडेपछि अर्को कुरा हो । त्यो बेलाको अवस्था के हुन्छ, हेरौं । म वर्तमानमा विश्वास गर्छु । आज के हुन्छ त्यही गर्छु भोलि हेर्दिन ।

राष्ट्रिय सहकारी बैंकले सदस्यको खातामा पठायो १५ प्रतिशत लाभांश

ललितपुर । राष्ट्रिय सहकारी बैंकले आर्थिक वर्ष २०७८/०७९ को कारोबारबाट शेयर सदस्य सहकारी संघ संस्थाहरुलाई १५ प्रतिशत लाभांश वितरण गरेको छ । बैंकको १९औं वार्षिक साधारणसभा सकिएकै दिन सोमबार बैंकले गत आर्थिक वर्षको लाभांश १५,४७४ सदस्य सहकारी संघ–संस्थाको खातामा लाभांश रकम पठाएको बैंकले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख गरेको छ । ‘साधारणसभाले १५ प्रतिशत लाभाशं दिने निर्णय पारित गरेको लगत्तै बैंकले खातामा रकम पठाएका छौं’, बैंकका अध्यक्ष के.बी. उप्रेतीले भने, उनका अनुसार साधारणसभा सकिए लगतै आजै सहकारीहरुको खातामा लाभांश पठाईएको उल्लेख गरे । एकाइ प्रतिनिधिहरुको साधारणसभा सोमबार सम्पन्न भएसँगै देशभरका सहकारीहरुको खातामा लाभाशंको रकम पठाइएको हो । बैंकले गत आर्थिक वर्ष ०७८/०७९ मा ४३ करोड ४५ लाख ५७ हजार ७४८ रुपैया लाभांश वितरण गरेको छ, सहकारी बैंकले विगत ५ वर्ष देखि लगातार १५ प्रतिशत लाभांश प्रदान गर्दै आएको छ । बैंकले वितरण गरेको यो लाभांशमा संरक्षित पूंजी फिर्ता कोषबाट प्राप्त गर्ने रकम समाबेश नगरीएको बैंकले जनाएको छ । बैंकले जारी गरेको प्रेस विज्ञप्ती अनुसार बैंकसँग कारोबार गर्ने सम्पूर्ण सदस्य संघ/संस्थाहरुलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनहरुमा समेत राष्ट्रिय सहकारी बैंकसँग गरिने कारोबारमा वृद्धि गरी थप लाभान्वित हुन सम्पूर्ण सहकारी संघ–संस्थाहरुमा अनुरोध गरेको छ । बैंकले छिट्टै नै सदस्यहरुलाई संरक्षित पूंजीफिर्ता कोषको रकम पनि सदस्यको खातामा पठाउने तयारी गरेको छ, बैंकले लाभांश बाहेक कारोबारका आधारमा संरक्षित पूंजीफिर्ता कोषबाट पनि सदस्य सहकारीहरुलाई रकम उपलब्ध गराउँदै आएको छ । संरक्षित पूंजीफिर्ता कोषको रकम कारोबारको आधारमा दिइने र उक्त रकम केही समय पछि प्रदान गरिने बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईंले बताए ।

