काठमाडौं । गत पुस १९ गते भाटभटेनी सुपर मार्केट एण्ड डिपार्टमेण्टल स्टोरले बैंक अफ काठमाण्डूमा रहेको सेयर बिक्री गरेर बाहिरिने निर्णय गर्याे । संस्थापक सेयरधनी रहेको भाटभटेनीले आफ्नो नाममा रहेको ९ लाख ५२ हजार ७३० कित्ता संस्थापक सेयर बिक्रीमा गरेर बैंकबाट बाहिरिने बतायो । जसको प्रतिकित्ता सेयर मूल्य २ सय रुपैयाँ तोकिएको छ ।
गत पुस २० गते एनआईसी एशिया बैंकका संस्थापक सेयरधनी ग्लोबल ट्रेडिङ्ग कन्सर्न र प्रमिला देवी अग्रवालले पनि आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री गर्ने निर्णय गरे । ग्लोबल ट्रेडिङ्ग कन्सर्न प्रालिको स्वामित्वमा रहेको १ लाख १२ हजार ४०७ कित्ता र प्रमिला देवी अग्रवालको स्वामित्वमा रहेको ५० हजार गरी कूल १ लाख ६२ हजा ४०७ कित्ता संस्थापक सेयर अहिले बिक्रीमा छ ।
यस्तै, गत पुस १२ गते नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकका ७ जना संस्थापक सेयरधनीहरुले १० लाख ३९ हजार कित्ता सेयर बिक्री गरेर बाहिरिने निर्णय गरे । बैंकका संस्थापक सेयरधनी ठाकुर प्रसाद गौतमले १९ हजार १४७ कित्ता, नरेन्द्रलाल जोशीले ६२ हजार ८८० कित्ता, दिपक रत्न शाक्यले ३ लाख १५ हजार १३ कित्ता, खेमनाथ डल्लाकोटीले १ लाख ८९ हजार ६९८ कित्ता, कोष राज वन्तले ४ लाख २६ हजार ९६२ कित्ता, सुदिप पौडेलले ५ हजार ४७० कित्ता र देव बहादुर खत्रीले २० हजार ३३४ कित्ता सेयर बिक्री गरेर बैंकिङ उद्योगबाट बाहिरिने निर्णय गरे । बैंकले बिक्रीमा राखेको उक्त सेयरको मूल्य प्रतिकित्ता १ सय रुपैयाँ तोकिएको छ ।
त्यति मात्रै होइन गत मंसिरमा एनएमबि बैंकले संस्थापक समूहतर्फको ४४ हजार ७६१ कित्ता सेयर बिक्री गर्न सूचना प्रकाशन गर्याे । बैंकको उक्त सेयर न्यूनतम प्रतिकित्ता १८० रुपैयाँमा बिक्री गरेको थियो । मंसिरमै नबिल बैंकले पनि तीन पटक संस्थापक सेयर बिक्रीमा राख्यो । बैंकले हिमालयन क्यापिटल मार्केट्स एण्ड ईन्भेष्टमेण्टकाे ३ लाख २ हजार ५४५ कित्ता, मंसिर १५ गते इन्टरनेशनल फाइनान्स इन्भेष्टमेन्ट एण्ड कमर्स बैंक लिमिटेड (आइएफआईसी बैंक)को १ करोड ७७ लाख ३६ हजार ८८ कित्ता र मंसिर ११ गते केही संस्थापक सेयरधनीको १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखेको थियो ।
यी त केही उदाहरण मात्रै हुन् । विभिन्न बैंक तथा वित्तीय संस्थाको संस्थापक सेयर बिक्री गर्ने सूचना प्रायः दैनिक आउँछन् । यसरी एकपछि अर्को बैंकबाट संस्थापक सेयरधनीहरु बाहिरिनु कस्तो संकेत हो ? यो संकेत आफैमा बैंक तथा वित्तीय क्षेत्रका लागि सुखद होइन ।
नबिल बैंकका अध्यक्ष उपेन्द्र पौड्याल लगानीकर्तालाई पैसा आवश्यक परेपछि सेयर बिक्री गर्नु परेको र यो नियमित प्रक्रिया नै भएको धारणा राख्छन् । थोरै कित्ता सेयर बिक्री गर्नुलाई संसयको रुपमा लिन नहुने उनको भनाइ छ । बैंकहरुमा हजारौं संस्थापक सेयरधनी रहेकाले केही संस्थापक बाहिरिनुमा कुनै तात्विक फरक नपार्ने उनको धारणा छ ।
