चीनमा सम्पन्न इसिआई अवार्डसमा आउटरिचले जित्यो दुई विधामा पुरस्कार
काठमाडौं । चीनमा सम्पन्न भएको इसिआई अवार्ड २०२२ मा नेपालको तर्फबाट आउटरिचले प्रडकट एण्ड मोडल इनोभेसन गरी २ विधामा काँस्य पुरस्कार जितेकाे छ । ग्लोबल इसिआई अवार्डस २०२२ को विजेताहरुको घोषणा ३० डिसेम्बर, २०२२ मा गरिएको थियो । अवार्ड अन्तर्गतका तीन विधाहरु प्रडक्ट एण्ड मोडल इनोभेसन, मेटाभर्स एप्लिकेसन इनोभेसन, मार्केटिङ्ग इनोभेसन तर्फ स्वर्ण, रजत र काँस्य अवार्ड विजेता देशहरुमा हङकङ, स्विटरजरल्याण्ड, इटाली, क्यानडा, नेपाल, युएसए, युके, साउदी अरबिया, ब्राजिल, थाइल्याण्ड, ताइपाई सिटी, अष्ट्रिया लगायतका लगायतका देशहरु रहेका छन् । समारोहमा इसिआई अवार्डसका प्रेसिडेन्ट लिजुन जियाले चीनमा चलिरहेको महामारीको कारण यो पटक सबै सहभागीहरुलाई भौतिक रुपमा उपस्थित गराउन नसकेकोले भर्चुअल माध्यमबाट अवार्डको घोषणा गर्नु परेको बताए । इसिआए अवार्डस इन्टरनेशनल इन्टरप्रेनर्स, क्रिएटिभ एण्ड इन्नोभेटर्स एसोसिएसनद्वारा स्थापना गरिएको हो । यो अवार्ड नव प्रवद्र्धनको प्रभावकारितालाई मानक मानेर प्रदान गरिने विश्वस्तरीय अवार्ड हो ।
वीर अस्पतालमा पनि फोनपे क्यूआर मार्फत सहजै भुक्तानी गर्न सकिने
काठमाडौं । वीर अस्पतालमा अबदेखि फोनपे क्यूअनारदेखि सहजै भुक्तानी गर्न सकिने भएको छ । याेसँगै नेपालको सबैभन्दा पुरानो सरकारी अस्पतालमा अबदेखि बिरामीहरूको उपचार गर्दा नगद बोकेर जानुपर्ने झञ्झट हटेकाे छ । वीर अस्पतालमा डाइनामिक क्युआरकोडको सिस्टमको सुरू गरिएसँगै बिरामीका उपचारका लागि नगद बोकेर जानुपर्ने बाध्यताको अन्त्य भएको हो । उक्त क्युआर सेवाको सुरूवात वीर अस्पतालका कार्यकारी अधिकृत भुपेन्द्र कुमार बस्नेतले गरेका थिए । यस्तै, अस्पतालमा दीर्घकालीन उपचार र चिकित्सकसँग परामर्शका लागि मोबाइल एप्लिकेशनमार्फत् अनलाइन पेमेन्ट गर्ने र अस्पताललाई पेपरलेस बनाउन नयाँ सुविधा समेत थप गरिएको छ । क्यूआरमार्फत भुक्तानी गर्न सकिने सुविधाको उद्घाटन गर्नै अधिकृत बस्नेतले भने,‘ वीर अस्पतालमा क्यूआरबाट भुक्तानी गर्न सकिने सुविधा सुरू भएसँगै अबदेखि नगद नै बोकेर आउन पर्ने बाध्यता र पर्स चोरी हुने जस्ता डरबाट मुक्ति मिलेको छ ।’
ग्लोबल आइएमई बैंकद्वारा ५९ जना कर्मचारी सम्मानित
