विकासन्युज

अपहरण र बलात्कार कसुरमा १२ वर्ष कैद सजाय

बागलुङ । एक १५ वर्षीया बालिकालाई अपहरण गरी बलात्कार गरेको कसुरमा बागलुङको जैमिनी नगरपालिका–२ का ४३ वर्षीय दिलबहादुर थापालाई १२ वर्ष कैद सजाय भएको छ । विसं २०७८ भदौ ९ गते बालिकालाई अपहरण गरी १४ गतेसम्म विभिन्न स्थानमा पुर्याएर अभियुक्त थापाले बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालतले उक्त सजाय सुनाएको हो । जिल्ला न्यायाधीश दिवाकर भट्टको इजलासले निजलाई कैद सजायसँगै पीडितलाई ३० हजार रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउन आदेश दिएको अदालतका इजालाश अधिकृत गङ्गाधर सापकोटाले बताए । उक्त घटनाका सम्बन्धमा पीडितका परिवारले २०७८ भदौ १६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिए पछि प्रहरीले थापालाई भदौ २७ गते चितवनबाट पक्राउ गरी कात्तिक ७ गते जिल्ला अदालतमा अपहरण तथा शरीर बन्धक बनाइ जबरर्जस्ती करणी गरेको कसुरमा कारबाही अघि बढाउनका साथै पूर्पक्षका लागि अदालतको आदेशानुसार थुनामा राखिएको थियो ।

चिसोले हुम्लाका सबै सामुदायिक विद्यालय बन्द

सिमकोट । चिसो बढेसँगै हिमाली जिल्ला हुम्लाका सम्पूर्ण सामुदायिक विद्यालय बन्द भएका छन् । जिल्लाका अधिकांश विद्यालयले वार्षिक परीक्षा सकेर मिनपचासमा विद्यालय बन्द गरेका हुन् । सदरमुकाम आसपासका अधिकांश विद्यालयले फागुनपछि मात्रै वार्षिक परीक्षा सम्पन्न गरेर नयाँ शैक्षिक सत्र सञ्चालन गर्ने भएका छन् । बन्द भएका विद्यालय अब फागुनमा मात्र खुल्ने छन् । हिउँदमा अत्यधिक चिसो हुने भएकाले हुम्लालगायत साविकका कर्णालीका हिमाली जिल्लामा सरकारले हिउँदे बिदा दिँदै आएका छन् । जिल्लामा पुस र माघ दुई महिनामा हिउँदे बिदा हुन्छ भने फागुन २ गतेबाट सामुदायिक विद्यालय सञ्चालनमा आउने गर्दछन् । पुसमा अत्यधिक जाडो हुने भए पनि यो वर्ष मङ्सिरमै जाडो बढेको थियो । तर यो हुम्लामा चिसो बढेपनि हिमपात भने भएको छैन । जिल्लाको तापक्रम माइनसमा झरेको छ भने सदरमुकामसहित जिल्लाभरमा रहेका खानेपानीका पाइपमा बरफ जमेर धारा बन्द भएका छन् । जिल्लामा कूल एक सय ५१ वटा सामुदायिक विद्यालय छन् । जसमा २७ वटा मावि र एक सय २४ वटा आधारभूत विद्यालय छन् । यस्तै निजी विद्यालयसमेत बन्द छन् । नियमानुसार हिमाली जिल्लाका विद्यालयमा पुस १६ बाट फागुन १ सम्म हिउँदे बिदाको प्रावधान छ । यहाँका विद्यालयले वार्षिक परीक्षा भने आगामी चैत महिनामा सञ्चालन गर्नेछन् । यसअघि मङ्सिर महिनामा वार्षिक परीक्षा सञ्चालन गर्ने गरिएको थियो । कोरोनाअघि यहाँ फागुन २ गतेबाट नयाँ शैक्षिक सत्र सुरु हुने गरेको थियो । कोरोनापछि जिल्लामा नयाँ शैक्षिक सत्र सञ्चालनमा परिवर्तन भएको छ ।

