मेगा बैंकको कार्यवाहक सीइओमा महेश शर्मा ढकाल नियुक्त
काठमाडौं । मेगा बैंक नेपालको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा महेश शर्मा ढकाल नियुक्त भएका छन् । बैंकको सोमबार बसेको संचालक समितिको बैठकले ढकाललाई कार्यवाहक सीइओमा ढकाललाई नियुक्त गरेको हो । ढकाललाई पुस २५ गते सोमबारबाट लागु हुने गरी अर्को व्यवस्था नभएसम्मका लागि कार्यवाहक सीइओको जिम्मेवारी दिएको बैंकले जनाएको छ । यसअघि ग्लोबल आईएमई बैंकका बरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत रहेका ढकालले बैंकिङ क्षेत्रमा अढाई दशक बिताईसकेका छन् । नेपाल बैंकबाट बैंकिङ करिअर शुरु गरेका ढकाल कमर्स एण्ड ट्रष्ट बैंक, सिद्धार्थ डेभलपमेन्ट बैंक, टुरिजम डेभलपमेन्ट बैंकमा काम गरिसकेका छन् ।
रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा एमडिआरटीका अभिकर्ताहरु सम्मानित
काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले एमडिआरटी २०२३ को लागि योग्य २० अभिकर्ताहरुलाई सम्मान गरेको छ । कार्यक्रममा कम्पनीका सीइओ राकेश पोखरेलले एमडिआरटी अभिकर्ताहरुले आफ्नो परिश्रमले गर्दा नै निरन्तर प्रतिष्ठित एमडिआरटी ग्लोबल कनफरेन्समा सहभागिता जनाउन सफल भएको बताए । यस्तै, उनले आगामी दिनमा कम्पनीले थप उत्कृष्ट प्रशिक्षण आकर्षक स्किम लगायतका कार्यक्रम ल्याई हौसला प्रदान गर्ने र त्यस्ता कार्यक्रमले थप एमडिआरटी अभिकर्ताहरु कम्पनीले जन्माउने बताए । कार्यक्रममा कम्पनीका सिनियर मेनेजमेन्ट एमडिआरटी अभिकर्ताहरु रिजनल मेनेजर का साथै ब्रान्च मेनेजरहरुको पनि सहभागिता रहेको थियो ।
सुनको मूल्य प्रतितोला एक लाख ३९ सय पुग्यो
काठमाडौं । सुनको मूल्य हालसम्मकै उच्च भएको छ । नेपाली बजारमा आज सुनको मूल्य वृद्धि भएको छ । आज छापावाला सुन तोलामा ६ सय रुपैयाँले वृद्धि भइ प्रति तोला १ लाख ३ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आज तेजावी सुन प्रति तोला १ लाख ३ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । साथै आज चाँदी तोलामा १० रुपैयाँले बढेर प्रति तोला १ हजार ३९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।
वर्षा र बाढीले क्षति पुर्याएको कर्णाली राजमार्ग स्तरवृद्धि गरिँदै
जुम्ला । गत असोजको १९ देखि २३ गतेसम्म आएको अविरल वर्षा र बाढीले क्षति पुर्याएको कर्णाली राजमार्ग स्तरवृद्धि गरिने भएको छ । राजमार्ग स्तरवृद्धि नहुदाँ यहाँका नागरिकलाई सास्ती हुने गरेको छ । कर्णाली राजमार्गलाई थप स्तरवृद्धि गर्नका लागि काम भइरहेको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख राजिव श्रेष्ठले जानकारी दिए । राजमार्गलाई पुरानै अवस्थामा ल्याउनका लागि दुई अर्बको योजना अघि सारेर विभागमा फाइल पेश गरिएको छ । सो बजेट अर्थमन्त्रालयबाट स्वीकृत भएमा केही क्षेत्रमा कालोपत्रे अन्य निर्माण तथा पहिरो पन्छाउन सहयोग पुग्ने कार्यालय प्रमुख श्रेष्ठको भनाइ छ । यसका लागि जिल्ला विपद् व्यवस्थापन कार्यालयले निर्णय गर्नुपर्ने छ । मुगुले निर्णय गरेर पठाइसकेको छ । जुम्ला र कालीकोटको सिफारिस बाँकी रहेको सडक डिभिजन कार्यालयले जनाएको छ । राजमार्गको लामो भागमा पहिरो पन्छाउने कामका लागि ठेक्का अगाडि बढाइएको छ । सबैभन्दा ठूलो पहिरो नाग्मदेखि रारा खण्ड, धनाडाराजुली खण्ड, राताडाव खण्ड, एस मोडसहित विभिन्न स्थानमा रहेको छ । सेरिगाडमा एक हप्ताअघि ठुलो सुक्खा पहिरो खसेपछि जाली तथा ग्याबिन पर्खाल लगाउने काम भइरहेको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ । अवरुद्ध राजमार्गलाई थप स्तरवृद्धि गर्नेका लागि अहिले काम तीव्र गतिमा भइरहेको छ । पहिरोले कालोपत्रे गरिएका सडक पनि कच्चीमा परिणत भएको ठाउँमा सुधार गर्ने लागि परेको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ । सबैभन्दा बढी जुम्ला र कालीकोट खण्ड र त्यसपछि दैलेख खण्डका विभिन्न क्षेत्रमा राजमार्ग भत्किएको छ । हवाईमार्गबाट जान नसक्ने सर्वसाधारणका लागि यातायातको एकमात्र विकल्प कर्णाली राजमार्ग भएको यहाँका स्थानीयवासी बताउँछन् । राजमार्ग स्तरवृद्धि हुन अतिआवश्यक रहेको छ । जुम्लाको तिला गाउँपालिका– १ का स्थानीयवासी जयलाल बुढाले भने, ‘हाम्रो लागि राजमार्ग सबैभन्दा सहज पहुँच हो । अहिले राजमार्ग राम्रोसँग बिग्रेको छ । सुधारका लागि सम्बन्धित निकायको ध्यान जान जरुरी छ’ । कर्णाली राजमार्ग दुई लाइन सडक खोल्नका लागि आवश्यक बजेट व्यवस्थापनका लागि यहाँका सांसददेखि राजनीतिक दलको महत्वपूर्ण भूमिका खेल्नुपर्ने स्थानीयवासी बुढाको भनाइ छ । राजमार्गको स्तरोन्नति हुन नसक्दा यात्रुले निकै गाह्रो हुने गरेको स्थानीयवासी उपराज रावतले बताए। सो बाढी पहिरोले कालीकोटको नाग्मदेखि मुगु गमगढी सडकलाई समेत क्षति गरेको छ । सुधारका लागि काम भइरहेको छ । जुम्ला, कालीकोट र मुगु जिल्लालाई आफ्नो कार्य क्षेत्र बनाएर हेर्ने गरेको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ ।
ठूल्ठूला भवन र चिल्ला गाडी बैंकहरुकै कारण पाइएको हो, नाफा कमाउनु पर्छ : अध्यक्ष गोल्छा
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले बैंकहरुले नाफा कमाउनु हुन्न भन्ने तर्क राख्न नहुने बताएका छन् । साेमबार ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूको मर्जरपछिको एकीकृत कारोबार आरम्भ कार्यक्रममा बोल्दै उनले पछिल्लो समय बैंकहरुको नाफा कमाएको भन्दै वहस भएको बताउँदै त्यस्तो धारणा राख्न नहुने बताएका हुन् । ‘अहिले शहरमा देखिने ठूल्ठूला भवन र चिल्ला गाडीहरु बैंकहरुकै कारण भएको हो, अनावश्यक नाफा कमाए भन्नु हुँदैन, बैंकले नाफा कमाएपछि मात्रै अर्थतन्त्र सबल हुन्छ, ठूलो बैंक हुँदा जिम्मेवारी बढेको छ, कान्तिपथमा सानो कुनामा रहेको फाइनान्स कम्पनी आज अन्तर्राष्ट्रिय स्तरको बैंक बनेकाे छ, बैंक बलियो भएपछि मात्रै अर्थतन्त्र सबल हुन्छ,’ उनले भने । उनले पछिल्ला दिनमा पूर्वाधारमा बैंकको ठूलो भूमिका निर्वाह गरेको गरेकाे बताए । अध्यक्ष गाेल्छाले पछिल्लो समय अर्थतन्त्र संकुचित हुँदा उद्योगी व्यवसायीको मनोबल घटेको भन्दै नयाँ सरकार आएपछि केही सुधार भएकाे दाबी गरे । यस्तै, उनले मौद्रिक नीतिले क्याल्कुलेटिभ रिस्क लिनु पर्ने बताउँदै निजी क्षेत्रलाई लगानीयोग्य वातावरण बनाउनु पर्नेमा जाेड दिए ।
मलेसियामा बन्धक बनाइएका नेपालीको उद्धार गर्न सरकारको पहल