काठमाडौं । ग्लोबल आइएमई बैंकले १५ वर्षदेखि बैंकमा निरन्तर सेवारत ५९ जना कर्मचारीहरुलाई सम्मान गरेको छ । बैंकले आफ्नो स्थापनाको १६औं वर्षमा प्रवेशको अवसरमा कर्मचारीहरुलाई सम्मान गरेकाे हाे । सोमबार बैंकमा आयोजित एक कार्यक्रमकाबीच बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकमा १५ वर्षदेखि निरन्तर सेवारत कर्मचारीहरुलाई सम्मान गरे । अध्यक्ष ढकालले ग्लोबल आइएमई बैंकले “उत्कृष्ट बैंकिङ्ग सबैका लागि” भन्ने नाराका साथ आफ्नो स्थापनाको १६ वर्षमा आफूलाई अधिकांश वित्तीय सूचकहरुमा अब्बल बनाउन सफल रहेको बताएका छन् । उनले उत्कृष्ट बैंक बनाउन आफ्नो तर्फबाट गर्नुभएको विशेष योगदानका लागि सबै कर्मचारीहरुलाई धन्यवाद प्रकट गर्दै अझ उत्कृष्ट र ग्राहकमैत्री सेवा उपलब्ध गराउन आग्रह समेत गरे । यसैगरी, बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले बैंकले आफ्नो सेवालाई ग्राहकमैत्री बनाउँदै अहिलेको डिजिटल युगमा समयसापेक्ष सेवा दिनेगरी आफ्नो लक्ष्य निर्धारण गरेर अगाडि बढेको बताए । ग्लोबल आइएमई बैंकले २९२ शाखा, २७१ एटिएम, २८३ शाखा रहित बैंकिङ्ग सेवा, ५१ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ९०० भन्दा बढी सेवा केन्द्रबाट ३० लाखभन्दा बढी ग्राहकहरू माझ सेवा प्रदान गर्दै आएको छ । त्यसैगरी, बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुबेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ । ग्लोबल बैंक २०६३ साल पुस १८ गते क्षेत्रीयस्तरको वाणिज्य बैंकको रुपमा स्थापना भएको थियो ।
नेकपा समाजवादी सरकारमा जाने/नजाने निर्णय पार्टीको केन्द्रिय सचिवालयले गर्ने
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले सरकारमा जाने/नजानेबारे निर्णय लिने जिम्मेवारी पार्टीको केन्द्रिय सचिवालयलाई दिएको छ । मंगलबार सम्पन्न पार्टी पोलिटब्युराे बैठकले सो निर्णय गरेको हो । थप अध्ययन, छलफल, विचार विमर्श गर्नुपर्ने भएकाले सरकारमा पार्टीको सहभागिताबारे निर्णय गर्ने अधिकार केन्द्रिय समितिलाई दिने निर्णय गरिएको पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले बताए । बैठकमा धेरैजसो नेताहरुले सरकारले देश र जनताको हितमा ल्याउने कार्यक्रमलाई हेरेर मात्रै सरकारमा जानेबारे आवश्यक निर्णय लिन पनि पार्टी नेतृत्वलाई सुझाव दिएका थिए । त्यसैगरी, बैठकले वामपन्थी पार्टीहरुबीचको एकता र सहकार्यका लागि आवश्यक गृहकार्य गर्ने अनुमति पनि पार्टी केन्द्रिय सचिवालयलाई नै प्रदान गरेको छ । केन्द्रीय सचिवालयको संयोजनमा यो कामलाई अघि बढाउन पनि बैठकले अनुमति दिने काम गरेको पार्टीका प्रवक्ता खतिवडाले बताए । पार्टी भित्र संगठन सुदृढीकरण र सुद्धिकरण अभियान संचालन गर्ने, पार्टीको सदस्यता विस्तार गर्ने, पार्टीलाई आर्थिक रुपमा आत्मनिर्भर बनाउने अभियानलाई पनि अघि बढाउने काममा अघि बढने निर्णय पनि पोलिटव्यूरो बैठकले गरेको नेकपा (एकीकृत समाजवादी)ले जनाएको छ ।
गुल्मीको महिला स्वास्थ्य स्वयंसेवीकालाई निवृत्तिभरण
