विकासन्युज

लक्ष्मी र सनराइज बैंक मर्जरको तयारीमा, पुसभित्रै सम्झौता हुने सम्भावना कति ?

काठमाडौं । लक्ष्मी बैंक र सनराइज बैंकबीच मर्जरको छलफल चलेको छ । दुई बैंकबीच मर्ज हुन लागि विभिन्न समयमा छलफल भएको र केही दिनमा प्रारम्भिक सम्झौता गर्ने तयारी रहेको बुझिएको छ । लक्ष्मी बैंक र सनराइज बैंकले आ–आफ्नो मर्जर समिति गठन गरेर काम गरिरहेका छन् । धेरै पटक दुई बैंकका मर्जर समितिबीच पनि छलफल भइसकेको बताइएको छ । दुवै बैंकका मर्जर समितिबीच विभिन्न समयमा वार्ता भएपनि निष्कार्षमा भने पुग्न सकेको छैन । लक्ष्मी बैंकका अध्यक्ष रमण नेपालले मर्जरको छलफल भइरहेको भएपनि निष्कर्शमा नपुगेको बताए । ‘मर्जर भन्ने बित्तीकै सम्भव हुँदैन, मर्जरका लागि छलफल अघि बढेको हो, धेरै विषयमा कुराकानी हुन बाँकी छ, दुवै बैंकले मर्जर समिति बनाएर काम गरिरहेका छौं, एमओयू भएपछि मात्रै संयुक्त मर्जर समिति बन्छ, सबै कुराहरुको टुंगो लागेको छैन,’ उनले भने । उनले दुवै बैंक समान हैसियतमा मर्ज हुने की नहुने भन्ने विषय टुंगो नलागेको बताए । स्वाप रेसियो डीडीए रिपोर्टमा निर्धारण गरिने उनको भनाइ छ । ‘राष्ट्र बैंकले दिएको लचतकता कति ओगट्ने भन्ने हुन्छ, ५ प्रतिशतसम्म तलमाथी भयो भने समान हैसियत हुन्छ, ५ प्रतिशत भन्दा बढी भयो भने जसको जति आउँछ त्यहि हिसावमा मर्ज हुन्छ, प्रि–डीडीए गरिएको छैन, वित्तीय डकुमेन्टहरु मात्रै अध्ययन भएको हो, सबै सम्पत्तिको मूल्याङ्कन गरेर मात्रै स्वाप रेसियो निर्धारण हुने हो,’ उनले भने । उनका अनुसार कुरा मिलेमा पुसभित्रै पनि मर्जरको सम्झौता हुन सक्छ ।

