नेपालको अर्थतन्त्रमा पनि मन्दीको संकेत देखियो : गभर्नर अधिकारी
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको अर्थतन्त्रमा पनि मन्दीको संकेत देखिन थालेको बताएका छन् । आइतबार बैंक तथा वित्तीय संस्था परिसंघको तेस्रो वार्षिक साधारणसभामा बोल्दै उनले विश्वको अर्थतन्त्र नै अहिले मन्दीमा रहेकोले त्यसको संकेत नेपालमा पनि देखिन थालेको धारणा राखेका हुन् । उनले निरन्तर मुल्यवृद्धि उच्च हुँदै गएको, बाह्य क्षेत्रको चाप निरन्तर गएको बताउँदै नेपाली अर्थतन्त्रमा पनि मन्दीको संकेत देखिन थालेको धारणा राखेका हुन् । उनले सबै निकायहरुले सहकार्य र समन्वय गरेर यो किसिमको चुनौतिलाई परास्त गर्नु पर्ने धारणा राखेका हुन् । ‘अहिले मुल्य स्थीरता कायम गर्नु पर्ने, वाह्य क्षेत्रको दबाव कायमै छ, वित्तीय स्थीरता कायम गर्नु पर्ने पनि चुनौति छ, यसमा सबै निकाय लाग्नु पर्नेछ, केही सुधार गर्नु पर्ने आवश्यक छ, सहकार्य र समन्वय सबैको आवश्यक छ,’ उनले कार्यक्रममा भने । यस्तै, पुर्व अर्थमन्त्री डा. युवराज खतिडाले आफुले बैंकमा पैसा राख्दा डुब्दैन भनेर जनतालाई विश्वास दिलाएको बताएका छन् । आइतबार सम्पन्न बैंक तथा वित्तीय संस्था परिसंघ नेपालको तेस्रो वार्षिक साधारण सभामा खतिवडाले यस्तो बताएका हुन् । यस्तै, कार्यक्रममा पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले पछिल्लो एक दशकमा नेपाली वित्तिय प्रणालीमा धेरै विकास भएको बताए । पछिल्लो एक दशकमा धेरै प्रगति भएको छ, यसमा मेरो धेरै महत्वपूर्ण भूमिका छ, ‘एक दशकअघि सरकारी बैंक घाटामा थिए, अहिले ती बैंकहरु नाफामा छन्, यसले म खुसी छु,’ उनले कार्यक्रममा भने । बैंकहरुको पुँजी वृद्धिको कारण पनि धेरै सबल भएको र लगानी विस्तार गर्न समक्ष भएको धारणा राखे । बैंकले नाफामा मात्रै ध्यान नदिनु : राष्ट्रपति भण्डारी कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले बैंकहरुलाई नाफासँगै संस्थागत सामाजिक उत्तरदायित्वमा पनि ध्यान दिनुपर्ने बताएकी छन् । कार्यक्रमकी प्रमुख अतिथि समेत रहेकी राष्ट्रपति भण्डारीले बैंक तथा वित्तीय संस्थाले नाफामा मात्रै भन्दा पनि संस्थागत सामाजिक उत्तरदायित्वमा पनि जोड दिन बैंक तथा वित्तीय संस्थालाई आग्रह गरेकी हुन् । उनले सरकार र बैंकहरुबीच एकअर्काको परिपुरक बन्नुपर्ने पनि धारणा राखिन् । ‘बैंकहरुले नाफा आर्जनसँगै सामाजिक उत्तरदायित्वमा जोड दिनुपर्छ, बैंकहरुले भोग्नु परेका समस्यालाई समाधान गर्न सरकार तत्पर रहनुपर्छ, सरकार र बैंकहरु एक अर्कको परिपुरक बन्नु पर्छ,’ उनले भनिन् । नेपाली अर्थतन्त्र आयातमा निर्भर रहेको बेला स्वाबलम्बी अर्थतन्त्र हुनु पर्ने उनको भनाइ छ । उनले साना