गुल्मी। गुल्मीको छत्रकोट गाउँपालिकाले अनिवार्य अवकाश पाउने महिला स्वास्थ्य स्वयंसेवीकालाई निवृत्तिभरण उपलब्ध गराउने भएको छ । पालिकाले ६० वर्ष उमेर पुगी अनिवार्य अवकाश हुने महिला स्वास्थ्य स्वयंसेवीकालाई मासिक रु एक हजारका दरले निवृत्तिभरण उपलब्ध गराउने घोषणा गरेको गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले जानकारी दिएका छन् । सङ्घीय सरकारले ६० वर्ष उमेर पुगि निवृत्त हुनेलाई एकमुष्ट रु २० हजार उपलब्ध गराउँदै आएकोमा पालिकाले उक्त रकममा ३० हजार थप गरी एकमुष्ट ५० हजार उपलब्ध गराउने घोषणा गरिएको अध्यक्ष पाण्डेले बताए । पाँच वर्ष भन्दा बढी सेवा अवधि पुगेर अवकाश लिनेको हकमा भने पालिकाले एकमुष्ट दश हजार उपलब्ध गराउने भएको छ । महिला स्वास्थ्य स्वयंसेवीकालाई निवृत्तिभरण उपलब्ध गराउन पालिकाले बजेटको सुनिश्चितता गरिसकेको छ । यसका लागि कार्यविधि बनाउन लागिएको र कार्यविधि बनेपछि कानुन बनाएर यही आर्थिक वर्षको दोस्रो चौमासिकदेखि कार्यान्वयन गरिने प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर पुनले बताएका छन् । छत्रकोट गाउँपालिकाका स्वास्थ्य संयोजक श्यामसुन्दर पोख्रेलले पालिकाको उक्त निर्णय आम स्वास्थ्य स्वयंसेवीकाका लागि महत्वपूर्ण भएको बताए । यो निणर्यले स्वास्थ्य क्षेत्रमा काम गर्नेहरुका लागि प्रेरणा र हौसला प्रदान गर्नुका साथै स्वाथ्यकर्मीलाई पनि थप उत्साहित बनाएको बताए । रासस
बाहिर गएर पार्टीको आलोचना गर्ने काम बन्द गर्नुहोस् : माधव नेपाल
काठमाडाैं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेतृत्वको आलोचना गर्ने काम तत्काल बन्द गर्न पार्टीका नेता, कार्यकर्तालाई कडा निर्देशन दिएका छन् । मंगलबार सम्पन्न पार्टीको पोलिटब्युराे बैठकमा बोल्दै अध्यक्ष नेपालले पार्टी कमिटी भन्दा बाहिर गएर पार्टी नेतृत्वको बदख्वाई गर्ने, अरुको प्रशंशा गर्ने, फेसबुकमा लेख्ने, मिडियामा बोल्नेजस्ता पार्टी अनुशासन विपरित काम नगर्न पनि सिंगो पार्टी पंक्तिलाई सचेत गराए । ‘आफूलाई लागेका कुरा पार्टी कमिटीमा राख्नुको साटो बाहिर बोल्दै हिँडने हो भने त्यो पार्टी क्रान्तिकारी र अनुशासित पार्टी हुनै सक्दैन, पार्टी अनुशासित र संस्थागत रुपमा चलोस् भन्ने चाहेको हाे,’ उनले भने । अध्यक्ष नेपालले पार्टी कमिटी भित्र बसेर व्यापक छलफल गर्ने, विचार मन्थन गर्ने परिपाटी पार्टीमा आफूले बसाउन चाहेको समेत बताए ।