‘सानो सानो संस्थापक सेयर बिक्री गर्नु सामान्य विषय हो, प्रतिफल कम दिएको हुँदा बाहिरिएका पनि हुन सक्छन्, परिवारमा भागबण्डा मिलाउनका लागि बिक्री गरिएको हुन्छन्, कसैको परिवारको सेप्रेसन भइरहेको हुन्छ,’ उनले भने, ‘बैंकका संस्थापकहरु बैंकबाट बाहिरिन चाँदैनन्,अन्य विजनेश गर्दा २५/३० प्रतिशत प्रतिफल पाइरहेका छन् तर, बैंकमा १०/१५ प्रतिशत मात्रै पाएका छन् भने बेच्न सक्छन्,संस्थापक सेयर बिक्री गर्ने संख्या धेरै भए निष्कर्ष निकाल्न सकिन्छ ।’
संस्थापक सेयर बिक्री गर्दैमा बैंकप्रतिको विश्वास घटेको भन्न नमिल्ने उनको भनाइ छ । सबैभन्दा बढी पारदर्शी संस्थाका रुपमा सञ्चालन भएका बैंक मात्रै भएकाले विश्वास बढ्दै गएको उनले बताए ।
यस्तै, कुमारी बैंकका सञ्चालक उपेन्द्र केशरी न्यौपानेबैंकमा लगानी गरेको पैसाले दिने प्रतिफल र अरु विजनेशमा लगानी गर्दा दिने प्रतिफलमा ठूलो ग्याप हुँदा सेयरधनी बाहिरिन थालेका बताउँछन् । बैंकमा लगानी गरेको भन्दा मुद्दती निक्षेपमा नै बढी प्रतिफल पाइने भएकाले पनि निराश हुने स्थिती आएको उनको तर्क छ ।
‘१ करोड रुपैयाँ बैंकमा लगानी गरेको छ, १०/१२ प्रतिशत मात्रै लाभांश पाइन्छ, अन्य क्षेत्रमा लगानी गर्याे भने त्यो भन्दा बढी प्रतिफल आउनसक्छ, अथवा बैंकको फिक्स्ड डिपोजिटमा राख्यो भने पनि १२ प्रतिशत ब्याज पाउन सकिन्छ भने किन सेयरमा लगानी गरेर तनाब लिनु ?’ उनी भन्छन्, ‘अब बैंकमा लगानी गरेर १० प्रतिशत मात्रै लिनुभन्दा त मुद्दतीमा राख्यो भने फाइदा हुन्छ ।’
बैंकमा लगानी गर्नेले मुद्दतीमा राखेको भन्दा बढी प्रतिफल भयो भने मात्रै बैंकमा लगानी गर्न प्रेरित हुने उनको भनाइ छ । उनका अनुसार बैंकप्रतिको विश्वास घटेको भन्दा पनि लगानी गरेवापत रिटर्न छैन भन्ने सन्देश प्रवाह भयो । बैंकहरुको विजनेश गर्ने भोलुम सानो भएकाले पनि रिटर्न कम हुने गरेको उनले बताए ।
‘बैंकहरुले विजनेश गर्नै सक्दैनन्, नाफा दिने गरेर विजनेश भएको हुँदैन, सेयर बिक्री गरेर निक्षेपमा राख्दा चाहिएको बेला नगद पनि हुन्छ, संस्थापक सेयर धेरै झण्झटिलो पनि छ, बजारमा त्यसको लिक्विट गर्न पनि गाह्रो छ, नगद चाहिएको बेला बिक्री गर्न पनि गाह्रो छ, निक्षेपमा राख्यो भने धेरै गाह्रो हुँदैन, त्यसैले त्यतातिर उत्प्रेरित भएका देखिन्छन्,’ उनले भने ।
पछिल्लो समय देखिएको आर्थिक मन्दीका कारण पनि सेयर बिक्री गरेको हुन सक्ने उनले बताए । साथै राष्ट्र बैंकले नीति नियममा कडाइ गरेको कारण्ले पनि संस्थापक निराश हुनु परेको उनको भनाइ छ । सञ्चालक समितिमा पनि भूमिका केही नहुने भएकाले संस्थापकले सेयर बिक्री गर्ने गरेको हुन सक्ने उनको तर्क छ ।