नमोबुद्धलाई विश्व सम्पदामा सूचीकृत गर्ने

काभ्रेपलाञ्चोक । ऐतिहासिक एवं पर्यटकीय काभे्रपलाञ्चोकको नमोबुद्धलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने प्रक्रिया थालिने भएको छ । नमोबुद्ध नगरपालिकाले नमोबुद्ध क्षेत्र ऐतिहासिक, पर्यटकीय एवं धार्मिकस्थल भएकाले विश्व सम्पदामा सूचीकृतका लागि आवश्यक थप प्रक्रिया अघि बढाइने दोस्रो नगरसभाले निर्णय गरेको हो । नगरको ११ नं वडास्थित धार्मिक, ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक, वातावरणीय तथा प्राचीन महत्व बोकेको विश्वप्रसिद्ध नमोबुद्ध मन्दिर परिसरलाई मौलिक स्वरूप कायम गर्न नगरले निर्माण गरेको दीर्घकालीन गुरुयोजनालाई सम्बन्धित सरोकारवालाको सहकार्य, सहयोग र समन्वयमा थप परिमार्जन गरी विश्व सम्पदा सूचीमा सूचीकृत गर्न आवश्यक प्रक्रिया अगाडि बढाई थप पहल गर्ने बिहीबारको नगरसभाले विशेष प्रस्ताव पारित गरेको हो । नगरले यसअघि नै गुरुयोजना बनाएर काम अघि बढाएको छ भने सरोकारवालासँग विभिन्न चरणमा छलफलसमेत गरेको छ । सम्पदामा सूचीकृत गर्ने मापदण्ड करिब पुगिसकेकाले नगरको योजनामा समेटिएकाले संयुक्त राष्ट्र सङ्घीय अङ्ग युनेस्कोका नेपाल प्रतिनिधिलाई औपचारिक रुपमा अवलोकन–भ्रमण गराउने योजना बनाएको थियो । पर्यटकीयस्थल नमोबुद्धलाई विशेषगरी बौद्ध धर्मावलम्बीको तीर्थस्थलका रुपमा समेत लिइने गरिन्छ । शान्तिका प्रतीक गौतम बुद्धको पूर्वजन्ममा ‘राजकुमार’ले देहत्याग गरी बघिनीलाई जीवन प्रदान गरेको स्थलको रुपमा नमोबुद्ध लाई मानिन्छ । बुद्धले लुम्बिनीमा पुनर्जन्म प्राप्त गरेपछि पूर्वजन्ममा जीवन त्याग गरेको भूमिमा ‘नमोबुद्धाय नमः’बाट नमोबुद्ध नामाकरण गरिएको बिश्वास रहेको छ । किंवदन्तीअनुसार द्वापर युगका उनै राजकुमारको अस्थिपञ्जर गाडी बनाइएको चैत्य र जीवन त्याग गरेको स्थानमा कात्तिक शुक्ल पूर्णिमाका अवसरमा पूजाअर्चना र दीप प्रज्वलन गर्न बौद्ध धर्मावलम्बीको निकै ठूलो भीड लाग्ने गरेको छ । हाल सो स्थानमा विशाल गुम्बा, मन्दिर, गुम्बा र चैत्य छन् । गुम्बामा बुद्ध पाठशालासमेत रहेको छ । यसैबीच नगरले नमोबुद्धलाई विश्वकै नमुना पर्यटकीयस्थल बनाउन गुरुयोजना तयार गरी काम अघि बढाइएको छ । ८७ करोड लागतको विस्तृत परियोजना प्रतिवेदन डिपिआर तयार गरी काम अघि बढाइएको हो । नमोबुद्ध क्षेत्रमा पर्यटन विकासका लागि सिँढी, पर्खाल, दुई स्थानमा प्रवेशद्वार, सडक बत्ती, सौर्य बत्ती, ढुङ्गा छाप्ने, सार्वजनिक शौचालयलगायतका पूर्वाधार विकासका काम भइरहेको छ । सुरक्षा व्यवस्थापनका लागि सिसिटिभी क्यामेरासमेत जडान गरिएको छ भने डिपिआर अनुसार थप काम अघि बढाउन सङ्घीय पर्यटन मन्त्रालय, प्रदेशस्थित पर्यटन मन्त्रालयलगायत सरोकारवाला निकायमा पहल गरिएको नगरका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद लम्सालले बताए । उनका अनुसार ‘नमोबुद्ध भगवान् घ्याँ’ गुठी व्यवस्थापन समिति गठन गरी संस्थागत विकास गर्न पहल भएको छ भने समितिले नै मन्दिर र गुठीमा सङ्कलन भएको दान, भेटी पनि समितिमार्फत व्यवस्थित गर्न थालेको छ । जिल्ला सदरमुकाम धुलिखेलबाट १३ किलोमिटर तथा सङ्घीय राजधानी काठमाडौँबाट ५० किलोमिटरको दूरीमा रहेको पर्यटकीय क्षेत्र नमोबुद्ध पुग्ने काभ्रेभञ्ज्याङदेखि फूलबारी सडकखण्ड असहज हुँदा पर्यटकले सास्ती ब्यहोर्दै आएकाछन् । पनौतीबाट शङ्खु उपत्यका हुँदै र पर्यटकीय नगरी धुलिखेलबाट हाइकिङ गर्दै पुग्न सकिने नमोबुद्धबाट मनोरम हिम शृङ्खलाहरु देख्न सकिन्छ । यस्तै, काभ्रेपलाञ्चोकको ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पुरातात्विक नगर पनौतीलाई नेपालस्थित मन्त्रिपरिषद्को निर्णयलगत्तै विश्व सम्पदामा सूचीकृत हुने भएको छ । पनौती विश्व सम्पदामा सूचीकृत गर्न युनेस्कोद्वारा २५ वर्षअघि प्रस्ताव गरिएको क्षेत्र हो । सूचीकृतको अन्तिम प्रक्रिया नेपालस्थित मन्त्रिपरिषद् बैठकको निर्णयको पर्खाइमा रहेको नगर उपप्रमुख गीता बञ्जाराले बताइन् । पनौतीलाई सरकारले प्राचीन स्मारक संरक्षण ऐन २०३१ अनुसार २०५८ सालमा ‘स्मारक क्षेत्र’ घोषणा गरिसकेको छ । सूचीकृतको मन्त्रालयगत प्रक्रिया सकिएको र मन्त्रिपरिषद् बैठकले निर्णय गर्न बाँकी रहेको बञ्जाराले जानकारी दिए । युनेस्कोले कुनै पनि राष्ट्रको विशेष सांस्कृतिक महत्व राख्ने जस्तै : वन, पहाड, ताल, द्वीप, मरुभूमि, स्मारक, भवन, वा सहर धरोहरहरुलाई आफ्नो सूचीमा सूचीबद्ध गर्ने गर्दछ । जुन विश्व सम्पदा समितिद्वारा चयन गर्ने गरिन्छ । सोही समितिले नै यस सम्पदा क्षेत्रको रेखदेख युनेस्कोको तत्वावधानमा हुनेछ । पुरातत्व विभागका अनुसार नेपालको चार क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गरिएको छ । जसमा काठमाडौं उपत्यका उपत्यका सात क्षेत्र : काठमाडौं दरबार क्षेत्र, पाटन दरबार क्षेत्र, भक्तपुर दरबार क्षेत्र, पशुपतिनाथको मन्दिर, स्वयम्भूनाथ, बौद्धनाथ र चाँगुनारायण मन्दिर, चितवन राष्ट्रिय निकुञ्ज, लुम्बिनी र सगरमाथा राष्ट्रिय निकुञ्ज रहेका छन् । नेपालले हालसम्म पनौतीसहित १५ वटा ऐतिहासिक एवं पर्यटकीय स्थललाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न युनेस्कोसमक्ष प्रस्ताव गरेको छ ।