तथा लघु उद्यम ९एसएमई०लाई जोड दिनुपर्ने र बैंकहरुले कर्जा प्रवाहमा पनि प्राथमिकता दिनु पर्ने उनको धारणा छ । ‘स्वावलम्बी एवम् आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्नुपर्छ, राष्ट्रको पुँजी निर्माण र परिचालन गर्न बैंकको भूमिका महत्वपूर्ण छ, उद्यमशिलता विकासमा अझैं धेरै काम गर्नुपर्ने देखिन्छ, स्वदेशमै वस्तु उत्पादन गरी स्वदेशमा र निर्यात गर्न गर्न ध्यान दिनु पर्छ,’ उनले भनिन् । आर्थिक समृद्धिमका लागि रोजगारी पनि श्रृजना गर्नुपर्ने उनको भनाइ छ ।
राहदानीको सर्भर समस्या हल गर्न फ्रान्सेली टोली सोमबार नेपाल आउँदै
काठमाडौं । केही दिनअघिदेखि विद्युतीय राहदानीको सर्भरमा देखिएको समस्या (स्टोरेजसम्बन्धी) समाधान गर्न फ्रान्सबाट प्राविधिक टोली नेपाल आउने भएको छ । नेपालले जारी गर्ने विद्युतीय राहदानीको सम्पूर्ण जिम्मा पाएको सो टोली सोमबारसम्म नेपाल आइपुग्ने राहदानी विभागका निर्देशक एवं प्रवक्ता दुरपदा सापकोटाले जानकारी दिए । उनका अनुसार राहदानी सर्भरमा ‘स्टोरेज’ समस्या देखिएको र कुनै पनि व्यक्तिको फोटो, हस्ताक्षर र हातको बायोमेट्रिक लिन समय लागेपछि त्यसको सामाधानका लागि प्राविधिक टोली झिकाइएको हो र सो टोली सोमबारसम्म नेपाल आइपुग्ने भएको छ । सापकोटाले केही दिनअघि समस्या देखिएपछि यसको समाधान खोज्ने काम जारी रहेको र सुरुको तुलनामा केही सुधार भएको पनि जानकारी दिए । नेपालमा विसं २०७८ मङ्सिर १५ गतेदेखि सुरु भएको विद्युतीय राहदानीको सम्पूर्ण प्राविधिक जिम्मेवारी सो टोलीले पाएको थियो । त्यसैले यस प्रणालीमा सुधारका लागि पनि सोही टोलीलाई झिकाइएको हो । विभागको ‘सिस्टम’मा समस्या आई राहदानी छपाइ तथा वितरण कार्यमा समस्या देखिएपछि प्रवक्ता तथा निर्देशक सापकोटाले सूचना जारी गर्दै समाधानको पहल भइरहेको जानकारी दिएका थिए । उक्त सिस्टम पूर्णरुपमा सञ्चालन हुन केही समय लाग्ने भएकाले राहदानीका लागि आवेदन दिएका आवेदकले मोबाइलमा म्यासेज आएपछि मात्र विभागमा आउन भनिएको छ । त्यस्तै विभागले अर्को एक सूचना जारी गर्दै राहदानी विभाग, जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय र विदेशस्थित नेपाली नियोगमा ‘अप्वाइन्टमेन्ट’का लागि मिति र समय प्राप्त गर्ने सेवाग्राहीको सोही दिन विवरण रुजु, राजस्व दाखिला र लाइफ ‘इनरोलमेन्ट’ सेवा नियमित सञ्चालन भएको उल्लेख गरेको थियो । रासस
टोखा नगरपालिकाले ५० विद्यार्थीलाई छात्रवृत्ति दिने