मुक्तिनाथ विकास बैंक १७ औं वर्षमा, विभिन्न कार्यक्रम गरी मनायो वार्षिकोत्सव

काठमाडौं ।  मुक्तिनाथ विकास बैंकले स्थापनाको १६ औं वर्ष पुरा गरी १७ वर्षमा प्रवेश गरेको छ । पुस १७ गते १७ वर्षमा प्रवेश गरेको बैंकले विभिन्न कार्यक्रम गरी वार्षिकोत्सव मनाएको छ । यस अवसरमा बैंकले डिजिटल माध्यमद्धारा एकैसाथ १३ वटा नयाँ शाखा तथा एक्सटेन्सन काउन्टरहरुको केन्द्रीय कार्यालयबाटै औपचारिक रुपमा समुद्घाटन गरेको थियो । यस्तै, बैंकले देशका विभिन्न स्थानमा रक्तदान कार्यक्रम गरी १७४ युनिट रगत संकलन गरेको छ भने विभिन्न उच्च माध्यमिक विद्यालयका कक्षा ११ र १२ का विद्यार्थीहरुलाई छात्रवृत्ति तथा विभिन्न सामग्री वितरण गरेको छ । साथै, बैंकले अनाथ तथा बालबालिकाहरुको क्षेत्रमा कार्य गर्ने मानव आश्रमहरुमा आत्मनिर्भरता बढाउन ‘मुक्तिनाथ आत्मनिर्भर ग्रिन प्रोजेक्ट’ सम्बन्धी सामाग्री हस्तान्तरण गर्नुको साथै विभिन्न स्थानमा स्वच्छ पिउने पानीको व्यवस्थापन गरेको छ । बैंकले अस्पताल निर्माणमा पनि सहकार्य गर्ने भएको छ । बैंकका अध्यक्ष भरत राज ढकालले वार्षिकोत्सवको अवसरमा देशको अर्थतन्त्र र विकासमा बैंकले सधै योगदान दिने प्रतिबद्धता जनाएका थिए । सोही अवशरमा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बैंकले हासिल गरेका उपलब्धी, बर्तमान चुनौतीका साथै भावी रणनीतिको बारेमा प्रकाश पार्दै सामाजिक उतरदायित्व अन्तर्गत विभिन्न अभियानहरु सञ्चालनमा ल्याएको बताएका थिए ।

कार्यदलले बुझायो मिटरब्याजी समस्या समाधानसम्बन्धी सुझाव समेटिएको प्रतिवेदन

काठमाडौं । मिटरब्याजी तथा ठगीविरुद्ध आवश्यक कानुनी कार्यविधिगत तथा नेपाल सरकारबाट जारी हुनसक्ने विशेष आदेशसमेतको व्यवस्था सिफारिस गर्न गठित कार्यदलले आज उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेसमक्ष आफ्नो प्रतिवेदन बुझाएको छ । मिटरब्याजबाट पीडित भएकाहरुको समस्या समाधान गर्न केही कानुन संशोधन र थप गर्नुपर्ने आवश्यकतासहित सुझाव समेटेर प्रतिवेदन बुझाइएको गृहमन्त्री लामिछानेको सचिवालयले जनाएको छ । यसअघि कार्यदलले आफ्नो प्रतिवेदन बुझाइसकेको थियो । त्यसपछि गृहमन्त्रालयले कानुनमा केके संशोधन गर्न आवश्यक छ भनेर थप विषय समेटेर प्रतिवेदन बनाउन सोही कार्यदललाई जिम्मा दिएपछि समस्या समाधानका लागि आवश्यक कानुन बनाउनुपर्ने विषय समेटेर उक्त सिफारिससहितको प्रतिवेदन आज बुझाइएको हो । प्रतिवेदनमा यसअघि २०७९ भदौ २७ मा मिटरब्याजी अपराध नियन्त्रण सिफारिस कार्यदलले दिएको प्रतिवेदनको कार्यान्वयनका लागि भएका प्रयास, २०७९ असोज १ गते मिटरब्याजी तथा ठगीविरुद्ध किसान मजदूर सङ्घर्ष समितिसँग भएको सहमतिमा उल्लेखित विषय कार्यान्वयनका लागि आवश्यक कानुन संशोधन, नयाँ कानुन निर्माण तथा कार्यविधिगत् सुधारको आवश्यकता औँल्याइएको छ । कानुन अभावमा मिटरब्याजबाट पीडित भएकाको समस्या समाधान गर्न जटिल रहेकाले अहिले विद्यमान कानुनअन्तर्गत मुलुकी अपराधसंहिता २०७४ मा मिटर ब्याज असूली गरी ठगी गर्न नहुने भन्ने दफा थप गर्न समितिले सुझाव दिएको छ । त्यस्तै मुलुकी फौजदारी कार्यविधिसंहिता, २०७४ र मुलुकी देवानी कार्यविधिसंहिता, २०७४ मा समेत केही प्रावधान संशोधन गर्न सुझाव दिएको संयोजक डा भीष्मकुमार भुषालले जानकारी दिनुभयो । मिटरब्याज नियन्त्रण र यसको नियमनका लागि लेनदेन व्यवहारलाई नियमित गर्ने कार्यविधि, २०७९को मस्यौदा पनि कार्यदलको प्रतिवेदनमा प्रस्ताव गरिएको छ । सहसचिव डा भुसाल नेतृत्वको कार्यदलमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका वरिष्ठ प्रहरी उपरीक्षक दिनेश आचार्य, गृहमन्त्रालयका उपसचिव श्रीकृष्ण पौडेल, महान्यायाधिवक्ताको कार्यालयका उपन्यायाधिवक्ता श्यामप्रसाद दाहाल, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइराला, राष्ट्रिय अनुसन्धान विभागका उपअनुसन्धान निर्देशक मुकुन्द मरहठ्ठा र सिआइवीका प्रहरी नायब उपरीक्षक रोशन खड्का सदस्य थिए । गृहमन्त्रालयले गत साउनमा उक्त कार्यदल गठन गरी समस्या समाधानका लागि आवश्यक सुझाव सिफरिस गर्न कार्यादेश दिएको थियो ।