पूर्व बैंकर अनलराज भट्टराई पनि संस्थापक सेयर बिक्री गर्ने प्रक्रिया निरन्तर चलिरहने भएकाले पहिलाको जस्तो धेरै संख्या बिक्री नहुने गरेको बताउँछन् । बैंकमा संस्थापक सेयरधनी बन्न दिएपनि बाहिरिँदा धेरै झण्झटिलो रहेको उनको भनाइ छ ।
‘बैंकिङ क्षेत्रमा ५ सय अर्ब रुपैयाँ बराबरको पूँजी छ, जसमा ५० प्रतिशत संस्थापक सेयरधनी छन्, १०/१२ करोडको सेयर बिक्री हुनु स्वभाविक हो, पहिला–पहिला एक/डेढ लाख कित्ता सेयर पनि धेरै हुन्थ्यो, अहिले एउटै बैंकको ३५ अर्बको पूँजी हुँदा ९ लाख कित्ता बिक्री गर्दा फरक पर्दैन, प्रतिशतमा धेरै कम हुन्छ,’ उनले भने, ‘बैंकमा संस्थापक लगानी गर्न दिइएको छ तर त्यो सेयरलाई बिक्री गर्न दिएको छैन, सेयर धितो पनि राख्न दिएको छैन, बजार मूल्य अनुसार कर्जा लिन पनि पाएको छैन, बजार मूल्यभन्दा आधामा कारोबार हुन्छ ।’
१० वर्ष अगाडिको लगानीलाई बिक्री गरेर अन्य ठाउँमा लगानी आवश्यक रहेको उनले बताए । पछिल्लो समय बैंकहरुको प्रतिफल घटेको भएपनि १० वर्ष अघि लगानी गर्दा अहिले कति गुणा फाइदा भयो भनेर हिसाव गर्न पनि आवश्यक रहेको उनको भनाइ छ ।
‘बैंक स्थापना संस्थापकले गर्छन् तर संस्थापकलाई सजाय दिएको जस्तो देखिन्छ, संस्थापकले बैंक खोल्नु हुन्छ, कानुनले सजायको भागिदार हुनुहुन्छ भन्ने व्यवहार गरेको छ, संस्थापकलाई कानुनी प्रक्रिया हटाउनुपर्छ,’ उनले भने, ‘दैनिक खुला बजारमा लाखौ कित्ता कारोबार हुन्छ, त्यहाँ पनि एकले अर्काेलाई छोडेको हो नी, त्यो त ब्यापार हो नी, जस्तो होटलको कोठा दैनिक बिक्री भइरहन्छ,होटलको कोठा त्यहि रहन्छ, त्यो पनि बेचेकै हो, बेचबिखन जहाँ पनि हुन्छ, त्यसैले संस्थापकलाई सहजीकरण गर्नुपर्छ ।’
बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ अनुसार कूल संस्थापक सेयरको दुई प्रतिशत भन्दा बढी सेयर बिक्री गर्नु परेमा राष्ट्र बैंकको स्वीकृति लिनुपर्ने प्रावधान छ । दुई प्रतिशत भन्दा कम सेयर बिक्री गर्नु पर्याे भने राष्ट्र बैंकको स्वीकृति लिन जरुरी छैन । त्यो अवस्थामा बैंक आफैले बिक्री गर्न सक्छन् । पछिल्लो समय २ प्रतिशतभन्दा बढी संस्थापक सेयर बिक्री गर्ने संख्या धेरै छैनन् ।
बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ दफा ११ को उपदफा २ मा संस्थापक अन्य बैंक वा वित्तीय संस्थाको वित्तीय कारोबारमा कालोसूचीमा परेमा राष्ट्र बैंकको स्वीकृति लिई संस्थापकहरुबीच एक आपसमा सेयर खरिद वा बिक्री गर्न सकिने व्यवस्था गरिएको छ । संस्थापकले आफ्नो नाममा रहेको सेयर बिक्री गर्न वा धितोबन्धक राख्न चाहेमा राष्ट्रबैंकको स्वीकृति लिई बिक्री गरेको त्यस्तो सेयर संस्थापक समूहमा नै रहने गरी बिक्री गर्न वा धितोबन्धक राख्न सक्नेछ ।
सम्बन्धित सामग्री : संस्थापक सेयर लगानीकर्तालाई ‘घाँडो’