
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले बैंकहरुले नाफा कमाउनु हुन्न भन्ने तर्क राख्न नहुने बताएका छन् । साेमबार ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूको मर्जरपछिको एकीकृत कारोबार आरम्भ कार्यक्रममा बोल्दै उनले पछिल्लो समय बैंकहरुको नाफा कमाएको भन्दै वहस भएको बताउँदै त्यस्तो धारणा राख्न नहुने बताएका हुन् ।
‘अहिले शहरमा देखिने ठूल्ठूला भवन र चिल्ला गाडीहरु बैंकहरुकै कारण भएको हो, अनावश्यक नाफा कमाए भन्नु हुँदैन, बैंकले नाफा कमाएपछि मात्रै अर्थतन्त्र सबल हुन्छ, ठूलो बैंक हुँदा जिम्मेवारी बढेको छ, कान्तिपथमा सानो कुनामा रहेको फाइनान्स कम्पनी आज अन्तर्राष्ट्रिय स्तरको बैंक बनेकाे छ, बैंक बलियो भएपछि मात्रै अर्थतन्त्र सबल हुन्छ,’ उनले भने ।
उनले पछिल्ला दिनमा पूर्वाधारमा बैंकको ठूलो भूमिका निर्वाह गरेको गरेकाे बताए । अध्यक्ष गाेल्छाले पछिल्लो समय अर्थतन्त्र संकुचित हुँदा उद्योगी व्यवसायीको मनोबल घटेको भन्दै नयाँ सरकार आएपछि केही सुधार भएकाे दाबी गरे ।
यस्तै, उनले मौद्रिक नीतिले क्याल्कुलेटिभ रिस्क लिनु पर्ने बताउँदै निजी क्षेत्रलाई लगानीयोग्य वातावरण बनाउनु पर्नेमा जाेड दिए ।