विकासन्युज

सुनको मूल्यमा नयाँ रेकर्ड : किन्नेभन्दा बेच्ने बढी हुँदा राेकियाे आयात

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आइतबार प्रतितोला १ हजार रुपैयाँले बढेसँगै सुनको मूल्यले रेकर्ड तोडेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघको तथ्यांक अनुसार आइतबार १ हजार रुपैयाँले बढेसँगै छापावाला सुनको मूल्य तोलामै १ लाख ३ हजार ३ सय रुपैयाँ कायम भएको छ । महासंघका अनुसार आइतबार तेजावी सुन प्रति तोला १ लाख २ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएतापनि सुनचाँदी व्यवसायीले भने बिक्री नभएको भन्दै आयात रोक्न सिफारिस गरेका छन् । बजारमा पुराना गहना बेच्नेको संख्या बढेको भन्दै नेपाल सुन चाँदी व्यवसायी महासंघले आयात रोक्न सिफारिस गरेको हो । महासंघका अध्यक्ष मणिकरत्न शाक्य पुराना गहना बेच्नेको भीड लागेपछि आयात रोकिएको बताउँछन् । ‘अहिले बजारमा सुनको माग अत्यधिन न्यून छ, नयाँ सुनको मागभन्दा पनि पुराना गहना बेच्नेको भीड लागेपछि हामीले नयाँ सुन आयात रोक्न सिफारिस गरेका हौँ, माघ लागेसँगै आयात खुला हुन्छ’, उनले भने । महासंघको आग्रहमा बैंकर्स संघले बैंकहरुलाई सुन आयातको सिफारिस रोकेको छ । सामान्य अवस्थामा नेपाली बजारमा दैनिक १५ देखि २० किलो सुनको बिक्री हुनेगरेको महासंघले जनाएको छ । महासंघको तथ्यांक अनुसार पछिल्लो समय बैंकमा मात्रै १ सयभन्दा किलोभन्दा बढी सुन थन्कीएको छ ।

लक्ष्मी र सनराइज बैंकको मर्जर पक्का, अध्यक्ष र सीईओ लक्ष्मीले पाउने

काठमाडौं । लक्ष्मी बैंक र सनराइज बैंक मर्जर सम्झौता हुने भएको छ । दुवै बैंकबीच समान हैसियतमा सोमबार मर्जरको प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर हुने भएको हो । लक्ष्मी बैंक र सनराइज बैंकले आ–आफ्नो मर्जर समिति गठन गरेर काम मर्जरका लागि विभिन्न चरणमा छलफल गरेका थिए । धेरै पटक दुई बैंकका मर्जर समितिबीच छलफल भएपछि १ः१ अनुपातमा मर्ज हुने सहमति भएको हो । तर, सम्पति तथा दायित्वको मूल्यांन (डीडीए) रिपोर्टमा ५ प्रतिशतभन्दा बढिको फरक पर्न गएमा सोही अनुसार स्वाप रेसियो निर्धारण हुने लक्ष्मी बैंकका अध्यक्ष रमण नेपालले बताए । ‘स्वाप रेसियो डीडीएले तय गर्छ, राष्ट्र बैंकको मर्जर विनियमावलीमा १० प्रतिशत भनिएको छ तर, ५ प्रतिशत भन्दा बढी भयो भने सोही अनुसार स्वाप रेसियो निर्धारण हुनेछ, अहिले समान हैसियत भनिएको छ,’ उनले भने । मर्जर पश्चात् बैंकको अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत (सीईओ) दुवै लक्ष्मी बैंकले पाउने सहमति भएको छ । लक्ष्मी बैंकका अध्यक्ष रमण नेपाल मर्जर पश्चात् बन्ने बैंकको अध्यक्ष बन्नेछन् भने सीईओ अजय बहादुर शाह बन्ने सहमति भएको छ । मर्जर पश्चात् बैंकको नाम लक्ष्मी सनराइज बैंक राख्ने सहमति भएको छ । छिटो छरितो काम गर्ने सानो सञ्चालक समिति बनाउने योजना रहेको उनको भनाइ छ । ‘धेरै विषयमा कुराकानी हुन बाँकी छ, एमओयू भएपछि संयुक्त मर्जर समिति बन्छ, सबै कुराहरुको टुंगो सम्झौता पछि हुनेछ,’ उनले भने, ‘५ जनाको मात्रै सञ्चालक समिति बनाउने योजना छ तर भोलिका दिनमा के हुन्छ त्यहि अनुसार अघि बढ्छौं, जति जनाको सञ्चालक भएपनि बराबर हैसियतमा सञ्चालक समिति बन्छ ।’ सनराइज बैंकको चुक्ता पूँजी १० अर्ब ११ करोड रुपैयाँ रहेको छ भने लक्ष्मी बैंकको चुक्ता पूँजी ११ अर्ब ५५ करोड रुपैयाँ रहेको छ । यदि समान हैसियतमा मर्ज भएभने बैंकको चुक्ता पूँजी २१ अर्ब ६६ करोड रुपैयाँ पुग्नेछ । यस्तै, लक्ष्मी बैंकको निक्षेप संकलन १ खर्ब ४२ अर्ब ६४ करोड रुपैयाँ र सनराइज बैंकको १ खर्ब २५ अर्ब १९ करोड रुपैयाँ रहेको छ । यस्तै, लक्ष्मी बैंकको कर्जा १ खर्ब ३७ अर्ब ४ करोड रुपैयाँ र सनराइज बैंकको १ खर्ब १९ अर्ब ३७ करोड रुपैयाँ रहेको छ । मर्जर पश्चात् बन्ने बैंकको निक्षेप संकलन २ खर्ब ६७ अर्ब ८३ करोड रुपैयाँ र कर्जा २ खर्ब ५६ अर्ब ४१ करोड रुपैयाँ पुग्नेछ । लक्ष्मी र सनराइज बैंक मर्जरको तयारीमा, पुसभित्रै सम्झौता हुने सम्भावना कति ?  