भुक्तानी सेवा दिने कम्पनीको अनुमतिपत्रसम्बन्धी व्यवस्था संशोधन

काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘भुक्तानीसम्बन्धी कार्य गर्ने संस्थालाई प्रदान गरिने अनुमति नीति, २०७९’ जारी गरेको छ । यसअघि कार्यान्वयनमा रहेको ‘भुक्तानीसम्बन्धी कार्य गर्ने संस्था र संयन्त्रलाई प्रदान गरिने अनुमति नीति, २०७३’ लाई संशोधन गर्दै राष्ट्र बैंकले नयाँ व्यवस्था ल्याएको हो । कुनै वस्तु, सेवा, सम्पत्ति वा दायित्ववापतको रकम विद्युतीय माध्यमबाट कारोबार गर्नका लागि भुक्तानी कम्पनीहरुले मध्यस्थता गर्दछन् । स्वेदश तथा विदेशमा समेत हुने यस्तो कारोबारको दायित्व भुक्तानीका लागि सेवा दिन विभिन्न कम्पनीहरुलाई नेपाल राष्ट्र बैंकले अनुमति दिँदै आएको छ । त्यस्तै, राष्ट्र बैंकबाट अनुमति पाएका बैंक तथा वित्तीय संस्थाले पनि भुक्तानी सेवा दिने कम्पनीका रुपमा काम गरिरहेका छन् । बैंक तथा वित्तीय संस्था बाहेकको हकमा एउटा संस्थालाई भुक्तानी सेवा प्रदायक वा भुक्तानी प्रणाली सञ्चालकमध्ये कुनै एक प्रकारको मात्र काम गर्न पाउने गरी अनुमति दिइने व्यवस्था रहेको छ । नयाँ व्यवस्थाले मुख्यगरी भुक्तानी सेवा दिने कम्पनीको चुक्ता पूँजी र वैदेशिक लगानी ल्याउने कम्पनीहरुका लागि त्यसको निश्चित सीमा निर्धारण गरिदिएको नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता नारायणप्रसाद पोखरेलले जानकारी दिए । ‘भुक्तानी सेवा दिने कम्पनीको लाइसेन्स लिँदा निश्चित पूँजी कायम गर्नुपर्ने र यदि त्यस्ता कम्पनीमा विदेशी लगानी ल्याउने हो भने निश्चित प्रतिशत सिलिङ तोकिएको छ’, पोखरेलले भने । नयाँ नीतिले भुक्तानी कार्डबाहेक अन्य उपकरणहरु सञ्चालन गर्ने संस्थाका लागि पाँच करोड रुपैयाँ र भुक्तानी कार्डसहित अन्य उपकरणहरुसमेत सञ्चालन गर्ने संस्थाका लागि २५ करोड रुपैयाँ चुक्ता पूँजी कायम गर्नुपर्ने व्यवस्था राखेको छ । त्यस्तै, भुक्तानी प्रणाली सञ्चालक पेमेन्ट सर्भिस अपरेटरका लागि १० करोड रुपैयाँ चुक्ता पूँजी कायम गर्नुपर्ने व्यवस्था यसअघि रहेकामा त्यसलाई ४० करोड रुपैयाँ बनाइएको छ । नेपालमा जारी भएको भुक्तानी उपकरणमार्फत् नेपाल बाहिरसमेत भुक्तानी कारोबार हुनेगरी सञ्चालन भएका संस्थाका लागि ८० करोड रुपैयाँ चुक्ता पूँजी आवश्यक पर्नेछ । यस्तो चुक्ता पूँजी यसअघि २५ करोड रुपैयाँ थियो । सेवा प्रदायक र सञ्चाक कम्पनीहरुका लागि तोकिएको चुक्ता पूँजीको सीमा २०८५ साल असार मसान्तसम्म कायम गरिसक्नुपर्नेछ । बैंक तथा वित्तीय संस्थाहरु र विदेशमा स्थापना भई नेपालमा भुक्तानीसम्बन्धी कार्य गर्ने संस्थालाई भने न्यूनतम चुक्ता पूँजीसम्बन्धी व्यवस्था लागू हुनेछैन । विदेशमा स्थापना भई १० वा सोभन्दा बढी मुलुकमा भुक्तानीसम्बन्धी कार्य गरिरहेका संस्थाले नेपालमा कारोबार गर्न चाहेमा छुट पाउनेछन् । त्यस्ता कम्पनीलाई चुक्ता पूँजी, जनशक्तिसम्बन्धी व्यवस्था, आवेदन दस्तुर र धरौटीलगायतका व्यवस्था छुट दिइने राष्ट्र बैंकले जनाएको छ । त्यस्तै, यस्ता कम्पनीमा प्रत्यक्ष वैदेशिक लगानीसमेत भित्र्याउन पाइनेछ । ‘भुक्तानीसम्बन्धी कार्य गर्न अनुमतिपत्रका लागि निवेदन पेस गर्ने संस्था वा हाल अनुमति प्राप्त संस्थाले राष्ट्र बैंकको स्वीकृति लिएर विदेशी फर्म, कम्पनी वा संस्थाबाट लगानी भित्र्याउन सक्नेछन् । यस्तो लगानी रकम अनुमतिपत्र प्राप्त संस्थाको चुक्ता पूँजीको १५ प्रतिशतभन्दा बढी हुनेछैन’, नयाँ नीतिमा भनिएको छ । प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउने अनुमति पाएका संस्थाले त्यस्तो लगानी स्वीकृत भएको मितिले तीन वर्षभित्र सर्वसाधारणमा शेयर जारी गरिसक्नुपर्नेछ । भुक्तानी सेवा प्रदायक र सञ्चालकहरुले राष्ट्र बैंकबाट लाइसेन्स पाएको मितिले पाँच वर्षसम्म संस्थापक शेयर खरिद बिक्री गर्न पाउने छैनन् । त्यस्तै, संवैधानिक पदधारण गरेको व्यक्ति वा सङ्घ, प्रदेश र स्थानीय तहको निर्वाचनमा निर्वाचित व्यक्ति यस्ता कम्पनीको सञ्चालक समितिमा बस्न नपाउने व्यवस्था पनि नीतिमा राखिएको छ । भुक्तानीसम्बन्धी कार्य गर्ने संस्थाहरु एक आसमा गाभिन मर्जर वा एउटा संस्थाले अर्को संस्थालाई प्राप्ति एक्विजिसन समेत गर्न सक्नेछन् । दूरसञ्चार कम्पनीहरुले पनि आफ्नो सहायक कम्पनीमार्फत भुक्तानी सेवा प्रदायकको कार्य गर्न सक्नेछन् । यस्तो सेवा दिन चाहने दूरसञ्चार सेवा प्रदायक कम्पनीले आफ्नो सेवा तथा शुल्कमा विभेदरहित पहुँच प्रदान गर्ने प्रतिबद्धता पेस गर्नुपर्नेछ ।

बैंकबाट किन धमाधम बाहिरिँदै छन् संस्थापक सेयरधनी ?

काठमाडौं । गत पुस १९ गते भाटभटेनी सुपर मार्केट एण्ड डिपार्टमेण्टल स्टोरले बैंक अफ काठमाण्डूमा रहेको सेयर बिक्री गरेर बाहिरिने निर्णय गर्याे । संस्थापक सेयरधनी रहेको भाटभटेनीले आफ्नो नाममा रहेको ९ लाख ५२ हजार ७३० कित्ता संस्थापक सेयर बिक्रीमा गरेर बैंकबाट बाहिरिने बतायो । जसको प्रतिकित्ता सेयर मूल्य २ सय रुपैयाँ तोकिएको छ । गत पुस २० गते एनआईसी एशिया बैंकका संस्थापक सेयरधनी ग्लोबल ट्रेडिङ्ग कन्सर्न र प्रमिला देवी अग्रवालले पनि आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री गर्ने निर्णय गरे । ग्लोबल ट्रेडिङ्ग कन्सर्न प्रालिको स्वामित्वमा रहेको १ लाख १२ हजार ४०७ कित्ता र प्रमिला देवी अग्रवालको स्वामित्वमा रहेको ५० हजार गरी कूल १ लाख ६२ हजा ४०७ कित्ता संस्थापक सेयर अहिले बिक्रीमा छ । यस्तै, गत पुस १२ गते नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकका ७ जना संस्थापक सेयरधनीहरुले १० लाख ३९ हजार कित्ता सेयर बिक्री गरेर बाहिरिने निर्णय गरे । बैंकका संस्थापक सेयरधनी ठाकुर प्रसाद गौतमले १९ हजार १४७ कित्ता, नरेन्द्रलाल जोशीले ६२ हजार ८८० कित्ता, दिपक रत्न शाक्यले ३ लाख १५ हजार १३ कित्ता, खेमनाथ डल्लाकोटीले १ लाख ८९ हजार ६९८ कित्ता, कोष राज वन्तले ४ लाख २६ हजार ९६२ कित्ता, सुदिप पौडेलले ५ हजार ४७० कित्ता र देव बहादुर खत्रीले २० हजार ३३४ कित्ता सेयर बिक्री गरेर बैंकिङ उद्योगबाट बाहिरिने निर्णय गरे । बैंकले बिक्रीमा राखेको उक्त सेयरको मूल्य प्रतिकित्ता १ सय रुपैयाँ तोकिएको छ । त्यति मात्रै होइन गत मंसिरमा एनएमबि बैंकले संस्थापक समूहतर्फको ४४ हजार ७६१ कित्ता सेयर बिक्री गर्न सूचना प्रकाशन गर्याे । बैंकको उक्त सेयर न्यूनतम प्रतिकित्ता १८० रुपैयाँमा बिक्री गरेको थियो । मंसिरमै नबिल बैंकले पनि तीन पटक संस्थापक सेयर बिक्रीमा राख्यो । बैंकले हिमालयन क्यापिटल मार्केट्स एण्ड ईन्भेष्टमेण्टकाे ३ लाख २ हजार ५४५ कित्ता, मंसिर १५ गते इन्टरनेशनल फाइनान्स इन्भेष्टमेन्ट एण्ड कमर्स बैंक लिमिटेड (आइएफआईसी बैंक)को १ करोड ७७ लाख ३६ हजार ८८ कित्ता र मंसिर ११ गते केही संस्थापक सेयरधनीको १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखेको थियो । यी त केही उदाहरण मात्रै हुन् । विभिन्न बैंक तथा वित्तीय संस्थाको संस्थापक सेयर बिक्री गर्ने सूचना प्रायः दैनिक आउँछन् । यसरी एकपछि अर्को बैंकबाट संस्थापक सेयरधनीहरु बाहिरिनु कस्तो संकेत हो ? यो संकेत आफैमा बैंक तथा वित्तीय क्षेत्रका लागि सुखद होइन । नबिल बैंकका अध्यक्ष उपेन्द्र पौड्याल लगानीकर्तालाई पैसा आवश्यक परेपछि सेयर बिक्री गर्नु परेको र यो नियमित प्रक्रिया नै भएको धारणा राख्छन् । थोरै कित्ता सेयर बिक्री गर्नुलाई संसयको रुपमा