काठमाडौं । काठमाडौंको टोखा नगरपालिकाले ५० जना विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने भएको छ । नगरपालिकाभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई ‘टोखा छात्रवृत्ति कोष’बाट छात्रवृत्ति उपलब्ध गराउन लागेको हो । नगरपालिकाका शिक्षा अधिकृत खगेन्द्रसिंह धामीले बालविकास तहदेखि स्नातकोत्तर तहसम्म अध्ययनरत विद्यार्थीलाई टोखा छात्रवृत्ति कोषअन्तर्गत छात्रवृत्ति उपलब्ध गराइने जानकारी दिए । छात्रवृत्ति कोष सञ्चालनका लागि नगरपालिकाले चालु आर्थिक वर्षमा रु १५ लाख रकम विनियोजन गरेको छ । नगरपालिकाका अनुसार स्थानीय तहका १० जना, विपन्न परिवारबाट १० जना, बाबु वा आमामध्ये कुनै एक वा दुवै अभिभावक साथमा नभएका १० जना, अपाङ्गता भएका पाँच जना, छात्रा दुई जना, कर्मचारीका सन्तान तीन जनालाई छात्रवृत्ति उपलब्ध गराइनेछ । छात्रवृत्तिका लागि निवेदन, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपी, जन्मदर्ता वा नेपाली नागरिकताको प्रतिलिपी, सम्बन्धित शैक्षिक संस्थामा अध्ययनरत रहेको सिफारिसपत्र, आफू अध्ययन गरिरहेको कक्षाभन्दा तल्लो कक्षाको शैक्षिक योग्यताको प्रमाणपत्र चाहिने सो नगरपालिकाले जनाएको छ ।
मुक्तिनाथ विकास बैंकले झापामा बाल अस्पताल बनाउन ५ लाख सहयोग गर्ने
काठमाडाैं । मुक्तिनाथ विकास बैंकले काठमाडाैं इन्टिच्युट अफ चाइल्ड हेल्थलाई ५ लाख रुपैयाँ सहयाेग गर्ने भएकाे छ । डा. भगवान कोईरालाको अध्यक्षतामा संचालित उक्त गैर नाफामुलक संस्थालाई बैंकले आफ्नाे १७ औं वार्षिकाेत्सवकाे अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत सहयाेग गर्ने निर्णय गरेकाे हाे । उक्त सहयाेग सम्झाैतामा बैंकको तर्फबाट अध्यक्ष भरत राज ढकाल र संस्थाको तर्फबाट प्रोफेसर डा. भगवान कोईरालाले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता अनुसार बैंकले झापा जिल्ला दमक स्थित निर्माणाधिन बालअस्पताल निर्माणको लागि ५ लाख सहयोग गर्नेछ । बैंकले गरेको यस सहयोगबाट बालबालिकाको स्वस्थ्य उपचारमा आवश्यक पर्ने पुर्वाधार बन्ने तथा उपचारमा सहजता हुने विश्वास लिएको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बताए । बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमामा आवद्ध अन्य जुन सुकै बैंकको एटिएम मेसिनबाट नि:शुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।
पर्वतमा करोडौँको लगानीमा बनेका चिस्यानगृह प्रयोगविहीन
पर्वत । पर्वत जिल्लामा करोडौँ रकम लगानीमा निर्माण भएका चिस्यानगृह प्रयोगविहीन बनेका छन् । प्रयोग भएका चिस्यानगृह पनि आंशिकरुपमा मात्रै सञ्चालन भएका छन् । जिल्लाका विभिन्न क्षेत्रमा निर्माण भएका चिस्यानगृहमा किसानले उत्पादन गरेका तरकारी तथा फलफूल तथा अनाज भण्डारण नगरी सिधै व्यापारीलाई ठेक्कामा बिक्री गर्दा प्रयोगविहीन बनेका हुन् । कृषि ज्ञान केन्द्र पर्वतका अनुसार, हाल जिल्लाभित्र विभिन्न प्रकृति र