गुल्मीको रेसुङ्गा विमानस्थलमा आज परीक्षण उडान हुँदै, नगरपालिकामा विदा

गुल्मी । गुल्मीको रेसुङ्गा विमानस्थलमा आज परीक्षण उडान हुने भएको छ । रेसुङ्गा नगरपालिका १० स्थित सिमिचौरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तारा एयरको एन-एएलओ ट्वीनअटर जहाजले आज बिहान ११ बजे परीक्षण उडान गर्न लागेको हो । डेमोस्ट्रेसन उडानका लागि नेपाल नागरिक उडड्यन प्राधिकरण, तारा एयरलाइन्स र रेसुङ्गा नगरपालिकाबीच सम्झौता भएपछि व्यावसायिक उडानका लागि तारा एयरले परीक्षण उडान गर्न लागेको नगरपालिका प्रमुख खिलध्वज पन्थीले जानकारी दिए । डेमोस्ट्रेसन उडान हुने भएपछि नगरपालिकाले आज कार्यालयमा बिदा दिएको छ । “डेमोस्ट्रेसन उडान हुने भएपछि आइतबार नगरपालिका र वडा कार्यालयमा बिदा दिइएको छ”, उपप्रमुख अमृतादेवी कुँवरले भनिन्, “विद्यालयलगायतका अन्य स्थानमा भने बिदा हुने छैन ।” विसं २०६३ सालदेखि निर्माण शुरु गरिएको विमानस्थल १६ वर्षपछि सम्पन्न भएको हो । कुल ३३ करोड लगातमा निर्माण गरिएको विमानस्थलको लम्बाई पाँच सय २० मिटर र चौडाइ २० मिटर छ । एक सय ५६ रोपनी क्षेत्रफलमा फैलिएको रेसुङ्गा विमानस्थल समुन्द्र सतहदेखि १५ सय २६ मिटरको उचाइमा पर्छ । आज हुने डेमोस्ट्रेसन उडानका लागि सुरक्षा व्यवस्थाको सम्पूर्ण तयारी पूरा भएको प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेलले बताए । जहाज काठमाडौंबाट बिहान ११ बजे उड्ने छ भने विमानस्थल आइपुग्दा करिब ५० मिनेट लाग्ने प्राधिकरणले जनाएको छ । डेमोस्ट्रेसन उडानपछि नियमित उडानका लागि थप प्रक्रिया थालिने यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले बताएका छन् । लामो समयपछि गुल्मीवासीहरुको सपना साकार भएको भन्दै गुल्मी क्षेत्र नं १ का सांसद चन्द्र भण्डारीले यो आजको अवस्थासम्म ल्याई पु¥याउन सहयोग गर्ने सबै राजनीति दल, विभिन्न निकाय र जिल्लावासीलाई धन्यवाद व्यक्त गरेका छन् । उनले आगामी दिनमा नियमित उडानका लागि पनि सबैको सल्लाह एवं सहयोग अपरिहार्य रहेको बताए । त्यसैगरी पूर्व सांसद एवं नेकपा एमालेका उपमहासिचव प्रदीप ज्ञवालीले सुरक्षीत हवाई यात्रा समयमै गन्तव्यमा पुग्न, बिरामीलाई लैजान र आकस्मिक सेवाका लागि निकै महत्वपूर्ण हुने बताए । उनले यसलाई नियमित गराउनेतर्फ सबैले ध्यान दिनुपर्ने भन्दै आफू परराष्ट्रमन्त्री हुँदा शिलन्यास गरेको बिमानस्थलमा ढिलै भएपनि उडान शुरु हुन लागेकोमा खुसि व्यक्त गरे । डेमोस्ट्रेसन उडानमार्फत् सांसद चन्द्र भण्डारी, एमाले उपमहासचिव प्रदीप ज्ञवाली, नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्री, प्रदेशसभा सदस्य धनेन्द्र बहादुर कार्की लगायत तारा एयर र नेपाल नागरिक उड्डयन प्राधिकरणका कर्मचारी आउने छन् । रेसुङ्गा विमानस्थलमा यसअघि २०७५ साल जेठ २५ मा धुले परीक्षण उडान गरिएको थियो ।

