विकासन्युज

दुई दशकमा पनि बनेन कान्ति राजमार्ग

काठमाडौं । राज्यको पर्याप्त ध्यान पुग्न नसक्दा कान्ति राजमार्ग निर्माण सुरु भएको दुई दशकमा पनि अझै सम्पन्न हुन सकेको छैन । काठमाडौँ उपत्यकालाई मकवानपुरसँग जोड्ने छोटो मार्गका रुपमा रहेको सो सडकमा अझै कतिपय खण्ड निर्माणका लागि ठेक्कामा जान बाँकी छ । सहज भूवनोट भएका ठाउँमा सडक कालोपत्र अझै पनि बाँकी रहेको कान्ति राजमार्ग योजनाले जनाएको छ । मकवानपुरतिर साढे तीन किमी बाँकी र ललितपुरतर्फ झण्डै १० किमी सडक कालोपत्र हुन बाँकी रहेको योजनाका प्रमुख सुरेश न्यौपानेले बताए । उनले ललितपुरतर्फ १० किमी सडकमध्ये सात किमी चालु आर्थिक वर्षमा पूरा हुने बताए । उनले भने, ‘दुवै जिल्लाको बाँकी खण्डमा पनि यही वर्ष ठेक्कामा जान तयारी गरिएको छ ।’ अहिले काल्चे, भड्डेडाँडा, छपेली बजार आसपासमा कालोपत्र भइरहेको छ । तीनपानेमा ठाउँठाउँमा गरी पहिले अस्थिर रहेको ठाउँमा एक किमी सडक कालोपत्र गर्न बाँकी रहेको प्रमुख न्यौपानेले बताए । ललितपुरतर्फ तीन किमी कडा चट्टान छ भने आठ सय मिटरमा ठाउँठाउँमा पहिरो छ । चालु आवमा ललितपुरतर्फको सात किमी सडक सम्पन्न भएमा झण्डै साढे छ किमी सडक निर्माण बाँकी हुने योजनाले जनाएको छ । ललितपुरमा तीन किमी र मकवानपुुरमा साढे तीन किमी बाँकी छ । यो खण्डमा बहुवर्षीय ठेक्कामा जान स्वीकृतिका लागि राष्ट्रिय योजना आयोग हुँदै अर्थ मन्त्रालयसँग ६६ करोड रुपैयाँ माग गरिएको छ । बजेट स्वीकृति भएपछि काम भएको बाँकी खण्डमा काम अगाडि बढ्नेछ । विगतका वर्षमा वर्षाको समय पहिरोका कारण अवरुद्ध भइरहने खण्डमा विभागले अहिले अध्ययन गरिरहेको प्रमुख न्यौपानेले बताए । विभागको ‘जिओ इन्भाएरोमेन्ट युनिट’ले मकवानपुरमा काम गरिरहेको र त्यो काम सकाएपछि ललितपुरतर्फको बाँकी काम गर्ने उनले बताए । ‘कस्तो संरचना निर्माण गर्ने भन्ने अध्ययनको प्रतिवेदन आउने क्रममा छ, आएपछि काम गर्न सकिनेछ’, उनले भने । अहिले योजनाले माग गरेको बजेट र प्रतिवेदन आएपछि ठेक्का प्रक्रिया अघि बढाइनेछ । चालु आवभित्रमा ठेक्कामा जान सके अर्को दुई आवमा निर्माण सकिने गरी योजना बनाइएको छ । चट्टान फुटाउन विस्फोट ब्लास्टिङ चाहिने भएकाले काठमाडौं–तराई दु्रतमार्ग आयोनामा कार्यरत नेपाली सेनासँग कुराकानी भइरहेको आयोजनाले जानकारी दिएको छ । हाल सो आयोजनाले समेत आवश्यक सामग्री कान्ति राजमार्गको प्रयोग गरेर ढुवानी गरिरहेको छ । सेनाले पनि यसका लागि सहयोग गर्न सकिने बताएको छ । पहिले राजमार्ग हेटौँडाबाट टिकाभैरब, चापागाउँ हुँदै सातदोबाटोसम्म हुने गरी रेखाङ्कन भएको थियो । चापागाउँ–सातदोबाटो सडक विस्तार हुन नसकेपछि यसको रेखाङ्कन परिवर्तन गरेर टिकाभैरबबाट भैँसेपाटी हुँदै नख्खु पुग्ने भएको छ । टिकाभैरबबाट हेटौँडाको बुद्धचोकसम्म ७९ किमी सडक योजनाले निर्माण गरिरहेको छ । काठमाडौं उपत्यकाभित्र पर्ने टिकाभैरबबाट नख्खु चोकसम्म सडक काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले विस्तार गरिरहेको छ । झण्डै ९० किमी लम्बाईको राजमार्ग सबैतिर दुई लेनको हुनेछ । अहिले एक लेन रहेको पुलसमेत विस्तार गरिने योजनाको तयारी अघि बढाएको छ । चालु ठेक्कामा ललितपुरतर्फ बिरुवा एसएल सुनकोसी जेभी र सूर्य वाइवा कन्स्ट्रक्सन गरी दुई निर्माण कम्पनी कार्यरत छन् भने मकवानपुरमा नागार्जुन सर्वशक्तिले निर्माणको काम गरिरहेको छ । मकवानपुरतर्फ ८० प्रतिशत प्रगति रहेको र बाँकी काम चैतसम्ममा सप्म्पन्न हुने प्रमुख न्यौपानेले जानकारी दिए । सरकारले विसं २०६९ मा योजना स्थापना गरेर आव २०७१र७२ देखि बहुवर्षीय ठेक्का लागू गरी काम सुरु गरेको थियो । सरकारले योजनालाई हाल पहिलो प्राथमिकताको योजना पि वानमा राखेको छ ।