काठमाडौं । सरकारले वैदेशिक रोजगारीका क्रममा मलेसियामा बन्धक बनाइएका १९ नेपालीको उद्धार गर्न पहल गरेको छ । वैदेशिक रोजगारको सिलसिलामा मलेसिया पुगेका उनीहरुलाई विगत आठ दिनदेखि बन्धक बनाइएको समाचार सार्वजनिक भएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अवस्था बुझेर उद्धार गर्न पहल थालेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यो विषय गम्भीर भएकाले तत्काल उद्धारका लागि आवश्यक सबै पहल गर्न मुख्यसचिव शङ्कदास वैरागीमार्फत सम्बन्धित निकायलाई निर्देशन दिनुभएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए । वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका उनीहरुलाई एजेन्टले स्थानीय केलाङ सहरको एक भवनमा लागेर बन्धक बनाएको भिडियो सार्वजनिक भएको छ । सम्झौताअनुसारको काम नदिई अन्य काम गर्न दबाब दिएर कम्पनीले ज्यादती गरेको दाबी गरेका छन् । कम्पनीको दबाबका विरुद्ध आवाज उठाउँदा आफूहरुमाथि कुटपिटसमेत भएको उनीहरुको गुनासो छ । कम्पनीबाट निकालेर एउटा भवनको कोठामा राखिएको र आफूहरुलाई बाहिर ननिस्कन भनिएको अलपत्र श्रमिकको भनाइ छ । बन्धक बनाइएका श्रमिकले तत्काल उद्धार गरेर नेपाल फर्काउने व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन् ।
बैंक तथा वित्तीय क्षेत्र मर्ज हुँदा सक्षम र सबल हुन्छन् : गभर्नर अधिकारी
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले धेरै संख्यामा रहेका बैंक तथा वित्तीय संस्था मर्जर हुँदा सक्षम र सबल हुने बताएका छन् । उनले मर्जरले बैंक तथा वित्तीय क्षेत्रमा शुसासन कायम गर्न पनि सहयोग पुर्याउने बताए । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाडौं बीच भएको मर्जर पछि सोमबार एकीकृत कारोबारको उद्घाटन कार्यक्रममा बोल्ने क्रममा गभर्नर अधिकारीले सो बताएका हुन् । ‘बैंक तथा वित्तीय क्षेत्र मर्ज हुँदा सक्षम र सवल हुनेछन्, सुशासन कायम हुनेछ’, गभर्नर अधिकारीले भने । गभर्नर अधिकारीले एक दशक अघि नै राष्ट्र बैंकले मर्जरको नीति लिएको बताउँदै २०७० को दशकमा वित्तीय क्षेत्र सुशासनको अभाव देखिएको बताए । बैंक तथा वित्तीय क्षेत्रमा अस्वस्थ प्रतिस्पर्धा बढेको हुँदा मर्जर तथा एक्विजिसनको नीति लिएको उनले बताए । २ सय ६८ को संख्यामा रहेका बैंकिङ संस्थाहरु अहिले ६७ वटामा झरेको गभर्नर अधिकारीको भनाइ छ । बैंकहरुको ठूलो हुँदा सेल्फ बेसिसमा अघि बढ्नुपर्ने र सानो कर्जालाई प्राथमिकता दिनुपर्ने गभर्नर अधिकारीले बताएका छन् ।
ढकालको नेतृत्वमा २१ संस्थालाई एउटा बनाउनु असाधारण : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले २१ वटा विद्युतीय संस्थालाई मर्ज गरेर एक बनाउनु असाधारण भएको बताएका छन् । ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूको मर्जरपछिको एकीकृत कारोबार आरम्भ कार्यक्रममा उनले सो कुरा बताएका हुन । उनले ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्र ढकालको नेतृत्वको बैंक मर्जरले वित्तीय क्षेत्रमा ठूलो फड्को मारेको बताए । ‘मर्जरले ठूला परियोजनामा लगानीको स्रोत निश्चित भएको छ, बैंकिङ क्षेत्रमा दखिएको अस्वस्थ प्रतिस्पर्धा हट्दै जाने हाम्रो अपेक्षा छ’, उनले भने, ‘अर्थतन्त्र सुधार गर्ने सरकारको मुख्य एजेन्डा हो, निजि क्षेत्रका माग सम्बोधन गर्न र अर्थतन्त्र सुधार गर्न अर्थमन्त्री, गभर्नर र म आफू स्वयंम बसेर छलफल गरिरहेका छौँ ।’ यस्तै, उनले पुँजी बजारको सकारात्मक सुधारले अर्थतन्त्र सहज भएको बताउँदै बत्तीय क्षेत्रले आपसी समझदारी अनुसार लगानी गर्नुपर्नेमा जोड दिए । ‘चन्द्र ढकालको आर्थिक विकास र मेरो राजनीतिक विकास एउटै हो, हामी दुई सामान्य परिवारबाट आएर छोटो समयमा यति धेरै उचाइ हासिल गर्नु आफैमा एउटा ठूलो काम हो’, उनले भने ।