प्रा.डा. बरालको अध्यक्षतामा स्त्री क्यान्सर रोग समाजको नयाँ कार्यसमिति चयन

काठमाडौं । प्रा.डा. गेहनाथ बरालको अध्यक्षतामा नेपाल स्त्री क्यान्सर रोग समाज (गोसोन)मा नयाँ कार्यसमिति चयन भएको छ। शनिबार भएको गोसोनको सम्मेलनले बरालको अध्क्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको हो। समितिको उपाध्यक्षमा डा. जितेन्द्र परियार, सचिवमा प्रा.डा. गणेश दंगाल, कोषाध्यक्षमा डा. स्निग्धा राई, सहसचिवमा डा. विनोद अर्याल र वैकल्पिक सचिवमा डा. अनु बज्राचार्य निर्वाचित भएका छन्। यस्तै कार्यसमितिमा निवर्तमान अध्यक्ष डा. शीला बर्मा, पदेन सदस्य, डा. ऋजुता जोशी, डा. कीर्तिपाल सुवेदी, डा. कविन भट्टचन र डा. रमेश श्रेष्ठ सदस्यमा चयन भएका छन्। शनिबार नै गोसोनले दोस्रो द्वी वर्षिय वैज्ञानिक सम्मेलन सम्पन्न गरेको छ। महिलाको प्रजनन अंगका विभिन्न प्रकारका क्यान्सरहरु जस्तैः पाठेघर, पाठेघरको मुखको क्यान्सर, डिम्बासयको क्यान्सर, योनिमार्गको क्यान्सर लगायतका विभिन्न क्यान्सरको निदान, उपचार रोकथाम, स्क्रिनिङ्ग, तथा अनुसन्धान सम्बन्धी छलफल सम्मेलनमा भएको छ। नेपाल स्त्री क्यान्सर रोग समाजको दोस्रो वैज्ञानिक सम्मेलन स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्र रमण सिंहको प्रमुख आथित्यतामा सम्पन्न भएको थियो । स्वदेश तथा विदेशका गरी करिब १५० जना विशेषज्ञहरूको उपस्थितिमा ४० भन्दा बढी कार्यपत्रहरू प्रस्तुत भएका थिए। सम्मेलनमा उत्कृष्ट कार्यपत्र प्रस्तोता मध्ये दुई जनालाई पुरस्कृत गरिएको थियो। सोही अवसरमा समाजका सल्लाहकारद्वय डा. विष्णुदत्त पौडेल र प्रभुराज बैद्य, संस्थापक अध्यक्ष डा. अचला बैद्य साथै नेपाल प्रसूति तथा स्त्री रोग समाज नेसोगको तर्फबाट पूर्व अध्यक्ष समेत रहेकी प्रतिनिधि सभा सदस्य डा. चन्दा कार्कीलाई अभिनन्दन गरिएको थियो।