रिठ्ठा खेतीबाट मनग्य आम्दानी गर्दै उदयपुरका किसान

उदयपुर । उदयपुर जिल्लाको मध्य तथा उत्तरी र पूर्वी पहाडी क्षेत्रमा रिठ्ठा खेतीबाट उत्पादन वृद्धि भएकाले अहिले कृषकहरुले राम्रै आर्थिक आम्दानी गर्न थालेका छन् । जिल्लाको मध्य पहाडी क्षेत्रको उदयपुरगढी गाउँपालिका, रौतामाई गाउँपालिकासहित पूर्वी पहाडी क्षेत्रको चौदण्डीगढी नगरपालिकाको सावा सिद्धिपुर बेलकाको बबला क्षेत्रमा बर्सेनि व्यावसायिक रुपमा रिठ्ठाखेती वृद्धि हुँदै गएकाले कृषकहरुले मनग्य आम्दानीसमेत गर्न थालेका हुन् । विगत केही वर्षदेखि त्रियुगा नगरपालिकाको साउने, खाँबु र रानीबास आधेरी क्षेत्रमा समेत व्यावसायिकरुपमा रिठ्ठा खेती विस्तार हुँदै गएको कृषकहरु बताउँछन् । नगदे बालीका रुपमा बिक्री गर्न सकिने र सहज तरिकाले रिठ्ठा बिक्री गरेर आर्थिक आम्दानी लिन सकिने हुनाले अहिले उदयपुरगढी गाउँपालिकाको भलायाडा क्षेत्र, डुम्रेसहित रौतामाई गाउँपालिकाको आँपटार, मुर्कुची, नामन्त, नामेटार क्षेत्रमा व्यावसायिकरुपमा रिठ्ठाखेती वृद्धि हुँदै गएको उदयपुरगढी–३ डुम्रेका कृषक बेगबहादुर घलेमगरले बताए । रौतामाई गाउँपालिका–५ आँपटारका रिठ्ठा उत्पादक कृषक हर्कबहादुर राईका अनुसार विगतमा आफूले दुई–चार बोटमात्र रिठ्ठा खेती सुरु गरिएकामा यसको मूल्य वृद्धि हुनाकासाथै राम्रो आम्दानी गर्न सकिने भएकाले केही वर्षयता व्यावसायिक रुपमा नै रिठ्ठा उत्पादनमा वृद्धि गरिएको उनले बताए । तीन वर्षदेखि आफूले वार्षिक दुई लाखभन्दा बढी मूल्यको रिठ्ठा उत्पादन गरेर बिक्री गरेको कृषक राईको भनाइ थियो । दश वर्षअघिदेखि आफ्नो घरपाखाको जग्गामा रिठ्ठाको बिरुवा लगाएर हुर्काउनु भएका रौतामाई मुर्कचीका कृषक दोदराज सिजालीमगरले भने, ‘तीन बर्षदेखि रिठ्ठा उत्पादन गर्न थालिएकामा अहिले वार्षिकरुपमा डेढ लाख सम्मको रिठ्ठा बिक्री गर्न आफू सफल भएको र बोटहरु हुर्कंदै गएले केही वर्षपछि उत्पादन वृद्धि हुनाका साथै आम्दानीसमेत वृद्धि हुने अपेक्षा गरेको छु ।’ अहिले रिठ्ठाको बजार राम्रो रहेको र बजार मूल्य प्रतिकेजी ८० देखि १२५ सम्म रहेकाले पनि यस क्षेत्रका कृषक व्यावसायिकरुपमा रिठ्ठा खेतीप्रति बर्सेनि आकर्षित हुँदै जान थालेको उनको भनाइ थियो । आफूले गाउँमा व्यावसायिक रिठ्ठा खेती सुरु गरेपछि अहिले छिमेकीका साथै अन्य गाउँलेले पनि व्यावसायिकरुपले खेती गरेको मुर्कचीका कुलेन्द्र मगरले बताए । चौदण्डी नगरपालिकाको सावा