चितवन राष्ट्रिय निकुञ्ज र आसपासमा आजदेखि जलपक्षी गणना

चितवन । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा आजदेखि जलपक्षी गणना सुरु गरिएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको नेतृत्वमा हिमालयन नेचरले सबै राष्ट्रिय निकुञ्ज, सिमसार क्षेत्र र जलाशयमा शनिबारदेखि जलपक्षी गणना सुरु गरेको हो । चितवनमा आजदेखि गणना सुरु भएको वर्ड एजुकेसन सोसाइटी सौराहाका पूर्वअध्यक्ष वासु विडारीले जानकारी दिए । पूर्वी चितवनमा वर्ड एजुकेसन सोसाइटी सौराहाको नेतृत्वमा र पश्चिम चितवनमा वर्ड एजुकेशन सोसाइटी मेघौलीको नेतृत्वमा चरा गणना हुनेछ । सोसाइटीका अध्यक्ष टीकाराम गिरीका अनुसार आज बिहान सौराहामा संक्षिप्त कार्यक्रमको आयोजना गरी आठ ठाउँबाट गणना थालिएको छ । लोथरदेखि जिन्दगानीघाटसम्म हिँडेर एउटा टोलीले गणना सुरु गरेको छ । जिन्दगानीघाटबाट हिँडेर र डुङ्गा चढेर राप्तीघाटसम्म दोस्रो टोलीले गणना गरिरहेको छ । राप्ती घाटबाट कसरासम्म र लमोरताल एवं लामितालसम्म तेस्रो टोलीले गणना गरिरहेको उनले जानकारी दिए । सो टोलीले डुङ्गा र गाडीबाट गणना गर्दैछन् । चौँथो टोलीले बुढीराप्तीबाट झोलुङ्गे पुलको तल खोरसोरसम्म गणना गरिरहेको छ । पाँचौँ टोलीले जम्कौली सामुदायिक वनको ढुङ्ग्रेखोला क्षेत्रमा गणना गरिरहेको छ । छैठौँ टोलीले पुरानो पदमपुर क्षेत्रको पटना ताल क्षेत्रमा गणना गरिरहेको छ । सातौँ टोलीले गाडीबाट बीस हजारी र वरपरका तालमा गणना गरिरहेको छ । आठौँ टोलीले भण्डाराको मत्स्य विकास केन्द्र क्षेत्रमा गणना गरिरहेको गिरीले जानकारी दिए । सोमबार दिव्यनगर र माडीको रिउ खोला क्षेत्रमा गणना गरिने छ । गणनामा बर्ड एजुकेसन सोसाइटीका सदस्य, प्राध्यापक, कलेजका विद्यार्थी, गाईड, फोटोग्राफर, पत्रकार, व्यवसायी सहभागी छन् । नेपालमा पछिल्लो तथ्याङ्कअनुसार आठ सय ९२ प्रजातिका चरा छन् । त्यसमा दुई सय चरा पानीमा आश्रित छन् । चितवनमा मात्रै छ सय ५२ प्रजातिका चरा छन् । रासस

सर्वसाधारणलाई पेस्तोल ताक्ने प्रहरी को हुन् ?

काठमाडौं । पुस २० गते अर्थात् गत बुधबार शंकरापुर नगरपालिका–३ लप्सीफेदी बोझेनीमा स्थानीयले विरोध प्रदर्शन सुरु गरे । नेपाल विद्युत प्राधिकरणले त्यहाँ सबस्टेशन निर्माण गर्न लागेको भन्दै स्थानीयले विरोध गरेका थिए । त्यो विरोध अहिलेसम्म रोकिएको छैन । शुक्रबार पनि विरोध जारी नै रह्यो । शुक्रबार स्थानीय वासिन्दाको प्रदर्शन नियन्त्रणका लागि थप मद्दत गर्न प्रहरी वृत्त बौद्धबाट टोली खटियो । टोलीमा रहेका एक जना प्रहरी निरीक्षकले प्रदर्शनमा सहभागी स्थानीयलाई ‘गोली हान्दिउँ’ भन्दै पेस्तोल ताके । अहिले त्यो भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । आन्दोलनमा उत्रिएका स्थानीय वासिन्दालाई पेस्तोल ताक्ने प्रहरी निरीक्षक (इन्स्पेकटर) विशालबहादुर बुढाथोकी भएको बुझिएको छ । उनीमाथि छानबिन पनि सुरू भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले प्रहरी निरीक्षक बुढाथोकीमाथि छानबिन सुरू गरेको प्रवक्ता एसपी दिनेशराज मैनालीले बताए । प्रहरी निरीक्षक बुढाथोकीले गैर व्यवसायिक अभ्यास गरेकाले छानबिनका लागि समिति बनाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी मैनालीले जानकारी दिए ।