पुसभित्र एकीकृत कारोबार गर्न नसक्ने बैंक थप समय माग्न पुगे राष्ट्र बैंक, मर्जरको सुविधा के हुन्छ ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई मर्जरमा दिने सुविधालाई चालू आर्थिक वर्षको मौद्रिक नीति पहिलो त्रैमासको समीक्षमार्फत् पनि निरन्तरता दियो । उक्त समय सकिन अब १० दिन मात्रै बाँकी छ । मर्जर गरेपछि छुट पाइने अपेक्षासहित बैंकहरु मर्जरका लागि तम्सिए । नबिल बैंकले गत वर्ष नै नेपाल बङ्गलादेश बैंकलाई गाभेर राष्ट्र बैंकको सेवा सुविधा लगायतका छुट उपभोग गरिसकेको छ । चालु आर्थिक वर्षमा झण्डै एक दर्जन बैंकहरुले मर्जर सम्झौता गरे । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक, ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू (बिओके), हिमालयन बैंक र सिभिल बैंक, प्रभु बैंक र सेञ्चुरी बैंक र कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक मर्जर सम्झौता गरेका थिए । जसमध्ये कुमारी बैंक र एनसीसी बैंकले गत साता एकीकृत कारोबार गरिसकेका छन् भने अन्य बैंक पनि एकीकृत कारोबार गर्ने तयारीमा रहेका छन् । यी बैंकले राष्ट्र बैंकको सेवा सुविधा पाउनका लागि भएपनि पुस मसान्तभित्र एकीकृत कारोबार गरिसक्नुपर्नेछ । तर, हिमालयन बैंक र सिभिल बैंकको एकीकृत कारोबार पुस मसान्तभित्र सम्पन्न हुने सम्भावना टरेको छ । मर्जर पश्चात् हिमालयन बैंकले राष्ट्र बैंकले दिने सुविधा के हुने भन्नेमा स्पष्ट हुन सकेको छैन । सिभिल बैंकका सञ्चालक अम्बिर बोगटी मर्जरपश्चात् राष्ट्र बैंकले दिने सेवा सुविधा आफूहरुले पनि पाउनेमा ढुक्क छन् । राष्ट्र बैंकले सेवा सुविधा दिने/नदिने उसको निर्णयमा भर परेपनि सहानुभूति राखेर दिन सक्ने उनको भनाइ छ । उनका अनुसार सरकारले आर्थिक वर्ष २०७८/७९ को असारभित्र मर्जर सम्झौता गरेका बैंकहरुलाई कर छुट दिने व्यवस्था गरेको थियो । सोही अनुसार आफूहरुले असार भित्र नै मर्जर सम्झौता गरेको र सेवा सुविधा पाउनेमा ढुक्क रहेको उनले बताए । ‘असार मसान्तभित्र हामीले एमओयू गरेको हुँदा कर छुट पाउँछौं, अघिल्लो आर्थिक वर्षको बजेटमा आर्थिक वर्ष २०७८/७९ भित्र मर्जर सम्झौता गरेका बैंकहरुलाई सेवा सुविधा दिने भनेको छ, त्यो सुविधा हामीले पाउँछौं,’ उनले भने । राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् पुस मसान्तभित्र एकीकृत कारोबार गरेपछि नियामकीय सुविधा दिने भनेर व्यवस्था गरेको छ । पुस भित्र हिमालयन र सिभिल बैंकले मर्जरका सम्पूर्ण प्रक्रिया सम्पन्न हुने भएकाले आफूहरु राष्ट्र बैंकको सुविधा पाउने बोगटीको धारणा छ । ‘हामीले असारमा एमओयू गरेको हो, एमओयू गरेको सम्झौता असार मसान्तमा राष्ट्र बैंकमा निवेदन दिएका थियौं, राष्ट्र बैंकले साउन २३ गते मात्रै स्वीकृति दियो, ३ महिनाको समय थप गरेर कात्तिक २३ गतेसम्म थप्यौ, फेरी हामीले कात्तिक २३ गतेका दिन ३ महिनाको समय अर्थात् माघ २३ गतेसम्मको अवधि दिनुपर्थ्याे तर, पुस मसान्तसम्मको लागि मात्रै समय दिएको छ,’ उनले भने । काम गर्दा एकीकृत कारोबार गर्न एक/दुई हप्ता ढिला