सिद्धिपुर क्षेत्रमा समेत अहिले व्यापकरुपमा व्यावसायिक रिठ्ठा खेती सुरु भएको र कृषकहरुले वार्षिक ५० हजार देखि दुई लाखसम्मको रिठ्ठा उत्पादन गरेर बिक्री गर्न थालेको स्थानीय जितबहादुर बुर्जामगरले जानकारी दिए । सिद्धिपुर क्षेत्रमा अहिले ११ घर कृषकले व्यावसायिकरुपमा रिठ्ठाखेती गरेका र यस क्षेत्रमा अहिले वार्षिक १८ लाख रुपैयाँँ भन्दा बढीको रिठ्ठा उत्पादन हुने गरेको उनको भनाइ थियोे । मुर्कुची बजारका जडीबुटी उत्पादक व्यवसायी तेजनारायण शेर्पाका अनुसार रिठ्ठाबाट साबुन, सेम्पु, औषधी, कस्मेटिक सामानसहित विभिन्न वस्तु उत्पादनका लागि कच्चापदार्थका रुपमा प्रयोग गरिने भएकाले यसको माग पनि बढ्दै गएको र मूल्य पनि राम्रो रहेका कारण अहिले गाउँघरका कृषक रिठ्ठा उत्पादनप्रति आकर्षित हुँदै गएका हुन् । आफूहरुले समेत रिठ्ठा खरिद गरेर औषधी उत्पादन गर्ने गरेको र यसबाहेक खरिद गरिएका रिठ्ठा पूर्वको इटहरी र विराटनगर हुँदै भारतर्फ पैठारी हुने गरेको उनले बताए । डिभिजन वन कार्यालयका सहायक वन अधिकृत तथा सूचना अधिकृत जागेशश्वर साहका अनुसार अहिले जिल्लाको मध्य तथा पूर्वी पहाडी क्षेत्रका धेरै कृषकले व्यावसायिकरुपमा रिठ्ठा उत्पादन गरेर राम्रो आर्थिक आम्दानी लिन थालेका छन् । त्रियुगा नगरपालिका–१४ साउने र वडा नं १५ खाँबु क्षेत्रमा पनि २०६० सालदेखि रिठ्ठा खेती सुरु भएको र अहिले यस क्षेत्रका झन्डै १५ घर कृषकले रिठ्ठा उत्पादन सुरु गरेको त्रिनपा–१४ साउनेका पूर्ववडाध्यक्ष कुरुङ राईले बताए । उक्त नगरपालिकाको साउने र खाँबु क्षेत्रमा अहिले वार्षिक आठ लाखदेखि १० लाख रुपैयाँँसम्मको रिठ्ठा उत्पादन हुन थालेको खाँबु हुबासका कृषक दुर्गाप्रसाद तिम्सिनाले बताए । गाउँका कृषकबाहेक जिल्लाको सरकारी वनमा समेत रिठ्ठा उत्पादन हुँदै आएको र आफूहरुले नै गाउँका कृषकलाई रिठ्ठाको बिरुवा उपलब्ध गराएर उत्पादन गर्न प्रोत्साहन गर्दै आएको सहायक वन अधिकृत साहले जानकारी दिए । रिठ्ठाका बिरुवाहरु बर्सेनि डिभिजन वनले नै नर्सरीमा उत्पादन गरेर कृषकहरुलाई वितरण गर्ने गरेपछि अहिले जिल्लाको पहाडी क्षेत्रका धेरै गाउँका कृषकले व्यावसायिकरुपमा रिठ्ठा उत्पादन बढाउँदै गएका र यसबाट राम्रो आम्दानीसमेत लिन थालेको उनको भनाइ थियो । यस क्षेत्रमा उत्पादन हुने रिठ्ठा सहज तरिकाले विराटनगरको साबुन उद्योगमा र भारतमा समेत पैठारी हुने गरेकाले यसको बजार राम्रो रहेको कृषकहरुले बताए ।