तीन सयमा सिकेको सीपबाट वार्षिक १० लाख कमाइ

गलकोट । विसं २०४५ मा बागलुङ जिल्लाको जैमिनी नगरपालिका–७ जैदी धुल्लुका मोहराज शर्माले तीन सय तिरेर काठमाडौंमा मौरीपालन तालिम लिँदा सोचेका थिएनन् कि मौरीपालनमै आफ्नो जीवन बित्छ भनेर । वैदेशिक रोजगारीमा पुगेर मनग्य पैसा कमाउने सोचमा काठमाडौं पुगेका उनको विदेश जाने सपना त पूरा नभए पनि मनग्य आम्दानी गर्ने सपना भने पूरा भएको छ । वैदेशिक रोजगारीको सिलसिलामा काठमाडौंमा बस्ने क्रममा मौरीपालन तालिम सिकेका मोहराज विगत २५ वर्षदेखि गाउँमै मौरीपालन गरेर मनग्य आम्दानी गर्न सफल भएका हुन् । मोहराजको नाम मौरीपालन व्यवसायकै कारण परिवर्तन भइ हिजोआज उनलाई गाउँलेले ‘महराज’ अर्थात् महको राजा भनेर बोलाउने गर्छन्। उनको घर र आगन मौरीका आधुनिक घारले ढपक्कै ढाकिएको छ । झट्ट हेर्दा सङ्ग्रहालयजस्तै देखिने मौरीका घरबाटै वार्षिक १० लाख रुपैयाँ बराबरको आम्दानी हुँदै आएको छ । मोहराज अहिले मौरीपालनबाट जिल्लास्तरमा निकै चर्चितसमेत बन्नाका साथै मौरीपालन किसानका लागि अगुवासमेत बन्दै आएका छन् । विसं २०४५ मा मुढेघारबाट मौरिपालन गर्दै आएका उनले २०५२ सालयता आधुनिक घारमा मौरीपालन गर्दै आएका छन् । मोहराजको घरमा अहिले एक सय ५० मौरीका घार छन् भने बागलुङ बजारको क्याम्पस रोडमा ५० घार छन् । ‘मौरीपालनमै जीवन ब्यथित गरियो अहिले ७० वर्ष काटियो, धेरैलाई मौरीपालनमा अग्रसर पनि गराइयो, अहिले धुल्लु र क्याम्पसगेटमा गरी दुई सय मौरीका घारमा मह उत्पादन भइरहेको छ, मह र मौरीसहितको घार बिक्रीबाट वार्षिक १० लाख रुपैयाँ आम्दानी हुँदै आएको छ’ मेहराज भन्छन्, ‘वार्षिक १० क्विन्टल मह, उत्पादन र बिक्री भइरहेको छ, मौसम अनुकुल रहे अझै धेरै उत्पादन हुन्छ, मह बिक्रीका लागि आफूले बजार पु¥याउनै पर्दैन, अहिलेसम्म मागअनुसार मह पुर्याउनै सकिएको छैन ।’ मौरीसहितको घारलाई नौ हजारमा बिक्री गरिँदै आइएको उनको भनाइ छ । यहाँ प्रतिकिलो मह एक हजार दुई सय पर्छ । मह उत्पादनभन्दा पनि घारसहितको मौरी बिक्रीबाट बढी आम्दानी गर्न सकिने मोहराजको अनुभव छ । ‘कहिले त एक वर्षमै मौरीसहित १०० घारसम्म बिक्री हुन्छ, अहिले त्यति राम्रोसँग घार बिक्री भइसकेका छैनन्, विभिन्न जिल्लामा अनुदानमा घारसहितको मौरी बिक्रीका लागि यहाँबाट कृषि ज्ञान केन्द्रले खरिद गरेर लैजान्छ’ उनी भन्छन् ‘आफ्नो घरमा उत्पादन भएको घारसहितको मौरी गुल्मी, स्याङ्गा, काठमाडौँ, चितवनलगायतको स्थानमा बिक्री हुने गरेको छ, मह भने बागलुङ बजारमा बिक्री हुन्छ ।’ उपयुक्त याममा एउटै घारबाट एक पटकमा सात देखि आठ केजीसम्म मह काढ्न सकिने बताउँदै मह प्राय कात्तिक, मङ्सिर, फागुन र जेठमा राम्रो हुने मोहराज जानकारी दिन्छन् । स्थानीय सेरेना जातको मौरीबाट उत्पादित मह केही घरबाटै र केही बागलुङ बजारबाट बिक्री हुने गरेको छ । बागलुङ बजारमा शर्माको बुहारी राधा र धुल्लुमा शर्मिलाले मौरीपालनमा सहयोग गरिरहेका छन् । उत्पादन भएको मह उपहारस्वरुप जापान, अमेरिका, अष्ट्रेलिया बेलायतलगायत मुलुकमासमेत पुग्ने गरेको उनको भनाइ छ । यहाँ रहेका विभिन्न वनस्पति र फलफूलका रसबाट बनेको प्राङ्गारिक मह भएकाले धेरैले रुचाउने गरेको बुहारी शर्मिला जानकारी दिन्छिन् । ‘बुबाको मेहनत निकै छ, अहिले त मौरीपालन गर्न हामीलेसमेत सिकिसेका छौँ, बुबालाई सहयोग पुर्याउनाका साथै तालिमसमेत दिने भइसकेकी छु’ उनी भन्छिन्, ‘बुबाकै प्रेरणाका कारण मौरीपालनमा आफू समेत अग्रसर भएकी छु, विभिन्न मौरीपालन तालिममा समेत आफू सहभागी भइसकेको छु ।’ विदेश जाने ध्याउन्नमा विसं २०४५ मा काठमाडौं भौतारिएका मोहराजले यससम्बन्धी तालिम लिएपछि विदेश नजाने गरी घर फर्केका थिए । ‘विदेश जानका लागि विसं २०४५ मा २०/२५ हजार सिध्याएर पनि सफल हुन नसक्दा अन्त्यमा निजी संस्थाले मौरीपालन तालिम सिकाएको पत्तो पाएपछि काठमाडौँमा तीन सय रुपैयाँमा तालिम सिकेर घर फर्केपछि मौरीपालन थालैँ’ उनी भन्छन्। धुल्लु गाउँमा मोहराजको मौरीपालन देखेर अन्य स्थानीयवासीले समेत घरमै खानका लागि भए पनि मौरीपालन गर्न थालेका छन् । मौरीपालनमा उनको पच्चीस लाख रुपैयाँ लगानी भइसकेको छ । मोहराजले व्यवसायको सुरक्षाका लागि घर वरपरको जग्गालाई पर्खालसहित तारबार पनि गरेका छन् । यो व्यवसाय जिल्लाका अन्य मौरीपालन व्यवसायीलाई समेत प्रेरणाको स्रोत बनेको छ ।

