विकासन्युज

प्राध्यापन छाडेर मौरीपालन, वार्षिक ३० लाख आम्दानी

कपिलवस्तु । कपिलवस्तु वाणगङ्गाका अर्जुनप्रसाद पोख्रेलका हातमा दुई वटा स्नातकोत्तरका प्रमाणपत्र र साथमा आधा दर्जन क्याम्पस, कलेज र विद्यालयमा अध्यापनको अनुभव छ । अध्यापनमार्फत् समाजमा नाम, दाम दुवै कमाएका उनी पछिल्लो दुई दशकदेखि व्यावसायिक मौरीपालनमा रमाएका छन् । विसं २०६० मा २० वटा घारबाट मौरीपालन सुरु गरेका उनले अहिले घारको सङ्ख्या एक सय पुर्‍याइसकेका छन् । उनले घारको सङ्ख्या बढाएर एक हजार बनाउने योजना बनाएका छन् । ‘प्राध्यापन पेसा छाडिसकेको छु’, उनले भने, ‘पूर्णरुपमा यसैमा लाग्ने योजनाका साथ एक हजार घारमा मौरी पालन गर्ने योजना बनाएको छु ।’ ‘माउण्टेन बि कन्सर्न’ कृषि फार्ममार्फत् उनी अहिले ‘माउण्टेन अर्जुनादी हनी’ उत्पादन गरी देशभर ब्रान्डिङ गर्ने तयारीमा समेत छन् । लुम्बिनी प्रदेशमा उहाँको महको ब्राण्ड परिचित नै छ । मौरीपालनका लागि ४० लाख रुपैयाँको लगानी लगाएका उनी यो मौरीचरनको सिजन एकाले व्यस्त छन् । कात्तिक र मङ्सिर महिनामा मौरी बोकेर चरन खोज्दै उनी दाङ, प्यूठानसम्म पुग्नछन् । अहिले तोरी फूल्ने समय भएका कारण उनलाई मौरी चराउन भ्याइनभ्याइ छ । मौरीपालनबाट वार्षिक ४० क्विन्टल मह उत्पादन भइरहेको उनले जानकारी दिए । “मौरीको मह, मैन र गोला बिक्रीबाट वार्षिक ३० लाख रुपैयाँको बराबरको आम्दानी भइरहेको छ”, उनले भने, “सबै खर्च कटाएर १५ लाख रुपैयाँ बचत हुन्छ ।” श्रीमान्, श्रीमती मिलेर सुरु गरेको व्यवसायमा आफूबाहेक अन्य पाँच जनाले जागिर पाएको उनले बताए । उनले मह बिक्रीका लागि ‘अर्जुन बेस्ट हनी’ पसल पनि सञ्चालन गरिरहेका छन् । ‘पसलबाट आफूले उत्पादन गरेको र अरु किसानले उत्पादन गरेको मह बिक्री हुन्छ, त्यसबाट पनि आम्दानी राम्रो छ’, उनले भने । अर्थशास्त्र र समाजशास्त्रबाट स्तानकोत्तर उत्तीर्ण उनी काठमाडौंदेखि कपिलवस्तुसम्मका दर्जन बढी क्याम्पस, कलेज र विद्यालयमा अध्यापन गराइसकेका छन् । नेपाल मौरीपालन केन्द्रीय सहकारी सङ्घ लिमिटेडका अध्यक्षसमेत भइसकेका पोख्रेल देशलाई महमा आत्मनिर्भर बनाउने अभियानमा लागेका छन् । अझै पनि ६० प्रतिशत मह आयात भइरहेको भन्दै त्यसई प्रतिस्थापन गर्नुपर्ने उनको भनाइ छ । इजरायलमा एक महिना बसेर अन्तर्राष्ट्रिय मौरीपालन तथा मौरी व्यवस्थापन एकेडेमिक कोर्स पूरा गरेका उनले मौरीपालनसँगै तालिमसमेत दिँदै आएका छन् । जिल्लामा तीन सय बढी किसानले व्यावसायिकरुपमा मौरीपालन व्यवसाय गरेको वाणगङ्गा मौरीपालन सहकारी लिमिटेडले जनाएको छ । जिल्लामा मौरीपालनका लागि चरण क्षेत्र राम्रो मानिएकाले व्यवसाय फस्टाएको नेपाल मौरीपालन केन्द्रीय सहकारी सङ्घ लिमिटेडका अध्यक्ष लीलापति घिमिरे बताउँछन् । यहाँ दलहन, तेलहन प्रशस्त लगाइने भएका कारण मौरीपालनका लागि राम्रो भएको उनले बताए । साथै साल, सिसौ, जङ्गली रुदिलो पनि राम्रै भएकाले मौरीका लागि राम्रो आहार हुने किसानहरु बताउँछन् । यहाँ मेलिफेरा जातको मौरी पालिने गरिएको छ ।