रुपन्देही सिद्धार्थनगरका बनिया विरुद्ध विभागद्वारा ६६ करोड मागदाबी सहितको मुद्दा दायर

रुपन्देही । रुपन्देही, सिद्धार्थनगर नगरपालिका–३ का पुनित बनिया विरुद्ध राजस्व अनुसन्धान विभाग अन्तर्गत राजस्व अनुसन्धान कार्यालय बुटवलले ६६ करोड मागदावी सहितको मुद्दा दायर गरेको छ । पुनित बनियाद्वारा सञ्चालित सुमित स्वयता ट्रेडर्सले सरकारलाई बुझाउनुपर्ने ३३ करोड ३ लाख ५० हजार ८ सय ९६ रुपैयाँ नबुझाएकाले सजाय सोही बराबरको सजाय सहितको माग दाबी गर्दै कार्यालयले उच्च अदालत तुल्सीपुरमा मुद्दा दायर गरेको जनाएको छ । विभागका अनुसार बनियाले आफ्नो फर्मको आय विवरण र सो बमोजिमको कर योग्य आयमा लाग्ने कर रकम आन्तरिक राजस्व कार्यालयमा जम्मा नगरेको र कारोबार लुकाउने उद्देश्यले अन्य फर्महरुबाट कारोबार गर्ने गरेका थिए । विभागले बनिया विरुद्ध कानून अनुसार राजस्व चुहावटको कसूर अपराध गरेको पुष्टी हुन आएको बिगो ३३ करोड ३ लाख ५० हजार ८ सय ९६ रुपैयाँ र सोही बराबरको रकम सहित ६६ करोड ७ लाख १ हजार ७ सय ९२ रुपैयाँ सहित कैद सजायको माग गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

६ करोड कर छलेको भन्दै त्रिशक्ति ट्रेडर्सका संचालक विरुद्ध मुद्दा दायर

काठमाडौं । राजस्व अनुसन्धान विभागले राजस्व चुहावट गरेको अभियोगमा त्रिशक्ति टेडर्सका सञ्चालक सिद्धिबहादुर महर्जनविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । विभागले राजस्व चुहावट गर्ने मनसायका साथ नक्कली मूल्य अभिवृद्धिकर कर विजक खरिद गरी वित्तीय विवरण तथा आय विवरण बनाएको पाइएको छ । विभागले छ करोड १७ लाख ९२ हजार पाँच सय ७९ बराबरको बिगो र छ करोड १७ लाख ९२ हजार पाँच सय ७९ रुपैयाँ सजायको बिगो दाबी गर्दै मुद्दा दायर गरेको हो ।

रोकियो राहदानी वितरण सेवा

काठमाडौं । राहदानी विभागको सिस्टममा समस्या आउँदा आवेदनको अवस्था हेर्ने र वितरण गर्ने कार्य अवरुद्ध भएको छ । सिस्टममा खराबी आएसँगै राहदानीसम्बन्धी सेवा वितरण रोकिएको राहदानी विभागले जनाएको छ । यो समस्या समाधानका लागि निरन्तर कार्य गरिरहेको र सिस्टम पूर्णरुपमा नियमित हुन केही समय लाग्ने विभागका निर्देशक दुरपदा सापकोटाले जानकारी दिए । अर्को सूचना जारी नहुँदासम्म आजदेखि राहदानी लिन नआउन विभागले आग्रह गरेको छ । राहदानी सेवा अवरुद्ध भएपछि विभागले सेवाग्राहीसँग क्षमा मागेको छ । नियमित रुपमा रहदानी आवेदनका लागि ‘एपोइन्टमेन्ट’ मिति बुक गरेका सेवाग्राहीले तोकिएको मितिमा विभागमा उपस्थित हुन आग्रह गरेको छ ।