लिन नहुने उनको भनाइ छ । बैंकहरुमा हजारौं संस्थापक सेयरधनी रहेकाले केही संस्थापक बाहिरिनुमा कुनै तात्विक फरक नपार्ने उनको धारणा छ । ‘सानो सानो संस्थापक सेयर बिक्री गर्नु सामान्य विषय हो, प्रतिफल कम दिएको हुँदा बाहिरिएका पनि हुन सक्छन्, परिवारमा भागबण्डा मिलाउनका लागि बिक्री गरिएको हुन्छन्, कसैको परिवारको सेप्रेसन भइरहेको हुन्छ,’ उनले भने, ‘बैंकका संस्थापकहरु बैंकबाट बाहिरिन चाँदैनन्,अन्य विजनेश गर्दा २५/३० प्रतिशत प्रतिफल पाइरहेका छन् तर, बैंकमा १०/१५ प्रतिशत मात्रै पाएका छन् भने बेच्न सक्छन्,संस्थापक सेयर बिक्री गर्ने संख्या धेरै भए निष्कर्ष निकाल्न सकिन्छ ।’ संस्थापक सेयर बिक्री गर्दैमा बैंकप्रतिको विश्वास घटेको भन्न नमिल्ने उनको भनाइ छ । सबैभन्दा बढी पारदर्शी संस्थाका रुपमा सञ्चालन भएका बैंक मात्रै भएकाले विश्वास बढ्दै गएको उनले बताए । यस्तै, कुमारी बैंकका सञ्चालक उपेन्द्र केशरी न्यौपानेबैंकमा लगानी गरेको पैसाले दिने प्रतिफल र अरु विजनेशमा लगानी गर्दा दिने प्रतिफलमा ठूलो ग्याप हुँदा सेयरधनी बाहिरिन थालेका बताउँछन् । बैंकमा लगानी गरेको भन्दा मुद्दती निक्षेपमा नै बढी प्रतिफल पाइने भएकाले पनि निराश हुने स्थिती आएको उनको तर्क छ । ‘१ करोड रुपैयाँ बैंकमा लगानी गरेको छ, १०/१२ प्रतिशत मात्रै लाभांश पाइन्छ, अन्य क्षेत्रमा लगानी गर्याे भने त्यो भन्दा बढी प्रतिफल आउनसक्छ, अथवा बैंकको फिक्स्ड डिपोजिटमा राख्यो भने पनि १२ प्रतिशत ब्याज पाउन सकिन्छ भने किन सेयरमा लगानी गरेर तनाब लिनु ?’ उनी भन्छन्, ‘अब बैंकमा लगानी गरेर १० प्रतिशत मात्रै लिनुभन्दा त मुद्दतीमा राख्यो भने फाइदा हुन्छ ।’ बैंकमा लगानी गर्नेले मुद्दतीमा राखेको भन्दा बढी प्रतिफल भयो भने मात्रै बैंकमा लगानी गर्न प्रेरित हुने उनको भनाइ छ । उनका अनुसार बैंकप्रतिको विश्वास घटेको भन्दा पनि लगानी गरेवापत रिटर्न छैन भन्ने सन्देश प्रवाह भयो । बैंकहरुको विजनेश गर्ने भोलुम सानो भएकाले पनि रिटर्न कम हुने गरेको उनले बताए । ‘बैंकहरुले विजनेश गर्नै सक्दैनन्, नाफा दिने गरेर विजनेश भएको हुँदैन, सेयर बिक्री गरेर निक्षेपमा राख्दा चाहिएको बेला नगद पनि हुन्छ, संस्थापक सेयर धेरै झण्झटिलो पनि छ, बजारमा त्यसको लिक्विट गर्न पनि गाह्रो छ, नगद चाहिएको बेला बिक्री गर्न पनि गाह्रो छ, निक्षेपमा राख्यो भने धेरै गाह्रो हुँदैन, त्यसैले त्यतातिर उत्प्रेरित भएका देखिन्छन्,’ उनले भने । पछिल्लो समय देखिएको आर्थिक मन्दीका कारण पनि सेयर बिक्री गरेको हुन सक्ने उनले बताए । साथै राष्ट्र बैंकले नीति नियममा कडाइ गरेको कारण्ले पनि संस्थापक निराश हुनु परेको उनको भनाइ छ । सञ्चालक समितिमा पनि भूमिका केही नहुने भएकाले संस्थापकले सेयर बिक्री गर्ने गरेको हुन सक्ने