कपिलवस्तुका ३३ वटा अवैध क्रसर उद्योग बन्द

कपिलवस्तु । जिल्लमामा अवैधरुपमा सञ्चालनमा रहेका १५ क्रसर उद्योग बन्द गराइएको छ । गत पुस २० गते गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई मापदण्ड विपरीतका क्रसर उद्योग बन्द गर्न परिपत्र गरेको थियो । जिल्लामा ३३ मध्ये १५ वटा यस्ता उद्योग बन्द गराइएका छन् भने बाँकी १८ वटा पहिलेदेखि नै बन्द अवस्थमा थिए । मन्त्रालयको परिपत्र प्राप्त गरेपछि गत पुस २१ गते जिल्लाका १५ क्रसर उद्योग बन्द गरिएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले बताए । ढुङ्गा, गिट्टी र बालुवा उत्खनन बिक्री, तथा व्यवस्थापन मापदण्ड २०७७ विपरित कतिपय क्रसर उद्योग सञ्चालन हुँदै आएका छन् । यस्तै तोकिएको अवधि सकिएर पनि नविकरण नगराएका कपितय कतिपय उद्योग पनि सञ्चालनमा छन् । त्यस्ता उद्योगलाई प्रहरीले स्थलगत अनुगमन र निरीक्षणपछि बन्द गराएको उनले जानकारी दिए । शिवराज नगरपालिकामा रहेको ११ वटा, विजयनगर गाउँपालिकामा रहेको दुई वटा र बुद्धभूमि नगरपालिका तथा कृष्णनगर नगरपालिकामा रहेको एक–एकवटा क्रसर उद्योग बन्द गराइएका हुन् ।

२० अंकले बढ्यो सेयर बजार, झण्डै साढे ५ अर्बको कारोबार

काठमाडौं । आइतबारको सेयर बजार २०.५५ अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जको अनुसार आइतबार सेयर बजार बढेर २१६४.४८ अंकमा पुगेको छ । आज नेप्सेमो १ करोड ४१ लाख कित्ता सेयर किनबेच हुँदा पाँच अर्ब ४५ करोड रुपैयाँको कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार हुने कम्पनी हिमालयन डिस्टिलरी रहेको छ । कम्पनीको आज २१ करोड रुपयाँको सेयर कारोबार भएको छ । यस्तै, शिवम् सिमेन्टको १९ करोड ६८ लाख रुपैयाँको र रिडी पावरको १५ करोड ७१ लाख रुपैयाँको सेयर कारोबार भएको छ । नेप्सेको अनुसार आज खप्तड लघुवित्त र बारही हाइड्रोपावरको सेयरमा सर्किट लागेको छ ।

नबिल एसएसईको फेलोसिप कार्यक्रम सम्पन्न, उद्यम गर्ने र उद्योगी बन्नेलाई सहयोग गरिने