पोखराको मान्द्रेढुङ्गाबाट माघ १ देखि प्याराग्लाइडिङको व्यावसायिक उडान

पोखरा । पोखराको मान्द्रेढुङ्गाबाट आगामी माघ १ देखि प्याराग्लाइडिङको व्यावसायिक उडान हुनेभएको छ । यही पुस १७ देखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भएसँगै प्याराग्लाइडिङको उडान मान्द्रेढुङ्गाबाट हुनेभएको हो । पोखरा महानगर(२४ मा पर्ने मान्द्रेढुङ्गाबाट अहिले प्याराग्लाइडिङको परीक्षण उडान भइरहेको छ । विमानस्थल सञ्चालन आएपछि नेपाल नागरिक उडड्यन प्राधिकरणले सराङकोट, तोरिपानी र तामागी क्षेत्रमा प्याराग्लाइडिङ उडानमा रोक लगाएको थियो । मान्द्रेढुङ्गा सराङकोटबाट करिब पाँच किलोमिटर पश्चिममा पर्छ । प्याराग्लाइडिङ साहसिक गतिविधिमा रुचि राख्ने आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्दै आएको छ । प्राधिकरणले सराङकोटलगायतका स्थानबाट प्याराग्लाइडिङमा रोक लगाएपछि विकल्पमा मान्द्रेढुङ्गाबाट उडानको तयारी गरिएको नेपाल हवाई खेलकुद संस्थाका अध्यक्ष सुनिल भट्टराईले जानकारी दिए । ‘तालिका मिलाएर सराङ्कोटबाट उडान गर्न प्रयास गरेका थियौ’, उनले भने, ‘उक्त स्थानबाट सम्भव नभएपछि हवाई सुरक्षाका कारण नमिल्ने निष्र्कषसहित मान्द्रेढुङ्गाबाट उडान तयारी गरेका छौँ, प्राविधिक टोली र प्यारापाइलटको परीक्षण उडान भइरहेको छ ।’ यसअघि सराङकोटको एक हजार चार सय ५० मिटर उचाइबाट करिब सात हजार फिटको क्यापमा प्याराग्लाइडिङ उडान भइरहेकोमा मान्द्रेढुङ्ङगाबाट भने एक हजार सात सय ४० मिटर उचाइबाट छ हजार फिट क्यापमा उडान हुनेछ । यसअघि पनि मान्द्रेढुङ्गाबाट उडान भए पनि व्यावसायिक उडान नभएको भट्टराईले बताए । मान्द्रेढुङ्गाबाट हुने उडान पामेमा अवतरण हुनेछ । अहिले परीक्षणका क्रममा पनि पामे फाँटमा अवतरण भइरहेको उनले जानकारी दिए । मान्द्रेढुङ्गाबाट व्यावसायिक उडानअघि प्यारापाइलट र प्याराग्लाइडिङ व्यवसायीलाई सुरक्षा र अन्य आधारभूत विषयमा एकदिने प्रशिक्षण गोष्ठी सञ्चालन गरिसकेको छ । करिब एक दशकदेखि व्यावसायिक उडान गर्दै आएका प्यारापाइलट माधव तिवारीले नयाँ ठाउँमा सिधैँ उडान गर्र्दा हावाको वहावको दिशा, उडान सहजता र सुरक्षा अवस्था परीक्षण उडानबाट जानकारी लिइरहेको बताए । ‘व्यावसायिक उडानका लागि यो नयाँ ठाउँ हो, हामीले वर्षौँदेखि उडान गर्दै आए पनि नयाँ ठाउँको अवस्थाबारे अध्ययन जरुरी हुन्छ’, उनले भने, ‘अहिले उडान परीक्षणमा हामी जुटिरहेका छौँ, अहिले प्यारापाइलटनै राखेर टेण्डम उडान भइरहेको छ ।’ उहाँले उक्त स्थानबाट पनि पोखरा र आसपासका सुन्दर हिमशृङ्खला, तालतलैया र प्राकृतिक सुन्दरतालाई अवलोकन गर्न सकिने भएकाले साहसिक खेलप्रेमीका लागि निकट भविष्यमै मान्द्रढुङ्गा उत्कृष्ट गन्तव्य हुनेमा आशावादी रहेको बताए । नेपाल हवाई खेलकुद संस्थाका निर्वतमान अध्यक्ष कृष्ण भण्डारीले साविकको स्थानबाट नयाँ स्थानमा आवातजावातमा केही समय बढी लागे पनि मान्द्रेढङ्ङ्गा प्याराग्लाइडिङका उत्कृष्ट सुरक्षित र भरपर्दो हुने विश्वास व्यक्त गरे । ‘मान्द्रेढुङ्गा नयाँ ठाउँमा पूर्वाधार विकासका लागि तत्काल व्यवसायीले केही लगानी गर्नुपर्ने छ’, उनले भने, ‘झनै अग्लो उचाइबाट उडान गर्न पाइने र सुन्दर दृश्यवलोकन गर्न पाइने भएकाले उत्कृष्ट हुनेछ ।’ हाल पोखरामा करिब ६० वटा प्याराग्लाइडिङ कम्पनी छन् भने ५० वटा अहिले सञ्चालनमा छन् । त्यसैगरी तीन सय ७६ जनाले प्यारापाइलटले उडान अनुमति लिएका छन् भने व्यावसायिक रुपमा दुई सय ५० जनाले उडान गरिरहेका छन् । पोखराको प्याराग्लाइडिङमा एक अर्ब रुपैयाँ बराबरको लगानी रहेको बताइएको छ ।