उनको तर्क छ । पूर्व बैंकर अनलराज भट्टराई पनि संस्थापक सेयर बिक्री गर्ने प्रक्रिया निरन्तर चलिरहने भएकाले पहिलाको जस्तो धेरै संख्या बिक्री नहुने गरेको बताउँछन् । बैंकमा संस्थापक सेयरधनी बन्न दिएपनि बाहिरिँदा धेरै झण्झटिलो रहेको उनको भनाइ छ । ‘बैंकिङ क्षेत्रमा ५ सय अर्ब रुपैयाँ बराबरको पूँजी छ, जसमा ५० प्रतिशत संस्थापक सेयरधनी छन्, १०/१२ करोडको सेयर बिक्री हुनु स्वभाविक हो, पहिला–पहिला एक/डेढ लाख कित्ता सेयर पनि धेरै हुन्थ्यो, अहिले एउटै बैंकको ३५ अर्बको पूँजी हुँदा ९ लाख कित्ता बिक्री गर्दा फरक पर्दैन, प्रतिशतमा धेरै कम हुन्छ,’ उनले भने, ‘बैंकमा संस्थापक लगानी गर्न दिइएको छ तर त्यो सेयरलाई बिक्री गर्न दिएको छैन, सेयर धितो पनि राख्न दिएको छैन, बजार मूल्य अनुसार कर्जा लिन पनि पाएको छैन, बजार मूल्यभन्दा आधामा कारोबार हुन्छ ।’ १० वर्ष अगाडिको लगानीलाई बिक्री गरेर अन्य ठाउँमा लगानी आवश्यक रहेको उनले बताए । पछिल्लो समय बैंकहरुको प्रतिफल घटेको भएपनि १० वर्ष अघि लगानी गर्दा अहिले कति गुणा फाइदा भयो भनेर हिसाव गर्न पनि आवश्यक रहेको उनको भनाइ छ । ‘बैंक स्थापना संस्थापकले गर्छन् तर संस्थापकलाई सजाय दिएको जस्तो देखिन्छ, संस्थापकले बैंक खोल्नु हुन्छ, कानुनले सजायको भागिदार हुनुहुन्छ भन्ने व्यवहार गरेको छ, संस्थापकलाई कानुनी प्रक्रिया हटाउनुपर्छ,’ उनले भने, ‘दैनिक खुला बजारमा लाखौ कित्ता कारोबार हुन्छ, त्यहाँ पनि एकले अर्काेलाई छोडेको हो नी, त्यो त ब्यापार हो नी, जस्तो होटलको कोठा दैनिक बिक्री भइरहन्छ,होटलको कोठा त्यहि रहन्छ, त्यो पनि बेचेकै हो, बेचबिखन जहाँ पनि हुन्छ, त्यसैले संस्थापकलाई सहजीकरण गर्नुपर्छ ।’ बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ अनुसार कूल संस्थापक सेयरको दुई प्रतिशत भन्दा बढी सेयर बिक्री गर्नु परेमा राष्ट्र बैंकको स्वीकृति लिनुपर्ने प्रावधान छ । दुई प्रतिशत भन्दा कम सेयर बिक्री गर्नु पर्याे भने राष्ट्र बैंकको स्वीकृति लिन जरुरी छैन । त्यो अवस्थामा बैंक आफैले बिक्री गर्न सक्छन् । पछिल्लो समय २ प्रतिशतभन्दा बढी संस्थापक सेयर बिक्री गर्ने संख्या धेरै छैनन् । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ दफा ११ को उपदफा २ मा संस्थापक अन्य बैंक वा वित्तीय संस्थाको वित्तीय कारोबारमा कालोसूचीमा परेमा राष्ट्र बैंकको स्वीकृति लिई संस्थापकहरुबीच एक आपसमा सेयर खरिद वा बिक्री गर्न सकिने व्यवस्था गरिएको छ । संस्थापकले आफ्नो नाममा रहेको सेयर बिक्री गर्न वा धितोबन्धक राख्न चाहेमा राष्ट्रबैंकको स्वीकृति लिई बिक्री गरेको त्यस्तो सेयर संस्थापक समूहमा नै रहने गरी बिक्री गर्न वा धितोबन्धक राख्न सक्नेछ । सम्बन्धित सामग्री : संस्थापक सेयर लगानीकर्तालाई ‘घाँडो’