काठमाडौं । नबिल बैंकले एसएसईको पहिलो चरणको फेलोसिप कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । बैंकले अघि बढाएको सामाजिक उद्यमशीलता कार्यक्रममा सहभागीलाई प्रमाणपत्रसहित बिदाइ गरेर पहिलो चरणको कार्यक्रम समापन गरिएको हो । बैंकले शुक्रबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयमा एक कार्यक्रमको आयोजना गर्दै फेलोसिप कार्यक्रममा सहभागी भएका पहिलो ब्याचका १८ जनालाई बिदाइ गरेको हो । सोही अवसरमा बैंकले उक्त कार्यक्रमको दोस्रो ब्याचका लागि छनौट भएका २० जनालाई पनि स्वागत गरेको छ । बैंकले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत स्कुल अफ म्यानेजमेन्टसँगको सहकार्य र स्कुल फोर सोसल आन्टरप्रेनर्स इन्डियाको प्राविधिक सहयोगमा समाजमा उद्यमशीलताका माध्यमबाट सामाजिक समस्याको दीर्घकालीन समाधान गर्ने उद्देश्यको साथ गत वर्षदेखि यो कार्यक्रम सञ्चलनमा ल्याएको हो । यो कार्यक्रमले १८ देखि ५० वर्षभित्रका इच्छुक व्यक्तिलाई उद्यमको सुरुआत गर्न सक्षम बनाउने लक्ष्य राखेको छ । सोहीअनुसार बैंकले पहिलो ब्याचमा विभिन्न क्षेत्रमा नवीनतम सोच भएका २० जनालाई छनौट गरेको थियो । तर, १८ जनाले मात्रै उक्त कार्यक्रमलाई पूर्णता दिएका थिए । जसमध्ये १३ जनाले आफ्नो व्यवसायलाई सञ्चालन गरी सेवा र सामाग्री बजारमा प्रवेश गरिसकेका छन् । कार्यक्रममा नबिल बैंकका डेपुटी सिईओ मनोज ज्ञवालीले सहभागीहरूको प्रडक्ट र सेवाहरू देख्दा धेरै खुसी लागेको बताए । बैंकको उद्यमी बनाउने उद्देश्यमा १८ जना सहभागीहरूले उद्यमशीलताको दियोको रूपमा काम गर्ने उनले बताए । ‘यो नै नबिलले समाजमा ल्याएको सकारात्मक परिवर्तनको सुरुवात हो,’ उनले भने । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका प्राडा डिन डिल्लीराज शर्माले नबिल एसएसईमा सहभागीहरु समाज परिवर्तनका एजेन्ट रहेको बताए । सोही अवसरमा दोस्रो चरणको फेलोसिप कार्यक्रम सञ्चालनका लागि नबिल बैंक र त्रिवी बिच फेरि सम्झौता भएको छ । सम्झौता पत्रमा बैंकका तर्फबाट सिइओ ज्ञानेन्द्र ढुंगाना र उपाध्यक्ष निर्वाण चौधरी तथा त्रिवीका तर्फबाट उपकुलपति प्राडा धर्मकान्त बास्कोटा र प्राडा. डिन डिल्लीराज शर्माले हस्ताक्षर गरेका छन् । कार्यक्रममा बैंकका उपाध्यक्ष चौधरीले नबिल बैंक उद्यम र उद्यमी बन्न चाहनेहरुको लागि सहयोग गर्न तत्पर रहेको बताए । उनले भने, ‘उद्यमी बन्न सजिलो त छैन तर नबिलले तपाइँहरुलाई उद्यम बन्न हरेक तवरले सहयोग गर्नेछ ।’

आन्दोलन छोडर अनुसन्धानमा सहयोग गर्न गृहमन्त्रीको आग्रह

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बाँकेकी निर्मला कुर्मीको न्यायका लागि काठमाडौँको माइतीघरमा चरणवद्ध आन्दोलमा रहेका पक्षलाई धर्ना छोडेर अनुसन्धानमा सहयोग गर्न आग्रह गरेका छन् । सरकार कुर्मीको घटनाबारे संवेदनशील भएको भन्दै उनले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआईवीले विशेष टोली परिचालन गरी छानबिन गरिरहेको जानकारी दिए । उनले सबै धर्ना र आन्दोलनका गतिविधि छोडेर प्रहरीको छानबिनमा सहयोग गर्न आग्रह गरेका हुन् । आफू मन्त्री भएपछि दुई पटक टेलिफोन गरी धर्नामा रहनुभएकी रुबी खानलाई घटनाबारे सरकार गम्भीर रहेको र दोषी पत्ता लगाउन आन्दोलन र धर्ना छोडेर प्रहरीलाई सहयोग गर्न आग्रह गरेको बताए । यसअघि गत सोमबार गृहमन्त्री लामिछानेले गृह सचिव विनोदप्रकाश सिंह, प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहलगायत उच्च सुरक्षा अधिकारीसहितको छलफल गरेर प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीलाई सत्यतथ्य छानबिन गरी प्रतिवेदन पेस गर्न निर्देशन दिनु भएको थियो ।