सुनको मूल्यले तोड्यो अहिलेसम्मकै रेकर्ड, एक लाख ३३ सयमा कारोबार

काठमाडौं । सुनको मूल्य हालसम्मकै उच्च भएको छ । नेपाली बजारमा आज सुनको मूल्य वृद्धि भएको छ । आज छापावाला सुन तोलामा १ हजार रुपैयाँले वृद्धि भइ प्रति तोला १ लाख ३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आज तेजावी सुन प्रति तोला १ लाख २ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । साथै आज चाँदी तोलामा १५ रुपैयाँले बढेर प्रति तोला १ हजार ३८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।

भरतपुरका खानेपानी आयोजनामा आवश्यकभन्दा बढी आइरन

भरतपुर । माडी नगरपालिकाका चार खानेपानी आयोजनामा आवश्यकताभन्दा बढी आइरनको मात्रा देखिएको छ । सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना भरतपुरको पानी परीक्षण प्रयोगशालाको टोलीले पानीको परीक्षण गर्दा सो पहिचान भएको हो । टोलीले यही पुस १८ देखि २० गतेसम्म माडीको चार खानेपानी आयोजनामा खानेपानी परीक्षण गरेको थियो । डिप बोरिङबाट निकालेको पानीमा मापदण्डभन्दा बढी आइरन भेटिएको हो । गर्दी खानेपानी आयोजना, बघौडा खानेपानी आयोजना, कल्याणपुर खानेपानी आयोजना र खरकट्टा खानेपानी आयोजनामा धमिलोपना र आइरन देखिएको पानी प्रयोगशालाका केमिष्ट योगेन्द्रनारायण देवले बताए । ‘राष्ट्रिय खानेपानी गुणस्तर मापदण्डले प्रतिलिटर खानेपानीमा बढीमा शून्य दशमलव तीन एमजी आइरन हुनुपर्ने मापदण्ड छ’, उनले भने, ‘माडीका चारवटा आयोजनामा भने प्रतिलिटर शून्य दशमलव पाँचण् एमजी आइरन भेटिएको छ, जुन हानीकारक मानिन्छ ।’ थोरै मात्राको आइरनले स्वास्थ्यलाई ठिक गर्ने भएता पनि बढी मात्राले स्वास्थ्यलगायतका विभिन्न कुरामा असर गर्ने देवले बताए । आइरन बढी हुँदा पानीको रङ परिवर्तन हुने, स्वाद परिवर्तन हुने, गन्ध आउने, नुहाउँदा कपाल झर्ने, सेतो कपडामा विस्तारै पहेँलो दाग बस्दै जाने हुन्छ । आयोजनाले अहिले फिल्टर नै नगरी पानी वितरण गर्ने गरेकाले उक्त समस्या देखिएको हो । विसं २०७२ को भूकम्पपछि प्राकृतिक पानीको गुणस्तर परिवर्तन भएको केमिष्ट देव बताए ।