उद्देश्यका आठ वटा चिस्यानगृह छन् । जिल्लाभित्र रहेको चिस्यानगृहको क्षमता करिब ६४ दशमलब ५ मेट्रिकटन छ । तीमध्ये १० मेट्रिक टन क्षमताका भोक्सिङ, शालिजा र बनौँमा रहेका तीन वटा चिस्यानगृहमा सिजनको बेला मात्र आलु भण्डारण गर्ने गरिन्छ । त्यसैगरी बाँसखर्कमा १० मेट्रिक टन क्षमता रहेको एक र कुर्घामा दुई दशकलव पाँच मेट्रिक टन क्षमताका चिस्यानगृहमा सिजनअनुसार सुन्तला र आलु स्टोर गरिँदै आएको छ । ‘हामी जसरी कोल्ड रुम बनाउन बजेटका लागि खट्छौँ, भनसुन गछौँ, सोही अनुसार सञ्चालनमासमेत यथोचित ध्यान नदिँदा अपेक्षित लाभ दिन सकेका छैनौँ’, कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख मनिता थापाले भनिन् । उनले राज्यले भौतिक संरचनाका लागि मात्र बजेट विनियोजन गर्नुभन्दा निर्माण पश्चातका जटिलता, प्राविधिक ज्ञान, सहुलित विद्युत् लगायतका पक्षमासमेत यथोचित ध्यान दिनुपर्ने बताइन् । थापाले चिस्यागृह निर्माण गरे पनि किसानले भण्डारण नगरी ठेक्कामै उत्पादन बिक्री गर्ने परिपाटी विकसित हुँदै गएको बताइन् । कृषि उपज टिप्ने, सङ्कलन गर्ने तथा भण्डारण गर्ने आवश्यक ज्ञानको अभावमा फसल लामो समयको लागि स्टोर गर्न समस्या भएको देखिएको उनको तर्क छ । पाँच वर्षअघि कुश्मा नगरपालिका–९ कटुवाचौपारीको बाह्रबीसेमा निर्माण गरिएको चिस्यानगृहमा भने आलु भण्डारण सफल रुपमा हुँदै आएको छ । कटुवाचौपारीको चिस्यानगृहमा विगत चार वर्षसम्म प्राविधिक ज्ञानको अभावका कारण केही कृषि उपज कुहिएर गएका थिए भने पछिल्लो समय आलु भण्डारण सफल देखिएको सञ्चालक राजबाबु पिसीले जानकारी दिए । उनले आगामी दिनमा मासु स्टोर गर्न सकिने कोल्डरुम निर्माणको सोचमा आफू रहेको बताए। यसैगरी पैँयुँ गाउँपालिका–४ हातेमालो चोकमा चिस्यानगृह निर्माण सम्पन्न भए पनि सञ्चालनमा आउन सकेको छैन । पैँयूँको चिस्यानगृह निर्माणका लागि कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रिकरण प्रवद्र्धन केन्द्र, ललितपुरको रु ११ लाख र पैयूँ गाउँपालिकाको ११ लाख लगानी रहेको छ । विद्युत् जडान समस्याका कारण हालसम्म सञ्चालनमा आउन नसकेको पैयूँ कृषि शाखाका नायब प्राविधिक सहायक सन्दीप तिवारीले जानकारी दिए । ‘छिट्टै विद्युत्को काम सकेर स्टोर सञ्चालनमा ल्याउने तयारी भइरहेको छ’, उनले भने । त्यस्तै गरी जिल्लाको मोदी गाउँपालिकाको पातिचौरमा निर्माणाधीन रहेको चिस्यानगृह भने भौतिक संरचना निर्माणमा भएको ढिलाइका कारण हालसम्म पनि अलपत्र अवस्थामा छ । ‘राज्य तथा व्यक्ति भौतिक संरचना निर्माणका क्रममा अहोरात्र खट्ने तर निर्माण पश्चातको व्यवस्थापकीय पक्षमा उदासिन देखिने प्रवृत्तिका कारण चिस्यानगृह अपेक्षा अनुसार सफल हुन नसकेका हुन्’, किसान सरोज खनालले भने । चिस्यानगृहहरु अपेक्षाअनुसार किसानका लागि उपयोगी हुन सकिरहेका छैनन् । दक्ष प्राविधिक तथा ज्ञानको अभाव, विद्युतिकरणको अभावलगायतका पक्षमा र यथोचित व्यवस्थापन हुन नसक्दा समस्या सिर्जना भएको किसान उमाकान्त शर्माले बताए । रासस