अफ्रिकन स्वाइन फिभरले तनहुँमा १२ बङ्गुर मरे

तनहुँ । अफ्रिकन ‘स्वाइन फिभर’को सङ्क्रमणका कारण तनहुँमा १२ वटा बङ्गुर मरेका छन् । भीमाद नगरपालिका–६ स्थित एक फार्ममा आठ र शुक्लागण्डकी नगरपालिकामा चार वटा बङ्गुर मरेका भेटेरिनरी तथा पशुविज्ञ केन्द्रका प्रमुख डा बालकुमार श्रेष्ठले जानकारी दिए । उहाँले भिमाद नगरपालिकामा पहिलोपटक अफ्रिकन स्वाइन फिभर देखिएको बताए । शुक्लागण्डकीका जगत थापाको फार्म चार वटा बङ्गुर मरेको र केही बङ्गुर बिरामी भएको उनले जानकारी दिए । अफ्रिकन स्वाइन फिभरविरुद्ध हालसम्म भ्याक्सिन बनेको छैन । ‘गतवर्ष काठमाडौँंमा अफ्रिकन स्वाइन फिभर देखापरेसँगै जिल्लाका किसानलाई सचेत हुन आग्रह गरेका थियौँ’, उनले भने । अफ्रिकन स्वाइन फिभरका कारण बङ्गुरमा उच्च ज्वरो आउने, खाना मन नगर्ने, झोक्राउने, पेट र कानमा रगतका धब्बा देखापर्ने जस्ता लक्षण देखापर्छन् । साथै उक्त सङ्क्रमणका कारण भीमाद नगरपालिकाका सुरवीर थापाको फार्ममा रहेका आठ वटै बङ्गुर मरेका छन् । पोखरास्थित प्रयोगशालामा परीक्षण गर्दा अफ्रिकन स्वाइन फिभर देखिएको केन्द्रका प्रमुख डा श्रेष्ठले जानकारी दिए । केन्द्रका पशु चिकित्सक र प्राविधिक टोलीले अहिले जिल्लाका बङ्गुर फार्ममा पुगेर अनुसन्धान गर्न थालेका छन् । केन्द्रका प्रमुख डा श्रेष्ठले भने, ‘यस रोगको प्रकोपका कारण एक चरण बङ्गुर मरेर सकिन्छ होला भन्ने अनुमान गरेका छौँ ।’  

भारतमा भएको बस दुर्घटनामा ३ नेपालीको मृत्यु

काठमाडौं । नेपाली यात्रु चढेको बस गएराति भारतको लखनउ नजिक दुर्घटना भएको छ । ट्रकसँग ठोक्किएर भएको दुर्घटनामा बसमा सवार तीन यात्रुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता बेदप्रकाश जोशीले जानकारी दिए । मृत्यु हुनेमा टीकापुर नगरपालिका क्षेत्र र आसपासका ५५ वर्षीय चन्द्र साउद, ४५ वर्षीय ललीत साउद र २० वर्षीया निर्मला बोहरा रहेको प्रवक्ता जोशीले बताए । उनले भने, ‘सीमापारी भारतीय प्रहरी कोतवालीले दिएको सूचनामा यी तीन जनाको मृत्यु भएको प्रारम्भिक खबर आएको छ, घटनाको थप विवरण आउन बाँकी छ ।’ उक्त दुर्घटनामा अन्य नेपाली यात्रु घाइते भएको हुनसक्ने बताइएको छ । भारतको गुजरातबाट कैलालीको टीकापुरतर्फ आउँदै गरेको उक्त बस गएराति लखनउदेखि झण्डै ३० किलोमिटर नेपालतर्फको दुरीमा दुर्घटनामा परेको जनाइएको छ । नेपाली यात्रुका लागि भारतका विभिन्न सहरमा आवागमन गर्न सीमापारीबाट भारतीय बस आफूखुसी ढङ्गले चलाउने गरिएको जनाइएको छ ।