लिफ्टिङ खानेपानी योजनाको काम सुरु

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको तीन वडामा साप्सुखोलाको पानी निकालेर वितरण गर्ने गरी लिफ्टिङ खानेपानी योजनाको काम सुरु गरिएको छ । वडा नं ३ बाम्राङ, वडा नं ४ खाल्ले र वडा नं ५ लफ्याङमा खानेपानीको सुविधा विस्तार गर्ने उद्देश्यले मेवा दोभान, साप्सु कालिका देवीस्थान लिफ्टिङ खानेपानी योजनाको काम थालिएको हो । लफ्याङस्थित साप्सुखोला किनारमा शनिबार आयोजित कार्यक्रममा तत्कालीन संविधानसभा सदस्य अर्जुन राईले विधिवत लिफ्टिङ खानेपानी योजना शिलान्यास गरेका छन्। साप्सुखोलाको पानी पाँच हजार एक सय मिटरमाथि रहेको पर्यटकीयस्थल मझुवागढीस्थित देवीस्थानमा निकालेर दुई हजार तीन सय ८२ घरधुरीलाई वितरण गर्ने गरी लिफ्टिङ खानेपानी योजनाको काम सुरु गरिएको हो । सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको कार्यालय खोटाङमार्फत रु ५४ करोड ६७ लाख ९० हजार सात सय १६ मा मृत सञ्जिवनी–सगरमाथा जेभी काठमाडौँले लिफ्टिङ खानेपानी योजनाको ठेक्का लिएको छ । निर्माण कम्पनीले विसं २०८२ भदौ ४ गतेसम्ममा सम्पन्न गर्ने गरी विसं २०७९ साउन २२ गते लिफ्टिङ खानेपानी योजनाको सम्झौता गरेको हो । खानेपानीको बढ्दो समस्या समाधान गर्नका लागि खोलाको पानी निकाल्ने योजना सुरु गरिएको मेवा दोभान, साप्सु कालिका देवीस्थान लिफ्टिङ खानेपानी योजना उपभोक्ता समितिका अध्यक्ष ललितकुमार राईले बताए । निर्माण कम्पनीले विसं २०७९ भदौ ५ गतेदेखि काम सुरु गरेको जनाएको छ । लिफ्टिङ खानेपानी योजनाअन्तर्गत ६१ वटा आरभिटी ट्याङ्की, एउटा ट्रिटमेन्ट प्लान्ट, एउटा कार्यालय भवन, एउटा सम्प वेल, सातवटा गार्ड हाउसलगायतका संरचना बन्ने जनाइएको छ । एक सय तीन किलोमिटर वितरण पाइप लाइन र खोलाबाट पाँच हजार एक सय ट्रान्समिसन लाइनको काम हुने निर्माण कम्पनीका इञ्जीनियर हरिदेवकिशोर रजकले जानकारी दिएका छन् । खोलाको पानी प्रतिसेकेण्ड २५ लिटरका दरले देवीस्थानमा निकाल्ने योजनासहित लिफ्टिङको काम अघि बढाइएको छ । एक मेगावाट क्षमताको मेवाखोला हाइड्रोपावर सञ्चालनमा ल्याएका संविधानसभा सदस्य राईकै पहलमा हाइड्रोपावर नजिकैबाट लिफ्टिङ खानेपानी योजना सुरु गरिएको हो । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा रम्बाखोला–माझखोला साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिमार्फत दिक्तेल सहरी खानेपानी तथा सरसफाइ आयोजना सञ्चालन गरिएको छ । दिक्तेल सहरी खानेपानी तथा सरसफाइ आयोजना गत वर्षको चैत ९विसं २०७८०देखि सञ्चालनमा ल्याइएको हो । रम्बाखोला, माझखोला र काउले मुहान भएको खानेपानी आयोजनालाई मिलाएर दिक्तेल वडा नं १ दिक्तेल, २ सोल्मा र ३ बाम्राङका एक हजार ४९ घर उपभोक्तालाई प्रशोधन गरिएको स्वच्छ र गुणस्तरीय पानी वितरण गरिएको छ । नेपाल सरकारको ७० प्रतिशत र उपभोक्ता समितिको ३० प्रतिशत गरी रु २२ करोड ५५ लाख ५८ हजार लगानीमा खानेपानी आयोजना सञ्चालन गरिएको हो । करिब वर्ष दिनअघि सञ्चालनमा ल्याइएको सहरी खानेपानी तथा सरसफाइ आयोजना विभिन्न ठाउँमा अवरुद्ध हुँदै आएको छ । दिक्तेल बजारको ढलान गरिएको सडकमुनि बिच्छ्याइएको खानेपानीको पाइपमा ठेकेदारको लापरवाहीका कारण समस्या देखिएपछि ढलान काटेर मर्मत गर्दा विभिन्न ठाउँमा पारिएको खाल्डाखुल्डीले सवारीसाधन तथा पैदलयात्रुलाई समेत आवतजावतमा समस्या हुँदै आएको छ ।