यी १० वाणिज्य बैंकको अस्तित्व मेटियो, मर्जर नीतिमा राष्ट्र बैंक सफल

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार २०६९ को असार मसान्तसम्ममा नेपालमा वाणिज्य बैंकको सङ्ख्या ३२ थियो । पछिल्लो १० वर्षमा त्यो सङ्ख्या २२ मा झरेको छ । हालसम्म १० वाणिज्य बैंकको अस्तित्व सकिएको छ । आगामी माघमा थप दुई बैंक एकापसमा गाभिँदैछन् । राष्ट्र बैंकले लिएको ‘बिग मर्जर’को नीतिअनुसार अन्य केही बैंकले पनि एकापसमा गाभिनका लागि पहल गरिरहेका छन् । चालु आर्थिक वर्षको पुसमा मात्र आठ बैंक एकापसमा गाभ्ने/गाभिने (मर्जर) प्राप्ति (एक्विजिसन) प्रक्रियामा गएर चार कायम भए । कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्स (एनसिसी) बैंक एकापसमा गाभिएर ‘कुमारी बैंक लिमिटेड’ का नामबाट पुस १७ गतेदेखि एकीकृत कारोबार सुरु भइसकेको छ । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डु एकापसमा गाभिएर ग्लोबल आइएमई बैंकका नामबाट पुस २५ गतेदेखि एकीकृत कारोबार सुरु हुँदैछ । त्यस्तै प्रभु बैंकले सेन्चुरी बैंकलाई प्राप्ति (एक्विजिसन) गरेर ‘प्रभु बैंक लिमिटेड’ को नामबाट पुस २६ गतेदेखि एकीकृत कारोबार सुरु गर्दैछ । मेगा बैंक र नेपाल इन्भेस्टमेन्ट बैंक एकापसमा गाभिएर पुस २७ गतेबाट ‘नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड’ का नामबाट एकीकृत कारोबार गर्दैछन् । हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्तिका लागि सहमति गरिसकेको भए पनि एकीकृत कारोबार भने सुरु भइसकेको छैन । दुवै बैंकले पुस २८ गतेका लागि वार्षिक साधारणसभा बोलाएका छन् । आगामी माघभित्रै एकीकृत कारोबार गर्ने यी बैंकको तयारी छ । नवील बैंकले नेपाल बङ्गलादेश बैंकलाई प्राप्ति गरेर गत आर्थिक वर्षमै एकीकृत कारोबार सुरु गरिसकेको छ । त्यस्तै ग्लोबल आइएमई बैंकले २०७० चैतमा कमर्ज एन्ड ट्रस्ट बैंक र २०७६ मङ्सिरमा जनता बैंक गाभिसकेको छ । विसं २०७० असारमा एनआइसी बैंक र बैंक अफ एशिया गाभिएर एनआइसी एशिया बैंक बनेको थियो । प्रभु बैंकले २०७१ भदौमा किष्ट बैंक र २०७२ फागुनमा ग्राण्ड बैंक गाभेको थियो । सन् २०१२ अप्रिलमा नेपालमा बैंक तथा वित्तीय संस्थाको सङ्ख्या दुई सय २० सम्म पुगेको थियो । त्यसमध्ये ३२ वाणिज्य बैंक, ८८ विकास बैंक, ७७ वित्त कम्पनी र २३ लघुवित्त कम्पनी सञ्चालनमा थिए । पछिल्ला वर्षमा राष्ट्र बैंकले नै बैंक तथा वित्तीय संस्थाको सङ्ख्या घटाउँदै लैजाने नीति लिएको छ । राष्ट्र बैंकले २०२२ अप्रिलमा सार्वजनिक गरेको ‘नेपालमा बैंक तथा वित्तीय संस्थाको उपयुक्त सङ्ख्या’ (अप्टिमल नम्बर अफ बैंक्स एन्ड फाइनान्सियल इन्टिच्युसन इन नेपाल) अध्ययन प्रतिवेदनले नेपालका लागि ११ देखि १५ सम्म वाणिज्य बैंक उपयुक्त हुने देखाएको थियो । बैंक तथा वित्तीय संस्थालाई मर्जरमा लैजाने राष्ट्र बैंकको नीतिका पछाडि मुख्य तीन उद्देश्य रहेको राष्ट्र बैंकका प्रवक्ता डा गुणाकर भट्ट बताउनुहुन्छ । पहिलो पुँजी बढाउँदा संस्था बलियो हुने, दोस्रो–सञ्चालन खर्च घट्ने र तेस्रो– अस्वस्थ प्रतिस्पर्धा घट्ने छ । ‘बैंकको चुक्ता पुँजी बढाएर बलियो संस्था बनाउँदा उनीहरुले ठूला आयोजनामा लगानी गर्न सक्छन्, धेरै बैंकमा छुट्टाछुट्टै सञ्चालक समिति वा व्यवस्थापन रहनुभन्दा एउटै बैंकको संस्था थोरै हुँदा सञ्चालन खर्च घट्छ, अस्वस्थ प्रतिस्पर्धा घटेर उनीहरुले पालना गर्नुपर्न वित्तीय अवस्थाको गुणस्तरमा सुधार आउँछ’, भट्टले भने । वित्तीय स्थायित्व सुदृढ गर्न बैंक तथा वित्तीय संस्थाको पुँजी बढाउनुपर्ने राष्ट्र बैंकले बताउँदै आएको छ । सन् १९९७–९८ को एशियाली आर्थिक सङ्कट र सन् २००७–२००८ को विश्व आर्थिक मन्दी पछिको अवस्थालाई हेरेर बैंक तथा वित्तीय संस्थाका नियामकले ‘कम सङ्ख्याका तर बलियो’ बैंक बन्नुपर्ने बहस सुरु भएको थियो । वित्तीय पहुँच, बजार प्रतिस्पर्धा र बजार क्षमता, बैंक तथा वित्तीय संस्थामा पुँजी पर्याप्तता (क्यापिटल एडिक्वसी), प्रविधिको प्रयोगलगायत विभिन्न अवस्थालाई हेरेर बैंक तथा वित्तीय संस्थाको संख्या घटाउनुपर्ने राष्ट्र बैंकको भनाइ छ । त्यस्तै मर्जर वा एक्विजिसन प्रक्रियाबाट बैंक तथा वित्तीय संस्थाको पुँजीको आधार विस्तार भई जोखिम बहन गर्नसक्ने क्षमता बढ्ने, सानो पुँजीका आधार भएका धेरै सङ्ख्याका संस्थाको सट्टामा थोरै सङ्ख्यामा सबल र सक्षम बैंक बनाउने नीति राष्ट्र बैंकको छ । बैंक तथा वित्तीय संस्थाको मर्जर र प्राप्तिका हकमा अब नेपाल राष्ट्र बैंकले प्रोत्साहनको नीतिभन्दा नियामकीय भूमिकालाई केन्द्रमा राखेर अघि बढ्नुपर्ने नेपाल बैंकर्स सङ्घका पूर्व अध्यक्ष भुवन दाहाल बताउँछन् । अहिले नेपालमा रहेका वाणिज्य बैंकको सङ्ख्यालाई घटाउन उनीहरुको व्यवस्थापकीय पक्ष र संस्थागत सुशासनलाई हेरिनुपर्ने उनको भनाइ छ । “राष्ट्र बैंकले कुनै निश्चित मानक राखेर त्यसैका आधारमा मर्जरको नीति लिनु उपयुक्त हुन्छ, त्यो मानक भनेको तोकिएका नीतिनियम पालना नगर्ने बैंकलाई मर्जरमा