छुटमा कम्पनी नवीकरण गर्न लाखौं घुस, उद्योगी भन्छन् : घुस बिना काम नै बन्दैन

काठमाडौं । लामो समयदेखि कम्पनी विवरण नवीकरण नगरेका उद्योगी तथा व्यवसायीलाई सरकारले छुट दिएको थियो । चालू आर्थिक वर्षको आर्थिक ऐन २०७९ जारी गर्दै सरकारले लामो समयदेखि नवीकरण नभएका उद्योगलाई ५ प्रतिशत रकम बुझाएर पुस मसान्तसम्म कम्पनी नवीकरणको समय दिएको थियो । उक्त समय सकिनै लाग्दा छुटमा कम्पनी विवरण अद्यावधिक गर्नेको भीड नै लाग्न थालेको छ । अन्तिम समयमा नवीकरण गर्नेको भीडलाई मध्येनजर गर्दै कम्पनी रजिष्ट्रार कार्यालयका कर्मचारीहरुले अद्यावधिक गर्न आनाकानी गर्ने गरेको पाइएको छ । कम्पनीले बुझाउनुपर्ने जरिवानाको आधा रकम माग्दै कम्पनी विवरण अद्यावधिक नगर्ने गरेको पीडित उद्योगी तथा व्यवसायीले बताउने गरेका छन् । ‘मेरो कम्पनीको विवरण तीन आर्थिक वर्षदेखि नवीकरण भएको थिएन, सरकारले दिएको छुटको उपयोग गर्दै मैले विवरण अद्यावधिक गर्न कार्र्यालयमा निवेदन दिएको थिएँ, एक उद्योगीले भने, ‘३० लाख रुपैयाँ बराबर जरिवाना रहेछ, सरकारले दिएको ५ प्रतिशत छुटमा मैले एक लाख ५० हजार भुक्तानी गर्नुपर्ने हो, तर कम्पनीका कर्मचारीले १५ लाख रुपैयाँ मागे ।’ कम्पनीका कर्मचारीहरुले समय सकिन लागेको भन्दै आधा रकम दिए मात्रै विवरण अद्यावधिक गर्ने नभए माघ लागेपछि पुरै रकम भुक्तानी गरेर नवीकरण गर्न ताकेता गरेको उनको भनाई छ । ‘सरकारले दिएको छुटको उपयोग गर्न मैले आधा रकम कर्मचारीलाई बुझाउनु पर्ने भयो, कर्मचारीलाई नबुझाउँ माघ लागेपछि सबै रकम भुक्तानी गर्नपर्याे, नभए आधा रकम बुझाउनुको विकल्प छैन’, ती उद्योगीले भने । उद्योगीको समस्यामा कम्पनीका कर्मचारीहरुले मौकाको फाइदा उठाउने गरेको उनको भनाइ छ । कम्पनी दर्ता गर्न तथा स–साना कामका लागि समेत कम्पनीका कर्मचारीलाई घुस खुवाउनु आफ्नो बाध्यता रहेको उद्योगीहरुले बताएका छन् । ‘घुस नदिउँ एक दिन हुने काम एक महिनासम्म रोकिन्छ, दिएपछि एकै दिनमा हुन्छ, हामीले ठूलो रकम खर्च गरेर कम्पनी खडा गरेका हुन्छौँ, स–साना काममा अल्झिदा समय मात्रै खेर जान्छ’, अर्का उद्योगीले भने । कर्मचारीले रकम मागे गुनासो गर्नुस् : रजिष्ट्रार बराल कम्पनी विवरण अद्यावधिक गर्नका लागि कर्मचारीले घुस मागेको विषयमा आफू जानकार नभएको कम्पनी रजिष्ट्रार महेश बराल बताउँछन् । ‘म सँग कुनै पनि सेवाग्राहीले रकम मागिएको विषयमा गुनासो गर्नुभएको छैन, रकम मागेको आधिकारीक प्रमाण मलाई दिनुस्, म तत्काल कारवाही गर्छु’, उनले भने, ‘कर्मचारीले घुस मागे भन्दै बाहिर हल्ला फैलाउन भन्दा पनि तत्काल प्रमाणसहित उजुरी गर्न मेरो आग्रह छ ।’ उनले नयाँ कम्पनी दर्ता नै छोडेर कर्मचारीहरु छुटमा कम्पनी विवरण उद्यावधिक गर्न केन्द्रित भएको बताए । ‘पुस मसान्त आउनै लाग्दा छुटमा कम्पनी विवरण अद्यावधिक गर्नेको संख्यामा बृद्धि हुन थालेको छ, अद्यावधिक शाखाका कर्मचारीले मात्र नसकेर अन्य शाखाका कर्मचारी समेत कम्पनी विवरण अद्यावधिकमा केन्द्रीत हुनुभएको छ, उनले भने । गत वर्षको तुलनामा छुटमा कम्पनी विवरण उद्यावधिक गर्नेको संख्यामा कमी आएको उनले बताए । यसअघि अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयकमार्फत् २०७८ को पुस मसान्तसम्म ५ प्रतिशत रकम बुझाएर कम्पनी नवीकरण गर्न सकिने व्यवस्था लागु गरेका थिए । गत वर्ष सरकारले पुराना कम्पनी नवीकरणमा छुट दिँदा ४० वर्ष पुराना करिब ४० हजार कम्पनीले छुटमा कम्पनी विवरण अद्यावधिक गरेका थिए । गत वर्ष छुट दिएको सरकारले यस वर्ष पनि पुराना कम्पनी नवीकरणमा छुट दिएको हो । तोकिएका विवरण तोकिएको समयमा नबुझाएमा कम्पनीका सञ्चालक वा त्यसका पदाधिकारीलाई रजिष्ट्रारले कम्पनीको पुँजी र बिलम्ब भएको समय हेरी न्यूनतम रु एक हजारदेखि वार्षिक बीस हजारसम्म नगद जरिवाना गर्ने व्यवस्था छ । ऐनको दफा १३६ मा लगातार ३ वर्षसम्म कम्पनीहरूले वार्षिक आर्थिक विवरण, सञ्चालक समिति र लेखापरीक्षकको प्रतिवेदन वार्षिक साधारणसभाबाट पास भएको ३० दिनभित्र रजिस्ट्रारको कार्यालयमा नबुझाएमा वा विवरण नबुझाएबापत तिर्नुपर्ने जरिवाना नतिरेमा कम्पनी खारेज गर्ने व्यवस्था छ । तर, रजिष्ट्रारको कार्यालय कम्पनीको खारेज नगर्दा धेरै कम्पनीहरूले लामो समयदेखि जरिवाना रकम तिरेका थिएनन् ।