व्यावसायिक सेफमार्फत् नेपाली खानाको प्रवर्द्धन गरिनुपर्छ : मास्टर सेफ साह

काठमाडौं । चर्चित बिबिसी मास्टर सेफ सन्तोष साहले व्यावसायिक सेफमार्फत् नेपाली खानाको प्रवर्द्धन गरिनुपर्ने बताएका छन्। प्यासिफिक एसिया ट्राभल एसोसियसन (पाटा) नेपाल च्याप्टरले शनिबार नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) मा आयोजना गरेको ‘पाटा युवा पर्यटन प्रोफेसनल सेफ प्रतियोगिता’मा बोल्दै उनले नेपाली परिकारको प्रवर्द्धन तथा युवा पुस्तालाई यस क्षेत्रमा आकर्षण गर्न प्रतियोगिता सहयोगी हुने विश्वास व्यक्त गरे। उनले युवा विद्यार्थीले प्रदर्शन गरेको पाक कला, रचनात्मक शैली र नवीन विचारबाट आफू प्रभावित भएको बताए। नेपाल उद्योग परिसङ्घका महाप्रबन्धक दीपकराज जोशीले हस्पिटालिटी विषयमा अध्ययनरत विद्यार्थीको प्रतिभा प्रस्फुटनका साथै नेपाली खानाको स्वादलाई आकर्षक ढङ्गले प्रस्तुति गर्न प्रतियोगिताले सहयोग पुग्ने बताए। पाटा नेपालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेशसिंह बुडालले हस्पिटालिटी तथा पर्यटन विषयमा अध्ययनरत विद्यार्थीहरुको ज्ञान, सीप र क्षमतालाई प्रतिस्पर्धामार्फत् प्रस्फुटित गराउने तथा नेपाली पर्यटन क्षेत्रमा भावी सबल पर्यटन जनशक्तिको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको उल्लेख गरे। उनका अनुसार प्रतियोगिताका उत्कृष्ट मेनुलाई विशेष कार्यक्रममा पर्यटन क्षेत्रका सरोकारवालालाई बोलाएर विद्यार्थी सेफले पस्केको खानो प्रवर्द्धन गरिनेछ। आतिथ्य पर्यटन हस्पिटालिटी टुरिजमका विद्यार्थीमार्फत नेपाली परिकारको प्रवद्र्धन गर्ने उद्देश्यले ‘पाटा युवा पर्यटन प्रोफेसनल सेफ प्रतियोगिता’ आयोजना गरिएको हो। प्रतियोगितामा पाटामा आबद्ध  होटल व्यवस्थापनसम्बन्धी शैक्षिक संस्थाबाट विभिन्न पाँच कलेजका १० जना सेफ विद्यार्थी प्रतियोगि सहभागी थिए। प्रतियोगितामा ग्लोबल एकेडेमी अफ टुरिज्म एन्ड हस्पिटालिटी एजुकेसन (गेट) कलेज प्रथम भएको छ भने नाथम द्वितीय र इटहरीको प्रिमियर होटेल स्कुल तृतीय भएका छन्। पाटाको ‘युथ ट्यालेन्ट क्वेस्ट’को पाँचौँ संस्करणअन्तर्गत भएको सेफ प्रतियोगिताको मास्टर सेफ सन्तोष साह, सेफ जितेन प्रधान र सेफ जितेन हुमागार्इं निर्णायक मण्डलले सहभागी विद्यार्थीका पाक कला र दक्षता मूल्याङ्कन गरेका थिए। पाटा नेपालले हरेक वर्ष युथ ट्यालेन्ट क्वेस्ट आयोजना गरिरहेको छ। यसमा मुख्य पाँच प्रतियोगिता हुन्छन्। सेफ प्रतियोगिता, ‘पब्लिक स्पिकिङ’ फुटसल, ‘कन्टेन्ट राइटिङ’ प्रतियोगिता हुने पाटा नेपालले जनाएको छ। रासस