लैजाने र राम्रो सेवा दिइरहेका बैंकलाई त्यसका लागि बाध्यकारी नबनाउने हो”, दाहालले भने । राम्रा बैंक धेरै भए पनि समस्या नहुने तर राष्ट्र बैंकको नीतिनियम पालना गर्न नसकेको बैंकलाई मर्जर वा प्राप्तिमा पठाइनुपर्ने उनको भनाइ छ । कहिलेसम्म मर्जर/प्राप्तिमा जाने संस्थाले सुविधा पाउँछन् ? चालु आव २०७९/८० को मौद्रिक नीतिले “वाणिज्य बैंक र लघुवित्त वित्तीय संस्थाहरु एक आपसमा आफ्नै वर्गभित्र गाभिई वा प्राप्तिमा गई २०७९ पुस मसान्तभित्र एकीकृत कारोबार सञ्चालन गरेमा मात्र नेपाल राष्ट्र बैंकबाट प्रदान हुँदै आएको मर्जर तथा प्राप्तिसम्बन्धी छुट तथा सुविधा उपलब्ध हुने व्यवस्था मिलाइनेछ”, भनी उल्लेख गरेको छ । गत आव २०७८/७९ को मौद्रिक नीतिले उक्त आर्थिक वर्षभित्र एकापसमा गाभ्ने, गाभिने तथा प्राप्ति प्रक्रियामा सहभागी भई एकीकृत कारोबार सञ्चालन गरेमा विभिन्न छुट सुविधा पाउने उल्लेख गरेको थियो । चालु आवको मौद्रिक नीतिले ती सुविधा पाउनका लागि पुस मसान्तसम्मको समय दिएको छ । ‘मौजुदा मौद्रिक नीतिको व्यवस्थाअनुसार मर्जर÷प्राप्तिमा जानेसंस्थाले सुविधा पाउने पुस मसान्तसम्म मात्र हो, पाइरहेको सुविधालाई निरन्तरता दिने वा नदिने भनेर राष्ट्र बैंकको सञ्चालक समितिले निर्णय गर्छ’, राष्ट्र बैंकका प्रवक्ता भट्टले भने । मर्जर र प्राप्तिमा जाने बैंक तथा वित्तीय संस्थाका राष्ट्र बैंकले अहिले विभिन्न सुविधा दिइरहेको छ । तोकिएका क्षेत्रमा कर्जा प्रवाह गर्ने अवधि एकवर्ष थप गरिने, एकीकृत कारोबार गरेको एक वर्षभित्र अनिवार्य नगद मौज्दातको सीमामा शून्य दशमलव पाँच प्रतिशत बिन्दुले छुट प्रदान गरिने, एकीकृत कारोबार गरेको एक वर्षसम्म वैधानिक तरलता अनुपातमा एक प्रतिशत बिन्दुले छुट दिनेलगायत सुविधा पाउने व्यवस्था मौद्रिक नीतिमा राखिएको छ । त्यस्तै राष्ट्र बैंकले तोकेको प्रतिसंस्था निक्षेप सङ्कलन सीमामा पाँच प्रतिशत बिन्दुले थप गर्ने, बैंक तथा वित्तीय संस्थाले कायम गर्नुपर्ने कर्जा र निक्षेपको ब्याजदर अन्तरमा एक प्रतिशत बिन्दुले छुट दिइने र एकीकृत कारोबार सुरु गर्दा कर्जा निक्षेप अनुपातले सीमा नाघेमा सो नियमित गर्न एक वर्षको थप समय दिने सुविधा पनि यस्ता बैंक–वित्तीय संस्थालाई राष्ट्र बैंकले जनाएको छ । सञ्चालक समितिका सदस्य र उच्चपदस्थ कर्मचारी पदबाट हटेको कम्तीमा छ महिना व्यतित नभई अर्को बैंक तथा वित्तीय संस्थामा आबद्ध हुन नपाउने व्यवस्थामा पनि छुट छ । त्यस्तै वाणिज्य बैंकको शून्य दशमलव १० प्रतिशत वा सोभन्दा कम शेयर धारणा गरेका संस्थापक समूहको शेयर धनीहरुले यस्तो शेयर बिक्री गर्दा ‘फिट एन्ड प्रपर टेस्ट’ अनिवार्य हुनेजस्ता सुविधा राष्ट्र बैंकले दिएको छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिले वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनी मात्र नभइ पूर्वाधार बैंकलाई पनि मर्जरका लागि बाटो खोलिदिएको छ । पूर्वाधार क्षेत्रमा लगानी गर्ने गरी स्थापित नेपाल पूर्वाधार विकास बैंक (निफ्रा) को लगानी क्षमता अभिवृद्धिका लागि पूर्वाधार क्षेत्रमा नै लगानी गर्ने गरी स्थापना भई सञ्चालनमा रहेका अन्य वित्तीय संस्थासँग मर्जर तथा प्राप्तिमार्फत चुक्ता पुँजी वृद्धि गर्न प्रोत्साहित गरिने मौद्रिक नीतिमा उल्लेख छ । डेढ दशकको इतिहास नेपालमा बैंक तथा वित्तीय संस्था एकापसमा गाभ्ने/गाभिने तथा प्राप्तिको इतिहास केलाउँदा करिब डेढ दशक अगाडि फर्किनुपर्छ । लक्ष्मी बैंक लिमिटेड र हाइसेफ फाइनान्स लिमिटेडका बीच २०६१ सालमा मर्जर सम्झौता भएको थियो । यो नै नेपालका बैंक वित्तीय संस्थाको इतिहासमा भएको पहिलो मर्जर रहेको नेपाल राष्ट्र बैंकले २०७४ असारमा सार्वजनिक गरेको ‘गाभ्ने/गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिसन) को प्रभावकारिता अध्ययन प्रतिवेदन’ उल्लेख छ । बैंक तथा वित्तीय संस्था एकापसमा गाभ्ने वा गाभिनेसम्बन्धी विनियमावली, २०६८ जारी भएपछि भने हिमचुली विकास बैंक लिमिटेड र वीरगञ्ज फाइनान्स लिमिटेडबीच २०६८ सालमा भएको मर्जर नै पहिलो हो । बैंक तथा वित्तीय संस्था एकापसमा गाभ्ने वा गाभिनेसम्बन्धी विनियमावली २०६८ र बैंक तथा वित्तीय संस्था प्राप्ति (एक्विजिसन) सम्बन्धी विनियमावली, २०७० जारी भएपछि हालसम्म दुई सय ४७ बैंक तथा वित्तीय संस्था मर्जर एवं प्राप्ति प्रक्रियामा सामेल भइसकेको राष्ट्र बैंकको तथ्याङ्क छ । “वित्तीय स्थायित्व सुदृढीकरण गर्ने उद्देश्यले राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था गाभ्ने/गाभिने तथा प्राप्तिसम्बन्धी प्रक्रिया सुरु गराएपश्चात् २०७९ कात्तिक मसान्तसम्म कूल दुई सय ४७ बैंक तथा वित्तीय संस्था मर्जर/प्राप्ति प्रक्रियामा सामेल भएका छन्, यसमध्ये एक सय ७९ संस्थाको इजाजत खारेज हुन गई ६८ संस्था कायम भएका छन्”, राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/८० को पहिलो चार महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनमा भनिएको छ । रासस