कान्ती बाल अस्पतालले मनायो ६१ औं वार्षिकोत्सव

काठमाडौं । कान्ती बाल अस्पतालले आफ्नो ६१ औं वार्षिकोत्सव मनाएको छ । अस्पतालले आज एक कार्यक्रमबीच आफ्नो ६१ औं वार्षिकोत्सव मनाएको हो । कान्ती बाल अस्पतालको ६१ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले कान्ती बाल अस्पतालमा स्वास्थ्यकर्मीहरुको दरबन्दी नपुगेको भन्ने गुनासो आएको भन्दै त्यसलाई सरकारले समाधान गर्ने बताए । उनले अस्पतालका लागि स्वास्थ्य मन्त्रालयबाट ५ सय बेडको स्वीकृतिको लागि अर्थ र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाइसकेको भन्दै स्वास्थ्यकर्मीको दरबन्दी र ५ सय बेडको स्वीकृतिको लागि मन्त्रालयले तदारुकताका साथ काम अघि बढाउने बताए । उनले मन्त्रालयले अस्पतालमा स्वास्थ्यकर्मीको दरबन्दी र नर्सिङ र म्यानपावर पूरा गर्ने प्रतिवद्धता जनाए । उनले भने, ‘स्वास्थ्य मन्त्रालयको दरबन्दी पुगेन रे भन्ने आउँछ, हामीले कान्तीबाल अस्पतालको वेनाम गरिसकेका छौँ । स्वास्थ्यबाट ५ सय बेडको स्वीकृतिको लागि अर्थ र सामान्यमा पठाइसकेका छौँ । सकेसम्म छिटै दरबन्दी पूरा गराएर नर्सिङ र म्यानपावर जहिले पनि खड्किन्छ । त्यो पूरा गर्ने वाचा गर्दछु । एक हजार बेडको अस्पताल बनाउने यहाँका निर्देशकहरुले धेरै पहिलादेखि लिएको चाहना पूरा गर्न हामी काम अघि बढाउँछौँ ।’ सचिव पोखरेलले अस्पतालले सरकारले दिएको पैसाको सही सदुपयोग गरेको भन्दै खुशी आगामी दिनमा पनि अस्पतालले राम्रा काम गरेर देखाउने विश्वास राखेको बताए ।