५ हजार रुपैयाँले घट्यो भिभो भी२३ई र वाई५३एसको मूल्य

काठमाडौं । भिभोले भी सिरिज र वाई सिरिजका स्मार्टफोनहरु – भी२३ई र वाई५३एस काे मुल्य घटाएको छ । भी२३ई को दुवै संस्करणमा पाँच हजारले मुल्य घटाएर अब भी२३ई ८जीवी+१२८ जीवीको मुल्य ३६ हजार ९९९ रुपैयाँ र भी२३ई ८ जीवी +२५६ जीवी संस्करणको मुल्य ४१ हजार ९९९ रुपैयाँ बनाएको छ । त्यस्तै, वाई५३एस को मुल्य ४ हजारले घटाएर ३० हजार ९९९ रुपैयाँ बनाएको छ । यो नयाँ मूल्य जनवरी ३१ सम्म भिभोका सबै रिटेल स्टोरहरू र इ–कमर्स वेबसाइटहरूमा लागू हुनेछ । भिभो भी२३ई मा ५०एमपी अटोफोकस पोट्र्रेट सेल्फी विशेषता छ जसमा एआई एक्स्ट्रिम नाइट पोट्र्रेट र मल्टी–स्टाइल पोट्र्रेट जस्ता विभिन्न पोट्र्रेट मोडहरू छन् । भी२३ई को रियर क्यामेराहरूमा ६४एमपी नाइट क्यामेरा, ८एमपी सुपर वाइड–एंगल क्यामेरा, र २एमपी म्याक्रो क्यामेरा समावेश भएको ट्रिपल क्यामेरा सेटअप छ । यसको सुपर नाइट मोडले कम उज्यालो अवस्थाहरूमा एआई मल्टिपल फ्रेम डिनोइजिङको सहायताले कम प्रकाश अवस्था, ब्राइटनेशको सन्तुलन र अँध्यारोमा उत्कृष्ट प्रदर्शन गर्दछ । यसमा ८जीवी र्याम छ र रोममा दुई विकल्पहरू– १२८जीवी र २५६जीवी छन् । यसको रोमलाई विस्तार गर्न पनि सकिन्छ । यसबाहेक, भी२३ई मा ४०५०एमएएच ब्याट्री र ४४ वाट फ्ल्यासचार्ज छ । यसमा फेनटच ओएस १२ छ । वाई५३एस ६४एमपी रियर क्यामेरा, २एमपी बोकेह पोट्र्रेट क्यामेरा, र २एमपी सुपर म्याक्रो क्यामेराले सुसज्जित छ, जसले यसलाई कुनै पनि सेटिङमा र विभिन्न प्रकाश अवस्थाहरूमा उच्च रिजोल्युसन फोटो खिच्नका लागि उपयुक्त बनाउँछ । यसमा ५०००एमएएच ब्याट्री, ३३वाट फ्ल्यास चार्ज क्षमता र १ टिवी सम्म विस्तार गर्न सकिने इनबिल्ट ८जीवी र्याम र एक्सटेन्डेवल र्याम छ ।

थप तीन स्थानमा महालक्ष्मी लाइफको महिला सशक्तिकरण कार्यक्रम सम्पन्न

काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्सको थप स्थानहरुमा ‘महिला सशक्तिकरणमा – महालक्ष्मी लाईफ’ कार्यक्रम सम्पन्न भएको छ । इन्स्योरेन्सको महिला रोजगारी र आय वृद्धिको लागि संचालित कार्यक्रम ‘महिला सशक्तिकरणमा- महालक्ष्मी लाईफ’ थप ३ स्थानहरुमा संचालन भएको हो । कम्पनीले पुस २२ गते जीतपुर सिमरा नगरपालिकाको जीतपुरमा, पुस २३ गते रेनु कुमारी साहको अध्यक्षतामा हेटौडा र तारकेश्वर नगरपालिका नेपालटारमा पनि पुस २३ गते कार्यक्रम संचालन गरेकाे थियाे । उक्त कार्यक्रममा ३४५ जना महिलाले सहभागीता जनाएका थिए । समाजमा पिछडिएका र अवसर नपाएका महिलाहरुलाई बीमाको माध्यमले रोजगारीको अवसर प्रदान गर्ने उद्देश्यले संचालित यो कार्यक्रममा व्यापक सहभागिता र आकर्षण बढ्दै गइरहेको कम्पनीले जनाएकाे छ ।  