अचार बेचेर आत्मनिर्भर, मासिक ९० हजार नाफा हुने

डुम्रे । सीप सिकेर त्यसको सदुपयोग गर्ने मानिस कमै पाइन्छन् । तनहुँको भिमाद नगरपालिका–६ शीतलचौतारीकी धनु राना सीप सिकेर आत्मनिर्भरतातर्फ लागेकि छिन् । उनले अचार उद्योग सञ्चालन गरी सीपको सदुपयोग मात्र गरेकी छैन स्वरोजगार पनि बनेकी छिन् । रानाले तत्कालीन घरेलु तथा साना उद्योग पर्यटन तथा उद्योग तनहुँबाट अचार बनाउने तालिम लिएपछि उद्यमशील र आत्मनिर्भर बन्ने लक्ष्यका साथ उद्योग सञ्चालन गरेकी हुन् । विसं २०७२ देखि राना ‘धनु आचार उद्योग’ सञ्चालन गरी सीप र जागर भए थोरै लगानीमा स्वदेशमै मनग्य आम्दानी गर्न सकिने बताउँछिन् । अचार उद्योग सञ्चालन गरी राना उदाहरण बनेकी छिन् । उनी अहिले अचार बेचेर नाम र दाम दुवै कमाउन सफल भएकी छिन् । उनले वार्षिक करिब ५० लाख रुपैयाँको अचार बिक्री गरी १० लाख रुपैयाँ नाफा कमाउँछिन् । मासिक चार लाख रुपैयाँको हाराहारीमा आचार बिक्री हुने र ८० हजारदेखि ९० हजार रुपैयाँ मासिक नाफा हुने गरेको उनी बताउँछिन् । आर्थिकरुपमा सबल बन्नका लागि आफैँले सीप सिकेर आत्मनिर्भर हुन सिक्नुपर्ने उनको भनाइ छ । यही दृढ लक्ष्यले अहिले अचार उद्योगबाट मनग्य आम्दानी गर्न सफल भएको उनी बताउँछिन् । रानाले आफ्नै घरमा सञ्चालन गरेको उद्योगबाट विभिन्न ४२ भन्दाबढी परिकारका अचार उत्पादन गर्दै आएकी छिन् । ती परिकारमध्ये १० प्रकारका अचार बिक्रीका लागि राखिएको उनले बताइन् । उनले सुरुमा दुई लाख रुपैयाँको लगानी गरेर उद्योग सञ्चालन गरेकी छिन् । उनले अचारबाट आएको मुनाफाबाट लगानी वृद्धि गरी २० लाख रुपैयाँ पु¥याएकी छिन् । उनले गाउँमै उत्पादित कच्चापदार्थबाट प्राङ्गारिक अचार उत्पादन गर्दै आएकी छिन् । उद्योग सञ्चालन गरिएसँगै आफैँ निरन्तररुपमा सवारी चलाएर अचार बेच्न विभिन्न ठाउँ पुग्ने गरेको उनी बताउँछिन् । तनहुँलगायत कास्की, स्याङ्जा र कहिलेकाहीँ काठमाडौंसम्म अचारको माग आएपछि उहाँ सबै स्थान आफैँ सवारीमा अचार ढुवानी गर्न पुग्ने गरेको बताउँछिन् । उनको उद्योगबाट दैनिक कम्तीमा चार सय ग्रामका एक सय ५० भन्दाबढी डिब्बा अचार उत्पादन हुँदै आएको छ । जैविक भएकाले अचारको बजारमा माग पनि उत्तिकै हुन थालेको उनी बताउँछिन् । यस व्यवसायले आफूलाई आत्मसन्तुष्टि र कमाइ दुवै मिलेको उनले बताइन् । रानाको उद्योगबाट उत्पादित अचार एक सय ३० देखि दुई सय ५० रुपैयाँ सम्म रहेको छ । उद्योगमा आलु, आँप, अकबरे खुर्सानी, अमला, कागती, मेथी, गाँजर, कर्कलो, कोइरालो, काउरो, लप्सी, टमाटर, तामा, सिप्लीगान, पिँडालु, बङ्गुर, चिकेन, भुरा माछा, खसी, काँक्रो, करेला, टिमुर, लसुन, मग्राते, मिक्स, मुला, सुकुटी, रुखकटहर, निउरो, स्कुस, फर्सी, गुन्दु्रक, भट्टमासलगायतका विभिन्न स्वाद ९फ्लेवर० का अचार उत्पादन गर्दै आएको रानाले जानकारी दिइन् । उद्योगमा उत्पादित अचारको माग स्थानीय बजारमा मात्र नभएर पोखरा, स्याङ्जा, लमजुङ, गोरखालगायतका बजारमा समेत माग बढ्दै गएको रानाले बताइन् । अचार