प्रभु इन्स्योरेन्सले गर्यो ७.०५ प्रतिशत लाभांश घोषणा

काठमाडौं । प्रभु इन्स्योरेन्सले गत वर्षको नाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ । कम्पनीको पुस २४ गते आइतबार बसेको संचालक समितिको बैठकले गत वर्षको नाफाबाट सेयरधनीलाई ७.०५ प्रतिशत लाभांश घोषणा गरेको हो । कम्पनीले हाल कायम चुक्ता पूँजीको ६.७ प्रतिशत बोनस सेयर र ०.३५ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । बैंकको चुक्ता पूँजी हाल एक अर्ब २८ करोड रुपैयाँ रहेको छ ।

लक्ष्मी केयर्सद्वारा ट्रिब्युट टु लिजेन्ड्स सांगितिक कार्यक्रम सम्पन्न

काठमाडौं । लक्ष्मी केयर्सको आयोजनामा ट्रिब्युट टु लिजेन्ड्स नामक सांगितिक कार्यक्रम सम्पन्न भएको छ । लक्ष्मी बैंकका कर्मचारीहरुद्वारा प्रवद्र्धित तथा सञ्चालित गैर नाफामूलक संस्था लक्ष्मी केयर्सको आयोजनामा ट्रिब्युट टु लिजेन्ड्स नामक सांगितिक कार्यक्रम सम्पन्न भएको हाे । वरिष्ठ गायक दिपक खरेलको सम्मानमा आयोजित कार्यक्रममा गायक खरेलले करिब ३०० दर्शक श्रोतामाझा आफ्नो एकल प्रस्तुत गरेका थिए । विभिन्न कर्पोरेट संस्थाका विशिष्ट व्यक्तिहरुका साथसाथै संगीतका पारखीहरुको उपस्थिति रहेको कार्यक्रम गाला डिनरका साथ सम्पन्न भएको थियो । कार्यक्रमको आयोजनाबाट प्राप्त रकम लक्ष्मी केयर्सले सामाजिक कार्यमा उपयोग गर्नेछ । सन् २०१९ मा वरिष्ठ गायक दिप श्रेष्ठको एकल गायनका साथ सुरु भएका ट्रिब्युट टु लिजेन्ड्स श्रृंखलाको यो दोस्रो संस्करण हो ।