सप्तरीमा एउटै कक्षामा डेढ सय विद्यार्थी

गोलबजार । सप्तरीको बलान बिहुल गाउँपालिका–४ बेल्हीस्थित जनता आधारभूत विद्यालयको पठनपाठन दुई शिक्षकका भरमा हुँदै आएको छ । उनीहरुले आठ कक्षासम्मका विद्यार्थीलाई पढाउँदै आएका छन् । नेपाल–भारत सीमा नजिक रहेको उक्त विद्यालय २०११ सालमा स्थापना गरिएको हो । विद्यालयमा दुई बालविकास सहयोगी तथा एक कार्यालय सहयोगी कार्यरत छन् । शिक्षक अभावले बालविकास कक्षाका साथै कक्षा १ र २ लाई एउटै ठाउँमा राखेर पढाउने गरिएको छ । यस्तै कक्षा ३, ४ र ५ तथा कक्षा ६, ७ र ८ का विद्यार्थीलाई एउटै ठाउँमा राखेर कक्षा सञ्चालन गर्नुपरिरहेको प्रधानाध्यापक नेतीलाल यादवले बताए । सो विद्यालयमा बालविकास कक्षामा ४० तथा कक्षा १ देखि ८ सम्म दुई सय ६९ विद्यार्थी अध्ध्यनरत छन् । कक्षा छ मा ४०, कक्षा सातमा ५७ तथा कक्षा आठमा ५४ विद्यार्थी अध्ययनरत रहेका प्रअ यादवले बताए । ‘डेढ सय विद्यार्थी एउटै ठाउँमा राखेर पठाउनु परिरहेको छ’, उनले भने, ‘यसरी कक्षा सञ्चालन गर्दा शिक्षक र विद्यार्थीलाई असहज हुने गरेको छ, यो बाहेक हामीसित अरु उपाय छैन ।’ विद्यालयमा निमावि राहततर्फ एउटा तथा प्राथमिक तहमा दुई स्थायी दरबन्दी खाली छ । विद्यालयको समस्याप्रति गाउँपालिका शिक्षा शाखा अनविज्ञ छ । शाखा प्रमुख दिनेशकुमार मण्डलले यसबारे विद्यालय, गाउँपालिका अध्यक्ष र वडाध्यक्षलाई जानकारी हुनसक्ने बताए । विद्यालयमा चार बजेसम्म पठनपाठन कमै हुने यहाँ अध्ययनरत विद्यार्थी बताउँछन् । ‘दुई बजेपछि विद्यालयमा खासै पढाइ हुँदैन, त्यत्तिक्कै बसेर के गर्नु ?’, कक्षा सातमा अध्ययनरत रञ्जना मण्डलले भनिन्, “सबै विषयको पढाइ कहिल्यै हुँदैन ।’ बालविकास कक्षा सहयोगी निलमकुमारी राम एउटै ठाउँमा धेरै विद्यार्थी राखेर पढाउँदा पठनपाठन प्रभावकारी नहुने बताउँछिन् । ‘शिक्षक अभावले तीन कक्षाका विद्यार्थी एउटै ठाउँमा राख्नुपर्ने बाध्यता छ, विद्यार्थीलाई सम्हाल्नै मुश्किल हुन्छ ।’ प्रअ यादवको पनि आफ्नै समस्या छन् । ‘विद्यालयकै कामले विभिन्न ठाउँमा जानुपर्ने हुन्छ, सधैँ विद्यालयमा भइन्न’, उनले भने । विद्यालय व्यवस्थापन समितिका सदस्य ओमप्रकाश यादवले दरबन्दी अनुसारको शिक्षक नआउँदासम्म समस्या भइरहने बताउँछन् । बलान बिहुल गाउँपालिकाका अध्यक्ष खेमचन्द्र यादव चाँडै दुई शिक्षक नीजि श्रोतमा राखेर समस्या समाधान गरिने बताउँछन् । विद्यालयमा शिक्षक मात्र होइन फर्निचरको समेत अभाव छ । ‘सबै विद्यार्थीलाई बस्न बेञ्चको अभाव छ’, प्रअ यादवले भने । विद्यालयसित रहेको सात कट्टठा जग्गा पनि अतिक्रमणको चपेटामा परेको छ । विद्यालयको घेरपर्खाल समेत छैन । प्रदेश सामाजिक विकास मन्त्रलयअन्तर्गतको सामाजिक विकास एकाइको सहयोगमा २५ लाखको लागतमा हालै दुईकोठे पकी भवन निर्माण गरिएको छ । ५० लाखको लागतमा यहाँ चारकोठे भवन निर्माण गरिँदैछ । रासस