आइएमई पे मार्फत भुक्तानी गर्दा डेली ग्रोसरीका सामानमा १० प्रतिशत छुट
काठमाडौं । आइएमई पे र डेली ग्रोसरी सुपरमार्केटबीच सम्झौता भएको छ । सम्झौता अनुसार ग्राहकले आइएमई पेको भिसा कार्ड प्रयोग गरी डेली ग्रोसेरीमा सामानहरू खरिद गर्दा १० प्रतिशत छुट अर्थात एक पटकमा अधिक्तम २०० रुपैयाँ सम्म पाउनेछन् । यो अफर आइएमई पेको फिजिकल भिसा कार्ड मार्फत पोस भुक्तानी गर्दा मात्र प्राप्त गर्न सक्ने कम्पनीले जनाएकाे छ । ग्राहकहरुले यस अफर अवधीभरी काठमाडौं उपत्यकाको २४ वटा डेली ग्रोसरीको आउटलेटहरुमा यो अफरको साथै निःशुल्क आइएमई पेको भिसा कार्ड लिन पनि सकिने कम्पनीले जनाएकाे छ ।
ताराले गर्याे रेसुङा विमानस्थलमा प्रदर्शनी उडान
काठमाडौं । निजी क्षेत्रको लगानीमा सञ्चालित तारा एयरले गुल्मीको रेसुङा विमानस्थलमा परीक्षण उडान गरेको छ । तारा एयरले गुल्मीको रेसुङ्गा नगरपालिकासंगको सहकार्यमा प्रमाणीकरण (प्रुभिङ) उडान गरेको हो । आइतबार बिहान ११ः १४ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको तारा एयरको नाईन एन एएलओ ट्वीनअटर–४०० वायुयान गुल्मीको रेसुङ्गा नगरपालिका–१० स्थित सिमिचौरमा निर्माण भएको रेसुङ्गा विमानस्थलमा १२ बजे अवतरण भएको थियो । उक्त विमानस्थलमा २०७५ जेष्ठ २५ गते पनि तारा एयरले नै टेष्ट फ्लाइट गरेको थियो । तारा एयरका बरिष्ठ चालक द्वोय क्याप्टेन सन्तोष कुमार साह र क्याप्टेन सन्जिब श्रेष्ठले सफल पूर्वक परीक्षण उडान भरेको तारा एअरका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए । उनका अनुसार जहाजमा गुल्मी जिल्लाबाट निर्वाचित सांसद चन्द्र भण्डारी, एमाले उपमहासचिव प्रदीप ज्ञवाली, प्रदेशसभा सदस्य धनेन्द्रबहादुर कार्की, नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्री लगायतका राजनैतिक ब्यक्तित्व,रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थी लगायत तारा एयर र नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरु रहका थिए । रेसुङामा आइतबार परीक्षण उडान भएपछि नियमित उडानका प्रक्रिया थालिने बर्ताैलाले बताए । उनका अनुसार नियमित उडानका लागि भने कम्तिमा २ देखी ३ साता लाग्नेछ । दुर्गम क्षेत्रमा उडान गर्ने वायुसेवा कम्पनीहरुलाई राज्यबाट कुनै पनि किसिमको प्रोत्साहन नहुँदा दुर्गम क्षेत्रका उडानहरु अनियमित हुने नसकेको तारा एयरले जनाएको छ । हवाई इन्धन अत्याधिक महंगो हुनु, दुई तर्फी यात्रुको अभाव, छिटो मौसम परिवर्तनका कारण गन्तव्य नपुगी उडान फर्कनु पर्ने अवस्था तथा राज्यको तर्फबाट कुनैपनी किसिमको सहुलियत नहुँदा दुर्गमका क्षेत्रका उडान महँगो पर्न गएकोले यात्रु तथा वायुसेवा दुबैलाई आर्थिक भार पर्न गएको बर्ताैलाले बताए ।