भएको हुनाले त्यो सुविधाबाट हिमालयन बैंक बञ्चित गर्न नहुने उनको भनाइ छ । किनभने पुस मसान्तभित्र बैंकको तर्फबाट गर्नुपर्ने सबै काम सम्पूर्ण काम टुङ्ग्याउने उनले बताए । हामीले राष्ट्र बैंकले दिने सेवा सुविधा पाँउँछौ भन्ने अपेक्षा गरेको उनको भनाइ छ । ‘राष्ट्र बैंकले दिने सेवा सुविधा थप गर्नुपर्छ, असार मसान्तसम्म म्याद थप्नुपर्छ भन्ने हाम्रो माग हो, हिमालयन बैंकलाई सेवा सुविधा दिन्छ भन्नेमा ढुक्क छौं, अलिकति ढिला चाँडो हुँदैमा नदिने भन्ने हुँदैन,’ उनले भने, ‘राष्ट्र बैंकको बोर्डले स्वीकृति दिएपुग्छ, संसदबाटै पारित गर्नुपर्छ भन्ने हुँदैन, त्यसैले हामीलाई राष्ट्र बैंकले सहानभूति राखेर दिनुहुन्छ भन्ने पूर्ण विश्वास छ ।’ हिमालयन बैंक र सिभिल बैंकले मर्जर प्रस्ताव पारित गर्न पुस २८ गते वार्षिक साधारण सभा बोलाएका छन् । उक्त साधारण सभाले मर्जर प्रस्ताव पारित गरेपछि मात्रै एकीकृत कारोबार अघि बढ्नेछ । उनका अनुसार हिमालयन र कुमारी बैंकबीच माघ १८ गतेभित्र एकीकृत कारोबार हुने सम्भावना छ । प्रभु बैंक र सेञ्चुरी बैंकबीच पुस मसान्तभित्र एकीकृत कारोबार गर्ने तयारी रहेको छ । राष्ट्र बैंकले दिएका सेवा सुविधा प्राप्त गर्ने गरी नै दुवै बैंकबीच मर्जर सम्पन्न गर्न लागेको प्रभु बैंकका सञ्चालक रमेशसिंह खड्का बताउँछन् । उनका अनुसार पुस मसान्तभित्र एकीकृत कारोबार गर्न सम्भव भएर मर्जर सम्झौता गरेको हो । सुरुवाती चरणमा ढिला भएकाले केही ढिलाइ हुन भएको उनको भनाइ छ । तोकिएको सीमा भित्र एकीकृत कारोबार सम्भव भएन भने सेवा सुविधाका लागि समय थप माग्ने उनले बताए । ‘राष्ट्र बैंकले मर्जरको समय थप गर्नुपर्छ, यदि एकीकृत कारोबार भएन भने राष्ट्र बैंकले समय थप गर्नुको विकल्प छैन, हामीहरुले पनि माग गर्न सक्छौं, काम गर्दै जाँदा परिस्थिती अनुसार राष्ट्र बैंकले निर्णय गर्नुपर्छ, कुनै परिबन्ध आए समय थप्नु पर्छ, नेपालमा केही भन्न सकिँदैन, नियम बनाउँछन् पछि स्थगीत भएका उदाहरण छन्,’ उनले भने । समय कम भएकाले एकदमै टाइट अवस्थामा आफूहरु रहेको उनको भनाइ छ । पछिल्लो समय नेपाल राष्ट्र बैंकको बोर्ड बैठक साताको एक दिन अनिवार्य बस्ने गरेको छ । बैंक तथा वित्तीय संस्थाहरुको वित्तीय विवरणदेखि लिएर मर्जरका लागि अन्तिम स्वीकृति दिनका लागि भएपनि साताको एक दिन राष्ट्र बैंकको बोर्ड बैठक बस्ने गरेको राष्ट्र बैंक स्रोतले बतायो । मेगा बैंकका सञ्चालक गोपाल खनालका अनुसार राष्ट्र बैंकले दिएका सेवा सुविधा पाउनका लागि पुस मसान्तभित्र एकीकृत कारोबार गर्ने तयारी छ । तर, राष्ट्र बैंकले दिएका सेवा सुविधाहरु थोरै भएको उनको भनाइ छ । ‘राष्ट्र बैंकले त्यति धेरै सेवा सुविधा केही पनि दिएको छैन, लाभांशमा कर छुट, सीआरआरमा छुट, सीडी रेसियोमा छुट दिने भनेको छ, त्यो छुट दिँदा धेरै फाइदा हुँदैन, मर्जर गरेपश्चात् दिएको सहुलियत र सेवा सुविधा वाहा गर्ने किसिमको छैन,’ उनले भने, ‘मर्जर प्रक्रियामा सामान्यतया १०/१५ करोड रुपैयाँ खर्च हुन्छ, ठूलो बैंक हुँदा झनै गाह्रो छ ।’ नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्ट मर्जरमा जोड दिएका कारण धमाधम बैंक तथा वित्तीय संस्थाहरु मर्ज भइरहेको बताउँछन् । राष्ट्र बैंकले दिएका सेवा सुविधा र सहुलियत पुस मसान्तपछि थप हुन्छ की हुँदैन भन्ने प्रश्नको उनले कुनै प्रतिक्रिया दिन चाहेनन् । राष्ट्र बैंकले मर्जर तथा एक्विजिशनलाई जुन हिसावले प्रोत्साहन गरेको छ त्यो स्प्रिटलाई बैंक तथा वित्तीय संस्थालाई पच्छ्याइरहेको प्रवक्ता भट्टले बताए । ‘राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको सुदृढिकरणलाई उच्च महत्व दिएको छ, बैंकहरुले त्यसलाई पच्छ्याइ रहेका छन्, उनीहरुको स्प्रिटलाई महत्वका साथ लिइएको छ,’ उनले भने, ‘पुस मसान्त भित्र एकीकृत कारोबार गर्न नसक्ने बैंक तथा वित्तीय संस्थाले सेवा सुविधा पाउने नपाउने भन्ने विषयमा केही भन्न सकिन्न, यो विषयमा केही छलफल भएको छैन ।’ उनका अनुसार अहिले पुस भित्र कारोबार गरे मात्रै सेवा सुविधा पाउने भनिएको हो । राष्ट्र बैंकको बोर्डले समय सीमा थप गर्ने विषयमा छलफल भइ नसकेको उनको भनाइ छ ।
बीजबजारमा ७४ प्रतिशत सम्मको छुट पाइने
काठमाडौं । बीजबजारमा सेवाग्राहीहरूले ७४ प्रतिशत सम्मको छुट पाउने भएका छन् । ई–कमर्स प्लेटफर्म बिजबजारले पुस महिनाको २० गते सञ्चालन गर्ने ‘२० मा’ बिज अफरमा सेवाग्राहीहरूलाइ ७४ प्रतिशत सम्मको छुट दिने भएको हो । क्यामपियनका केही योजनाहरू पुष २२ गतेसम्म उपलब्ध हुने कम्पनीले बताएको छ । बिजबजारले पुस २० गते फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गरी विभिन्न मनोरञ्जनात्मक क्रियाकलापहरू सञ्चालन गर्ने जनाएको छ जहाँ भाग्यशाली सेवाग्राहीहरू तथा विजेताहरूले डिस्काउन्ट कुपन तथा मोबाइल टप अप जित्न सक्नेछन्। २० मा बिजका लागि कम्पनीद्वारा निर्धारित सेवा तथा सर्तहरू लागु हुने कुरा कम्पनीले जनाएको छ। साना तथा मझौला उद्योग व्यवसायहरूलाई डिजिटल माध्यमबाट बजारसँग जोडी डिजिटल माध्यमबाटै व्यवसायको अभिवृद्धि र सेवाग्राहीहरूको आवश्यकता पूर्ति गर्न यो क्यामपियन प्रभावकारी हुने विश्वास कम्पनीले लिएको छ। सेवाग्राहीहरूले गुगल प्ले स्टोर र एप स्टोरमा गएर तुरुन्तै र सजिलै ‘बिजबजारको अनलाइन सपिङ’ एप डाउनलोड गर्न सक्नेछन् भने ल्याप–टप वा डेस्क–टपबाट बिजबजारको अनलाइन सपिङ सेवा लिन चाहेमा सिधै टाइप गरेर पनि यो सेवा लिन सकिनेछ ।