
काठमाडौं । लक्ष्मी बैंक र सनराइज बैंकबीच मर्जरको छलफल चलेको छ । दुई बैंकबीच मर्ज हुन लागि विभिन्न समयमा छलफल भएको र केही दिनमा प्रारम्भिक सम्झौता गर्ने तयारी रहेको बुझिएको छ ।
लक्ष्मी बैंक र सनराइज बैंकले आ–आफ्नो मर्जर समिति गठन गरेर काम गरिरहेका छन् । धेरै पटक दुई बैंकका मर्जर समितिबीच पनि छलफल भइसकेको बताइएको छ । दुवै बैंकका मर्जर समितिबीच विभिन्न समयमा वार्ता भएपनि निष्कार्षमा भने पुग्न सकेको छैन ।
लक्ष्मी बैंकका अध्यक्ष रमण नेपालले मर्जरको छलफल भइरहेको भएपनि निष्कर्शमा नपुगेको बताए । ‘मर्जर भन्ने बित्तीकै सम्भव हुँदैन, मर्जरका लागि छलफल अघि बढेको हो, धेरै विषयमा कुराकानी हुन बाँकी छ, दुवै बैंकले मर्जर समिति बनाएर काम गरिरहेका छौं, एमओयू भएपछि मात्रै संयुक्त मर्जर समिति बन्छ, सबै कुराहरुको टुंगो लागेको छैन,’ उनले भने ।
उनले दुवै बैंक समान हैसियतमा मर्ज हुने की नहुने भन्ने विषय टुंगो नलागेको बताए । स्वाप रेसियो डीडीए रिपोर्टमा निर्धारण गरिने उनको भनाइ छ ।
‘राष्ट्र बैंकले दिएको लचतकता कति ओगट्ने भन्ने हुन्छ, ५ प्रतिशतसम्म तलमाथी भयो भने समान हैसियत हुन्छ, ५ प्रतिशत भन्दा बढी भयो भने जसको जति आउँछ त्यहि हिसावमा मर्ज हुन्छ, प्रि–डीडीए गरिएको छैन, वित्तीय डकुमेन्टहरु मात्रै अध्ययन भएको हो, सबै सम्पत्तिको मूल्याङ्कन गरेर मात्रै स्वाप रेसियो निर्धारण हुने हो,’ उनले भने । उनका अनुसार कुरा मिलेमा पुसभित्रै पनि मर्जरको सम्झौता हुन सक्छ ।