भ्रष्टाचार नियन्त्रण र सुशासनको प्रत्याभूतिका लागि सरकार गम्भीर छ: प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भ्रष्टाचार नियन्त्रण र सुशासनको प्रत्याभूतिका निम्ति सरकारको प्रभावकारी भूमिकाका साथै रााष्ट्रिय संस्कृति र जागरण जरूरी रहेको बताएका छन् । आइतबार बिहान सिंहदरबारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त र आयुक्तहरूसँगको छलफलमा प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन । छलफलमा प्रधानमन्त्रीले आफ्नो तेस्रो कार्यकाल सामाजिक न्याय, सुशासन र समृद्धिमा नै केन्द्रित हुने बताएका थिए । ‘सामाजिक न्याय, सुशासन र समृद्धि नै सरकारको प्रमुख प्राथमिकतामा छ, नेपाल सरकारका सचिवहरूसँगको छलफलमा पनि मैले त्यही कुरा प्राथमिकताका साथ राखेको छु, जनताले हामीप्रति आशाको नजरले हेरिरहेका छन्, अब केही हुन्छ, नयाँ हुन्छ, सुशासन र समृद्धि हासिल हुन्छ भन्ने आत्मविश्वास र प्रतिवद्धतासहित हामीले काम गर्नुछ, त्यसका लागि यहाँहरूको सहयोग चाहिन्छ,’ उनले भने । ‘सत्ता साझेदार दलको न्यूनतम साझा कार्यक्रममा पनि सुशासनलाई उच्च प्राथमिकता दिएका छौँ,’ प्रधानमन्त्रीले भने, ‘सुशासनको कुरा राज्यको आम जिम्मेवारी होे । यसमा सरकार गम्भीर छ । भ्रष्टाचार निवारण एउटा मात्र निकायले गर्न सक्दैन । यो समग्र सामाजिक चेतना र संस्कृतिको प्रश्न पनि हो । आम जनताको चेतना र पहलसँग पनि यसको सम्बन्ध रहन्छ । भ्रष्टाचार निवारणमा राज्यको जिम्मेवारी प्रमुख रूपमा रहन्छ । त्यसप्रति म पूरै गम्भीर जिम्मेवार छु ।’ छलफलका क्रममा आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले वर्तमान सरकार गठनपछि सुशासनका पक्षमा गरिएको प्रारम्भिक प्रयासले आफूहरू उत्साहित भएको बताएका थिए । प्रधानमन्त्रीले नेपाल सरकारका सचिवहरूलाई गर्नुभएको निर्देशनात्मक सम्वोधनले आयोग उत्साहित भएको र राज्यका सबै अंगहरू जिम्मेवार भएर लाग्दा भ्रष्टाचार नियन्त्रणमा अपेक्षित परिणाम हासिल गर्न सकिने उनले बताए । आयोगले संसदमा विचारधीन ऐन संशोधनको प्रस्तावलाई अगाडि बढाउन, आयोगको क्षमता अभिवृद्धि र कार्यक्षेत्र बिस्तारका निम्ति अभिभावकीय भूमिका निर्वाह गर्न पनि प्रधानमन्त्रीसमक्ष आग्रह गरेको छ । छलफलमा प्रधानमन्त्रीले भ्रष्टाचार निवारणका निम्ति आयोगका सबै सकारात्मक प्रस्तावहरू सम्वोधन गर्न आफू तत्पर रहेको बताएका छन् ।