नेपाल लाइफको अभिकर्ता तालिम सुरु, बीमाका ख्यातिप्राप्त प्रशिक्षक कयालले प्रशिक्षण दिँदै

काठमाडाैं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आजबाट धुलिखेलको आगन्तुक रिसोर्टमा दुई दिवसीय अभिकर्ता प्रशिक्षण कार्यक्रमको सुरु गरेकाे छ । अन्तराष्ट्रिय प्रशिक्षकद्धारा प्रशिक्षण दिइने यस कार्यक्रममा देशभरबाट १२५ जना भन्दा अभिकर्ता तथा एजेन्सी म्यानेजरहरुको सहभागि छन् । कार्यक्रमको शुभारम्भ नायब प्रमुख कार्यकारी अधिकृत अमित कयालले गरेका थिए । भारतको मुम्बइबाट जीवन बीमाका अन्तराष्ट्रिय ख्यातिप्राप्त प्रशिक्षक तथा सफल जीवन बीमा अभिकर्ता राजेश सतोष्कारले कार्यक्रमका सहभागीलाई प्रशिक्षण दिँदै छन् । कम्पनीले पुस २३ गते आर्मी अफिसर क्लबमा करिब ८ सय जना अभिकर्ताहरुलाई प्रशिक्षण दिने तयारी पनि गरिरहेकाे जानकारी दिएकाे छ । २०७९ असोज मसान्तसम्ममा यस कम्पनीको लगानी १४९.७६ अर्ब रुपैयाँ रहेको छ भने जीवन बीमाकोष १४२ अर्ब ९ करोड रुपैयाँ र सेयरधनी कोष ११ अर्ब ३ करोडभन्दा बढी रहेको छ । कम्पनीमा २,१२,३६२ भन्दाबढी प्रशिक्षित अभिकर्ता रहेका छन् । कम्पनीले देशभर फैलिएका आफ्ना हाल करिब १ सय ९७ कार्यालय सञ्जालहरू मार्फत जीवन बीमासम्बन्धी सेवा उपलब्ध गराइरहेको छ । यसका साथसाथै कम्पनीले हालसम्म १९७.१८ अर्ब रुपैया बीमा शुल्क आर्जन गरेको छ ।  कम्पनीले २१ वटा बीमा योजना अन्तर्गत ३१,१५,४२० बीमालेख जारी गरेकाे छ ।

महुली लघुवित्तले माग्यो कर्मचारी

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ । संस्थाले एक सूचना जारी गर्दै वरिष्ठ सहायकका लागि केही र कनिष्ठ सहायक पदका लागि केहि संख्यामा कर्मचारी माग गरेको छ । उक्त पदहरुमा आवेदन दिनको लागि प्रविणता प्रमाणपत्र तह उत्तिर्ण गरेको हुनुपर्ने संस्थाले जनाएको छ । ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले सुचना प्रकाशित भएको मितिले १५ दिनभित्र  संस्थाको वेवासाइट मार्फत आवेदन दिन सक्ने छन् ।

बिओकेको ६३ लाख कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाडौं । बैंक अफ काठमाण्डु(बिओके)को बोनस सेयर नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सुचिकृत भएको छ । बैंकको ६ प्रतिशत अर्थात ६३ लाख ७५ हजार ३९६ कित्ता बोनस सेयर नेप्सेमा सुचिकृत भएको हो । यससँगै, संस्थाको सो मात्राको सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा हस्तातरण भई दोस्रो बजारमा किनबेच गर्न मिल्ने छ ।