नेपाल फर्मा एन्ड हेल्थ इन्टरनेशनल एक्सपो हुँदै

काठमाडौं । भृकुटी मण्डप प्रदर्शनीस्थलमा ‘नेपाल फर्मा एन्ड हेल्थ’ नामक औषधोपचार, स्वास्थोपचार तथा फार्मेसीसँग सम्बन्धित प्रदर्शनी माघ ६ देखि माघ ८ सम्म हुँदै छ । ‘नेपाल फर्मा एन्ड हेल्थ अन्तरास्ट्रिय प्रदर्शनी’ जुन मिडिया स्पेस सोलुसन्स (एम.एस.एस.) का साथै एक्जिबिसन एन्ड ट्रेड सर्भिसेस इन्डिया (इ.टि.एस.आइ.पि.एल.) तथा फ्युचरेक्स ट्रेड फेयर्स एन्ड इभेन्ट्स् प्रा. लि.को संयोजकत्वमा आयोजना हुन लागेको हो । उक्त प्रर्दशनीमा स्वदेशी तथा विदेशी गरी १०० भन्दा बढि कम्पनीहरुको स्टल रहने छन् । नेपाल फर्मा एन्ड हेल्थ अन्तरास्ट्रिय प्रदर्शनीमा तीन विशेषताहरू सम्मिलित छन् – प्रदर्शनी, सम्मेलन र साझेदारी । यी तीन विशेषताहरूलाई एउटै ठाउँमा ल्याई नेपालका विभिन्न फर्मा र हेल्थकेयर उद्योगलाई जोड्न, सम्बन्ध निर्माण गर्न र व्यापार अवसरहरू बढाउनका लागि यो प्रदर्शनीले केन्द्रीय भूमिका निर्वाह गर्दछ । नेपालले औषधि तथा स्वास्थ्य उद्योगको विकासमा एउटा निश्चित गति लिएको छ । यी क्षेत्रहरूबाट विशेष गरी देशको विस्तारित अर्थतन्त्रमा प्रत्यक्ष फाइदा हुन्छ र स्वास्थ्य सेवामा सरकारी लगानी बढ्नुका साथै नेपालको औषधि तथा स्वास्थ्य सेवा उद्योगले दिगो विकास पनि ल्याउन सक्ने सम्भावना रहन्छ । नेपालमा भित्रिने औषधोपचारका सामग्रीहरूमा भारत लगभग ८०% आयातको साझेदार हो, तसर्थ यो अन्तर्राष्ट्रिय प्रदर्शनीले भारतीय उपमहाद्वीप (अर्थात् भारतवर्ष)का विभिन्न सरोकारवालाहरूको ध्यानाकर्षण गर्न निकै मद्दत गर्दछ । नेपाली चिकित्साप्रणालीमा वैदेशिक योगदान तथा लगानीका लागि विभिन्न उत्कृष्ट अवसरहरू सिर्जना गर्नका लागि पनि यो प्रदर्शनीले उल्लेखनीय भूमिका निर्वाह गर्नेछ । नेपाल फर्मा र हेल्थ प्रदर्शनीले स्थानीय औषधि, चिकित्सा र स्वास्थ्य सेवा उद्योगका लागि सञ्जालको काम पनि गरी औषधोपचारको क्षेत्रमा नयाँ आविष्कारदेखि नयाँ औषधिको विकाससम्मको विश्वव्यापी नवीनता प्रविष्ट गराउने बागडोर पनि बन्नेछ । यस प्रकारका सहकार्यहरूले नेपालमा गुणस्तरीय औषधि र स्वास्थ्य उद्योगको विकासलाई सक्षम बनाउन व्यापक स्थान प्रदान गर्ने उद्देश्यलाई सकार्दै मानिसहरूको स्वास्थ्य सेवा आवश्यकताहरूमा प्रतिस्पर्धात्मक रूपमा योगदान पुर्याउँछ। यो प्रदर्शनीले विभिन्न देशका कम्पनिहरू र ब्राण्डहरू सहित बिजिनेस लिडरहरू, डाक्टरहरू, वैज्ञानिकहरू, रोग विशेषज्ञहरू, अनुसन्धानकर्ताहरू, सरकारी अधिकारीहरू, नीति निर्माताहरू र उद्योग पेशेवरहरूलाई एकसाथ समेट्ने छ । यो एक्सपोले नयाँ आविष्कारहरू र नयाँ बजारको खोजी गर्दै नेपालको चिकित्सा र प्रयोगशाला उद्योगलाई आवश्यक उचाईमा लिएर जानेछ भन्ने कुरामा आयोजक विश्वस्त छन् । नेपाल फर्मा एन्ड हेल्थ अन्तर्राष्ट्रिय प्रदर्शनीमा आउने चाहने इच्छुकहरूलाई प्रवेश निःशुल्क गरिएको छ भने प्रदर्शनीमा सहभागी हुन चाहने सम्पूर्णमा दर्ता खुला भएको जानकारी पनि  प्रेस विज्ञप्तिमार्फत् दिइन्छ ।