बनाउन धेरै लगानी नचाहिने र बजारमा सजिलै बिक्री हुने गरेको राना बताउँछिन् । अचार बनाउनका लागि स्थानीय क्षेत्रमा उत्पादन हुने कच्चा पदार्थलाई नै प्रयोग गरिँदै आएको हुँदा यसबाट कृषि क्षेत्रकै समग्र विकासमा सघाउ पुगिरहेको रानाको भनाइ छ । ‘हातले अचार उत्पादन थोरै हुने हुँदा नाफा पनि कम हुन्छ, अब नयाँ प्रविधि आइसकेको हुँदा मेसिनले अचार बनाउन थालेका छौँ’, उनले भनिन्। सरकारले मेसिन खरिदमा अनुदान दिने र सीप प्रदान गर्ने हो भने भारतीय बजारबाट आउने आचार विस्थापित गर्न सकिने रानाको बुझाइ छ । साविक घरेलु तथा साना उद्योगबाट ८० प्रतिशत अनुदानमा एक लाख रुपैयाँको मेसिन प्राप्त गरेको उनले जानकारी दिइन् । राना जिल्लाकै नमुना घरेलु उद्यमी भएकाले उनको व्यवसायको सबैले प्रशंसा गर्ने गरेको घरेलु तथा साना उद्योगी महासङ्घ महिला उद्यमी समिति तनहुँका अध्यक्ष कल्पना गौलीले बताइन् । नमुना उद्यमी भएकोले उनको उद्योगलाई गण्डकी प्रदेश सरकारले विनाब्याज पाँच लाख रुपैयाँ ऋण उपलब्ध गराएको गौलीले बताइन् । महिला उद्यमी बन्न चाहे पनि रकम अभावले गर्दा व्यावसायिकतातर्फ पाइला चाल्न कठिन हुने गरेको अध्यक्ष गौलीको भनाइ छ । ‘धितो राख्न केही नभइकन पनि सहुलियत ब्याजमा ऋण पाउने व्यवस्था गर्ने हो भने निर्वाहमुखी साना उद्योगलाई व्यावसायिक बनाउन सकिन्छ’, उनले भनिन् । उद्यमी रानाको उद्योग हेर्न विभिन्न स्थानबाट महिला उद्यमी समय समयमा आउने गरेको गौली बताउँछिन् । रानाले अचार ढुवानीका लागि एउटा गाडी लिएकी छिन् । ‘हिक्मतिलो महिला छन्, पुरुषसरह काम गर्न सकिन्छ भन्ने जोश भएकाले उनलाई सफलता मिलेको छ’, गौलीले भनिन् । उद्योगको प्रचारप्रसार बढेसँगै अत्यधिक माग आउने गरेकाले मागअनुसार उत्पादन बढाउन नसकेको उनले सुनाइन् । कहिलेकाहीँ कच्चापदार्थको अभावमा मागअनुसार अचार उत्पादन गर्न नसकेको उनले बताइन् । अहिले उनले सात महिलालाई रोजगारी दिएकी छिन् । यसलाई वृद्धि गर्दै २० देखि २५ महिलालाई रोजगारी दिने योजना बनाएको समेत रानाले सुनाइन् ।

आइडिया नेपालद्वारा ४४ जना डिजाइनर सम्मानित

काठमाडाैं । इन्टेरियर डिजाइनरस एशोसिएसन अफ नेपाल (आइडिया नेपाल) ले ४४ जना इन्टेरिएर डिजाइनरहरुलाई सम्मान गरेकाे छ । संस्थाले आजीवन सदस्यका रुपमा आवद्ध एवं इन्टेरिएर डिजाइन क्षेत्रमा लामो समयदेखि संग्लन डिजाइनरहरुलाई सम्मान गरेकाे हाे । संस्थाले  डिजाइनरहरुको पेशागत र उद्यमशीलता अभिवृद्धि गर्ने उदेश्यले प्रोफेसनल डेभलपमेन्ट प्रोग्राम पनि आयोजन गरेको थियाे । कार्यक्रममा वरिष्ठ बैंकर मनोज न्यौपानेले प्रोफेसनल इन्टरप्रेनरसिप र संस्थाका अध्यक्ष बिन्द्रा कक्ष पति प्रधानले जोइन्ट भेन्चर व्यवसायको अवधारणा सम्बन्धमा अभिमुखीकरण कार्यक्रममा प्रस्तुतिकरण दिएका थिए । एसियन पेन्ट नेपालले मुख्य प्रायोजककाे रुपमा कार्यक्रमलाई सहयाेग गरेकाे थियाे । वि. सं २०६० साल मंसिरमा स्थापना भएको आइडिया नेपाल नेपालका इन्टेरिएर डिजाइनरहरुको छाता संगठन हाे ।